नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अन्तर्राष्ट्रिय बन्ने तीव्र चाहानामा समालोचकहरू चुके – प्रा.डा. गोविन्दराज भट्टराई

पर्खिनुपर्छ नेपालमा पनि हुन्छ । यतिबेला बोल्नु हुँदैन उनीहरु तातेको बेला छ । स्वतन्त्र पत्रकार कामेको देखेर अर्थ बुझ्नुपर्छ । स्वतन्त्र समाजका शत्रु सत्ताधारी नै हुन् ।

प्राध्यापक डा. गोविन्दराज भट्टराई नेपाली साहित्यमा मूलतः समालोचकको रूपमा स्थापित हुनुहुन्छ । उपन्यास, नियात्रा र निबन्धमा पनि उत्तिकै दखल भए तापनि उहाँको समालोचकीय व्यक्तित्व बढी प्रभावशाली मानिन्छ । लामो समयसम्म भाषा–साहित्य र शिक्षाको अध्यापनपछि त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त भट्टराईका मुग्लान, मणिपुरको चिठी, सुकरातका पाइला, सुकरातको डायरीजस्ता उपन्यास, तथा उत्तराधुनिक ऐना, उत्तराधुनिक विमर्श, समयबोध र उत्तराधुनिकता, काव्यिक आन्दोलनको परिचय, आख्यानको उत्तराधुनिक पर्यावलोकन, पश्चिमी बलेँसीको बाछिटा आदि समालोचनाका अनेक ग्रन्थ प्रकाशित छन् । प्रस्तुत छ, साहित्यपोस्टका लागि युवा समालोचक महेश पौड्यालले प्रा. डा. गोविन्दराज भट्टराईसँग गरेको अन्तरङ्ग कुराकानी;

नेपाली साहित्यमा विचारको प्रवाह हेर्दा, धेरै विचारहरू भए पनि दुई विचारको प्रभाव बढी देखिन्छ । एउटा विचार बहुलतावादी, प्रजातान्त्रिक र सार्विक मानवीय मूल्यको पक्षमा देखिन्छ । अर्को, प्रगतिशील विचार, जो इतिहास र तात्कालिक यथार्थको पक्षमा देखिन्छ, र त्यसको मूल कथ्य वर्गसङ्घर्षको जगमा उभिएको देखिन्छ । यी दुई घर्षणहरूलाई, एक सिद्धान्तकारको रूपमा यहाँले कसरी सैद्धान्तिकृत गर्नुहुन्छ? अथवा, कसरी मूल्याङ्कन गर्नुहुन्छ? नेपाली परिवेशको सापेक्षतामा भन्दिनु न ?

अलिक अप्ठ्यारो जोडनीमा आइपुगिएछ । सबै कुरा इतिहासले बनाउने, भत्काउने र विनिर्माण गर्ने हो । सभ्यताको राजमार्ग नै यस्तै छ । सभ्यता माथि पनि सधैँ राजनीतिले घोडा चढ्दो रहेछ । उसैले आफ्ना इच्छा लेखाउँछ, मेटाउँछ । त्यसो त हामीले यतिखेर बीचबाटामा सुतिरहेको फोहरका डंगुर छ, उठाएर साफा पार्नु छ, फिनेल छर्किनु छ ।

इतिहासका डरलाग्दा कालखण्ड नाघेर आयौँ तर बहुसंख्यक जनता इतिहासभरि बलिदान भए । फ्रान्सेली, अमेरिकी, बेलायती क्रान्तिहरुले ती सर्वसत्तावादी निरङ्कुशता ढाल्दै ल्यायो र अन्तिम संस्करण रुस चीन आदिमा प्रयोग भयो । तर ती पुराना एकखालका थिए; यताका अर्कै । उता मानिसलाई युगौँको कारागारबाट पाखा निकालेर तिमीहरु अब ‘स्वतन्त्र’ भयौ भनिदिए; यता सारा मानिसलाई सिङ्गो कारागृहमा हुलेर अब तिमीहरु ‘मुक्त’ भयौ भनिदिए । यता चाहिँ सर्वसत्तावादको स्थापना थियो । जसको औचित्यको तर्क वर्गसंघर्षले प्रस्तुत गर्यो । हो जस्तो पनि लाग्यो । मान्छे त्यही हतियारले लडे तर यति चाँडै हेर्दा त्यो पनि होइन रहेछ भन्ने भएको छ । मानिसलाई सुरुङमा थुनेर ल्याएको शान्तिमात्र रहेछ ।

मानिसको अन्तिम लक्षता अनेक विचारको खोजी र स्थापना रहेछ । स्थापना र परिवर्तन रहेछ । एकै विचार ओढ्न ओछ्याउन बाध्य पार्दा मानिसले तबसम्म मान्दछ जबसम्म उनीहरुको नजिकमा बन्दुकले रक्षा गर्दछ । नेपालमै पनि विश्वको एकमात्र प्रजातन्त्र (पञ्चायत) भोग्यौँ हामीले । तर ती काल बिताउन कत्रो सकस पर्यो । त्यस्तै हो । बन्दुकदेखि डराउने, यातनागृहदेखि डराउने मानिस पर्याप्त हुँदासम्म वर्गसंघर्षका सिद्धान्तहरु सफल रहन्छन् । त्यसपछि मानिस मर्छन् तर एकलतन्त्रले थाम्दैन । अधिनायकवादले थाम्दैन । त्यसभित्र ता लेखक, चिन्तक, स्रष्टा कलाकार कि मरिसकेका हुन्छन् कि मरेरझैँ बाँचिरहेका । फेरि पनि मर्न चाहन्छन् तर अधिनायकवादले किचिएर होइन । मानिसको मूल स्वभाव नै स्वतन्त्रता हो, मूल स्वभाव नै प्रजातन्त्र हो, मूल स्वभाव नै अत्याचारको विरोध हो । अभिव्यक्तिको स्वतनत्रता हो । तर हाम्रामा यस्ता पनि लेखक छन् अधिनायकवादकै गीत रचिरहेका छन् ।

पर्खिनुपर्छ नेपालमा पनि हुन्छ । यतिबेला बोल्नु हुँदैन उनीहरु तातेको बेला छ । स्वतन्त्र पत्रकार कामेको देखेर अर्थ बुझ्नुपर्छ । स्वतन्त्र समाजका शत्रु सत्ताधारी नै हुन् ।

प्रा. डा. गोविन्दराज भट्टराई

अर्कातिर जहाँको पनि जहिलेको पनि साशनसत्ताको लक्ष निरङ्कुशताको स्थापना नै हुन्छ । अघि सिधै हुन्थ्यो अहिले परोक्ष हुन्छ । मानिस तर्छाउने, ढाँट्ने र थर्काउने यसका साधन हुन्छन् । अधिकांश कलाकार चिन्तक त्यसैको वशमा परेर समाप्त हुन्छन् । थोरै भ्रान्ति र यथार्थ छुट्याउन नसक्ने हुन्छन; मात्रै मोह त्याग्न नसक्ने हुन्छन्— हरेक समाजमा हरेक राष्ट्रमा । महमा परेर झीँगा उसै लटपटिन्छन् ।

नेपाली समाज त्रासमा जन्मियो, सयौँ वर्ष त्रासमा हुर्कियो । आज पनि सत्य असत्य छुट्याउन नसकिने स्थितिमा त्रासमा र आशमा विभाजित छन्, आज पनि लोभिने टाँसिने सानो प्राप्तिमा ठूलो जिन्दगी बिक्री गर्नेहरु थुप्रै छन । समाज चेतनाले धेरै नउठेसम्म सत्ताधारी तिनैसँग लेखिइरहन्छन्, नेपालमा त्यस्तै छ । अधिकांशहरु जीवनको युद्धमा परेर भित्र कि बाहिर बहुलाएजसरी भड्किएका छन्, समाज अस्थिरताले नित्य नै कम्पायमान छ; ठिक यस्तो बेलामा सत्ताधारीहरु ‘ऊन कतर्दैछन्’ । अंग्रेजीमा एउटा शब्द हो ‘फ्लीस’, त्यसैको अनुवाद गर्दैछन् । वामपन्थी सत्ताले जहाँ पनि त्यही कर्तव्य पूरा गर्छ अनि जहिले पनि एक अपारदर्शी रङ्गमञ्चमा चढेर एउटा प्रहशन (फार्स) नामको नाटक खेलिरहेको हुन्छ । जर्ज अर्वेलको एनिमल फार्म उपन्यासमा एउटा सुँगुर पात्रले भन्छ “सबै पशुप्राणी बराबर छौँ तर कुनै चाहिँ अरुभन्दा विशेष समान हुन्छौँ ।” नेपालमा त्यसको पनि पालना हुन्छ । त्यस्तो पाखण्डको रुसमा एकदिन अन्त्य भयो । पर्खिनुपर्छ नेपालमा पनि हुन्छ । यतिबेला बोल्नु हुँदैन उनीहरु तातेको बेला छ । स्वतन्त्र पत्रकार कामेको देखेर अर्थ बुझ्नुपर्छ । स्वतन्त्र समाजका शत्रु सत्ताधारी नै हुन् ।

मेरो व्यक्तिगत मत हो — प्रत्येक देशको आफ्नै ऐतिहासिक क्रम हुन्छ । बेलायत या अमेरिकाको इतिहासकै मोड अनुसारका मोडहरू नेपाली इतिहासमा आउनुपर्छ भन्ने त छैन नि । तर पनि, हामी समालोचनाको वृत्तमा काम गर्नेहरू, पश्चिमा सिद्धान्तको रैखिक क्रमअनुसार नेपाली साहित्यको पनि मूल्याङ्कन गरिरहेका छौँ । उदाहरणका लागि, पश्चिमका स्वच्छन्दतावाद, आधुनिकतावाद, उत्तरआधुनिकतावाद, उत्तर–उत्तरआधुनिकतावाद अथवा आजभोलिको सांस्कृतिक अध्ययनको बाढी । अनि, हामीले नेपाली साहित्यमा पनि यिनै सिद्धान्त, उही रोलक्रममा हेर्यौँ । यो त्रुटिपूर्ण कुरा होइन र? यसमा समालोचना चुकेको हो वा होइन?

यो त्रुटिभन्दा पनि भयङ्कर त्रुटिको कुरा हो । आधुनिक दक्षिण कोरिया जाँदा देखेँ (तपाईंले पनि देख्नुभयो) त्यहाँको राजप्रसाद रैथाने संस्कृतिको, स्वरुपको, सामग्रीको प्रतिबिम्ब रहेछ । हाम्रामा डेढ सय वर्षअघिको सिंह दरबारले बेलायतको स्थापत्य कालको उत्तम शिल्प ल्यायो । नारायणहिटी ता अझ पछिको भयो ।

पाश्चात्य मुलुकतिर जाने आउने दैलो बन्द भएको देशमा पनि अंग्रेजी शिक्षा प्रणाली, अंग्रेजी चिकित्सा प्रणाली, वस्त्र आभूषण फेशनादि, जीवन शैली र विकासका जति पनि नमूना हुन्छन् ती खालि अन्यत्रैबाट ओसारिए, आँखा चिम्लेर हामीले पनि सभ्य बन्न त्यसैको अनुशरण गर्न थाल्यौँ । वास्तवमा भारतवर्षमा फिरंगी पसेपछि हामी पूर्वेली सबैको कान्ति खुइलिन थाल्यो । उता विज्ञान छ भनेर गमक्क गर्यौँ तर त्यो मात्र सर्वस्व त होइन जीवन चलाउने अनेक पक्ष छन् । सबै खालि अन्यत्रैबाट ओसारेपछि देशको शिल्प, कला, विचार, दर्शन के हुन्छ ?

हाम्रो झैँ धराशायी हुन्छ । पूर्वी जगत्मै अंग्रेजी पसेर तीन सय वर्षसम्म यसलाई चाल्नो पारेपछि हाम्रो मनोबल नै चल्नो झैँ छ्यान्द्रो भयो, त्यो डगमगायो, लड्यो अथवा लड्दै उठ्तै गर्दैछ ।

मेरो व्यक्तिगत मत हो — प्रत्येक देशको आफ्नै ऐतिहासिक क्रम हुन्छ । बेलायत या अमेरिकाको इतिहासकै मोड अनुसारका मोडहरू नेपाली इतिहासमा आउनुपर्छ भन्ने त छैन नि ।

महेश पौड्याल अन्तर्वार्ताकार

सम्वत् १९९५ मा प्रकाशित नरेन्द्रमणि आदिको युरोपीय साहित्यको नमूना हेरौँ अथवा यदुनाथ खनालको समालोचना सिद्धान्त (सम्वत् २००३) रामकृष्ण शर्माको अथवा त्यसपछिका अभि सुवेदीहरुले गरेको आइ ए रिचार्डसको काव्य सिद्धान्त, वासुदेव त्रिपाठीको पाश्चात्य समालोचना सिद्धान्त हेरौँ; मेरै भन्नोस् काव्यिक आन्दोलनको परिचय अथवा उत्तरआधुनिक विमर्श… सबै पाश्चात्य । प्लेटो अरस्तुदेखि यताका समालोचक सिद्धान्तकारका व्याख्या विस्तारणमा लेखिएको ग्रन्थको संख्या नेपालीमा एक सय भन्दा बढी छ । तिनै हुन् बीउ छर्ने कुरा ।

संस्कृत काव्य-समालोचनाका ग्रन्थ चिन्तन संसारलाई जित्ने छन् तर संस्कृतमाथि नै यो देशले प्रहार गर्यो र डढेलो लगायो । त्यसकारण हाम्रो पूर्वीय चिन्तनको बोटै शुष्क र जर्जर छ । अब कसले मल पानी गर्ने ? त्यसैबाट पलाएको नेपालीले पनि संस्कृतलाई भूल्यो, भूल्न बाध्य पारियो र आफ्नो मौलिक वा देशज प्रजातिको विरुवा लगाउने उमार्ने कुनै प्रयत्न भएन ।

समालोचना सिद्धान्त भनेको एउटा ‘लाइट हाउस’ हो; समुद्री किनारको टापूमा उभिएको प्रकाशगृह । आँधीमा तैरिरहेको जहाजलाई त्यसैले बाटो देखाउँछ । त्यो बेगर साहित्य कता जान्छ ? दिशाहीन बन्दै त्यो भुमरीमा पर्छ । तर त्यस्तो समालोचना सिद्धान्त नेपाली साहित्यको पनि हुन्छ भन्ने धारणा नै कसैमा छैन । त्यसैले आदर्शवादका दृष्टान्त उताबाटै ल्यायौँ । यथार्थवादका उतैबाट । त्यसपछि आएको मनोविश्लेषणवादका, अस्तित्ववादका अनि आएका उत्तरआधनिकवाद भित्र पर्ने विविधवादका समालोचनाहरु एउटा रिठ्ठो नबिराई उतैबाट । अरु कहाँका ल्याउनु ? कुन भाषावाटा ? सन् १८५४ मा दरबार हाइस्कूल खुलेपछि पश्चिमी जगत्को प्रवेशद्वार खुल्यो । आज नेपाली चेतना वैकल्पिक उमेदवार भयो; आफ्नै धनु र धडकन बेगरको ।

यो अत्यन्तै त्रुटिपूर्ण कुरा हो । हामी आफ्नो परिवेशमा लेखिएको साहित्यलाई पनि अरुले बनाएकै सिद्धान्त खाकाले मात्र बुझ्न बुझाउन बाध्य छौँ । यो एक विडम्बना हो । आफ्नो देशज कुराको वा चिन्तनको बीउ नै छैन । त्यसकारणले हामी अगणित वर्षदेखि अर्कैका हली गोठाला भएर चल्न सिक्यौँ; अगणित वर्षसम्म यसै गरिरहने छौँ ।

