नेपाली साहित्यको सम्पूर्ण पत्रिका

उड्दाउड्दै उड्यो डेढ लाख

विमानघाटको सीमित घेरामा म आजित भैसकेको थिएँ । हरेक पल महँगो सावित भइरहेको थियो । रिनको धनले बाध्य बनेर यूएस डलर ३ सय ३० अतिरिक्त शुल्क तिरी थाई एयरवेजको टिकट लिएँ ।

एक्सक्युज मी । एक्सक्युज मी सर । वी ह्याभ अलरेडी ल्यान्डेड ।

कस्तो बेहोसी सुताई सुतेछु । अनुहारबाट मलमलको कम्बल पन्छाउँदै यस्सो आँखा खोलेँ । पसारिएको जिउलाई सम्हालिँदै उभ्याउने कोसिस गरेँ । केही सिट खाली रहेकाले पछिल्लो लहरमा आएर सुतेको थिएँ । मागुन्जेल दिएछन् । सकुन्जेल पिएछु । उम्दा रन्को चढेको थियो मलाई । जहाजमा उड्दाउड्दै हप्ता दिनमा डेढ लाख रुपैयाँ उडेछ । तत्कालीन यात्राको अन्तिम हवाई उडान भएकाले म परिचारिकाहरुसँग निष्फिक्री खुलेको थिएँ । बाध्यतालाई रहरमा परिणत गराउँदाको परिणाम थियो त्यो । निकै दिनदेखि कचपचिएको निद्रालाई सराबको सहाराले मदहोस साथ दिएछ । थाई एयरवेजको भीमकाय विमानले झोलुङ्गोमा सुतेजस्तो महसुस गराएछ । कम्मरको सिटबेल्ट खोलेर झ्यालबाहिर हेरीकन मातृभूमिको न्यानो स्पर्श गरेँ ।

फ्ल्यास ब्याक…

वैदेशिक रोजगारीको चक्करले मलाई निकै देशको साहसिक भ्रमण गराएको छ । सम्पन्न राष्ट्रका धनी मानिसले जस्तै । यसैलाई मैले उपलब्धि मानेको छु । तर नचाहँदा नचाहँदै पनि देशको तत्कालीन परिवेशले मजस्तालाई परपर पन्छाइदिन्छ । यसपालि त मेरो स्वदेशमै बसेर इलम गर्ने अठोट थियो । त्यसकै खातिर घरदेखि जोरजाम पारेर पुगनपुग दुई लाख रुपैयाँ बोकेर राजधानीको रिङरोड फन्को मारेँ । भित्री सहरमा आँट आएन । ललितपुरको एकान्तकुनादेखि सातदोबाटो सडक छेउका झाडीहरुमा मेरो मन झाँगिन पुग्यो । थसिखेलको सानो चौबाटोमा नयाँ घर ठडिँदै रहेछ । एकाध घरलाई पनि सडक किनाराका झाडीहरुले झ्यालखानामा जसरी घेरेर राखेका थिए । झाडीइतर केही फर्निचर उद्योग फैलिएको देख्दा प्लाइउडको व्यवसाय मेरो छनोटमा पर्यो । बस्तीले विस्तारको रुप लिँदै जाँदा व्यवसाय फस्टाउला भन्ने अपेक्षा गरेँ । फटाक गएर एउटा लामो कवलको बैनास्वरुप एक हजार बुझाएँ । महिनाको किराया तीन हजारमा पक्कापक्की भयो । घर तयार हुन अझै एक महिना लाग्छ होला भन्दै थिइन्, घरबेटी खड्किनी आमै ।

