नेपाली साहित्यको सम्पूर्ण पत्रिका

तीन लघुकथा शृंखला ९

१. नेपालभाषाको पहिलो लघुकथा

 

छाप्रो र महल

रामहरि जोशी

रामहरि जोशी

तिहारको साँझ – अग्ला अग्ला गगनचुम्बी महलहरुमा आज सोह्र श्रृङ्गार । चारैतिर बिजुली बत्तीको चहक – सुन पग्लेर बगिरहेझैं पहेँलो झिलिमिली ।

सामुन्ने कसैको जीर्ण छाप्रो झोक्य्राइरहेछ – विधवाझैं निन्याउरो मानौं यो संसारको समग्र अन्धकार प्रकाशबाट पराजित भएर त्यहाँ शरण माग्न आइरहेछ ।

त्यहीबेला निकै घमण्डका साथ शिर ठाडो पारेर छाप्रोलाई गिज्याउँदै महलले भन्यो – ए अलच्छिना ! यस्तो थाटबाटको संसारमा तँ जस्ता क्षुद्रहरु बस्ने के अधिकार ?
त्यसको कुरामा सही थाप्दै सम्पूर्ण महल खित्तित्त हाँस्न थाले । विचरा छाप्रो आफ्नो दुःख आफैँभित्र गुम्स्याएर चुप लाग्यो ।
००
त्यही राति एक्कासि भुइँचालो आयो । भोलिपल्ट देखियो – महलहरु भत्किएर उनीहरुको अभिमान धुलोपिठो भई त्यही पुरानो छाप्रो सामु पसारिएका थिए ।
००

(पलाःख्वाँय्ः कथा र समालोचनासंग्रहबाट बलचा र महल शीर्षकको लघुकथा नेपाल भाषाको पहिलो लधुकथा हो । यो लघुकथाको लघुकथाकार रामहरि जोशी हुन् ।

सात सालको क्रान्तिका एकजना अगुवा रामहरि जोशीको जन्म नेसं.१०४८ मा भएको थियो । राजनीतिज्ञ तथा शिक्षासेवी जोशीले नेपालभाषा, नेपाली र हिन्दीमा कलम चलाउनुका साथै विविध भाषामा कृतिहरु प्रकाशित गरेका थिए । उनका कृति अँध्यारोबाट उज्यालोतिर (आत्मकथा, ०६७ ) र पलाःख्वाँय् ( पाइतालाको डोब, कथा लघुकथा र समालोचनासंग्रह) र हिन्दीमा कवितासंग्रह प्रकाशित छन् ।

उनको यो लघुकथा ने.सं. १०७३ वि.सं. २०१० मा नेपाल ऋतुपौमा प्रकाशित भएको हो ।
अनुवादः ध्रुव मधिकर्मी

२. स्वर्णकालीन लघुकथा

चिठ्ठा

ध्रुव मधिकर्मी

ध्रुव मधिकर्मी

ऊ मनमनै विचार गर्दै आइरहेको थियो । उसको अनुहारमा उदासिनता झल्किएको थियो । किनकि उसलाई पैसाको सक्त जरूरत थियो । तर ऊ एक अर्दली भएकोले ऊसँग त्यति पैसा छैन, जति दुई छाक खानलाई चाहिन्छ । साथै परिवारमा स्वास्नी र छोराछोरी छन् । कसरी अर्दली जागीरले ती चारपाँच जनाको पेट पाल्न सक्ला र ? उसको घर बन्धनमा परेको छ । त्यसलाई छुटाउन ऊसँग पैसा छैन । त्यसैबेला उसको कानमा ठूलो स्वरले कराएको आवाज आउँछ, “चिट्ठा किनेर आफ्नो भविष्य सपार्नुहोस्, रू एकबाट….हजार” ।

यो सुनेर उसलाई रिस उठ्छ । अनि ऊ मुरमुरिन्छ, “चिट्ठा किन्दा किन्दा जिन्दगी बित्न लागिसक्यो ! अहिलेसम्म परेको छैन । कति चोटी लिने चिट्ठा ? एकचोटी परे पो ! गरिबको भाग्य कहाँ हुन्छ र ? चिट्ठा किन्नुको सट्टा यदि पैसा जम्मा गरेको भए…!” पश्चातापमा डुब्छ ।

ऊ फेरि घृणाले भटभटाउँदै अगाडि बढ्छ, ‘आफ्नो भविष्य सपार्नु होस रे !”

