नेपाली साहित्यको सम्पूर्ण पत्रिका

समालोचकको नजरमा सीमा आभासको कविता

सीमा आभासको कविताकारिता वक्ररेखामा कुद्छ । सतहमा देखिने शब्दसंयोजन र अन्तर्यमा भेटिने भावार्थमा ठूलो अन्तर भेटिन्छ । यस अर्थमा उनको कविताको लाक्षणिक र व्यञ्जनात्मक सामथ्र्य उच्च कोटिको छ । उनको कवितामा प्रायःजसो नारीका अनुभाव, आक्रोश र विद्रोहहरू पोखिएका हुन्छन्, तर कतै पनि उनी, कविताको मर्यादाभन्दा बाहिर आएर निर्णयात्मक हुङ्कार गर्दिनन् । इतिहास, मिथक, स्थापित मूल्य, लैङ्गिक व्यवस्था र सामाजिक मूल्यविधान माथिका प्रतिप्रश्न हुन् उनका अधिकांश कविता । विविध सङ्कथनमार्फत् मान्छे–मान्छेबीच तथा नरनारीबीच व्यवस्थाले खडा गरेको विभेदका पर्खालहरूको उच्छेदन उनको कविताकारिताको मूल ध्येय हो जस्तो लाग्छ ।

यहाँ सीमा आभासका तीन कविता प्रस्तुत गरिएको छः “घोडा दौड”, “चिमाल हुनुभो हजुरआमा”, र “ऊ ईश्वर फुटाइरहन्छ” । यी तीनै कविता नारी हुनुका तीतामीठा अनुभवको चित्रणमा समिर्पत छन् र सबै कविताले समाज र इतिहासमा व्याप्त दृष्टिदोषहरूलाई प्रश्नको घेरामा राखेर कुनै न कुनै प्रकारको विद्रोहलाई नाटकीकरण गरेका छन् ।

“घोडा दौड” कवितामा एक नारीपात्रको सम्भावित यात्राको चित्रण छ, जसमा इतिहासले गलत र निहित स्वार्थको साधानाका लागि प्रयोग गरेका उपकरणहरूको प्रयोग गरी इतिहासकै विपठन गर्नुपर्ने आवश्यकतालाई औँल्याइएको छ । इतिहासभरि अरुको दमन र आफ्नो स्वार्थसाधनाका लागि प्रयोग गरिएका घोडा र तरबारलाई नवीन परिप्रेक्ष्यमा एउटी नारीको अधिकार र जागरणको अभीष्टमा प्रयोग गरिनुपर्छ भन्ने सन्देश दिइएको छ । यसरी, समाज, इतिहास र शासकीय सङ्कथनले निर्माण गरेका विभेदकारी व्यवस्थाको विनिर्माण यस कविताको अन्तर्कथ्य हो ।

“भगवानको नग्न तस्विर छातीमा टाँसेर धर्म नमान्न पनि सक्छु” भनेर उदघोष गर्ने पात्र निश्चितरूपमा विद्रोही हो । आफूमात्र होइन, एउटा समग्र समुदायलाई यस विद्रोहका लागि तयार रहन सो कवितामा अपिल गरिएको छ । भनिएको छः “सुत्केरी महारानीहरु हो, समात लगाम ! सहरको मस्तिष्क थर्कने गरी कुदाऊ घोडा ।”

अपिलको उत्कर्षमा भनिएको छः
“कुदाऊ घोडा आर्यघाटतिर
नङ्ग्याएर चितामा ओछ्याइएपछि
गुहार माग्दै भागेका सतीहरुलाई
वर्षाएका ढुङ्गाहरु कुनकुन हुन्, चिन ।”

र इतिहास, यी र यस्तै यस्तै अत्याचार र विभेदको दस्तावेज हो भन्ने सङ्केत कविताले गरेको छ । यस अर्थमा, यो कविता नवइतिहासवाद, विनिर्माणवाद र नारीवादको त्रिवेणी हो र समयको विपठन कसरी गर्न सकिन्छ भन्ने कुरामो एउटा सुन्दर उदाहरण पनि हो ।

“चिमाल हुनुभो हुजुरुआमा” एक वृद्ध नारी पात्र हजुरआमाको वीरत्वको चित्रणमा केन्द्रित कविता हो, जसमा प्रकृतिको सामीप्यमा प्रलयहरूलाई आत्मबलले जितेर पाको उमेरमा अवतरित भएकी हजुरआमाको भव्य चित्रण छ । वीर रसको प्राधान्य रहेको कविताले हजुरआमा सङ्घर्षका कथामा अदम्य साहस र धैर्यको अध्याय जोडेको छ । हजुरआमालाई कतै चिमाल, कतै गुराँस र कतै हिमालका रूपक-अलङ्कारहरूबाट चित्रित गर्दै अतिशयोक्ति अलङ्कारको प्रयोग पनि कविले गरेकी छन् ।

