नेपाली साहित्यको सम्पूर्ण पत्रिका

मनु मञ्जिलका दुश्मनहरू

 

manu-manjil ka dushman haru-1

दुश्मन” हामीले सुन्न नचाहने शब्द र हामीमाझ जरो गाडेर बसेको शब्द हो । नेपाली शब्दकोशले दुश्मनलाई जसरी व्याख्या गरे पनि यो शब्द शब्दकोशमा मात्र सीमित रहन सक्दैन । यो शब्द त हृदयमा बस्छ र मस्तिष्कलाई उचालिरहन्छ ।

मनु मञ्जिल

मान्छे जतिसुकै सामान्य बन्न खोजे पनि मान्छे एक प्रतिस्पर्धामा रहेको हुन्छ । प्रतिस्पर्धी आफूमा नै पनि बन्न सक्छ । दुश्मनीको बीजारोपण नै प्रतिस्पर्धाको सुरुवात हो । त्यसैले मान्छेको दुश्मन आफैँ हुन पनि सक्छ । हुन त दुश्मनी जात र धर्मबीच पनि छ । दुश्मनी त सीमामा पनि छ । यी सबै कुरालाई मध्यनजर गर्ने हो भने दुश्मनीको पनि प्रकार हुने रहेछ । देशको दुश्मनी र छिमेकको दुश्मनीको प्रकार एकै होइन तर पीडा भने एकै हो ।

हामीले अनेकौँ मान्छे जीवनमा पाएका हुन्छौँ । ती मान्छे सबै हितैषी, मित्र बन्न सक्दैनन् । हृदयमा अलिकति म ठूलो वा म राम्रो भन्ने भाव त आउँछ नै । यही भावमा रुमलिएको व्यवहारलाई हामी दुश्मन भनेर हिँडिरहेका छौँ ।

कवि मनु मञ्जिलले दुश्मन कविता लेख्नु अगावै थुप्रै कविता लेखेका थिए । तर उनलाई ‘दुश्मन’ कविताले नै किन उचाइ दियो ? दुश्मन कवितापछि मात्र उनी नेपालीभाषीमाझ किन कवि भनेर चिनिन थाले ? के थियो दुश्मनमा र लगभग तीन करोड जनसङ्ख्या भएको देशमा उनकै दुश्मन कविता एक करोडभन्दा बढी हेरियो ? प्रस्तुत छ कवि मनु मञ्जिलको दुश्मन कविता –

 

दुश्मन

मेरो एउटा दुश्मन छ
जो मलाई फोहोर जत्तिकै घृणा गर्छ
तर म उसलाई
फूल जत्तिकै मन पराउँछु ।

ऊ मेरो अनुहारमा
घाम नउदाउनू भन्छ
मेरो बगैँचामा वसन्त नआउनू भन्छ
मेरो घरको झ्यालढोकाबाट
हावा नपस्नू भन्छ
मेरो आँगनमा फूलले नमग्मगाउनू भन्छ ।

मेरा बालबचेराले
उसले सुन्ने गरी नकराउनू भन्छ
उसलाई दुख्ने गरी नरमाउनू भन्छ
ऊ आफ्नो घरको बार्दलीमा बस्छ
र परबाट बाटो हिँड्ने जो कोहीलाई
मनमनै मेरो घर नपस्नू भन्छ
कोसेली वा उपहार बोकेका
कोही नपसून् भन्छ
मन्दिरबाट आशीर्वाद लिएर फर्केका
बुढाबुढीलाई
मेरो घर अगाडिको
चौतारामा नबसून् भन्छ ।

उसलाई मेरो घरमाथि
चरा बसेको मन पर्दैन
जून मेरो छानामाथि बसेको
मेरो खेतबारीमा भाग्य लहलह झुलेको
आँपका रूखमा आशाका फूलहरु फुलेको
कुलाको पानी मेरो गैह्रीखेतमा डुलेको
उसलाई केही मन पर्दैन ।
यो बर्षात
किन मेरो घरको छानो भत्काउँदैन ?
पल्लो गाउँको खोलो
किन मेरो घरको बाटो आउँदैन ?
आगो किन यसरी
अँगेनामा चुपचाप छ ?
किन झिल्को जूनकीरी जस्तो
माथिमाथि उड्दैन ?
किन केही जलाउँदैन ?

