नेपाली साहित्यको सम्पूर्ण पत्रिका

भारत र नेपालको नेपाली भाषा: तुलनात्मक दृष्टि

नवीन पाैड्याल

भाषाको प्रकृति र प्रवृत्ति – भाषा मानिसको एउटा ठूलो सम्पत्ति हो। यसकै माध्यमबाट मानिसले आफ्नो भाव, विचार विनिमय गर्छ। मानिसले आफ्नो भावलाई बोलेर तथा लेखेर अभिव्यक्ति गर्छ। भाषा परिवर्तनशील वस्तु हो। यो नित्य परिवर्तनको मार्गमा हिँडिरहेको हुन्छ। भाषा खासगरी आर्जित सम्पत्ति हो, जो परिवेश र अनुकरणले सिकाउँछ।

रूपरेखा

  • नवीन पौड्याल

    भाषाको प्रकृति र प्रवृत्ति – भाषा मानिसको एउटा ठुलो सम्पत्ति हो। यसकै माध्यमबाट मानिसले आफ्नो भाव, विचार विनिमय गर्छ। मानिसले आफनो भावलाई बोलेर तथा लेखेर अभिव्यक्ति गर्छ। भाषा परिवर्तशील वस्तु हो। यो नित्य परिवर्तनको मार्गमा हिँडिरहेको हुन्छ। भाषा खासगरी आर्जित सम्पत्ति हो जो परिवेश र अनुकरणले सिकाउँछ।

  • नेपाली भाषाको सामान्य परिचयात्मक अध्ययन –

नेपाली भाषा एक समृद्धशाली भाषा हो। यो लगभग एक हजार वर्ष अघिदेखि प्रचलनमा आएको एउटा जीवन्त भाषा हो। यसका वक्ताहरू मुख्य गरी नेपाल र भारतमा रहेका छन् भने विश्वका केही देशहरूमा छरिएर बसेका छन्। नेपालको राष्ट्रभाषा, नेपाली गोर्खाली समाजको साझा भाषा, यता भारतका लगभग करोड गोर्खालीको मातृभाषा, भारतको संवैधानिक राष्ट्रभाषाको रूपमा रहेको छ। विश्वमा नेपाली भाषाको विस्तार र विकास बढ्दो देखिन्छ। युरोप अमेरिका, दक्षिणपूर्व एशिया र मध्य एशियामा नेपाली साहित्यिक सङ्गठनहरूको उपस्थिति र अस्तित्व देखिनाले अब यो भाषा विश्वव्यापी बन्ने क्रम देखिन्छ।

नेपाली भाषाको मूलस्रोत संस्कृत हो। नेपाली भाषा यसकै परिधिमा रहिआएको छ। संस्कृतको लौकिक संस्कृत, प्राकृत र अपभ्रंश हुँदै यसको उत्पत्ति भएको देखिन्छ। संस्कृतबाहेक यसमा अन्य भाषागत स्रोत पनि ग्रहण गर्दैआएको छ। गङ्गोत्रीबाट उत्पन्न भएको मूल गङ्गा नदीमा अरू नदीहरू मिसिदै मिसिदै विशाल गङ्गा बनेझैं संस्कृतको मूलबाट बनिएको नेपाली भाषामा अन्य भाषाहरू पनि मिसिदै मिसिदै एउटा विशाल नेपाली भाषा विकसित भएको छ। संस्कृतबाहेक नेपाली भाषा छिमेकी भाषाहरू, आफ्नै जात-गोष्ठीका भाषा, युरोपेली भाषा र अरब-ईरानेली भाषाहरूबाट पनि शब्दादि ग्रहण गरी एउटा समृद्धशाली भाषा बनेको छ। यद्यपि जहाँबाट र जसरी उत्पत्ति भए पनि,  जहाँबाट ग्रहण गरे पनि पनि यसको आफ्नै वर्ण व्यवस्था, वियाकरणिक विशेषता र मौलिकता रहेका छन्। हाम्रो उच्चारण पद्धति, लय र बलाघात प्रणाली आफ्नै किसिमको छ।