अहिले आएर ता समालोचनाका आफ्नै सिद्धान्त पनि समाप्त भएका छन् । समाजमा आएका असन्तुष्टि आक्रोस र संकटहरु सर्वप्रथम साहित्यमा लेखिन्छन् । तिमीले खटाएर दिएको सिद्धान्तमा मेरा पाइताला अटाएनन् भनी वैरागी काइँलालेझैँ बोल्छौँ हामी पनि । त्यसबाट बिस्तारै एक सिद्धान्तको जन्म हुन्छ । जस्तो कि वैरागीको आह्वान भनेको एउटा फराक विचारहरु खोल्ने समयमा अत्यन्तै अर्थपूर्ण थियो । सन. १९६० मा पश्चिमी जगत्ले संरचनावादलाई टक्टक्याएर फ्याँकेपछि जति नयाँ सिद्धान्त आए ती सबैका बीचमा छ साहित्य । मानिसले सिर्जना गर्ने कला चेतना ता एक आदिम तिर्खा हो त्यो थोरैमा हुन्छ त्यसलाई समालोचना सिद्धान्तले लेखाउने होइन । त्यसले यस्तो समय आयो, यस्तो कुरा लेख यस्तो नलेख भनिदिन्छ ।

यतिखेर समालोचना गौण छ, अनेक सिद्धान्त जागेर उठेका छन् । समालोचकले होइन अब एक नयाँ कृति आएपछि यी सिद्धान्तहरुले कसरी झम्टिन्छन् भने सबैलाई एक एक गाँस पनि पुग्दैन । केही हप्ता अघि पोखराले गणेश पौडेलको पैताला (उपन्यास) माथि उत्तरआधुनिक दृष्टिकोणले छलफल गर्ने कार्यक्रम राखे; हालै पोखराले महारानी (उपन्यास) माथि नारीवादी दृष्टिकोणले छलफल गर्ने कार्यक्रम राख्यो ।

फ्रान्सेली चिन्तक रोलाँ बार्ट (सन् १९१५–१९८०) ले एक वैचारिक लेख प्रकाशित गरेका थिए लेखकको मृत्यु (सन् १९६७) । उनले यस्तो घोषणा गरेका त्यसै होइन रहेछ । एउटा आख्यान आएपछि सर्वप्रथम माक्र्सवादी खनिन्छन् यो जनताको लागि हो कि बुर्जुआको पक्षपोषणमा छ त्यसको टुङ्गो लाउछन् । भानुभक्तलाई समेत बोक्र्याउन सक्ने उनीहरुबाट कोही बच्ने छैन । अरु पक्ष र प्राप्तिको कुरा गर्दैनन् । माक्र्सवादी आलोचनात्मक दृष्टिले हेर्दा यस्तो भयो भन्ने ठहर गर्दछन् र यसले पार्टीलाई सघाउँछ भने साहित्य हुन्छ नत्र यो खोसेलाको भारी हो भन्ने ठहरमा पुग्छन् ।

त्यसपछि आउँछन् नारीवादीहरु, महिलावादी, स्त्रीवादी, लिङ्गवादी, विभिन्न प्रकारका शरीरी संरचनात्मक पक्षबाट कृति–समालोचना कर्ममा अभ्यस्तहरु अनि त्यसको टुङ्गो लाउँछन् । यसले एकल महिलालाई कसो भन्यो, विवाहको फोहोर खोतल्यो कि चुप लाग्यो, शारीरिक यौनिक स्वतन्त्रतालाई कहाँ लगेर डोरीले कस्यो, लैङ्गिक हिंसालाई कतिको महत्व दियो, समलिङ्गी, बिसमलिङ्गी संन्दिग्ध, सबै जाँचेर मात्रै त्यसलाई जाँचपास गर्दछन् । यी दुवै सिद्धान्तमा लेखन शैली, भाषा, शिल्प सिर्जनात्मकताका यस्ता कुरा गौण रहन्छन् । सिर्जनामा आत्मा जति बन्धकी छन् । प्रायशः विद्यार्थीहरु भन्नेछन्— सर मैले ता डायास्पोरा सिद्धान्त लगाइदिएँ अथवा यसमा ‘इको’ लगाइदिएँ… आदि । तिनको आद्य परिभाषा अरस्तु प्लेटोदेखि यता आउँदा कही भेटिएला ।

त्यसपछि आउँछन् पर्यावरणवादी, प्राणीवादी, पृथ्वीवादी कसरी हेरियो मानवेतर जगत्लाई विकाशलाई, त्यो छुट्याउने सूक्ष्मदर्शक भिर्दछन् ।

त्यसपछि आउँछन् जातीय जनजातीय भेदका, फरकका, विशेषताका तिनको संस्कृति बुझेर लेख्यो कि त्यस्तै उर्लियो तिनको मनोविज्ञानमा कस्तो प्रभाव पार्यो । विविध जनगोष्ठीको अस्तित्व रक्षार्थ बोल्यो कि ‘ग्राण्ड न्यारेटिव’ को भारी घिसार्दै दौडिरहेको छ ? … गर्दै गर्दै दलितसम्म पुगेर लेखकको नाडी छाम्दा ऊ साँच्चै नै कोमामा जाने हो कि फर्केर आउँछ थाहा हुन्छ ।

अर्का छन् मन दुईतिर भाँचिएका, शरीर, एकातिर बाँधिाएका डायास्पोराहरु । तिनको विषयमा लेख्न खोज्दा मर्म बुझेर गर्यो कि बोक्रामाथि टेकेर कुद्दै छ यस्तो कुराको निक्र्याेल नगरी हुन्न । त्यो पनि निक्र्याेल गर्नेहरु छन् । सिद्धान्त नजाने पनि आफैँ अजमाएर कति कुराले ठोक्न सक्नेहरु जन्मेका छन् । राम्ररी ज्ञानशास्त्र नभिजेको भूमिमा, यस्तै छिपछिपेको राज चल्छ । त्यसबेला म कवि शिरोमणि लेखनाथलाई सम्झिन्छु— “टपर्टुइयाँ पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।”

यस्ता धेरै फड्के छन्, धेरै धराप छन् । तिनमा तरेर पारि पुग्न एक वनीन लेखकलाई मुश्किल छ । स्थापितलाई पनि कहिले पछारेर बगाइदिन्छ नपत्याउने खोलाले ! त्यसैले हिजोआज साहित्य सिर्जिनु एकदम खतर्नाक खेल भएको छ । साहित्यका अनादिकालदेखिका तत्व र विशेषता हटाएर अर्थाेकै नयाँ केही भिर्नुपर्ला जस्तो पारेका छन् तर यसको मूल आत्मा त कल्पनाशीलता र भाषिक नवीनता अनि शैलिगत परिष्कार हुन् । ती कुरा आज थला परेका छन् । कुन लेखक बोल्ड छन्, कसले यौनांग र तिनका कृयाकलाप प्रस्तुत गर्न सक्छन्, कसले संस्कृति–बर्जित, धर्म–बर्जित कुरा पत्ता लगाएर ती भत्काउँछन्, ती नै दामी ठहरिन्छन् । आत्माबेगरका पुतला नाचेका नच्यै छन् । किनभने साहित्यको उत्तम घर ताकेर हिँड्ने लेखकलाई आजका समालोचकले बाटैमा लडाएर मूर्छा पार्छन्, फेरि ऊ ब्यूँझेर हिँड्न सक्तैन । यसैलाई शायद रोलाँ बार्टले “लेखकको मृत्यु” भनेका हुन् कि एक अनर्थको झोँकमा ।

समालोचक चुक्यो महेश भाइ, पूर्ण रुपले चुक्यो । प्रत्येक समालोचकमा अन्तर्राष्ट्रिय बन्ने चाहना तीव्र बन्दैछ, राष्ट्रिय चेतनाको बीज छैन, तर अर्कातिर भाषिक, सांस्कृतिक परिवेश भित्रबाट राष्ट्रिय चेतना बोक्ने समालोचक जन्माउने न कुनै व्यक्ति छ न कुनै संस्था न राष्ट्रिय प्रज्ञाको चिन्तन छ । हामी अर्कै अर्कैका लुगा वस्त्र भिरेर तर्छाउने जस्ता भएर दौडिरहेका छौँ, नाचिरहेका छौँ, लेखकहरु झन्झन् तर्सेर भाग्दैछन् ।

करिब आधा शताब्दी यहाँले अक्षरको खेती गरेर, गोडमेल गरेर, झारपातको फँडानी गरेर, र सुन्दर प्राप्तिहरूको बाली भित्त्र्याउनु भयो । नेपाली साहित्यको एउटा ठूलो भँगालोको विकासक्रमकाे पनि साक्षी बन्नुभयाे । अब द्रष्टाभावले हेर्दा  समकालीन नेपाली साहित्यको स्तर के पाउनु भयाे ?

महेश भाइ, अंग्रेजी साहित्यमा जमेर त्यसले पेट पाल्दै नेपाली भाषा–साहित्यको उन्नतिमा प्राण अर्पेर लागेका तपाईंसँग मेरो पनि एक प्रकारको तरङ्गदैघ्र्य (wave length) पनि मिल्ने भएकोले, मनमा लागेका कुराहरु तपाईंले राख्नु होला र म पनि खुलेर बोल्ने मौका पारौँला भन्ने आशामा थिएँ । आज त्यही क्षण प्रत्यक्ष छ । त्यसो त यो कुनै भूमिगत संगठनमा बोलिएको अन्तर्वार्ता पनि होइन; केवल नेपाली भाषा साहित्यको चिन्ताले सोधिएका केही प्रश्नका पार्सलमाथिको प्रतिक्रिया हो । त्यही चिन्ताले उत्पन्न केही उत्तर हुन् । तपाईं पनि नेपाली साहित्यको उन्नतिपथ पक्रेर त्यतै हिँड्न रमाउने यसमा केही गर्न सकिन्छ कि भनी छटपटिने व्यक्ति भएकाले, हाम्रा मनोभाव बुझ्ने व्यक्ति भएकाले आज ढुक्क छु । कति ठाउँमा त प्रश्नको स्तर हुँदैन, तैपनि केही बोल्न कर लाग्छ । तर आज त्यस्तो छैन, मन छुने कुरा भेटेर म खुल्दैछु ।

नेपाली साहित्य नवीन छ, कलिलो छ । वर्तमान विश्वका बूढा पुराना वृक्षहरु हेरौँ— जर्मन, फ्रेन्च, अंग्रेजी जस्ता । एक हजार वर्षदेखि फल लाग्न थालेका । पूर्वका नेपाली हिन्दी मैथिली, बंगाली, नेवारी जस्ता भाषाका पनि जरा त्यत्तिकै पुराना थिए तर देवकोटाले सुलोचना महाकाव्यमा भन्नुभएझैँ एसिया महादेशका भाषाहरुमा महाकाव्य आइस्ल्याण्डमा सर्पझैँ भएर सुतेका थिए ।

हामीले नेपाली उपन्यासको प्रथम शताब्दी मनाएको २०६१ सालमा हो । नाटक, निबन्ध, समालोचना सबै त्यसकै वरिपरि छन् । कविता अलिक प्रौढ छ तर सबैको उही परिवेश हो एकै दामले हुन् ती सन्तान । ठीक त्यसैबेला (सन् १९१३ मा) बङ्गाली भाषाका कविगुरु रवीन्द्रलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । हाम्रौ साँध जोडिएका छिमेकी । हाम्रो वीरसिक्का आइपुग्दा उनीहरुका ताराशङ्कर, बङ्किमचन्द्र, शरच्चन्द्र जस्ताको उदय भइसकेको थियो । आदिकाल काटेर त्यहाँ आइपुगेका थिए । हामी आदिकालमै थियौँ ।

भाषासाहित्यको पनि जीवन, उमेर अनि यात्रा हुन्छ । जो झिसमिसेमै ब्यूँझेको थियो उसले नौ डाँडा काटिसक्यो । हामीलाई अशिक्षाले, अचेतनाले, अधिनायकताले अचेत पारेर शताब्दीयौँ सुताइराख्यो । भर्खर ब्यूँझेका हौँ । त्यसो त सम्पूर्ण एसिया नै भर्खर छ जापानबाहेक । पुराना भाषा वृक्षहरु उखेलेर नयाँ भाषाका दल राखेर उमारेर रोप्ने देशहरु छन् सबै पूर्वका । यहाँका अनेक शताब्दी राजनीतिक अस्थिरताले खाइदियो । त्यसैले अति नयाँ नयाँ छ नेपाली भर्खर फुल्न फल्न थालेको मात्रै छ । हामी आफैँलाई फुर्किन त पुग्नेछ । जब विश्वलाई देखाउने कोसेली खोज्छौँ, केही छैन; त्यतिबेला मुख छोप्नु पर्छ । जब विश्वले चिन्ने माध्यम केही छैन भन्ने बोध हुन्छ, तब मुख छोप्छौँ ।
पचास वर्षे युद्ध र द्वन्द्वले निलेको अफगानिस्तानले पनि खालिद हुसेनी जन्मायो । उनको द काइट रनर, स्प्लेण्डिडसन् जस्ता उपन्यासमा विश्वले अफगानिस्तान पढ्दैछ, नेपाली पाठ्यक्रममा पनि ती कृति छन् ।

गतवर्ष श्रीलङ्का भ्रमणको संजोग मिल्यो । त्यो देशको प्रवेशद्वार खोज्दै जाँदा देखेँ— श्रीलङ्का देखाउने आजसम्मकै सर्वोत्तम कृति माइकल ओन्दाजेको रनिङ इन द फ्यामिली किनेँ । किन्ने कारण के थियो भने यसको परिचयले भन्छ— यो आख्यानत्मक संस्मरण हो । यो मायिक यथार्थवादी शैली प्रयोग गरी लेखिएको श्रीलङ्काली उत्तरआधुनिक कृति हो ।त्यही शक्तिले त्यो किनायो ।

भीएस नैपल अघि नै पढिएको हो । मलाई लाग्यो बेलायतबासी भीएस नैपलले पाँच सय भारतीय स्रष्टाको शक्ति उत्पन्न गरेर पश्चिमतिर भारतलाई चिनाएका छन् । अमेरिका निवासी खालेद हुसेनीले पाँच सय अफगानी स्रष्टाको शक्रि उत्पन्न गरेर मूलभूमिलाई चिनाउँदै छन्, क्यानाडा निवासी ओन्दाजेले पाँच सय श्रीलङ्काली लेखककको शक्ति जोडेर आफ्नो जन्मभूमिलाई विश्वमा चिनाउँदै छन् । दुई वर्षअघि बेलायती–जापानी इशिगुरोले नोबेल पुरस्कार जिते । कति जापानी लेखकले त्यो शक्ति प्राप्त गर्थे हुन् ? चारै जना दुई भूमिमा जोडिएका ‘डायास्पोरिक’ लेखक हन् । भाषा आफ्नो देशको छैन तर आफ्नो देशको आत्मा तिनीहरुकै प्रयत्नले चिनिदैछ ।

नेपाली साहित्यमा हामी दुई जना स्रष्टाको नाम लिन्छौँ— सम्राट उपाध्याय र मञ्जुश्री थापा । आशा गरौँ उनीहरुबाट पनि नेपाली जातिलाई उठाउने केही त्यस्तै सुकर्म सम्पन्न हुनेछन् । मरेर अरुका अनुवाद गर्दैछौँ तर त्यसमा मौलिक जस्तो शक्ति नहुँदो रहेछ कि क्या हो । ढिलो तागत लाग्ने ।

तर अरुका स्तरमा दाँजिन ता आफ्नै भाषामा लेख्नु पर्छ, आफ्नो साहित्य उठ्नु उठाउनु पर्छ । अन्यको भाषा टिपेर सिकेर त्यसलाई कुनै चोके बल्छीमा अल्झाएर आफ्नो देशलाई चिनाउनु एउटा कुरा हो, बैसाकीमा हिँडेजस्तो तर सर्वप्रथम ता आफ्नै भाषा–जननीलाई भिटामिन खुवाएर बल्ली बनाउनु पर्दछ, दह्री र राम्री बनाउनु पर्छ । त्यसो भए मात्रै उनले जन्माएका सन्तानहरु पनि आफ्नै माताको स्तनपानले दह्रा भएर संसारसँग भिड्न सक्ने छन्; त्यस्ता छोराछोरीको खाँचो छ । विमाताको पौष्टिक स्तनपानले हुर्केपछि धेरै समय उतैको ऋण चुकाउनु पर्ने हुन्छ । स्वभावैले आफ्नो देशको लागि खर्च गर्न आधि मात्र शक्त बाँकी रहन्छ ।

