नेपाली साहित्यको सम्पूर्ण पत्रिका

पाठकको पाठक

म बच्चा हुँदा मेरा काका हिन्दी जासुसी उपन्यासको यति ठूलो प्रशंसक हुनुहुन्थ्यो कि मोटा मोटा जासुसी उपन्यास पढेर उहाँका आँखा नै बिग्रिएका थिए। उहाँका चार सन्तान जन्मिसकेका थिए तर जासुसी उपन्यास पढ्न कहिल्यै छुटेनन्, भलै हामीले ती उपन्यास उठायौँ भने उहाँले बेलाबेलामा पिट्टा पनि लगाउनु हुन्थ्यो।

त्यो बेलामा हामी यति कलिला थियौँ कि ती मोटा किताबमा के थियो भनेर खोज्नुको साटो, काकाले बीचको पत्ता निकालेको थाहा पाउँदैनन् होला भनेर च्यातेर निकाल्थ्यौँ र कागजको नाउ बनाउँथ्यौँ। त्यो नाउलाई वर्षाले ल्याएको सानोतिनो बाढीमा बगाउँथ्यौँ।

पछि जब हामीले केही पढ्न जान्न थाल्यौँ, स्कुल जान थाल्यौँ अथवा टिनएजमा प्रवेश गर्न थाल्यौँ, काकाले ती उपन्यास पढ्न छाडिसक्नु भएको थियो। अवशेषका रुपमा केही उपन्यासहरु थिए घरमा र ती किताबलाई उहाँ विरक्तिका भावले हेर्नुहुन्थ्यो। तीमध्ये एउटा थियो, सुरेन्द्र मोहन पाठकको कुनै जासुसी उपन्यास। मलाई सुरेन्द्रको नाम किन याद आयो भने उपन्यासको नाउँभन्दा उनको नाउँ ठूलो अक्षले पुस्तकमा कुँदिएको थियो।

त्यो उपन्यास पढ्न थालेपछि मलाई रोकिने कुनै चाह भएन। भलै ती घटना मलाई वास्तविक लागे पनि अलिअलि हावा लागिरहेकै थियो। कुनै बन्द कोठामा हिरो थुनिएको थियो, ग्यासका कारण ऊ बेहोस हुन थालेको थियो र अकस्मात उसको साथीले हिरोलाई जोगाउँछ। यस्तै केही कथा थियो।

जिन्दगीले हुत्याएर कहाँकहाँ पुर्याउँँछ। किताबको मोह त जन्मियो तर जासुसी उपन्यासमा कहिल्यै रुचि जागेन तर पनि जब–जब मोटा किताब म सम्झन्छु, सुरेन्द्र मोहन पाठकको झल्को आइहाल्छ। जीवनमा पहिलो पटक मोटो किताब भन्ने बित्तिकै उनै सुरेन्द्र मोहन पाठकको जो देखेको थिएँ!

उनको जीवनीको एउटा अंश कतै पढेको थिएँ, जुन तपाईंसमक्ष राख्न चाहन्छु।

विमल सिरिजको चौथो उपन्यास ‘पैंसठ लाख की डकैती’ बजारमा आयो। प्रकाशकले अप्रशन्नता जनाए। खासमा सुनील सिरिज सबैभन्दा बढी चल्ने गरेको थियो तर त्यसका बाबजुद उनले विमल सिरिज निकालेका थिए। प्रकाशकले सुरेन्द्रलाई सुनील सिरिजकै उपन्यास देऊ भनेर करकर गरिरहेका थिए। यसअघि छापिएका उपन्यासले उनलाई आफ्नो गोडामा उभिने पर्याप्त आधार दिइसकेको थियो। त्यसैले छाप्ने भए छाप नछाप्ने भए पछि लेखौँला भनेर उनले प्रकाशकलाई बेवास्ता गरेझैँ गरे।

भारी अनिच्छाले प्रकाशकले सन् १९७७ मा ‘पैंसठ लाख की डकैती’ बजारमा ल्याए तर त्यहाँ एउटा बेइमानी प्रकाशकले गरिदिए। ‘विमल सिरिज’ छापिएको हुनुपर्नेमा ‘सुनील सिरिज’ लेखिएको थियो।