त्यो उभ्रेको एक महिनाको समयले मेरो गोरेटोको मार्ग बदलिदियो । रिङरोड फेल खायो । मैले अघाउन्जेल जहाजको हावा खाएँ । उमेर र उमङ्गको भर हुँदैन । मन न हो, चहारिरहन्छ । राजधानीमा डुल्दै गर्दा अनेकखाले मानिस सम्पर्कमा आउँछन् । देशमा जोर बन्दुकको धङधङी चलिरहँदा नेपाल प्रहरीबाट जागिर छाडेर भाग्ने प्रवृत्ति व्यापक बढेको थियो । भगौडा भन्ने शब्दको उच्चारण त्यो समयमा उल्लेख्य रुपमा सुन्न पाइन्थ्यो । मुलुकमा बेरोजगारीको मात्र समस्या रहेन, गृहयुद्धको असरले गाउँमा युवाहरु छिमोलिइसकेका थिए । अचानोको धारमा परेर दुई जना बहालवाला डीएसपी मेरो समूहमा मिसिए । जसले हुँदा खाँदाको जागिरलाई तिलाञ्जलि दिएर जतिसक्दो छरितो देश नै छोड्न चाहन्थे । त्यो उनको रहर पक्कै पनि थिएन । सङ्कटकालको समयले परिस्थितिलाई थप जटिलतातर्फ धकेलिरहेको थियो । देश कतातर्फ धकेलिँदै छ भनेर सायद मुलुक बनाउँछु भन्नेहरुलाई नै थाहा थिएन ।

तीनकुनेस्थित बैद्य अर्गनाइजेसन परिसरमा रहेको फिलिपिन्सको कन्सुलेटबाट पहिलो कदम स्वरुप एक महिनाको पर्यटक भिसा लिएँ । सबै प्रक्रियाको सांगोपांगो एजेन्टले नै मिलाएकाले मेरो उपस्थिति मात्र औपचारिकतामा सीमित बन्यो । त्यस पछाडिका मार्गहरु मनिला पुगेपछि खुल्दै जाने आश्वासनले शङ्का गर्नुपर्ने जरुरी भएन । हप्ता दस दिनजतिको मनिला बसाइपश्चात् क्यानाडाको यात्रा तय हुने आश्वासन पाउनु हाम्रा लागि उधुमको चिट्ठा थियो । बहालवाला डीएसपीहरु कार्यक्षेत्रदेखि समयमा आउन नसकेकाले पूर्व निर्धारित तालिकाअनुसार म एक्लो यात्रामा निस्किएँ । मलाई एक्लै यात्रा गर्दा एकखाले स्वतन्त्रताको अनुभूति हुन्छ । खुला आकाशमा बादलहरुसँग लुकामारी खेल्दै दूरदराजको दृश्यपान गर्दै घोत्लिँदा सबथोक बिर्सन पुगिन्छ । जहाँ काल्पनिक स्वर्गको मुहार खुल्छ ।

तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाजले बेलैमा बैङ्कक विमानघाटमा उतारिदियो । त्यसपछि मैले मध्यरातमा उड्ने क्याथे एयरलाइन्सको जहाज पक्रनुपर्ने थियो । विमानघाटभित्रको लम्बेतान बजारको परिक्रमा कति लाउनु भन्ने लागेर अगाडिको तालिका बुझ्न सम्बन्धित सम्पर्क कार्यालयमा पुगेँ । तुरुन्तै अघिल्लो फ्लाइटको खाली कुर्सी मेरै लागि राखिदिएजस्तै भयो । मेरो स्वघोषित निवेदनले काम गर्यो ।

झकिझकाउ बैङ्कक विमानघाटको हाट बजारले छिट्टै बिदा लियो । अघिसम्म आकाशमा देखिने चम्किला ताराहरु अब भने धर्तीमा पदार्पण भयो । ठ्याक्कै उल्टो । विशाल विमानभित्र यात्रुहरुको चापले थेगिनसक्नु थियो । तर मेरा लागि भने पूरापूर रित्तो । सायद म एक्लो अपरिचित थिएँ । त्यसैले मलाई खालीपनको महसुस भयो । खासै घडीले धेरै घुम्नु परेन । अर्को सपनाको सहर हङकङ जहाजको झ्याल सामुन्ने झुल्कियो । गगनचुम्बी भवनहरुले जहाजलाई माथि हावामै चुमुँला जस्तो गरी चम्किरहेका थिए । केही क्षण त म एकालापी बनेछु । जहाजको चक्काले भुइँ छोएपछि पो आँखाले बल्ल विश्राम लियो ।

