नेपाली साहित्यको सम्पूर्ण पत्रिका

उभिएर संगमनिर

खगेन्द्र गिरि ‘कोपिला’

कन्याकुमारी भारतमात्र होइन समग्र आर्याव्रतको पनि दक्षिणी पुछार हो । एकजना महान सन्त र महान कविको ज्ञान र प्रतिभाको संयुक्त स्पन्दन मगमगाइरहेको छ यहाँको सङ्लो बतासमा मिसिएर । यहाँको अनन्त आकाश र अनन्त सागर संयुक्त रूपमा साक्षी बनिरहेका छन् ती सन्त र कविका विराट गाथाको । छचल्किदै रहेको पानी पल्टाइरहेको छ त्यही गाथाका पानाहरू ।

बिहानको एघार बजिसकेको छ हामी नगरकोबिल पुग्दा । भोक पनि लागिसकेको छ निकै । बिहान पाँचै बजे छोडेका हौं त्रिवेन्द्रमको होटेल । कालो चिया पिउनु भन्दा बाहेक अरू केही उपलब्ध भएन बिहानबिहानै होटेलमा । सात बजे त हिंडेको हो रेल त्रिवेन्द्रमबाट । रेलमा हल्काफुल्का खानेकुरा खाए पनि पेट भरिने आडिलो नास्ता भने केही पाइएन । यिर्बानीका पोका देखेर नखाँदै हुडुल्किएर आएको थियो पेट ।

त्रिवेन्द्रमबाट दक्षिणपूर्व दिशातर्फ मुख बनाएर कुदेको हो हामी चढेको रेल । केरलको त्रिवेन्द्रमबाट तामिलनाडुको नगरकोबिल पुग्न चार घण्टा लाग्यो । यो बाटो पनि प्रकृतिले सुन्दर प्रकारले सिंगारेको रहेछ । जङ्गल, फाँट, बस्ती, खेत, शहर, नदी र सागरका अनुपम दृश्यहरूले चार घण्टाको यात्रालाई रमाइलो बनाइरहे । बाटोमा समुद्रका खण्डखण्ड जस्ता लाग्ने पानीका थुप्रै दहहरू पार ग¥यौं । विशाल जलराशीको माथिमाथि लामालामा पुल धेरै ठाउँमा पार ग¥यौं । कतै साँगुरा पुलमाथि साँगुरै गरी कुद्यो अजङ्गको रेल । नरिवल र केराका खेतीले मन लोभिइरह्यो । सुपारी, ताडका विरुवा र काँडेदार बुट्टयानहरू देखिए कतै कतै । रेलको झ्यालबाट कहिले दायाँ, कहिले वायाँ पोखिदैरहे आँखाहरू । तीव्रगतिमा दुगुरिइरहेको रेल भन्दा झन् तीव्र गतिमा दुगुरिरहे कुतुहल बोकेका अाँखा पनि ।

खगेन्द्र गिरि ‘कोपिला’

तमिलनाडु र केरलको सिमाना कहाँनिर हो? थाहै पाउन सकिएन । दुवै प्रान्तको जनजीवन, रहनसहन, खानपिन, भाषा, अक्षरका आकार, मौसम र भूगोल उस्तैउस्तै लाग्यो । फरक छन् केवल ठाउँका नाम र नामपाटीहरू ।

बिहानीपखको शान्त वातावरण नखल्बलिदै हामी पुगिहाल्यौं नगरकोबिल ।

‘केही खाऊँ न है’, मसिनो स्वरमा बोलिन् बुनु । वान्ता आउँछ भनेर रेलमा चियाभन्दा बाहेक अरू केही खाइनन् उनले । अहिले आफ्नो भोक रोक्न सकिरहेकी छैनन् । खान त मलाई पनि मन नलागेको कहाँ हो र? तर वरपर कतै देखिएनन् खानेकुरा पाउने पसल ।

