नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नेताहरूजस्तो कानमा तेल हालेर बसेका छैनन् साहित्यकारहरू- बगाले

नेपालमै बस्ने ठूलाे रहर थियाे, फर्किनुसिवाय उपाय भएन- ज्ञानबहादुर थापा

ज्ञानबहादुर थापा ‘बगाले’ पछिल्लो नेपाली हास्यव्यङ्ग्य विधाका अनिवार्य नाम हो । बर्मा (म्यान्मा) मा बसेर पनि कथा, निबन्ध र हास्यव्यङ्ग्यमा आफ्नो फरक स्थान बनाउनुलाई नेपाली साहित्यले गौरवका साथ लिने गरेको छ । १ सय ५० वर्षअघि नै नेपाल छाडेर बर्मामा बसेका उनका पुर्खाले दिएको भाषा र संस्कृतिको नासोलाई सम्हाल्ने काममा थापा गम्भीरतापूर्वक लागेका छन् । आफ्नो सम्पूर्ण जीवन नेपाली भाषा र साहित्यमा समर्पण गरेका थापालाई नेपालले गोपाल पाँडे ‘असिम’ पुरस्कारले सम्मान गरेको छ ।

कलेज पढ्दै गर्दा बर्माको प्रजातान्त्रिक आन्दोलनमा लागेका थापा त्यहाँ सैनिक शासन सुरू भएपछि लुकिछिपी नेपाल आए । त्याेबेला नेपालमा पनि पञ्चायती व्यवस्थाविरूद्धकाे आन्दाेलन चलिरहेकाे थियाे । जसमा उनले सक्रिय भूमिका निभाए ।

प्रजातन्त्र प्राप्तिपछि उनी बर्मा फर्किएयताका ३० वर्ष नेपाली भाषा र साहित्यमा अनवरत लागिरहेका छन् । नेपालमा साहित्यकारहरूसँग उनले गहिराे सम्पर्क राखेर त्याे अनुभव आफ्ना समुदायलाई हस्तान्तरण गरिरहेका छन् । गोर्खा समुदायको शिक्षा विभाग प्रमुख रहेका थापाले नयाँ पुस्तालाई पनि आफ्नो विरासतका लागि तयार गरिरहेका छन् ।

साहित्यपोस्टको आइतबारे ‘प्रवास  विशेष’मा यसपटक यिनै साहित्यकार एवं भाषासेवी ज्ञानबहादुरसँग अन्तरङ्ग कुराकानी गरेका छौँ ।

कुरा भुगोल हैन, भाषाबाटै सुरु गरौँ । म्यान्माली नेपाली भाषाको अहिलेको स्वरुप कस्तो छ ?

हामी म्यान्मामा लगभग २ लाखको हाराहारीमा नेपाली भाषी छौँ । पुस्ताको हिसाबले भन्ने हो भने पाँचौं पुस्तामा छौँ हामी । यसरी पाँचौं पुस्तासम्म नेपाली बोल्दै आएका छौँ, लेख्दै आएका छौँ । अन्य नेपाल बाहिर बसोबास गर्ने नेपालीहरूको तुलनामा भाषा साहित्यको क्षेत्रमा हामी त्यति मौलाउन सकेका छैनौँ । त्यो पनि हामीले स्वीकार्नु पर्छ । जे होस्, आज पनि म्यान्मामा घरघरमा नेपाली बोलिन्छ । बच्चाहरूले तीन महिने नेपाली विद्यालयमा रमाएर पढ्ने गर्छन् । म्यान्माका नेपाली बस्तीहरूमा ३ सय ६० भन्दा बढी हिन्दू मन्दिरहरू छन् । यी सबै मठ मन्दिरहरूमा नेपाली पढाइन्छ । त्यसमध्ये नेपाली भाषा नै पढाउनका निमित्त २ सय २७ नेपाली पाठशालाहरू खुलेका छन् । सहर बजारमा बसोबास गर्नेभन्दा गाउँघरमा बसोबास गर्ने गोर्खाली जाति माझ अझ  बढी नेपाली भाषा बोलिन्छ ।

मैले सुनेअनुसार त्यहाँ सबैजसाे गाेर्खालीहरू नेपाली लेख्न र बोल्न सक्छन् । जबकी बर्मा सरकारले नेपाली भाषालाई स्कुल कलेजमा कतै पनि पठाउँदैन । राष्ट्रिय मान्यता पनि दिएको छैन । यस्तो अवस्थामा सबै जनाले नेपाली बोल्न र लेख्न कसरी सम्भव भयो ?

