नेपाली साहित्यको सम्पूर्ण पत्रिका

छन्दकविता हराउनुमा पाठकले छन्द पढ्न नजान्नु, सुन्न मात्र जान्नु मुख्य समस्या हो

छन्द कवितामा तपाईंलाई रूचि छ भने मनोज भण्डारी कुनै नौलो नाउँ होइन तर कवितामै रूचि छैन भने चाहिँ पछिल्लो छिमलका यी कविका बारेमा तपाईंलाई परिचय दिलाउनै पर्ने हुन्छ।

“ईश्वरलाई चिठी” कविता सङ्ग्रह प्रकाशित भएयता नै मनोजको चर्चा नयाँ पुस्ताका चर्चित छन्द कविको रूपमा परिचय स्थापित भइसकेको छ । वाचनमा बलियो पकड राखेका कारणले नै उनलाई छन्द कवितामा रूचाइएको पाइन्छ । युवापुस्तामा छन्दको मोह घट्दै गइरहेको अवस्थामा उनको लोकप्रियताबाट यो विधा संकटापन्न छ भन्नेहरूलाई एउटा जवाफसमेत बन्न पुगेको छ ।

आफ्नो विशेष वाचन शैलीले मोहित पार्न सक्ने कवि भएकै कारण मनोजलाई यतिबेला विभिन्न काव्यगोष्ठीहरूमा भ्याइनभ्याई हुने गरेको छ । प्रस्तुत छ, उनै मनोज भण्डारीसँग साहित्यपोस्टका लागि निरज दाहालले गरेको अन्तरङ्ग संवादको सम्पादित अंशः

छन्द कविता लेखिरहनुभएको छ । पहिलो सङ्ग्रह “ईश्वरलाई चिठी” प्रकाशित छ । भन्छन्, पहिलो सङ्ग्रह एउटा कविका लागि अगाडिको बाटो तय गर्नका लागि प्रस्थानविन्दु पनि हो । कस्तो प्रतिक्रिया पाउनुभयो ? अगाडिको बाटो कस्तो देखिरहनुभएको छ ?
राम्रा प्रतिक्रिया पाएँ । किताब छापिइसकेपछि लोकप्रिय भएमा म फलानो किताबको लेखक हुँ भन्ने, नभए मेरो फलानो किताब छ भन्ने । यिनै दुई कुरा रहेछन् । मैले दुवै भनेँ । अरू धेरै फरक मलाई परेन ।

छन्द कविका रूपमा परिचय स्थापित गर्नुभएको छ । तपाईंको वाचन पनि विशेष देखिन्छ । तपाईंको पृष्ठभूमि र प्रेरणाबारे अलिकति बताइदिनुस् न?

मेरा बुवाको स्वर मीठो छ । माइला बा आफ्ना बैँसमा गजब कविता लेख्नुहुन्थ्यो । दुवैको अलिअलि आनुवंशिक गुण सरेको होला । देवघाटका गुरु र साथीहरूकै देन हो, मेरो कविताको उत्थान चाहिँ । एक जना हरि दाइ हुनुहुन्थ्यो, उहाँ नै हो मलाई छन्दको बिउ रोपिदिने । गायन चाहिँ मेरो कामचलाउ नै हो । देवघाट छँदा सच्चिदानन्द गुरुसँग थोरै सङ्गीत सुँघ्न पाएँ । अझै धेरै सिक्नुपर्ने छ ।

छन्द कवितामा समर्पित हुनुभएको छ । छन्दकै जगमा टेकेर यहाँसम्म आएको हो नेपाली कविता । बीचमा गद्यको भेलबाडीमा नेपथ्यमा पनि पर्यो छन्द तर के अहिले छन्दको बेला आएको हो ? यसअघि छन्द कविता नेपथ्यमा पर्नुका कारण के होला जस्तो लाग्छ ?
पाठकले छन्द पढ्न नजान्नु, सुन्न मात्र जान्नु नै मुख्य समस्या हो जस्तो लाग्छ । प्रविधिले कवितालाई हातबाट कानमा पुर्याइदियो । छन्दकविता फेरि बजारमा आयो । छन्दकविले कविता नलेखेर छन्द मात्रै लेखे । यो अर्को कारण हो ।

एकथरि समालोचकहरू अपवाद बाहेकका छन्द कविहरू विचारको नवीनता वा उच्चतामा भन्दा पनि छन्द, गण, लय आदि उपकरणमा अल्झिए, र कविता परम्परागत भासबाट मुक्त हुनै सकेन भन्छन् । यसमा तपाईंको कुनै टिप्पणी ?
सही हो । यसमा मेरो सहमति छ । तपाईंको प्रश्नमा “अपवाद बाहेकका” नभएर “थुप्रै” भएको भए राम्रो सुनिने रहेछ ।

धेरैजसो छन्द कविहरू संस्कृत वा नेपाली भाषा र पूर्वीय वाङ्मयकै विद्यार्थी छन् । सबै कवि उस्तैउस्तै पृष्ठभूमिबाट आउँदा कविताको कथ्य पनि उस्तै हुने डर हुँदैन र ? छन्द कविहरू अन्तर्राष्ट्रिय परिवेशबाट किन विमुखजस्ता देखिन्छन् ?
यहाँको प्रश्नले मलाई बोल्नै दिएन । घाउमै अँठ्याइदिनुभयो । मैले पहिचान गर्न नसकेको समस्या तपाईंले समात्नुभयो । धन्यवाद । हामी आफूले पढेकोमा घमण्ड मात्रै गर्ने, त्योबाहेक पनि संसार छ भन्ने नठान्ने भयौं । यो सब अध्ययनशीलताको कमी हो । यो मेरै कथा हो । देवनागरीमा लेखिने बाहेकका साहित्य त मैले पढेकै छैन भने पनि हुन्छ । अनि म कसरी विश्वसित प्रतिस्पर्धा गर्छु ? विश्व कहाँ पुग्यो भन्ने मलाई कसरी थाहा हुन्छ ?