सर्वप्रथम त आफ्नै भाषालाई छुनुपर्छ; यसैलाई सुमसुम्याउनु पर्छ । अन्य भाषामा मात्रै बोल्नु भनेको अरुको लाउड स्पीकरमा आफ्नो मुख जोडेर कराउनु जस्तो हो । यता आफ्नो भाषामा बोलेको कसैले नसुन्दो रहेछ भन्ने प्रभाव दिनु जस्तै हो । नेपाली भाषासाहित्य उठाउन सकीनसकी गाउँठाउँदेखि हजार हण्डर खाँदै दुःख भोग्दै यसैमा लेखिरहेका, बोलिरहेका, छापिरहेका लाखौँ स्रष्टा नै यो देशका भनौँ यो जातिका प्राण हुन् । यहाँदेखि उठेर संसारको दशै दिशा पुगेका नेपालीहरु पनि नेपाली भाषामै प्राण भर्न दत्तचित्त भएको देख्ता हामीलाई साहसभरिने कारण त्यही हो । यसैपालिदेखि हो अमेरिकाबाट द गोर्खा टाइम्स नामक साहित्यिक पोर्टल प्रकाशित हुन थाल्यो महेश पौडेलको सम्पादकत्वमा । त्यसमा हामी सबै छौँ । यसै पालिदेखि हो सिलिगुडी/दार्जीलिङदेखि पब्लिकनामा साहित्यिक पोर्टल प्रकाशित हुन थाल्यो राजा पुनियानीको सम्पादकत्वमा । त्यसमा हामी सबै छौँ । त्यसो त दुवै प्रयत्न अंग्रेजीमा छन् । नेपाङ्ग्रेजी मिसिएला । तर हाम्रा शक्तिका पहिचान हुन् । अर्काको लाउडस्पीकरमा आफ्ना मुख जोतेर हामी कराएका । कत्ति हाम्रो स्वर कसैले नसुन्ने त भनी नेपाली साहित्यबारे विश्वभाषामा बोल्न थालेका । यी साना घटना होइनन् । इतिहासले मात्र यिनको मूल्याङ्कन गर्नेछ । हामी विश्वसमक्ष नेपाली साहित्यको स्वर सुनाउन कति चिन्तित, व्यग्र र उत्सुक छौँ भन्ने कुरा । यी दुवै घटना योगानुयोग मात्र होइनन्, नेपाली नयाँ पुस्ताका अभनिदेशका प्रकटीकरण पनि हुन् जसलाई अंग्रेजीमा हामी ‘आङ्ष्ट’ भन्छौँ । तर नेपाली साहित्यका बोट विरुवा कलिला छन् भर्खर फुल्न लागेका । व्यापक विश्वदेखि केही उर्बरक ल्याएर बेलाबेला हाल्नुपर्छ होला— यी हलक्क बढून भनेर । नत्र यिनीहरु टाक्सिएर घोगा हाल्न नसक्ने मकैका बोट जस्ता हुन्छन्, दाम्रा, लामा, खडेरीले खाएका । त्यसका साथै हामी आफ्नो भाषा साहित्यमा यति र यस्तो गर्दैछु भनेर अरुले सुन्नेगरी जोडले कराउनु पनि पर्ने रहेछ । हामी बौल्नै सकेको छैनौँ ।

पश्चिमा साहित्यले के दिन सक्छ — त्यो करिब करिब तय भइसक्यो, अथवा आइसक्यो । आज, विश्वका पाठकको ध्यान पश्चिमेत्तर मुलुकहरूतिर देखिन्छ — एसियातिर, अफ्रिकातिर, केरिबियातिर, दक्षिण अमेरिकातिर । यहाँ उत्खनन हुन बाँकी धेरै कथा, मिथक, दृष्टि वा लघुइतिहासको भण्डार छ । त्यसैले, नेपाललगायतमा मुलुकतिर पनि पाठकको खूब चासो छ । तर, हामीले यसको तयारी कत्तिको गरिरहेका छौँ जस्तो लाग्छ? के हामी विश्वको यस परिवर्तित चासोलाई क्यास गर्ने स्थितिमा छौँ? छौँ भने कसरी? छैनौँ भने भूल कहाँनिर भयो होला?

अवश्य, लघु इतिहासहरु अदेखा छन् । तर धेरैका दृष्टि उही स्थापित महावर्णनतिर छन् । ग्राण्ड डिजाइन नभत्किने रहेछ । पश्चिमले बनाइसक्यो र हाम्रा मनमा त्यही छ । उसैले भन्दै हिँडेको थियो— सारा ‘ग्राण्ड न्यारेटिव्’ भत्काउनू । तर त्यसको अर्थ ‘अरुका जति भत्काउनु तर मेरा जतिलाई पछ्याउनू’ भनेजस्तो सुन्दै छु म त— भनेजस्तै गर्दाेरहेछु । ‘मामेकम् शरणम् ब्रज’ भन्ने पदावली छ गीतामा भगवान् कृष्णको; त्यस्तै हुँदैछ ।

यतातिर ‘विश्वका मजदूर एक हौँ’ भन्ने अर्काे (पुरानो) ग्राण्ड न्यारेटिव छ, कोही त्यता कुधेका छन् सास थुनेर । तर प्रतिपल ती झन् झन् अनेकतातिर पस्तै छन् । माक्र्सले ल्याएको डेढ सय वर्ष पुरानो महावर्णन छ— एक विचारबाट दुई विचार गरिस् भने तँ मरिस् भन्ने अर्थको । उतातिर नित्सेले रोपेका बिरुवा हुर्केर पश्चिमी वृक्ष भएपछि अर्काे महावर्णन बन्यो तँ जति धेरै टुक्रा भइस् त्यति धेरै तेरो आयु सुनिश्चित हुनेछ नत्र तेरो काल नजिक छ, सभ्यता–वृक्ष समेतै तँ धूलो खरानी हुनेछस् । यस्ता जोर जोर महाआख्यानको चेपुवामा परेका नेपालीका आँखा हेर्दाहेर्दै फुस्रा भैसके । एकपल्ट उत्तरबाट कस्छ अनि अर्काेपल्ट पश्चिमबाट कस्छ । विश्वका कामदार एक हुँदैछन् कि अनेक आजका पाठकले विचार्नेछन् । यता जाँदा जाँतामा पिसिने उता ढिकीमा फलिने मात्र फरक हो। आफ्नो कुनै आधार नहुने व्यक्तिको अर्थात् राष्ट्रको भाषा साहित्यको गति यस्तै हो; अर्काको ढाडमा बोकिएर ठड्याएको सभ्यता यस्तै रहेछ ।

यो प्रश्न गम्भीर छ । यसको प्रभावले समय–सचेत स्रष्टा वा समालोचकलाई मात्र छोएको छ । कोही समय–विचेत छन्, केले सिर्जना गरिहेर्छन्, तिनीहरु ? परम्पराको डोबमा पसेर अर्थाेक ता केही थाहा छैन । सिर्जना भन्नु त विशाल आयाम परिवर्तनको कुरा हो । समय–सचेत स्रष्टाहरुलाई यस परिवर्तन चिन्ताले पनि उत्तिकै पिरोलेको हुन्छ । प्रा. राजेन्द्र भण्डारीले शब्दहरुको पुनर्वास (कवितासंग्रह सन. २०१०) को भूमिकामा यस्ता शब्द लेखेका छन्ः अन्धकार ओढेर प्रकाशतिर लम्किन्छ कवि । अन्धकारसित लड्नलाई ऋषिमुनिहरुले उपासना–विधि निकालेका थिए । कविको आफ्नै योगविधि छ । ऊ पनि परिव्राजक हो, पुरोधा हो । ऊ पनि चेतनाको कुरुक्षेत्रमा शब्दका हतियारले लड्ने अर्जुन हो । कविको दिशाज्ञान उसकै अन्तर्चक्षु हो । कुनै निर्दिष्ट वादको मस्तुलले कविको जहाजलाई बाटो देखाउँदैन । चातुर्ययुक्त वाग्विलासले कहिलेकाहीँ गहनताको भ्रम सृजना गरिदिन्छ । कविता वाग्विलास पनि हो । यद्यपि यो नै सबैथोक होइन ।

रसिलो फल र रसिलो कविताले आफ्नो परिचय स्वतः दिइरहेकै हुन्छ ।

साहित्यको “प्रयोगवाद” को पनि एउटा पोलिटिक्स हुन्छ । दक्षिण अमेरिकी महादेशका लेखकहरूले “मयावी यथार्थवाद” को विकास गर्नुका पछाडि युरोपले विकास गरेको रैखिक र यथार्थवादी शैलीको विनिर्माण गर्नु थियो । अश्वेत लेखकहरूले मानक अङ्ग्रेजीभित्र आफ्नै “ब्लेक इङ्लिश भर्नाकुलर” मिसाउँदा, पश्चिमको भाषिक साम्राज्यवादलाई ध्वस्त पार्नु एक उद्देश्य थियो । नेपाली साहित्यमा “प्रयोगवाद” फगत प्रयोगवाद जस्तो लाग्छ । यसका पछाडि कुनै पनि प्रतिबद्ध ऐतिहासिक उद्देश्य देखिँदैन । त्यसैले, मेरो मूल्याङ्कन छ — हाम्रो संरचनागत प्रयोगवाद फगत एक फेसन हो । यसमा यहाँको मत के छ ?

नयाँ सिद्धान्तहरु आए भन्छौँ तर ती त अर्थाेक होइन हाम्रा दुःखका नवीनरुपलाई हेर्ने (देखाउने) ऐना मात्रै रहेछन् । अतीतले धेरै देखाएनछ, नयाँ समय थपिँदै जाँदा दुःखका नवीन, रूप संस्करण पनि स्वतः बन्दै जानेरहेछन् । दलित, अपरिचय, आदिवासी, रंगभेद, पर्यावरणीय, मार्जिनल, साइबरीय यावत हिजो कहाँ लुकेका थिए ?कसरी आजै ती थपिँदा छन् ? शायद एक समालोचना सिद्धान्त बनिनु भनेको मानव चेतनाको एक पत्र उघ्रिनु होला ।

म छक्क पर्छु— सिर्जनाका शाश्वत मूल्यहरु एकपल्ट सिकेपछि सदालाई होला भनेको, नहुँदो रहेछ । अनुपस्थितिमा रहेछन् कति कुरा समयले उघार्दै लाँदो रहेछ । नारीका, लैंगिक विभेदका कष्ट हिजो कहाँ थिए ? मानवेतर जगत्का अनेक दुख भरिएर पृथ्वी घाइते झैँ भएकी छन् आजै । अनेकौँ दुखहरु मिली ठूलो मुख बाएर रुँदै कराउँदै खबरदारी गर्दै सडकमा आएका छन् आजै । हिजो ती कहाँ थिए ?

मानिसको रक्षा गर्ने नयाँ कुराको आविष्कार गर्दागर्दै पुराना दबिएका रोग जन्मिदा रहेछन् । यतिखेर विनिर्माणवाद सिक्नु कि, नारीवादी सिक्नु कि, पाठक–प्रतिक्रिया सिक्नु कि, उत्तर–औपनिवेशिकता, सबाल्र्टन, नवइतिहासवाद— स्रष्टाले नै यी नबुझेसम्म लेख्ने वैश्विक चेतना आउँदैन, सिक्नपट्टि लाग्दा एउटा छोटो जीवन छ, सिर्जना गर्ने समय चिप्लिन्छ; अझ जिन्दगी नै समाप्त हुन्छ । त्यसैले अहिलेको स्रष्टा संकटमा छ । संकटमा हेलिएर पारि पुग्ने दुई विकल्प छन्— कि म माक्र्सवादी हुँ भनेर अरु सबै झ्याल ढोका थुन्नुपर्यो, कि सबै उघारेर बाहिरको कोलाहल सुन्नु पर्यो, त्यो सुन्दै परिवर्तित समाजमा समायोजित हुन सक्नु पर्यो । एकातिर संरचनावाद अथवा यथास्थितिवाद छ । त्यस अनुसार लेख्नु समालोचना गर्नु भनेको कुनै कर्म अनुष्ठानमा सधैँ तोकिएका मात्रा, संख्या, गुण र पद्धतिले युक्त सिधाका टपरी ठिक पार्नु जस्तै मात्रै हो । एकातिर यस्तै नित्य केवल प्रतिलिपिझैँ संरचनावाद छ भने अर्कातिर जगत्को परिवर्तित आवाज र त्यसलाई चिन्ने बहुलवादी उत्तरआधुनिकता छ । अनेक पत्र । एकपत्रे खेल खेलेर कल्पित बुर्जुआहरुलाई पछारिरहने कि यथार्थ समाजमा उत्री यसका नवीनतम स्वरुप उधारी हेर्ने ? हाम्रासामु एक संकट छ ।

तर यस्तो संकटको बीउ हामीले उमारेको होइन । पश्चिमबाटै आयो । सत्य र असत्य, धनी र गरीब, नारी र पुरुष जस्ता द्विचर विभाजन गर्नुहुँदैन; विभाजन गरेर ती दुईलाई मात्र अन्तिम सत्य स्वीकार्नु हुँदैन; अरु बीचमा अनेक भाग र भेद हुन्छन्, सत्यलाई यसरी ‘होलसेल डल्ला’ नपार्नू भन्ने खबर उतैबाट आयो अनि सबै खाले महावर्णन (ग्रान्ड न्यारेटिव) भत्काइदिनू भन्ने पनि आयो सबै लागेर भत्काउन लाग्यौँ । त्यो नसक्तै फेरि उतैबाट अर्काे महावर्णनको छनोटको पनि जन्म भयो— पश्चिमेली र अपश्चिमेली, युरोपेली र अमेरिकी बनाम पूर्वेली र अफ्रिकी अथवा तिनीहरुलाई ‘अन्य’ भनेको सुनियो । तर राम्रो चिज आयो भनेर हामीले पनि नन–वेष्टर्न अँगाल्यौँ, विश्वविद्यालय पाठ्यक्रममा हालेर जोडले करायौँ । परिणाम के थियो भने उही द्विचर विभाजन— पश्चिमी र युरोपेली गतिलो र अरु नन्–वेस्टर्न, नव समावेशी साहित्य संस्कृति भाषा विचार सबै नवीन, छिप्पिएको ।

अनादिकालदेखि संस्कृत मूलमा संरक्षित महान् सभ्यतालाई हामीले उपेक्षा गर्दै आएको परिणाम यतिखेर भोग्दै छौँ । हाम्रा भाषा कलिला छन् काँधमा हलोजुवा नै थाम्न असमर्थ । नयाँ सभ्यता बीउ छर्दैछौँ र आफ्ना कलिला बहरलाई फकाउँदै धुलामाटामा जोतेजस्तो गर्छाैं । धेरै मेलो सक्नलाई ता उतैका ल्याउनुपर्छ अकाश छुने जुरो भएका मकदुर माले–तारे । जापानी, चिनियाँ, तेलुगू, उर्दू केहीले सकेन । वेष्टर्न–नन्वेष्टर्न आफैँ लडेका छन् एक आपसमा भने नेपाली शिशुको के कुरा !