  • भारतमा नेपाली भाषाको अस्तित्व –

भारतमा नेपाली भाषाको वक्ताहरूको उपस्थिति पनि दुई सय वर्षदेखि प्रचलित छ। दार्जिलिङमा नेपालीभाषी

  • भाषिका र नेपाली भाषाको भाषिका –

विश्वमा नेपाली भाषा एउटै छ। यसको मानक स्वरूप, व्याकरण एउटै छन्। यद्यपि एउटै व्याकरण व्यवस्था र मानक भए तापनि वक्ताहरूको बोल्ने शैली भने ठाउँ विशेषको केही भिन्नाभिन्नै छ। नेपाली भाषा आफ्ना भाषिकाहरूले भरिपूर्ण भएको एक सुसम्पन्न भाषा हो। यसको व्याकरणगत मूल आत्म एउटै छ तर बाहिरी स्वरूप भने ठाउँ-ठाउँ विशेषको केही फरक देखिन्छ। नेपालका विभिन्न जिल्ला र अञ्चलमा पनि नेपाली भाषा एकै खालको भेटिन्न। बोल्ने तरिका, शैली, वक्ताको शारीरिक, मानसिक, शैक्षणिक, सामाजिक स्तर अनुरूपको बोली हुनाले भाषागत व्यापकता परिलक्षित हुन्छ। नेपाली भाषाको जति पनि भाषिका सर्वेक्षण भए ती जम्मै नेपालकेन्द्रित रहेका छन्। यद्यपि नेपाल र भारत दुवैतर्फ मिलाएर भाषिक सर्वेक्षण भएको छैन। बालकृष्ण पोखरेल आदिले भारतको नेपाली भाषिकालाई एउटै गोर्खाली उपभाषिका भनेर टुङ्ग्याएका छन् भने चूडामणि बन्धु, देवीप्रसाद गौतम लगायतको अध्येताहरूले पनि भारतको नेपाली भाषालाई नेपालको पूर्वीय नेपाली भाषिकाभित्र गाभेका छन्। यी विद्वानहरूको उक्त सर्वेक्षण र मतले भारतका दार्जिलिङ-सिक्किम, असम, देहरादुन आदितिर सबैलाई समेट्न सक्दैन। चूडामणि बन्धुले पश्चिमी भाषिका समूह, मध्य भाषिका समूह र पूर्वीय भाषिका समूहझैं भारतका विभिन्न प्रान्तमा बोलिने नेपाली भाषालाई पनि यसरी नै तीनवटा भाषिका समूहमा वर्गीकरण गर्न सकिन्छ। भारतमा बोलिने नेपाली भाषाका निम्ति अलग्गै अर्को निम्न किसिमले भाषिका निर्धारण गर्न सकिन्छ-

