नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अक्षर क्रान्तिः आत्मलाप शब्दहरूको

डा. अम्बिका अर्याल

यो सबै दृष्टिभ्रम पनि हुन सक्छ । धन्यवाद, कम्तीमा मलाई तिमीमाथि विश्वास जित्ने अवसर दिलाइदियौ अर्थात् मलाई पत्याइदियौ र मनपरायौ । यो मेरो सौभाग्य । धेरैले ममाथि अन्याय गरे । कसैमाथि म भने भरोसा राख्नै सक्दिनँ ।

‘तिमी को हौ ?’

‘मलाई नै थाहा छैन ।’

‘आफ्नो बारेमा आफैँलाई थाहा हुन्न ? तिम्रो उत्तर मन परेन ।’

सान्दर्भिक पोस्ट

‘मन नपराउन पाइन्छ । उत्तर मात्र किन, मलाई समेत ।’

‘तिमी घमण्डी रहेछौ ।’

‘तिम्रो नजरको खेल हो ।’

‘म तिमीसँग नजिकिन चाहन्थेँ तर तिमी त टिमुर्किएको जवाफ दिन्छौ ।’

‘मलाई परिस्थितिले यस्तै बनायो क्यारे । तर म यस्तो बन्नै चाहन्नँ । पहिलोपटक आफूलाई कसैले यस्तो आरोप लगाएकोमा दुःखी छु ।’

अम्बिका अर्याल

‘मान्छे सबै प्रशंसाप्रेमी हुन्छन् भन्ने सुनेको थिएँ तर तिमी पनि ?’

‘ममा मान्छेकै अंश छ, किनकि म मान्छेकै सिर्जना हुँ ।’

‘सज्जन कि दुर्जन मान्छेको ?’

‘ऊ आफूलाई सँधै सज्जन मान्छ ।’

‘तिमी के मान्छौ ?’

‘त्यो जति फटाहा थियो नि, त्यसभन्दा लाखगुना बेइमान अरू पनि देखेपछि ठिकै भनेको रहेछ भन्ठान्छु ।’

‘त्यसो भए सापेक्षमै भर पर्ने रहेछ होइन त ? तिमीलाई घमण्डी देख्नु पनि अरूकै सापेक्षमा मेरो तुलना हुन पुगेछ क्यारे । सुरुमा जे लाग्छ त्यो क्षणिक भ्रम हुँदो रहेछ भन्ने तिमीले साबित गरिदियौ । तिम्रो स्वभाव अब मनपर्न थाल्यो । खुलेरै बोल्दा रहेछौ ।’

‘यो सबै दृष्टिभ्रम पनि हुन सक्छ । धन्यवाद, कम्तीमा मलाई तिमीमाथि विश्वास जित्ने अवसर दिलाइदियौ अर्थात् मलाई पत्याइदियौ र मनपरायौ । यो मेरो सौभाग्य । धेरैले ममाथि अन्याय गरे । कसैमाथि म भने भरोसा राख्नै सक्दिनँ ।’

‘किन ? के भयो र ?’

‘मलाई सबैभन्दा पहिले मेरै जातकाले हेपे ।’

‘मैले त सम्मान गर्दैछु त ।’

‘त्यसैले त तिमी धन्य भयौ ।’

‘अरूले के गरे त्यस्तो ?’

‘मलाई मेरो जन्मदाताले रोगी बनाइदियो । मानसिक तथा शारीरिक दुवै हिसाबले । जीर्ण भएकै कारणले म हेपिएँ । त्यतिमात्र कहाँ हो र मेरो अस्तित्व र बजारमूल्य घटाउने पनि त्यही हो ।’

‘कसरी ?’

‘उसले पैसा नलाग्ने छापाखानामा मेरा शाब्दिक अवयवलाई चढाइदियो । सित्तैमा पाएकाले छापाखानाले पनि मेरा अवयवको मूल्य सजिलै घटाइदियो । हरेक शब्दमा उन्माद थियो, हरेकमा प्रेम थियो । विगतको सम्मान, वर्तमानको सम्मोहन र भविष्यप्रतिको चिन्तन बोकेका मेरा शाब्दिक अवयवलाई नराम्ररी पछारिदियो । सबैका नजरमा पर्नुपर्ने मेरा अङ्गप्रत्यङ्गलाई कुरूप पारिदियो ।’

