नेपाली साहित्यको सम्पूर्ण पत्रिका

काठमाडौँमा एकदिन

बिपिन भारद्वाज

अग्निस्थापना विधि सकेपछि पुरोहितले दागबत्ती एक युवकको हातमा थम्याइदिए । करिव एक्काईस–बाईस वर्षको त्यो युवक सायद मृतकको छोरो हुनुपर्छ । शून्यता सोचमा उसले लासलार्ई आगो थम्याइदियो । उसका आँखाले लासलाई अन्तिमपटक हेर्न चेष्टा गरेनन् । सायद सकेन ।

kathmandau ma ekdin

पशुपति मन्दिर परिसरमा हामी घाटतर्फ फर्किएर उभिएका थियौँ । सबैको नजर भर्खरै घाटमा तेर्साइएको लासमाथि थियो । कसको लास भन्ने विषयमा हामी अनविज्ञ थियौँ, तर लास एक महिलाको हो भन्ने कुराको प्रमाण कात्रोभन्दा बाहिर फिँजिएको कपालले पेश गरिरहेको थियो । लासका खुट्टा बागमती नदीमा चिस्याउन हालेझैँ देखिन्थ्यो ।

हामी मन्दिरपछाडिको अग्लो ठाउँबाट तल हेरिरहेका थियौँ । घाटवरिपरि केहीथान मान्छेको भीड देखिन्थ्यो । उनीहरू आँखामा केही अञ्जुली आँसु बोकेर बसेका थिए । चित्कारसँगैै कोहीका आँखाले आँसु थाम्न सकिरहेका थिएनन् । उनीहरूको गाला हुँदै भुइँमा बग्रेल्ती आँसु चुहिरहेको थियो । यो दृश्यले तिनीहरू मृतकका निकटका लाग्थे ।

 

बिपिन भारद्वाज
सान्दर्भिक पोस्ट

बिपिनको गजल

अग्निस्थापना विधि सकेपछि पुरोहितले दागबत्ती एक युवकको हातमा थम्याइदिए । करिव एक्काईस–बाईस वर्षको त्यो युवक सायद मृतकको छोरो हुनुपर्छ । शून्यता सोचमा उसले लासलार्ई आगो थम्याइदियो । उसका आँखाले लासलाई अन्तिमपटक हेर्न चेष्टा गरेनन् । सायद सकेन । ऊ फनक्कै फर्केर अर्को कुनामा गएर घोप्टे पर्यो ।

टायर र सुख्खा दाउराको आडमा आगोले आफ्नो रूप बढाएर देखायो । धुवाँले घाटको अनुहार धमिलो भयो । एकसर्को धुवाँ हामीसम्म पनि आइपुग्यो । आन्द्रै बटार्ने खालको गन्ध मिसिएको धुवाँ हामीले नचाहेरै पनि निल्यौँ । सन्देशले माक्स लगाउँदासम्म मैले आफ्नो गोजीबाट रुमाल निकालेर मुख छोप्न भ्याइसकेको थिएँ । रुमालमा पोतिएको पर्फ्युमको मोहकले दुषित गन्धलाई जित्न सफल भयो ।

यो चानचुने रुमाल नहुँदो हो । कसैको यादको बुट्टा यसमा स्पष्ट देखिन्थ्यो । सायद कोही खास सम्बन्धको धागोबाट बुनेको हुनुपर्छ । यसलार्ई अति सुन्दर तरिकाले प्रयोग गर्नुमा नै यसलार्ई न्याय मिल्थ्यो । अति दुषित गन्ध रोकावटका निम्ति यसको प्रयोग गरेर यसको दुरूपयोग मबाट हुनु कुनै गल्तीभन्दा पनि अग्लो भुल थियो । भनिन्छ, लासबाट निस्केको धुवाँ सबैभन्दा घातक हुन्छ । यसले शरीरलार्ई ठूलो क्षति दिलाउँछ । मैले आफूलाई बचाउने सुरमा रुमालको बेसुर प्रयोग गरेको थिएँ ।