गुनासो गर्दा प्रकाशक याकूबले नसुनेझैँ गरे। पाठकले उपन्यासलाई यति मन पराए कि मेरा सारा गुनासा छू मन्तर भएर गयो।
प्रकाशकले फोनमा भनेछन्, ‘हेर सुरेन्द्र, यो उपन्यास पाठकले यति रुचाए कि अब सुनील सिरिज छाडेर यसैलाई अघि बढाऊ।’
त्यसपछि विमल सिरिजको पाँचौँ उपन्यास ‘ग्याङवार’ लेखेर प्रकाशकलाई पाण्डुलिपि बुझाए। छापिएर आउँदा त्यो उपन्यासको नाम ‘आज कत्ल होकर रहेगा’ थियो। सुरेन्द्र यति रिसाए कि उनलाई लाग्यो, यो जत्तिको बेइमानी अरु के होला?

छापिएर आई त सक्यो! बजारमा पुगी त सक्यो! एउटा संघर्ष गरिरहेको दुई पैसे लेखकसँग पाकेट बुकका प्रकाशकहरुले यस्ता ज्यादती त गरिरहन्थे नै! सुरेन्द्रले फेरि पनि आफ्नो मनलाई सम्झाए– दूध दिने गाईको लात्ती पनि सहनुपर्छ।

विमल शृंखलाको यो उपन्यासलाई पनि पाठकले रुचाए। खासमा के भयो भने लेखनीको हिसाबले अघिल्लो भन्दा यो राम्रो थियो। शुरुका तीन शृंखला विमल सिरिजलाई पाठकले उति रुचाएका थिएनन् तर चौथोपछि त यसलाई साँच्चिकै रुचाउन थाले भन्ने लाग्यो।

गाइड पकेट बुक्समा उनका पाँच उपन्यास छापिए, सुनील सिरिजका तिनमा थिएनन्। दुई वटा विमल सिरिज थिए र अन्य तीन वटा थ्रिलर उपन्यास थिए।

त्यो बेला जेम्स हेडली चेजको अंग्रेजी उपन्यासको धुम थियो। चेजका उपन्यास कसैले नक्कल गरी बजारमा ल्याएको थियो र चेजको उपन्यासले पकेट बुक्सको इतिहासमा बिक्रीको कीर्तिमान नै ल्याइदिएको थियो।

गाइड पकेट बुक्सले विभिन्न पत्रिकामा विज्ञापन गरी चेजका उपन्यासको आधिकारिक प्रकाशक आफू भएको र अरुले छापे कार्बाही गर्ने धम्कीयुक्त विज्ञापन प्रकाशन गरिरहेको हुन्थ्यो तर मेरठको कुनै प्रकाशकले चेजको एउटा अनुवाद छापेर बजारमा ल्याउनेबित्तिकै त्यो हारालुछ हुन थाल्यो। यो देखेपछि गाइडले फेरि विज्ञापन छपायो तर कसले टेर्ने? बद्लिँदो मौसम देखेर गाइड पकेट बुक्सले पनि चेज निकाल्ने प्रकाशकलाई मुद्दा हालेन। यही मौका कुरिरहेका ससाना प्रकाशकहरुले चेजका हिन्दी अनुवादको बाढी नै ल्याइदिए।

यसपछि दिल्लीका प्रकाशकहरु खासगरी साधना र डायमन्डले चेजका अनुवादहरु छाप्न थाले। त्यसपछि तिनै छापिएका उपन्यासको नक्कल कयौँ प्रकाशकले छापेर बेच्न थाले।

सुरेन्द्रले गाइड पकेट बुक्सका लागि अनुवाद तयार गरेका उपन्यास नै बढी बिक्री भए किनभने सुरेन्द्रलाई विश्वास थियो, जासुसी उपन्यास कसरी लेख्नुपर्छ र अनुवाद कसरी गरिनुपर्छ भन्ने उनले बुझेका थिए।

