नेपाली साहित्यको सम्पूर्ण पत्रिका

धर्म परिवर्तनको कथाः पवित्र मान्छे

(सन् १९१९ मा पियरसन प्रकाशनद्वारा प्रकाशित फ्राङ्क ह्यारिसको ‘स्टोरिज् अफ जिसस द क्राइस्ट’ पुस्तकको ‘द होली म्यान’ कथाको अनुवाद । बेलायती कथाकार ह्यारिसले यो कथा लियो टोल्सटोयबाट प्रेरित भएर लेखेको पुस्तकमा बताएका छन् । मलाई यो कथा मन पर्नुको कारण दूरदराजका सिद्ध पुरूषहरूलाई पनि सुसमाचार पढाउनेहरूमाथि यो कथाले व्यंग्य गरेको छ । अर्को कारण चाहिँ गाउँलेहरूमा अरूप्रति विश्वास र प्रेम कति गहिरो छ भन्ने पनि देखाउँछ ।)

काउन्ट स्ट्रोगनोफका जेठा छोरा पल बत्तीस वर्षको उमेरमा बिसप भए । सम्पूर्ण ग्रिसेली चर्चमा उनी सबैभन्दा कलिलो उमेरका पदाधिकारी थिए । क्यास्पियन सागरको किनारै किनार फैलिएको उनको धर्म-प्रदेश सबैभन्दा ठूलो थियो । उमेरमा कमका भए पनि पलले आफ्नो इमान्दारी र विनम्रताले सबैलाई मुग्ध बनाएका थिए ।

बिसप नियुक्त हुनेबित्तिकै उनले आफ्नो धर्म-प्रदेशका सर्वसाधारणहरूको दुःखकष्ट र आवश्यकता के रहेछ भन्ने जान्न मन लाग्यो र भ्रमणमा निस्कने विचार गरे । यस किसिमको भ्रमणलाई पास्टरल टुर भनिन्थ्यो । यस यात्राका लागि उनले दुई जना पाका पुरोहितहरूलाई पनि तिनको अनुभवले केही फाइदा नै होला भन्ने सोचेर सँगै यात्रामा लगे । तर ती पुरोहितले पलको तीव्र उत्साहलाई रत्तिभर बुझ्न सकेनन् । पलले जिसस क्राइस्टको जीवनलाई आफ्नो आदर्श मानेका थिए । दुःख र पीडालाई पनि उनले सहजै पचाउन सक्थे । उनीसँगै हिँडेका दुई पुरोहित भने उनको खटान देखेर विसपको पदअनुसारको सुहाउँदिलो दुःख भएन भन्ने ठान्थे । उनीहरू बिसपको जीवन त आराम र आनन्दको हुनुपर्छ भन्ने ठान्थे ।

उनीहरू धेरै दिनदेखि लगातार हिँडिरहेका थिए । धर्म-प्रदेशको अन्तिम दक्षिणी भागमा पुगेपछि उनीहरूले एउटा जहाज लिए अनि किनारैकिनार उत्तर दिशातिर लागे । त्यहाँ उनीहरू माझीगाउँ हेर्न चाहन्थे ।

एक दिउँसो, बिहानको कडा परिश्रमपछि उनीहरू पानी जहाजको डेकमा आराम गरिरहेका थिए । जहाज शान्त भावले हिँडिरहेको थियो । पानीमा छाल थिएन । हावा मन्द थियो ।

पानी परूँलाझैँ गरिरहेको थियो, बादलहरू मडारिइरहेका थिए । अचानक घाम देखा पर्यो । निकै टाढा बिसप पलले केही घरका छाना घाममा टल्केको देखे ।

‘के ठाउँ रहेछ त्यो ?’ जहाजको कप्तानलाई पलले सोधे ।

‘मेरो विचारमा त्यस गाउँलाई क्रास्नाभोड भनिन्छ,’ कप्तानले हिच्किचाउँदै भन्यो, ‘त्यो ठाउँ पहाड र समुद्रको कोप्चो ठाउँमा एउटा सानो गुँडजस्तो छ । सबै गरेर त्यहाँ सय आत्माहरू बास बस्छन् ।’

