नेपाली साहित्यको सम्पूर्ण पत्रिका

रोल्पा सुइनाः रोल्पालीका सपनाहरूको संग्रह

रमण पनेरु

रोल्पा भन्नेबित्तिकै माओवादीको जन्म थलो भन्ने एक किसिमको छवि जनयुद्धमा हुर्केका र त्यो भोगेकाका मनमा आउँछ । त्यही ठाउँका सुइना (सपना) यो कथासंग्रहमा संग्रहित छन् । सुइना तुहिँदाका गुनासा संग्रहमा संग्रहित छन् । सुइना व्यापारीहरूमाथिको प्रहार संग्रहमा संग्रहित छ । यस्तै प्रशस्त कुराहरू यो कथा संग्रहमा पढ्न सकिन्छ । कथा मात्रै सायद नभेटिएला ।

 

खरो आलोचनाका कारण चिनिने सरोनरले पल्पसा क्याफेदेखि सगरमाथाको गहिराईसम्म कतै पनि साहित्यको स्तर नभेटर लिएको नाम हो, ‘रोल्पा सुइना’ । उनले नाम नलिएको भए सायद पढ्ने हुटहुटी बढ्ने थिएन होला । पल्पसा क्याफे र सगरमाथाको गहिराई दुबै मन परेका कृति थिए । ती कृतिहरूभन्दा राम्रो भनेपछि त नपढी धरै पाएन ।

रमण पनेरु

कति कृति राम्रा हुन्छन् । कृति लेख्ने उति मन खाँदैनन् । केही कृतिभन्दा लेख्ने बढी मन पर्छन् । नवीन विभाषको बुकाहोलिक्समा श्रष्टासँग साक्षात्कार अन्तर्गतको कार्यक्रम हेर्ने मौका पनि पाइयो । ट्वीटरमा उनका भिडियोहरू त हेरिरहेकै हो । कहिले स्थानीय बाजा त कहिले स्थानीयका दुःखहरू युट्युबमा निरन्तर हालिरहन्छन् । जनयुद्धताकाका सांस्कृतिक कार्यक्रमको भिडियोहरू पनि हाली नै रहन्छन् । त्यसैले कृति पढ्दा ती मनुवाको झल्को पनि बारम्बार आइरहेको थियो । सजिलोगरि भन्दा यी मान्छे मन परे । यिनका प्रयास पनि मन परे ।

सान्दर्भिक पोस्ट

किताबदेखि किताबसम्म

लाटो पहाड पढ्ने क्रममा कथा खोज्दै गर्दा बसन्त बस्नेतको लाटो पहाडमाथिको मन्तव्यसम्म पुगेको थिएँ (यदि लाटो पहाड पढ्नुभएको छैन भने त्यो भिडियो हेरेर पढ्नुस्, गज्जब हुनेछ । पढिसकेको भए पनि फेरि भिडियो हेर्नुस्, तपाईंले के पढ्नु भयो र के भएन त्यहाँबाट जान्नु हुनेछ । त्यसैले रोल्पा सुइनाको मापनका आधार पनि गुरुप्रसाद मैनालीका कथा मापनको आधार जस्तै समान हुन सक्दैन । सायद बसन्त बस्नेतको त्यो भिडियोले त्रिशुलीवारिको ‘रोल्पा सुइनामा’ भएको उस्तै अर्को ‘लाटो पहाडको’ कथा बुझ्न पनि मद्दत गर्नेछ ।)

मलाई लाग्छ, ‘रोल्पा सुइना’ भूगोल चिनाउन लेखिएको ग्रन्थ हो । ‘रोल्पा सुइना’ एउटा ओझेलमा परेको मानव समाज चिनाउन लेखिएको कथासंग्रह हो । कथासंग्रह पनि के भनौँ, यो एउटा व्यथासंग्रह हो । हामीले नदेखेका दुःख यसमा पढ्न पाइन्छ । मलाई मात्र हो या अरुलाई पनि हो, यो पढिरहँदा परिवेश मनमा रहन्छ दुःख सम्झनामा रहन्छ तर पात्रका नामहरू खासै सम्झनामा रहँदैनन् । पात्र निर्माणमा खासै बल गरेको देखिँदैन । परिवेश नै नायक छ । परिवेश नै खलनायक छ ।

रोल्पा भन्नेबित्तिकै माओवादीको जन्म थलो भन्ने एक किसिमको छवि जनयुद्धमा हुर्केका र त्यो भोगेकाका मनमा आउँछ । त्यही ठाउँका सुइना (सपना) यो कथासंग्रहमा संग्रहित छन् । सुइना तुहिँदाका गुनासा संग्रहमा संग्रहित छन् । सुइना व्यापारीहरूमाथिको प्रहार संग्रहमा संग्रहित छ । यस्तै प्रशस्त कुराहरू यो कथा संग्रहमा पढ्न सकिन्छ । कथा मात्रै सायद नभेटिएला ।

इमान्दार भएर भन्नु पर्दा यो पठन त्यति सहज थिएन । यो पढ्दै गर्दा अन्य पुस्तक पनि पढिभ्याएँ । यसका लागि अलि बढी समय लाग्यो । यो परिचित समाजको कथा नभएर होला । यसको भाषा परिचित भाषा नभएर होला । यसका पात्रहरू कोही न कोही जस्ता लागेर होला । खै किन हो यो पठन त्यति सहज भएन ।