ऊ मेरो सपनामा मरुभूमि पसोस् भन्छ
मेरो घरमा आँधी आएर बसोस् भन्छ
राति चोर आएर भकारीमा घुसोस्,
मेरो ओठबाट मुस्कान उडेर
बालुवामा गई खसोस् भन्छ
तर म उसलाई
फूल जत्तिकै मन पराउँछु ।

यत्रो दुनियाँमा ऊ बाहेक अरू
मेरो साथी सगोत्री, आफ्नो अर्को
ठूलो सानो, परिचित अपरिचित
एउटै कतै कोही छैन
जसले आफ्नै रहर र सपना भुलेर
फूल, जून र चराहरू भुलेर
घर, धरती र आकाश भुलेर
मबारे यति बिघ्न सोचोस्
मलाई यति बिघ्न सम्झोस्
दुश्मन नहुनु भनेको त
आफूतिर हरदम फर्किरहने
जीवनको एउटा रमाइलो
पाटै नहुनु रहेछ
म उसलाई फूल जत्तिकै मन पराउँछु ।

कवि मनु मञ्जिलले प्रस्तुत कविता २०५६ सालमा लेखेका हुन् । कविता इटहरी आसपास नै बसेर लेखे पनि यस कविताको भ्रूण भने रौतहटमा बनेको थियो । कवि २०५६ सालमा इटहरीबाट आफ्नै जन्मथलो रौतहट पुगेका थिए । माओवादी द्वन्द्वको त्रासमा समय बाँचिरहेको थियो । ज्वाइँ आफ्नै ससुराली जाँदा होस् वा आफन्त अलि टाढाबाट पाहुना लाग्न आउँदा होस्, त्यहाँ सबैले शंका र हेयले हेर्ने समय थियो । कवि त्यो समय घर जाँदा कतिपटक चेकिङमा परे यसै भन्न सक्दैनन् । जो पनि शंका घेरामा रहेको हुँदा कविको हृदयमा केही कुराहरू खेलेका थिए । मनु मञ्जिल त्यस समयमा रङ्गकर्मी थिए भने उत्कृष्ट नाटक बनाउँथे होला, चलचित्रकर्मी थिए भने उत्कृष्ट चलचित्र बनाउँथे कि ! तर उनी त कवि थिए । देखेको र भोगेको दृश्यलाई उनले कवितामा उतारे र दुश्मन कविताको जन्म भयो ।

उनको यस दुश्मन कविता आफ्नो सङ्ग्रह ‘ल्याम्पपोस्टबाट खसेको जून’मा पनि समावेश छ ।

जब आफ्नो जन्मथलोबाट उनी कर्मथलो इटहरी फर्किए, बिहानीपखको लामो वाकमा निस्कदै गर्दा आफ्नै गाउँठाउँ नै समयले वैरी बनाइदिएकोमा क्षुब्ध भइरहे । हरदमझैँ त्यो बेला पनि उनको हातमा डायरी थियो ।

कवि भन्छन्, “जब मलाई कुनै कुराले हिट गर्छ, म लामो वाकमा निस्कन्छु । त्यो वाक १०, ११, १२ किलामिटरको पनि हुन सक्छ ।”

यसै क्रममा उनको हृदयमा ‘दुश्मन’का हरफहरू उफ्रन थालेका थिए । उनीले ती हरफलाई च्याप्प समाउँदै डायरीमा टाँस्दै थिए । यसै क्रममा उनको भेट प्राध्यापक दिनेश पौडेलसँग भयो । कविलाई लाग्छ कि यदि दिनेश पौडेलसँग भेट नभएको भए, दुश्मन कविता अर्कै कुनै क्षेत्रबाट बगेर लेखिने थियो ।

“दुश्मन कविता यति चर्चित हुनुमा प्राध्यापक दिनेश पौडेलको पनि हात छ,” कवि हँसिलो मुहारमा भन्छन् ।

गाउँमा देखेको दुश्मनीलाई कविले कवितामा उतारे । यदि उनी गाउँ नगएको भए र प्राध्यापाक दिनेश पौडेल नभेटिएका भए सायद दुश्मन कविता कतै अल्झने थियो ।

कविलाई यस कविताले एक नयाँ उचाइ दिएको भने पक्का हो । यस कुरामा कवि मनु मञ्जिल सगौरव स्वीकार्छन् । दुश्मन कवितामा किस्सा पनि अनेक जोडिएका छन् ।

किस्सा नं १.

एकदिन कवि मनु मञ्जिल आफ्नै घरमा बसिरहेका थिए । पाँचथरबाट एक शिक्षक आए । ती शिक्षक टुसुक्क बस्नेबित्तिकै आउनुको कारण खोेले ‘तपाईँको ल्याम्पपोस्ट कविता संग्रह मलाई पाँच वटा चाहिएको छ । पाइन्छ ?’