डाँडामा चढेर हाम्रै साथीहरुले उद्घोष गरेको सुन्यौँ— “संसारका गरीबदुःखीहरु एक हौँ ।”
दुःखले डामिएर मरेका हामीहरु यताबाट कुर्लियौँ— “एक हौँ, एक हौँ ।”
भर्खरै पश्चिमी कुनाबाट अर्काे उद्घोष आयो— “संसारका महावर्णनहरु भत्काउनै पर्छ ।” महावर्णनले थिचिएका हामी दुःखी गरीबहरु यताबाट कुर्लियौँ— “भत्काउनै पर्छ, भत्काउनै पर्छ ।”
अनि जातिभेद, लिङ्गभेद, वर्ग भेद, सारा भेदक पर्खालहरुमा खनियौँ ।

हातमा खुँडा खुकुरी, बञ्चरा, मार्तल, हँसिया, हथौडा बोकेर उत्तेजित भई पस्यौँ र संसार थर्रथर्र हुनेगरी हान्न थाल्यौँ; डङडङ त्यो बर्लिनको पर्खाललाई र ढालेर छोड्यौँ । सारा एकाम्मे पार्यौँ ।

कति कति वर्ष बिते; आज हामी कोरोनाकालमा पनि ढुक्तै छौँ, मर्दैछौँ तर पनि बाँच्तैछौँ; मर्न नसकेर मात्रै । बेलाबेला आवाज आउँछः सबै प्राणी समान छौँ, तर कुनै प्राणी अरुभन्दा बढ्तै समान हुन्छन् ।

नयाँ समय आइसक्यो, नयाँ समानताकारक सरकार पनि, सबै नारा फेरेका छौँ हाम्रा समालोचनामा पनि । विश्वको यस परिस्थितिप्रति सचेत भएर लागेका छौँ । घरिघरि नेपालमा डरलाग्दा लेखक जन्मिरहेका छन्, झन् डरलाग्दा समालोचक, तिनीहरुलाई पनि थलापार्ने पाठकको धुइरो छ । कुनै लेखक अलिकति छिसिक्क चुक्यो भने फेसबुक भित्रै उसको समाधिस्थल बनाउँछन् । गारो छ वर्तमान; यसको शैली, शिल्प, कला, कल्पना मारिसक्यौँ । कसले कुन विषय निकाल्यो त्यसको महिमा हुन्छ । सुकेका सेउला हातहातमा बोकेर वर्तमान स्रष्टाहरु विजुवा काम्दै छौँ । बेलाबेला बर्बराउँछौँ पनि कुन मालिकले सिकाएको मन्त्र छ, त्यसै अनुसार । यतिखेर ता फाँडेर ल्यायो नि सबै विश्वग्रामिकरणले ।

हाम्रो साहित्यलाई पश्चिमा समालोचनाका कसीले पूर्ण रूपमा न्याय गर्न सक्दैन । हामीलाई, आफैँलाई सटिक ढङ्गले व्याख्यातित गर्नलाई आफ्नै मौलिक र रैथाले सिद्धान्त चाहिन्छ । तर, हाम्रा मौलिकता रैथाने सिद्धान्त कि त वैदिक कालीन, शास्त्रीय केही पद्धतिमा सीमित छ (रस सिद्धान्त वा नाट्यशास्त्रजस्तो), कि त अध्ययन पद्धतिको रूपमा विकसित हुन नसकेका र केही समूहहरूमा सीमित सिद्धान्तमात्रै छन् — जस्तो कि लीला लेखन, तेस्रो आयाम वा सिर्जनशील अराजकता । हामीले किन लोकप्रिय र विश्वव्यापी प्रभाव हुने मौलिक रैथाने सिद्धान्त वा अध्ययन पद्धतिको विकास गर्न सकेनौँ होला? वा, सकेका छौँ ?

एउटा सामान्य स्पष्टिकरण छ— उत्तरआधुनिक विमर्श (२०६४) नामक ग्रन्थमा ‘म्याजिक रियालिजम्’ पदावलीलाई ‘मायिक यथार्थवाद’ नाम दिएको थिएँ; हिन्दीमा ‘जादुई’ भन्छन् । हाम्रा पूर्वीय शास्त्र कथा पुराणमा घना प्रयोग भएको र हाम्रा मनमा भिजेको कुरा— जस्तो कि, हिँड्दाहिँड्दै जंगलबीचमा आकाशवाणी सुनिनु, स्वप्नमा ‘तैँले यहाँनेरी देवीको मन्दिर बनाउनू’ भन्ने आदेश हुनु, भ्रान्तिमा आफ्ना गाईवस्तुलाई राक्षसले धपाएको देख्नु… डायमन शमशेरले सहज ज्ञानले नै तिनको त्यति प्रचूर प्रयोग गरे सेतो बाघमा । वसन्तीमा पनि छ ।
तर उता जर्मनीमा उदायो, अनि उडेर दक्षिण अमेरिका पुग्यो । त्यस टेक्निकको प्रयोक्तालाई नोबेल पुरस्कारसम्म प्रदान गरियो— सन् १९८२ मा ग्याब्रिएल गार्सिया मार्केजले सो सम्मान प्राप्त गरे । उनका कथामा त्यो चमत्कार छ । केही ता हामीले उच्च तहको पाठ्यक्रममा पनि राख्यौँ । उनी मात्र होइन उनका समकालीन इजाबेल अलिन्डे, जोर्गे लुई बोर्गेस, जुआन रुल्फो गर्दागर्दै विश्वभरि फिजियो । सल्मान रुश्दी (अंग्रेजीमा) यही कलाको लागि प्रशिद्ध छन्, बंगालीमा पनि शहिदुल जाहिर, जिवानन्द दासहरुको नाम लिएका छन्, मैले पढेको छैन अनि नेपालमा पनि सुकराका पाइला लेख्ने गोविन्दराज भट्टराईको पनि नाम आउला कि भनी पर्खें तर १५ वर्ष बिते आएको छैन । ठूलाठूला साँढे डुक्रेको मैदानमा बाख्राको सानो पाठो कराएको कसले सुन्छ ?बल्ल यसपालि असमेली स्रष्टा ज्ञानबहादुर छेत्रीले अफ्नो उत्तरआधुनिक सिर्जना र समालोचनाका आधारहरु कृतिमा त्यसबारे एक पाठ लेखेका छन् ।

यो चाहिँ मलाई प्रयोगवाद जस्तो लाग्दैन । दृष्टिकोणको विस्तारण मात्र हो । यस्तो प्रकृतिको यथार्थवाद पनि हुनेरहेछ भन्ने विश्वास थपिनु मात्र हो । सबै ता यथार्थ जस्तोले नै मानिसलाई झुक्याएर अनेक कर्म गराउँछ । कोही निद्रा–भ्रमण गर्ने बानी परेका हुन्छन्, सबै ता जागृतावस्थामै भ्रमण गर्दछन्; कोही मातेका बेला पाखुरा सुर्केर बाझ्न आउँछन् अथवा गीत गाउन थाल्छन् त्यो पनि साँच्चै लागेर हो । हेर्नाेसः एकदिन हाम्रा हजुरबालाई सपना भएछ त्यसमा हिँड्दा हिँड्दै एक सर्प निस्केर नाग देवताको रुप लिएर भनेछः हेर मनुवा यो धाराको वरिपरि फोहर मैला गरिस् भने तेरा सन्तान बाँकी रहने छैनन् ।

त्यसोभए कसो गरौँ ? भन्दा वा झसङ्गै ब्यूँझेर उहाँ उठ्नु भएछ । भोलिपल्टदेखि सारा गाउँले मिलेर यो मूलधारा वरिपरि मन्दिर बनाएर, चौतारा बनाएर, फूलबारी बनाएर पुराण लाएपछि त्यो एक पवित्र दर्शनीय बनेछ । यो सारा एक कला हो, जीवन कला । पिकासोले भनेझैँ कला सत्य होइन तर यसलाई सत्य मान्न कलाले अह्राउँछ । ‘मायिक यथार्थवाद’ त्यही हो । अनादिकालमै यो थियो, यथार्थवादको एक भिन्न रुप । आज पश्चिमले तमासा गरिसक्ता बल्ल हाम्रा आँखा खुल्दैछन् । हाम्रा चिराइताका बोट लगेर देशमा ‘कुइनाइन’ गोली बनिएजस्तै ।
यो कस्तो कुरा हो भने समय हलीले जोत्तै छ; सिलारीहरु डालो बोकेर सियाको पछिपछि कुधेका छन् । अलिक तिखा आँखा हुनेले छुटेका सगरखण्ड भेट्छ, पिँडालुका सेला भेट्छ र डालो भर्छ; नभेट्ने फुस्रै घर फिर्छ ।

उतातिर जोन बार्थले हाम्रा दृष्टिकोणलाई बद्लेर हेर्दा साहित्यलाई अर्काे किसिमले गर्न मिल्ने देखे र गरे । अरु पनि छन् अनेक, यसको हारमा । प्रयोगवादलाई चाहिँ मेरो हार्दिक स्वागत छ । यसले नै परम्परामाथि केही विकल्प खोज्छ, पत्ता लगाउँछ । गरिहेर्छ कामलाग्ने अडिन्छ, भरपर्दाे विश्वास लाग्दो अडिन्छ । अरु सबै समाप्त हुन्छ । सबै सबै प्रयोगवादको जरो भनेको एउटै कुरा छ पुनरलेखन । पुनःलेखन “रिराइटिङ” मात्र हो । भनिएको, गरिएको, बोलिएको शब्दलाई फेरि यसरी गरौँ भन्ने हो । अथवा कलामा प्रस्तुत्य विषयलाई अपरम्परित माध्यम, शैली र रङ्गले पुनः प्रस्तुत गर्ने अभ्यास गर्नु । सत्यको आविष्कार होइन यो; त्यो त्यहीँ छ, त्यसलाई प्रस्तुत गर्न हेर्ने शैलीको प्रयोग वा आविस्कार हो । यो विनिर्माणण्कि कला हो ।

नेपालीमा प्रयोगवादका पक्षहरु के कस्ता कर्म भए वा गर्ने कोसिस गरियो भन्ने सम्बन्धमा २०६२ सम्मको कुरा काव्यिक आन्दोलनको परिचय (साझा) मा प्रस्तुत गरेका छु । केही कुरा ता नेपालीमा पनि अनुकरण गरिएका छन्— खासगरी विसंगतिवादी रचना, एण्टिनोभेल, म्याजिक रियालिजम,सूत्र उपन्यास धु्रवचन्द्रका अख्यानमा केही तत्व छन् । सरुभक्तसँग पनि केही छ । केही अलिकति ती दबाइ बीउसम्म हुन्छन् । फेरि ती जान्छन् । एउटा प्रयोगमा जीवनभरि अडिन सक्तैन स्रष्टा । अलिक समय गरेपछि यो पनि गल्ती भएछ कि भन्छ । किनकि शुरुमा समर्थन होइन सन्देह र उपेक्षा पाउँछ, कति हास्य पात्र पनि बन्छ । त्यसपछि रोकिन्छ ताना शर्माको अथवा चूडामणि रेग्मीको हिज्जे प्रणाली झैँ ।

विश्वमै कविता र कलाले धेरै उल्का गर्दैछ । विशेषगरी डिजिटल (साइबरीय) माध्यम आएपछि मान्छेको देखाउने माध्यम बदलियो— हेर्ने बुझ्ने पनि । यता काठमाडौँमा पनि निकै अघिदेखि कङ्क्रिट पोएट्री देखियो । सबैभन्दा बढी चाहिँ कङ्क्रिट पोएट्री नै भयो भन्दा हुन्छ । बैरागी काइँलाले आरम्भ गरेको यसलाई एकै लहरमा निकाल्ने अरु पनि निकै आए । यो उत्तरआधुनिक प्रयोग र विचलनको अभ्यास थियो तर त्यो भिजुअल पोएट्रीसम्म नपुगी रोकियो । ऐले मौन छन्— हाङयुग, विशेष प्रयोक्ता, धर्मेन्द्र नेम्वाङ, चन्द्र योङ्या, स्वर्गीय स्वप्नील र अरु पनि छन् । डिजिटल पोएट्री पनि केही भयो । विश्वमा चलेको पोएट्री स्ल्याम पनि काठमाडौँसम्म आइपुग्यो— यो एक प्रयोग ।

धेरै गहिरो, घना जंगल छ आटव्य, नपसौँ त्यता हराइन्छ । नेपालीहरुले टाढाको ध्वनि सुनेर यता सुसेल्ने मात्र हो । फ्रान्सेली कवि, निबन्धकार, दार्शनिक पौल भ्यालरी (सन् १८७१–१९४५), ले सिगल अपोलोनेअर (सन् १८८०–१९१८) का कला र कविता जोड्दै रचना गरे र ‘कङ्क्रिट पोएट्री’ आयो । ‘आकृति कविता’ आए रुख जस्ता, छाता जस्ता, पानी परेजस्ता, पिरामिड जस्ता— जत्रो आकार सम्झियो त्यस्तै बनिए । त्यस्ता प्रयोगका हंसहरु यो वायुमण्डलमा पनि उडिरहन्छन्, सिमलका केस्रा पाकेर फुटेर त्यसको भुवामा बीज उडे जसरी । केही खस्छ फेरि उम्रिन्छ कतै । नेपालका रङ्गवादीहरुले पनि अत्यत्नै नवीन ढाँचाको कल्पना गरेर छ वटा ऐतिहासिक कृतिमा समावेश गरेका छन् । आसामतिर पनि नयाँ कविता सिक्लाई गर्नेहरुमा रेवती मोहन तिमसिनो, नीता गुरुङ, बुद्धि सुबेदी मिलन आउन थाले भनी ज्ञानबहादुर छेत्रीले ज्ञालैको एक लेखनमा प्रस्तुत गरेका छन् ।

प्रयोगको जन्म ता अकस्मात हुने हो । यसको व्यवस्थित इतिहास नभए पनि हामीसँग यस्ता कर्महरुको अटुट इतिहास शृङ्खला छ । जहिले कलाकर्म आरम्भ भयो तबदेखिको छ । प्रत्येक सभ्यतामा प्रयोग कर्म कहिले घना छ, कहिले पातलो । अहिले एक अर्काका मिसिएर हाइब्रीड (ठिमाहा) भए, तर केही ता नवीन जन्मि रहन्छन्— कवितामा, रंगमञ्चमा, कलामा । कलामै हेर्नू नि हाम्रै ओम खत्री कति भिन्न भएर विश्वमा कति उठिसके ।

खासगरी हिजो आज आकृति कविता, दृश्य कविता, ठोस कता सफल पार्ने शक्ति चाहिँ प्रविधि हो । पेज मेकर नामको प्रयोगले सेलरोटी, घर, वृक्ष, खुकुरी, वृक्ष जे जस्तो आकारमा होस छाप्न सम्भव भो । यसरी प्रयोग बढेका छन् ।

तर अधिकांश हामी परम्परावादी हौँ, रुढीवादी, संरचनावादी बाटो छोडेर हिँड्न डराउँछौँ । लडिएला कि धरमरिएला कि भन्ने भीति मनोविज्ञान, हुन्छ प्रत्येकमा । प्रयोग ता साहसको पनि कुरा हो । एक पल्ट पछारिए फेरि उठौँला भन्ने पात्रले मात्र गर्न सक्ने । कहिलेकाहीँ बहरगोरु मात्रै हलोजुवा भाँचेर कहाँ कहाँ पुग्छन् स्वतन्त्रताको खोजीमा । गतवर्ष श्रीलङ्का यात्रमा देख्यौँ कोलम्बो शहरको मुटुमै एउटा दशतले विल्डिङ रहेछ, तेर्छाे परेको । हामीलाई हेर्दै डरलाग्यो— कसरी करोडौँ खर्च गर्ने आँट पलाएको हो । नक्सा पास गर्ने बनाउने आँट हो, विश्वका महानगरतिर पुग्दा हेर्छु वास्तुकला जस्तो आश्चर्यलाग्ने अपरम्परित भएको कुरा केही छैन । काव्य कविता भित्र पनि त्यस्तै आँटी पसेर केही प्रयोग गर्ने कुरा रहेछ । त्यस्ता कोही ता यहाँ पनि छन्, अरु कोही उदाउन बाँकी छ ।

तपाईंले भनेझैँ यो एक फेशनै हो । तर अहिले समय फरक छ— मूक, वधिरलाई पनि प्रेमले पढ्नू भन्ने छ, अन्ध अपाङ्गका विद्यालयहरु, प्रेम मन्दिरहरु बनेका छन् । हेर्नाेस्, बौलाहालाई दुःख नदिनू, प्रेमले पाल्नु, तिनीहरुको बोलीमा कस्ता नवीन सत्य खुल्छन् । मिशेल फुको (सन् १९२६–१९९४) ले म्याडनेस एण्ड सिभिलाइजेशन (पागलपन र सभ्यता) नलेखुन्जेल हामीलाई लाग्थ्यो— पागलसित बोल्ने कुनै साझा भाषा छैन । तर आज पत्ता लाग्यो । उनको विशद अध्ययनले हाम्रा न्याय प्रणाली, दर्शन, औषधि विज्ञान त्रुटिपूर्ण रहेछन्; ती सारा परिवर्तित भए ।