लेख्छिन्,
“वहाँ उभिएपछि थर्कमान हुन्छ निराकार पनि
वहाँ हिँड्दा एकछिन अडिन्छ पृथ्वी पनि
सात सूर्य नै ओर्लिन्छन्
यी जिउँदो पितृको आशीक थाप्न पनि ।”

तर, यसरी हजुरआमाको भव्य र सकारात्मक र कलात्मक चित्रण गरेकी कविले एक ठाउँ हजुरबालाई कविताको अन्तर्यमा तानेकी छन्, र नकारात्मक चित्रण गरेर खलपात्र तुल्याएकी छन् ।

लेख्छिन्,
“हजुरआमाको निधारबाट खटक खटक गर्दै हिँड्थे
हजुरबाका पाइला
ती पाइलाका डोबहरु हजुरआमाका निधारका टीका बन्थे ।”

यसो गरिदिँदा लैङ्गिक सवालमा सीमा अभासको कवि व्यक्तित्व किन सम्यक हुन सकेन भन्ने प्रश्न भने पाठकको मनमा उब्जिन सक्छ ।

तेस्रो कविता “ऊ ईश्वर फुटाइरहन्छे” मा पनि, उसै गरी एक श्रमिक महिलाको चित्रण गरिएको छ, जो पत्थर फुटाउँछे, आफ्नो जीवन धान्छे र आफ्नो बालकको पनि पालनपोषण गर्छे । अन्य कवितामाजस्तै, यहाँ पनि यी नारीपात्र विभेदको शिकार हुन् ।

“जूनघामलाई नानीको बाउ भनेपछि अपराधीलाई झैँ घरबाट निकालिएकी” एक आमा हुन् उनी । कविताको प्रस्तुति मायावी यर्थाथजस्तो लाग्छ, जसमा एक नश्वर पात्रको सांसारिक दैनिन्दिनीलाई मिथकीय र चामत्कारिक लाग्ने अतियथार्थवादी प्रतिबिम्बसँग अन्तर्घुलन गरिएको छ । भनिएको छ—
सलसली हुर्किरहेको यो जूनलाई
बादलको मजेत्रो ओढाएर
इन्द्रेणीले पिठ्यूँमा बाँधेर
घामको डल्लो फुटाउन हम्मर उचाल्छे
घामले फुटाएका पसिनाका बुँदहरु जमाएर
गिट्टी बनाउँछे ।

उनको मिहिनेत जारी छ । उनी विभिन्न प्रयोजनका लागि, हात्केलामा ठेला उठाएर पनि ढुङ्गा फुटाइरहेकी छिन्, र गिट्टी बनाइरहेकी छिन् । समाजबाट निष्काशित भएर तथा एकल महिला भएर पनि, आफ्नो पौरखले जीवन धानिरहेकी उनलाई, उनको मिहिनेत र आत्मबलको जस दिन तयार नभएको “निर्जन दुनियाँ” ईश्वर फुटाइरहेको आरोप लगाएर आफ्नो ईर्ष्या वा असन्तुष्टिको विरेचन गर्दछ ।

सीमाका कविताको सामर्थ्य भनेको उनको बिम्बविधानको रेञ्ज हो, जो मिथक, इतिहास, समाज र निजी जीवनका अनेक कुइनेटालाई स्पर्श गर्ने ल्याकत राख्छ । उनी याथर्थवादी कथ्यलाई लाक्षणिक प्रस्तुति दिएर कवितालाई बहुअर्थी बनाउन खप्पिस कवि हुन् । इतिहास र समयसँग विमति राख्ने र तर्क तथा विद्रोह गर्ने उनको तरिका काव्यिक त र बौद्धिक छ । तर, उनको दोष भनेको, लैङ्गिक प्रश्नहरूमा उनी थाहै नपाई एकाङ्गी पनि भइदिन्छिन्, र सधैँ समान्यीकरणको हतारोमा देखिन्छिन् । कविताको शिल्पको हकमा “खुर्पे जून” र “भोकको लय” जस्ता अतिप्रयोगबाट क्लिसे हुन थालेको वाक्यांशबाट उनले निवृत्ति लिएर नयाँ वाक्याशंको अविष्कारतिर लागे उनकै कविता बढी आलोकित हुन्थ्यो ।

सीमा आभासका तीन कविताः

 

