नेपाली साहित्यको सम्पूर्ण पत्रिका

जन्मदिनको अवसरमा तारानाथ शर्मासँग अन्तरंग

अन्तरवार्ताकार भगवती बस्नेत

नियात्रा लेखनका सुरुवाताकर्ता, यसै विधामा मदन पुरस्कार प्राप्त लेखक तारानाथ शर्मा आज ८६ वर्ष पुगे । स्मरण शक्ति कमजोर छ भन्दाभन्दै पनि उनले पुराना केही अनौठा कुराको सम्झना गरका छन् । साहित्यपोस्टका लागि भगवती बस्नेतले गरेको कुराकानीको मुख्य अंशः

दिनहरू कसरी बिताउँदै हुनुहुन्छ ?

पहिले पढाउँथे अमेरिकातिर । अहिले भने आफैँ पढ्दैछु । मिसिगन स्टेट युनिभर्सिटी भन्ने अमेरिकी विश्वविद्यालयमा भाषा विज्ञान पढाउँथेँ । अहिले भर्खरको विद्यार्थी जस्तै पढ्दैछु (हाँसो) ।

तपाईं नियात्रा विधाको शिखर स्रष्टा मानिनु हुन्छ । पहिले तपाईंको पालामा लेखिने नियात्रा र अहिले लेखिने नियात्रामा के फरक पाउनु हुन्छ ?

हरेक विषयमा सुधार र परिष्कृत हुँदैछ । नियात्रामा पनि त्यही भएको छ । अब के भने लेख्दालेख्दै जान्ने पनि भइयो, घुम्न पनि घुमियो संसारभरि । म नगएको कुनै देश छैन । त्यसो भएको हुनाले अलिकति धेरै जानियो र धेरै लेखियो । विदेशमा धेरै घुमियो र स्वदेशभित्र पनि घुमेको छु । स्वदेश घुम्ने कुनै पनि उपाय थिएन । अनि मैले एउटा कुरा चाहिं यसो विचार गरें- पहिला पहिला परीक्षा सञ्चालन हुन्थ्यो । परीक्षा सञ्चालन हुँदा परीक्षा नियन्त्रक भनेर ठाउँठाउँ पठाउँथ्यो सरकारले । त्यहाँ जानलाई मान्छे मान्दैनथे । म त जहाँ पनि गएँ । त्यसले गर्दा मैले सबै देशका ठाउँ-ठाउँका कुरा थाहा पाइयो ।


नियात्रा भनेको त आफैँ यात्रा गर्दा पाठकहरू पनि सँगसँगै हिँडून्, उनीहरुलाई पनि आफूलाई हिँडेजस्तो अनुभव होस् भन्ने अनुभूति दिने हो । ठीक छ । राम्रै छ । नियात्राको विकास भएकै छ ।

यहाँले न्वारान गर्नुअघि यस्ता लेखौटलाई यात्रा वर्णन भनिथ्यो । तपाईं आफैले नियात्रा भन्ने विधा दिनुभयो । कस्तो अनुभव गर्नु भएको छ ?

मलाई साह्रै नै गौरवको अनुभूति भएको छ । बडो रमाइलो लाग्छ ।

तपाईंलाई खरो समालोचक पनि भनिन्छ । तत्कालीन राजा मवीवि शाहका रचनामा समेत खरो आलोचना गर्नु भएको पढ्न पाइयो । यसैकारण जेलसमेत जानु परेको थियो भन्ने सुनिन्छ । सत्य के हो ?

यो झुटो कुरा हो है ! महेन्द्रको बारेमा लेखेर म जेल गएको त होइन । महेन्द्रसँग आवातजावत खुब थियो । उहाँकी श्रीमतीलाई पनि मैले पढाएको हो, पद्मकन्यामा । म त शिक्षक, आलोचक, सुधार होस् भनेर लेखेँ । त्यो कुरा उहाँले बुझ्नु भएको हो । यस अर्थमा लेखेकै कारण जेलमा पठाएको होइन । म जेल गएको उहाँलाई थाहै थिएन । बरु प्रोफेसरलाई किन थुनेको भनेर तुरुन्तै ‘ऊ’ गरिदिनु भएको हो ।

थुनिदिनु पर्ने प्रसंग केही त पक्कै थियो होला, के थियो ?

कारण के हुनु । विभिन्न विषयमा स्वतन्त्ररुपले लेख्थें नि म त । समालोचना गर्थें । भाषा किन बिग्रियो भनेर लेख्थेँ । झर्रो कुरा लेख्नुपर्छ भन्थेँ । त्यो कुरा एकथरिलाई मन परेन र उजुरी दिए । त्यसैले पक्राउ परेँ । त्यो अर्कै कुरा हो तर राजाको विषयमा लेख्यो भनेर बात आयो । यसरी कुरा बङ्गिन गयो । जेल गएको पनि हो । राजाको कविताको आलोचना पनि गरेको हो तर त्यसैको आधारमा भने होइन । त्यसरी अरुलाई पोल्नुहुन्न ।

समालोचना र साहित्य सिर्जनामध्ये तपाईंलाई कुन विधा बढी सहज लाग्छ ?