‘तिमी बढी भावनामा बग्यौ । हामी सजीव प्राणी होइनौ । जसका अवयव र अङ्गप्रत्यङ्गहरू कुरूप तथा सुन्दर हुन् अनि स्वस्थ र रोगी । यो के भनिरहेका छौ ? तिमी आफ्नो सोच बदल । मान्छेजस्तो बन्न नखोज । मान्छेले बनाएकाले तिमीमा मान्छेकै सोचहरू पलाएछन् ।’

‘तिमी पनि अरू जस्तै भयौ । आफ्ना जातिको अस्तित्व आफैँ भत्काउँदैछौ । तिमी आफ्नो पहिचान, मूल्य र अस्तित्व बुझ्ने कोसिस गर ।’
‘ल छाडिदेऊ यस्ता विमतिका कुरा । हामीहामी नमिले अरूले हेप्छन् । मान्छेले बनाएको उखान छ नि ‘भाइ फुटे गवार लुटे’ कि के रे ? त्यस्तै होला । तिम्रो कहानी रोचक लागिरहेको छ । अझै सुन्ने मन छ । अनि कसरी तिमीमाथि अन्याय भयो भन्दै जाऊ न । मलाई अचम्म पनि लागेको छ । हाम्रा जातिहरू यति सचेत हुन थालेकोमा खुसी पनि लागेको छ ।’

‘सित्तैमा पाएको चिजलाई मान्छेले कतिसम्म अपहेलित गर्दोरहेछ । मलाई सबैभन्दा कमसल घरमा राखिदियो । साँच्चै मेरा अवयवलाई । उनीहरू क्यालकुलेटर लिएर हिसाबकिताब गरेका ग¥यै थिए । मेरो शीर्ष नाम लिएर । त्यो नाम मेरै जन्मदाता भनाउँदोले राखेको थियो । ‘अजरामृत’ । सुरुमा मन परेन । तर धेरैले उच्चारण गरेको सुन्दासुन्दा पाच्य भयो । मेरो पिताको उद्देश्य मलाई अजरअमर बनाउने र अमृतमय बनाउने थियो । धेरै राम्रो सोच उनको । फेरि कोही भन्थेः नाम अनुसारको काम हुन्न भन्छन् । यो पुस्तक पनि बजारमै बिलाउने भयो । यो सुनेपछि उनी कति दुःखी हुन्थे होलान् तर कसैले उनको कानमा पुग्न दिएन । सबै प्रशंसा गर्थे नयाँ पुस्तक खतरा आउँदै छ रे त हजुरको भन्दै । कतिले पाण्डुलिपिमै मलाई पढिसकेका थिए । म जुन अवयवमा निर्माण सम्पन्न भएँ अनि आफू पूर्ण कदमा उभिएँ त्यतिबेलै सन्तुष्ट थिएँ । सुझाव लिने उद्देश्यले लेखकले त मलाई कतै पठाएका थिएनन् तर त्यो प्रकाशकले महिनैपिच्छे घरघर डुलाउन थाल्यो । कसैले मेरो खुट्टा काटे, कसैले हातै काटे । एउटा मै जान्ने भनाउँदोले त नराम्ररी मुटुमै प्रहार ग¥यो । त्यो मान्छेको जस्तो रगतको डल्लो थिएन । शाब्दिक मुटु थियो । त्यसको गहिरो चोट निको हुन मलाई धेरै समय लाग्यो । लेखकको घरमा फर्केर आउन नपाएको भए म सायद मुटुविहीन भएर कति बाँच्दा हुँ र ? तर पनि प्रतीक्षाको दिन आयो । लेखकले शाब्दिक तथा आर्थिक मलम लगाउन अनेक अलङ्कार, विभूषण, बिम्ब, प्रतीकादि खर्च गरे । जुन उनको दिमागमा अटाइनअटाइ बसेका थिए । अनगिन्ति छन् उनीसँग । जेहोस् म धेरै समय पछि निको भएँ तर त्यसको ह्याङओभर त आजसम्म पनि छँदैछ ।’

‘लेखकको हातबाट फेरि कहाँ पुग्नुभयो ?’

