नेपाली साहित्यको सम्पूर्ण पत्रिका

केही मीठो बात गर …..

कृष्ण ढुङ्गेल

मलाई थाहा छैन– शृंखला एक

kehi mitho baat gara

मैले ती कतै छोडिआएका दोस्तीका पदचाँपहरू र संगीतप्रतिको मेरो सम्मोहन किन उस्तै छ ? खै किन मलाई ती छोडिआएका आवाजहरू नारायण गोपालका झैँ लाग्छन् ? मलाई थाहा छैन ।

कृष्ण ढुङ्गेल

संगीतको शक्तिबारेमा बडेबडे मानवहरूले भनिसकेका छन् । फेरि त्यही कुरा दोर्याएर जीवनसँग म अर्काे मजाक गर्न चाहान्नँ ।

संगीत बुझ्नु र संगीतले छुनु पनि त नितान्त फरक कुरा रहेछन् नि, हैन ? तपाईँलाई हैन भन्न छुट छ । तर, म संगीतको सुत्र नजान्ने मान्छे, संगीतले मनलाई छुने मान्छे ।

समयः रातको १२ बजे
स्थानः आफ्नै ओछ्यान
शब्दः कालीप्रसाद रिजाल
साथमा नारायण गोपाल ।

केही मीठो बात गर, रात त्यसै ढल्किँदैछ ।
भरे फेरि एकान्तमा रुनु त छँदैछ ।

नारायण गोपाल मेरो दुःखका साथी हुन् । सुखका साथीहरू खासै मेरो सम्झनामा आउँदैनन् । कल्पनामा छाउँदैनन् । र, मेरा लागि एक शब्द गाउँदैनन् । खै किन दुःखमा दोस्तीको आयतन साँघुरो बनेर आउँछ ? मलाई थाहा छैन ।

साथी र संगीत मलाई उस्तै लाग्छन् ।

जुन संगीत वा गीतले साथीको काम गर्दैन त्यो के संगीत ? जुन साथीमा संगीतको शक्ति हुँदैन, त्यो के साथी ?

म साथीको अगाडि भोलिलाई सजाएका सपना साटिदिन सक्छु । म संगीतसँग प्रेमिकालाई सम्झेर आँसु झारिदिन सक्छु ।

तपाईँलाई पनि यो कुरा थाहा नै छ, हामी हाँसिदिन जोकोहीको अगाडि सक्छौँ । हामीलाई बोलिदिन विशेष सम्बन्ध चाहिँदैन् । तर, आँसु त्यति सजिलै झर्ने कुरा होइन । सजाएका सपनाहरू न नारायण गोपाल गुञ्जिरहेको मोवाइसेट जस्तो मात्र नै हो । यिनीहरूले त आत्मीयता खोज्छ । विनम्रता खोज्छ । र, खोज्छ निकटता । मान्छे सम्बन्धमा अरू खै के के खोज्छन् ? मलाई थाहा छैन ।

सत्ते, रुन बहुत गाह्रो काम हो । रुनुमा पनि कसैको बहुपासमा आँशु खसाउनु सबैभन्दा गाह्रो काम हो । अँ, हाँस्न जहीँतहीँ सकिन्छ । रुन कहाँ कहाँ सकिन्छ ?

रुन त एकान्त चाहिन्छ । बाथरुमको सावर चाहिन्छ । आफू सर्वाङ्ग नाङ्गो हुनसक्ने साथी चाहिन्छ । बिर्सिएर हिँड्छु भन्दा पनि आफैँसम्म पुर्याइदिने शब्द चाहिन्छ । र, चाहिन्छ कसैलाई सम्झाइदिने संगीत ।

रमाइलो कुरा गर, सपनाको कुरा गर ।
सँगसँगै बिताएको, सम्झनाको कुरा गर ।
दुःख छोड दुःखलाई त जिन्दगानी छँदैछ ।
………………….