त्यो कार्यक्रम अन्तर्राष्ट्रिय हो । कवि अन्तर्राष्ट्रिय हुन् । कविता अन्तर्राष्ट्रिय होइनन् । अन्तर्राष्ट्रिय शब्दको कसरी व्याख्या गर्ने भन्ने हो ? म पनि दुई देशमा बस्ने कवि, अन्तर्राष्ट्रिय कवि भैगएँ नि ! तर मेरो कविताको स्तर अन्तर्राष्ट्रिय छैन । त्यसैले म अन्तर्राष्ट्रिय कवि होइन ।

मनोज भण्डारी छन्दकवि


पछिल्लो समय प्रविधिबाट थुप्रै कविगोष्ठी भइरहेका छन् । छन्दविशेष गोष्ठी पनि भए । कविता सुनियो । “अन्तर्राष्ट्रिय” भनिए पनि धेरैजसो कविताको स्तर खासै छैन । यस्तै कविताले नेपाली छन्द कविताको गरिमा बढाउला ?

(हाँस्दै) ती कार्यक्रमहरूका बारेमा तपाईंको गलत बुझाइ रहेछ । मेरो पनि थियो । त्यो कार्यक्रम अन्तर्राष्ट्रिय हो । कवि अन्तर्राष्ट्रिय हुन् । कविता अन्तर्राष्ट्रिय होइनन् । अन्तर्राष्ट्रिय शब्दको कसरी व्याख्या गर्ने भन्ने हो ? म पनि दुई देशमा बस्ने कवि, अन्तर्राष्ट्रिय कवि भैगएँ नि ! तर मेरो कविताको स्तर अन्तर्राष्ट्रिय छैन । त्यसैले म अन्तर्राष्ट्रिय कवि होइन ।

जानकारहरू भन्छन्, पूर्वीय दर्शनका अधिकांश कुरा भारतीय कविताले लेखिसक्यो । अन्तर्राष्ट्रियकरण पनि गरिसक्यो । वेद, पुराण, महाभारत, रामायण वा उपनिषद्का कुरा पश्चिममा पनि पुगिसक्यो । नेपाली कविता कहाँनिर टेकेर मौलिक हुन सक्छ जस्तो लाग्छ अबका दिनहरूमा?
पूर्वीय दर्शन दुवैको साझा सम्पत्ति हो । यो भारतको मात्रै होइन । यो कुरा संसारलाई बुझाउन सकिने अवस्था छैन । अब पूर्वीय दर्शनलाई संसार Indian Philosophy भन्छ । हाम्रो शास्त्रीय सङ्गीतलाई Indian Classical Music भन्छ । भारतले पूर्वको सबै जस आफूले लिएको छ । यो बडो विडम्बना हो । यो हाम्रो निष्क्रियताले भएको हो । थप कुरा, हामीसित त्योबाहेक के छ त ? वेद भारतले हाम्रो भन्ला, त्रिपिटक तिब्बतले हाम्रो भन्ला । हामीसित मुन्धुम त छ नि ! कविताका लागि हामीसित हाम्रा चोख्खा कुरा छन् । यसो भनेर पूर्वीय दर्शनलाई भारतको जिम्मामा छोडिदिने त ? यो पनि त हुँदैन । हाम्रा आफ्ना जति त सबै आफ्ना हुन् । यसमा पनि virgin इँट्टा छन् । तीबाट पनि हाम्रो कविताको घर बनाउन सकिन्छ ।

संस्कृत प्रशिक्षण पनि गरिरनुभएको छ । कस्तो देख्नुहुन्छ संस्कृतको वर्तमान र भविष्य ?
वर्तमान ठिकठिकै । भविष्य उज्ज्वल छ । संसार संस्कृत खोज्दै नेपाल आउनेछ । भारतले गन्ध पनि नपाएको संस्कृतको खजाना हामीसित छ तर अनुसन्धान र प्रकाशन हाम्रो साह्रै लोइरो छ । गर्दै गरौँ, गरेपछि हुन्छ ।

तपाईं कतिपय अनुज कविहरूलाई बाटो देखाइरहनुभएको छ । नयाँ पुस्तासँग तपाईंको आशा वा विश्वास कस्तो छ ?
नयाँ पुस्तासित आगो छ । त्यो आगोले अँध्यारोमा उज्यालो बनाइदिन्छ । आफू त्यो आगोबाट बच्नु चाहिँ जरुरी छ । छन्दकविता गुरुशिष्य परम्परामा टिकेको छ । गुरुसँग सबै दुहुन शिष्यले सक्नुपर्छ । त्यसका लागि अलिकति धैर्य चाहिन्छ । आफू बलियो नभई प्रचारप्रसारमा जानु एउटा रोग हो । यसबाट मुक्त हुनु पर्यो । अरू गजब छ ।

कवितामा यहाँका भावि योजना के छन् ?
मेरो भावि योजना लेखन नै हो । किताबबारे मेरो सोच छैन । भएछ भने हेरौंला पनि । शास्त्री पढ्दाताका महाकाव्य सुरु गरेको थिएँ । बनारस जानुपर्यो, अनि छुट्यो । समय भएछ भने त्यता पनि सोचुँला ।

Loading...