नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अनुवाद कथा पहिलो पटक नेपालीमाः संकटकाललाई कथारूपी हतौडी

शरद जोशी

भारतीय साहित्यकार शरद जोशी उनको लेखनीमा तीक्ष्ण व्यंग्यका लागि निकै चर्चित छन्। उनले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकालको घोषणाका बेला निकै तगडा लघुकथाहरू लेखेका थिए। तीमध्ये चुनिएका पाँच लघुकथा हामी यहाँ प्रस्तुत गर्दैछौँ। यी लघुकथाले उनको लेखनीको बेतोड प्रहार र स्वादलाई जनाउँछन्।

 

दौड

एउटा कछुवा थियो र अर्को चाहिँ खरायो थियो। कथा बुझिहाल्नुभयो। खरायोले कछुवालाई संसद्, राजनीतिक मञ्च र प्रेसका बयानहरुमा चुनौती दियो– अघि बढ्ने त्यति नै दम छ भने मभन्दा पहिला लक्ष्यसम्म पुगेर देखा।

सान्दर्भिक पोस्ट

उसको प्रेमी

तीन प्रश्न

यसपछि दौड शुरु भयो। खरायो दौडियो, कछुवा बिस्तारै हिँड्यो, जुन उसको चिरपरिचित चाल थियो।

त्यसपछि के भयो? सबैलाई थाहा भएकै कुरा हो। अलि अगाडि पुगेपछि एउटा वृक्ष मुन्तिर खरायो आराम गर्न थाल्यो।

उसले त्यो बेला आराम गर्दागर्दै पत्रकारहरुलाई देशको समस्याहरुमा गम्भीर किसिमको चिन्तन गरिरहेको बतायो। उसलाई चाँडै लक्ष्यमा पुग्नुपर्नेछ। यसपछि ऊ बोल्दाबेल्दै निदायो। कछुवा लक्ष्यतर्फ बिस्तारै हिँडेर पुग्नै लाग्यो।

जसै खरायोको निद्रा पुग्यो र आङ तान्दै लक्ष्यतर्फ हेर्‍यो, उसले के देख्यो भने कछुवा त अगाडि बढेर लक्ष्यसम्म पुग्नै लागेको रहेछ। उसलाई लाग्यो, ऊ लक्ष्यमा पुग्नु भनेको ठूलो बदनामी कमाउनु हो। यसपछि खरायोले तुरुन्त संकटकाल घोषित गरिदियो।

यसका लागि उसले बयानमा भन्यो, ‘प्रतिगामी, पछौटे र रुढिवादी शक्ति अघि बढिरहेको छ, तिनीहरुबाट यो देशलाई बचाउनु ज्यादै जरुरी छ।’
यसपछि लक्ष्य छुनु ठीकअघि कछुवालाई हिरासतमा लिइयो र जेल हालियो।

 

बाघको गुफामा न्याय

जंगलमा सिंहको उत्पात निकै बढेर गएको थियो। जीवन असुरक्षित थियो र बेहिसाब मृत्यु भइरहेको थियो। जंगलको राजा सिंहले जहाँसुकै, जहिलेसुकै जसमाथि पनि आक्रमण गथ्र्यो।

यसबाट चिन्तित भएका जंगलका सारा जनावरहरु एकै ठाउँमा भेला भएर जंगलको राजा सिंहकहाँ भेट्न भनी गए।

सिंह गुफाबाट बाहिर निस्कियो र सोध्यो, ‘भन्नुस्, के समस्या आइपर्‍यो ?’

जनावरहरुले आफ्नो समस्या सुनाए र सिंहको अत्याचारका विरुद्ध आवाज उठाए। सिंहले आफ्नो भाषणमा भन्यो–
‘प्रशासनलाई जे कुरा ठीक लाग्छ, उचित कदम उठाउन जरुरी ठान्छ, त्यो हामी गर्छौं। ममाथि जेजस्ता कुरा उठाइएको छ, त्यो कसैको बहकाउमा उठाइएको छ। यस्ता हल्लाबाट सावधान हुनुस् किनभने जंगलका पशुहरुको ममृत्युको सही तथ्याङ्क के हो भनेर जान्न चाहने हरकोहीले हेर्न सक्छ। त्यसमा पनि चित्त बुझेन भने अदालतमा मुद्दा हाल्न सक्नुहुन्छ।’