नारायण गोपाल मेरो विगत र भविष्यका साँची छन् । उनीसँग बिताएको विगतलाई सम्झेर धेरैपटक हाँसेको छु । धेरैपटक रोएको छु । सपनाको कुराले भावुक बनेको छु । अँ … उनीसँग सबैभन्दा धेरै प्रेमिकाको सम्झना र सपनाको भूमरीमा रुमल्लिएको छु । खै किन सम्झना र सपना सधैँ एकै स्वरूपमा आउँदैनन् ? मलाई थाहा छैन ।

मैले माथि नै भनिसकेँ, मलाई संगीत र साथी उस्तै लाग्छ ।

साथी रक्सीको सितन हो । संगीत यादको सितन हो । र, रक्सी र यादको कक्टेल मलाई सबैभन्दा मनपर्ने ड्रिक्स् हो । तर खै किन पिउँदापिउँदैको गिलास मैले कहिले साथीको नाममा रित्याएँ त कहिले उसको नाममा छाडेँ ? मलाई थाहा छैन ।

संगीत कलाको एक उच्चतम शिखर हो भनेर धेरैले भनिसकेको कुरा हो । म फेरि त्यही मूर्खता गर्न चाहान्नँ । बरु थोरै साथीको बारेमा भन्न सक्छु । प्रेमिकाको बारेमा भन्न सक्छु ।

नढाँटी भन्नुहोस् त, यदि तपाईँ आफ्नी प्रियतमा निदाएका बेला उसका ती निर्दाेष देखिने अनुहारमा हराउनुभएको छ भने कतिबेर हराउनुभएको छ ? एक घण्टा, दुई घण्टा वा तीन घण्टा । तपाईँलाई पनि थाहा छ, संगीतमा हिसाब हुँदैन । प्रेममा समयको सीमितता हुँदैन । मलाई समय र हिसाब उस्तै लाग्छ ।

ट्युबर्गलाई घुट्क्याइरहँदा एक बिन्दुमा पुगेपछि मात स्थिर बन्छ । त्यो मात स्थिर बनेपछि छोडिआएका सम्झनाका पदचाप र सजाएका सपनाका पखेटाहरूका मातले मातेको हुन्छु । साथीलाई सँगसँगै मताएको हुन्छु । आफ्नो सम्झनाको आधी हिस्सा साथीलाई बोकाएर उसको सपनाको आधी हिस्सा आफूले लिएको हुन्छ । खै किन आफ्नै सपना पनि आफ्ना हुँदैनन्, साथीका सम्झनाले पनि निदाउन दिँदैनन् ? मलाई थाहा छैन ।

तपाईँलाई पनि थाहा छ, साथीबीच यस्तो औँचोपैँचो कुनै नैलो कुरा होइन । तर साथी र साथ भन्नु समयको गतिशीलता पनि रहेछ । हिँड्नै पर्ने । कही पुग्नै पर्ने । तर साथीको साथ बिना नै मुस्काउनु वा रुनु छ भने, नारायण गोपाल सुन्नुहोस् । सत्य, नारायण गोपाल तपाईँको बाल्यकालको साथी जत्तिकै छन् ।

आऊ नाचौँ अध्याँरोमा जुनकीरी नाचे जस्तै
बतासमा उडौँ आज सिमलको भूवा जस्तै
दुई कमद साथ हिँडै, छुटिनु त छँदै छ ।
………..

यदि तपाईँ सधैँ सँगै हुनुलाई साथ ठान्नुहुन्छ भने गतल हुनुहुन्छ । साथीले जीवनभरको साथ निभाउन जरुरी छैन । बस, साथीसँग बिताएको पल जीवनभर रहनुपर्छ । सम्झनुहोस् त, तपाईँका कति साथीहरू अहिले साथमा छन् ? अनि यो पनि सम्झनुहोस् त, कुैन स्टेसनमा छुटेका कति साथीहरूको याद मनमा छ ?