बुनुको आग्रहलाई नसुनेको जस्तै गरी हिडिरहेँ म । नगरकोबिलको रेल्वे स्टेशनको भीड छिचोलेर बाहिर आयौं । स्वामीज्यू कन्याकुमारी जाने सवारी साधन बुझ्न लाग्नु भो म भने खाने ठाउँ खोज्न लागेँ । बाटो वरपर पनि खाउँजस्तो केही देखिएन । टन्न भात रोटी खान पाए हुन्थ्यो भन्ने लागिरहेको छ तर यता केही देखिएन खानेजस्तो । भोकाएर तातिएको मनमा चिसो पस्यो । दिनभरि भोकै बस्नु पर्ने पो हो कि? आफूले बोकेका गृह कोसेली पनि सकिइसकेका छन् ।

एक ठाउँमा काक्रो देखिएपछि नखाइरहन सकिएन । यताका काक्रोको स्वाद हाम्रोतिरको जस्तो लागेन । बाटोमा फेरि नरिवल देखिए । फेरि लोभियो मन । नरिवलको रस र सेतो गुदी खाएपछि टन्न भैहाल्यो पेट ।

यहाँबाट सिधै दक्षिण दिशाको कन्याकुमारी पुग्न अरू बीस किलोमिटर कुद्नु छ अझै । सबै साधन पाइँदारहेछन् तर टेम्पो रोज्यौं हामीले ।

ग्रामीण भेग देखिन थाले बाटो वरपर । देव्रेतिर कालाकाला ढुङ्गा थुपारेजस्ता होचाहोचा पहाड देखिए । वरिपरि समतल खेतको बीचमा उभिएका यी पहाडहरू कतैबाट यहाँ ल्याएर थपक्क राखिएका शिवलिङ्गजस्तै लाग्दा रहेछन् ।
‘प्राकृतिक स्तुप हुन् कि क्या हो?’ कुतुहल पोखियो मेरो मुखबाट ।

‘दक्षिण भारतमा मन्दिरभित्र देखिने ठूलाठूला ढुङ्गाका मूर्तीहरू यस्तै पहाड काटेर बनाइएका होलान्’ निर्मलस्वामी अनुमान गर्न लाग्नु भो ।

‘मन्दिर बनाएर उब्रिएका हुन् कि क्या हो यी ढुङ्गाहरू?’ बुनुले लगाइन् आफ्नै पाराको अनुमान ।

हुन पनि हो, पुरै पहाड नै एउटा सिङ्गो ढुङ्गोजस्तो दखिन्छ । यस्ता ढुङ्गालाई जहाँनिरबाट जसरी काटेर जुन आकृतिमा ढाले पनि भयो । ढुङ्गाको आकार जति ठूलो भए पनि मान्छेको सीपको अगाडि केही लाग्दैन  । आफ्नो स्वरूप फेरेर कलाकारले चाहेको आकारमा बदलिनै पर्छ ।

नगरकोविलबाट आधा घण्टा कुदेपछि पुग्यौं कन्याकुमारी । बस्ने कोठा त स्वामीज्युले रामकृष्ण मिशनको आश्रममा फोनबाट नै बुक गराईसक्नु भएको छ । यो आश्रम त्यति सफा र सुविधासम्पन्न नभए पनि हिन्दी बोल्ने स्टाफ भएकोले केही सहज लाग्यो हामीलाई । आश्रमको तातो भात, पातलो दाल र आलुको तरकारीले भोक मात्रै मेटेन, धेरै दिनदेखिको खानाको तिर्खा पनि मेटाइदियो ।

कन्याकुमारी भारतको सबैभन्दा दक्षिणी कुनो हो । यसलाई पहिले केप कोमोरिन भनिन्थ्यो, यहाँबाट सोझै दक्षिणतिर फर्केर हेर्दा हिन्द महासागर देखिन्छ भने दायाँतिर अरब सागर र देब्रेतिर बंगालको खाडी पर्दछ ।

