नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !

 (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल)

 

नेपाली सूक्ष्म कविताहरूको यस शृङ्खलामा मोहनहिमांशु थापा, रत्नशमशेर थापा, कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ र पुष्कर लोहनीका कविता रहेका छन् ।

१. सहरका आँखाभरि

(मोहनहिमांशु थापा)

 

म जङ्गली
म जङ्गलको मान्छे !

म आफूलाई जङ्गलमा एक्लै राखेर
राम्रा राम्रा सहर हेर्न आउँछु
तर सहरमा
तिमीलाई आँखाभरि राख्दा नराख्दै
म सहर भरिभरि हुन्छु ।

म जङ्गली
म जङ्गलको मान्छे !

 

रत्न शमशेर थापा

२. जूनको चपरी

(रत्नशमशेर थापा)

 

सपना देख्छु तिर्खालु बाज
बकैनाको बूढो रुखमनि
मेरो पैताला ठुँगिरहेछ ।

ब्यूँझेर हेर्छु दलिनको कापामा
माकुरा निली जालो ओढेर
कालो माउसुली उँगिरहेछ ।

बाहिर तरकारी बारीमा
जूनको चपरी जुरोमा बोकी
कनफट्टा साँढे रुँगिरहेछ ।

 

 

३. गिद्धले पहिले आँखा ठुङ्छ

(कृष्णभक्त श्रेष्ठ)

गिद्धले पहिले आँखा ठुङ्छ
रङ्गी बिरङ्गी देख्ने ती आँखाहरू
गिद्धले जथाभावी ठुङ्छ

कुहेको लाशको
छातीमाथि नाचेर
गिद्धले मनमानी ठुङ्छ
गिद्धले पहिले आँखा ठुङ्छ
आँखाले नै हेरेर
जथाभावी ठुङ्छ
गिद्धले पहिले आँखा ठुङ्छ ।

 

४. हामीले हेर्दाहेर्दै

(उपेन्द्र श्रेष्ठ)

 

नोटेसन स्वरबद्ध सङ्गीत बाँसुरीको
एउटा पर्दा उघ्रिन्छ, अनि देखिन्छ दृश्य
एउटा नाटक— ओथेलोको !

औँलाले घाँटी स्पर्श गर्दा पियानो चित्कार्छ
र रुन्छ वातावरण एउटा अवलाको
समाप्त हुन्छ जीवन, अन्त हुन्छ कथा
एउटा आवेशमा, एउटा क्रोधमा
एउटा सिर्जना, एउटा कलाकारको
हाम्रा सामु— हेर्दाहेर्दै !!

 

५. कौडी

(पुष्कर लोहनी)

 

घोप्टो कौडीको कोमलता र
सुन्दरता देखेर
हरेक युवती
ईष्र्याले निधार खुम्च्याउँछन्
डाहाले छटपटिन्छन्
साँच्ची नै आफ्नो प्रतिद्वन्द्वी ठानेर ।
हरेक युवती लाजले सरमाउँछन्
ठाडो कौडी देखेर
अनि आफू नै नाङ्गो उभिएझैँ लाग्छ ।
यहाँ मोर्चा भैसकेको छ
त्यसैले हरेक युवती घृणाले हेर्छन्
कौडीलाई
आफ्नै सौता ठानेर ।

Loading...