नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अशुद्ध लेखेर विज्ञापन गर्न पाइन्छ ?

डा.मतिप्रसाद ढकाल

यस आलेखमा नेपालबाट दैनिक रूपमा प्रकाशित हुने कान्तिपुर दैनिक, नागरिक दैनिक र गोरखापत्र दैनिकमा २०७७ असार १ गते प्रकाशित विभिन्न प्रतिनिधि विज्ञापनमा प्रयुक्त अशुद्ध भाषाका बारेमा चर्चा गरिएको छ ।

नेपाली भाषाको शुद्धीकरणका लागि विद्यालय एवम् विश्वविद्यालयका कक्षाहरूमा पढाइएको भन्दा नियमित रूपमा दिनहुँ प्रकाशित हुने गरेका पत्रपत्रिकाहरूले नेपाली भाषाका प्रयोक्तालाई बढ्ता प्रशिक्षित गरिरहेका हुन्छन् । नेपाली विषयमा पनि अनिवार्य नेपाली विषय पढ्दा परीक्षामा शुद्धाशुद्धिका लागि सोधिने अधिकतम ५ नम्बर पूर्णाङ्कको तयारी गर्न विद्यार्थीलाई एकदुई पिरियडभन्दा बढ्ता समय उपलब्ध हुँदैन तर सदैव पढिरहने पत्रपत्रिकामा प्रयोग गरिएको भाषाले विद्यार्थीलाई मात्र होइन नेपाली भाषाका समस्त प्रयोक्तालाई प्रभावित गरिरहेको हुन्छ र त्यही प्रभाव नै शुद्ध ठहरिएर उनीहरूका मनमस्तिष्कमा बसिरहेको हुन्छ । त्यसैले नेपाली विषयका पाठ्यपुस्तकमात्र होइन नेपाली भाषाका माध्यमबाट प्रकाशित हुने सबैजसो पत्रपत्रिकाहरूको भाषासमेत शुद्ध र स्तरीय हुनु आवश्यक छ ।

डा.मतिप्रसाद ढकाल

शब्दस्रोतका दृष्टिले नेपालीमा प्रयुक्त तत्सम, तद्भव र आगन्तुक तीन प्रकारका शब्दहरूमध्ये संस्कृतबाट जस्ताको तस्तै नेपालीमा आएका तत्सम शब्दहरूको वर्णविन्यास वा शुद्धाशुद्धि लेखनका विषयमा हालसम्म कुनै किसिमको विवाद रहेको छैन । त्यसैगरी संस्कृतबाट जस्ताको तस्तै वा परिवर्तन भएर आएका बाहेकका अन्य स्वदेशी वा विदेशी भाषाबाट नेपालीमा आएका आगन्तुक शब्दका बारेमा पनि सुरु र बीचमा ह्रस्व लेख्ने तथा आगन्तुक शब्दमा ऋ, ञ, ण, श, ष, क्ष, त्र र ज्ञ वर्णको प्रयोग नगर्ने विषयमा प्रायः सबै नेपाली भाषाशास्त्री सहमत रहेका छन् । संस्कृतबाट परिवर्तन हुँदै नेपालीमा आएका तद्भव शब्दका विषयमा आंशिक विवाद कायमै रहे पनि पत्रपत्रिकामा प्रयुक्त तद्भव शब्दका विषयमा धेरैजसो पाठकले अशुद्धिको आरोप पनि लगाएका छैनन् ।

सान्दर्भिक पोस्ट

नेपालका सबैजसो पत्रपत्रिकाहरूले आआफ्नै शैली पुस्तिका निर्माण गरेर त्यसैलाई आधार मानी आआफ्ना पत्रपत्रिकाको भाषासम्पादन र प्रकाशन गर्दै आएका छन् तर विज्ञापनको भाषा सम्पादन नगरीकन प्रकाशन गर्नुपर्छ भन्ने अघोषित व्यवहारले गर्दा पत्रपत्रिकामा विज्ञापनको भाषाले नेपाली भाषालाई जसरी लेखे पनि हुन्छ वा यसरी अशुद्ध लेख्न छुट छ भनेर विज्ञापन गरिरहेजस्तो बुझाइ धेरैजसो पाठकहरूमा रहेको छ । विज्ञापनको भाषा अशुद्ध नै हुनुपर्छ वा विज्ञापनको भाषालाई सम्पादन नै नगरीकन प्रकाशन गर्न सकिन्छ भन्ने अघोषित व्यवहारबाट मुक्त हुन नेपालका राष्ट्रिय दैनिक पत्रपत्रिकाहरूको गम्भीर ध्यानाकर्षण हुनु अत्यावश्यक छ ।