म्यान्मामा १ सय ३५ जनजाति (आदिवासी) छन् त्यसमा हामी पर्दैनौँ । सन् १८२३ अघिबाट बसोबास गर्नेलाई म्यान्माको आदिवासीको रूपमा स्वीकारेको छ । जब कि इतिहासमा लेखितरूपमा सन् १८८५ देखि गोर्खालीहरू म्यान्मामा प्रवेश भएको हामी पाउँछौँ । त्यसैकारण हामी आदिवासीभित्र पर्दैनौँ । सरकारले अन्य जनजाति सरह भाषा साहित्य र संस्कृतिको संरक्षण र संबद्र्धन गर्ने जिम्मा लिँदैन । राष्ट्रिय भाषाको गणनामा पनि आउँदैन । हामी आफैँले संरक्षण गर्नुपर्छ । पुर्खाहरूले यो कुरा महसुस गरेर हामीलाई घरेलु पाठशालाबाटै बोल्न लेख्न सिकाए । त्यही परम्पराले आज पाँच पुस्ता भए तापनि नेपाली भाषा जीवित छ म्यान्मारमा ।

बर्मा र नेपाललाई भाषा, साहित्य तथा संकृतिले जोडेको छ । समय समयमा दुई देशलाई जोड्ने सेतुका रुपमा विभिन्न व्यक्तित्व उभिनु भएको छ, जुन हाल तपाईँले निर्वाह गरिरहनु भएको छ । जबकि यो आर्थिकरुपमा दुःख पाउने काम हो । यस्तो दुःख हुने काम किन गरिरहनुभएको छ ?

ज्ञानबहादुर थापा ‘बगाले’ (बर्मा)

“प्रेम”, भनिन्छ प्रेम अन्धो हुन्छ रे; सायद त्यसैले होला । बच्चैदेखि आफ्नो नेपाली भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने र माया गर्न सिकाउने परिवारमा र सामाजिक वातावरणमा हुर्केर हो कि, मनमा नेपाली भाषा साहित्यप्रति गहिरो प्रेम बसेको छ । जब जब भाषा साहित्यको कुरा आउँछ तब मन मान्दैन । केही न केही गरौँ जस्तो लाग्छ । म्यान्मामा चिरकालसम्म नेपाली भाषी गोर्खा जाति बाँचिरहोस् भन्ने लाग्छ । फेरि यो कसैको करकापले गरेको काम पनि हैन आफ्नै रहरले गरेको काम हुँदा रहरमा नै रमाइँदो रहेछ । आर्थिकरुपमा केही हानि भए पनि सामाजिक रुपमा त फाइदै भएको छ नि ।

नेपालबाहिर नेपाली भाषा र साहित्य मौलाउनु नेपालका लागि राम्रो कुरा हो । यसका लागि नेपाल सरकारले तपाईँलाई केही सहयोग गरिररहेको छ कि ?

मेरो ख्यालमा नेपालमै पनि नेपाली भाषा विश्वसामु एउटा संमृद्ध भाषाको रूपमा चिनाउन सरकारले त्यति ध्यान दिएको छ जस्तो मलाई लाग्दैन ।जवकी एउटा देशका लागि भाषा निकै ठूलाे कुरा हाे । यसले त्यस देशकाे राष्ट्रियता बलियाे बनाउँछ । तर याे कुरा नेपाल सरकारले बुझे जस्ताे मलाइ लागेकाे छैन ।  जति गरेका छन् साहित्यिक सङ्घ संस्थाहरूले नै अघि सरेरे गरेको देख्छु ।  यस्ताे अवस्थामा नेपालबाहिरका नेपालीहरूका लागि नेपाल सरकारले सहयोग गरिदिन्छ भन्ने कतिको आश राख्नु ? हामीले धेरैचोटि पाठ्यपुस्तक विषयमा र म्यान्मामा बृहत् पुस्तकालय स्थापनाका निम्ति अनुरोध पनि गरेका थियौँ तर केही हात लागेन । नेपाली दूतावास म्यान्मामा साहित्यकार अथवा साहित्यप्रेमीहरू नियुक्ति हुनु भएको छ भने केही न केही व्यक्तिगत रूपमा सहयोग भने पाउने गर्छौं ।