हामी भीडलार्ई छिचोल्दै निस्कन लाग्यौँ । क्यामेरामा हुबहु दर्दनाक दृश्य कैद गर्दै रमाइरहेका कुहिरेहरूलार्ई हेर्दैहेर्दै हामी पशुपतिको जङ्गलतर्फ निस्कयौँ । आफूलार्ई चोट नलागुन्जेल मानिसले ऐयासम्म शब्द चिनेको हुदोरहेनछ भन्ने सोच ममा तत्काल पलाईो । हामी त्यतैबाट मित्रपार्क निस्कियौँ ।

पुरानो खुइलिएको खागीका कपडाजस्तै देखिने बाटामा हामी पोखिन पुग्यौँ । लाग्छ, चाबहिल चोकदेखि गौशालासम्मको यो बाटो वर्षौँदेखि यही रङमा सझिएको हो । काठमा अनेकौँ रङ लेपन गर्दासमेत खुइलिएर टाटेपाङ्ग्रे प्राइमर देखापर्नु झैँ हो यो दूरीभित्रको सडकको रोग ।
महानगर यातायातलार्ई हातको इशारा देखाउँदै हामी चाबहिलपट्टिबाट रिङरोडमा बेरिन सुरु भयौँ । बिहान हेर्दा तल उभिएको घडीको घण्टा सुइ सिधा माथि उक्लिसकेको थियो । यो अर्थमा हामी मध्यान्तरको तातो धुलोमा रनभुल्ल थियौँ । बेलाबेला सहचालकले ठाँउको जानकारी गराइराख्थे । सुकेधारा, धुम्बाराही, महाराजगन्ज, बसुन्धारा आदि नाम कानमा बजिरहन्थ्यो ।

गाडी रोकियो । प्रायः सिटमा रित्तिने सुर चढ्यो । ढोकामा उत्रने यात्रुहरूको भीड देख्दा बसपार्क पुगेको सजिलै अडकल काट्न सकिन्थ्यो । अगाडि पछाडि छुटिएर बसेका सन्देश र म फेरि एकै सिटमा जोडिन पुग्यौँ । मनमा अनेकथरि कल्पना गर्दै हामी अघि बढ्यौँ । गाडीभन्दा कयौँ छिटा थिए हाम्रा सोचहरू । कोठमा पुगेर बिहानदेखिका जुठा भाँडा देख्न भ्याइसकेका थिए यिनीहरूले ।

यात्रारत हामी एकान्तकुनामा पुगेर उत्रीयौँ । रिङरोडको एक फन्को आज अपूरै रह्यो । सायद पूर्णिमा र औँशीबिचको चन्द्रमाको आकारजत्रो छाप हाम्रो यात्राबाट बन्यो । एकान्तकुनाबाट जाउलाखेल हुँदै पुल्चोक इन्जिनियरिङ कलेज छिचोलेर हामी प्रायः पाटनढोका पुग्थिऊँ । पाटन बहुमुखी कलेज हेरेर त्यहाँबाट गल्ली हुँदै लगनखेल बजार निस्कन्थ्यौँ । यो अर्थमा रिङरोडको एकचक्करभन्दा दोब्बर उल्झिएको देखिन्थ्यो हाम्रो यात्रा ।
चाबहिलबाट सिधै कोटेश्वर हुँदै पनि लगनखेल पुग्ने सवारी नपाउने होइनन् । तर यसमा सहजता थियो । हामी जोखिमलार्ई यो अर्थमा स्वीकार्न तयार थियाँै कि चाबहिलदेखि एकान्तकुना पुग्दासम्म गाडीको सिटमा पाएको आनन्द त्यहाँदेखि पुल्चोक पुग्दासम्म खर्च गर्थिऊँ । पुल्चोक कलेजका छात्राहरूको रूपको दर्शनले पाटनढोकासम्म पुग्ने उर्जा मिल्थ्यो । पाटन बहुमुखी क्यामपसमा कसैसँगको भेटले त झन् अमर जीवन जिउने रहर टुसाउँथ्यो । यतिमात्र हैन, कोठामा पुगेर मोबाइलको पेडोमिटरले नापेको लम्बाइको स्क्रीनसट अरू साथिलाई पठाएर गह्रौं धाक लगाउनुमा छुट्टै मजा जो थियो ।