‘कन्याकुमारीको पहिलो दर्शन कन्याकुमारी मन्दिरबाट शुरु ग¥यौं । पार्वतीको कन्या रूप मानिदोरहेछ यो मन्दिरलाई । माता पार्वतीले कन्याको रूपमा जन्म लिएर वाणासूर भन्ने राक्षसको वध गरेको हुनाले कन्याकुमारीको नाममा पुजित भएको मान्यता रहेछ । ‘श्रावणी शक्तिपीठम् भनिने यो मन्दिर बाउन्न ओटा शक्तिपीठहरू मध्ये एक हो’ मन्दिरका एक जना पुजारीले टुटेफुटेको हिन्दीमा भने । यसको बास्तुकला पनि ठ्याक्कै पद्मनाभ मन्दिरकै जस्तो हो तर उभन्दा यो धेरै सानो लाग्यो । मन्दिरमा मूर्ती, भित्ता, गोपुर र पर्खालहरूको आकार सबैमा द्रविड बास्तुकला छरिएको छ ।

हुन त धेरै छन् कन्याकुमारीमा हेर्ने ठाउँ तर सामुद्रिक जलकलालाई नै मानिदोरहेछ यहाँको मुख्य आकर्षण । थानुमलयम् मन्दिर, भगवती अम्मन मन्दिर, सनसेट भ्यूप्वाइन्ट, थीरपरप्पु वाटरफल्स र पदमनाभनपुर दरवार पनि यहाँका प्रकृति र कला झल्काउने आर्कषक धरोहर हुन् तर कन्याकुमारीको सामुद्रिक सौन्दर्यले लोभिएका धेरैजसो पर्यटकहरू यहाँ पुग्न बिर्सिदारहेछन् । हिन्दु र कृस्चियनको सङ्ख्या बराबरजस्तै भएपनि चर्चहरू धेरै देखिए यहाँ ।

दुई तले पदमनाभनपुरम् दरवार, पहलिो नजरमा दरवारभन्दा पनि कसैको पुरानो घरजस्तो लाग्यो । भवनका खपडावाला छतहरू कुनै दई तले छन् भने कुनै एक तले छन् । दरवारको वरिपरि न कुनै किल्ला देखियो, न कुनै पर्खाल । साधारण घरजस्तो लाग्ने यो दरवार त मुगल वादशाह र राजस्थानका किल्लामय दरवारको अगाडि झुपडीजस्तो नै ठानें मैले । दरवारको भित्री साजसज्जा र कलाको सङ्ग्रह भने भरिपूर्ण नै हो ।

अन्यत्रका राजाहरूका विपरित दक्षिण भारतका हिन्दु राजाहरूले दरवारभन्दा मन्दिरलाई बनाएका रहेछन् भव्य । त्रिवेन्द्रमको कनकक्कुन्नु दरवार र यो दरवार परिसरमा डुल्दै गर्दा मनमनमा भनिरहेँ म ।

आँखाअगाडि फैलियो विशाल समुद्रको जल सौन्दर्य । जहाँसम्म दृष्टि पुग्छ त्यहाँसम्म छ पानी नै पानी । आँखाले हेर्न सकिने छेउ र अझ त्यो भन्दा परको क्षितिजसम्म टम्म भरिएको छ पानी । नीलो रङको पानी दौडिदै छाल बनेर आउँछ र समुद्रको किनारमा सुतेका ढुङ्गाहरूसंग ठोक्किएर सेतो फिंज बनेर फर्किन्छ । समुद्री किनाराका काला ढुङ्गाहरू क्षणक्षणमैं समुद्रको पानीले नुहाएर झन् काला बनेका छन् । पानीको निरन्तर बदलिइरहेको यस दृश्यले आश्चर्यचकित बनाइ रह्यो आँखालाई ।

आकाशबाट सूर्यले तिखो वाण हानेझैं प्रहार गरिरहेको छ तेजिला किरणहरू । बतासिइरहेको समुद्री हावाको अगाडि निस्तेज बनेका छन् यी किरणहरू जतिसुकै तेजिला भए पनि । हावाले जिस्क्याएजस्तो गरिरहन्छ चञ्चल जललाई । शान्त तटहरू समुद्रको जलकला हेरेरै तृप्त छन् ।

