नेपाली साहित्यको सम्पूर्ण पत्रिका

भारतीय स्टेसनमा नेपाली अनाउन्समेन्ट

बर्मादेखि नेपालसम्म— ६

‘नेपालको बोर्डर आएको हो ।’, मैले भीमजीलाई रेलबाट नेपाली भाषामा बोलेको सुनेपछि सोधेँ । खासमा मलाई त्यो भाषा नेपालको प्रभाव हो कि भन्ने लाग्यो )
(नेपाली मूलकी बर्मेली लेखिका रिता लामाकार्कीकाे नियात्रा, धारवाहिकरूपमा)
यसअघिका नियात्रा याे लेखसँगै पाउनुहुनेछ ।

होटलभित्र मध्यरातसम्म हामी सुतेनौँ । २ बजेको रेल समात्नु छ । अघिल्लो दिन छुटेको रेल आज छुटाउनु हुन्न, यो मनमा गढेको छ ।

बर्माबाट मिठाईका केही पोकाहरू बोकेका थियौं । यो आफ्नै खालको बर्मेली मिठाई हो । त्यसलाई मिनलर घुट्क्याएर निल्ने प्रयास गरिरह्यौं । दिउँसोदेखि नै यो उपक्रम चलेको हो । दिनभरि हौरीको महोत्सवमा धर्म सेवक र सेविका संघ म्यान्माद्वारा आयोजन गरिने शिविर प्रशिक्षणमा मिलेका छोटा मीठा अनुभवहरू सीमा र मधूबाट आश्चर्यपूर्वक सुनिरह्यौँ । स्रोता थियौँ, म र सरगम । हरक साल दिइने यस किसिमको प्रशिक्षमा हामी सहभागी हुन नसकेकोमा चुकचुक गरिरह्यौँ ।

‘मलाई धर्म सेविका हुने अवसर कहिल्यै मिल्दैन, छक्क पर्छु ।’ सरगम भन्दैथिइन्, ‘मधु धेरै भाग्यमानी, त्यस्तो राम्रो काममा सरिक हुन पाइन् ।’ बीच बीचमा म पनि होमा हो मिलाउँदै सीमा र मधु दिदीहरूका कुरा दिनभरि सुनिरह्यौँ ।

हामी युवतीहरू होटलबाहिर नगए पनि बस्नेतजी, पान्डेजी र ढकालजीहरू रेलको टिकट लिएर आए । त्यसपछि सुरु भयो आन्तरिक साहित्यिक कार्यक्रम । सबैले आ–आफ्ना लेखहरूको वाचन र साहित्यको चर्चा गर्यौं । खासमा साहित्य कार्यक्रम गर्ने आइडियाचाहिँ भागवत् सरको थियो । हिजो आधारातदेखि मन र पेटमा ठाउँ ओगटेर बसेको पीर पन्छ्याउने माध्यम पनि भयो साहित्यिक कार्यक्रम ।

साझँ परिसकेको भोकले गाल्दै लग्यो । अघिल्लो दिन दिउँसो बर्मा–भारत सीमाको मन्दिरमा खाएको खानाले धेरैअघि ठाउँ छाडिसकेको थियो । बेला बेलामा मिठाइ र मिनरल वाटर हाम्रो पेटको साथी भइरहेको थियो ।

‘केही त खानु पर्छ, भोलि पनि खान सुविधा हुने हो कि हैन ?’, बल्ल मधूदीले खाने कुराको चासो राख्नुभयो ।

‘मैले बुझिसकेको छु ।’ पाण्डेजीले भन्नु भयो, ‘यही होटलमा आफ्नो रुचिको खाना पकाउन लगाए हुन्छ रे नि, कसो गर्ने ?’

हामीले हुन्छ भन्दा नभन्दै भीमजी खाना अर्डर गर्न तल झर्नुभयो । त्यसको एक घन्टापछि हामीले जसरी खाना खायौँ, त्यसको स्वाद अहिले पनि सम्झन्छु । भोक मीठो कि भोजन भनेर त्यसै भनिएको होइन रहेछ । खासमा त्यो खानासँगै भागवत् सरको घरबाट प्रेमले सबैका लागि पठाइदिनु भएको पिरो नहालेको अचारले खानाको परिमाण र स्वाद दुबै थपेको थियो ।

थपीथपी खानुको कारण भगवात् सरको जोकले पनि काम गरेको थियो । “यो कराई त लैजान पर्छ होला, मेरो छोरोलाई लिटो पकाउने मिल्ने रै’छ ।’, भर्खरै पिताजी हुनु भएका भागवत् सरले कराईको बाहानामा घर सम्झनुभयो । तर उहाँको भन्ने शैली साँच्चै नै अनौठो हुने गर्छ । यही कारण हामी मज्जाले हाँस्यौँ ।

खाना खाने टेबलमै हाम्रो लामो समय बित्यो । खासमा यो मध्यरातसम्ममा आफूलाई जगाउने बहाना थियो ।