सारा पशुहरु सिंहका विरुद्ध थिए। वनको राजा सिंहले नै सारा उत्पात मच्चाइरहेको थियो। अब उसलाई उसैका कृत्यका बारेमा सम्झाएर हुँदैन भन्ने भएपछि मुद्दा हाल्नुको कुनै विकल्प थिएन।

अब मुद्दा हाल्ने नै भएपछि स्यालमार्फत सिंहलाई यो खबर पुर्‍याइयो। त्यो रात सिंहले अदालतलाई नै आफ्नो शिकार बनायो। न्यायको आसनलाई आफ्ना पञ्जाले घिसार्दै आफ्नो गुफाभित्र लग्यो।

यसपछि जंगलमा संकटकाल घोषित गरियो। सिंहले आफ्नो नयाँ घोषणाहरुमा भन्यो, ‘जंगलका पशुहरुको सुविधाका लागि स्याल मण्डलीको सुझावलाई ध्यानमा राख्दै हामीले अदालतको सचिवालयलाई हाम्रै दरबारमा ठाउँ दिएका छौँ ताकि न्यायको गति बढोस् र व्यर्थको ढिलाइ समाप्त होओस्। आजबाट सारा मुद्दा मामिलाको सुनुवाई र निर्णय हाम्रै गुफाबाट हुनेछ।

संकटकालका बेलामा जो पशु न्यायको खोजीमा सिंहको गुफामा छिर्‍यो, त्यसको अन्तिम फैसला कति शिघ्रताका साथ सम्पन्न भयो, यो त सबैलाई थाहा भएकै कुरा हो।

 

क्रमशः प्रगति

खरायोको एउटा जोडी थियो। तिनका पाँच सन्तान थिए।

एक दिन एउटा ब्वाँसो जिमा आयो र भन्यो, ‘ओई, असामाजिक तत्त्व हो, तिमीहरुलाई थाहा छैन, सरकारले जम्माजम्मी तीन सन्तान जन्माउनु भनेको थियो। किन पाँच जन्मायौ?’

त्यसपछि उसले खरायो दम्पतिका दुई सन्तान चपाएर हिँड्यो।

यस घटनाको केही दिनपछि त्यो ब्वाँसो पुनः आयो र भन्यो, ‘सरकारको निर्णय सुनाउन आएको हुँ। सरकारले जम्मा दुई मात्र सन्तान ईश्वरका बरदान भन्या छ।’

त्यसपछि एउटा सन्तान पनि उसले चप्कायो।

खरायोका जोडीले भने, ‘जे भयो भयो। अब त हामी कम्तीमा शान्तिपूर्वक बस्न सक्छौँ।’

तर त्यही बेला जङ्गलमा संकटकाल लागू भयो।

एक दिनपछि ब्वाँसोले खरायोका जोडीलाई पुलिस थानामा बोलायो र भन्यो, ‘सरकारी निर्णयहरुबाट असन्तुष्ट भएर तिमीहरु गोप्य रुपमा कुनै षडयन्त्र गरिरहेका छौ भन्ने सुन्दैछु। के षडयन्त्र गर्दैछौ भन।’

खरायोले ब्वाँसोको सो कुरामा असहमति जनाउँदै केही कुरा राख्न र सफाई दिन चाह्यो।

सफाई दिन चाहेकामा ब्वाँसो रिसायो र भन्यो, ‘संकटकालको नियमअनुसार कुनै पनि किसिमको सफाई सुनिने छैन।’

त्यो दिन पुलिस थानामा एउटा जोडा खरायो कम भए।

अब जम्माजम्मी दुई बच्चा मात्र बाँकी रहे। ती त झन् मुर्ख नै थिए। उनीहरु आफ्ना हराएका बाबुआमा खोज्दै त्यही प्रहरी थानामा पुगे। ब्वाँसो त त्यही कुराको प्रतीक्षामा थियो। उनीहरु पुलिस थाना नगएका हुन्थे भने संकटकालका बाबजुद पनि उनीहरु अझै केही दिन जीवित रहन सक्थे नि !