यतिखेर हामी सबै प्राणीको जाग्रत र स्वप्नको भाषा बुझ्न बल गर्दैछौँ । बालबालिकाको, बृद्धको, रोगी, पागलको, एकलको, विधवाको, अझ वनस्पति वृक्षको, ढुंगामाटा नदीको, वायु बतासको, भूतप्रेत, पिचासको … । प्रत्येकले बोलिरहेझैँ हुन्छ ।

प्रयोगवाद फेशन पनि हो । तर नेपालीको आफ्नो धेरै छैन आफ्नो उत्पादन नभएपछि अरुकै भिर्ने हो, फेर्ने हो, सिनेमा हेरेर कतैबाट सिकेर जस्तै । मैले पनि एकपल्ट ‘प्यारालाल प्यान्ट’ सिलाएँ र साथीको कालो चेस्मा मागेर भिरेँ अनि ससुराल पुगेँ— छ्या, आज पो लाज लग्छ । अश्वेतहरुको ब्लेक इङ्लिश विकास चाहिँ त्यसो होला पनि र त्यसको प्रभावबारे मैले त्यति गहिरिएर अध्ययन गरेको छैन । अब कस्सिने बेला आएजस्तो छ ।

पश्चिमी सिद्धान्तले हाम्रो मर्मबोध गर्न सक्तैनन्, यथार्थ हो । उनीहरुको जीवन दर्शन जे जस्तो छ त्यसबाटै समालोचना सिद्धान्त बनिएको हुन्छ । त्यो बनिएको ता उनीहरुकै लागि मात्र हो । संस्कृति दर्शनकै प्रतिबिम्ब हुन्छ भन्न मिल्दैन । तर के गर्नु ऋग्वेदकालमा स्तुति गरिने नदीमा गंगे च यमुने चैव गोदावरी सरस्वती मा गंगा, यमुना, गोदावरी यथावत् छन् तर सिन्धु घाँटी सभ्यता सँगै सरस्वती माता हराइन् । बगर पनि छैन । हाम्रो प्राचीन विद्या, शास्त्र त्यस्तै भो— संस्कृत त्यसको बगरमात्रै देखिन्छ ।

संस्कृतमा ईशापूर्वका भरतमुनिदेखि सत्रौँ शताब्दीसम्ममा समालोचना शास्त्रहरु लेखिँदै, खेलिँदै पालना गरिदै आए तर संस्कृत भाषा ओझेल परेपछि त्यो सम्पन्न परम्परा स्थिर भयो । केवल विश्वविद्यालय पाठ्यक्रममा पढी पढाइयो तर त्यसरी हुँदैन । समालोचना पनि समयानुकूल परिबिम्बित हुनुपर्छ । सिर्जना र समालोचना सँगसँगै चल्नु पर्छ । अहिलेको सिर्जनालाई उहिलेको समालोचना सिद्धान्तले हेर्नु भनेको आजको विमारलाई अतीतको औषधिले उपचार गर्नु जस्तै हो । त्यसको दृष्टान्त ता वर्तमान नेपालका बाममार्गी मित्रहरुलाई हेर्दा हुन्छ । उनीहरु समकालीन सिर्जनालाई अतीतको सिद्धान्तले घोटेर प्रगतिशील भए–नभएको निक्र्याैल गर्दछन् । केवल ज्ञानका लागि पढिने प्रयोगका लागि होइन । समालोचना पनि निरन्तर हुनुपर्छ । समालोचना सिद्धान्त पनि इतिहासबाट पलाएर बग्दै जति तल बग्दै तल झर्छ त्यति खोला खोल्सा थपिँदै जान्छन् र मूल नदी झन् झन् ठूलो हुँदै जान्छ । समालोचना नदीमा पनि युगानुकुल खोलाहरु थपिए भने मात्रै राम्रो हुन्छ, ठूलो हुन्छ, सङ्लो बन्दै जान्छ । नत्र सानैमा ठिँगुरिएको बाउन्ने बालक जस्तो हुनजान्छ । संस्कृतका सिद्धान्तहरु आज आयुर्वदिक ओखती तुल्य भएका छन् । संस्कृत विश्वविद्यालयले रसादि बनाएर थोरैलाई खुवाउँछन् तर लाग्दैन एलोपेथिक झैँ । यसपालिकै कोरोना कालमा गुर्जाका लहरा, अम्बाका बोक्रा जस्ता वनौषधीको जरै मासिने गरी नाश गरे, दश वर्षलाई पुग्ने बेसार, छ महीनामा निखारे; हामीले पनि कति धार्नी बिरेनून र मरिच सिध्यायौँ । बल्ल अब खोप आउँछ भन्ने सुनेपछि कोही अमेरिकातिर हेर्दैछन्, कोही बेलायततिर फर्केका छन् । हाम्रा प्राचीन ओखतीालाई विज्ञानी प्रयोगशालामा हालेर एकबार परीक्षण गरौँ भन्दछु ।

ब्यूँझाउन सके, ब्यूँझाएर समयसमयका सिद्धान्त थप्न पाए नेपालीमा जोड्न पाए त्यसले काम गथ्र्याे होला । अब आजको थिएटर कहाँ पुग्यो भरतको नाट्यशास्त्रले रङ्गमञ्चलाई यसले कति चिन्छ ? यतापट्टि चिन्ता नगरौँ, एउटा उक्ति छ गतम् न शोचामी कृम न मन्ये… ।

तपाईंले तीनवटा नेपाली सिद्धान्तको नाम लिनुभो । काव्यिक आन्दोलनको परिचयमा मैले २७ वटाको कुरा गरेको रहेछु । बेलाबेला थपिँदै पनि छन् । धेरै जसो त नेपालमा आएका कुराहरु छन् । अन्त्यमा थपिएको छ रक्ष राई र मिजास तेम्बेको नवचेतनाग्रहको । त्यो चाहिँ उत्तरआधुनिक चेतनाले प्रभावित प्रथम आन्दोलन विचार हो ।

यसमा शुरुबाटै जाऔँ । हाम्रामा भएका हलन्त बहिष्कार जस्ता केही आन्दोलन छन्; झर्राेवादी आन्दोनल अर्काे भयो । ती नेपाली विचारमा आधारित, नेपाली भाषा परिधिका रैथाने शक्तिमा अडिएका मौलिक साँचा हुन् । अरु पनि यस्ता ससाना चिन्तन विचार आए, बिलाए । ठूलो प्रभाव भएका ता आयामेलीदेखि यताका केही छन् । तिनमा पनि केही अलिक वौद्धिक, चिन्तनपरक छन् अरु ता शैली शिल्पका ज्यादा छन् नेपाली भाषा साहित्यभित्रका विषयमा उठ्ने समसामयिक लहडका ।

वैश्विक प्रतिध्वनि बोकेर आयो आयामेली २०२०; यो चाहिँ सिर्जना, शैली र चिन्तनपद्धति सबै पक्षबाट ठूलो नयाँ भारी लिएर आयो । भर्खर आधुनिक कविता स्थापित हुँदै गरेको नेपाली भाषामा चढेर नवीन चिन्तन परम्परालाई आह्वान गर्दै त्यसलाई फराक विस्तृति दिने आह्वान थियो यो । ‘कोलम्बसका पाइतालाको धरातल’लाई कत्रो ठाउँ चाहिन्छ ! बैरागी काइलाले त्यत्रै मागे । अघि मैले भनेँ चित्र कविताको कुरा । वैरागी काइँलाको कविताले चित्र कविता ल्यायो जसको जरो ता प्राचीन क्यालिग्राफी परम्परामा पनि थियो — चिनीयाँ, जापानी लेख्य परम्परा सबै चित्रमय नै छन् संस्कृत साहित्यमा पनि त्यो छ, तर आधुनिक कवितामा चाहिँ पौल भ्यालरी, अपोलिनियर, अक्षरमा, चित्रमा पिकासोसम्मलाई छुन्छ । विश्वमा कतै नदेखे नसुनिएको एक्कासी हाम्रोमा होइन तर यो विश्वप्रभावको ज्वारभाटाले पनि हान्दा हान्दा उठेको नेपाली तरंग मात्र हो । केही हाम्रा मौलिक तŒव पनि थपिए । नेपाली भूमि पञ्चायत शासनको वर्वरताले आक्रान्त बन्न थालेको बेला, दार्जीलिङबाट यसको जन्म हुनुमा सार्थकता पनि थियो । नेपालीका केही आन्दोलन वनारसमा शुरु भएका थिए । यसरी यो पनि भारतभूमिमा जन्मियो । उताको उर्वरता र स्वतन्त्रताले मात्र नवीन चेतनाको बात सम्भव बनायो होला ।

आयामेली आन्दोलन भाषामा सीमित थिएन; भाषाकै वैचारिक, वैश्विक रुपमा थियो । यसले तीन कुरा ल्यायो— सर्वप्रथम चित्र कविता (आजसम्म चलेका माध्यमको अपव्र्याप्तता देखायो) अर्थात् एक प्रकारले भिन्न भाषाको आविष्कार थियो; जनजातीय (स्थानीय भाषाका) शब्द बिम्बको प्रयोगले नेपाली भाषाको परिधिमा विस्तार अनि यसैमा टेकेर पछिल्लो पुस्ताका हाङयुग अज्ञातदेखिका एक हुल स्रष्टा हाम्फालेर नेपाली भाषा प्रयोगमा पसे । कम्तीमा दुई दर्जन लिम्बू स्रष्टा छन्, अलिम्बू पनि छन् पूर्वका । तर तिनीहरुको योगदानको मूल्याङ्कन भएको छैन । धेरै नेपाली समालोचक रुढता–प्रेमी छन्, स्रष्टा पनि त्यस्तै छन् । परम्परा–प्रेमी छन्, यी नयाँ कुरामा साहित्य देख्तैनन् । म मात्रै कराइरहेको सत्ताइस वर्ष नाघेछन् कम्तीमा पनि पाँच सय पृष्ठ लेखे हुँला नवीनताको बारेमा। अहिले उनीहरु पनि सेलाए । तर नेपाली साहित्यले सिर्जनशील अराजकता (तीन जनाले थालेको), उत्तरवर्ती सोच अनि रङ्गवादी विचारलाई राम्रो स्पेश दिनु पर्दछ । ती इतिहासमा आफ्नो स्पेश बनाइसकेका आन्दोलन हुन् ।

आन्दोलन विचार पनि एक कालमा आउँछ, एक सल्लाहकारमा, एका झ्वाँकमा सबै जुटेर सधैँ भिडेर स्थापित नहुइन्जेल धेरै सोधेर गर्न कसैले सक्तैन तर यी युवापुस्ता सबै हाङ्युगको समूह, भवानी तावाको समूह, धर्मेन्द्रको समूहले एकपल्ट यथास्थितिलाई झक्झक्याए । त्यस परिणामले पुनर्लेखनलाई अलिकति प्रवेश गरायो, चित्र कवितालाई केन्द्रियता दियो, जनजातीय अध्ययन (एथ्निक स्टडिज) नेपाली साहित्यमा प्रवेश गरायो । अराजकताको तात्पर्य लेखन स्वतन्त्रता थियो । ती तीनवटै कर्मका बीज वैरागी काइँला हुन् । ईश्वर बल्लभका कवितामा यी विशेषता छैनन्, अर्थाेकै छन्, इन्द्रबहादुर राईले विश्व दृष्टिले नवीन चेतना खोज्दै नयाँ शक्तिको परिभाषा मात्र गरे कविता लेखेनन् । नेपाली काव्य कविताको सय वर्षमा वैरागी जस्ता अग्रगामी जन्माउने यत्रो प्रभाव छोड्ने दोस्रो व्यक्ति कोही छैन । त्यसो त माधव घिमिरेलाई एक शक्ति मानेर छन्दमा कविता लेख्नेहरुको संख्या भोटर लिष्टमा ठूलो छ तर त्यो स्थापित परम्पराको विस्तारण, प्रशोधन र पुस्तान्तरण मात्र हो । वैरागी एक शक्तिशाली नवीन उल्कापिण्ड हुन्, अभूतपूर्व । उनको बारेमा मेरो आगामी सेलेक्टेड पोएम्ज अव् वैरागी काइलामा पनि कति कुरा प्रस्तुत गरेको छु ।

अब आइवी राईको कुरा गरौँ । कठपुतलीको मनको भूमिकामा भनेका छन्— यी नयाँ कुरा गर्नलाई यी दशवटा भिन्न दर्शन–दृष्टिकोण लिएको दावी गर्छन्ः औपनिषदिक माया, बौद्ध शून्य, जैन स्यादवाद, भौतिक विज्ञानिक, सापेक्षवाद, मनोविष्लेषणात्मक फ्रायडवाद, गेस्टाल्ट मनोविज्ञान, माक्र्सवादीय, ‘आइडिअलजी’ को सिद्धान्त व्यवहारवाद (प्रयाग्मटिज्म), समालोचनात्मक पाठकीय प्राप्ति सिद्धान्त, विनिर्माणवाद आदिबाट आधार र सकार लीलालेखनलाई प्राप्त क्वान्टम फिजिक्सबाट पनि अनि लोकः वत्तु लीलाकैवल्यम् ।

होला पनि विनिर्माणवादबाट सारतत्व लिएर यथार्थको अनिर्धार्यतामा पुग्ने निर्णय गरियो होला । सत्यको स्वरुप अनिर्णित रहने र व्यक्तिको दृष्टि अनुसार फरक हुने निर्णयको सबैले समर्थन गरे होलान्, गरेकै छन् । तर लेखनमा आधुनिक सिर्जनामा त्यस्तो गर्न सकिन्छ भन्ने कुरा ता अन्यत्र कहीँ छैन । त्यो ता डेरिडामा मात्रै छ । फेरि पश्चिमतिर अघि नै चलेको रिराइटिड मात्र हो आइवीले दृष्टान्तमा टिपेको । त्यसरुीे विश्वका सम्पूर्ण नयाँ सिद्धान्तहरु टिपिएको दाबी चाहिँ विश्वसनीय लाग्दैन । यसको पनि मूलसार तत्व चाहिँ सत्यको स्वरुप अज्ञेय छ नित्य, अनि दृष्टिपिच्छे फरक लाग्छ भन्ने मात्र होे । ती दशवटा सिद्धान्तको अन्त्यमा उनले ‘विनिर्माणवाद समेत’ भनेर भर्खरको सन् १९६८ मा उदाएको विनिर्माण कलालाई जोडेका छन् । यसबाट सबै कुरा खुल्छ । लीलाको कुरा गर्दा पूर्वीय जगत्को अध्यात्मशास्त्रको वेद पुराण उपनिषद्का सारतत्व राखेर व्याख्या गरेका छन्, लेखनको दृष्टान्तचाहिँ डेरिडाको विनिर्माणवादबाट ।

यस्तो पुनर्लेखनका दृष्टान्तले पाश्चात्य साहित्य भरिपूर्ण छ । एक कथाका अनेक कथा, उक उपन्यासका अनेक रुप, एक दृष्टिकोणको विनिर्माण गर्दै गर्दै अनेकमा गरिएका कति कति दृष्टिकोण छन् । कति दृष्टान्त छन् । आइबी सरको सम्बन्धमा उहाँको जीवनकालमै मैले यी कुरा लेखेँ, सिक्किमको गेजिङ पुगेर उहाँकै उपस्थितिमा एक कार्यपत्र पनि प्रस्तुत गरेँ । उहाँको लीला लेखनका बारेमा मैले धेरै अघि चारवटा रचना लेखी छपाएँ । सबैको संकलित रुप छ ः उत्तरआधुनिक ऐना (२०६२) । यस कृतिमा पृष्ठ २३ देखि ७३ सम्मका पचास पृष्ठ सबै इन्द्रबहादुर राई विशेष नै हुन् । उहाँका जीवनकालमै यति प्रश्न र यति जिज्ञासा राखेँ, यति श्रद्धाले प्रस्तुत गरेँ, उहाँलाई कतिपल्ट भेटेँ पनि, कहिल्यै प्रत्युत्तर गर्नु भएन । प्रतिवाद गर्नु भएन । समर्थन पनि । उहाँका अन्तिम दिनमा त्रिविबाट प्रदान गरिने विद्यावारिधिका अवसरमा प्रकाशित पुस्तिका लेख्न मलाई त्रिविले अहायो, मैले डा. इन्द्रबहादुर राई ः व्यक्तित्व, कृतित्व र योगदानको संक्षिप्त परिचय (गुणानुवाद) शीर्षक १८ पृष्ठको पुस्तिकामा आइबी राईबारे लेखेँ, छापियो, हजारौँ प्रति बाँडियो । पछि त्यो इन्द्रआख्यान (२०७६ उहाँको स्मृतिग्रन्थ) मा पनि प्रकाशित छ । उहाँको प्रथम वार्षिकीको अवसरमा त्रिफला दर्पणः इन्द्रबहादुर राई विशेषाङ्क (२०६६) को पनि सम्पादन गरेँ— आइबीसरप्रति यति श्रद्धा छ तर उहाँले कहिल्यै स्पष्टीकरण दिनु भएन । एक परम ज्ञानीको स्वभाव होला त्यो ।