समालोचना पनि साहित्य नै हो । साहित्य भनेको साहित्य नै हो तर यी दुवै बेग्लाबेग्लै हुन् । समालोचना भनेको कसैले लेखेको कृतिलाई कस्तो छ त्यसले समाजमा कस्तो प्रभाव पार्छ ? त्यो मात्र हो ।

मैले सहजताको कुरा गरेको । कुन लेख्दा सहज हुन्छ ?

जे लेख्यो, त्यही सहज । मन लागेको कुरा लेख्दा सहज । अब कनेर लेख्दा असहज ।

तपाईंले बालकृष्ण समको कृतिको समालोचना गरेपछि उहाँसँगको निकटता अझ बढ्यो भन्ने सुनिन्थ्यो । आलोचना गरेपछि त दूरी बढ्नुपर्ने होइन र ?

असल मानिस आलोचनालाई महत्त्व दिन्छन् । म बनारसबाट भरखर भरखर एमए पास गरेर आएको थिएँ । त्यही बेलादेखि नै कडा लेख्थें । उहाँसँग मेरो राम्रो थियो, भेटघाट भैरहन्थ्यो । म ठूल्ठूला लेखकहरूसित पनि खुब राम्ररी बोल्थें । पद्मकन्या पढाउन थालेपछि रानी मेरी विद्यार्थी भइन् । त्यही बेला राजाले अंग्रेजी पत्रिका ‘द राइजिङ नेपाल’मा तारानाथ शर्मालाई ल्याउनुपर्छ भनेर आफनी श्रीमतीसित पनि कुरा गरेछन् । मलाई सुटुक्क रानीले यो कुरा भनिन् । मलाई त फाइदै भयो । मेरो अंग्रेजी ठिकै खालको थियो, त्यहाँ गएपछि राम्रो हुन थाल्यो । समको ‘चिसो चुल्हो’का केही कुरा चित्त बुझेको थिएन । मैले ‘चिसो चुल्होः झुसिलो डकार’ भनेर लेखिदिएँ । थाहा थिएन, समले मलाई के गर्नु हुन्छ । नेपाली साहित्यमा मैले तीनजनालाई ईश्वरजस्तै मान्छु म । एउटा देवकोटा, अर्का बाककृष्ण सम र अर्का चाहिं लेखनाथ पौड्याल ।
राइजिङ नेपाल पत्रिकामा गएपछि कहिले अमेरिकी एम्बेसी, कहिले ब्रिटिस एम्बेसी अनि कहिले अन्य एम्बेसीहरूले पनि सम्पादकहरू र राम्रा समालोचकहरुलाई समारोहहरूमा बोलाउँथे । एकदिन एउटा समारोहमा एक्कासि समलाई देखें । मलाई नजिक जान गाह्रो भयो । आफूले भगवान् मानेको मान्छेलाई आफ्नो अगाडि पाउँदा नबोलौँ पनि कसरी ? आफूले मानेको मान्छेलाई नमस्कार गर्छु भनेर गएँ । ऊ परबाट देख्नेबित्तिकै उहाँले ए तारानाथजी भन्दै बोलाउनु भयो । अनि म त झन् अब गाली गर्नुहुन्छ क्या हो भनेर छेउमा पुगेँ । ठीक भन्नु भयो तारानाथजी तपाईंले बुझ्नु भयो भनेर उहाँले भन्नुभयो। चिसो चुल्हो झुसिलो डकारै हो नि ! अरुले नबुझ्ने कुरा पनि आफ्नो फूर्ति देखाउनका लागि बुद्धि देखाउनलाई मैले खुब जान्ने भएर लेखेँ । वास्तवमा त्यो होइन के, मैले सबैले बुझ्ने गरिकन उनीहरूको स्तरमा पो लेख्नुपर्छ । जे पायो त्यही लेख्नु हुन्छ मैले ?
म त छक्क परेँ । अनि नमस्कार गरेँ । तारानाथजी यसो गरौं न, भोलि बिहान तपाईं दस बजे मेरोमा आउनुस् न, ल, तपाईंले मेरो ठाउँ त देखेको छ नि ? आउनुहोस् भन्नु भयो । अनि म एकदम खुशी भएर भोलि बिहान गएको त उहाँकै श्रीमतीलाई भुजा पकाउन लाएर भुजा खुवाउनु भयो । अनि त्यहीँ छलफल गर्यौं अनि प्रत्येक दिन गएर छलफल गर्न थालें । दुई तीन घण्टा दुई तीन घण्टा गरेर त्यहीँ खाने त्यहीँ लेख्ने गर्न थालेँ । कहिलेकाहीँ दिउँसो पनि जान्थेँ । उहाँसँगको सामीप्यताले गर्दा मैले सम र समका कृति भन्ने लेखेँ । यसरी नै यी त्रिमूर्तिहरूलाई रिझाउन सकिन्छ भन्ने लाग्यो । देवकोटा, लेखनाथको पनि सामिप्यतामा रहेर उनीहरुको बारेमा पनि लेख्ने विचार थियो तर उहाँहरुसँग बस्ने त्यस्तो सौभाग्य, त्यस्तो मौका पाइनँ । म नजिक त गएँ तर उहाँहरूको घरमा गएर छलफल गर्ने मौका पाइनँ ।

