नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अब्स्ट्रयाक्ट कलाकार: सेमी-अब्स्ट्रयाक्ट पेन्टिङहरू  

जीवित खड्का मगर 

हिँड्दाहिँड्दै बाटोमा उसले वर्षौंदेखि पानी खोज्दाखोज्दै ओठ सुकेर लडिरहेका ढुंगेधाराहरू देख्छ । तिर्खाले छटपटाइरहेका वस्त्रहीन इनारहरू देख्छ । धमिराले खाइसकेर, अवशेष बाँकी पौराणिक हस्तकलाहरू देख्छ । अनि दुख्छ, जोरसँग दुख्छ, भित्रैसम्म दुख्छ उसलाई । र, यो देशलाई उसले रंगहरूको भाषामा खबरदारी गर्छ, “यी हाम्रा अमूल्य सम्पदा हुन्, संरक्षण गरौँ ।”

झ्यालका सिसाहरू फुटेका, केही टुटेका । घरि रोक्किने घरि चल्ने लिवर ड्यामेज् इन्जिन । सहरले थोत्रो बनाउनू बनाएर पठाइदिएको ऊसँग बुटवल-तम्घास सडकमा गुड्ने मोटरझैँ बूढो एउटा कम्प्युटर थियो । र एकदिन कविताको डायरी बोकेर गुडिरहेको साइकल, कम्प्युटर खोज्दैखोज्दै सामाखुसीको गल्लीमा पुगेर रोकियो | अचानक …!

जीवित खड्का मगर

“बस्नोस् न, म सुमित्रालाई उठाइदिन्छु । उनीहरूको अझै उठ्नेसमय भएको छैन, दुई बहिनी सुतिरहन्छन् दस-बाह्रबजेसम्म । यिनलाई के-को पीर छ र जीवित जी ! पीरको भारी बोकीहिँड्ने गधा म छँदै छु । कस्ता लोग्ने पाउलान् भन्ने पीर मलाई । लोग्नेले वचन लाउलान् कि भन्ने पीर मलाई । यस्ता अल्छेनीले के गरी खालान् भन्ने पीर मलाई । यदि देखिने भए देख्नुहुन्थ्यो तपाईंले मभित्र पीरको यो भारी कति गह्रौं छ ? “, पानी पर्नुअघिको अँध्यारो आकाशझैँ अनुहार बनाएर बालचन्द्र सर दोस्रो तल्लातिर भुत्भुताउँदै उक्लिनुभो । यसो घडी हेरेँ, बिहानको नौ बजिसकेको रहेछ ।

गुल्मीको ठूलो लुम्पेकमा नाम भएको राना परिवार । डिग्री पास गरेका बालचन्द्र राना, काठमाडौंमा गेस्ट हाउसका मालिक । अर्का डिग्रीवाला उहाँको भाइ, गाउँमा बोर्डिङ स्कुल खोलेर बसेका । लाड-प्यारमा हुर्केकी सुमित्रा र नूपा  बालचन्द्र सरकी बहिनीहरू ।

सहरका तमाम युवाहरूलाई कामुक आँखाको झ्यालखानामा कैदी बनाएर हिँड्ने खालकी युवती होइन ऊ । आफ्ना सखीहरूले अनुहारभरि कस्मेटिक शोरुम खोलिबस्दा, ऊ भने मदमस्त युवतीमा हुनुपर्ने भए जति श्रृंगारपटार आफ्नै पेन्टिङलाई बनाएकी छ । त्यसैले हरदिन क्यानभासको ऐनाअघि उभिरहन्छे । आफैँले आफैँलाई रंग र ब्रसहरूले मेकप गरिरहन्छे ।

(यो कुरा एकसट्ठी सालतिरको) 

====================

प्रत्येक घरजसो नेता । प्रत्येक घरजसो कलाकार । विपक्षीलाई देखिनसहने आ-आफ्नो समूह । लोकलदेखि जिल्ला, जिल्लादेखि केन्द्र, सबैतिर पहुँच  भएका कलाकार र नेतैनेताको गाउँ हो- ठूलो लुम्पेक ।

उतिबेला यही गाउँको धर्मपुर हाइस्कूलमा पढाउँथेँ, मूर्तिकार भुवन थापा । भुवन सरको प्रोत्साहनले एसएलसीपछि सुमित्रा चित्रकला पढ्न काठमाडौं आई । भर्ना भइ ललिकला क्याम्पस र चित्र विधाबाट एम.एफ.ए (मास्टर्स अफ फाइन आर्ट) पास गरी । अहिले मोफसलमा बसेर स-साना बालबालिकाहरूलाई चित्र सिकाउँदै, ऊ आफू पनि चित्रकर्ममा समर्पित, प्रदेश नम्बर पाँचभरिकै गर्विलो प्रतिनिधि, त्यही महिला कलाकारको नाम जो फाइन आर्टबाट ऊ मात्रै मास्टर्स गरेकी छे ।