बिलकुलै नयाँ हङकङको लम्बेतान विमानघाटलाई फड्को मारी क्याथेकै अर्को जहाजलाई तुरुन्तै समाउन सफल भएँ । मेरो सपनाको उडानमा अर्को एक पाना थपियो । विशाल पखेटाधारी जहाजले जति पूर्वोत्तरतिरको दिशा लिन्थ्यो, त्यति उचाइ सँगसँगै आकाशमा निस्लोट छाउँथ्यो । मध्यरातको प्रहरले दृश्यलाई खर्लप्पै निलेको हुँदा आँखाले पनि सुविस्ता पायो । त्यसपछि म सुन्दर परिचारिकाले दिएको ब्ल्याङ्केटको न्यानोमा गुजुल्टिएँ ।

रहरहरुलाई केलाउँदा केलाउँदै एकाध घडीपलामै मेट्रो मनिलाको जमिनमा जहाजले अवतरण गरिसकेछ । तनभरिको उत्सुकताले अधकल्चो निद्रालाई निलिरहेको थियो । यात्रुहरुको लामलाई पछ्याउँदै म अध्यागमनको अगाडि पुगेँ । सोचेजस्तो सरल रहेनछन्, फिलिपिनो अध्यागमनका अधिकारीहरु । शङ्काको घेरामा म मात्र किन परेँ ? बुझ्न सकिनँ । पूरै फरक परिवेशमा भएकाले मसँग त्यति विकल्प थिएनन् । एउटी महिला अफिसरको चौघेरामा बाँधिएर नानाथरि सवालको जवाफ फर्काउँदै गएँ । रातको शून्य प्रहरमा मेरो आधिकारिक जवाफदेहितासँग सम्पर्क हुन सकेन । जुन स्वाभाविक थियो । सञ्चार माध्यमको सुलभ सुविधा भइनसकेको अवस्थामा मेरा प्रयास पनि निरर्थक सावित भए । मसँग यथेष्ट प्रश्न गर्न पाउने अधिकार थिएन, अध्यागमनका कर्मचारीहरुसँग । अब म पूर्ण रुपमा उनीहरुको खटनमा चल्नुपर्ने भयो ।

भाग्यमा विश्वास नगर्ने मान्ठा म तर उसैले ठग्यो । दोषारोपण त केवल बहाना बन्न सक्छ । एक जना सम्बन्धित एयरलाइन्स कर्मचारीको जिम्मामा लगाएर सुरक्षाकर्मीले एकाबिहानैको फिर्ती फ्लाइटमा जानुपर्ने आदेश दिएछन् । अब ती कर्मचारी मेरो रेखादेखी बने । यथार्थ कुरा उनैको मुखारबिन्दबाट थाहा लाग्यो । अघिल्लो फ्लाइटमा मात्र केही नेपाली कोरियादेखि डिपोर्ट भएर आएका रहेछन् । जसले उक्त एयरपोर्टलाई माध्यम बनाएका थिए । मात्र नेपाली पासपोर्टधारी भएकाले उनीहरुको घानमा म घोलिन पुगेको रहेछु । अनाहकमा परेको शङ्काको घेराले मेरो सपना तुहिने निश्चित भयो । पुनः मनिला विमानघाटभित्रको सानो मेलामा बाध्यतावश सरिक हुनुपर्यो । एकपछि अर्को हवाई उडानका कारण थाकेकाले त्यहीँभित्रकै एउटा होटलमा दस डलर खर्चेर शयनका लागि प्रवेश गरेँ । उज्यालिने समय त्यति पर थिएन । तै एकाध घन्टा नै सही, ज्यानलाई केही सुविस्ता हुने ठानेँ । मनमा भने अनेक तर्कनाहरु आउँदै तर्कंदै गरे । कल्पनाका मुनाहरु नराम्रोसँग निमोठिए ।