यता स्रष्टा भाइ कृष्ण धरावासी निरन्तर लीलाको व्याख्यामा हुनुहुन्छ । उहाँ जगत्को प्रत्येक कर्मलाई लीला नै देख्नुहुन्छ, त्यही लेख्नुहुन्छ, त्यस्तै बोल्नुहुन्छ । यो पनि श्रद्धाको परम रुप हो । श्रद्धा, आस्थामा विज्ञान र यथार्थ आउनु आवश्यक छैन, यही रहोस् । अरु समालोचक यता पस्ने अरुचिसाथ अघि बढ्दै हुनुहुन्छ । मूल कुरा ता इन्द्र सपूर्णका पाँच भोल्यूम नछिचोली आइवीसरको आवरण समेत चिन्न सकिन्न । नेपाली साहित्यका एक अटल आइकन र लिजेन्ड्रि, फिगर । ठूलै पहरामा पुगेपछि मात्र बतास पनि ठोकिन्छ । हामी त्यस्तै हौँ उहाँ समक्ष पुगेर श्रद्धाले ठोकिएका ।

साहित्य, वा सिर्जनाका अन्य क्षेत्रले “मान्छे” र उसको जीवनलाई नै केन्द्रीय कथ्य मान्दै आएको शताब्दियौँ भयो । तर, आज आएर समयले मान्छेका एकपछि एक सीमाहरूलाई सतहमा ल्याइरहेको छ । महामारी, युद्ध, आतङ्कवाद, पलायन, धार्मिक कट्टरवाद आदि यसको उदाहरण हुन् । आजको चिन्तनको एउटा ठूलो भँगालो मान्छेको केन्द्रीयताबाट हटेर वातावरण, वनजङ्गल, जमिन, अथवा ग्रह– स्वास्थ्यतिर सिफ्ट हुँदैगरेको पनि छ । यो लक्षण नेपाली साहित्यमा कत्तिको देख्नुभाको छ ?

यो कुरा गहिरो छ । नेपालमा विश्वविषयका कति कुरा परिचय गराउने प्रथम व्यक्ति हाम्रा अति आदरणीय गुरु प्रा श्रीधर लोहनी हुनुहुन्छ । उहाँले अंग्रेजी पाठ्यक्रममा ती कुरा प्रवेश गराउन थाल्नुभयो । चालीसवर्ष अघि । उहाँलाई साथ दिन अभि सुवेदी, केपी मल्ल एमपी लोहनी, वाई पी यादव जस्ता अनेक विद्वान्ले भरिएको विभाग थियो केन्द्रीय अंग्रेजीको । त्यस लिगेसीबाटै लिएर अभी सुवेदीले नवीन चिन्तनका केही पक्ष नेपाली समाजमा ल्याउनु भयो जस्तो उहाँको निबन्धमा उत्तरवर्ती कालखण्ड (२०६६) मा छन् अन्यत्र पनि । यताका नयाँ पुस्ताका प्रा कृष्णचन्द्र शर्मा जस्ता विद्वान्का लेखनमा, केही अमरराज जोशीकामा अल्पमात्रामा छन् । मैले पनि केही नयाँ कुरा भारतीय विश्वविद्यालय (हैदरावाद) मा पुगेर सिकेँ, अरु यहीँ आएर गुरुकुलबाटै सिकेँ । हाम्रो अंग्रेजी शिक्षा विभाग भने त्यसपट्टि अरुचि भएको थियो; अझै छ । यसले भाषा शिक्षणमा ज्यादा बल गर्छ । अंग्रेजीको सिधा अर्थ भाषा शिक्षण र सिकाइ मात्र हो । कलाको नयाँ कुरा जति हो मानविकीले नै ल्यायो ।

त्यसपछि मैले उत्तरआधुनिक ऐना (२०६२) मा अवश्य केही कुरा लिएर आएँ । मुख्य ता समालोचना सिद्धान्तको उत्तरआधुनिक पृष्ठभूमिका कुरा थिए । सिर्जना र मूल्याङ्कनका नवीन चक्र, ज्याक डेरिडा र विनिर्माण प्रक्रियाको अपरिहार्यता, उत्तरआधुनिकताको बाधक संरचनावाद, लीलालेखनसँग जोडिएका भ्रम र यथार्थ अनि अन्त्यका दुई शीर्षक “उत्तरआधुनिक संस्कृतिबोधक केही अवधारणा” अनि “विश्वसाहित्यमा समकालीनताका निक्र्याैलः एक गम्भीर प्रश्न ।” यसरी पुस्तकका ८८ पृष्ठ नवीन चेतनाको पृष्ठभूमिलाई चढाएँ भने अर्काे खण्डमा कसरी कवितामा, कथामा, निबन्धमा, उपन्यासमा नयाँ वाङ्मयिक केन्द्रहरुको तीव्र विकाश छ तिनको कुरा गरेँ । धेरै कुरा बोल्न थालेको थिएँ तथापि त्यसको बोली पुगेन होला तर सारतत्व के छ भने लेख्ने र समालोचना गर्ने सम्पूर्णरुपले नवीन आयाम खुले भन्ने घोषणा गरेँ । नभन्दै ठाउँसम्म सुनिएछ क्यार, ४५० पृष्ठको सो कृतिले त्यो वर्षको अनेसासको उत्कृष्ट कृति पुरस्कार लिएर आयो । मेरो डेढ दशकको अध्ययन चिन्तनमा फल लागेछ भन्ठानेँ । कति बोट थारै बस्छन् । त्यसो भए तापनि प्रत्येक पल्ट बारी जोत्ने, मल बोक्ने, मकै छर्ने गरिरहनुपर्छ । नफल्ने थारा बोट पनि भैँसीले खान्छ । मान्छेको मुखमा नपर्ने बित्तिकै ‘थारा’ भनेर गालि गर्नु प्रकृतिका लयको उपेक्षा हो ।

जोन मिल्टनले दिएका यो मन्त्र कण्ठ पारौँ— तिनीहरु पनि सेवा गर्दै हुन्छन् जो केवल उभिएर प्रतीक्षा गरिरहेका हुन्छन् (यी पर्वत वा वृक्षहरु) । गीतामा प्रकट “कर्मण्ये वाधिकारस्ते” बाटै बेलायती जोन मिल्टनले सिकेर यो मन्त्र बनाएका होलान् भन्नु जस्तो । यद्यपि “उत्तरआधुनिक” शब्दमाथि लाठा हान्ने मित्रहरु पनि झन जागेर उठे जसमा यथास्थितिवादी, काँचा वाममार्गी थिए । यथास्थितिवादीहरुको निमित्त आफ्नो संरचनावाद छेलिएला र त्यसमाथि आफ्नो वर्चश्व समाप्त होला भन्ने भय, वाममार्गीको निमित्त माक्र्सवाद मधुरो होला र सर्वसत्तावादी महाख्यानिक सपना भत्केला भन्ने डर । देशमा माओवाद, लेनिनवाद फलिभूत भएको उत्तेजनामा जोगिएरै समय बिताएँ र अर्काे कार्य थालेँ ।

तिनै कुरा गोडमेल गर्दै गएँ । नयाँ कुरा थप्तै र अध्ययन गर्दै अनि फेरि एक गुरुग्रन्थ तयार पारेँ । उत्तरआधुनिक विमर्श (२०६४) । त्यसमा मैले अघिल्लाको क्रमलेखन (सिक्वेल) झैँ लेख्तै गएँ विश्वग्रामीकरणको छातामुनि आजको सर्जक, यथार्थवादका नयाँ स्वरुप र नेपाली साहित्यको सन्दर्भ, यथार्थलाई पनि जित्ने यथार्थः हाइपररियालिटी र आजको सर्जक, साइबरसंस्कृतिभित्र साहित्यको स्थान अनि सिर्जना र मूल्याङ्कनको नयाँ क्षेत्र डायास्पोरा, नेपाल बाहिरको नेपलाी वाङ्मयः एक सर्वेक्षण, टाढैबाट सुनिएका एटलान्टिक किनाराका सुस्केरा ।

यसरी सर्वप्रथम साइबर चेतना, डायास्पोरा समालोचना सिद्धान्तको उत्तरआधुनिक पृष्ठभूमि चिनाएँ, समालोचनाभित्र पर्ने विनिर्माण सिद्धान्त, अभिघात सिद्धान्त, पुनर्लेखन सिद्धान्त, साहित्यका नयाँ सिमाना, साइबर सिद्धान्त, कविताका नवीन प्रयोग, नारीवादी लेखन, “नयाँ वाङमयिक केन्द्रको विस्तार” प्रयोग उपन्यास (मानवेतर लेखन) यति कुरा चिनाएँ ।

त्यसपछिको उत्तरआधुनिक विमर्श (२०६४) सम्पूर्णरुपले केही नवीनतम विश्वदृष्टिकोणलाई नेपालीमा चिनाउने उद्देश्यले आयो । सातसय पृष्ठको सो ग्रन्थमा नेपाली समालोचनामा उत्तरआधुनिक चेतनाको प्रवेश र प्रयोग शीर्षक एक रचना समावेश गरेँ, उत्तरआधुनिकवादको उदयसँगै संरचनावादको आयु पुगेको घोषणा लेखेँ; हाइपररियालिटि, मायिक यथार्थता, साइबरसंस्कृति, चिनाउँदै आएर एक घोषणा गरेँ, “सिर्जना र मूल्याङ्कनको नयाँ क्षेत्र, डायास्पोरा”, इको साहित्यको एक खण्डै लेखेँ, अभिघात सिद्धान्तबारे एक, मायिक यथार्थवादबारे, अनुवाद साहित्य अनि विविधता र बहुलताका अनेक पक्ष । “नेपाली एवम् पाश्चात्य साहित्यका समकालीन पृथ्वीहरु” थपेँ ।

यो बयान किन गरेँ भने म नेपाली साहित्यलाई समयभन्दा अघि नै सचेत हुनुपर्छ भन्दै थिएँ, नयाँ आयाम परिवर्तन आइसक्यो भन्दै थिएँ । यसरी लेखन विषय क्षेत्र मानवीय कम्ती भयो, मानवेतर ज्यादा । मानवभित्रै पनि नारी, बालबालिका आपाङ्कतायुक्त नागरिक, जनजाति, दलित, वञ्चित आदि विभिन्न भए । सबैलाई सम्मानले प्रेमले हेर्दै सबैलाई परम्पराको गर्तबाट उठाउन लेखकले हातमा समाइदिन पर्ने दिन आयो । मानवेतर जगत्मा सारा पशुप्राणी, वृक्ष वायु लगायत ग्रहकै चिन्ता लिऔँ भन्ने भयो । मानिसले त्यसो त पूजा गर्दै आएका कुरा हुन् तर भावनाले मात्रै मान्ने कर्मले भने सिध्याउने, खाने, भत्काउने कला सिक्यो, यन्त्रले पनि राक्षसी प्रहार सिकायो । अरु नयाँ धार पनि छन् लेखनका मनोजगत्का, युद्ध अभिघातका विशेषगरी विभञ्जित मानसिकता अर्थात् डायास्पोराका । सोही अनुकूल समालोचनाका पनि हाँगा फाटेका फाटेकै छन्— बाह्रसिंगे जति बूढो हुन्छ त्यति नै सिङ्मा जरा थपिन्छन् । शान्ति गिरीले अभिघातमा विद्यावारिधि गरिन् । डा. विन्दु सुवेदीले नवसमालोचना लेखिन् । रामजी तिमसिनाले डायास्पोरामा विद्यावारिधि गरे, कृष्णप्रसाद भण्डारीले प्राचीन पर्यावरणीय चिन्तामा ।

यस्ता हाँगा फाट्ने लक्षणको परिचय हुँदैछ । धेरै स्रष्टाले उत्तरआधुनिक विषयका कृति निकालेका छन् । प्रा रोजन्द्र सुवेदी र लक्ष्मण गौतमले ठूलाठूला ग्रन्थै निकाले, फेरि राजेन्द्र सुवेदीले अलग्गै । नारीवादमाथि अध्ययन गर्ने लेख्ने विदुषी पनि निकै भए, विद्यावारिधि गरे, गर्दैछन्, डायास्पोरामाथि तीनजनाले लेख्तै छन्, पर्यावरणीय विषयमा गरे, लेख्तैछन् । अभिघातमाथि गरे, जनजातीय अध्ययन (एथ्निक स्टडिज्) को पहिचान भैसक्यो काम हुँदैछ । वर्तमान नेपालमा विश्वचरित्रकै ससानो प्रतिविम्ब उपलब्ध छ । विश्व बहुलता र विविधताले निर्मित छ । यसले हिजोका त्रुटी र अत्याचार उखेल्न सच्याउन पनि बल गर्दैछ । पूरै त सकेको छैन । ठूलाठूला महादेशीय त्रुटिहरु उत्तरउपनिवेशवादले अलिक सम्याए झैँ, हालैको गायत्री दिदीले पत्ता लगाएको ओखति अवरजन अध्ययन ले पनि निकै काम गर्दैछ, वञ्चितहरुलाई वाणी दिँदैछ यद्यपि मानिसको गहिरो अवचेतनले हिजोका अन्याय अत्याचार गर्ने बानी बिर्सेलान् भन्नु पर्दैन रहेछ ।

यसपालिको रोल्पा घटनाले के देखाउँछ भने हाम्रा नयाँ सिद्धान्तहरुले मानिसभित्र गडेर बसेका आदिम विश्वासमा सुधार ल्याउन सकेको छैन । नवपथतिर डोर्याउन मुश्किल रहेछ । उसको मनोग्रन्थीमा अँध्यारो महावर्णनको बादल छ । त्यो गहिरो अवचेतनको दहमा गाडिएर बसेको आदिम विकार त्यसै छ ।

अरु कति विमार त्यहीँ लुकेर बसेका होलान् । फ्राइड र युगले उल्का गरेपछि मनोजगत् पस्ने सानो मार्ग पायौँ, माक्र्सले विश्व थर्काएपछि लोभिजनका संग्रहण तिर्खाका पद्धतिहरुमा दुईचार मुड्की हिर्कायौँ । यी ऐना हुन् कोही आफैँ पलाएका । यति झार उखेलिसक्यौँ, झाडी जंगल फाँड्यौ, पन्सायौँ । फेरि पनि पलाइरहन्छ । अर्कै खालको आउँछ नौलो झार, नौलो कोरोना प्रत्येकपल्ट । सबै उज्याला सतह ढाकेर यी अजेय तत्वहरु ।

दशैँ छुट्टिपछि विद्यालय लाग्थ्यो, पहिलो दिन झार उखेल्न लाग्थ्यौँ । फेरि हिउँदे छुट्टिपछि लाग्थ्यो एकदिन झार उखेल्नमा, लामो बर्खेछुट्टिपछि विद्यालय खुल्थ्यो उदासे, बन्सो, कुरो, ढेडुफुले अनेक प्रजातिका झारले खेल मैदान ट्याम्मै हुन्थ्यो । दुई दिन उखेल्थ्यौँ । जीवन यस्तै रहेछ । कुनै झारको बीउ छर्नु पर्दैन, सृष्टिमै छ, कुनै रोगको बीउ शरीरमै छ, समाजमा कुनै विकृतिको पाठ सिकाउनु पर्दैन आफैँ पलाउँछ । यतिखेर चाहिँ यो साइबरले ज्यादा बीउ छर्दैछ, रोप्तै छ एकैचोटि विश्वव्यापी हुनेगरी । शून्यमा कोरोनाले ढाके जस्तो पार्दैछ । साइबर अपराध आदि । नेटिजन्सहरु पनि धेरै बुहलाउँदै छन, लकडाउनले हाम्रा छोराछोरीहरुलाई पनि गम्भीर लती बनाइरहेको छ । मानिस आफैँले निम्ता गरेको राक्षसले नयाँनयाँ इन्द्रजाल सिकाउँदैछ । सिक्छन् आफैँ इन्द्रजालले मर्दै गर्छन् चैबीसैघण्टा नबिसाई मोबाइल मिसिनमै झुण्डिएर बिताउनु भनेको मृत्युको ढोका उघारेर सर्व समाप्तिको जंगल पस्ने अनुमति लिनु हो । जीवनमा गर्नुपर्ने अरु अलिकति काम लाग्ने कुरा जति सकिए र ?