‘त्यो पहिलो प्रकाशकसँग के कुरा मिलेन कुन्नि ? मलाई अर्कै प्रकाशकलाई जिम्मा लगाए । त्यहाँ त ममाथि कुनै काटछाँट गर्ने डाक्टरहरू आएनन् । म प्रकाशककै कम्प्युटरमा वर्षौँसम्म थुनिएँ । उसले कम्प्युटर खोल्दा मलाई हेरिदियोस् अनि मेरो शरीरले अमूर्तबाट मूर्त रूप लियोस् भन्ने प्रार्थनामा रहिरहेँ । साँच्चै उसले ‘अजरामृत’लाई बिर्सिएको पीडामा छटपटि पोख्यो । नराम्ररी भुलेको अभिनय ग¬¥यो । अरू लेखकले बारम्बार कृति प्रकाशित गर्नका लागि सम्झाउने र त्यसबाट वाक्क हुने भावसहित आफ्नी श्रीमतीसँग गुनासो पोख्न थाल्यो । एक वर्ष वितिसक्दा पनि किन ‘अजरामृत’का लेखकले केही भन्दैनन् । हामीले उनीमाथि अन्याय ग¥यौँ । इमान्दार मान्छेलाई यसरी धोका दिन हुन्न । अरूको महिनादिन कटायो भने कति गाली खाइन्छ । यो पुस्तक प्रकाशित हुन धेरै ढिला भयो । कति वृद्ध लेखकहरू त प्रेसमा गएको आफ्नो पुस्तक प्रकाशन नभएकै कारणले सास जान नसकेर छटपटाइरहेका हुन्छन् रे । ती लेखक पनि वृद्ध छन्, रोगी छन् । सुनेको छु आजभोलि हिँडडुल पनि राम्ररी गर्न सक्दैनन् रे । तिमीले मलाई सम्झाउनु पर्दैन ? यसरी प्रकाशकले पुस्तक बिर्सेकै पीडाले अतालिएको मैले पहिलोपटक देखेँ । त्यसपछि प्रकाशकले तुरुन्त मलाई पढ्यो । तीन दिन लगाएर । खुब चाख दिएर । तर उसले शाब्दिक अवयवमा भएका कमजोरी मात्र नियालेको रहेछ । पढिसकेपछि श्रीमतीसँग ममाथि देखिएका खोटका विषयमा घन्टौँ कुरा ग¥यो । फेरि त्यसलाई सच्चाउने जिम्मा कसलाई दिएर ममाथि अन्याय गर्ने हो भन्ने त्रास मनमा बढ्यो । मेरो जन्मदाताको साँच्चै अन्तिम अवस्था भएपछि उसले कतै दिएन ।’

‘अनि के भयो ?’

’उसले छापाखानामा लग्यो । सबैभन्दा सस्तो कागज कुन छ त्यसमा हतारहतार प्रिन्ट ग¥यो । कभर पनि डिजाइन गरिहाल्यो । रातो कभरमा निलो अक्षरले ‘अजरामृत’ भनी मेरो नाम ठूलो फन्टमा छपायो । सबैभन्दा महत्त्व नामलाई नै दिँदा रहेछन् मान्छेले भन्ने लाग्यो मलाई । मेरा अवयव वर्षौँसम्म बढ्न सकेनन् तर नाम भने अप्रत्यासित रूपमा मौलाएको देखेर अचम्म लाग्यो । वरपरका अन्य पुस्तकमाथि नजर परे । सबैका हाल उस्तै थिए । यसमा अरूले कस्तो महसुस गरे खै ? तर मैले हात्तीपाइले लागेको मान्छेको असुहाउँदिलो खुट्टा आफ्ना् शिर बनेको ठानेँ ।’

‘म बन्डलका बन्डल कार्टुनमा बाँधिन थालेँ । एकबाट हजारमा परिणत भएर यसरी प्याकिङमा पर्दा अनेक पीडा भयो । शरीरका अवयवहरू टुक्रिएर सबैमा छरिएको अनुभूति भयो । तर हरेकमा म पूर्ण थिएँ र पनि यो चोट किन भइरहेछ भन्ने बुझ्नै सकिनँ । अब म कहाँ कहाँ पुग्ने हो ? त्यस रात म हरेक मसँगै कहिलेसम्म बस्न पाउँला भन्ने लाग्यो । ब्रह्मका हरेक सृष्टिहरू एकबाट फैलिएर अनेक हुँदा खुसी भएझैँ ती वृद्ध भोलिपल्ट अनेक मलाई सुम्सुमाउँदै मुस्कुराए । लठ्टी टेकेरै भए पनि कुप्रा र रुग्ण बूढा आफैँ आएर आफ्नो सन्ततिलाई मायालु स्पर्शले यसरी मुसार्लान् भन्ने मेरो कल्पना बाहिरको कुरा थियो । उनका हर्षका आँशुले म पग्लिएँ । त्यो स्पर्श हरेक ममा परे हुन्थ्यो भन्ने लाग्दालाग्दै उनी टाढिए ।’