 

कला र प्रतिबद्धता

कोइलीको स्वर मीठो थियो, उसलाई स्वरको ज्ञान थियो र रागरागिनीहरुबारे थोरबहुत बुझ्थी ऊ। यति भएपछि उसलाई लाग्यो, म संगीतमा राम्रै करियर बनाउन सक्छु। यस्तो बेलामा सबैले सम्झने भनेको रेडियो नै हो, त्यहीँबाट उसले आफ्नो करियर थाल्ने योजना बनाई।

कोइलीले त्यहाँ जागिरका लागि आवेदन दिई। अर्को दिन उसलाई अडिसन (स्वर परीक्षा) दिन निम्तो आयो। त्यो बेला संकटकाल लागिरहेको थियो र सरकारी कामकाजको गति निकै तीव्र हुन थालेको थियो।

कोइली रेडियो स्टेसन पुगी। स्वर परीक्षा लिनका लागि त्यहाँ तीन गिद्ध बसिरहेका थिए।

‘के गाऊँ हजूर?’ कोइलीले सोधी।

गिद्द हाँस्यो र भन्यो, ‘यो पनि सोध्ने कुरा हो र? बीस सूत्रीय कार्यक्रममाथि एउटा लोकगीत सुनाऊ। हामीलाई यहाँ त त्यही एउटा कुरा सुन्ने–सुनाउने आदेश छ।’

‘बीस सूत्रीय कार्यक्रममा लोकगीत? त्यो त मलाई आउँदैन। बरु त्यसको साटो तपाईंले कुनै भजन वा गजल भन्नु भयो भने म गाउन सक्छु,’ कोइलीले भनी।

गिद्द फेरि हाँस्यो, ‘गजल या भजन? बीस सूत्रीय कार्यक्रममाथि त्यो लेखिएको छ भने अवश्य सुनाउनुस्।’

‘बीस सूत्रीय कार्यक्रममाथि त त्यस्ता गजल लेखिएको पाइन्न,’ कोइलीले भनी।

‘उसो भए मलाई क्षमा गर्नुहोला,’ गिद्दहरुले एकमुखले भने, ‘हाम्रालागि तपाईंलाई दिने कुनै जागिर छैन।’

कोइली फर्केर आई। आउँदा उसले देखी कि म्युजिक रुम (संगीत कक्ष)मा कागहरुको दलले बीस सूत्रीय कार्यक्रममा कोरस रेकर्ड गराइरहेका थिए।
यो देखेपछि कोइलीले संगीतमा आफ्नो करियर बनाउने सोच नै त्यागी र बिहे गरेर लोग्नेको सेवामा जीवन व्यतीत गर्न थाली।

 

बुद्धिजीवीहरुको दायित्व

स्याल एउटा रुखको फेदमा गई। उसले माथितिर हेरी। रुखको हाँगामा एउटा काग बसिरहेको थियो। कागले मुखमा रोटी च्यापेको थियो। स्यालले सोची, कसैगरी कागले मुख खोल्ला र गल्तीले रोटी झर्ला। तल झरेपछि म त्यो रोटी खानेछु।

स्यालले कागलाई भनी, ‘काग दाजै, तिमी त मुक्त प्राणी हौ, तिम्रो बुद्धि र वाणी अनि तर्कको शक्ति सबैले मान्ने गरेका छन्। माक्र्सवादमा तिम्रो पकड निकै गहिरो छ। वर्तमान परिस्थितिमा एउटा बुद्धिजीवीको दायित्व के हुनसक्छ, तपाईंले आफ्ना धारणा जान्न पाए मलाई बडो प्रशन्नता हुन्थ्यो। त्यसै पनि तिमी जुन उचाईमा छौ, त्यो उचाइबाट भाषण दिनु पनि शोभाप्रद नै हुन्छ। केही त बोल कौवा दाजै।’

देशमा संकटकाल लागेको थियो। यस्तो बेलामा बुद्धिजीवी कागहरु पनि निकै सचेत भइसकेका थिए। उसले चुच्चो मुखबाट रोटी निकालेर आफ्नो हातमा लियो र बिस्तारै भन्यो, ‘स्याल बहिनी, शासनले हामी बुद्धिजीवीहरुलाई यो रोटी यही शर्तमा दिएको छ कि यसलाई मुखमा राखेर हामीले आफ्नो मुख बन्द गरौँ। हिजोआज म यस कुरामा प्रतिबद्ध नै छु र मुख खोल्न सकिरहेको छैन। मलाई माफ गर्नुहोला। हुन त म स्वतन्त्र बुद्धिजीवी हुँ। विचारेर ल्याउँदा त्यसो गर्नु नै सही हुनेछ। यसमा कुनै आश्चर्य छैन। समय आएपछि त म बोल्ने कुरा बोलिहालूँला।’

Loading...