यस आलेखमा नेपालबाट दैनिक रूपमा प्रकाशित हुने कान्तिपुर दैनिक, नागरिक दैनिक र गोरखापत्र दैनिकमा २०७७ असार १ गते प्रकाशित विभिन्न प्रतिनिधि विज्ञापनमा प्रयुक्त अशुद्ध भाषाका बारेमा चर्चा गरिएको छ ।

कान्तिपुर दैनिकले धेरै वर्षदेखि विज्ञापन आह्वानका लागि प्रयोग गर्दै आएको वर्गीकृत विज्ञापनमा नै भाषिक अशुद्धि भेटिन्छ । एउटै पृष्ठमा ‘बर्गिकृत विज्ञापन’ र ‘बर्गीकृत विज्ञापन संकलन काउन्टरहरू’ दुवै शीर्षकमा प्रयुक्त ‘बर्गिकृत’ र ‘बर्गीकृत’ दुवै शब्द अशुद्ध हुन् र तिनको सट्टा ‘वर्गीकृत’ शब्दको प्रयोग गर्नुपर्छ भनेर ध्यानाकर्षण गराइदिने कुनै भाषासम्पादकहरू कान्तिपुर दैनिकभित्र हालसम्म जन्मिएका रहेनछन् । दैनिक रूपमा यसरी अशुद्ध ‘बर्गिकृत’ र ‘बर्गीकृत’ शब्दलाई पढिरहने पाठकले निश्चय नै ‘वर्गीकृत’ शब्दलाई अशुद्ध नठह¥याउलान् भन्न सकिँदैन । नेपालमा सर्वाधिक बिक्री हुने कान्तिपुर दैनिकले दिनहुँ यसरी आफ्नै विज्ञापनमा अशुद्ध शब्दको विज्ञापन गरिरहेको नेपाली पाठकहरूले कहिलेसम्म टुलुटुलु हेरेर बसिरहने ?

कान्तिपुर दैनिकमा प्रकाशित यमकुमारी ढकालको श्रद्धाञ्जली विज्ञापनमा ज्यूको, पूण्य, चीरशान्ति, दुःखद् र समवेना अनुपयुक्त शब्दको सट्टा क्रमशः ज्यूकी, पुण्य, चिरशान्ति, दुःखद र समवेदना उपयुक्त शब्दको प्रयोग गर्ने विषयमा कान्तिपुर दैनिकले बेवास्ता गरेको देखिन्छ । यसरी अशुद्ध शब्दको प्रयोग गर्नाले मृतकप्रति वास्तविक श्रद्धाञ्जली व्यक्त हुन सक्तैन भने त्यसले कान्तिपुरका समस्त भाषाप्रेमी पाठकवर्गबाट कान्तिपुर पत्रिकाले प्राप्त गर्ने वास्तविक श्रद्धाभाव पनि क्रमशः गुम्दै जाने कुरा सुनिश्चित छ ।

कान्तिपुर दैनिक पत्रिकामै प्रकाशित मण्डनदेउपुर नगरपालिकाको आर्थिक प्रस्तावसम्बन्धी सूचनामा सूचना बमोजिम, नयाँगाउ, विद्युतिय, खोलिएकोमा, मुल्याङ्कन, बमोजीम, भएकोले, सारभुत र जानकारीको लागि शब्दहरूको सट्टा क्रमशः सूचनाबमोजिम, नयाँगाउँ, विद्युतीय, खोलिएकामा, मूल्याङ्ककन, बमोजिम, भएकाले, सारभूत र जानकारीका लागि शब्दहरूको प्रयोग गरिनुपर्दथ्यो तर सरकारी कार्यालयसँग सम्बन्धित उपर्युक्त विज्ञापनमा पनि अशुद्ध भाषाको प्रयोग गरिनुले सम्बन्धित कार्यालय र कान्तिपुर दैनिक नै नेपाली भाषाप्रति संवेदनशील नभएको कुरा स्पष्ट हुन्छ ।