आँखाले एकै ठाउँमा रोकिन मानेको छैन । मनले एउटै दृश्यमा थपक्क अडिन सकेको छैन । समुद्रका छालहरू आफ्नै लयमा सुसेलीरहेका छन् । छालहरूको भाषा विचित्र छ । समुद्रको यो चञ्चलताजस्तै समुद्री किनाराका वालुवा र ढुङ्गाहरूको मौनता पनि पढि नसक्नु छ ।

केप कोमोरोनको छेउछाउमा साना ठूला डुङ्गा र स्टिमरहरूको भीड देख्यौं । चढ्ने र उत्रिनेहरूको खलबलले पनि जित्न सकेको छैन पानीको छलछललाई ।

‘जाऊँ चारबजे बन्द भै हाल्छ रे पारि जान’ कहाँबाट जानकारी बटुली हाल्नु भो स्वामीज्यूले ।

‘साँझ हेरौंला यो जलकला त’ उहाँले हतार गराउनु भएपछि उठ्नु परिहाल्यो । लामो लाइनमा बिस्तारै हाम्रो पालो आयो स्टिमर चढ्ने । ठूलो स्टिमरमा हल्लिदैहल्लिदै पारि ग¥यौं । केप कोमोरिनको पारिपट्टि समुद्रको बीचमा दुईटा साना टापु देखिए । एउटा टापुमा स्वामी विवेकानन्द स्मारक छ भने अर्को टापुमा तमिल महाकविको विशाल ढुङ्गे प्रतिमा छ । मण्डप भएको स्मारक बढीमा एक एकड जत्रो होला । अर्को टापु भने त्यो भन्दा पनि सानो छ ।

स्टिमरले लगेर स्मारक भएको टापुको छेउमा उतारिदियो । यसलाई टापु भनौं कि समुद्रको बीचमा बसेको चट्टानी ढिस्को भनौं अलमलमा परेँ म । ढिस्कोमाथि बनाइएको स्मारकभरि रातो र कालो रङका शंखमरमरका अनेक आकृतिहरू बनेका छन् । कलाको सुन्दर टुक्रा यो टापुमा ल्याएर राखेजस्तो लाग्यो । स्मारकको भुइँ खण्डखण्ड पारेर सजाइएको छ । अनेक फूल र ससाना बोट पनि छन् । बाटोको बीचका खण्डखण्डमा हरियो दुबो सजाइएको छ तर त्यहाँ टेकेर, फूल टिपेर बिगारेका छैनन् कसैले पनि ।

‘आत्थु कस्तो पोल्यो !’

भुइँ, पर्खाल, पटाङ्गिनी, पेटी र बस्ने बेन्चहरू सबै रातो शंखमरमरले बनेका छन् । दिउँसोको प्रचण्ड घामले निकै तातिएका छन् सबै । पदमार्गमा ओछ्याइएका चट्टानका टुक्रा र शंखमरमरहरू पनि रनक्क तातिएका छन् । जुत्ता चप्पल स्टीमरबाट ओर्लिने बित्तिकै खोल्न लगाएका थिए । नाङ्गै खुट्टा हिड्दै छौं हामी । रापिलो घामले सोझै आएर गाला र निधारमा डामिरहेको छ । तातिएको पदमार्गमा खालीखुट्टा हिड्न निकै गाहारो भो । रनक्क रन्किएका छन् पइतला पनि । मभने समुद्रको शीतल हावाको मृदु स्पर्शले लट्ठ परेको छु । यहाँका कलात्मक आकृतिहरूले हृदयमा अनौंठो झङ्कार थपिरहेका छन् । ‘थाह नपाए जस्तो गरेर ध्यानमा मन लगाउँदै हिड्यो भने खुट्टा तातो भुईँले पोले पनि थाह हुन्न’ अलि आध्यात्मिक पाराले मेरो आतुरतालाई व्यङ्ग हानिन् बुनुले ।

‘म त ध्यान गर्न मात्र होइन घुम्न पनि त आएको हुँ नि यहाँ’ ।

स्मारकको वरिपरिको परिक्रमापथमा थुप्रिएको छ मान्छेको भीड । फोटो खिच्नेहरूको भीडमा मिसियौं हामी पनि । परपर फैलिएको समुद्रका छालहरूलाई पृष्ठभागमा पारेर केही फोटो खिच्यौं । उत्तरपट्टिको बस्तीलाई पछाडि पारेर पनि केही फोटो खिच्यौं, भिडियो बनायौं । क्यामेरामा अटाउन नसकेका स्मृतिहरूलाई मनको क्यामेरामा कैद ग¥यौं ।

