नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सर्जन लेखकः अतुल गोवान्डे

अतुल गोवान्डे

अतुल गोवान्डे एउटा लेखक हुनुअघि सर्जन थिए । उनी अपरेसन थिएटरमा घण्टौँ क्लिष्ट रोग लागेको बिरामीको सर्जरी गरिरहेका हुन्थे । उपचारका क्रममा उनले जे कुराको अनुभूत गरे, त्यसमाथि एउटा आलेख लेखे- न्युयोर्क म्यागेजिनमा । त्यही म्यागेजिनका उनले गरेका विविध तर्कका कारण अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘ओबामा केयर’ नामक उपचार नीति पास गरे ।

फाइनान्सियल टाइम्सकी हान्ना कच्लरले ५४ वर्षे गोवान्डेसित बोस्टन राज्यस्थित उनी बसेकै ठाउँमा गएर एउटा लामो कुराकानी गरिन् ।

सन् २०१४ मा उनले लेखेको ‘बिइङ मोर्टल’ अस्पतालमा आउने बिरामी, तिनको प्रकार र तिनले पाउनुपर्ने सरल र सहज उपचारका उपायमाथि लेखिएको पुस्तक हो । न्युयोर्क म्यागेजिनमा लेखेकै कुरालाई उनले विस्तृति दिएका थिए । जस्तोसुकै असाध्य रोगमा बिरामीले बाँच्नका लागि गरेका अनेकन् राम्रा नराम्रा उपायलाई खोतलेका छन् । हामीले जिन्दगीमा बाँच्नु र स्वस्थ हुनुलाई जोड दिएका छौँ तर के वास्तवमा बाँच्नु र स्वस्थ हुनु मात्र सबै हो र ? त्योभन्दा माथि पनि केही छ कि ? उनको पुस्तकले नबाँच्ने बिरामीलाई अनेकका सुई घोचेर बचाउन खोज्नुभन्दा बरू अन्तिम दिनहरूलाई सहज मृत्यु वरण गराउनु उपयुक्त हुने तर्क गरेका थिए ।

सो पुस्तक बजारमा आउनुअघि नै पनि उनी एउटा राम्रा लेखकका रूपमा नगनिएका होइनन् । सन् २००२ मा कम्प्लिकेसन्सः अ सर्जन्स नोट्स अन एन इम्पर्फेक्ट साइन्स आएर नेसनल बुक अवार्डको अन्तिम सूचीमा पर्न सफल पनि भएको हो । त्यसपछि सन् २००७ को अप्रिलमा बेटरः अ सर्जन्स नोट्स अन पर्फमेन्स ल्याएका थिए । उनको तेस्रो पुस्तक द चेकलिस्ट मेनिफेस्टोः हाउ टु गेट थिङ्स् राइट निस्किएलगत्तै यो बेस्टसेलर गनिएको थियो ।

बिइङ मोर्टल भने पुस्तक निस्कनेबित्तिकै नं. एक बेस्टसेलर बन्न पुगेको थियो ।

केही महिनाअघिसम्म भने उनी हेभेन हेल्थकेयर नामक अस्पतालको प्रमुख कार्यकारी थिए । यो अस्पताल चानचुने भने होइन । यसमा बर्कसायर हाथवेका वारेन बफेट, अमेजनडटकमका जेफ बेजोस र जेपी मोर्गन चेज बैंकका प्रमुख कार्यकारी जेमी डिमोनको लगानी रहेको छ ।

उनी हेल्थकेयरमा अझै छन् तर दैनन्दिनीको कामबाट फुर्सदमा । उनको काम भनेको अझै मान्छेको बचाइभन्दा पनि पनि अर्थपूर्ण बचाइमाथि अनुसन्धान गरिरहेका छन् । र, यतिबेला भिआइपीहरूको कोभिड उपचारमा संलग्न छन् ।

कोभिड १९ रोगले अमेरिकामा ठूलो क्षति गर्यो । साढे दुई लाखभन्दा बढी मानिसको ज्यान गयो । जबकि यो यति खतरनाक साबित होला भन्ने कसैले पनि सोचेको थिएन । साह्रै गाह्रो पार्यो भने पनि यसले एक लाखको जान जाला भन्ने आँकलन अधिकांशको थियो । त्यो पनि खराबभन्दा खराब परिस्थितिमा मात्र यस्तो कल्पना गरिएको थियो तर अमेरिकाका कतिपय ठाउँमा कोभिडको दोस्रो चरणको महामारीसमेत फैलिन थालेपछि भने यसको गम्भीरता धेरैले आँकलन गरेका थिएनन् भन्ने स्पष्ट पारेको छ ।

पछिल्लो समय कोभिड १९ का कारण मर्नेको संख्या दैनिक १ हजार मात्र छ, जुन पहिलेको तुलनामा धेरै कम हो । तापनि अझै कोभिडका कारण बढी ज्यान जाने तेस्रो नम्बरमा यही छ । पहिलेको तुलनामा अस्पतालमा निकै सुधार आएको, स्वास्थ्य सचेतना बढेको जस्ता सकारात्मक परिवर्तन भने उनले देखेका छन् ।

स्वयं अतुलले पहिले यस रोगले कहर नै ल्याउला भन्ने कल्पना गरेका थिएनन् । कोभिड १९ का कारण सर्वसाधारणको थाप्लामा कम्तीमा १५ देखि २० हजार डलरको व्ययभार थोपरेर गरिबीमा धकेलेको उनको अनुमान छ । तर सँगैमा यो रोगको उपचार संसारभरि नै सरकारले बेहोर्ने सहमति जुन भएको छ, त्यसलाई उनले सकारात्मक रूपमा मानेका छन् । यो कोभिडमा मात्र नभएर अन्य रोगमा पनि क्रमशः विस्तार हुनुपर्ने र यसो हुन सके सर्वसाधारणको थाप्लोबाट ठूलो बोझ उत्रने धारणा राख्छन् ।

एउटा संवेदनशील सरकारले यसलाई कार्बाही गर्ने, ढिला गर्ने सरकारले पनि पछि अन्ततः यो मोडल अपनाउने उनको विश्वास छ । ट्रम्पका कडा आलोचकमध्येका एक उनी भन्छन्, ट्रम्पलाई ह्वाइट हाउसबाट निकालेर कुनै गम्भीर नेतालाई त्यहाँ नराखी स्वास्थ्यमाथिको खेलाँची यस्तै रहन्छ ।

के उसो भए उनले अर्को पुस्तक स्वास्थ्य खेलाँची र कोभिड १९ माथि लेख्दैछन् ? उनी मुस्कुराए मात्र, केही खुलाउन चाहेनन् । पछि इमेल गरेर एउटा लेखको लिङ्क पठाए, जसमा कोभिड १९ पछिको स्वास्थ्यस्थिति र स्वास्थ्यनीतिमाथि उनले केही गम्भीर टिप्पणीहरू गरेका थिए ।

प्रतिक्रिया
Loading...