“हुबहु चित्र कोर्नू सिर्जना होइन, कलाकारिता हो । अस्वीकार होइन, उत्पादन हो । बाहिरी सौन्दर्यको वर्णनमात्रै हो”, सुमित्रालाई यो लाग्छ कि, कलाको असली सौन्दर्य भित्र कतै अँध्यारोमा लुप्त हुन्छ । त्यसलाई बुझ्न, त्यसलाई उत्खनन गर्न गहिराईमा नपुगी सम्भव छैन । त्यसैले उसको स्वभाव पनि अब्स्ट्रयाक्ट  जस्तो छ । त्यसो त बीसौँ शताब्दीभन्दा पहिलेका कलाकारहरू यथार्थवादी चित्र नै बनाउँथे । जब सन् १९१० मा रूसी कलाकार वासिली क्यान्डिस्कीले संसारकै पहिलो अमूर्तचित्र सिर्जना गरे, उनले आफ्नो चित्रमा रंग र भावहरूको संयोजन गरिदिए, कलाकारहरूलाई लाग्यो- यसरी पनि चित्र बन्दोरहेछ । जब अमूर्त चित्रको प्रभाव बढ्दै जान थाल्यो, त्यसपछि कलामा विषयवस्तुका मान्यताहरू छाडिदै आए र प्रयोगात्मक चित्र सिर्जनाहरू हुँदैआए । जस्तो, पिएट मोंद्रीयानले आफ्ना चित्रहरूलाई घनवादमा आधार बनाएर, रचना सौन्दर्यलाई वस्तु निरपेक्षतिर विकसित गर्दै गए भने, सेजान, मोने, वान गोग, सिग्नाक, बोन्नार आदि कलाकारहरू प्रभाववादी चित्रहरूको गहिरो खोजमा लाग्दै गए ।

नेपालका प्रथम आधुनिक कलाकार को हुन् ? 

यसको जवाफ अहिलेसम्म नेपाली कला क्षेत्रमा सर्वमान्य प्रमाणीकरण हुन सकिरहेको छैन । एकथरि कलाकारहरूले लैनसिंह बाङदेललाई नेपालका प्रथम आधुनिक कलाकार मान्छन् भने, अर्का समूह गेहेन्द्रमान अमात्यलाई । त्यसो त गेहेन्द्रमान स्वयं आफूलाई स्वघोषित प्रथम आधुनिक कलाकार मान्दैआएका छन् ।

यद्यपि, कला समिक्षक रमेश खनालको विश्लेषण यस्तो छ,  “जब हामी आधुनिक कलाको कुरा उठाउँछौँ, तब इ.स. १८५० अघिका कलाकारहरूलाई भुल्नू हुँदैन । पश्चिमा शैलीमा वस्तुवादी चित्रहरू बनाउने राजमान सिंहका हजार चित्रहरू ब्रिटिस म्यूजियम, लण्डन, फ्रान्सको म्यूनिट म्यूजियममा संकलन गरिएका छन् । त्यसो हुनाले चित्रमा देखिएको पश्चिमा शैलीको प्रभाव नै नेपाली आधुनिक कलाको थालनी हो भन्नु पर्दछ । त्यसोर, बाङदेल र गेहेन्द्रमानभन्दा धेरै पहिला चन्द्रमान मास्के र तेजबहादुर चित्रकारले पनि पश्चिमा शैलीको अध्ययन गरेर राणाहरूका जीवनीपरक चित्र बनाए ।”, यसरी प्रथम आधुनिक कलाकारको नाम बहसमै रहे पनि, नेपालमा आधुनिक चित्रहरू भने बनिदैआइरहे । जसमा कालिदास, बालकृष्ण सम, केशव दुवाडी, गेहेन्द्रमान अमात्य, लैनसिंह बाङदेल, उत्तम नेपाली, उर्मिला गर्ग, शशी शाह, लक्ष्मण श्रेष्ठ, वत्स्यगोपाल वैध, कृष्ण मानन्धरलगायत रमेश खनालहरू नेपाली आधुनिक कलाको विकासका लागि समर्पित नामहरू हुन् ।

=================

सेमी-अब्स्ट्रयाक्टमा सुमित्रा :

शब्दमा आगो लगाएर कविहरू कविताको आवाज बोल्छन्, गीतको हृदय पगालेर गायकहरू संगीतको आवाज बोल्छन्, त्यसरी नै ऊ एउटी कलाकार जो रंगैरंगको घना जंगलमा पुगेर रंगहरूको आवाज बोल्दै आइरहेकी छ । उसको आवाज सुन्नेहरू कसै न कसैले एकदिन जरूर खबर लिएर आउनेछन् कि फैलिएर त्यसको प्रतिध्वनि कति टाढासम्म पुगिरहेछ ? यसैले पनि ऊ,  झ्यालबाट कुनै सुन्दरीले आधा अनुहार छोपेर दूर क्षितिजतिर हेरिरहे झैँ, हराइरहेका अनुहारहरूको खोजीमा कतै दूर हेरिरहन्छ ।