‘प्रकाशकले हजारौँबाट पाँचवटा ‘अजरामृत’लाई लेखककै घरमा पु¥याइदिए । ‘अजरामृत’ पुगेको दिन घरमै वृद्धको प्राण पखेरु उडेछ । धेरैले मैमाथि शङ्का गरे । त्यो नाम जुरेको पुस्तक घरमा नल्याएको भए वृद्ध अझै केही वर्ष बाँच्ने थिए । अलच्छिना पुस्तक रहेछ भनेर उनका आफन्तले सरापे । सायद म उनको घरमा नगएको भएर उनी बाँचिरहेका पो थिए कि ? मेरा प्रकाशकका चिन्ता पनि त यही सुनेथेँ मैले । म आफू उनको घरमा जान पाएर जति मनमनै गद्गद् थिएँ त्यो भन्दा लाखगुणा पश्चात्तापमा थिएँ । आफू नजानुपर्ने ठाउँमा पु¥याइएकोमा प्रकाशकसँग उत्तिकै क्रोधित थिएँ । एक सन्तानले दिने खुसीले पिताकै आयु मेटाउँदो रहेछ भन्ने शिक्षा मलाई मिल्यो । अब कसैका हातबाट यस्ता सन्तान नजन्मिए हुन्थ्यो भन्ने भान समेत भयो ।’

‘यसपछि उनका आफन्तले उनैसँग ‘अजरामृत’ पाँचलाई तेह्रौँ दिनको पुण्यतिथिमा खोलामा बगाइदिए । कमजोर कागजमा अल्झिएको मेरो शरीर पानीले भिजेर जीर्ण बन्दै टुक्राटुक्रामा छरिए । संयोगले चारमध्ये एक किनारैको झाडीमा अल्झिएको थियो । घाम लागेपछि केही भिजेको भाग पनि सुकेको अवस्थामा बाख्रा गोठाले आएका एक बालकले टिपे । पुस्तकको नाम चर्को स्वरमा पढ्दै ओल्टाइपोल्टाइ हेरे । अनि मलाई लिएर साथीहरू भएकोमा दौडिए । सबै साथीहरूले तानातान गरे । अरू पनि भेटिएला कि भनेर त्यही खोला किनारमा नियाल्न थाले । अरू नष्ट हुँदै बगेका पुस्तक पुरै छिन्नभिन्न भइसकेकाले कसैले भेटेनन् । तीमध्ये बलियो र ठूलो साथीले मलाई भेट्नेको हातबाट खोस्यो र आफ्नै घरमा लग्यो ।’

‘घरमा उसकी आमाले किताब कहाँबाट ल्याइस् भनेर केर्न थालेपछि उसले सत्य बतायो । खोलामा फालेको पुस्तकमा मसान आउने भन्दै उनले फेरि खोलैमा फाल्न लगाईन् । उसको चेहरामा पुस्तक खोसेको दिनमा जस्तो उमङ्ग थिएन । मन नलागेरे पनि फिल्ममा हेरेका सैतानका अनुहार पुस्तकमा देख्न थालेपछि उसले फेरि पानीमै मलाई फालिदियो । लेखकका घरबाट जसरी जन्म पाएँ उसैगरी अन्त्यष्टि पनि पाएँ । तर यतिबेला भने म प्रकाशकप्रति धन्य भएँ । किन उसले मलाई एकबाट अनेक बनाएको रहेछ भन्ने रहस्य आफ्नै पाराले बुझेँ । अनि प्रकाशकले प्याकेटमा राखेर विभिन्न सहरमा पठाएका पुस्तकका ममा रमाउन थालेँ ।’