सकिनसकी गुजारेको रातको प्रहरलाई बिहानीको प्रकाशले विस्थापित गरिसकेछ । सबेरैपख विमानघाटको गेट बाहिर मलाई लिन आएका व्यक्तिहरुसँग सम्पर्क त भयो तर परिस्थितिले छलाङ मारिसकेको हुँदा केही सम्भव भएन । अब म स्वदेशभित्र प्रवेश नगर्दासम्म लगाम लगाएको घोडा बन्दै थिएँ । विमानघाटभित्र म र बाहिर जिम्मेवार व्यक्तिबीच भएको टेलिफोन वार्तालापका प्रयास सबै निरर्थक सावित भए । अन्तर्राष्ट्रिय प्रचलन नै हो रिजेक्ट भएसी जुन बाटो भएर भित्रिन्छ, सोही बाटो फर्कनुपर्ने हुन्छ ।

कुनै विकल्प रहेन । हठात् एकाबिहानै फर्काइएँ ।

जहाजले भुइँ छोड्नासाथ झ्यालमा आएको तीखो घामले स्पर्श गर्न पुग्यो । मनिला सहरलाई अनिदो आँखाले तुरिन्जेल नियालिरहेँ । सयौँ साना ठूला द्वीपहरु ह्वेल माछासरी समुद्रमा निश्चल तवरले तैरिरहेको थियो । मन यसै बहकिरह्यो । आन्तरिक रुपमा आतङ्कित भइरहेको थियो । यस मुलुकमा मेरो पाइला नाप्न नलेखेको रहेछ । मनमा खेलेका तानाबाना बादलस“गको घम्साघम्सी उडानले सबै ओझेलमा पारिदियो ।

हङकङ विमानस्थलमा अवतरण गरेर लामको लस्करतिर लाग्दै गर्दा पहिलो गेटको सम्मुखमा एक व्यक्ति मेरो नाम लेखेको प्लेकार्ड देखाएर उभिएको देखेँ । म अलमलमा परेको देखेर ऊ मेरो समीपमा आयो । नाम मेल खाएपछि मेरो हातको पासपोर्ट उसकोमा स्थानान्तरण भयो । त्यो सब प्रक्रियादेखि म अनभिज्ञ थिएँ । अब हङकङबाट मेरो प्रस्थान नहुन्जेल अर्को एक क्याथे प्रतिनिधिले मलाई नछोड्ने भयो । म बिस्तारै बुझ्दै थिएँ । यो एउटा प्रक्रिया रहेछ । भोलिपल्ट मेरो उडान तालिकाको निश्चिन्त नहुँदासम्म खाली खल्ती पनि उक्त विमानघाटको हाटबजारमा भौँतारिरहेँ ।

बैङ्कक विमानघाटमा उत्रनासाथ उस्तै प्रकारले एक क्याथेका कर्मचारी मेरो नामधारी प्लेकार्ड बोकेर उभिएको देखिनासाथ म सरासर सम्मुखमा गएँ ।

कोलाहल व्याप्त छ । जसको झस्काइले म ब्युँझन्छु । यो कुनै त्यस्तो रङ्गशाला पनि हैन, न त कुनै सिनेमा घर । मानिसहरुको चापले खचाखच भरिएको छ । म केहीछिन गम खान्छु, स्वयम् आफू कहाँनेर छु भनेर । आफूलाई छिँडीको चिसो धरातलमै पाउँछु । मेरो आधार क्षेत्र यही नै रहेछ । भर नहुँदानहुँदै पनि भाग्यको सहारा लिन्छु ।

हिजोसम्म जत्ति नै खुला आकाशमा बादलसँग लुकामारी खेले तापनि आज धर्तीमा सुरक्षित अवतरण भएको छ, पन्छीजस्तै । हिजो देखिएका ती सपनाहरुलाई हावाको झोकाले तितरबितर पारिदिएको छ । एक वहार नयनले चौकुना चहारेर चरण गर्छ । विभिन्न खाले अनुहारहरु सम्मुखमा सुसाउँछन् । अझ भनौँ, मुटुसम्म तिनका अनेकन् इच्छा र चाहनाहरुको खिलले घोच्न थाल्छ । म आफूलाई पनि त्यहीँ सामेल गराउँछु । त्यसैमा घोलिन्छु मदानी जसरी फनफनी ।