यी दृष्टिकोणहरु साहित्य होइनन्, एउटा गतिलो उपन्यास, जीवनभरि हृदय नछोड्ने नाटक, सधैँ झङ्कृत गराउने कविता मात्रै साहित्य हुन्, ती रच्ने शक्ति साहित्य हुन् । हिजोआज साहित्यकारका कपडा किन्न पाइन्छ बजारमा । ती लाउँछन् कतिले अघि माओवादी कालमा टाटेपाटे बस्त्र लगाएर सैनिक जस्तै बनेर रातिराति घुम्नेहरु थिए, घरभित्रै पस्नेहरु थिए । डरले ढोका खोलिदिन्थ्यौँ सेना भनेर । आज पनि समय त्यस्तै छ, रुपान्तरण मात्रै । समालोचक चाहिँ नयाँ झार चिनाउने व्यक्ति हो, झार उखेल्ने खेतालो । त्यो अरुको आँगनमा नाच्ने साहित्यकार । तर अबको साहित्यकारमा फूलको बोट र ढेडुफुले छुट्याउने दृष्टि रहेनछ भने लेख्ने काम बन्द गरे हुन्छ । ऊ समयको आँगनमा नक्कली वस्त्र लाएर उफ्रने ढँटवारे मात्र हो । हाम्रो साहित्य आँगन त्यस्ताले भरिनै आँटेको छ यतिबेला । समालोचक हुनु भनेको साहित्यकार भन्दा जान्ने हुुनु हो, साहित्यकार बन्नु भनेको समालोचक भन्दा सिपालु हुनु हो । दुवै काम मुश्किल छन् । दुवैले दुवैका कर्मको मर्म बुझेर मात्रै अघि बढून् ।

आज, नेपाली चिन्तन परम्परामा एउटा डरलाग्दो द्वन्द्व छ । एकातिर ती विद्वानहरू छन्, जो समयको परिवर्तनअनुसार सततःउदार, समावेशी तथा सार्विक चिन्तनको पक्षमा छन् । यसमा मूलतहः “पब्लिक इन्टेलेक्चुअल्स” हरू छन् । अर्काथरि विद्वानती सबै कुराको विपरीत, द्वन्द्वान्तक सिद्धान्तकै हाँगो समातेर अगाडि बढ्नुपर्छ भन्छन् । यसमा बढी “सरकारी” र “प्रतिपक्षी” विद्वानहरू छन्, जो राजनीति अथवा राजनैतिक सिद्धान्तकै मियोमा घुमिरहन्छन् । यी दुई घर्षणको दलदलमा फसेको साहित्य वा दर्शनलाई कसरी मुक्त गर्न सकिएला आगामि दिनहरूमा ?

आजको मात्र कुरा होइन होला भाइ, मानव सभ्यता शुरु भएदेखि नै र अनेक प्रकारका द्वन्द्व र संघर्षका, भिन्नता र भेदका इतिहास शुरु भए । तिनको प्रकृति बदलिँदै गयो तर सारतत्व बदलिएन । यो द्वन्द्व पनि एक सनातनि तत्व हो, सर्वत्र छ । राजनीतिमा, समाजमा, साहित्यमा, धर्ममा, विज्ञानमा सर्वत्र । निद्र्वन्द्व केही छैन कतै छैन । द्वन्द्व स्थापित गर्न हाम्रै मानव चरित्र वा स्वभावले आह्वान गरेको कुरा । मानव चेतनशील प्राणी भएकाले गर्दा जे सुनियो त्यो स्वीकार्न बाध्य छैन ऊ । उसले विवेकले त्यसको प्रतिवाद गर्न अह्राउँछ किनभने त्यो असत्य छ । उसले त्यसको विकल्प पनि सोच्न थाल्दछ ।

कलासाहित्यको मन्दिरमा द्वन्द्व उत्पत्ति हुनुको कारण यो सत्ताको आनन्दकारी शक्ति उपभोग गर्ने कि स्वतन्त्र दुःखमा बाँच्ने भन्ने हो । सत्ताले पनि स्रष्टा कलाकारलाई सधैँ आफ्नो छायाँमा राख्ने इच्छा राख्तछ । सबै स्रष्टा स्वतन्त्र हुने हो भने राज्यसत्ताले थाम्न सक्तैन । किनभने शक्तिको उत्माद सधैँ अन्याय अत्याचार गर्न र गराउनमा समर्पित हुन्छ । त्यसको प्रतिवाद गर्ने स्रष्टा कलाकार उच्छेदित हुन्छन् । सबै लेखक पत्रकारको अन्तिम मन्त्र सत्याण्वेषण र निर्भिक प्रस्तुति मात्र हुने हो भने सत्ताले थाम्न सक्तैन किनभने सत्तामा सधैँ केवल भ्रष्टहरु हुन्छन् संसारभरि । तिनीहरु सधैँभरि सर्वत्र शाम, दाम, दण्ड, भेद मात्र चलाउँछन् र एकथरी स्रष्टा त्यतातिर स्वभावैले हामफाल्छन् । किनभने विवेकलाई दिइने स्वतन्त्रता महँगो पर्दछ ।

राणाकालको सत्ताभक्ति, पञ्चायत कालको सत्ताभिक्त, त्यस यताको सत्ताभक्ति कुनै फरक छैन । पहिले पनि सत्ता घेरेर त्यसको वरिपरि हार लाग्नेहरु थिए, चाका वरिपरिका माहुरीहरु अहिले पनि छन्, भोलि पनि हुनेछन् । त्यसकारण यो द्वन्द्व सत्ता पक्षीय अनि त्यमसा निस्पृहको, त्यहाँ पसेर दाइँ गर्ने, सत्य यही हो भनेर कुर्लिने अनि त्यहाँ पस्न असमर्थ अनिच्छुक बीचको, सौभाग्यशाली विजेता र पराजित अभागी बीचको हो । तर एउटै फरक के छ भने विजेताहरु अर्काको विवेकले एकछिन नाच्छन् जब कि पराजितहर आफ्नै विवेकले सधैँभरि बाँच्छन् ।

उत्कृष्ट विश्वसाहित्य भनेको तिनै पराजितहरुको आवाज हो । यो ता सधैँ हुन्छ । माक्र्सले भनेको वर्ग संघर्ष यही हो । सर्वप्रथम ता जनसत्ता ल्याउन संर्घर्ष गर्नु पर्यो । त्यहाँ गर्ने र नगर्ने दुई वर्ग हुन्छन् । जनसत्ता आइसकेपछि माथि चढ्ने र चढ्न नमिल्ने दुई वर्ग हुन्छन् । त्यहाँ पनि सघर्ष चालिरहने भयो । खान पाउने र नपाउने वर्गहरु सधैँ जन्मिरहन्छन्, समयले जन्माइरहन्छ । भौतिकरुपले खान नपाउनेहरु मूक झैँ रहन्छन् तर मानसिक, बौद्धिक, आध्यात्मिक पक्षका भोकाहरु स्वतन्त्र अभिव्यक्ति आहार वञ्चितहरुको गर्जन नै साहित्य हो । हजारौँ वर्षसम्म पनि त्यो गर्जिरहन्छ ।

माक्र्सवादले स्रष्टा कलाकारलाई राज्य सत्ताका ‘किलाकाँटा’ मात्र हुन् भनेको छ । यो परम सत्य हो रहेछ पनि । जुन किलाकब्जा ठाउँठाउँमा फिट भयो त्यसले सत्ताको दुई गाँस खान्छ र उसको हितमा काम पनि गर्दछ। जस्तो नोपलमा भइरहेको छ । आज मात्र होइन इतिहासभरि त्यही छ । माक्र्सले नभन्दा पनि त्यही थियो । भोलि पनि त्यही हुनेछ । आजको दृष्टान्त छ— एउटा आङ्गिक क्याम्पसमा एउटा पद खाली भो त्यसका लागि वडामा गएर वडा अध्यक्षको सिफारिसमा फलानो हाम्रो पार्टिको हो भन्ने कागज लानु पर्ने भयो । लठैतहरु भिडे एउटा सुप्रिमले पायो । गाउँठाउँ यसरी कब्जामा छन् । मानव आवाजको मूल्य बुझ्ने प्रतिपक्ष पनि मरेतुल्य छ सर्वत्र । यस्तो बखतमा एउटा लेखकले के देख्नु के लेख्नु ?

तर अर्काे परम सत्य के छ भने जुनसुकै नामको सरकार होस् त्यसका हातमा बन्दुक मात्रै हुन्छ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे नाम दिए पनि उही हो । उत्तर कोरियाले डेमेक्रेटिक पिपल्स रिपब्लिक भन्छ, चीनले, भारतले, नेपालले, संसारले आफ्नो शासनसत्तामा ‘डेमोक्रेटिक’ आभूषण भिरेकै हुन्छ । सुनको, चाँदीको, पित्तल वा फलामको एक ‘डेमोक्रेटिक’ ता चाहिन्छ चाहिन्छ, जतिसुकै मूल्य परोस् । त्यस वरिपरि भुनभुनाउने माहुरी चाहिन्छ, सधैँ महथोपा झरिरहेकै हुन्छ । घुम्ने भमरा चाहिन्छ । दिएन भने चाका भत्काएर रुवाउने भ्याउसा वर्गका प्राणी हुन्छन् । ती चाहिन्छ जसको दृष्टान्त वर्तमान नेपाल छ । यतिखेर जनता मह लाउने, भ्याउसाले चाका भत्काउने काम गर्दैछन् ।

साहित्यको कस्तो युग आयो भन्ने कुरा छैन, सत्ताको कस्तो आयो । त्यसले वरिपरि ककसलाई उभ्यायो, च्याप्यो र पर बसेकालाई कसरी ठोक्न लगायो । सिधै बन्दुक र लाठा हान्नु पर्दैन । त्रासद मनोविज्ञान उत्पन्न गरेर त्यो कर्म पूरा हुन्छ । भय पनि चाहिँदैन उपेक्षा घृणा र तिरस्कार पर्याप्त हुन्छन् ।

यस्तामा फँसेको साहित्य कला–दर्शनलाई मुक्त गर्न सकिन्न । कसरी सकिन्छ जब भर्तृहरिको नीति श्लोकमा भनिएझैँ तिनीहरु दरबारभित्र पस्तै निस्कँदै गर्छन्, योनीमा पस्तै निस्कँदै गर्ने लिंगसित तिनीहरुको तुलना गरेका छन् उनले । सिद्धान्त भन्छ तिमीहरु किलाकाँटा हौ, त्यो भनेपछि ऊ कसरी स्वतन्त्र रहन्छ ?

“अन्तर्राष्ट्रिय” भन्नु, शक्तिशाली मुलकहरूका मानविन्दुमा विलय हुनु हो अथवा लोकल चिन्तनको सत्यापन र वैश्विकरण हो ? यहाँको मत विस्तारमा भनिदिनु न ?

कस्तो चोटिलो कुरा आयो भाइ । वास्तवमा वैश्विकता भनेको एकरुपताको पूजा हो, समरुपताको प्रार्थना हो । जो ध्यावे सो फल पावे— आफ्नो भाषा अरुकामा मिसाएर राघेपाटे बनाएपछि संस्कृति र बोली उसकैले जित्ने गरी राघेपाटे भएपछि, साहित्य कलाका सिद्धान्तहरु “तिम्रै गतिला” भनेर उसकै मानेपछि प्राप्त हुने त्यो सर्व–विलयनको मार्ग हो । तीनसय वर्षसम्म भारतमा, अंग्रेजी धमिरा पसेर त्यसलाई छ्यान्द्रो बनाए । कति समुदायको धर्म खाए अनि भाषा खाए । संस्कृति सबै निले । पहिले भुइँबाटै पस्ने धमिरा थिए अहिले माथि माथि धुरीकै संरचनामा पस्ने खालका छन् । पठित शिक्षितहरुले नेपाली भाषा साहित्यप्रति, जाति, धर्म र राष्ट्रियताप्रति उपेक्षा गर्न पाइने मौका खुलेका छन् । ती ढोका शिक्षाले खोल्दैछ । ढोका खोलेर बाहिरी रंग रोगनको संसारमा पसी नाच्न थालेको नेपाली फेरि भित्र पस्ता अर्कै हुनेछ । यो डर छ ।

तपाईंले भनेझैँ यो स्थानीय चिन्तनको अण्वेषण पहिचान र त्यसको वैश्विकरण ता हो तर त्यसो गर्न कति मुश्किल छ नि । ठूलाठूला साँढे छन् चउरभरि । सिङ उध्याएर सिँगौरी हान्न पर्खिरहेका । हाम्रा ससाना कदका बाछाबाछीलाई त्यहाँ पस्न देलान् ? यस्तो महाभारतले कराउँदा कराउँदा केभी तिरुरलेशले अनुवादलाई “लिट्रेच थ्री” भनेको अलिकति सुनियो, गायत्री स्पिभाकले “सवाल्टर्न”मा बोलेको सुनियो, होमी भाभाहरुले “पोष्ट–कोलोनिअल” भनेको सुनियो, धेरै ता म सुन्दिनँ ।

यतिखेर हाम्रा आँगन अर्कैका गीर–मैदान भएका छन् । ग्लोबलाइजेशनहरु आउँछन्, डुक्रिँदै, सिँगौरी खेल्दै, धुलो उडाउँदै, त्यहीँ जुध्छन्, सिङ भाँचाभाँच गर्छन् र धुलिमैदान पार्छन तर यो मैदान छाडदैनन् । हाम्रो राष्ट्रिय चैतन्य सानो विमारी पाठाको जस्तो आमाले छोपिदिएको डोकाभित्रैबाट डराउँछ, कराउँछ म्याँ म्याँ… कसैले नसुन्ने गरी । रातदिन यो डराइरहेको छ ।

ताप्लेजुङमा ट्याक्टर पुग्दा मान्छेले बाजा बजाएर नाचगान गरे दिनभरि उत्सब मनाए, बजार झिलिमिलि बनाए, हर्ष मनाए । आज सबैभन्दा बढी हाम्राहरुको प्राण लिने तत्व तिनै गाडी र प्लेन प्रमाणित भएका छन् । ठिक त्यस्तैले, विश्वग्रामीकरण आयो कि आयो भन्दै हामी आँगनमा निस्केर नाचेको यति होइन, अझै घुँडा निका भएका छैनन् । तर यसैले बिरामी घुँडा मात्र होइन सासै फुकाल्ने सुर कसेको छ, कोरोना त्यही होइन र ? सभ्यताको प्रत्येक पाइला विरोधाभास र द्वन्द्वले बनिएको छ । ती जोडनीहरु मात्रै गन्ति गर्नुहोस् न ।

यहाँ आफू धेरैवटा व्यक्तित्वको पुञ्ज हुनुहुन्छ — सर्जक, समालोचक, अनुवादक, शिक्षक, सिद्धान्तकार । यी विविध व्यक्तित्वहरूको बीचमा यहाँको “ब्रह्म” ले आफूलाई सबै भन्दा नजिक र सन्तुष्ट कुन व्यक्तित्वमा पाएको छ ? कारण के होला ? आफैँसँगको असन्तुष्टि पनि त होलान् । केके छन् ?