नेपालका साहित्यकार र भाषा सेवीहरुबाट कस्तो सहयोग पाउनुभएको छ ?

“माया”, भरपुर माया चाहिँ पाएका छौँ हामीले । नेपालबाट साहित्यकर्मीहरू म्यान्मा भ्रमण आउनु हुन्छ । कमसेकम दुईवटा नेपाली पुस्तक त बोकेर आउनु हुन्छ । म्यान्मामा भाषा साहित्य जीवित रहनका लागि चिन्ता गरिरहनु हुन्छ । म्यान्माका साहित्यकर्मीहरूसँग भेटघाट गर्नुहुन्छ । केही न केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने मनसाय राख्नु हुन्छ, यहाँका लेखक साहित्यकर्मीहरूलाई आफ्ना पत्रपत्रिकाहरूमा ठाउँ दिनुहुन्छ, म्यान्माको भाषा साहित्यप्रति सधैँ चासो राख्नु हुन्छ, पुरस्कार दिने क्रममा कहिले छुट्याउनु भएन । जगदम्बाश्रीदेखि गोपाल पाण्डे असीम पुरस्कारसम्म म्यान्माभाषीलाई प्रदान गरिएकै छ । म्यान्मा भ्रमण आउने राजनीतिक नेताहरूजस्तो कानमा तेल हालेर पक्कै बसेका छैनन् साहित्यकारहरू । नेताहरूको नियमित भ्रमण भइरहन्छ म्यान्मावासीहरूको भव्य स्वागत हुन्छ । स्वागतको पैँचो तिर्न म्यान्माली नेपालीका लागि यसो गरिदिन्छु उसो गरिदिन्छु भन्ने बाचाहरूको थुप्रो लाग्छ । तर के गर्ने “हात्ती आयो हात्ती आयो फुस्स” ।।

तपाईँले बर्मामा भाषा र साहित्यको प्रचारप्रसार गर्दा त्यहाँको अवस्था के थियो ? तपाईँ अघि कसले यो अभियानलाई अघि बढाउनु भएको थियो ? ती महारथीहरुका बारेमा केही बताइदिनुुस् न ।

म्यान्मामा भाषा साहित्य बाँचिरहनु भनेको हाम्रा पुर्खाहरूकै देन हो । नेपालबाट प्रवाशिदा हाम्रा पुर्खाले रामायण  काखी चापेर ल्याए । बोटविरुवाहरू पटुकीमा कँसेर ल्याए । आफ्ना सन्ततिलाई घरघरमै रामायण पढाएर भानुभक्तको भाषालाई जीवित राखे । डिआर शर्माजी जस्ता समाजसेवीले पाठशाला खोलेर नेपाली पढाउनु पर्छ भाषा बाँचे तब बल्ल जाति बाँच्छ भन्दै गाउँगाउँ डुलेर नेपाली पाठशालाहरू खोले । नेपाली शिक्षण समिति मोगोक संस्थाका कार्यकर्ताहरूले दिनरात लगाएर भाषा पढाउने र बचाउने कार्यमा जुटे । ठाकुरप्रसाद गुरागाईंजीले हस्तलिखित पाठ्यपुस्तकहरू तयार पारे र गाउँगाउँका पाठशालामा पढाउने कार्य प्रारम्भ भयो । पछिल्लो दशकमा आएर यो कार्यमा शिक्षित युवाहरूको जमात गाँसिन पुग्यो । पहिले पहिले हामी नेपालका पाठ्यपुस्तकहरूलाई नै पढाउँथ्यौँ भने अहिले आएर हामीले म्यान्माको आफ्नै पाठ्यपुस्तक तयार पारेर पढाउन सक्षम भएका छौँ ।

नेपाली साहित्य डिप्लाेमा

हाल बर्मामा नेपाली भाषा तथा साहित्यमा युवाहरुको एउटा समूह तपाईँको बाटोलाई पच्छ्याइरहेको छ । यी पुस्ताबाट नेपाली साहित्यले केही सम्भावना पनि देखेको छ । तपाईँले चाहिँ के अपेक्षा राख्नुभएको छ ?