लगनखेलको वल्लो छेउमा कृष्ण दाइको नेवारी खाजा पसल नपुगी सुनमा सुगन्ध मिल्दो थिएन । हामी बिहान जुनै ठाँउका लागि निस्किए पनि, जतैबाट फन्को लगाए पनि यात्राको बिट भने कृष्ण दाइकोमा नै टुङिन्थ्यौँ । हामी कृष्ण दाइसँग सम्बन्धको हिसावले निकटामा पुगेका थियौँ । भान्सामा खाजा बनाउनेदेखि जुँठो भाडा माझ्नेसम्मको दिमागमा हाम्रो अनुहार बसेको थियो ।

टेवल नम्बर सात हाम्रो पेवाभन्दा पनि आफ्नो थियो । कोही अरू ग्राहक बसेको भए कृष्ण दाइ आफँै आएर मुस्कुराउँदै ग्राहकलार्ई अर्को सिटमा सारेर हामीलाई बस्ने वातावरण मिलाइदिन्थे । सायद अंक सात लक्की अंक भएर हामी सधै त्यसमा बसेको लाग्थ्यो कृष्ण दाइलाई । तर असलमा म ऐनाप्रेमी थिएँ । ऐनाको अगाडि उभिएपछि समयसँग चिनजानै हराउनेगरी म टोलाउथेँ । म आफैँमा आफूप्रति यति प्रेम थियो कि आँखा नगलुन्जेल ऐना हेर्नसक्ने क्षमता ममा थियो ।

टेवल नम्बर सातबाट सामुन्ने पर्नेगरि ठूलो ऐना राखिएको थियो । यसमा म आफ्ना बाटुला आँखालार्ई आँखाले नै हेर्न सक्थेँ । आफ्नो ठूलो निधारभित्र अँटेको भाग्यको आकारको कल्पना गर्नसक्थेँ । यी ऐनाभित्रका नजर नि मलाई यति मजबुत आकारमा हेर्थे कि लाग्थ्यो मलाई खुब रुचाँउछ्न ।

यो पसलमा खाजा के खाने भनेर मगाइराख्नु जरुरी थिएन । हाम्रो निरन्तरताले काम गर्ने भोला दाइलाई सहजता प्रदान गरेको थियो । दुई कप स्पेसल दूध चिया र दुई प्लेट मःमको भार थेग्ने बानी हाम्रो आगमनसँगैै टेवलमा थियो । मःम र चिया आएको करिब पन्ध्र मिनेटपछि दुइटा सूर्य चुरोट लिएर कृष्ण दाइ आफैँ आए । टेवलमै बाँधेर राखिएको लाइटरको सहायतामा मैले आगो सल्काएँ । बेलाबेला एस्ट्रेमा ठोकाउँदा खरानी उढ्थ्यो त धुवाँ फोक्सोसम्म ठोकिएर प्रतिसेकेन्ड प्रतिघन सेन्टिमिटर उड्थ्यो ।

पिउने चुरोटको संख्या निर्धारण कति वजनका यादलाई मेटाउनु छ भन्ने उचाइमा नाप्ने गरिन्छ । बेलाबेला भारी तनावमा बट्टाबट्टा नै चुरोट किनेको दिन यसमा लेखिएको ’धूम्रपान स्वास्थका लागि हानिकारक छ’, भन्ने अक्षर देख्दा मर्ने दिन नजिक आएछ भन्ने लाग्थ्ये । “तँ ज्यादा चिन्ता लिन्छ्स् ! मभन्दा तँ नै छिठो मर्छ्स ! एक चिन्ताले मर्छ्स, अर्को चुरोटको असरले । यो अर्थमा तेरो आयु दोब्बर छोटिँदैछ !“ सन्देशले बारम्बार यस्ता वाक्य ममाथि नतेर्सियाएको होइन । र ऊ म जति धूम्रपान नगर्ने पनि होइन । म पनि त हो है ! को भाकामा फिस्स हाँसो हाँसिदिन्छु । यो सम्वादमा पूर्णबिराम सजिलै लाग्छ ।