स्मारकको बिचैमा अग्लो चुच्चो ढिस्कोजस्तो ठाउँमा मन्दिरजस्तै देखिने मण्डप छ । रातो छत र काला शंखमरमरको जग भएको त्यस मण्डपमा उक्लियौं हामी पनि । स्वामी विवेकानन्दको ध्यानस्थ मुद्राको ठूलो प्रतिमा देखियो । भित्रपट्टिको वातावरण एकदमै शान्त छ । मौन छन् सबै । कोही ध्यान पनि गरिरहेका छन् । त्यहाँको स्निग्ध वातावरणले शीतलियो मन पनि । आफै बन्द भए आँखा । तातिएको शरीर एकाएक सेलाएजस्तो भयो । बुनु पनि आँखा बन्द गरी ध्यानस्थ बनेर आफैमा डुबेकी छन् । निहुरियौं, ढोक्यौं, श्रद्धाका अञ्जुली चढायौं । जतिसुकै चञ्चल मान्छे आए पनि यहाँ मौन भई हाल्दारेछ । यहाँको मौनतामा छुट्टै शक्ति भेटियो ।

एक सय पच्चिस वर्षजति अघि स्वामी विवेकानन्दले आएर यही निर्जन टापुमा तीन दिन ध्यान गर्नु भएको थियो रे । उहाँकै सम्झना र सम्मानमा बनाइएको रहेछ यो स्मारक । विवेकानन्द रक मेमोरियल भन्दा रहेछन् यस स्मारकलाई । सन् १९६२ मा बन्न शुरु भएर १९७० मा तयार भएको जनाउ दिईरहेको छ शिलापट्टले ।

यो स्मारकबाट छेवैको अर्को टापुमा जान फेरि चढ्नु प¥यो अर्को स्टिमर । मैले त्यो कुनै ऋषिको मुर्ती होला भनेको त त्यो त तामिल भाषाका महाकवि थिरुवल्लुवरको मुर्ती पो रहेछ । टाढाबाट हेर्दा लामा दाडि पालेका ती महाकवि हाम्रा कवि शिरोमणी लेखनाथ पौडेलजस्तै लागे । कवि शिरोमणिलाई सम्झिएर यी महाकविलाई पनि ढोगेँ मैले । राजा स्वदेशमा मात्रै पुजिन्छन् कवि त विदेशमा पनि पुजिन्छन् भन्ने उक्तिको सम्झना आयो मनमा । यी महाकवि थिरुवल्लुवरको आकृति त कविभन्दा पनि ऋषिको जस्तै लागिरहेको छ ।

हुन त एक अर्कासंग जोडिन—जोडिन खोजेको जस्तो देखिन्छन् यी दुबै टापुहरू । पहिले जोडिएर बिस्तारै छुट्टिन—छुट्टिन खोजेको जस्तो पनि लाग्दछन् । वल्लो ढुङ्गोबाट पल्लो ढुङ्गामा फाल हालेर पनि वारिपारि गर्न सकिएला जस्तो लाग्छ । समुद्रका ढुङ्गाहरू निकै चिप्लो हुने भएकोले त्यसरी जान भने दिंइदो रहेनछ ।

‘पुल बनाए पनि हुँदो हो नि’, गुनुगनु गर्दै छन् बुनु ।

महाकविको मूर्ती भएको टापु अलि साँगुरो लाग्यो । पुरै टापुलाई छोपेर त्यो विशाल मुर्ती उभ्याइएको रहेछ आकाशै छुने गरि । १३३ फिट अग्लो छ रहेछ यो मुर्ती । पुरै टापु नै छोपेर ठडिएको योे मुर्ती कसरी बनाइयो होला? यत्रा पत्थरहरू कहाँबाट ल्याइए होलान् यहाँ ? अनेक प्रश्नहरू उर्लिए मनमा । मानवद्वारा निर्मित भौतिक बस्तुले मानवलाई नै आश्चर्यमा पारिदिन्छन् ।