(रूसमा मानिसहरूलाई ‘सोल’ (आत्मा) भन्ने गरिन्छ, बेलायतमा भने ब्यान्ड्स ।)

‘एक सय आत्मा…’, बिसप पलले संख्या दोहोर्यायो, ‘यत्रो आत्माहरू यो संसारदेखि अलगथलग बसिरहेका छन् है ! म क्रास्नाभोड भ्रमण गर्न चाहन्छु ।’

दुई पाका पुरोहितले कुम हल्लाए तर केही बोलेनन् । उनीहरूलाई थाहा थियो, पललाई सम्झाएर हुनेवाला केही छैन । तर उनीहरूको भागको विरोध पानी जहाजको कप्तानले गर्यो ।

‘त्यो दुई माइल जति टाढा छ,’ कप्तानले भन्यो, ‘फेरि जहाजको चप्पु चलाउने सहयोगीहरू पनि गलेर हत्तु भइसके त्यहाँ जान त केही समस्या छैन तर आउन भने निकै गाह्रो छ । समुद्री हावा निकै डरलाग्दो गरी चल्छ ।’

‘भोलि आइतबार हो,’ बिसपले भने, ‘त्यसैले चप्पु चलाउने सहयोगीहरूले भोलि दिनभरि आराम गर्दा भइहाल्यो । कप्तान, सहयोगीहरूलाई एउटा नाउ निकाल्न भनिदिनुहोला । यो मैले मेरा लागि गरेको होइन भन्ने तपाईंले बुझ्नु हुन्छ ।’ यसो भनिरहँदा बिसपको आवाज निकै नम्र सुनिन्थ्यो ।

कप्तानले कुरा बुझ्यो । नाउ निकालियो । केही घण्टाभित्रै नाउले किनारा फेला पार्यो ।

नाविक र सहयोगीहरूले बिसप पानीमा नभिजून् भनेर पिठ्यूँमा बोकेर पारि पुर्याए । पुरोहितहरू भिज्दै किनारमा पुगे ।

गाउँ छिर्दै फेला परेको पहिलो घरमा बिसपले बाँसका सिर्कना ताछिरहेको एउटा बूढो मानिसलाई देखे र चर्च (गिर्जाघर) कहाँ छ भनी सोधे ।

‘चर्च?’ किसानले छक्क पर्दै भन्यो, ‘त्यस्तो चिज त मैले कहिल्यै सुनेको छैन । यहाँ छैन ।’

‘तपाईंहरूको कुनै पोप, कुनै पादरी छैनन् त ?’ बिसपले जिज्ञासा राख्यो ।

‘त्यो भनेको के हो ?’

‘यहाँ त्यस्तो कोही त होला जसले मरिमराउ पर्दा प्रार्थना गर्ने, महिला तथा बालबालिकालाई रोग लाग्दा केही उपचार गर्ने गर्छ !’

‘ए, ए, बुझेँ,’ कुरा बल्ल बुझेकामा किसान उत्साहित भयो, भन्यो, ‘अँ, हाम्रा एक जना पवित्र मानिस छन् ।’

‘पवित्र मानिस ?’ बिसपले शब्द दोहोर्याए र भने, ‘उहाँ को हो ?’

‘उहाँ धेरै असल मानिस हो, एक जना सन्त हुनुहुन्छ उहाँ,’ किसानले उत्तर दियो, ‘अभरमा परेका हरेकलाई उहाँले सहयोग गर्नुहुन्छ । सबैथोक गर्नुहुन्छ ।’

‘के उहाँ उसो भए क्रिस्चियन हुनुहुन्छ त ?’

‘त्यस्तो त मलाई लागेन,’ बूढो मानिसले ओठ लेप्य्राउँदै भन्यो, ‘त्यस्तो नामै हामीले सुनेका छैनौँ ।’

‘उनले तपाईंहरूलाई सहयोग गरेबापत पैसा दिनुहुन्छ ?’