  • पश्चिमाञ्चल भाषिका समूह – यस समूह देहरादून, भाक्सू, नैनीताल, दिल्ली, राँची आदितिर बोलिन्छ। यो समूह धेरै मात्रामा हिन्दीसित प्रभावित छ।
  • मध्यमाञ्चल भाषिका समूह – यस मध्यमाञ्चल समूहमा दार्जिलिङ – सिक्किम, डुवर्स आदि प्रान्त पर्छन्। यी क्षेत्रको सम्पर्क भाषाका रूपमा नेपाली भाषा प्रचलित छ। यस भाषिका क्षेत्रमा एकातिर अंग्रेजी भाषाको प्रभाव र अर्कातिर अन्य छिमेकी भाषाहरूको प्रभाव देखिन्छ। यसमा अंग्रेजीका पछि हिन्दी, बाङ्ला र हाम्रा जात-गोष्ठीका भोट हिमाली वर्गका भाषाहरूको प्रभाव पनि देख्न-सुन्न पाइन्छ।
  • पूर्वाञ्चल भाषिका समूह– पूर्वाञ्चल भाषिका समूहभित्र असमलगायत पूर्वाञ्चलका विभिन्न प्रान्तमा बोलिन्छ। यस समूह बढी असमीय भाषाबाट प्रभावित भएको पाइन्छ। असमे नेपालीहरू छपडीमा कुँयेरको खेती गर्दै गाखिर पनि निकाली बेबसाइ गर्छन्। सारले आज टान प्रश्न सोधो भनी गुनासो गर्छन्।
  • नेपालको नेपाली भाषा र भारतको नेपाली भाषा – भारत र नेपालको नेपाली भाषा एउटै हो। नेपालको राष्ट्रभाषा नेपाली भएकाले प्रायः देशभरि बोलिने, लेखिने र सरकारी कामकाजको भाषाको रूपमा रहेको छ। यता भारतमा भने दार्जिलिङको पहाडी अञ्चलको सरकारी कामकाजको भाषा र सिक्किम राज्यको सरकारी मान्यताप्राप्त प्रमुख भाषाको रूपमा नेपाली भाषा रहेको छ। दार्जिलिङ र सिक्किमको प्रमुख भाषा, सम्पर्कको भाषा र चलनचल्तीको भाषा र पठन पाठनको भाषाको रूपमा पाइन्छ। दार्जिलिङको पहाडी अञ्चलका सबै विद्यालय र महाविद्यालयमा नेपाली भाषाको पठनपाठन हुन्छ भने धेरैवटा  विद्यालयमा माध्यमको रूपमा पनि नेपाली पाइन्छ।
  • कोशीय तुलना– नेपाली भाषा एउटै भए तापनि केही भाषिकागत भेदका आधारमा भिन्नता छुट्याउन सकिन्छ। केही शब्दहरूको मूल अर्थ एउटै भए तापनि भारत र नेपालको नेपालीभन्दा भारतको नेपाली शब्दको अर्थ भिन्नै देखिने गरेको पाइन्छ।

ओर्लनु- झर्नु

सकिनु- तुर्नु

  • वर्णगत तुलना– नेपाल र भारतको नेपाली भाषा एउटै हुनाले दुवैतिरका वर्ण समान छन्। दुवैतिरका वर्ण तुलना गर्दा खासै फरक देखिन्न। यद्यपि य़ता भारतका शिशु कक्षामा वर्णमाला सिकाउँदा अहिलेसम्म ड़ ढ़ वर्णहरू सिकाइन्छ। हिन्दी वर्णमालामा यी तलथोप्ली ड़ र ढ़ रहेका छन्। भाषिक व्यवस्था वक्ताको इच्छामा निर्भर हुन्छ भन्ने मान्यता छ। पानी, मान्छे, घर भन्नु यी वस्तु र शब्द र वर्णमा केही सम्बन्ध छैन। वक्ताले मानेर ल्याएको मात्र हो। यसकै आधारमा हेर्नु हो भने यता दार्जीलिङ- सिक्किमका नेपाली भाषी समुदायलाई यदि ड़ र ढ़ प्रयोग गर्ने अभ्यास, सुविधा, अनुकूल र इच्छा रहेको छ भने यी दुई वर्ण स्वतः रहन्छन्। तलथोप्ली ड़ र ढ़ पदादिमा नआए पनि पदमध्य र पदान्तमा स्पष्ट परिलक्षित हुन्छन्। नेपाल र भारत (भारतको असममा तलथोप्ली ड़ र ढ़ बिनाको नेपाली वर्णमाला चलनमा छ) मा शब्दप्रयोग-

नेपाल–         भारत

डाँडा-          डाँड़ा

डाडु-          डाड़ु

काँढा-         काँढ़ा

भड्डु-         भड़डु

गड्याङगुडुङ-     गड़याङगुड़ुङ

बडी-          बड़ी

  • वाक्यगत तुलना– कथ्यस्तरमा वाक्यको तहमा नै नेपाल र भारतको बोलीको भिन्नता छुट्टिन खोज्छ। नेपालका अधिकांश वक्ताहरूले केही व्याकरणिक नियम पालन गरेर बोल्न सक्छन्।
संख्या नेपाल भारत
  १. अब हामी जान्छौं आबो हामी जान्छ।
  २. मैले काम सकेको छुइनँ। मैले काम नतुरी छ।
३. अब म जान्छु। आबो मो जान्छ।
४. आमा घर जानुभो। आमा घर गयो।
५. हामीले सबै खाना खायौं। हामीले डल्लै खाना खायो
६. गाउँमा कुकुर भुके। गाउँमा कुकुरहरू भुक्यो।
७. साथीहरू घर फर्किए। साथीहरू घर फर्कियो।
८. उहाँले योगदान दिनुभएको थियो। उहाँले योगदान दिएका थिएछ।
९. तपाईंले खाना खानुभो? तपाईंले खाना खायो?