बाल्यकालका कुरा के-के सम्झनुहुन्छ ?

त्यो बेला बाहुनको छोरोले संस्कृत पढ्नतिर ध्यान दिनुपर्छ भन्ने थियो । त्यसैले बुबाले त्यतातिर लगाइदिनु भयो । संस्कृत पढेपछि पाणिनीको व्याकरण जानेँ । त्यही बेला रुद्री, चण्डी, गर्दैगर्दै गएर वेद पनि पढें । पूरा वेद पढदा वेद मन्त्र पनि पढें । वेद मन्त्र पढिसकेपछि मलाई बुबाले अब तैँले अंग्रेजी पढ्नुपर्छ बुझिस् भन्नु भयो ।
किन बुबा ? भनेको त ‘हेर, जुन दिन तैंले अंग्रेजी मातृभाषा भएका विद्यार्थीलाई अंग्रेजी पढाउँछस् त्यस दिन मेरो आत्माले सन्तुष्टि पाउँछ र म स्वर्ग जान्छु बुझिस्’ भन्नु भयो । तैंले त्यै गर्नुपर्छ भन्नुभयो । अनि उहाँले नै दार्जिलिङमा अंग्रेजी स्कुलमा भर्ना गरिदिनु भयो ।

अब झर्रोवादी आन्दोलनका बारेमा केही बताइदिनु न?

झर्रोवादी भनेको शुद्ध हुनुपर्छ भन्ने हाम्रो थियो किनभने म त बाहुनको छोरो, संस्कृत पनि पढेको सानैदेखि, शुद्ध नेपाली बोल्थेँ, शुद्ध नेपाली लेख्थेँ । अनि साथी भेटेँ मैले बालकृष्ण पोखरेल । बालकृष्ण पोखरेल र म शुद्ध नेपालीका अभियन्ताहरू हौँ । गर्न गरिसकेपछि अब त्यसलाई विशुद्ध नेपालीमा गर्नु वा भन्नु पर्छ भन्थेँ म चाहिँ संस्कृतबाटै । त्यतिबेला हामी बनारसमा बिए पढ्दै थियौँ सँगै । अनि त्यहीँबाट झर्रो नेपाली भन्यौँ र पत्रिका पनि निकाल्यौँ । त्यै पत्रिका निकालेर झर्रो प्रयोग गर्दागर्दै अनि हामी झर्रोमा चलेको हो ।

यहाँहरूले शुरु गर्नु भएको त्यो झर्रोवादी जुन लेखन वा आन्दोलन थियो अहिलेसम्म पछ्याइरहेकाछन् । आफूले शुरु गरेको आन्दोलन वा आफूले शुरु गरेको कुराहरू अहिलेका पुस्ताहरूले पच्छ्याइरहँदा यहाँलाई कस्तो अनुभूति हुन्छ ?

सारै राम्रो भा‘छ । हाम्रो नेपाली भाषालाई त्यसै गर्नुपर्छ नत्र त हिन्दीले पेल्छ हामीलाई । भन्न चाहिँ हामी हिन्दी पनि जान्दथ्यौं । अब त्यो हुँदैन, हिन्दीले हामीलाई पेल्छ, भाषा नै विलिन हुने डर हुन्छ, नेपाली भाषा पो हाम्रो शुद्ध भाषा हो । पृथ्वीनारायण शाहको देन हो यहाँ, यहाँका ठुलठूला राजाहरू अथवा हाम्रा लेखकहरूले पनि त्यै गरेका छन् भने हामीले किन अर्काको पच्छ्याउने ? हुँदैन, हामीले नेपाली नै शुद्ध गर्नुपर्छ, हाम्रा बाबा-आमाले गाउँगाउँमा जे गरे त्यै गर्नलाई झर्रो नेपाली गरौं भनेर झर्रो नेपाली गरेको हो ।

यहाँ प्रगतिशील लेखक संघको संस्थापक पनि हुनुहुन्छ । अनि प्रगतिशील लेखक संघले नेपाली साहियकारहरूलाई लेखनमा कत्तिको सहयोग पुर्याएको छ त?