मैले धेरै धेरै आश राखेको छु र आशावादी पनि छु । पछिल्लो पुस्ताका युवाहरू शिक्षित पनि छन् फराकिलो सोच्न सक्छन् । देशमा प्रजातन्त्र आएका कारण अल्पशंख्यकहरूले आआफ्नो भाषा संस्कृति कसरी जोगाउन पर्छ भन्ने महसुस पनि गरिसकेका छन् । पहिलेको भन्दा अहिले अन्तराष्ट्रिय पत्रपत्रिकाहरूमा लेख्ने क्रम पनि बढ्दो छ । यसले गर्दा भविष्यमा नेपाली भाषा साहित्यको श्रीवृद्धिमा ठूलो योग्दान पुर्याउने छ ।

तपाईँ बर्मामै जन्मिए पनि आफ्नो युवा अवस्थाका केही वर्ष नेपालमा व्यथित गर्नु भयो । यसको कारण के थियो ? नेपाल बसाईले तपाईँको भाषा साहित्यको अभियानमा कत्तिको फरक पार्यो ?

जब सन् १८८८मा यूनिभर्सिटीमा पढ्दै थिएँ तब म्यान्मामा प्रजातान्त्रिक आन्दोलन भयो । आन्दोलन यूनिभर्सिटीबाटै सुरू भएको थियो । सरकारले अनिश्चित कालका लागि स्कूल क्याम्पस बन्द गरेर दमन गर्यो । पछि देशमा सैनिक शासन लागू गर्यो । विद्यार्थीहरू तितरवितर भएर छिमेकी राष्ट्रहरूमा पुगे । दमन भएकाले आफू बच्न र बाँकी शिक्षा पूरा गर्न मलाई पनि आफ्नो पुर्खाहरूको देश नेपालमा गएर पढ्ने रहर जाग्यो । अनि नेपाल आएर त्रि.वि मा भर्ना भएँ । ५ वर्षसम्म शिक्षा शास्त्रको अध्ययन गरेँ । नेपाली भाषा साहित्य र संस्कृतिबारे अध्ययन गर्ने मौका मिल्यो । पछि म्यान्मा फर्केर गोर्खा सङ्घको महासचिवमा निर्वाचित हुनपुग्दा नेपालको अध्ययनले धेरै सघाउ पुर्यायो ।

नेपालमा छँदा तपाईँ राजनीतिमा पनि सक्रिय रहनुभयो । नेपालै बस्नु भएको भए अहिले तपाईँ मुलधारको राजनीतिमा राम्रै गर्नुहुन्थ्यो भन्नेहरु पनि छन् । यो अवसर छाडेर बर्मा गएकोमा पश्चताप पो छ कि ?

त्यतिबेला साथीहरूसँग लागेर क्याम्पासे राजनीतिमा संलग्न भइयो । खासै ठूलो उद्देश्य त थिएन । म्यान्मामा प्रजातन्त्रका लागि लडेका कारण नेपालमा पनि प्रजातन्त्रको बहाली हुनै पर्छ भन्ने आफ्नो सिद्धान्त थियो । त्यही प्रजातान्त्रिक सिद्धान्तका लागि म्यान्मामा पनि सङ्घर्ष गरियो नेपालमा पनि । त्यतिबेला नेपालमा  पञ्चायतविरुद्ध अन्तिम आन्दोलन चलिराखेको थियो । प्रजातन्त्र आएपछि भने म्यान्माको नागरिक भएका कारण फर्कनु पर्यो । स्थिति राम्राे थियाे, दोहोरो नागरिक समाउन नमिल्ने । हुन त नेपालमै बस्ने ठूलो रहर थियो । तर जतिसुकै रहर भए पनि  फर्कनुसिवाय उपाय नै भएन । रहरहरू रहरमै रह्यो ।

नेपालबाट तपाईँ सिकेको कुरा के हो ? नेपालका नराम्रा पक्षचाहिँ के के पाउनु भयो ?