 

  • कथ्यगत तुलना– कथ्यको तहमा भने नेपाल र भारतको नेपाली भाषिका स्पष्ट छुट्टिन्छ। बोलीको तान, लय, शैलीदेखि लिएर व्याकरणगत सबै तहमा भाषिकागत भेद छुट्टिन्छन्। व्याकरणिक कोटिका रूपमा रहेका लिङ्ग, वचन, पुरूष, आदर, कारक आदिमा भारतको कथ्य स्पष्ट देखिन्छ।

९.१. आदर प्रयोगगत तुलना-

आदर नेपाल भारत
तँ तँ बजार जान्छस्। तों बजार जान्छस्।
तिमी तिमी बजार जान्छौ। तिमी बजार जान्छ।
तपाईं तपाईं बजार जानुहुन्छ। तोंपाई बजार जान्छ।
उनी उनी बजार जान्छन्। उनी बजार जानुहुन्छ।
उहाँ उहाँले राम्रो काम गर्नुभयो। उहाँले राम्रो काम गर्‍यो।

 

९.२. लिङ्ग प्रयोगगत तुलना-

लिङ्ग नेपाल भारत
पुलिङ राजु बजार गयो। राजु बजार गयो।
स्त्रीलिङ तारा बजार गईन्। तारा बजार गयो।
स्त्रीलिङ दिदी बजार गईन दिदी बजार गयो।
पुलिङ रूखबाट पात झर्‍यो। रूखबाट पात झर्‍यो।

 

९.३. वचनगत तुलना –

वचन नेपाल भारत
एकवचन म बजार जान्छु। म बजार जान्छु।
एकवचन तिमी बजार जान्छौ। तिमी बजार जान्छौ।
एकवचन ऊ बजार जान्छ। ऊ बजार जान्छ।
बहुवचन हामी बजार जान्छौं। हामेरू बजार जान्छ।
बहुवचन तिमीहरू बजार जान्छौ। तिमारू बजार जान्छ।
बहुवचन उनीहरू बजार जान्छन्। उनारू बजार जान्छ।

 

९.४. पुरूषगत तुलना –

प्रथम पुरूष म बजार जान्छु। म बजार जान्छ
प्रथम पुरूष हामी बाजार जान्छौं। हामी बजार जान्छ।
द्वितीय पुरूष तिमी बजार जान्छौ। तिमी बजार जान्छ।
द्वितीय पुरूष तिमीहरू बजार जान्छौ। तिमारू बजार जान्छ।
तृतीय पुरूष ऊ बजार जान्छ। ऊ बजार जान्छ।
तृतीय पुरूष उनीहरू बजार जान्छन्। उनारू बजार जान्छ।

 

कालगत तहमा –

भूतकाल हिजो हामी बजार गयौं। हिज हामी बजार गयो।
वर्तमानकाल आज हामी बजार जाँदैछौं। आज हामी बजार जाँदैछ।
भविष्यत्‌काल भोलि हामी बजार जानेछौं। भोलि हामी बजार जान्छ।

 