कान्तिपुर दैनिक पत्रिकामै प्रकाशित चन्द्रपुर नगरपालिकाको बोलपत्रसम्बन्धी सूचनामा खरिदको लागि, आहृवान, सूचना अनुसार, रितपुर्वक, बोलपत्रहरु मध्ये, सोलुशन, सारभुत, पेश, मु.अ., कर सहित, भएकोले, सम्वन्धित र जानकारीको लागि शब्दहरूको सट्टा क्रमशः खरिदका लागि, आह्वान, सूचनाअनुसार, रीतपूर्वक, बोलपत्रहरूमध्ये, सोलुसन, सारभूत, पेस, मू.अ., करसहित, भएकाले, सम्बन्धित र जानकारीका लागि शब्दहरूको प्रयोग भइदिएको भए पाठकवर्गले कान्तिपुरजस्तो धेरैले पढ्ने पत्रिकामा भाषा स्तरीय र शुद्ध हुन्छ भनेर कान्तिपुर दैनिक पत्रिकाकै प्रशंसा गर्ने थिए ।


कान्तिपुर दैनिक पत्रिकासँगै छुट्टिभिन्न भएर त्यसकै प्रतिस्पर्धामा आपूmलाई पाठकवर्गमाझ लोकप्रिय बनाउँदै आएको नागरिक दैनिक पत्रिकाको विज्ञापनको भाषा पनि कान्तिपुर दैनिककै जस्तो अशुद्ध देखिन्छ । प्रतिस्पर्धामा जानका लागि विज्ञापनको भाषाप्रति बेवास्ता गरिनुपर्छ भन्ने केही छैन बरु विज्ञापनको भाषाप्रति शुद्धीकरणको प्रयास गर्दै गएको भए नागरिक दैनिक पत्रिकाप्रति भाषाप्रेमी पाठकवर्गको अवश्य पनि आदरभाव रहने थियो ।

नागरिक दैनिकमा प्रकाशित बराहताल गाउँपालिकाको बोलपत्र स्वीकृतसम्बन्धी सूचनामा स्विकृत, सम्बन्धि, आव्हान, सूचना अनुसार, रितपुर्वक, बोलपत्रहरु मध्ये, तपशिल, मूल्यांकित, सारभुत, स्विकृति, प्रयोजनको लागि, जानकारीकोलागि र भ्याट सहित शब्दहरूको सट्टा क्रमशः स्वीकृत, सम्बन्धी, आह्वान, सूचनाअनुसार, रीतपूर्वक, बोलपत्रहरूमध्ये, तपसिल, मूल्याङ्कित, सारभूत, स्वीकृति, प्रयोजनका लागि, जानकारीका लागि र भ्याटसहित शब्दहरूको प्रयोग गर्ने विषयमा नागरिक दैनिकको ध्यान जान सकेको देखिँदैन ।

नागरिक दैनिकमै प्रकाशित टोखा नगरपालिकाको सिलबन्दी दरभाउपत्रसम्बन्धी सूचनामा तपशिल, शिलवन्दी, भएकोले, रितपूर्वक, आव्हान, वृस्तृत, जानकारीको लागि, साईट, गर्नुहुन समेत, खरिद सम्बन्धी र पेश शब्दहरूको सट्टा क्रमशः तपसिल, सिलबन्दी, भएकाले, रीतपूर्वक, आह्वान, विस्तृत, जानकारीका लागि, साइट, गर्नुहुनसमेत, खरिदसम्बन्धी र पेस शब्दको प्रयोग गरिनुपथ्र्यो ।

नागरिक दैनिकमै प्रकाशित सूची दर्तासम्बन्धी सूचनामा प्रयोजनको लागि, ईजाजत, रजिष्टर्ड, दिन भित्र, आफुले, कार्यको लागी, छुटाछुट्टै, पेश, कार्वाही, छपाई सम्बन्धि, स्टेशनरी, सामाग्री, मेशिन, रिफीलिङ्ग, एण्ड, सम्बन्धि, सामुहिक र सम्पति अशुद्ध शब्दहरू प्रयोग भएका छन् । तिनको सट्टा क्रमशः प्रयोजनका लागि, इजाजत, रजिस्टर्ड, दिनभित्र, आपूmले, कार्यका लागि, छुट्टाछुट्टै, पेस, कारबाही, छपाइसम्बन्धी, स्टेसनरी, सामग्री, मेसिन, रिफिलिङ, एन्ड, सम्बन्धी, सामूहिक र सम्पत्ति शुद्ध शब्दहरूको प्रयोग गर्नबाट पनि नागरिक दैनिक चुकेको नै देखिन्छ ।

