नेपाली साहित्यको सम्पूर्ण पत्रिका

प्रेमको दूरी

सिमाना पौडेल

हाम्रो दूरी बढे पनि हृदयको दूरी मैले भेट्नै नसक्ने गरी टाढा नबनाउनू । तिमीलाई भेट्ने चाहाना राख्नु भनेको दूरी मेट्ने मेरो प्रयास मात्रै हो । दूरीको कुरा नबुझे रुकुमको नवराज बि.क.को हत्या सम्झनू ।

prem ko duri

– हाम्रो भेट कहिले हुन्छ ?
– लकडाउन खुलेपछि ।
प्रतिदिन लकडाउनकै गुनासो । कोठाभित्र थुनिएर प्रेमी÷प्रेमिकालाई सम्झनुपर्ने दिन पनि आउनेछ भनेर कसले सोचेको थियो र ?

‘लकडाउन भनेको के हो ?’, भन्ने थाहा नपाएको विश्वले लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, कोरोनाजस्ता शब्दहरू थाहा पायो । मर्म बुझ्न पायो । हरेक देशको शब्दकोषले केही नयाँ शब्दहरू पाए । विश्व नै घरभित्र थुनियो÷थुनिइरहेको छ ।

अहिले कोरोना भन्ने भाइरस जताततै कफ्र्यू लगाएर आफू खुलाआम डुलिरहेको छ । अटेर गर्नेहरुलाई बिरामी बनाउँछ । अझ ज्यानैसम्म लिने गरेर दौडिरहेको छ ।

यो समयमा सबैभन्दा व्यस्त कोही छ भने त्यो कोरोना भाइरस नै हो । उसलाई मान्छेहरु कतै लुखुरलुखुर हिँडिरहेको मन पर्दैन । खुसुक्क उसैभित्र छिरेर उसको घरभित्र पुग्छ, र बिठ्याई गर्दैमा फुर्सद फुर्सद पाउँदैन । घरबाट टोल, टोलबाट गाउँ, गाउँबाट अर्को गाउँ । यस्तै यस्तै…..

कोरोनाको जति बलियो सञ्जाल आजसम्म कुनै भाइरसको थिएन, सायद । प्रकृतिको संरक्षणमा जुटेको शक्तिशाली भाइरस । अटेरी मनुष्यहरुलाई तह लगाउने भाइरस । एउटा भाइरसले सृष्टिमाथि धावा बोल्ने अटेर मनुष्यलाई नै त्राहीमाम बनाइरहेको छ अहिले ।

लकडाउन खुलेपछि पनि खुलेर भेट्ने वातावरण हुने छैन । माक्स हामीबाट छुट्ने छैन । टाढैबाट हाइ–हेल्लो गर्नेछौँ । धेरै चल्ने र फोहोर हुने हातहरुलाई साबुनपानीले धोइरहनेछौँ ।

सिमाना पौडेल

– नयाँ माक्स ?, उसले पठाएको फोटो हेर्दै सोधेँ ।
कोरोनाले इन्टरनेट नै चलेको हुन्थेन भने हामीले आफ्नो प्रेम कसरी जताउँथ्यौ होला ? बाहिर निस्कन पनि नमिल्ने, फोन, इन्टरनेट पनि नचल्ने…… कति सम्बन्धहरु ध्वस्त हुन्थे होला ? कति मजबुत बन्थे होला ? परेवाको खुट्टामा आफ्ना भावनाहरु पठाएर कुरिबस्दाको गुम्फन कस्तो हुन्थ्यो होला ? छिनछिनमै म्यासेज गरिरहने अनि उस्तै रफ्तारमा रिप्लाई नआउँदा दिनभरि मुर्मुरिएर बस्ने मलाई वर्षौँवर्ष एउटा सन्चो, बिसन्चोको खबर सुन्नको लागि प्रतीक्षा गरिरहँदा कति सकस लाग्दो हो ?

कतै आत्महत्या….. ?
होइन, होइन । मैले जस्तो परिस्थितिमा पनि आफूलाई बचाउनुपर्छ । वातावरणअनुसार अनुकूल हुनुपर्छ । डार्विनको जीव विकास सिद्धान्तले बताएजस्तै वातावरणअनुसार अनुकूल हुन नसक्नेहरु नासिएर जान्छन् । अहँ, मलाई त्यसरी नासिनु छैन ।