अँहँ, उनले केही पनि लिँदैनन् ।

उसो भए कसरी बस्छन् त ? बिसपले कुरा खोतले ।

हामीजस्तै उनी पनि बारीमा काम गर्छन् ।

‘उनी कहाँ बस्छन् ? मलाई देखाइदिनुस् न !’ बिसपले नम्र भावले भने । तुरून्तै बूढो किसानले बिसपलाई झुप्राहरूको माझमा लगे । एकै छिनमा उनीहरू एउटा साधारण झुप्रोका अघिल्तिर पुगे । यो झुप्रो गाउँका अन्य झुप्रोजस्तै सामान्य थियो, दीनहीन र दरिद्र ।

बूढो मानिसले ढोका खोल्यो । ‘इभान, तपाईंलाई भेट्न कोही मानिसहरू आएका छन् ।’

यति भनेपछि बूढो किसानले घरभित्र छिर्न बाटो छाडिदियो ।

बिसपले सामुन्नेमा ६० वर्षका, चौडा छाती भएका, मानिस देखे । उनले आधा किसान जस्तो, आधा माझीजस्तो पोशाक लगाएका थिए । उनले भेडाको छाला ओढेका थिए र माझीको जस्तो अग्लो बूट लगाएका थिए । उनको चाँदीजस्तै टल्कने केश र दाह्री निकै आकर्षक देखिन्थ्यो । उनका आँखा स्वच्छ, नीला र स्थिर थिए ।

आउनुस्, आउनुस्, उनले भने र हतार हतार बाहुलाले मूढा पुछेर बस्न दिए ।

धन्यवाद- मूढामा बस्दै बिसपले भने, ‘म अलि थाकेको छु । तपाईं पनि बस्नुस् ।’ ती पवित्र मानिस तिनकै अघि सम्मानको भावमा झुकेर उभिएका थिए । केही नभनी इभानले पनि एउटा मूढा तानेर त्यसमा बसे ।

मलाई अचम्म लाग्यो, बिसपले भने, ‘यहाँ एउटा मण्डलीघर (चर्च) पनि रहेछन्, कोही पास्टर (पुरोहित) पनि रहेनछ । जुन बूढो किसानले हामीलाई बाटो देखाइदिएर यहाँसम्म ल्याइदिए, उनलाई पनि क्रिस्चियन भनेको के हो, त्यो पनि थाहा रहेनछ । अचम्म !’

‘पवित्र मानिस’ले धैर्यपूर्वक कुरा सुने तर केही जवाफ दिएनन् ।

‘तपाईं क्रिस्चियन हो नि, होइन ?’ बिसपले सोधे ।

‘खै ? मैले त यस्तो नाम यसअघि कहिल्यै सुनेको थिइनँ,’ पवित्र मानिसले जवाफ दिए ।

बिसप छक्क परेर आँखीभौँ खुम्च्याए ।

‘उसो भए किन तपाईंले गरिब र बिरामीहरूको सेवा गर्नुहुन्छ ? उनीहरूको उपचार गर्नुहुन्छ त ?’

फ्राङ्क ह्यारिस

पवित्र मानिसले उनलाई एकछिन हेरे र बिस्तारै भने, ‘म सानो छँदा उनीहरूले पनि मलाई सहयोग गरेका थिए । मैले पनि उनीहरूलाई सहयोग गर्नुपर्छ ।’

बिसपले अधैर्य हुँदै सोधे, ‘तर तपाईंको धर्म चाहिँ के हो त ?’

‘धर्म ?’ पवित्र मानिस छक्क परे, ‘धर्म भनेको के हो ?’

‘हामीले आफूलाई क्रिस्चियन भन्छौँ,’ बिसपले विस्तारपूर्वक भने, ‘किनभने हाम्रो धर्मको संस्थापक जिसस क्राइस्ट हुन् । उनलाई क्राइस्ट पनि भनेर चिनिन्छ । उनी ईश्वरका पुत्र थिए र उनी स्वर्गबाट आएर यहाँ धर्म प्रचार गरे । उनले मानिसहरू ईश्वरका सन्तान हुन् र भगवान् नै प्रेम हुन् भनी सिकाए ।’

पवित्र मानिसको अनुहार धपक्क बल्यो । अति उत्सुक भएर हल्का बिसपतिर ढल्किँदै उनले भने, ‘ओहो, उनका बारेमा अझै बढी बताउनुस् न !’