जवानहरुको ज्यान कुनातिर बेवारिसे ढेपिएको छ । यत्रतत्र । कोही आँखा र कान चनाखो पारेर भित्तामा चिप्किएको बडेमानको टेलिभिजनमा सशरीर सुम्पेका छन् । काला, गोरा, गहुँगोरा, चिम्सा जगत्मा भएका सबैखाले वर्णको प्रतिनिधित्व देख्छु । धेरै राष्ट्रको । त्यतिखेर सबैको सपनाको उडानले सोही टेलिभिजनको स्क्रिनमा अवतरण गरेको छ । साँच्चिकै सपना देखिरहेको छैन मैले । जहाजको लामो उडानले थकित बनेर बैङ्कक विमानचौकीको गोदाममा खातमाथि खात खापिएको छु । कुनै अमुक देशको नागरिकले आश्रयस्वरुप दिएको एउटा बर्को ओढेर म आफ्नो जीवन केलाउँदै छु ।

यहाँ कुनै अन्तर्राष्ट्रिय सभा वा सम्मेलन भइरहेको छैन । यो त मात्र बेरोजगारहरुको मेला हो । संसारका धेरै विमानघाट र सीमाचौकीहरुमा यस्तो दृश्य देख्न सकिन्छ । जसले अन्तर्राष्ट्रिय श्रम संगठनको रोजीरोटी मात्र हैन, मनमौजीका आवश्यकतासमेत पूर्ति गरिदिन्छ । ‘युरो २०००’ फुटबल बेतोडले चलिरहेको छ । जुन महिनाको पछिल्ला हरफहरु । युरोपका सम्पन्न राष्ट्र बेल्जियम र नेदरल्यान्डस्ले संयुक्त रुपमा आतिथ्य गरिरहेको यस आयोजनाले सारा विश्वको ध्यान खिचेको छ । ज्वलन्त उदाहरण हामी छौँ । दुःखमा समेत हो र हा गर्दैछौँ । धनी हुन हिँडेका गरिब देशका नाम मात्रका नागरिक हामी । यो दुःखान्तको घडीमा समेत धनी देशहरुको त्यो चर्को प्रतिस्पर्धामा दर्शक बनेका छौँ । मन न हो, बहलाउनका लागि कुनै आधार चाहिन्छ । आखिर खेलले त गरिब र धनी नभन्दो रहेछ । सशर्त आकर्षित पारिदिन्छ नै । फेरि बाँच्नकै लागि यो कष्ट किन होला जगत्मा ? यो विश्वका अधिकतम देशहरुको साझा समस्या हो । जसको अन्त्य छैन । सम्पन्न मुलुकहरुले यो चाहँदैनन् पनि ।

नेपाल वायुसेवा निगमको जहाज हरेक पटक बैङ्कक विमानघाटमा आउँदा–फिर्दा काँचको पर्दाबाट चिहाएर म टोलाइरहेँ । आज पनि सिट खाली छैन, भोलि पनि सिट खाली छैन । तर, ती जहाजका सिट प्रायः नभरीकनै उड्छन् । त्यो एउटा अनियमितताको नमुना थियो । मेरो बैङ्ककदेखि काठमाडौँसम्म फर्कने टिकट नेपाल वायुसेवाको थियो । यसै पनि मेरो यात्राले गन्तव्य चुम्न सकिरहेको थिएन । निराशाको पराकाष्ठा उचाइमा पुगेको थियो । विमानघाटको सीमित घेरामा म आजित भैसकेको थिएँ । हरेक पल महँगो सावित भइरहेको थियो । रिनको धनले बाध्य बनेर यूएस डलर ३ सय ३० अतिरिक्त शुल्क तिरी थाई एयरवेजको टिकट लिएँ ।

प्रतिक्रिया
Loading...