– अब साँच्चै नभेट्ने हो हामी ?
म आफ्नो कमजोरीहरु लुकाएर उसलाई पटकपटक सोधिरहन्छु । भोलिको कुरा के थाहा ? म्यासेजको रिप्लाई ढिलो आउँदा अब कहिल्यै योसँग बोल्दिनँ भनेर कसम खान्छु । फेसबुकभरि उसको नाममा लेखिएका स्टाटस र ट्वीटहरु सबै डिलिट गर्दिऊँ जस्तै हुन्छ । ओहो ! उसैलाई बिर्सिएर म के लेख्न सक्छु ? उसलाई नभेटेर कुन गन्तव्य पक्रन सक्छु । संकल्प छिनमै खरानी हुन्छ ।
‘मेरो गन्तव्य तिमी हौँ । तिमीले भेट्दिनँ भने पनि हाम्रो भेट हुन्छ ।’, लेख्छु र मेट्छु ।
किन यस्तो लेख्ने ? मेरो म्यासेज ढिलो पठाउने ? सरी पनि नभन्ने ? मेरो इगो दुख्छ । प्रेमभन्दा पनि बढी म मेरो इगो बचाउने कोसिसमा रहन्छु । म किन यति स्वार्थी छु ? उसलाई प्रेम गर्छु भनेर भनिरहँदा भित्रबाट आवाज आउँछ ।

मोह सकिएपछि बल्ल प्रेम सुरु हुन्छ ।

मोहबिना प्रेम ? मैले यस्तो अभ्यास कहिल्यै गरेको छैन जिन्दगीमा ।

म आफूलाई नदुखाईकन मात्रै उसलाई प्रेम गर्न चाहन्छु । म दुखेको दिन उसलाई पनि दुःख दिन्छु । पटकपटक फोन, म्यासेज, गुनासाका गुम्फनहरु, आक्रोशहरु….. सबैसबै पोख्छु । सबैभन्दा बढी माया मैले मलाई गर्छु ।
– फोन काट्न बाध्य नबनाउनू । बरु म्यासेज गरिरहनू । फुर्सदमा म आफैँ फोन गर्छु ।

फोनले कतिन्जेल बोकिरहला मेरो चिन्ता ? फोन नहुँदो हो त….. अहँ कल्पना गर्नै नसकिने कुरो ।

उसलाई नभेटेको पनि वर्ष दिन भयो ।

वर्ष दिन भयो ? आश्चर्यमा नपर्नुहोला । प्रेममा हुँदा समय बितेको पत्तो हुँदैन । एकैछिन छुट्टिनुपर्दा एक जुग बितेको जस्तो लाग्छ । समय टक्क अडिएजस्तो । जतिबेला टक्क अडिनुपर्ने थियो, त्यसबेला छिटोछिटो कुदिरहन्छ समय ।

प्रेमको ठूलो दुश्मन हो समय ।

उसँग भेट हुँदा कति छिटो रात पर्छ । उसँग भेट नहुँदा दिनहरु कति लामा हुन्छन् । समयलाई हामीसँग केको दुश्मनी होला ?
कस्तो वाहियात प्रश्न गरिबस्छु म । प्रेममा परेपछि सानासाना वाहियात कुराहरु पनि कति महत्वका हुन्छन् भन्ने कुरा अझ राम्रोसँग लकडाउनमा लक हुँदा थाहा पाएको छु ।

झिनामसिना ठानिएर हेला गरिएका शब्दहरु उसले बोल्दा कति महत्वका बन्छन् । कति उत्साह र आशाले भरिएका बन्छन् । उसले पठाउने म्यासेजहरु फगत बान्की परेका अक्षरहरु मात्रै होइनन्, ती उसको हृदय बोकिआएका प्रेमका निशान छाप हुन् । तिनै अक्षरहरु मेरो हृदयमा पस्छन् र उसैको भावसँग मिल्ने सजातीय गुणहरु भएका शब्दहरु बोकेर मेरो औँलाका टुप्पाहरुमा आइपुग्छन् । टुक टुक टुक……. म उसलाई म्यासेज पठाउँछु ।

मेरो हृदयमा उसका लागि कति हजार शब्दहरु होलान् ? उसको हृदयमा मेरो लागि कति हजार शब्दहरु होलान् ? भिडियो कलमा हेराहेर मात्रै गरेर पनि बुझ्ने उसका र मेरा आँखाहरुले कुन विश्वविद्यालयको डिग्री लिएका होलान् ? उसको हेराइले मेरो मनमा ल्याउने भुँइचालो कति रेक्टर स्केलको होला ? परबाट उसले पठाउने यादका लहराहरु कति झाँगिन्छन् होला ? सम्झनाका लहराहरुलाई टेको दिने सम्बन्धका आधारस्तम्भहरु कतिको मजबुत होलान् ? कुन यन्त्रले नाप्ने होला ? उसको मनभित्र मबाहेक अरु केही छ कि छैन ? म नजोडिएको कुनै स्मृति, कुनै इतिहास छ कि छैन ?
‘हिजो भर्खर भेटिएकी हौँ । मेरो बाल्यकालमा तिमी थिइनौँ । त्यसरी एकलौटी दाबी गर्न मिल्छ ? फेरि तिमी भेटिएकी मान्छे हराउन पनि सक्छ्यौ ।’, यस्तो उसले लेख्न मिल्दैन । म बुझेर पनि नबुझेजस्तो गरेर मन दुखाएर बस्छु । प्रेमी एकलौटी नै चाहिन्छ मलाई ।