  • भारतको नेपाली भाषा र नेपाली भाषा– बेलायती अंग्रेजी र अमेरिकी अंग्रेजी समान? भारतको नेपाली र नेपालको नेपाली भाषा भनेको अमेरिकी र बेलायती अंग्रेजीसरह होइन। ती दुई भाषा पनि प्रायः एकै हुन्। यद्यपि अमेरिकाले बेलायतबाट आफूलाई भिन्न बनाउन- देखाउनु निम्ति त्यही अंग्रेजीलाई भाँचभुच पारेर, छोट्याएर, सरल बनाएर अमेरिकी बनाएको छ। बेलायतको अंग्रेजी व्याकरणिक शुद्ध, शास्त्रीयोन्मुख, औपचारिक हुन्छ भने अमेरिकी अंग्रेजी भने व्याकरणिक नियममा ध्यान नदिएको, नयाँपन, अनौपचारिक हुन्छ। हिज्जेगत र उच्चारणगत सरलता अमेरिकी अंग्रेजी हो। हाम्रोमा त्यो स्थिति पनि छैन। नेपाल र भारतको प्रायः नेपाली भाषा एउटै छ। कथ्यको तहमा मानक नेपालदेखि केही पर जस्तो देखिए तापनि भारत लेख्य तहमा भने भारत र नेपाल छुट्टिदैन। अमेरिकी सिकागो विश्वविद्यालय र बेलायती अक्सफोर्ड विश्वविद्यालयले आ-आफ्नो भाषागत वर्षविन्यास निर्धारण गर्ने जस्तो हाम्रो स्थिति छैन। यता भारतको नेपाली भाषाको निम्ति त्रिभुवन विश्वविद्यालय, काशी हिन्दू विश्वविद्यालय, उत्तर बङ्गाल विश्वविद्यालय र सिक्किम विश्वविद्यालय बराबरी छन्, उत्तिकै मानक केन्द्र बनेका छन्।
  • भारतमा नेपाली भाषाको स्थिति– भारतमा विशेषगरी दार्जिलिङ सिक्किममा एक प्रकारको नेपाली भाषा विकसित भएको छ। माथि उल्लेखित व्याकरणिक त्रुटिहरू देखा पर्नुका पछि केही सामाजिक, राजनैतिक, आर्थिक र शैक्षिक कारणहरू रहेका छन्।
  • प्रथमतः यहाँ सबै जातको फुलबारी भएकाले सबैको मिश्रित भाषिक प्रभावले गर्दा यहाँको कथ्य नेपाली भाषा व्याकरणबद्ध भएको छैन।
  • अंग्रेजी विद्यालयको प्रभावको कारण पनि नेपाली भाषा बढी अमानक बोलिनु थालिएको हो।
  • यदि कसैले शुद्ध नेपाली भाषा बोले समाजले यो मान्छे नेपालबाट आएको ठान्छ कि भन्ने संकोचको मनोवैज्ञानिक पृष्ठभूमि पनि हुनसक्छ। यसो हुँदो शुद्ध बोल्न जान्नेले पनि जबर्जस्ती आफ्नो भाषा बिगार्ने गरेको पनि पाइन्छ।
  • कतिपय समाचार पत्रतिर देखिएको भाषिक त्रुटि भाषागत दक्ष सम्पादक, संवाददाता वा स्तम्भ लेखकको भाषिक कमजोरी हुन्छ।
  • विद्यालयतिर दक्ष नेपाली भाषा शिक्षकको कमी, व्याकरण पढाइमा उदासीनता र लापरवाही आदिले पनि नेपाली भाषी वक्ताहरूमा व्याकरणिक त्रुटि भएको हुन्छ।
  • दार्जिलिङ- डुवर्सतिर बसोबासो गर्ने अधिकाङ्श मानिसहरू विशेषगरी चियाकमानहरूबाट एकप्रकारको भाषिक व्यवस्था सिर्जित भएको देखिन्छ। चियाकमानसित सम्बद्ध वस्तु, व्यवस्था-प्रणाली, बढी मिश्रित समाज आदिका कारण अमानक बोलिने गरिन्छ।
  • यता दार्जिलिङ-सिक्किमबाट प्रकाशित पुस्तकहरू वा लेखोट आदिमा देखिएका केही भाषिक त्रुटि पनि प्रभाव हो।
  • निष्कर्ष – नेपाली भाषा एउटै छ। संसारमा जहाँ गए पनि भए पनि नेपाली भाषाको मूल स्वरूप एउटै छ, आत्म एउटै बनावट एउटै छ। नेपाली भाषा एउटै हो। नेपाल र भारतको नेपाली अलगअलग नभएर एउटै हो। भाषिका प्रयोगका दृष्टिले मात्र केही फरक छन्। यद्यपि कथ्यगत फरक हुन्। सामान्य रूपमा देखिएका लेख्यगत पार्थक्य भने व्याकरणिक र भाषिक ज्ञानको अभावको कारण हो।
सान्दर्भिक पोस्ट
Loading...