(२०३० को दशकलाई लघुकथाको स्वर्णकाल बनाउन लघुकथाकार ध्रुव मधिकर्मीको पनि योगदान अमूल्य छ । लेखनको सुरुवाती समयदेखि नै लघुकथा लेखेर २०३५ सालमा संयुक्त लघुकथा संग्रह प्रकाशनमा ल्याएको देखिन्छ । उनका हालसम्म दुई लघुकथा लघु (२०३५) र बुद्ध कहीँ छैन (२०५१) संग्रह प्रकाशित छन् । कथाकार मधिकर्मी समसामयिक विषयमा टेकेर मान्छेका मन खोतल्न खप्पिस छन् । कतिपय कथाहरूमा हिन्दू र नेवारी मिथकहरू पनि कुशलतापूर्वक मधिकर्मीले प्रयोग गरेका छन् । मधिकर्मी साहित्यिक पत्रकार, रेडियोकर्मी, नेपालभाषाको विज्ञ हुनुका साथसाथै लघुकथा समाजको उपाध्यक्ष पनि हुन् ।

प्रस्तुत लघुकथा “चिठ्ठा” उनले २०३३ सालमा लेखेको लघुकथा हो । कथामा त्यस समयको समय र मान्छेको पीडा मिसिएको छ ।)

 

३. मलाई मन परेको लघुकथा

उपहार

विनोद नेपाल

विनोद नेपाल

‘के ल्याउँ दाइ यसपालि उपहार ? केही चाहिएको कुरो भए भन्नुस् ।’

बहिनीको कुराले उनी हर्षित् भए । भने, ‘चाहिएको त केके छ केके नि ! समय यस्तो छ । धेरै यताउता नगर्नू । जोखिम मोलेर काम छैन । सजिलै जे भेटिन्छ त्यही ल्याए हुन्छ ।’

‘हस् दाइ, अवश्य । ठूलो कुरो ज्यान हो । ज्यान रहे अर्को वर्ष फेरि मनाउन पाइहालिन्छ नि चाडपर्व त !’

बहिनीको कुराले उनी सन्तुष्ट भए । मनमनै भने, ‘साँच्चिकै समझदार छिन् मेरी बहिनी ।’

टीकाको दिन बिहानै बहिनीले आँगन टेकिन् । बाटो हेरिरहेका उनी बहिनीको आगमनमा खुसी भए ।

टीकाको समय भयो ।

उनीहरुले परस्पर टीका लगाए ।

बहिनीले आफ्नो झोलाबाट सानो उपहार निकालिन् र दाजुको हातमा राख्दै भनिन्, ‘सजिलोसँग जहाँसुकै पाइने यही रहेछ दाइ, लौ लगाउनुस् । राम्रोसँग लगाउनुहोला, ताकि अर्को वर्ष रमाइलोसँग तिहार मनाउन पाइयोस् ।’

उत्साहित हुँदै पोको खोलेका उनको हातमा थियो, ‘मास्क’ ।

(लघुकथाकार विनोद नेपालका केही लघुकथाहरू विनोद नेपाल बैगुनीको नामबाट २०४३ सालबाटै प्रकाशनमा आएका छन् । कोभिड -१९ को बन्दाबन्दीपछि उनी सक्रियताका साथ लघुकथा लेखनीमा लागेका छन् । पछिल्लो समय “गोदान” लघुकथा संग्रह प्रकाशनमा पनि ल्याएका छन् ।

प्रस्तुत लघुकथा “उपहार” उनले यसपालिको भाइटीकाकै दिन लेखेका हुन् । उनको लघुकथाले सन्देश र समयको बोध एकैसाथ गराएको पाइन्छ ।)

प्रतिक्रिया
Loading...