नेपाली साहित्यको सम्पूर्ण पत्रिका

शिव अधिकारी बिनाको सुनसान सुरुची टोल

गोविन्द गिरी प्रेरणा

पछिल्लो समयमा शिव अधिकारीले नेपालका खान्दानी राणाहरूको परिवारका कथाहरू आफ्नो कोलममा पस्किन थालेका थिए । उनले त्यस स्तम्भ मार्फत राणाहरूको रोचक जीवन कथा र नयाँ तथ्यहरू पस्कँदै आएका थिए र एकपल्ट उनले मसँग भनेका थिए, “शुरुमा रुट पहिल्याउन गाह्रो भो, अब त झन्झन् रोचक कुराहरू र नयाँ नयाँ पात्रहरू लाइनमा छन् । पछि यसलाई पुस्तकको रूपमा निकाल्नु पर्छ ।”

गोबिन्द-गिरीको-साहित्य-निर्माता
गोबिन्द गिरीको साहित्य निर्माता

नेपाली साहित्यको इतिहासमा २०३९ सालमा घटित २ वटा विशेष घटना मेरा लागि विशेष स्मरणीय छन् । यौटा घटना हो, नेपाली यौन मनोविज्ञान साहित्यका प्रवर्तक साहित्यकार विश्वेशवर कोइरालाको निधन । अर्को हो, नेपाली साहित्य जगतमा कोसेढुङ्गा स्थापना गर्न समर्थ साहित्यिक पत्रिका साझा प्रकाशनबाट प्रकाशनको आरम्भ ।

गरिमा पत्रिकाका परिकल्पनाकार तत्कालीन साझा प्रकाशनका अध्यक्ष कवि क्षेत्रप्रताप अधिकारी थिए । गरिमा नामाकरण उनैको प्रस्तावलाई कार्यान्वयन गर्दै भएको थियो ।

गोविन्द गिरी प्रेरणा

गरिमा पत्रिका प्रकाशनको निर्णय भएपछि यसका लागि सम्पादक नियुक्त हेतु खुल्ला विज्ञापन गरियो । साझा प्रकाशनमा कार्यरत कर्मचारी र बाहिरका सबैले प्रतिष्पर्धा गर्न मिल्ने थियो । साझा प्रकाशनमा कार्यरत कवि शिव अधिकारी त्यो पदका लागि दावेदार भए र आवेदन गरे । वासु रिमाल यात्रीको साहित्यिक पत्रिका विदेहका सम्पादकको रूपमा काम गरिरहेका हुनाले साहित्यिक पत्रिका सम्पादनको अनुभव भएकाले उनी दह्रो उम्मेदवार थिए । उनी गरिमाको सम्पादक हुनेमा ढुक्कै थिए । तर क्षेत्रप्रताप अधिकारीको रोजाइमा उनी पर्न सकेनन् । सम्भवत उनको कार्यशैली र कर्मचारीगत कतिपय कुरा उनलाई मन नपरेको हुँदो हो वा अरू कसैप्रति बढी रोजाइको झुकाव हुँदो हो । त्यो अरू कोही थिए, पाटन क्याम्पसमा अध्यापन गर्ने, सडक कविता क्रान्तिका एक सहभागी कवि विष्णुविभू घिमिरे ।

यो नियुक्ति प्रकरणले शिव अधिकारीले आफ्नो स्वाभिमानमा धक्का पुगेको अनुभव गरे र उनले साझा प्रकाशनको साविकको पदबाट राजीनामा गरे । कुरा त्यतिमा रोकिएन । शिव अधिकारीले यो प्रकरणको विरोधमा पर्चा छापेर नयाँ सडक पीपलबोटमा वितरणसमेत गरे । यो उनको जीवनको टर्निङ पोइण्ट अर्थात् महत्वपूर्ण मोड सावित भयो । त्यो थियो उनको जागिरे जीवनको समाप्ति तथा स्वतन्त्र व्यावसायिक उद्यमि जीवनको आरम्भ ।

उनकी श्रीमती कवयित्री सरला विष्टका नाममा प्रकाशित लेखिका थिइन् । उनी राष्ट्रिय बाणिज्य बैङ्कमा काम गर्थिन् र त्यहीं कार्यरत कथाकार तथा दीपिका साहित्यिक मासिकका सम्पादक हरिशङ्कर अमात्यले प्रकाशित गरिदिएका थिए उनको कविता सङ्ग्रह “आकास बेली”, तर शिव अधिकारीको भने त्यतिबेलासम्म कुनै पुस्तक प्रकाशित भएको थिएन । झन् भएको जागिर छाडेपछि उनको आर्थिक अवस्था राम्रो थिएन । तर जागिर छोडेको केही समयपछि उनले आफैंले पहिलो कविता सङ्ग्रह प्रकाशित गरेका थिए “दिगन्त सारथी”,  र आफैंले झोलामा राखेर साथी भाइहरूलाई बेचेका थिए ।