सामान्यतया औषधीका क्याप्सुलहरू तीता हुन्छन् । तर ती क्याप्सुललाई गुलियो पत्रले बेरिएको हुन्छ । मुखमा हाल्न सजिलो होस् र पेटमा जाँदा पत्र गलेर औषधीले काम गरोस् भन्ने धेय हो सायद । ‘रोल्पा सुइना’मा त्यो पत्रको अभाव भने खड्की रह्यो । पात्र निर्माण या कथा भने जस्तो गरेर व्यथा भनेको भए गज्जब हुन्थ्यो । दिपक रौनियारको ‘सेतो सूर्य’ले जस्तो सामान्य घटनालाई अघि सारेर रोल्पा लेखेको भए हुन्थ्या भन्ने लागिरह्यो । फेरि बसन्त बस्नेतको लाटो पहाडमाथिको मन्तव्य याद आयो । यो हाम्रा मानकमा अटाउन पर्ने कथा होइन कि लाग्यो । अनि गुनासो छोडेँ ।

मलाई यो पुस्तकको बारेमा प्रतिकृया लेखौँ कि नलेखौँ भएको थियो । नलेखौँ लेखकलाई बाचा जस्तै गरेको थिएँ । लेखौँ भने पुस्तकसँग असहमतीहरू पनि थिए । मलाई यो पुस्तकको तुलना पल्पसा क्याफे र सगरमाथाको गहिराइसँग गर्न मन लागेन । यो फरक हो । यो बरु लाटो पहाड र दमिनी भिरसँग तुलना गर्न मिल्ने पुस्तक हो । बरु यसको तुलना ऐनासँग गर्न सकिन्छ । बरु यसलाई ऐलानीसँग दाँजेर हेर्न सकिन्छ । तर यो ती सबै भन्दा फरक पनि छ ।

पढ्दापढ्दै रुकुम घटना भयो । त्यसपछि समाज बाँडियो । कसैले किशोरीको उमेर अघि तेस्र्याए । कसैले किशोरीले अनिक्षा गर्दागर्दै बलजफ्ती गर्न जाँदा भएको दुर्घटना भने । यस्तै किसिमको पूर्वाग्रही कुराहरू यत्रतत्र सर्वत्र बाँडियो । यस्तो भनियो कि नेपालमा छुवाछुत नै छैन । अनि याद आए

रोल्पा सुइनाका यी पंक्तिहरूः
‘स्हप्पै पइल्या कुरा हुन थालिगो । माउभादी युद्धकालमा माउभादी डरले हो कि करले, याँका बाउन, बाउसाप र हुन्याखान्याले हाम्लाई हेप्न कम भया छियो । अहिले त फेरि हेप्न थाल्या छन्, हामी दलितलाई । हामी दुःखी दाल्द कन हुने केई नाइ । माउभादी फरक हुन्छ भन्या सोच्याका छियौँ । तर, यो पनि याँका बाउसाप, बाहुन, हुन्याखान्या र औल्यालकै भयो’

हो यिनै कुराले मलाई लाग्यो ‘रोल्प सुइना’ पढेर पनि यसका बारेमा लेखिएन भने गलत हुन्छ । यी पंक्तिहरू रुकुम घटनाका हकमा भविष्यवाणी सावित भयो । ‘माउभादी’ पनि ‘बाउसाप, बाहुन, हुन्याखान्या र औल्यालकै’ भए ।

यसम थप केही लेख्न मन लाग्यो । किताबमा प्रयोग गरिएको खस भाषाले पठन बेलाबेला अप्ठेरो बनाउँछ । हुन त प्रायः ठाउँमा तिनको अर्थ पनि लेखिएको छ । र पनि अर्थ पढ्दै किताब पढ्न अलि लय टुट्छ । यो अरुलाई पनि लाग्न सक्छ । तर सम्झनुपर्ने के हो भने यी रोल्पालीको पनि ‘नेपाली भाषा’ पढ्दा तपाईंलाई उनीहरूको भाषा पढ्दाकै सकस हुन्छ होला ! पठन पाठनदेखि सरकारी कामकाज सबै हुने त नेपालीमै हो । मुलधारमा आइने नै नेपाली भाषाले नै हो । पुस्तक पूरै खस भाषामै भएको भए के म पढ्न आँट्दो हुँ । तर रोल्पालीले औल्यालकै भाषामा भए पनि आफ्ना सपना पछ्याउन छोडेका छैनन् । त्यसैले उनीहरूको नेपाली भाषासँगको संघर्षको सम्मानका खाँतिर पनि यो पठ्दा अप्ठेरो नमान्नूस् । बरु सोच्नूस् उनीहरूलाई नेपाली भाषा कति कठिन हुन्छ होला ? अनि सोच्नूस् उनीहरूको खस भाषा नै नेपालको राष्ट्रिय भाषा भनीभन्दा कति अमिल्दो महसुस हुन्छ होला ।

नेपाली भाषामा खसको प्रभाव छ । तर त्योभन्दा बढी संकृतको प्रभाव छ । त्योभन्दा बढी हिन्दीका शब्द त्यसमा प्रयोग हुन्छन् । त्यसैले यो पढ्दाको भाषाको कठिनाइलाई पनि काव्यिक न्याय सम्झेर पढिदिनुहोला ।

यो पढेसँगै लेखकका कवितामा बढी रुचि लागेको छ । उनको निबन्धहरू बरु बढी पढ्ने मन लागेको छ । गैरआख्यानमा बरु रोल्पाका सुइना बढी सुन्दरसँग बुझिन्थे कि भन्ने लागेको छ । मान्ठा डराएको जुग पनि त गैरआख्यान थियो । त्यसले पनि कतिधेरै ‘कथाहरू’ भनेको थियो । त्यसैले कथा निर्माणको सकस लेखकलाई नपरोस्, बरु रोल्पा देखियोस् भन्ने अभिलाष पनि मनमा छ । आशा छ, ती कुराहरू पनि पूरा होलान् । अहिलेलाई पठन सुखद रहोस् भनियो ! जमाक !

Loading...