नेपाली साहित्यको सम्पूर्ण पत्रिका

पतझरको मौसम र नाङ्गो रुखमा एउटा हरियो पात

झ्यालबाहिर आकाश सफा छ । आकाशको रङ्ग गाडा नीलो छ । टाढा टाढा कताकति साना साना बादलका चोक्टाहरु कपास उडे झैं देखिन्छन् । तर बतास मजाले चलेको छ र रुखबाट पातहरु फुरुरु.. झरिरहेछन्, अविराम । पहेँला पातहरु, राता पातहरु, छिरबिरे पातहरु रुखबाट निरन्तर झरिरहेका छन् बतासको लयमा । अनि रुखमुनिको जमिन ती झरेका रङ्गीन पातहरुले अमूर्त कलाकारिताको रुप धारण गरेर सौन्दर्यताको प्रकाश पारिरहेछ । कस्तो विसङ्गति, पातको लाशमा सौन्दर्य जलप !

यो फल सिजन हो । अमेरिकामा यो सिजनमा रुखबाट पात झर्न थाल्छन् । पात झर्ने भएरै फल भनिएको हो । कति नमज्जा लाग्दो हुन्छ, पात झरेको नाङ्गो रुखको रुप दृष्टिगोचर गर्दा !

मैले स्कूलमा पढ्दा ६ वटा ऋतुको नाम पढेको थिएँः गृष्म, वर्षा, शरद, हेमन्त, शिशिर र बसन्त । बसन्त ऋतुलाई ऋतुको राजाको रुपमा लिइन्थ्यो । ऋतुराज बसन्त भनिन्थ्यो । तर सन् २००० मा अमेरिका आएपछि थाहा भयो, फल सिजन पनि हुँदो रहेछ । ६ ऋतुको साटो चारवटा हुँदोरहेछ । वर्षा र हेमन्त ऋतुबाहेक । शरद ऋतुलाई नै फल भनिँदो रहेछ, फल भनेको पतझर । पात झर्ने भएरै पतझर अर्थात् अंग्रेजीमा फल ।

कति निरशलाग्दो लाग्छ यो पतझरको मौसम ! उदासीको प्रतीक । निराशाको प्रतीक । अन्त्यको प्रतीक

। मान्छेको जीवनको अन्त्य मृत्यु जस्तै पातको अवसान पतझर । मान्छे पनि रुखबाट पात झरे झैं जीवनबाट झर्दछ । तर पतझरको जस्तो सौन्दर्य मान्छेको मृत्युमा कतै हुँदैन । जीवनको मात्र गीत हुन्छ, मृत्युको गीत हुँदैन, मृत्युको त रोदन मात्र हुन्छ ।

शंकर लामिछानेले रुखबाट झरेको पातलाई प्रतीक बनाएर कति घतलाग्दो निबन्ध लेखेका थिए । झरेको पातले पनि प्रेरणा दिएको थियो ।

म पनि झरेको पात हेरिरहेछु र सोच्दैछु, कतै म पनि पाउँछु कि कुनै प्रेरणा !

झन्डै वर्ष दिनभित्र कोरोना महामारीले मेरो आँखा अगाडिको रुखबाट पात झरे झैं मान्छेहरु जीवनको वृक्षबाट फुतुफुतु झरिरहेका छन् । अबला, वृद्ध, बनिता, धनी, निर्धन, प्रतीभावान्, प्रतिभाहीन्, विद्वान्, अनपढ साराका सारा सोत्तर भएका छन् । परिचितहरुको सूचि लामो छ । आफन्तको सूचि पनि छ । अपरिचितहरुको सूचि झन् लामो छ । मर्ने बेलामा तुलसीको जलले मुख भिजाइदिएर धर्म कमाउने अवसरबाट बन्चित भएका छन् मान्छेहरु । पाउ समातेर रुनबाट बन्चित भएका छन् मान्छेहरु । कहालीलाग्दो भएको छ विश्व वातावरण । तर कहाली हालेर रुँदै हिँड्न सकेका छैनन् मान्छेहरु । जीवनको लय फेरिएको छ । जीवनको संगीत फेरिएको छ । जीवनको रङ्ग रोगन फेरिएको छ । आशा आकाङ्क्षाहरु फेरिएका छन् ।

पोल्टो थापेर हिँडेका छन् मान्छेहरु, जिजीविषाका लागि । बाँचे गरौँला । बाँचे खाउँला । बाँचे सास फेरौँला । बाँचे हिसाब किताब गरौँला भन्दै मान्छेहरु बाँच्नुको विकल्पहीनतालाई घाँटीमा जन्तर बाँधेर कालकूट विष पिइरहेछन् अत्यासको, आशङ्काको, भयको ।

अलिकति झ्याल खोलेर हेर्छु, चिसो सिरेटोले मुटु नै छेडुँला जस्तो प्रहार गर्छ । म हत्त न पत्त झ्याल बन्द गर्छु र हेर्न थाल्छु, पात झरेको दृश्य । पतझर मौसमको उपहार ।

गोविन्द गिरी प्रेरणा

म यो पतझर मौसमको गहिराइमा पुग्न चाहन्छु । स्वीडिस ल्यापल्याण्डमा त सात ऋतु पनि हुँदोरहेछ । पतझरको पनि २ प्रकार हुँदो रहेछ । पतझरको सुरुवातलाई रंगीन पतझर भनिँदो रहेछ । रंगीन पातहरुको दर्शनीयताले रंगीन पतझर बनाउँदो रहेछ । त्यसपछि उज्यालो अँध्यारिँदै जाँदो रहेछ । पातहरु रुखबाट बेपत्ता भैसक्दो रहेछ र सुरु हुँदो रहेछ अँध्यारो पतझर अर्थात् डार्क फल । अँध्यारो पतझरको बेला त कहाँ पाउनु नाङ्गो रुखमा पात र झर्नु ! अँध्यारो झर्दछ । अँध्याराका पातहरु झर्छन् । अँध्यारोको पो त पतझर हुन्छ ।