चेजको अनुवाद गर्ने लेखकका रुपमा सुरेन्द्रको नाम निकै फैलियो। कतिसम् मभने मेरठका ती प्रकाशकले त उनले अनुवाद नै नगरेका किताबमा पनि सुरेन्द्रद्वारा अनुवादित भनेर लेख्नसमेत थाल्यो। सुरेन्द्र भन्छन्, ‘त्यसको फाइदा भने प्रकाशकले पाउन सकेन किनभने पाठकले दुई चार पेज पढ्नेबित्तिकै थाहा पाइहाल्थे, यो अनुवाद सुरेन्द्रको पक्कै होइन।’

चेजका अन्य उपन्यासहरुको बाढीले देखायो, गाइड बुक्स चेजको एक्लो अनुवाद अधिकार पाउने खेलाडी हो भन्ने दाबी गलत रहेछ। तर त्यतिञ्जेल गाइडले कमाउनुपर्ने कुस्त रकम कमाइसकेको थियो। चेजका ८८ उपन्यास छापिएका थिए। तीमध्ये कतिपय त भारतमा पाइँदैन थिए तर ती सबै उपन्यास गाइड पकेट बुक्ससँग थियो भन्ने गाइँगुइँ चल्थ्यो।

गाइडका लागि चेजका उपन्यास सुरेन्द्रले गरिरहेकै थिए। पैसा राम्रै आए पनि यसबाट उन्मुक्तिका लागि पवन पकेट बुक्स र शनु पकेट बुक्सका लागि जासुसी उपन्यास उनले लेखिरहेका थिए।

साधना पकेट बुक्सका प्रकाशकहरु पनि सुरेन्द्रको खोजीमा थिए। कुन बेला राम्रो उपन्यास यसले लेख्ला र छापूँला भनी कुरिरहेका थिए।

पछि शनुका लागि चेजका उपन्यास अनुवाद गर्ने ब्रह्मप्रकाश त्यागी (साधनाका लागि चेजको अनुवाद गर्दा उनले नाम परिवर्तन गर्थे र प्रकाश भारती भनी लेख्थे)सँग भेट भयो। एउटा उपन्यास अनुवाद गरेबापत भारतीले चार सय भारु पाउँथे। उनीसँग हिमचिम बढ्यो।
एक दिन सुरेन्द्रले प्रकाश भारतीलाई भने, ‘हरेक प्रकाशक चेजको उपन्यास खोज्छन् र नयाँ अनुवाद छाप्न चाहन्छन्। तर नयाँ उपन्यास पाउन कठिन छ। कतै नपाइने एउटा उपन्यास तिमीलाई दिन्छु र तिनलाई आफ्नो फिस बढाउन भन।’

नभन्दै प्रकाश साधनामा गए। र, उपन्यास देखाउँदै भने, ‘यो कतै फेला पा¥यौ भने तिमीलाई सित्तैमा अनुवाद गरेर दिन्छु। पारेनौ भने १२ सयभन्दा कममा तिमीलाई यो उपन्यास दिन्नँ।’

साधना पकेट बुक्सले एक हजार दिन्छु भन्यो।

उपन्यास छापिएर बजारमा आउँदा पक्का भयो, अन्य प्रकाशककहाँ यो उपन्यास थिएन। यसको मूल अंग्रेजी किताब नै पाउनै मुस्किल हुने त्यो समयमा अनुवाद पाउनु कहाँबाट?

प्रकाशक र अनुवादक दुवै जना यति खुसी भए कि त्यो प्रकाशको अनुहारमा झल्किन्थ्यो। पछि उपन्यासको बिक्रीबाट खुसी भएको प्रकाशकले दुई हजार रुपैयाँ दिए, कबोलिएको रकमभन्दा दोब्बर।