सन् १९९० मा बन्न शुरु भएर १९९९ मा पुरा भएको रहेछ यो मुर्तीको निर्माण । मूर्ती राखिएको मण्डपको भित्रभित्रै सिढी चढेर निकै माथिसम्म पुग्यौं । त्यहाँ मुर्तीको वरिपरि परिक्रमा गर्ने फराकिलो बार्दली बनाइएको रहेछ । बार्दलीबाट पनि परपरको महासागरका उन्मुक्त लहरहरू हेरिरह्यौं निकै बेर । समुद्रको नीलो पानीका छालहरू मुर्तीको मुन्तिरको भागमा ठोक्किएर उतै फर्किने गर्छन् । नीलो पानी एकैछिनमा सेतो रङमा बदलिएको दृश्यले मोहित बनाइरह्यो मनलाई ।

खरानी रङको पत्थर ताछेर बनाइएको छ यो मुर्ती । ‘यो अन्य कुनै पनि कविका निर्मित मुर्तीहरू मध्ये संसारको सबैभन्दा ठूलो मूर्ती हो’ एकजना मान्छे जानकारी गराउँदै छन् एउटा समूहलाई ।
तीन घण्टाको समय यी दुईओटा टापुको परिभ्रमणमा बितेको पत्तै भएन । सागरको शीतल बतासले सुसुलिरहेकै छ । हामीलाई फर्किन बोलाईहाल्यो स्टिमरले ।

स्टिमरमा एक जना बृद्धवयका स्वामीज्यूसंग एउटै सिटमा परियो । आन्ध्रप्रदेशबाट आउनु भएको रहेछ उहाँ । परिचय भो । श्रद्धापूर्वक ढोग्यौं उहाँलाई । हामीले नेपालबाट आएको भनेपछि निकै स्नेह पोख्नु भो । स्वामी ब्रहमानन्द सरस्वती रहेछ उहाँको नाम ।

कन्याकुमारी भारतमात्र होइन समग्र आर्याव्रतको पनि दक्षिणी पुछार हो । एकजना महान सन्त र महान कविको ज्ञान र प्रतिभाको संयुक्त स्पन्दन मगमगाइरहेको छ यहाँको सङ्लो बतासमा मिसिएर । यहाँको अनन्त आकाश र अनन्त सागर संयुक्त रूपमा साक्षी बनिरहेका छन् ती सन्त र कविका विराट गाथाको । छचल्किदै रहेको पानी पल्टाइरहेको छ त्यही गाथाका पानाहरू ।

भाभातुराई बीचमा देखिए नरिवलै नरिवल बेचिरहेका ठेलाहरू । हरिया र पहेंला नरिवलका थुप्राले फेरि मन लोभिई हाल्यो । नरिवलको रस पिएपछि अरू कुरा खाने, पिउने, भोक, तिर्खा मेटिंदोरहेछ । समुद्रकिनारमा टहलिने तिर्खा भने अझैं मेटिएको छैन । भाभातुराई बीचको वालुवामा हिड्यौं, बस्यौं, पल्टियौं, किनारैकिनार गान्धी मण्डप गयौं । अनि फक्र्यौ त्यही बाटो ।

‘आम्मै झोला खै नि?’, एकाएक चिच्याइन् बुनु ।
‘ओ हो कहाँ छुटे छ !’, विस्मित भएँ म पनि ।

खैरो रङको एउटा सानो झोला पिठ्युमा बोकेको थिएँ मैले । परिचयपत्र, टिकेट, चश्माको खोल, चार्जर, एअरफोन, बिस्कुट र मिनरलको वाटरको बोतल हुन्थ्यो त्यसमा । फोटो खिच्ने बेलामा एकछिन कतै राख्थेँ अनि बोकी हाल्थेँ । खै कहाँ बोक्न छुट्टयो? बिलौना र गनगन गर्न लागिन् बुनु । म पनि चिन्तित भएँ निकै । ‘अघि रक मेमोरियलबाट फर्किदा त साथैमा थियो, सायद नरिवल पिउने ठाउँमा छुट्टयो कि?’