भीमजीको योजनाबमोजिम रातको १२ तिर रेल्वे स्टेसन जान होटलबाट बाहिर निस्कियौँ । लामो यात्रामा निस्किएका हामी, त्यसमाथि युवतीहरूसहितको झुण्ड, लगेजहरू प्रसस्त थिए । यो मध्यरातमा कुल्ली पाउन गाह«ो थियो । यो कुरा भीमजीले बिहानै विचार गरेर स्टेसननजिकै होटल बुक गर्नुभएको रहेछ । बडो गाह«ो भए पनि हामी जसोतसो स्टेसन पुग्यौँ ।

करिब १ घण्टको पर्खाइपछि रेल भरिन थाल्यो । हामीलाई लागेको थियो, रेल ढिला पनि हुनसक्छ । भारतको रेल समयमा हिँड्दैन भन्ने सुनेकाले पनि त्यस्तो लागेको हुनसक्छ । तर ठिक दुई बजे हामीलाई बोकेर रेल हिँड्यो ।

रेल हिँड्न थाल्दा हामी मस्त निदाएछौँ । आँखा उघार्दा रेल आसामको कुनै जग्गामा हिँड्दै थियो । केही घन्टामै हामीले भारतको नागाल्याण्डलाई पिछे छाडिसके छौँ । आँखा मिच्दै गर्दा दायाँ–बायाँ हरिया खेत मैदान, नदी, गाईका गोठ, मन्दिर र बर्माको आफ्नै गाउँ सम्झना गराउने घरहरूले यात्रालाई आकर्षित गर्दै लग्यो ।

सिम नभएपछि कुराकानी बन्द थियो । पूर्णरुपमा हामी आफैँमा हराएका थियौँ । भीमजीसँग सीमकार्ड भएकाले उहाँ थोरै थोरै फारो गरेर नेपाल र म्यान्माको खबर पाइरहेका थियौँ ।

‘यो वर्ष शंखाईमा मेला लागेन छ । कोरोनाले गर्दा कडाइ भयो रे ।’, निकैबेर मोबाइल चलाएपछि पाण्डेजीले भन्नुभयो, ‘अचम्म भयो ।’

यो हाम्रा लागि यो साच्चै नै अनौठो खबर थियो । कोरोना के हो भन्ने बारे खासै हामी जानकार थिएनौँ । रेलको भीडमा यात्रा गर्दैथियौँ । उता आफ्नो देशको सरकारले कोरोनाविरूद्ध विभिन्न काम गरिरहेको थियो । उसो त हामी आउँदा नै इमिग्रेसनमा तापक्रमको चेकअप र माक्स लाउने आदेश आइसकेको थियो । यसबाट हामीलाई कोरोनाको गम्भीरता केही महसुस नभएको होइन । फेरि शंखाईमा लाग्ने मेला रोकिने कुराले यसको थप गम्भीरता महसुस भयो ।

बर्मामा ब्रिटिस् राज चलेकै समयबाट स्थापना गरिएको सानो मन्दिर अहिले शिवधाम बनेको छ । यो नेपाली मात्रको नभएर बर्मेली र भायतीयहरूको पनि आस्थाको पुञ्जको हो । मान्डलेबाट लाश्यो आउजाउ गर्ने रेलले यस धाम नजिकै पुगेर हर्न नबजाए रेल आफैँ रोकिन्छ भन्ने विश्वास छ । यसलाई अन्धविश्वास नै भनिए पनि हेरक रेलले यो मन्दिर पुग्नुअघि चर्को हर्न बजाएर शिवजीलाई नमस्कार गर्छ । हिन्दु यात्रुहरू पनि नमस्कार गर्छन् । यही रेलको बाटो बनाउने क्रममा शिवजी प्रकट भएका हुनाले बर्मेलीहरूले पनि आस्था राख्छन् । हरेक साल बर्माका पदाधिकारी, कलाकारहरू निम्त्याएर उद्घाटन गरिने यस भव्य मेलामा केही वर्ष यता नेपालबाट पनि कलाकारहरूको स्वागतले मेला अझै भव्यता बढेको थियो । यसपाली भने कुनै पनि तामझाम भएन छ ।

मैले सानैदेखि चिनियाँहरूको बारेमा सुनेको छु । अलि ठूलो भएपछि पत्थर बेच्न म चीनको सीमाभन्दा ५० किलोमिटरभित्र पुगेको छु । चाइनिजहरूले हामीले कहिले नदेखेका किरा कांचै चपाउंछन् । यही कारणले कोरोना फैलिएको विश्वास हामीलाई थियो । तर यो सामान्य फ्लु चाँडै निको होला भन्ने लागेको थियो । तर सरकार किन डरायो भन्ने पनि लाग्यो ।