लगनखेल बजारबाट भित्र पुराना नेवारी अनुहारका गल्ली हुँदै हामी च्यासल पुग्छौँ । त्यहाबाट देब्रे करिव दुई मिनेटमै एउटा पुरानो शैलीको घरको गेट खोलिन्छ । सन्देश सरासर भित्र पस्छ । म भने गेट लगाएर मात्र भित्र छिर्छु । म भित्र पुग्दासम्म ताल्चा खुलिसकेको हुन्छ । सन्देशले ढोकाभित्र ठेलेर ढोकैछेउको स्वीज थिच्छ । कोठाको एकभित्तामा टाँसिएको सि.एफ.एल. उज्यालो रूपमा मुस्कुराउँछ । ढोकै पछाडी दुबैले आआफ्ना जुत्ता फुकालेर राख्छौँ । मोजालाई त्यसैमा लुक्ने ठाउँ मिल्छ । पालैपालो बाथ्रुममा राखिएका काला ड्रामबाट पानी उघाएर बहुत जतनसात खुट्टा भिजाउँछौ। खाटमा लडिबडी गर्दै सुतेका सिरकले दुबैलाई पालैपालो हेर्छ। त्यसपछि म सन्देशलाई हेर्छु। उ फेरि सिरकलाई हेर्छ। एक चक्कर हेर्ने कार्य पूरा भएपछि उ अनुभवी कपडा पसलेझै सिरक पट्याउँछ। म अर्को कुनामा थुपारिएका जुठो भाडा देख्छु, एकटकले हेर्छु, अनि छुन्छुपनि। बटुकामा गुन्द्रुकका टुक्रा कताकता टासिंएको भेटिन्छ। यसको अमिलोपन सम्झन्छु । अनि आमा सम्झन्छु ।

गाँउबाट कोसेली पोक्याएर पठाएको उनको गुन पनि याद आइहाल्छ । मन घर सम्झेर भावुक बन्न नपाउदै क्रमबद्ध रूपमा कुकर मस्काउने पालो आउँछ। यस अर्थमा यो अन्तिम मुस्किल कार्य हो । उता सन्देशले आलुको बोक्रा तास्ने काम सकिएको देखिन्छ। सानो गिलासले चामल कुकरमा हाल्ने बेलामा उ मतिर पुलुक्क हेर्छ । म भोकको निर्धारण गर्छु। आँखाको चाल बुझ्नमा उ माहिर छ। एक र आधा गिलास चामल कुकरमा हालेर धोएपछि उ औला चोबेर पानीको मात्रा नाप्छ। कुकरमा बिर्को लगाउदा चनाखो भएर कागजको टुक्रा बिर्कोको बिँडमा अडकाउन बिर्सदैन। ध्यानसंग यति गर्नु उसमा भोकको मात्रा ज्यादा छ भन्ने बुझिनु हो। पालो हेर्नेहो भने म तरकारी बनाउन बाध्य हुन्छु। अचानक आँखा रसाउँछ्न ।