नेपालबाट सिकेका कुरा भनिहालेँ । नराम्रो पक्ष पनि भनी नहालौँ । पुर्खाको देश हो, बुद्धको देश हो, सधैँ विकास भएको देख्न मन लाग्छ । हुँदाहुँदै पनि दिनरात नेपालमा घटिरहेको राजनीतिक अस्थिरता र नेताहरूको स्वार्थीपन देख्दा कताकता मन दुखेर आउँछ । नेपालमा घटेको घटनाले हामीलाई पनि अप्रत्यक्षरूपमा प्रभाव पारेकै हुन्छ ।

तालिम

अहिले बर्मामा कक्षा १ देखि १२ सम्मका पाठ्यक्रम तयार पारेर नेपाली समुदायलाई पढाइरहनु भएको छ । पाठ्क्रम बनाउँदाका दुःख र खुसीका अनुुभवहरु के के छन् ?

पाठ्यपुस्तक तयार पार्नु भनेको चानचुने कुरा हैन । हामीबाट मात्रै पनि सम्भव हुँदैन । त्यसैले नेपालका विज्ञहरूको सहयोगले सम्भव भएको हो । म्यान्मामा प्रथमपटक आफ्नो पाठशालामा आफ्नै पाठ्यपुस्तकहरू पढाउन पाउँदा अति आनन्द आएको छ । कम समयमा पाठ्यपुस्तक तयार पार्नुपर्ने म्यान्मामा भएका सबै २२७ पाठशालाहरूमा छपाएर पठाउनु पर्ने ६०० भन्दा बढी शिक्षकहरूलाई प्रशिक्षण दिनुपर्ने ठूलै चुनौति थियो । तर पनि गोर्खा सङ्घ र शिक्षा विभागका सहयोगीहरूको प्रयासमा हामी सफल भयौँ ।

तपाइँ आफैँ निकै राम्रो लेखक पनि हुनुहुन्छ । भाषा र साहित्यको अभियानमा लाग्दा तपाईँको लेखनलाई असर परेको छ कि छैन ?

म साहित्य सिर्जना  गर्छु तर कति राम्रो गर्छु यो पाठकहरूले नै मूल्याङ्कन गरिदेलान् । हो, भाषाको सेवामा लागेपछि सिर्जनामा ढिलासुस्ती हुँदो रहेछ । सायद यो मेरो कमजाेरी नै होला । झन् विश्वभरि कोरोना संक्रमण फैलिएका कारण पाठशालाहरू नियमित रूपले खोल्न नपाउँदा चिन्तित भएर मस्तिष्कमै तुवाँलो लागेको छ ।

नयाँ कुन कृतिको तयारी गर्दै हुनुहुन्छ ?

मेरो मुख्य विधा हाँस्यव्यंग्य रहेको हुँदा हाँस्यव्यंग्य निबन्ध नै तयार पारौँ कि भन्ने सोचेको छु ।

यसअघि तपाईँका ६ वटा कृतिहरु प्रकाशन भए क्यारे । नयाँ कृति पुरानाभन्दा कति फरक होला ?

धेरै फरक छ । एउटा प्रवासी लेखकले नेपाली साहित्यको मूलथलो नेपालमै कृति प्रकाशन गर्नुको मज्जा बेग्लै हुँदो रहेछ । धेरै सिक्ने मौका पनि मिल्दो रहेछ । लेखनमा परिपक्वता ल्याउँदो रहेछ । कृति पढेर सही मूल्याङ्कन गरिदिने मित्रहरूको प्रेरणा मिल्दो रहेछ र अहिले आएर नयाँ पुस्ताका साहित्य सर्जकहरूलाई नेपालमै प्रकाशन गर्न सल्लाह दिने गरेको छु ।

बर्मामा बसेर कृतिको प्रकाशन गर्नु र त्यो कृति पाठकसम्म पुुर्याउन के कस्ता चुुनौति छन् ?