एकैछिनमा हामीले कोरोनाको कुरा बिर्सियौँ । किनभने रेलमा हाम्रो छेउको डिब्बाका भारतीयहरू हाम्रा साथी बनिसकेका थिए । खासमा बेला बेलामा हामी बर्मेली, हिन्दी र नेपाली गीत गाउँथ्यौ । अरु गीत नबुझे पनि हामीले गाएको हिन्दी गीतले भने उनहिरूलाई आकर्षित गरेको रहेछ । कुरै कुरामा हाम्रो टिम बन्यो र सुरु भयो अन्ताक्षरी खेल ।

अन्ताक्षरीपछि कथावाचन र कविता वाचन । फेरि हँस्यौली–ठठ्यौली । अन्त्यमा थाकेपछि पुनः रेलबाहिरको दृश्य । यसरी घन्टौँ घन्टा हामी यात्रा गरिरह्यौ ।

हाम्रो यात्रामा सबैभन्दा चुप कोही बस्न सक्छ भने ती राज ढकाल हुन् । यति लामो यात्रामा कहिलेकाहीँ उनी पनि सहयात्री छन् भन्ने कुरा थाहा नहुने । अहिलेसम्म चुपचाप बसेका राजनले अचानक भने, ‘मेरा बुवाआमाले म नेपाल जान्छु भन्दा पत्याउनु नै भएन ।’, सबै चुपचाप भएको कुरा सुनेर उनले भने, ‘पछि त टीका लगाएर आर्शिवाद दिएर पठाउनु भयो ।’

राजनजीको यो कुरा हाम्रो जस्तै थियो । हामीले कयौँपटक यो भनिसकेका थियौँ । तर यही कुरा भन्न उनलाई पूरापूर दुई दिन लागेको थियो । हामीले उनको अल्पभाषी शैली र नेपालप्रतिको भावनालाई सम्मान ग¥यौँ । किनभने यति दिनपछि उनले आफ्नो व्यक्तिगत कुरा गरेको यो पहिलो थियो । सायद हामी कुनबेला चुप लाग्छौँ र बोल्छु भनेर उनी दुई दिनदेखि पर्खेर बसेका थिए ।

रेल हिँडेको १२ घन्टापछि हामी सिलिगुरी रेल स्टेसनमा पुर्यायो । राजधानी एस्प्रेस भारतको राम्रो रेलमध्ये पर्छ भन्थे, हो रहेछ । भनेको समयमैँ त्यसले हामीलाई जलपाइगुडी भनिने रेल स्टेसनमा ल्यायो । बाहिर निस्कनेबित्तिकै रेलको माइकबाट नेपाली बोलेको सुनेँ । रेलसम्बन्धी सम्पूर्ण सूचना यहाँ अन्य भाषाका अतिरिक्त नेपालीमा पनि दिइने रहेछ । मलाई अचम्म लाग्यो, किनभने भारतमा सार्वजनिक ठाउँबाट यसरी नेपालीमा अनाउन्स गर्छ भन्ने थाहा थिएन । नेपाली भाषी भएको नाताले यसले मलाई खुसी दियो । बर्मामा यसरी सार्वजनिक ठाउँमा नेपालीमा अनाउन्समेन्ट कल्पना मात्र हो ।

‘नेपालको बोर्डर आएको हो ।’, मैले भीमजीलाई रेलबाट नेपाली भाषामा बोलेको सुनेपछि सोधेँ । खासमा मलाई त्यो भाषा नेपालको प्रभाव हो कि भन्ने लाग्यो ।

‘होइन, गाडीमा झण्डै एक घन्टाजति लाग्छ ।’ भीमजीले भन्नुभयो, ‘भारत भए पनि यहाँ नेपालीहरूको राज छ, भारतीय नेपालीहरूको । त्यही भएर ।’

हामी ट्याक्सी चढ्यौँ । भीडभाड, गाडीको बाक्लो आवतजावतका बीचमा कतै पनि नेपाली टोपी लगाएको मान्छे देखिनँ । नेपालीको राज किन भनेको होला ? मनमा कुरा खेलिरह्यो । पछि बुझेँ, हामी वेस्ट बंगालको दक्षिणी क्षेत्र हुँदै नेपाल प्रवेश गर्दै रहेछौँ । जहाँ बंगालीहरूको बसोबास रहेछ । नेपाली बस्ती सिलुगुडी र त्यसमाथिको पहाडमा रहेछ ।

गाडीले पानीटंकी भन्ने ठाउँमा पु¥यायो । जहाँबाट नेपाल प्रवेश गर्ने मेची पुल रहेछ । भारततिर मेची पुलेको छेऊमा इमिग्रेसन अफिसमा हामीले आफ्नो पासपोर्ट र भिसा देखाएर कागजी प्रक्रिया पूरा ग¥यौँ ।

‘उ त्यो हो नेपाल ।’, भीमजीले मेचीपारि देखिएको बाक्लो बस्तीतिर देखाउँदै भन्नुभयो ।

हामीले लामो श्वास तानेर काँकडभिट्टातिर हे¥यौँ ।

Loading...