मलाई कस्तो लाग्छ भने भाइ, म उभिएको जमिन भनेको शिक्षकको हो । यो विश्वमै अति सम्मानित र अति उर्बर स्थान हो । त्यत्रो महत्व अरुले नदिउन् केही छैन र सर्वाधिक आत्मसम्मानको भाव एउटा शिक्षकलाई, मात्रै प्राप्त हुन्छ किनकि ऊ ग्लानिरहित, पाश्चात्तापरहित, जीवन जिउँछ— पुलिस हुने, व्यापारी हुने, न्यायाधीश हुनेले त्यो अवसर पाउँदैन । धेरै ठूलो भाग्य हुनेले मात्रै यो पेशा पाउँछन् । रोजेर पनि पाइँदैन । मैले बैदार हुन खोजेँ, खर्दार हुन खोजेँ, बन्जाँचे पो हुन पाइन्थ्यो कि भन्ने कल्पना गरेँ, राम्रो पुरेत हुने सम्भावना थियो, आमाको जण्ड धामी हुन्छ कि छोरो भन्ने थियो, बाको मनमा आफू जस्तै पण्डित । एसएलसी गरेको भए पनि तीन विघा जग्गाको मालिक हली बन्ने संयोग थियो । तर म कतै अडिइन छु । मेरो सुकरात पात्रले अनन्तलाई सम्झाउँछ— जीवनमा हजार बाटा हुन्छन्, कुनै एउटा लिए पुग्छ । किन चिन्ता गर्छौं अनन्त ? हाम्रा पिताजी पनि त्यसै भन्नुहुन्थ्यो । त्यो उहाँकै वाणी हो ।

एसएलसीपछि एउटा अन्धकारको प्रतीक्षा गरिरहेको मैले शिक्षक पद प्राप्त गरेँ गाउँमै । नयाँ वस्त्र र चप्पल किनेँ । कपडाको नयाँ झोला बुबाको खर्चले अनि बुबाको बूढो छाता ओढेर लागेँ पढाउनतिर । जेठको दिनमा तलब रु. १०५ थियो । हामी झापामा बस्थ्यौँ, विद्यालय मोरङको बेलडाँगीमा थियो अहिलेको भूटानी शरणार्थी शिविर भए ठाउँमा; घरैबाट भ्याइन्थ्यो ।

सर्वप्रथम मैले प्रावि पढाएँ, निमावि पढाएँ, मावि पढाएँ, नछोडी कलेज पुगेँ र विश्वविद्यालयको धेरै खेलाकर्म पूरा गरी प्राध्यापकबाट भर्खरै सेवा निवृत्त भएँ । त्यति गर्दा ४४ वर्ष समाप्त भएछन् । जीवन सम्पूर्ण उर्वरकाल शिक्षालाई चढाएँ । प्रत्येकको सामु सधैँ दुईवटा बाटा हुन्छन् कहिले तीन चार पनि । तर दुवै रोज्न नपाइने रहेछ अंग्रेजी कवि रबर्ट फष्टले द रोड नट टेकनमा भनेझैँ । यो विशेष कुरा होइन सृष्टिको नियम हो । सबैले हिँड्ने एक जीवन मार्ग हो । सेनाले, पुलिसले, व्यापारीले, पुरेतले कसैले होस एक मार्ग लिने हो । तर सम्झीसम्झी खुशी लाग्ने एउटै कुरा छ— धन्य कुन सुदिनले मलाई शिक्षकको भाग दिएछ, शिक्षकको बाटो देखाएछ । दिनमा दुईपल्ट खुशी हुन्छु र तेस्रोपल्ट शान्त भएर लेख्न थाल्छु । किनभने विश्वका स्रष्टा चिन्तक असी प्रतिशत शिक्षकबाटै जन्मेका छन् । सत्तामा पसिसकेको व्यक्तिमा मानवता ओइलाउँछ र सिर्जना शक्ति पनि स्वतः समाप्त हुन्छ । स्रष्टा भनेको त समयपथको अनुयायी मात्र हो ।
दोस्रोमा छ समालोचकको कुरा । २०३२ सालमा मुगलान छापिएपछि मैले रोजेको जीवनको एक मात्र लक्ष थियो साहित्यकार बन्ने अर्थात् सिर्जना गर्ने । तर काँक्रा फर्सी रोपेर मात्रै नहुने रहेछ । मैले बुझेँ मल चाहिन्छ, बलियो थाङ्ग्रा चाहिन्छ । समालोचक हुनु भनेको उर्बरक मलको भण्डारमा पस्नु जस्तै हो । जति पनि उघाउन चलाउन पाइन्छ । मैले पनि खुरुखुरु उघाएँ खासगरी पाश्चात्य भण्डार अनि पछि आएर उत्तरआधुनिक ऐना लेखेँ त्यसपछि उत्तरआधुनिक विमर्श लेखेँ, फेरि उत्तरआधुनिकता र समयबोध लेखेँ । त्यसो त मैले २०६१ मै आख्यानको उत्तरआधुनिक पर्यावलोकन लेखेको हुँ । सोही वर्ष पश्चिमी बलेँसीका बाछिटा आयो उत्तरआधुनिकता विषयका पाँच ग्रन्थ लेखेँछु यसरी ।

ती सिर्जना होइनन् । सिर्जनालाई फलाउने फुलाउने र सामयिक बनाउने उर्बरक हुन् । नत्र म सुकरातका पाइला, सुकरातको डायरी, नीलिमाको डायरी (अप्रकाशित) जस्ता कृति कसरी लेख्न सक्थेँ ?

समीक्षाको वा समालोचकीय सिद्धान्तको चेतनाबेगरको स्रष्टाले अब कलम बन्द गरे हुन्छ । समीक्षा समालोचना मात्रै लेखेर साहित्यकारको दर्जा खोज्ने व्यक्तिले अब त्यो बृथा आडम्बर त्यागे हुन्छ । किनभने समालोचक स्रष्टा होइन, अबको समयमा सिद्धान्त–अचेत लेखकले जति लेख्छ केवल असामयिक लेख्छ, सिर्जनाशक्ति नभएको व्यक्तिले लेख्न ता सक्तैन तर जति पढ्छ अर्कैको लागि त्यो जान्छ । मैले यस्ता समालेचक लाई (मात्र) अर्कैको खेत बाँझो फोर्ने हली भनेको हुँ । कति दिन मैले पनि त्यो काम गरँे र अहिले त्यसको फल भोग्दैछु । राम्रा उपन्यास रच्ने समय धेरै नाश भयो नि । तर पनि धन्य छ आफैँलाई, जे गर्दैछु समालोचकको सचेतताले । त्यसर्थ एक साहित्यकार समालोचक र स्रष्टा दुवै बन्न सके मात्र लक्ष प्राप्ति हुन्छ । तपाईंले पनि सोही मार्ग अनुशरण गरेको देखेर म खुसी भएको छु ।

अनुवाद पनि जोड्नु भयो । त्यो पनि साहित्य कर्म नै हो । त्यसको अपरिहार्य तत्व । त्रिविमा आएर छात्रवृत्तिमा अंग्रेजी सिकेँ । यो ऋण कहिले तिर्न सकौँला भन्ने चिन्तामा थिएँ पछि त्रिविकै विद्वत्तवृत्तिमा हैदरावाद विश्वविद्यालय पुगेँ अनुवादमा विदावारिधि गर्न । गरेँ र आएँ त्यो ऋण कसरी तिरौँला भन्ने भन्ने थियो । त्यहाँ विभागै अनुवादको थियो र गुरुले पहिलो कक्षामै भनेका थिए— एक्काइसौँ शताब्दी आउँदैछ अनुवादको । अब एक नयाँ नारा आएको छ— अब अनुवाद गरौँ नत्र भए मरौँ । त्यसैले गर्दा देश फर्केर म अनुवाद अध्ययनको जगपूजा गर्ने काममा लागेँ । २०५६ सालमा केन्द्रीय भाषाविज्ञान विभागले एक एम. ए. स्तरीय पाठ्यक्रममा अनुवाद अध्ययन विषय राख्यो । त्यो गराउने विद्वन् प्रा. चूडामणि बन्धु हुनुहुन्थ्यो ।

गर्दा गर्दा आज दुई दशकपछि हेर्दा धेरैले एमए, एमएडमा अनुवाद अधययन पढे, एमफिलमा गरे, पीएचडीमा गर्ने पाँच जना पुगे । उता नेपाल एकेडेमीले त्यस्तै अभूतपूर्व काम गर्दैछ । २०५९ मा यसले अनुवाद ग्रन्थसूची छाप्यो, २०६६ मा अनुवाद विभागै खोल्यो, २०७४ मा अनुवादक परचय कोश र यसपालि ७०० पेजी अनुवाद सन्दर्भ ग्रन्थ जसमा तपाईं पनि हुनुहुन्छ । अब अनुवाद अध्ययन भन्ने विषय कति माथि पुग्ला ! त्यसका ३५ लेखकमध्ये तपाईं पनि एक हुनुहुन्छ ।

अनुवाद सिद्धान्त र प्रयोगमा योगदान गर्नु भनेको दुई ( वा बढी) भाषा सिक्न प्रेरित गर्ने देशको र गुरुको ऋण तिर्ने मात्र हो । त्यो देशको साहित्यलाई गरिएको योगदान हो । आफैँ अन्यत्र देखिने र देखाउने चेष्टा हो । कलिलो भाषालाई ठूलो, विश्व रंगशालातिर लैजाने प्रयत्न हो । मसँग अन्तर्वार्ता लिनेले सोध्ने एउटा प्रश्न हुने गर्छ विश्वसाहित्यमा नेपालीको स्थान कहाँनेरि पर्छ ? कृपया त्यो कुरा प्रस्ट पारिदिनुहोला । म भन्छु— हाम्रा देशका कति कृति कति भाषामा अनूदित भए त्यसको गणना नै विश्वसाहित्यको पाठ हो । एक साहित्यका कम्तीमा बीस प्रतिशत कृति संसारमा कम्तीमा दशवटा भाषामा जानुपर्छ । त्यो नै विश्वसाहित्यको मापन हो । गन्तव्य टाढा छ तर कहीँ कसैले यात्राको आरम्भ गर्नैपर्छ अब भयो ।

साहित्यले राजनीति गर्छ भन्ने एकथरि चिन्तक छन् । एकथरि भन्छन्, राजनीतिबाट साहित्य मुक्त रहनुपर्छ, अथवा निरपेक्ष रहनुपर्छ । साहित्य र राजनीतिको सम्बन्धबारेमा यहाँको धारणा कस्तो होला ?

माथिको प्रश्नोत्तरबाट मेरो धारणा खुल्यो होला । अझै प्रस्ट पार्न चाहन्छु । राजनीति सधैँ शक्तिको उपासना हो, राजनीतिकै व्यापार हो, साहित्य कलाको । तिमीहरु पनि राज्यकै किला काँटा हौ भन्नेहरुले जहिले पनि स्रष्टाको अन्तरात्मा टालिदिन्छन् र जुन गीत गाउनु छ त्यही मात्र गाऊ भन्छन् । यो स्थिति वर्तमान नेपालमा देखिन्छ । हालै प्रकाशित दार्जीलिङका कवि राजा पुनियानीको अप्रकाशित इन्टरभ्यू शीर्षक एक रचनाले परिचय दिन्छ होला भनी त्यो यहाँ साभार गर्दछुः

भन— हाँगो सोझो छ
‘हजुर हाँगो सोझो छ’
भन्— पात नीलो छ
‘हजुर पात नीलो छ’
भन्— घाम राजाको नाइटोबाट उदाउँछ
‘हजुर घाम राजाको नाइटोबाट उदाउँछ’
भन्— विरोध गर्ने पाताल जानेछ
‘हजुर विरोध गर्ने पाताल जानेछ’
भन्— जूनमा जनताको स्वर्ग छ
‘हजुर जूनमा जनताको स्वर्ग छ’
भन्— देशलाई शस्त्र चाहिन्छ
‘हजुर देशलाई शस्त्र चाहिन्छ’
भन्— भेडालाई घाँस भए पुग्छ
‘हजुर भेडालाई घाँस भए पुग्छ’
भन्— राष्ट्रिय गीत त निद्रामा पनि गाउन सक्छस्
‘हजुर म राष्ट्रिय गीत त निद्रामा पनि गाउन सक्छु’
भन्— घण्टी बजाएर भाइरस भाग्छ
‘हजुर घण्टी बजाएर भाइरस भाग्छ’
भन्— थाल ठटाएर एकता कायम गर्छाैं
‘हजुर थाल ठटाएर एकता कायम गर्छौं’
भन्— तैँले गम्छाको मास्क लगाउनु पर्छ
‘हजुर मैले गम्छाको मास्क लाउनुपर्छ’
भन्— तेरो पाइताला फलामको हो
‘हजुर मेरो पाइताला फलामको हो’
भन्— तैँले मर्नु अघि फ्याँक्नु हुन्थेन रोटी रेलको लिकमा
‘हजुर मैले मर्नु अघि फ्याँक्नु हुन्थेन रोटी रेलको लिकमा’
भन्— तैँले स्वनिर्भर बन्नु पर्छ
‘हजुर मैले स्वनिर्भर बन्नु पर्छ’
भन्— तँ खुशी छस्
‘हजुर म खुशी छु’
भन्— तँ मान्छे पछि मोहोरा पहिले होस्
‘हजुर म मान्छे पछि मोहोरा पहिले हुँ’
भन्— भोकाउनु तेरो डेमोक्रेटिक राइट हो
‘हजुर भोकाउनु मेरो डेमोक्रेटिक राइट हो’
भन्— तैँले जताततै जस्तोसुकै जहिलेसुकै मर्न पाउनु तेरो जन्मसिद्ध अधिकार हो
‘हजुर जताततै जस्तोसुकै जहिलेसुकै मर्न पाउनु मेरो जन्मसिद्ध अधिकार हो’ ।

यी दुई नमिल्ने कुरा हुन्, राजनीति र साहित्य । राजनीतिले दलेर मिलाउन खोज्छ । एकै स्वरमा बोल्न लगाउँछ । तर त्यो पुनियानीको कविता जस्तै हो । वीपी कोइरालाका साहित्य र राजनीति विषयका दुई भिन्न विश्वास अभ्यास देख्ता छक्क लाग्छ । यी ता विपरीत ध्रुव हुन् एउटा बन्दुकले अडिन्छ अर्काे संवेदनाको चेतनाले । संसारमा कुनै पनि सत्ता कहिल्यै पनि स्वतन्त्र स्रष्टाको पक्षमा हुँदैन । तीनहजार वर्षअघि त्यत्रो प्रतिभाशाली विद्वान् प्लेटोले सत्ताको पछि लागेर भने— कवि कलाकारलाई देश निकाला गर्नुपर्छ ।

आजसम्म त्यो कुरा लागू नै छ । देशै निकाल्नु पर्दैन तर इसारा बोलिरहेको हुन्छ । एक समर्पित लेखकले आफैँमाथि विश्वास जितोस्, स्वतन्त्र लेखन र स्वविवेकभन्दा ठूलो केही छैन । सिकाइएका नारालाई कविता कथा बनाउुनेहरु पार्टि लेख्छन्, नारा लेख्छन्, विज्ञापन लेख्छन् । एउटा फर्मुलामा संसार देख्छन् । वर्तमान संसारले विविधताको सम्मान गर्न सिक्तैछ, बहुलताको संरक्षण गर्न सिक्तै छ । अबको अनिर्देशित स्वविवेकले लेखेको बहुलवाद स्वर बन्दैछ ।

यहाँलाई भन्न मन लागेको, तर मेरो प्रश्नले नसमेटेको कुनै कुरा थियो कि ?

भन्नु एउटा कुरा छ— भीडको बाटो बदल्न गारो छ सत्ताको पछि त्यो हुन्छ तर पनि सत्यपथ यो हो भनी सुनाइदिनु आफ्नो कर्तव्य ठान्दछु । स्रष्टाभन्दा ठूलो अर्काे ठूलो सत्ता कुनै छैन मेरा लागि । तर विश्वविद्यालयभरि साहित्यको महत्ता, अनुवादको महत्ता पढाइएका विद्यार्थी प्रमाण–पत्र लिएपछि यसदेखि तर्छेर भाग्न थाल्छन् । लौन भाइ, दुईचारलाई फकाएर साहित्यतर्फ फर्काइदिनोस् ।

प्रतिक्रिया
Loading...