बिसपले जिसस क्राइस्टको कथा सुनाए र कथाको अन्त्यमा पवित्र मानिसले भने, ‘कति मीठो कथा ! कति राम्रो कथा ! मैले यस्तो कथा त कहिल्यै सुनेको थिइनँ ।’

बिसपले भने, ‘म घर पुग्नासाथ यहाँ एक जना पास्टर (पुरोहित) पठाइदिन्छु । उनले यहाँ एउटा चर्च खोल्नेछ । त्यहाँ बसेर तपाईंहरू प्रार्थना गर्न सक्नुहुन्छ र पास्टरले हाम्रा स्वर्गीय पिताको विषयमा सबै सबै कथा सुनाउने छन् ।’

‘ओहो, कति राम्रो !’ पवित्र मानिस अति प्रशन्न भएर चिच्याए, ‘म उनलाई स्वागत गर्न अति इच्छुक छु ।’

बिसप उनको चासो र सद्भावबाट अति प्रभावित भए ।

बिसपले थपे, ‘अब हामी फर्कनुपर्छ । हामी जहाजसम्म पुग्न निकै समय पनि लाग्छ । म जानुअघि जिसस क्राइस्टले आफ्ना शिष्यहरूलाई सिकाएको प्रार्थना तपाईंलाई सिकाएर जान्छु ।’

‘म त्यो सुन्न ज्यादै इच्छुक छु,’ पवित्र मानिसले सुस्तरी भने ।

‘उसो भए अब हामी घुँडा टेकौँ,’ बिसपले भने, ‘यो उहाँलाई सम्मान जनाएको हो । अब म जे भन्छु, तपाईंले त्यो दोहोर्याउनुस् है त ! हामी सबै उनै मालिकका प्रेमका पात्र हौँ ।’ यसपछि बिसपले घुँडा टेकेर प्रार्थना गर्न तयार भए । त्यो देखेर पवित्र मानिसले ठ्याक्कै त्यस्तै नक्कल गरे र घुँडा टेके । बिसपले हात जोडे, उनले पनि त्यसै गरे । जसै बिसपले प्रार्थनाका शब्द बोल्ने, ती प्रत्येक शब्द नसकिदै उनले पनि उत्तिकै उत्साहका साथ ती शब्द दोहोर्याए ।

‘हे परमपिता परमेश्वर, तपाईंको नाउा पवित्र गरियोस ।’

पवित्र मानिसले यी शब्द दोहोर्याए । बिसपले फेरि भनेँ, ‘तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा भएझैँ यस जगत्मा पनि पूरा होस् ।’

जुन उत्साहले बूढाले यी शब्द दोहोर्याए, त्यो साँच्चिक हृदयस्पर्शी सुनियो ।

बिसपले पुनः भने, ‘हाम्रो प्रतिदिनको भोजन आज हामीलाई दिनुहोस् । जसरी हामीले हाम्रा अपराधीहरूलाई क्षमा दिएका छौँ, तपाईंले पनि उसरी नै हाम्रा अपराधलाई क्षमा गर्नुहोस् ।’

‘दिनुहोस्… दिनुहोस्,’ बूढाले बीचका शब्दहरू भुलेझैँ यति मात्र भने ।

‘हाम्रो हरेक दिनको भोजन आज हामीलाई दिनुहोस् अनि हाम्रा अपराध क्षमा गर्नुहोस्, जसले हामीले पनि हाम्रा अपराधीहरूलाई क्षमा गरेका छौँ,’ बिसपले धैर्य भएर शब्दहरू दोहोर्याए ।

‘दिनुहोस् र क्षमा गर्नुहोस्,’ बूढा मानिसले अन्त्यमा भने । उनको स्मरणशक्ति कमजोर रहेछ भन्ने ठानी बिसपले फेरि प्रार्थना दोहोर्याए, ‘हामीलाई परीक्षामा नपार्नुहोस् तर दुष्ट्याइँबाट जोगाउनुहोस् ।’