किस्ताकिस्तामा प्रेम नगर्नू । कतै नबाँडिनू तिमी । प्रेममा मोह मिसिएर दुषित भए पनि त्यसले त्यति असर गर्दैन । जति असर अहिले कोरोनाले विश्व अर्थतन्त्रलाई गरेको छ ।

– बच्चाजस्तो नबनू ।
धेरै सताएपछि उसले भन्छ । बच्चा हुनु भनेको सुन्दर कुरा हो । बच्चाहरु जिद्धी हुन्छन् । जिद्धी नबन्न भनेको हुनसक्छ । प्रेमले दुखाउँन चाहँदैन ।
प्रेम न तिमीले मलाई गर्छौ न मैले तिमीलाई । तर तिमीले माया गर्छु भन्दा मलाई स्वर्गीय आनन्द मिल्छ ।

ठ्याक्कै तिमीलाई पनि यस्तै हुन्छ कि ?

प्रेमका आवरणले छोपिएका चाहानाका अनगिन्ती बादलहरु उसको अनुहार देख्नेबित्तिकै फाटेर गहिरो मुस्कान छर्छन् ।
मैले उसलाई समग्रतामा प्रेम गर्दो रहेछु । टुक्रटुक्रा बनाएर हेर्दा त्यहाँ मेरो प्रेमको सानो झिल्का पनि देख्न छोडेँ । त्यहीँ दिनदेखि उसलाई मैले पठाइरहने ‘आइ लब यु’ लेख्न बन्द गरेँ । झुठो किन पठाइरहनु ?

‘धेरै सम्झिरहेकी छु । मिसिङ्ग यु सो मच ।’, सधैँ आई लब यु भनेर म्यासेज पठाइरहने उसले त्यहाँ पनि प्रेमको सुगन्ध भेटेछ क्यारे ।

‘आई लब यु ।’, उसको म्यासेजले म मुसुक्क मुस्कुराउँछु । उसको हृदय सबै पढ्न सक्छु भनेर दाबी गर्ने म आफ्नै हृदयको चाल बुझ्न सकिरहेको छैन । पहिला मैले आफैँलाई बुझ्नुपर्यो । उसले मलाई बुझेन भनेर के गुनासो गरिरहनु ?

– हाम्रो भेट कहिले हुन्छ ?
– भेट्न मन छ ?
उसले गर्ने र मैले गर्ने प्रेमको दूरी कति टाढा होला ? दुई हृदयको दूरी मेटाएर एउटै बनाउन मैले कति माइल यात्रा गर्नुपर्ला ? उसले कति माइल हिँड्नुपर्ला ? हामी दुबैले एकअर्कालाई भेट्टाउन कति माइल दगुर्नुपर्ला ? कहिले भेटिउँला हामी ?

‘नभेटिकन भेट्न सम्भव छैन ।’
भौतिक दूरी त मेट्न सकिएला । लक डाउन पुरै खुलेपछि भेट होला । तर हाम्रा आँखाले देख्न नसकेका एउटा लामो यात्रा, जसलाई महसुस मात्रै गर्न सकिन्छ । त्यो दूरी कसरी मेटिएला ? हाम्रो अनन्तको यात्रा अन्त्य भएर कहाँ मिसिएला ?

हाम्रो दूरी बढे पनि हृदयको दूरी मैले भेट्नै नसक्ने गरी टाढा नबनाउनू । तिमीलाई भेट्ने चाहाना राख्नु भनेको दूरी मेट्ने मेरो प्रयास मात्रै हो । दूरीको कुरा नबुझे रुकुमको नवराज बि.क.को हत्या सम्झनू ।

समाजको नियम छ, ‘प्रेम नगर्नू ।’
मुख छोपेर हिँड्न बाध्य छन्, प्रेम गर्ने जोडीहरु ।

प्रेमको दूरी मेट्न कहाँ सजिलो छ बाबै ! प्रेम गर्ने आँट त गरिहाल्यौ । प्रेमको दूरी नामेट पार्ने आँट छ कि छैन तिमीमा ? समाजको आफ्नै खालको अभिमान छ । समाजको अभिमानमा धक्का नपुर्याई प्रेम गर्न सक्छौ भने गर्नू, नभए भेरीमा बगिरहेको जातियताको रगत सम्झनू । जातियताको रङ्ग मात्रै होइन, त्यो प्रेमको रङ्ग पनि हो ।

प्रेमद्धेषी समाज छ, बहुत ख्याल पुर्याउनू । प्रेमको दूरी बढाउन सजिलो छ, घटाउन होइन ।

Loading...