‘हरेक पसलेले मलाई पैसासँग साटेँ । कसैले कममा । कसैले बढीमा । मलाई पठाउन पाउँदा हरेक पसले खुसी हुन्थे । किन्ने पाठक पनि उतिकै हर्षित देखिन्थे । तर जुन पसलमा मेरो सङ्ख्या घटाउन सक्थेनन् ती भने अत्यन्त चिन्तित मुद्रामा देखिन्थे । मलाई जहाँ अँध्यारो कुना छ त्यतै कोचिदिन्थे । पुस्तकालयमा पुगेर भने म निकै हर्षित भएँ । मभित्र के छ नपढे पनि मेरो नाम धेरैले उच्चारण गरिदिन्थे । त्यसमै पनि खुसी हुन्थेँ म । यहाँ कम्तिमा मेरो मूल्यले नापजोख गर्ने त कोही हुन्नथे ।’

‘जतिले मलाई पढे, सबैले अलगअलग अर्थमा मलाई अर्थाउन थाले । यसले म निराश भइनँ । म हरेकका मस्तिष्कमा अनेक बन्न सक्ने जादुगर पो रहेछु क्यारे भन्ने महसुस गरेँ । तर लेखकको मृत्युसँग जोडेर अलच्छिना पुस्तक भन्दै जसले सोचेर मलाई बोक्थ्यो, किन्थ्यो, अथ्र्याउँथ्यो तिनीहरूलाई पनि मिल्ने भए मेरै पिताकै हैसियतमा पु¥यादिन्थेँ झैँ प्रतीत हुन्थ्यो । अहिले म तिमीसँग छु । तिमीले पाउने र मैले पाउने सम्मानमा फरक छ । तिमी र म दुवै एकै प्रकाशकले उस्तै तरिकाले प्रकाशन गरेका पुस्तक । हाम्रो जन्मदाता फरक भए पनि उस्तै देखिन्छौँ । हामीमाथिको लगानी समान छ । किनकि हाम्रो लगानीकर्ता वा प्रकाशक एकै हुन् । तर तिमी डिक्सनरीका रूपमा सुरक्षित तरिकाले यस घरको पुस्तकालयमा सुरक्षित छौ । तिम्रो सामुन्नेमा सिर्जनाका पुस्तकका खातमा म छु । तिमी र म एकै कोठामा यसरी बसेको पनि वर्षौँ भइसक्यो तर वार्तालापमा जुट्न पाएका थिएनौँ । तिमी जहिल्यै व्यस्त रहन्थ्यौ । तिमीलाई यस घरका धेरैले प्रयोग गर्दछन् । बारम्बार पल्टाउन आइपुग्छन् । मलाई प्रकाशकका नातेदारका हैसियतले उपहारस्वरूप उनीहरूले यहाँ ल्याए । कसैले पढ्ने होइनन् । त्यसैले चुपचाप आफ्नो नियतिलाई स्विकारिरहेछु ।’

‘धेरै मका अनेक पीडालाई यहीँबाट नियालिरहेछु । ममा व्यापक पीडा छन् । कुनै नालीमा डुबेका मका पीडा, कुनै चटपटे पसलमा च्यातिँदै गरेका मका पीडा, कुनै फोहोरको डङ्गुरमा फालिएका मका पीडा, कुनै दाउरा सल्काउन प्रयोग गरिएका पानापानामा जलेका मका पीडा, कुनै नचाहिँदो अर्थमा अर्थिएका मका पीडा, कुनै धमिराले चपाउँदै गरिएका मका पीडा, कुनै कसैका लोभी तथा भोगी नजरमा नपरेका मजस्तै मका पीडा । जेहोस् म अनेकमा छरिएर अनेक पीडामा विभक्त पुस्तक । तिमी जसरी सम्मान पाउन नसकेको पीडित पुस्तक । एकै जातभित्र पनि अनेक उत्पीडन र विभेदमा परेको मको पीडा तिमीलाई के थाहा ?’