फेरि पनि बूढाले अद्भूत उमंगका साथ ती शब्दहरूलाई दोहोर्याए, ‘हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्ट्याइँबाट जोगाउनुहोस् ।

फेरि बिसपले भने, ‘किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमिन् ।’

पवित्र मानिसको स्वरमा अति प्रेम र इमान्दारीको भाव थियो । उनले दोहोर्याए, ‘किनभने राज्य, पराक्रम र सौन्दर्य सदा तपाईंकै हुन् । आमिन् ।’

बिसप उठे, बूढा पनि पनि बिसप उठेको देखेर हतारहतार उठे । बूढाले बिसपको हात समात्दै भने, ‘जिसस क्राइस्टको यति सुन्दर कथा सुनाएकामा म तपाईंलाई कसरी धन्यवाद दिऊँ । उनले आफ्ना शिष्यहरूलाई सिकाएको प्रार्थना मलाई सिकाएकामा म तपाईंलाई कसरी धन्यवाद दिऊँ ?’

हर्षातिरेक भएर बूढाले शब्दहरू दोहोर्याए, ‘तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा भएझैँ यस जगत्मा पनि पूरा होस् ।’

उनको श्रद्धा र मर्मस्पर्शी सद्भावबाट प्रभावित बिसपले उनलाई अति करूणाका साथ व्यवहार गरे । उनको काँधमा हात राख्दै बिसपले भने-

‘म घर पुग्नासाथ तपाईंहरूका लागि एक जना पास्टर पठाइदिनेछु । उहाँले तपाईंहरूलाई धेरै कुरा सिकाउनु हुनेछ । हाम्रो धर्मको विषयमा उहाँले सबैथोक बताउनुहुनेछ…।’

वृद्धले शिर निहुर्याएर बिसपको हातमा चुम्बन गरे । यतिबेला उनका आँखाबाट आँशु बरर्र झरे । ती पवित्र मानिसले बिसप र उनका सहयोगीहरूलाई नदी किनारसम्म छाडे । बिसप पानी देखेर अलि हच्किए र कसैले उनलाई नभिजाई नाउमा हालिदेला भनी कुरे । त्यतिञ्जेलसम्म पवित्र मानिसले उनलाई च्याप्प पक्डिए र पानीमा सानो नानीलाई डोर्याएजस्तो फुत्त उचालेर नाउमा पुर्याए । उनको फुर्तिलो र सहजता देखेर बिसप र नाविकहरू पनि छक्क परे । मनमनै बिसपले भने, ‘बूढो त युवाकै जस्तो बलियो रहेछ !’

००० ००० ००० ००० ०००
नाउ हिँडेपछि तिनले निकैबेरसम्म बिसपलाई हात हल्लाइरहे । नाउ जहाजसम्म पुगेपछि उनी आफ्नो झुप्रोमा फर्के ।

केहीबेरपछि बिसपले आफ्ना पादरीहरूतिर फर्केर भने, ‘कति मज्जाको अनुभूति ! कस्तो रोचक मान्छे ! कस्तो इमान्दार बूढो ! तिनले कति भक्तिसित ईश्वरको प्रार्थना गरेका ! तिमीहरूले ख्याल गर्यौ ?’

कम उमेरको पुरोहितले भन्यो, ‘हजूर, तर मलाई उसले अलि बढी नै जानेको छु भन्ने देखाउन खोजेजस्तो लाग्यो ।’

‘होइन, होइन !’ बिसपले भने, ‘उनको इमान्दारी स्पष्ट झल्किन्थ्यो । तिमीहरूले देख्यौ ? उनले दिनुहोस् र माफ गरिदिनुहोस् मात्र भने । अरू शब्दहरू भनेनन् । हाम्रो प्रतिदिनको भोजन आज हामीलाई दिनुहोस् र अनि हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले पनि हाम्रा अपराधीहरूलाई क्षमा गरेका छौँ भन्दा अलिक मोलतोल गरेजस्तो लाग्छ । उनले भनेका शब्दहरू दिनुहोस् र क्षमा गर्नुहोस् जिसस क्राइस्टकै अन्तरआत्मा अनुकूलका छैनन् र ?’