१ . घोडा दौड

घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर
जानुछ महाराजाका ढोकासम्म ।

देखाउनुछ लट्टा परेको कपालको चुल्ठो
सुनाउनुछ बर्जित शब्दहरु एकएक गरी
हेर्नुछ बादलका गुजुल्टाहरु पन्छाएर
कहाँबाट कसले झार्दोरहेछ ममाथि चट्याङ ।

घोडाको पिठ्यूँमा उभिएको, म हुँ नाङ्गो अवतार ।

भगवानको नग्न तस्वीर
छातीमा टाँसेर धर्म नमान्न पनि सक्छु
नसक्न सक्छु, धर्मले डढाएका मेरा औ“लाहरु काटेर
ममाथि लेखिएको इतिहासलाई ढोग्न ।

दायाँ खुट्टो कानूनको कुममा
बायाँ ईश्वरको कुममा राखेर
जानुछ इतिहास सजाइएको संग्रहालय
त्यसको ढोकैमा झुण्डिएको तस्वीरमा
मेरैजस्तो केरमेट अनुहार कसको हो ?

बौलाहाजस्तै देखिने श्रीपेच महाराजलाई नाघेर
टुँडिखेलका घोडामा बसी पार गर्नुछ भद्रकाली
घुम्नुछ उपत्यकादेखि गोरखादरबारसम्म ।

यिनै घोडामा चढेर चोभारको गल्छे“डोसम्म पुगी हेर्नुछ
कस–कसका अनुहार बगाई ल्याएको छ, यो पानीले ।

स्वयम्भुको टुप्पोमा उभिएर सोध्नुछ
‘मञ्जुश्री ! कहाँ छ चोभार काट्ने तिम्रो खड्ग ?’

आज मलाई चाहिएको छ त्यहि शक्तिशाली हतियार ।

हतियार खोज्दै हिँडेको म
आइपुगेको छु नाङ्गा मूर्ति अगाडि
यही बेला चक्रपथमा देखाइदिनुछ
नाङ्गो परिक्रमा, नाङ्गो उत्सव ।

यो नाङ्गोपन हेरेर लाज नमानुन
बाटो हिँड्नेले, जून–ताराले
दरबार र मूर्तिहरुले
जेल र न्यायालयले
यहाँका तीर्थधाम र पवित्र नदीहरुले ।

यी घोडामा चढेर फेरि पुग्नुछ, महारानी र राजकुमारी
पस्ने, निस्कने ढोकामा कुँदिएको नागराजाको चित्र हेर्न ।

जान्नुछ, यी ढोकामा लाउने आग्लो कस्तो थियो ?
गोल्चे र खरमस कसले बनाएको थियो ?
यी साँघुरा ढोकामाथि झुण्डिएको चम्मरको केश कसको हो
श्रीपेचमा जडित हिराहरु कसका आँसु जमेर बनेका हुन ?

सुत्केरी महारानीहरु हो
समात लगाम ! शहरको मस्तिष्क थर्कने गरी कुदाऊ घोडा
कुमारीजात्राको दिन टुँडिखेलमा लहरै उभिएर हेर
केके लेखिएको रहेछ रगतको मसीले हाम्रो निर्वस्त्र शरीरमा ।

यी भब्य दरबारका भित्ता कस्का मयलले टल्किएका हुन ?
नारायणहिटीको पर्खालवरिपरि घुम्ने नग्न मृतआत्मा कहाँका हुन ?

कुदाऊ घोडा आर्यघाटतिर
नङ्ग्याएर चितामा ओछ्याइएपछि
गुहार माग्दै भागेका सतीहरुलाई
वर्षाएका ढुङ्गाहरु कुनकुन हुन, चिन ।

यहीबेला उत्रिय पशुपतिमा नाङ्गा पार्वतीमाता ।

शिवरात्रीको दिन भाङले बेस्मारी मातेर कराउँदै
भन मेरा दौँतरीहरु
ए भस्मदेव ! चढ घोडाको ढाडमाथि
कुद इतिहासको सुरुङतिर ।

फलोफूलो कह देवका देव !
केके देखेका छौ हिजोदेखि आजसम्म ?