‘साँच्चै तिमीमाथि अन्याय भएको रहेछ । सृष्टि र दृष्टिका पीडा सहेछौ तिमीले । हाम्रा पीडा बुझिदिने कोही भए पो ? ठीक भन्यौ तिमीले । तिमीले आनन्दको जीवन देखे पनि मभित्र अनगिन्ति पीडा छन् । तिम्रो भन्दा नगन्य तर जटिल । ब्रह्माण्डको सर्जकले ब्रह्माण्ड सिर्जना गर्दा उसलाई के थाहा ? ब्रह्माण्ड सिर्जनामा मूर्त हुनै पो चाहन्थेन कि ? प्राणीहरूका सर्जकलाई के थाहा प्राणीका चाहना के थिए ? ऊ कुन रूपमा आउन चाहन्थ्यो ? कसको कोखमा बास बस्ने मनसाय थियो ? हामी पनि नियतिले यसरी नै सञ्चालित भइरहेका छौँ जसरी मानवलगायतका प्राणी बाध्य छन् । यसमा दोष कसलाई दिनु ? जेहोस् बुझेरै बुझ पचाउने प्रवृत्ति सबैको हुन्छ । हामी पनि त्यसबाट मुक्त हुन कहाँ सक्छौँ र ? नियन्त्रणविहीन भएर बाँच्न पनि असम्भव । नियन्त्रणबाहिर जन्मन पनि असम्भव । यो कस्तो खेल हो ? म त जति बुझेँ भन्ठान्छु उति रल्लिन्छु । आफैँमा अज्ञानता नै अज्ञानता छ । मलाई जानेर हो र ? घोकेर गिनिजबुकमा नाम लेखाउन उद्यत मानव देखेर अचम्म लाग्छ । कोही मेरै खेती गरेर बाँचेका छन् । मभित्रका दुईचार अर्थ जानेर आफूलाई सर्वज्ञझैँ ठान्ने र विद्यार्थी वा सिकारु सबैलाई मूर्ख बनाउने परिपाटीका मानव । अझ आश्चर्यका पात्र हुन् मेरा । आफ्नैले लगाएको आरोपको राप पनि छ मसँग । मेरा परिवारमा रहेका हरेक सदस्यहरू मेरा लागि समान हुन् । उहिल्यैको जमानामा जेठा सन्तान सर्वेसर्वा बन्ने मानवीय प्रवृत्तिको सिको गरेको आरोप मेरा अक्षररूपी सन्तानको छ । म के उत्तर दिऊँ उनीहरूलाई । अगिल्लो अक्षर क्यापिटल हुँदैमा के फरक पर्छ र ? तिमीहरू सबै मिलेपछि न केही अर्थयुक्त शब्द बन्छ । एक कहाँ पूर्ण हुनु ? भनेर कति सम्झाउन खोजेँ । अहँ, उनीहरू पटक्कै सम्झँदैनन् । मैले चाहेर उनीहरूको समस्याको समाधान कसरी गर्न सक्छु र ? सृष्टि, स्थिति र लयको यो खेलमा को छ जिम्मेवार ? मानवले त पत्ता नपाएर अलमलमा जीवन जिइरहेका छन् । आफ्नै बुद्धिको खेलबाट आफै उम्किन कोसिस गरिरहेछन् ? म विचरोले के उत्तर दिऊँ मेरा अक्षररूपी सन्तानहरूलाई ? त्यसैले तिमीभन्दा ठूला दुःख मसँग छन् । जसरी हुन्छ अब हामीमाथिका अत्याचार र उत्पीडनका विरुद्धमा जाग्नुपर्छ । मानवले हामीलाई जन्म दिएर उचित हेरचाह नगरी हाम्रो अस्तित्वमाथि खेलेको हुनाले खेद व्यक्त गर्दै एकसाथ अन्यायका विरुद्धमा अक्षररूपी सन्तानहरू र पुस्तकका वंशलाई लिएर उत्रनै पर्ने जरुरी देखेको छु मैले । तिमी, म अनि सिङ्गो पुस्तक जाति मिलेर हाम्रो उत्थानमा लाग्ने हो । पलायन हुने होइन । मानवका धेरै गुण हामीसँग मिल्छ भनेको छु नि मैले । उनीहरू त जातीय एकताका लागि सचेत भएर लागेका छन् । आआफ्ना अनेक मागहरू लिएर हातेमालो गर्दै विजय हासिल गरिरहेका छन् । हामी पनि एकजुट भएर लाग्यौँ भने सर्जक, प्रकाशक तथा वितरक एवम् पाठकले हामीमाथि गर्ने हस्तक्षेपबाट मुक्ति पाउनेछौँ । यसमा तिम्रो विचार के छ ?’

‘तिम्रो विचारसँग म सहमत छु । आजैबाट हामी हाम्रो अभियानमा दत्तचित्त भएर लाग्नेछौँ । तिमी जागेझैँ सबैलाई जगाऊ ।’

जय अक्षर, जय पुस्तक ।

Loading...