‘जाऊँ त्यतै खोजी हेरौं, भेटिइहाल्छ कि’, स्वामीज्यूका वाणिले अलिकति भरोसा जगायो । जताजता डुलेका थियौं त्यतैत्यतैका ठाउँहरूमा आँखा ओछ्याउँदै हिड्न थाल्यौं । नभन्दै झोला त समुद्री किनारको एउटा पर्खालमा टक्क बसिरहेको भेटियो । यो ठाउँमा आएर फोटो खिचेको, समुद्रछेउका चिप्ला ढुङ्गामाथि उफ्रिदै हामीले ओहोरदोहोर गरेको त एकघण्टा भन्दा बढी भैसकेको थियो । हराएको झोला भेटिनुको खुसी त छँदै थियो, यतिन्जेलसम्म पनि यस्तो हुलमुलमा एक्लो झोला जहाँको त्यही रहिरहेको भेटिनु पनि हाम्रोलागि आश्चर्यको विषय नै बन्यो ।

साँच्चै आज त हामी कहाँ आएका छौं? के गर्दैछौं? कहाँ हिड्दै छौं? भन्ने कुरा पनि बिर्सिएजस्तै भएका छौं । केही अरू पनि हेरौं, केही खाउँ र केही किनी पनि हालौं भनेर शहरभित्र पनि पस्यौं तर आँखालाई त्यही समुद्री किनारले तानीरह्यो । मनलाई त्यही समुद्री कुतुहलले बोलाइरह्यो । ‘चुल्हो सम्झि घरै फर्की आएस्’ भनेर चुल्होको माथिमाथि घुमाएको बिरालो जति टाढा पुगे पनि फर्केर त्यही चुल्होको नजिक घुस्रिन आइहाल्छ’ भन्ने आहान चरितार्थ भएजस्तै भएको छ आज हामीमाथि । अन्यत्र अडिनै मानेन मनले । स्वचालित यन्त्रजस्तै भए पइतलाहरू । पुगि हाले त्यही समुद्री किनारमा ।

समय घर्किरहेको छ आफ्नै लयमा । निरन्तर चलिरहेको छ समुद्रका जललहरहरूको चित्रकारी । सूर्य दक्षिण—पश्चिम दिशाको नैर्ऋत्य कोणतिर ढल्किदै गर्दा समुद्र पनि आफ्नो रङ बदल्न लाग्यो । दिनभरि हेरेको उही समुद्र, दिनभरि डुलेको उही तट बिस्तारबिस्तारैै अर्कैअर्कै रङले नुहाउन लागे । प्रकृतिको बिस्मयकारी परिवर्तन आफ्नै अगाडि प्रकट भएर नयन आवर्तन गरिरहेको छ । यो बदलिदै गरेको रङलाई के भनुँ? रातो भनुँ कि, स्वर्णिम भनुँ कि? कलेजी भनुँ कि? या गेरु रङ भनुँ ? प्रश्न मनमा खेल्दानखेल्दै आँखा अगाडिको रङले अर्को रङ फेरिसकेको हुन्छ ।

यता सहरलाई अँध्यारोले घेर्दै गर्दा उता समुद्र झन्झन् पहँेलिदै छ । आगोको भर्भराउँदो गोलो डल्लोलाई आँआँआँ गरेर पानीले बिस्तारै निल्दै गरेको दृश्यलाई निर्मिमेष हेरिरहे यी आँखाले । विष्मित भै रह्यो मन । उभिएर तीन ओटा सागरको संगमनिर, आज सूर्यका किरण र सागरका लहरहरूको मौन समागम पनि हेर्न पाइयो ।

सूर्यास्तका ती आखिरी दृश्यहरू हेर्दाहेर्दै यसरी डुबिएछ कि रातले कन्याकुमारीलाई ढाकिसकेको ख्यालै भएन ।
‘जाऊँ अब थाकियो’, बुनुको क्लान्त स्वरले राम्रैगरि झस्किन पुगेँ म ।

Loading...