हो, उसको बाटो अलग छ । अलग यसर्थमा कि मूर्त र अमूर्तशैलीको बीचबाटोमा ऊ आफ्नो गन्तव्य हिँडिरहन्छ । हिँड्दाहिँड्दै बाटोमा उसले वर्षौंदेखि पानी खोज्दाखोज्दै ओठ सुकेर लडिरहेका ढुंगेधाराहरू देख्छ । तिर्खाले छटपटाइरहेका वस्त्रहीन इनारहरू देख्छ । धमिराले खाइसकेर, अवशेष बाँकी पौराणिक हस्तकलाहरू देख्छ । अनि दुख्छ, जोरसँग दुख्छ, भित्रैसम्म दुख्छ उसलाई । र, यो देशलाई उसले रंगहरूको भाषामा खबरदारी गर्छ, “यी हाम्रा अमूल्य सम्पदा हुन्, संरक्षण गरौँ ।”

“कहिले युवतीका अनुहारहरूमा एसिड खन्याउने कुरूप औंलाहरूको क्रुरताप्रति घृणा गर्छ, कहिले शक्तिको उन्मादमा कुनै भ्रष्टमान्छेको पछिल्तिर उभिइरहेका चाकरीबाजहरू देखेर घृणा गर्छ । आखिर घृणा पनि दुखेरै भएको हो नि !   हैन र, जीवित जी ?” उसले दुखेका कुरा गर्दागर्दै एकदिन आफू सबैभन्दा बढी दुखेको कुरा सुनाई, “पछिल्लोपटक भुकम्प आउँदा प्रत्यक्षदर्शी थिएँ म । ती जो दृश्यहरू  हेरिनसक्नूको थियो । कहीँ मरेका लासहरू यत्रतत्र, कहीँ बाँच्ने आशामा  भग्नावशेषबाट दर्दले उठिरहेका करुणामयी हातहरू । जसले म सबैभन्दा बढी दुखेँ । त्यस्तै अर्को एउटा हृदयविदारक घटना, प्रदेश नं ५ को क्षेत्र बाँडफाँडमा ठूलो आन्दोलन भयो । मानव सागर उर्लियो । कैयौं निर्दोष मान्छेको ज्यान गयो । सोंचे,- ‘हामी बुद्धको देशमा बुद्धलाई नै टुक्राटुक्रा पारिरहेछौँ ।’ साँच्चै, जीवित जी ! मलाई यी दुई घटनाले धेरै विक्षिप्त बनायो । र, मैले आफ्ना भावनाहरूलाई क्यानभासमा उतार्ने कोशिश गरेँ ।”

==================

त्यसो त आजसम्म सुमित्राका पेन्टिङहरू एकल/सामुहिक गरेर थुप्रैपटक प्रदर्शनी भैसकेका छन् । उसलाई थुप्रै संघसंस्थाहरूले सम्मान-अभिनन्दनसमेत गरिसकेका छन् । उसले स्वयं कैयौंपटक प्रतियोगिता जितेर अवार्डहरू हात पारिसकेकी छे । तर एकदिन भैरहवाको जहाजमा, काठमाडौं ओर्लिएको उसको तस्बिर फेसबूकमा देखेँ मैले । मनमा कौतुहलता लाग्यो । खासमा त्यो विशेष एकदिन, केशव दुवाडी स्मृति प्रतिष्ठानले कलाकर्ममा विशिष्ट योगदान पुर्याएवापत अधिराज्यभरिबाट तीनजना स्रस्टाहरूलाई ‘ललितकला प्रतिभा पुरस्कार’द्वारा अभिनन्दन गर्ने कार्यक्रम रहेछ । जसमध्येमा एक थिई सुमित्रा । ऊ सम्मान-ग्रहणपछि, उसैगरि काठमाडौंबाट भैरहवा ओर्ली | मैले मनमनै विगत सम्झेर मुसुक्क हाँसे, “दस-बाह्र बजेसम्म निसंकोच सुत्ने त्यस्ती सुत्वै केटी आज यहाँसम्म आइपुगी । अझै धेरैमाथि पुगोस् !”

खुसी लाग्यो, गर्व लाग्यो । तत्काल म्यासेजमा बधाईसहित लेखेँ-

  • मख्खै हो ?  मिठाई खुवाउनु पर्दैन ?
  • खुवाउँला’नि, जीवित जी ! हाहाहा ….!
  • हाहाहा ….!

Loading...