साहित्य सिर्जना गरेर पाठकसम्म पुर्याउनु भनेको सबै स्रष्टाहरूले भोगेकै कुरा हो । म्यान्मामा नेपाली साहित्य कृति प्रकाशन अझै पनि स्थापना भएको छैन । लेखकले कृति तयार पारेर प्रकाशनका लागि हजुरज्यू गरिरहनु पर्ने परिस्थिति यथावत नै छ । अझ दुःखलाग्दो कुरा के छ भने, यहाँ व्यवसायमूलक कुनै नेपाली छापाखाना छैन । त्यसैले होला म्यान्मामा थोरै गणनामा आउने पुस्तकहरू मात्र छापिने गर्छ ।

यति धेरै चुनौतिका बाबजुद पनि नयाँ पुस्तालाई साहित्यमा लगाइरहनु भएको छ । आम्दानी पनि नहुने र पाठक पनि नहुने अवस्थामा उनीहरुलाई कुन कुराले यसमा लाग्ने प्रेरणा दिइरहनुभएको छ ?

मैले युवा पुस्तालाई एउटै प्रश्न दोहोर्याई दोहोर्याई सोध्ने गर्छु, तिमी म्यान्मामा म्यान्मा नागरिक मात्र भएर बस्न चाहन्छौँ कि म्यान्मा नागरिक गोर्खाली भएर बस्न चाहन्छौँ ? यदि म्यान्मा नागरिक गोर्खाली भएर बाँच्ने हो भने भाषा बचाउनु पर्छ यसका लागि लगानी गर्नुपर्छ । अरूको मुख ताक्ने हैन । आफ्नै गोडा धसार्नु पर्छ । बस यही भन्छु ।

साहित्यपोस्टसँग तपाईं सुरुदेखि नै आबद्ध हुनुहुन्छ । यो आबद्धताको उदेश्य चाहिँ के हो ?

मेरो नेपालमा अश्विनी काेइराला सरसँग भेट भयो । म्यान्माको साहित्यिक टोलीलाई धनगढीको विश्वसाहित्य सम्म डोहोर्याउनु भयो । नेपालको अन्य ठाउँहरूको पनि सँगसँगै भ्रमण गर्यौँ । यसबीच साहित्यपोस्टले गर्न लागेकाे विशेष खालकाे साहित्यिक अभियानबारे जानकारी गराइदिनु भयाे । मलाइ याे निकै मनपर्याे । व्यक्तिगतरूपमा पनि उहाँ साह्रै असल व्यवहारकाे हुनुहुन्छ भन्ने महसुस भयाे । साहित्यकाे अभियान भनेपछि उसै पनि म हाजिर हुन्थेँ, त्यसमाथि असल व्यक्तिकाे नेतृत्व भएपछि जाेडिनु पर्छ भन्ने लाग्याे र जोडिएँ ।

अन्त्यमा,साहित्यपाेस्ट बर्मामा कत्तिकाे पढिन्छ ? याे पत्रिकाले तपाइँकाे अभियानलाई  केही  सहयाेग गरेकाे छ की ?

अनलाइन भर्सनमा साहित्य आउनु खुसीकाे कुरा हाे । नेपालका राजनीतिक समाचार मात्र आउने गरेकाेमा अब साहित्यिक सामग्री पनि यसरी प्राप्त हुन थाल्याे । यसले किताब नै खाेज्नुपर्ने दायित्वलाई केही हदसम्म मुक्ति दिएकाे छ । साहित्यपाेस्टका बर्माका नेपालीभाषी गाेर्खालीबीच लाेकप्रिय हुँदै गएकाे छ।  खासमा हामीलाई नेपालका समाचारमा भन्दा यस्ता सामग्रीमा रूची हुन्छ । त्यसैले म निकै खुसी छु ।

प्रतिक्रिया
Loading...