थाइलैण्डले तीनवटा ऋतुमा चित्त बुझाउँछ । जाडो, गर्मी र वर्षा ऋतु । पतझरको अत्तो पत्तो नै हुँदैन । के त्यहाँ पात झर्दैनन् ? कि पात उम्रदैन । या पात पलाउनु र झर्नुको कुनै मूल्य र मान्यता नै हुन्न । प्रिय पातहरु, अजम्बरी हुनु ! लाख लाख शुभकामना !

अझ पश्चिम अष्ट्रेलिया र उत्तरी भूभाग त दुई ऋतुमै मगनमस्त हुँदा रहेछन्, सुख्का र ओसिलो मौसम वा ऋतु ।

सन्तान थरिथरिका । मौसम थरिथरिका । रूख थरिथरिका । पात थरिथरिका । सदावहार रूखहरु पनि त छन्, तिनका पात रूखलाई नाङ्गो पारेर झर्दैनन् । पतझरको मौसममा पनि झर्दैनन् । झर्नुबाट र मर्नुबाट तिनीहरु टाढा छन् ।

कता हराएछु म, पतझरको मौसममा, झरेका पातहरुसँगै !

झ्यालबाहिर देख्छु, जोडजोडले बतास चलेको छ । सिरेटो चलेको छ । स्याँठ चलेको छ । चिसो हुर्हुरी बलेको छ । पातहरु झरेको झर्यै छन् । मरेको मर्यै छन् । कता कता यो मृत्युको प्रसङ्गले मुटु कमाउँछ, तर मलाई यो पक्कापक्की थाहा छ, मुटु कमाउनु र नकमाउनुसँग मृत्युको कुनै सरोकार छैन । नातागोता छैन । लेनदेन छैन ।

पात झरिरहन्छ, झरिरहन्छ । म हेर्छु, हेरिरहन्छु ।

एउटा मिथक बन्दै गरेको कहानीको याद आउँछ । एउटा बिरामी झ्यालबाहिर यसरी नै रुखबाट पात झरेको दृश्य हेरिरहन्छ । दिनदिनै पात झरेर एकदिन नाङ्गो हुन्छ । म पनि त्यसरी यसरी जीवनबाट झर्दछु र मेरो मृत्यु हुन्छ, अब म झर्दैछु भन्दै निराश हुन थाल्छ । मनोविज्ञानको डाक्टरले यो थाहा पाउँछन् । उसको उपचार चलिरहन्छ । बिरामी झ्याल बाहिर त्यो रुखबाट पात झरेको दृश्य नटुटाई, नबिराई हेरिरहन्छ । पात झर्दै जान्छ । उसको निराशा क्रमश: बढ्दै जान्छ, बढ्दै जान्छ । तर एक दिन यस्तो आउँछ, त्यो रुखमा एउटा हरियो पात मात्र बाँकी रहन्छ । त्यो झर्दैन । झर्दै झर्दैन । त्यो नझरेको पातले उसलाई प्रेरणा दिन्छ, उत्साह दिन्छ, बाँच्ने आशा दिन्छ र क्रमश: तङ्ग्रीदै जान्छ । अनि विशेक हुन्छ ।

ऊ विशेक भएपछि एक दिन डाक्टरले उसलाई त्यो रूखको छेउमा लैजान्छन् र त्यो नझरेको पात देखाउँछन् । त्यो पातलाई वास्तवमा एउटा धागोले बाँधिएको हुन्छ, त्यसकारण त्यो झरेको हुँदैन ।

अहिले कोरोनाको औषधी बन्दै गरेका खबरहरु त्यही नाङ्गो रुखको नझरेको हरियो पात भएको छ । कहिले पर्ने हो बिरामीको हातमा, त्यसको टुङ्गो लागिसकेको छैन । तर त्यो समाचारले उत्साह, उमङ्गको सञ्चार गरेको छ ।

मानव जातिमा जिजीविषा उच्च छ । हरेक जीवमा जिजीविषा उच्च छ । मानव जाती त्यसलाई अभिव्यक्त गर्न सक्षम छ, तर अरु प्राणी त्यसलाई अभिव्यक्त गर्न सक्दैनन् । तर तिनको गतिविधिले त्यसलाई झल्काउँछन् । मृत्युबाट टाढा भाग्न खोजेको बुझिन्छ । रूखबाट झरिरहेका पातले त्यो अभिव्यक्त गर्न सक्दैनन् । तर रुखमा त अर्को साल पालुवा लाग्छ । नयाँ पातहरु पलाउँछन् । तर मान्छे ? एकपल्ट जीवनबाट गइसकेपछि फर्कदैन, फर्कन सक्दैन । पालुवा झैं पलाउँदैन । कति मान्छेहरु पुनर्जन्मको प्रसङ्ग पनि ल्याउँछन्, त्यो यथार्थमा आधारित नभएर विश्वासमा आधारित हो ।

झ्यालबाहिर बतास निरन्तर चलिरहेछ । पातहरु झरिरहेछन् निरन्तर । कामना गरिरहेको छु, एउटा हरियो पात शेष रहोस् !

फल्स चर्च भर्जिनिया, अमेरिका

प्रतिक्रिया
Loading...