सानो पुरोहितले कुम हल्लायो, मानौँ यस प्रश्नमा उसलाई बिल्कुलै चासो छैन ।

बिसप उत्साही देखिन्थे, उनले थपे, ‘अन्त्यमा फेरि उनले महिमाको साटो सौन्दर्य शब्द प्रयोग गरे । यो शब्द अझ राम्रो सुनिन्थ्यो । ती बूढा साँच्चै एक अचम्मैका र असाधारण मानिस हुन् । अति दयालु स्वभावका लागे मलाई । यस्तै असल मानिसहरू छन् र नै यस देशलाई ‘पवित्र देश रूस’ भनिन्छ ।’

पुरोहितहरूले भने, ‘तिनीहरू सुँगुरजस्तै मूर्ख छन् । त्यो गाउँमा पढ्नलेख्न जान्ने आत्मा कोही पनि रैनछ । तिमीहरू गँवार हुन्, म्लेच्छ । तिनीहरूले क्राइस्टका बारेमा सुनेकै रहेनछन् । धर्म भनेको के हो, त्यो पनि तिनलाई थाहा रहेनछ ।’

बिसपले उनीहरूलाई उदेक मानेर हेरे तर केही भनेनन् । बरू उनी आफ्नै सोचमा डुब्न मग्न भए ।

००० ००० ००० ००० ०००
उनीहरू जहाजसम्म आइपुग्दा झमक्क रात परेको थियो । उनीहरू दिनभरिको थकाइका कारण तुरून्तै आफ्नो क्याबिनमा सुत्न गए ।

बिसप दुई घण्टा जति मात्र सुनेका के थिए, कान्छो पुरोहित आएर झक्झक्याउँदै उठायो र भन्यो, ‘हजूर, तपाईं चाँडै डेकमा आउनु पर्यो । एउटा अचम्मको घटना भइरहेको छ । नदीमा ज्योतिपुञ्ज देखिदैछ अनि कसैले पनि त्यो के हो भन्न सकिरहेको छैन । कप्तानले तपाईंलाई बोलाएर ल्याउनू भनेका छन् ।’

बिसप डेकमा पुग्दा कप्तानले आँखामा रात्रिकालीन चश्मा लगाएर टाढाको पानीतिर हेरिरहेका थिए । साँच्चै नै एक सय पाइला टाढा ज्योतिको एउटा चमक पानीमा चम्किरहेको थियो ।

‘यो के हो ?’ बिसपले छक्क परेर सोधे । हल्लीखल्लीका कारण सबै मानिसहरू यतिञ्जेल भिड लागेर त्यतै हेरिरहेका थिए ।

‘हन म के देख्दैछु हँ ?’ कप्तान आश्चर्यपूर्वक बोलिरहेको थियो, ‘यो त खैरो रङको दाह्री भएको मानिस हो । उसको हातमा लालटिन छ र ऊ पानीमाथि हिँडिरहेको छ त !’

‘तर कोही पनि पानीमाथि हिँड्न सक्दैन,’ बिसपले बिस्तारै भने, ‘यो त चमत्कार नै हो ।’ बिसपको स्वरमा प्रतिवाद झल्किइरहेको थियो ।

‘चमत्कार हो कि होइन, त्यो मलाई थाहा छैन,’ कप्तानले चस्मा खोल्दै भन्यो, ‘तर म त त्यही देख्दैछु । ऊ यहाँ चाँडै आइपुग्छ किनभने ऊ यतै आउँदैछ । हेर त !’ कप्तानले चस्मा एक जना नाविकलाई दियो ।

ज्योति पानीमा चम्कदै थियो । नाविकले चस्मा लगाएपछि भन्यो, ‘यो त्यै हो ! एउटा मानिस पानीमाथि हिँड्दैछ… यो त्यही पवित्र मानिस हो । उसैले दिउँसो नाउमा हाम्रा बिसपज्यूलाई फुत्त चढाएको थियो ।’