जीवनका स्टेसनहरूमा कतै छुटिगएका अनुहारहरू मेरा आँखामा छन् । यादहरू मनमा छन् । तर खै ती अनुहारहरू अहिले कहाँ छन् ? मलाई थाहा छैन ।

बाल्यकालका साथीहरू त सबै कतै हराएका छन् । भनिन्छ, संसारमा खरबौँ मानिसहरू छन् । तर, यो भनिदैन कि खरबौँ मानिसका आफ्नै आफ्नै संसार पनि छन् । हो, मेरा तमाम साथीहरू आआफ्नै संसारमा हराइगए । म आफ्नै संसारमा अल्झिरहे ।

तर, साथ हुनु र याद हुनु बिल्कुल फरक कुरो रहेछ । बाल्यकाल बाँकी रहेन, बाल्यकालका साथी कतै बिलाइगए । मात्र उनीहरूको याद बनेर गुञ्जिरहे नारयण गोपाल । लाग्छ, नारायण मेरा ती तमाम साथीहरूका कम्बो हुन् ।

नारायण गोपाल अहिले भौतिक रूपमै मसँग भएका भए सबैभन्दा बढी कसलाई सम्झिन्थे होला ? मलाई थाहा छैन ।

साथी कहाँ कहाँ जोडिएनन् र ?

भट्टराई होलीमा बल्छी खेल्दा । भूतेनी खोलामा पौडी खेल्दा । शिक्षकलाई छलेर अग्लो पर्खाल नाघी स्कूल बकं गर्दा । बाँसझ्याङमा लुकेर आमनेसामने भई पहिलोपटक मैथुन गर्दा । कण्डमलाई बेलुनझैँ फूलाएर भलिबल खेल्दा । एकै केटीलाई पालो बाँधेर प्रेमपत्र लेख्दा । रातमा कसैको एकझल्कोको लागि अर्काे गाउँसम्म विवाह र पुराणको नाममा कुद्दा । अनि बिस्तारै कलेज, जागिर र जिम्मेवारी । भो, सबै कुरा म यहाँ लेख्न सक्दिनँ ।

साथीहरू कहाँ कहाँ पो छोडिएनन् र ?

सरकारी स्कुल र अंग्रेजी स्कुलले कही पर्खाल बनाइदिए देस्तीहरूमा । कही बसाइँ सराई बनिदिए भेल । केहीसँग झगडा गरिए, अनेक बाहानाहरूमा । केही गाउँका लोकल स्टेसनहरूमा छुटे । र, धेरैलाई विमानस्थलले छुटाइदियो । अरू खै कहाँ कहाँ छुटे ? मलाई यकिन छैन ।
संसारमा विमान नहुने हो भने आधी दोस्तीहरू बँच्थे होला है ?

दुई कदम सँगै हिँडु र छुट्नु मित्रताको सुन्दरता नै पो हो कि ? मलाई यस्तै लाग्छ थालेको छ ।

सिमलको भुवाजस्तै उडेर फरक फरक ठाउँमा पुग्नु नै त याद बढाउनु हैन ? मलाई होझैँ लाग्न थालेको छ ।

अनि त्यही सुन्दरता र यादमा लपेटिएर संगीतसँगै बहकिनु नै जीवन त हैन ? मलाई हो जस्तै लाग्छ थालेको छ ।

अँ … हररात अनेक साथीको रूपमा आउँछन् मेरो ओछ्यानसम्म नारायण गोपाल । सम्झाउछन् विगत, रुझाउँछन् आँखा र दिलाउछन् आत्मीयता । प्रिय ! थाहा छ तिमीलाई, अहिले म तिमीलाई सम्झेर उही नारायण गोपालअघि मात्र रुने गरेको छु । तिमीसँग सजाएका सपनाहरू तिमीबाहेक उही नारायण गोपालअघि मात्र खोल्ने गर्छ । नारायण गोपाल बिल्कुल मेरा बाल्यकालका साथी जस्तै छन् । म रुन्छु, उनी आफ्नो हत्केलाले आफ्नै आँशु पुछ्छन् । मेरा सपनाका उडाउनमा उनी पनि प्रशन्नताका उडान भर्छन् ।

उनी भैतिक रूपमा नरहेरै पनि खै किन मसँग संवाद गर्छन् ? मलाई थाहा छैन ।

Loading...