प्रगतिशील भन्नाले त्यहाँ दुइटा कुरा छन् । एउटा त शुद्ध नेपाली हुनुपर्छ भन्ने अर्को चाहिँ प्रगतिशील भन्ने बित्तिकै कम्युनिस्ट हुनुपर्छ भन्ने । हामी त सानामा धेरै कम्युनिस्टबाट प्रभावित थियौं । त्यसो हुनाले हामी यो सामन्तीहरूलाई मन नपराउने, धनीहरूलाई मन नपराउने, यिनीहरूले जनतालाई हेप्छन् भन्ने भएको हुनाले, त्यस्तो किसिमले हेरिन्थ्यो नि त । त्यसैले भाषालाई मात्र शुद्ध गर्ने होइन, जनताको पनि भाषा हुनुपर्छ र त्यो भाषाले जहिले पनि जनताकै पक्ष लिनुपर्छ, जनतन्त्रको पक्ष लिनुपर्छ भन्ने हाम्रो विचार थियो । त्यसैले त्यतातिर लाग्यौ हामी । पत्रिकामा पनि त्यै लेख्थ्यौं ।

प्रगतिशील लेखक संघका लेखक र साहित्यकारहरूलाई केही सहज भएको छ ? अथवा केही फाइदा पुर्याएको छ ?

एकदमै धेरै फाइदा पुर्याएको छ । त्यसले गर्दा धेरै लेखकहरू निक्ले, जन्मे । त्यो आफ्नै भयो नि, नजिक हो नि त्यो ।

यहाँ नेपालदेखि बेलायत, अमेरिकासम्म पढ्न पुग्नु भयो । यहाँले नेपालको पढाइ र विदेशतिरको पढाइको स्तर कस्तो पाउनु भयो नि ?
विदेशतिर त पढाई असाध्यै राम्रो हुन्छ । उनीहरूको भाषा हुन्छ त्यहाँ । भाषाको कुरा हो, त्यहाँ अरु विषय त आफ्नो किसिमले विषयलाई अगाडि बढाउने हो भने त के फरक पर्छ र ? केही फरक पदैन । तर नेपाली त्यति अगाडि बढ्न सक्दैनन् अरुसँग । नेपाली अरुसित कम्पिटिसनमा अगाडि कहाँ बढ्न सक्छ र ? अंग्रेजीसित सक्छ र ? सक्दैन । अंग्रेजी संसारभरिका मान्छेहरूले पढ्छन्, हाम्रो नेपाली हामी नेपालीले मात्र हो ।

अन्त्यमा यहाँले ‘बेलायततिर बरालिंदा’ नियात्रा संग्रहभित्रको केही महत्त्वपूर्ण कुरा बताइदिनु हुन्छ कि?

बेलायततिर बरालिंदा भन्ने त्यो त बरालिंदा भनेको मात्र हो । रमाइलोसँग घुमेको भनेको हो । त्यसलाई झर्रो पारेको हो । त्यसलाई भरिसक्के हिन्दी र संस्कृतसँग नमिलोस्, अलिकति नेपाली जनताले बुझ्ने किसिमको भाषा होस् भन्ने गरेको मात्र हो । त्यो नेपाली भाषा राम्रो होस्, शुद्ध होस्, सबैले बुझून् र त्यसमा चाख लिऊन् भनेर मेरो स्वभाव अनुसारको काम गरेको हुँ । नेपालीपन राख्छु त्यहाँ, हिन्दीको त्यति प्रभाव हुँदैन त्यहाँ, संस्कृत शब्दहरू पनि भरिसक कम प्रयोग हुन्छ, त्यसपछि त्यो झर्रो नेपाली लेखन भयो, बुझ्नु भो नि !

कुनै समयमा यहाँ ताना सर्माको नामले सुपरिचित हुनुहुन्थ्यो । अहिले तारानाथ शर्मा लेख्न थाल्नु भएको छ । किन होला ?

यो के हो भने उही झर्रोवादमा तारानाथ किन लामो गरिरहनु भनेर ताराको ता र नाथ ना र झर्रोपनका लागि सर्मा लेखेर ताना सर्मा भएको हो । तानाश पनि लेखें केही समय छोटकरीमा । अब नयाँले मेरो नामलाई नेपाली छ्यास्मिसे शैलीमा लेखिदिन थालेका हुन् । अब तारानाथ शर्मा नै भइसकेँ । (हाँसो)

Loading...