यो कसैको यादमा बगेको आँसु होइन। बरु यो प्याजमा भएको सल्फरको करामत हो भन्ने मलाई दस कक्षामा पढाउने गुरुले बताएको याद आउँछ। कोठाको भान्से हुनुमा दस कक्षामा त्यो बेलाका राम्राराम्रा केटिसाथीलाई पालैपालो सम्झ्ने फुर्सदसम्म निकाल्न मुस्किल पर्छ। कुकरले एक सिटि मार्छ। म ग्याँस मार्छु। यतिन्जेल सन्देशलाई मोबाइल चलाएर खाटमा पल्टने अनुमती यो अर्थमा छ कि बेलुकाको भाँडा माझ्दा उसलाई मबाट कुनै सहयोग मिल्दैन। खाना पस्कने काम मबाट हुन्छ। ऊ हात धोएर मुढामा बस्छ। हात धुनु अधि उसले खाटको डसना ध्यानपुर्वक पल्टाएर खाना राख्ने ठाउँ बनाउँछ। मुढामा बसेर खाटमा राखेर खाना खाने कार्य हामीबाट सुरु हुन्छ। उ आफ्ना हातले खाइरहँदा मभने चम्चाको सहायता लिने गर्छु ।यो क्रम धेरै अघिदेखि चल्दै आएको सम्झना छ। कति अघिदेखि हो भन्ने सम्झ्ना भने छैन। यो गर्मी महिना हो भन्ने कोठाको एककुनामा घुमिराखेको टेवल पंखाको आवाजले भुल्न दिदैन। अर्को छेउमा अन्डा राख्ने कार्टुन बाल्नुले पनि लामखुट्टे लाग्दोरहेछ भन्ने संकेत पक्कै गर्ला। भित्तामा झुण्डिएको क्यालेन्डर केही बोल्न बोल्न खोजेझै देखिन्छ। सायद बोली भए घरभाडा दिनेबेला भन्यो भन्थ्योहोला ।

सम्झिन्छु, यसले नि घरबेटिलेझैँ नेवारी टोनमा बोल्थ्यो होला, “ओ केटा हो मैना मर्यो ट ! घरभाडा टिर्नी होइन ? बट्टिको पनि धेरै उठेको होला ! ढिलोको भोलिसम्म डिनु है !“

घरबेटी भन्नेबित्तिकै मलाई यही बाक्री, टोन अनि बुढाको चाउरिएको अनुहार याद आउँछ । बत्तीको बिल ज्यादा उठ्छ भन्ने ख्याल बूढाले यादमै सम्झाएपछि पंखा नमारिकन बस्नै सक्दिनँ । मारेर पनि बस्नै सक्दिनँ । बिकल्पमा भुइँतलाकै भए पनि झ्याल खोलिन्छ ।
यो एकदमै जोखिम कार्य हो । च्यासलको गल्लीमा रातभरि मातेर हिन्ने मान्छेको होहल्ला नसुनिने होइन । हल्ला गर्ने भन्दा पनि हल्ला नगरी हिन्नेबाट ज्यादा डराउनु जायज छ । धेरैपटक झ्यालबाट डन्डा छिराएर कोठामा झुण्डियाइएका पाइन्ट अनि सर्टहरू नतानिएका होइनन् । एकपटक त कोठाभित्रै सन्देशले सर्प पनि भेटेको याद छ । छिमेकी कोठका सबैले झ्यालबाट आएको हुनसक्ने बताएका पनि थिए । सन्देशले भाँडा माझीसक्दा मैले झुल लगाएर खाटलाई बेहुलीजस्तै सजाउन सफल भएँ ।

आज बुधबार हुनुमा यो समयको उपभोग गरेर घुम्ने समय निकाल्नमा खर्च गरियो । बुधवार ढिलो बार भनेर हामी प्रायः सबै काम बार्ने गर्छौँ । बुधबार हाम्रो दैनिकीको कुनै कार्य सम्पन्न नहुने दिन हो । भोलि फेरि कलेजले गाँज्नेछ । ती ठुल्ठूला किताबले पिरोल्नेछ्न । आफ्नो दैनिकीले समाउनेछ । घरबाट आएका फोनहरूको जवाफ दिनुपर्ने छ । र यो जिन्दगीमा फेरि यस्तै बुधवार आउन अब हामीले अर्को बुधवार कुर्नुपर्ने छ ।

Loading...