नेपालको सबैभन्दा जेठो र नेपाली भाषाका लागि मानक पत्रिका मानिने गोरखापत्र दैनिक पत्रिकाका अधिकांश विज्ञापनहरू भाषासम्पादन गरिएरै प्रकाशन गर्ने गरिएको पाइन्छ भने केही विज्ञापनमा गोरखापत्रले पनि कान्तिपुर र नागरिक दैनिककै सिको गरेर अशुद्ध शब्दहरूको प्रयोग गर्न अग्रसर हुँदै गएको देख्ता पाठकवर्ग झनै अन्योलमा पर्दै जानु अस्वाभाविक होइन ।

गोरखापत्र दैनिकमा प्रकाशित जङ्गी अड्डाको संशोधित सूचनामा आपूर्ति सम्बन्धी, दोश्रो, आव्हान, सेनाको लागि, कल्याणकारी तर्पm, समुह, गर्नको लागि, गरिएकोमा, हुंदा, जानकारीको लागि, पेश र पुर्व अशुद्ध शब्दहरूको प्रयोग गरिएको छ । तिनको सट्टा क्रमशः आपूर्तिसम्बन्धी, दोस्रो, आह्वान, सेनाका लागि, कल्याणकारीतर्पm, समूह, गर्नका लागि, गरिएकामा, हुँदा, जानकारीका लागि, पेस र पूर्व शुद्ध शब्दहरूको प्रयोग गरिनुपथ्र्यो ।
सूचना र विज्ञापनको वर्तमान जमानामा धेरैजसो पाठकहरूको ध्यान पत्रपत्रिकामा प्रकाशित सूचना र विज्ञापनमा नै बढ्ता जाने गर्दछ । त्यसैले गोरखापत्र, कान्तिपुर, नागरिकजस्ता दैनिक पत्रिकाहरूले छापा माध्यममा र विद्युतीय माध्यममा समेत आआफ्ना विज्ञापनहरूको भाषालाई बेवास्ता गरी अशुद्ध शब्दहरूको प्रयोग गर्ने परिपाटि पूर्णतः बन्द गर्नुपर्छ । अहिलेसम्म जीवित रहिरहेका भए प्राज्ञ चूडानाथ भट्टरायजस्ता नेपाली भाषाका चिन्तकले पत्रपत्रिकाको विज्ञापनको अशुद्ध भाषालाई नै आधार बनाएर न्यायालयको ढोका ढक्ढक्याउने थिए होलान् । आगामी दिनमा पत्रपत्रिकाहरूले आफ्नो विज्ञापनको भाषा पनि सम्पादन गर्नुपर्छ भन्ने दिशातर्पm ध्यान दिन बेवास्ता गरिरहे भने निश्चय नै चूडानाथ भट्टरायजस्तै कुनै भाषाचिन्तकले उनको मार्ग नपछ्याउलान् भन्न सकिँदैन ।

स्थानीयस्तरका चितवन पोष्ट दैनिक, विजय खबर साप्ताहिकजस्ता पत्रिकाहरूले त आफ्नो समाचार र लेखरचनामा जस्तै विज्ञापनको भाषामा पनि शुद्धीकरणको सचेतता अवलम्बन गर्दै आएका छन् भने राष्ट्रियस्तरका ख्यातिप्राप्त पत्रिकाहरूले आफ्नो विज्ञापनको भाषामा शुद्धता कायम गर्ने दिशामा यथासमयमै सचेत हुनु अपरिहार्य छ र यसका लागि पाठकवर्गले समयसमयमा भाषिक शुद्धताका लागि सम्बद्ध पत्रपत्रिकाहरूको ध्यानाकर्षण गराइरहनु पनि आवश्यक देखिन्छ ।

– सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय

Loading...