उनले यसै बीच पत्रकारितामा हात हाले र त्यसैलाई अघि बढाए । नेपाली काङ्ग्रेस निकट उनले ‘प्रो काङ्ग्रेस’ पत्रकारिता गरे । उनले शुरुमा ‘सुरुचि’ नामक खबर पत्रिका प्रकाशन गरेका थिए, पाक्षिक रूपमा | जसलाई उनले पछि  दैनिक बनाए र अन्तमा साप्ताहिक बनाए | र सुरुचि नै शिव अधिकारीको पहिचान बन्यो, ब्राण्ड बन्यो ।

सुरुचि पाक्षिकका प्रकाशक स्वयम् थिए | सुरूचि दैनिकका प्रकाशक ‘सुरुचि प्रकाशन प्रालि’ थियो भने सुरुचि साप्ताहिकको प्रकाशक ‘सुरुचि प्रकाशन सहकारी संस्था लि.’ थियो । चालिसको दशकको साप्ताहिक पत्रपत्रिकाको रजगजको बेला सुरुचि थोरै सङ्ख्याका धेरै पढिने पत्रिकाको रूपमा प्रख्यात भयो ।

यस बीचमा उनको साहित्यिक लेखनले पनि गति लियो । उनी कवितामा मात्र सीमित भएनन् । उपन्यासहरू लेखे, पुँशचली, चेष्टा, आखेट । उनको “आखेट” उपन्यास निकै रुचाइएको थियो । उनले नाटक पनि लेखे । ईश्वर बरालको नेतृत्वको बेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले उनको नाटक मञ्चन गर्यो र पुस्तकसमेत प्रकाशित गर्यो । तासको जामा र अरू तीन नाटक, त्रासदी मुद्राहरू, सिंहासन उनका प्रकाशित नाट्य कृतिहरू हुन् ।

उनी काङ्ग्रेसको दुई खेमामध्ये एक खेमामा थिए । उनी कम्युनिष्टलाई त यसै उसै पनि कोर्रा हान्ने शैलीमा कटाक्ष गर्थे, काङ्ग्रसकै विपरित खेमालाई पनि दोहोलो काढ्ने गरी आक्रामक लेखहरू लेख्थे । आफ्नै पत्रिकामा उनले लेख्ने कोलम एकदमै मन पराउनेहरूको एक जमात थियो भने पटक्कै मन नपराउनेको जमात पनि थियो । मन पराउने मानिसहरूहरूले उनको गद्य शैली, शब्द प्रयोग र ठेटिलो प्रस्तुति स्वाद मानेर पढ्ने गर्थे । मन नपर्नेहरूले पूर्वाग्रही, एकपक्षिय भनेर नाक खुम्च्याउँथे ।

पान उनको अम्मल थियो र हिन्दीमा कुरा गर्नु उनको अर्को रमाइलो पक्ष थियो ।

शिव अधिकार

पछिल्लो समयमा शिव अधिकारीले नेपालका खान्दानी राणाहरूको परिवारका कथाहरू आफ्नो कोलममा पस्किन थालेका थिए । उनले त्यस स्तम्भ मार्फत राणाहरूको रोचक जीवन कथा र नयाँ तथ्यहरू पस्कँदै आएका थिए र एकपल्ट उनले मसँग भनेका थिए, “शुरुमा रुट पहिल्याउन गाह्रो भो, अब त झन्झन् रोचक कुराहरू र नयाँ नयाँ पात्रहरू लाइनमा छन् । पछि यसलाई पुस्तकको रूपमा निकाल्नु पर्छ ।”

उनले लेख्दै गए, तर त्यसको पुस्तक निकाल्ने कार्ययोजना सफल नहुँदै उनी बितेकाले त्यो उनको किताब निकाल्ने सपना अधूरो नै रह्यो । ती रचनाहरू अखबारका पानाहरूमा इतिहास बनेर रहे ।

कहिलेकाहीं उनको राजनीतिक आशक्तिले बढी मुण्टो उठाउँदा एकप्रकारको एकलकाटे कुरा लेखिदिन पनि नहिच्किचाउने स्वभाव उनको कमजोरी थियो । नेपाली पुस्तक प्रकाशनको इतिहासमै सबभन्दा बढी आलोचित र विवादास्पद पुस्तक “आजका नेपाली कविता” को चौतर्फी आलोचना भयो, जसलाई मोहन कोइरालाले सम्पादन गरेका थिए र निकै विवादपछि प्रज्ञाप्रतिष्ठानले प्रकाशित गरेको थियो, नकारात्मक प्रकाशकीयसहित  । कालिप्रसाद रिजाल जस्ता कवि र डा.केशव प्रसाद उपाध्याय जस्ता समालोचकले समेत आलोचना लेख छपाए । तर शिव अधिकारी एक्लैले मोहन कोइरालाको पक्षमा लेख्दा धेरैले त्यो लेखलाई रुचाएका थिएनन् ।