‘ईश्वरले हामीलाई रक्षे गरून् !’ पूजारीहरू चिच्याए र क्रसको चिनो बनाए ।

‘ती व्यक्ति जुनसकै बेला पनि यहाँ आइपुग्न सक्छन्,’ नाबिकले भन्यो, ‘उनी तीव्र गतिमा आइरहेका छन् ।’

हेर्दाहेर्दै पवित्र मानिस पानीबाट माथि उक्ले र डेकमा चढे ।

यो देखेपछि पुरोहितहरूले चमत्कार सम्झेर घुँडा टेके । नाविक र कप्तानले पनि त्यसै गरे । बिसप भने विस्मित भएर हेरेका हेर्यै भए ।

ती पवित्र मानिस अघि बढे अनि बिसपतिर हात बढाउँदै भनेः

‘तपाईंहरूलाई दुःख दिएकामा माफ गर्नुहोला । महोदय, तपाईं हिँड्नेबित्तिकै त्यो सुन्दर प्रार्थनाका केही शब्दहरू मैले बिर्सें । तपाईंले सिकाउनु भएको प्रार्थना मैले सधैँ भनिन भने मलाई पाप लाग्छ भन्ने सम्झेर फेरि सोध्न आएको हुँ ।’

‘मलाई प्रार्थनाको पहिलो र अन्तिम भाग थाहा छ मानौँ ती शब्दहरू मैले जीवनभर सुनिरहेको होऊँ । मेरो आत्मामा ती शब्दहरू गढिसकेको छ तर मध्यभाग मलाई कसैगरी याद भएन ।…’

‘हे परम पिता परमेश्वर, तपाईंको नाउँ पवित्र गरियोस्, तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा भएझैँ यस जगत्मा पनि होस् भन्ने मात्र याद भयो । त्यसपछि मलाई दिनुहोस् र क्षमा गर्नुहोस् भन्ने मात्र याद छ । अनि अन्तिम भाग, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्ट्याइँबाट जोगाउनुहोस् । किनभने राज्य, पराक्रम र सौन्दर्य सदासर्वदा तपाईंकै हुन् । आमेन् !’

‘तर मैले बीचका केही शब्दहरू बिर्सें । मलाई कृपा गरेर ती कुरा बताउनुहोस् ।’

‘तपाईं यहाँ कसरी आउनुभयो ?’ भय र आश्चर्यमिश्रित स्वरमा बिसपले सोधे, ‘तपाईं कसरी पानीमा हिँड्नुभयो ?’

‘ए, त्यो ? त्यो त सजिलो छ नि !’ पवित्र मानिसले भने, ‘जसले पनि त्यस्तो गर्न सक्छ । जसलाई तपाईं प्रेम र विश्वास गर्न सक्नुहुन्छ, उसले पनि तपाईंलाई प्रेम र विश्वास गर्छ । हामी पानीलाई प्रेम गर्छौं, विश्वास गर्छौं । पानीले सबथोकलाई पवित्र पार्छ, मैला वस्तुलाई सफा गर्छ । अनि पानीले पनि हामीलाई प्रेम गर्छ, विश्वास गर्छ । त्यसैले जोसुकै पानीमा हिँड्न सक्छन् । तर त्यो सुन्दर प्रार्थना जुन जिसस क्राइस्टले आफ्ना शिष्यहरूलाई सिकाए, मलाई सिकाउनु हुन्न ?’

बिसपले स्वीकृतिमा शिर हल्लाए र नम्र स्वरमा यसरी सुस्तरी भने मानौँ उनी आफैँसँग बोलिरहेका होऊन्, ‘मलाई लाग्छ, जिसस क्राइस्टका विषयमा म तपाईंलाई अरू सिकाउन सक्दिनँ । तपाईंलाई पहिल्यै धेरैथोक थाहा छ । म यत्ति इच्छा गर्छु…’ यसभन्दा पर बिसपको आवाज निस्किएन ।

अनुवादः अच्युत कोइराला

प्रतिक्रिया
Loading...