त्यसबेला कविले भनेका थिए, ”पाइन्छ किन नपाइनु? तर पसलमा पाइन्छ ।”

शिक्षकले अनेक प्रयास गरेर खोजे पनि पुस्तक नपाएपछि कविको घरमा पुगेका थिए । त्यसैले भने, ”पसलमा त भेटिनँ । तपाईंसँग कति वटा छ ?”

कविले भने, ”मसँग जम्मा पाँचवटा छ ।”

शिक्षकले भने, ”दिन मिल्छ भने पाँचै वटा दिनुस् । मिल्दैन भने म फोटोकपी गरेर ल्याउँछु ।”

कविले एउटा किताब शिक्षकलाइ थमाइदिए । फोटोकपी गरेर शिक्षक एकैछिनमा फर्किए । त्यसपछि कविलाई उनको किताब फिर्ता दिए । कविलाई अचम्म लागिरहेको थियो किनभने कुनै पनि पाठकले अहिलेसम्म खुरन्धार गरेर उनको कविता खोजेको थिएन ।

कविले भने, ”किन यति दुःख गर्नुभयो ?”

शिक्षकले भने, ”मेरो गाउँमा मेरा पाँचजना दुश्मन छन् । ती प्रत्येकलाइ यो कविता दिनु छ र पढाउनु छ ।”

 

किस्सा नं २

कविले साल बिर्सिए । झापाको धरमपुरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे आउने कार्यक्रम थियो । इटहरीबाट कवि मनु मञ्जिल पनि आफ्नो कविता सुनाउन भनेर झापा पुगेका थिए । प्रमुख अथितिलाई पर्खनु पर्ने भएकाले उनीहरू बाहिर चौरमा बसिरहेका थिए । एक जना महिला उनीहरू बसेको ठाउँमा आइन् र भनिन्, ”मनु मञ्जिल भनेको को हो ?”

साथीहरूले छेउमै बसिरहेका कविलाई देखाए । त्यो बेला मनुको हातमा ‘ल्याम्पपोस्टबाट खसेको जून’ कविता सङ्ग्रह छँदैथियो । ती महिलाले कवि मनु मञ्जिलको हातबाट किताब खोसेर सोधिन्, ”दुश्मन कविता यहाँ छ ?”

कविले छ भने ।

महिलाले भनिन्, “मैले रेडियोमा सुनेर कण्ठस्थ पारेकी छु । मलाई यो कविता मन पर्छ । मैले तपाइँकाे यो किताब पूजाकोठामा राख्ने गरेकी छु।”

कवि त ट्वाँ !

किस्सा नं ३

वि.सं. २०६२ तिर कवि मनु मञ्जिललाई सिक्किम सरकारले कार्यक्रमको लागि निम्तो दियो । उनी त्यहाँ पुगे । जब उनी हलमा प्रवेश गरे, त्यहाँ आएका मान्छेले ‘दुश्मन’ भनेर धेरैपल्ट भने । त्योबेला न सञ्जाल, न युट्युब, कविलाई आफ्नो कविता यति अघोरै मन पराइएको देखेर अचम्म नै लाग्यो ।

कवि मनु मञ्जिललाई जुनै कार्यक्रममा पनि ‘दुश्मन’ सुन्ने अफर आइरहन्छ । जब उनी ‘दुश्मन’ भन्ने कविता सुनाउँछन्, उनलाई “म कुनै नयाँ कविता सुनाउँदैछु” भन्ने ऊर्जा प्राप्त हुन्छ रे !

कवि भीष्म उप्रेतीको नजरमा “दुश्मन” कविता एउटा पुस्तालाई नै प्रतिनिधित्व गर्ने कविता हो । आम मानिसको जीवनलाई कवितामा उतारेपछि दुश्मन कविताको उचाइ बढेको हो भन्ने उनलाई लाग्छ । “हरेकको दुश्मन छ, सायद मेरो पनि होला,” कवि भीष्म भन्छन्, “यो हाम्रो समाजको घटना हो । त्यसैले म पनि कवि भएकाले मेरो दिमागमा यो प्लट किन आएन भन्ने कुरा सोच्दछु ।”

यिनै ‘दुश्मन’ कविले लेखेको निबन्ध सङ्ग्रह चाँडै नै बजारमा आउँदैछ । उनलाई हाम्रो अग्रिम शुभकामना ।

Loading...