 

२. चिमाल हुनुभो हजुरआमा

बिहानै घाम उभिएको हिमशिखरलाई टिपेर
शिरबन्दीझैँ सिउरिनु भो सिउँदोमा
कपालमै हिमाल चुल्याएर, उभिनु भो सेतै
छातीभरि फक्राउनु भो अनेकौँ सुनगाभा
इन्द्रेणी बेरेर हातभरि लगाउनु भो चुरा
जिन्दगीका धमिला जंघारहरु प्यूँदाप्यूँदै
हजुरआमा
कहिल्यै नछचल्किने सेतो सागर हुनु भो ।

यौटा काँधमा लिखुले लेखेको भाग्य बोकेर
अर्को काँधमा दुधकोशीले लेखेको कर्म बोकेर
मोलुङ खोलाले बगाइरहेको बैंश च्याप्प समात्नु भो
र, सौभाग्य बनाई झुण्ड्याउनु भो गलामा
सुनकोशीको तिरमा उभिएको सतीसालले झैँ
हजुरआमाले ढाडमा थेग्नु भो
गर्भिणी धरतीमाथिको भेलपहिरो ।

खुर्पेजून टिपेर नाकमा फुली लगाउनु भो
घामका यूँहरु जडेर बुलाकी टल्काउनु भो
जंगली लहरा बेरेर माडबारीका बुट्टा बनाउनु भो
पैतालाका चक्ररेखा ढुंगाले रगडेर मेट्तै
हजुरआमा पौरखको बाटो एक्लै हिँडिरहनु भो ।

हिउँलाई पिँधेर आँसुमा मुछि सातुझैँ भरपेट खानु भो
बगाई लैजान खोज्ने बाढीलाई मोइझैँ स्वाट्टै पिउनु भो
हुरीलाई पछ्यौरीमा थापेर छिचिमिरालाईझैँ किचिपिची पार्नु भो
ठिहीमा काँडाका खराउ लाएर कोसौँकोस टाढासम्म हिँड्नु भो
भाग्यको लय मिलाउँदामिलाउँदै हजुरआमा शास्त्रीय गान हुनुभो ।

धर्तीलाई पोल्टामा बोक्ने हजुरआमाकै
केशमा नुहाएर पवित्र बग्छ रोशी पनि
वहाँ उभिएपछि थर्कमान हुन्छ निराकार पनि
वहाँ हिँड्दा एकछिन अडिन्छ पृथ्वी पनि
सात सूर्य नै ओर्लिन्छन्
यी जिउँदो पितृको आशीक थाप्न पनि ।

हजुरआमाको निधारबाट खटक खटक गर्दै हिँड्थे
हजुरबाका पाइला
ती पाइलाका डोबहरु हजुरआमाका निधारका टीका बन्थे
हजुरबा अन्तर्ध्यानमा गएपछि उक्कियो त्यो निधार ।

निधारबाट आकाशतिर झरेको हजुरआमाको टीका
पूर्णेको जून भएछ
जून छुन अग्लिँदाअग्लिँदै
हिमाल फुलेझैँ सेतै फुल्ने चिमाल हुनु भो हजुरआमा
चिमालझैँ सेतै फुल्ने हिमाल हुनु भो हजुरआमा ।

३. ऊ ईश्वर फुटाइरहन्छे

 

जूनघामलाई नानीको बाउ भनेपछि
अपराधीलाई झैँ घरबाट निकालिएकी
गाउँबाट विस्थापित ऊ
नदी किनारमा ताराहरु जम्मा पारेर
गट्टा खेलाउँछे नानीलाई
पानी खुवाउँछे जूनको कचौराबाट
सूर्यमण्डल बनाउँछे उसले खेल्ने भकुण्डोलाई ।

नानीकै मुहारबाट उदाउँछ घाम
ऊ रुँदा होस् या खुसी हुँदा
बन्छन देवताका हजार रुप ।

पहिलो पटक
कुन कालिगढले कुँद्यो होला भगवान् ?
कुन भक्तले, कुन मितिमा, चढायो होला फूल ?
कसले राख्यो होला चुपचाप बस्नु भनेर मन्दिरमा ?

बालक चन्द्रमालाई छातीमा टाँसेर सोध्छे,
यो पत्थरमा लुक्ने भगवान
कहिलेसम्म बाँचिरहन्छ, मान्छेको शरणमा ?

सलसली हुर्किरहेको यो जूनलाई
बादलको मजेत्रो ओढाएर
इन्द्रेणीले पिठ्यूँमा बाँधेर
घामको डल्लो फुटाउन हम्मर उचाल्छे
घामले फुटाएका पसिनाका बुँदहरु जमाएर
गिट्टी बनाउँछे ।

गिट्टीकै आकारजत्रा ठेला हत्केलामा उठाएर
मन्दिर बनाइने ढुङ्गा
रोशी थाकेर बगरमै छोडिएका ढुङ्गा
भगवान पुजिने अनेकौँ ढुङ्गा
गिट्टी बनाएपछि
यो निर्जन दुनियाँ भन्ने गर्छ
ऊ ईश्वर फुटाइरहन्छे ।

Loading...