शिव अधिकारीले आफ्नो आस्थाको राजनीतिको नेताको हिसाबले विश्वेश्वर प्रसाद कोइरालाको जीवनीमूलक पुस्तक पनि लेखे र रत्न पुस्तक भण्डारबाट त्यो प्रकाशित भयो ।

यौटा लेखक कुन रचनाले कालान्तरसम्म चिनिन्छ, त्यो हम्मेसी अनुमान गर्न गाह्रो नै हुन्छ । एक सय एक महत्वपूर्ण, विद्वत्तापूर्ण रचना लेख्ने लेखक पनि अर्कै रचनाको ढाडमा टड्कारो बाँचिदिन्छन् । महाकवि देवकोटाले लेखेका सुलोचना, शाकुन्तल जस्ता महाकाव्य स्तरीयताको हिसाबले उच्च महत्वको छ, तर लोकप्रियतामा र जनप्रियतामा मुनामदनले सबैलाई उछिन्यो । महाकवि देवकोटा र मुनामदन पर्यायवाची बने । सुलोचना बनेन । शाकुन्तल बनेन ।

शिव अधिकारी कुन रचनाले चिनिएलान् ? कुन पुस्तकले उनको परिचय लामो समयसम्म बोक्ला ? त्यो भन्न मुस्किल छ ।

उनले गीति रचना एकदमै नगण्य गरेका छन् । उनलाई गीतकारको रूपमा चिनाउनु एकप्रकारको व्यङ्ग्य जस्तो पनि देखिएला । तर उनले लेखेको र योगेश बैद्यले गाएको एउटै गीत उनलाई कालान्तरसम्म चिनाउने रचना बन्ने हो कि भन्ने म अनुमान गर्दछु । उनको त्यो गीत कालजयी छ । कर्णप्रिय छ । त्यस गीतले बोकेको भाव सार्वकालीक छ । त्यो गीतका शब्दहरू यस प्रकार रहेका छन्:

सपना भुलाई सारा आँसु पिएर जाऊ

मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ

 

जनम जनम नफुल्ने आँखा दिएर जाऊ

एक सुर वाँसुरीको विन्ती सुनेर जाऊ

सपना भुलाई सारा आँसु पिएर जाऊ

मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ

 

छन् प्रेमका निशाना दिलमा मिटाइ जाऊ

एकलासको चितामा बत्ती निभाइ जाऊ

सपना भुलाई सारा आँसु पिएर जाऊ

मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ

 

नातिकाजीको संगीतमा योगेश वीद्यले गाएको यो गीत चीरकालसम्म बाँचिरहने विश्वास लिन सकिन्छ । उनले लेखेका र प्रकाशित पुस्तक एकाधबाहेक हजारप्रति छापिएका हुन्, ती पनि अझै कतिपय पुस्तक पसल वा उनको घरमा पनि भेटिएलान्। तर यो गीतले यी हरफहरू लेखिरहँदासम्म २ लाख ३२ हजार श्रोता पाइसकेको छ । अल्पायुमै यो धरती छाडेका शिवले अनन्त आकाशबाट ती २ लाख ३२ हजार श्रोताहरूलाई कृतज्ञता जाहेर गरिरहेका होलान् ।

बानेश्वरको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको सामुन्नेको काठमाडौं भक्तपुर राजमार्गको दक्षिणमा यौटा गल्ली छ, जसको नाम हो, सुरुचि मार्ग । यो मार्गको नामाकरण शिव अधिकारीकै पहलमा भएको थियो, जुन टोलमा उनको घर थियो । एकपल्ट नेपाल भरि नै सडकको नामाकरणको लहर चलेको थियो । कतिले आफ्नै नाउँमा सडकको नाम राख्ने पहल गरे, गराए । कतिले आफ्ना पिता माताको नाम उज्यालो बनाउन नामाकरण ग‍रे । शिव अधिकारीले भने आफ्नो “ब्रेन चाइल्ड” सुरुचि पत्रिकाको नामबाट त्यो टोलको नामका लागि पहल गरे । त्यो घरमा एक विहान शिव अधिकारीलाई भेटेको र सरला भाउजुको हातबाट अन्तिमपल्ट चिया पिएको मीठो सम्झना अझै ताजा छ, चिसो चिसो मौसमको बेला । त्यतिबेला अहिले जस्तो हुलहुाल थिएन त्यो टोलमा । घरहरू पनि जोडिइसकेका थिएनन् ।

तर अहिले त्यो घरमा शिव अधिकारी भेटिन्नन् । उनको देहान्त भएको लामो समय भइसकेको छ । शरला भाउजू पनि अध्यात्म मार्गमा लागेर भारतको दिल्लीमा बस्न थालेको लामै समय भइसकेको छ । छोरीहरूले पनि आमालाई साथ दिएका छन् । फगत् सुरुचि टोल सुनसान छ, रित्तो रित्तो छ, ‘सुरुचि टोल’ नामाकरण गर्ने शिव अधिकारीको अनुपस्थितिमा ।

२६ जून २०२०, बृन्दावन, भारत ।

Loading...