यसबाट प्रकाश सुरेन्द्रबाट निकै उपकृत महसुस गर्न थाल्यो। यसपछि गाइड पकेट बुक्सका लागि सुरेन्द्रको नामबाट प्रकाशले अनुवाद गर्न थाले। गाइडले प्रत्येक उपन्यास अनुवाद गरेबापत १५ सय दिन्थ्यो। टाइपिङ फिस काटेर सबै पैसा प्रकाशलाई दिने गर्थे।
प्रकाश खुसी थियो। उसले सुरेन्द्रले भनेको मान्न थाल्यो। तर सुरेन्द्र पनि कम बाठा थिएनन्। उनले उपन्यासको पहिलो अध्याय अनुवाद गर्थे। त्यसपछिको बाँकी अनुवादका लागि प्रकाश भारतीलाई दिन्थे। उनले काम सकेर जब टाइपिङका लागि पठाउँथे, आफूले अनुवाद गरेको पहिलो अध्याय पनि जोडिदिन्थे। उपन्यास पाठकले पहिलो च्याप्टर सुरेन्द्रको स्तरीय अनुवाद पढेपछि पूरै अनुवाद उनकै हो भन्नेमा विश्वस्त हुन्थ्यो। त्यो जमानामा सबैथोक सस्तो थियो। बढीमा दुई सय रुपैयाँमा टाइपिङ हुने जमाना थियो।
यसरी चार पाँच पटक यस्तो सिलसिला चलिरह्यो।

गाइडले अनुवादबापत १५ सय दिन्थ्यो, त्यसमा टाइपिङ र पोस्टेजका दुई सय रुपैया ँतिरेर बाँकी पैसा प्रकाश भारतीलाई दिन्थे।
एक पटक आइतबारको दिन प्रकाश भारती सुरेन्द्रलाई भेट्न भनी गयो। उसले भन्यो, ‘गाइडमा मैले चिठ्ठी लेखेर चेजका पछिल्ला पाँच वटा उपन्यास मैले अनुवाद गरेको हुँ। त्यसैले सुरेन्द्रको साटो मलाई काम दिनुस् भनेको थिएँ तर याकूब भाइले त सुरेन्द्र मोहन पाठकलाई मैले सबै जिम्मा दिएको हुँ। उसले मान्यो भने हुन्छ।’

सुरेन्द्रले भने, ‘किन यस्तो गर्यौ भाइ तिम्ले?’

ऊ केही बोल्न सकेन। पछि साधना पकेट बुक्सको कसैले सुरेन्द्रलाई सुनायो, ‘गाइड पकेट बुक्सले अनुवाद गरेको तीन हजार दिन्छ, तिमीलाई त आधा मात्र दिएछ।’

गाइड पकेट बुक्सका मालिक याकूब अल्पशिक्षित थियो। अनुवादबारे मूल्याङ्कन गर्न ऊ असक्षम थियो। उसको व्यापार गुजरातको अहमदावादमा थियो र अनुवाद गराउनका लागि दिल्लीभरिमा मान्छे खोज्नुपर्थ्यो।

यस्ता काम प्रायः कुनै प्रकाशकको पत्नीले गर्थी। पत्नीले नसके साला–सालीले गर्थे। ती पनि फेला परेनन् भने साथी वा भतिजा भतिजीले गर्थे। तर यस्ता काममा मोटो फिस लिने तर निगर्तिलो अनुवाद गर्ने भएकाले हैरान भइरहेका थिए।

सुरेन्द्र मोहन पाठकले यसअघि एक दुई उपन्यास छापेको र ती उपन्यास देखेको याकूब भाइले पहिलो पटक भेटेर अनुवादक खोजिदिन आग्रह गरेको थियो। क्षमतावान् मान्छे खोजिदिने आश्वसन पनि उनले दिएका थिए। यसै क्रममा भूपेन्द्र कुमार स्नेहीसँग उनले कुरा गरे। आकर्षक रकम सुनेपछि उनी तयार भएका थिए।

स्नेहीले अनुवाद त गरे तर चाँडो काम सक्ने हेतुले उनले आधा काम मात्र गरे। मूल कथाबाट कताकती कयौँ कुरा गायब थिए।
यो थाहा पाएपछि प्रकाशक नै डुब्ने स्थिति आयो। यस्तोमा याकूब भाइले त्यसको जिम्मा सुरेन्द्रलाई नै लगाएका थिए।

एउटा लेखक अनुवादमा उत्रियो भने के हुन्छ भन्ने कुरा यहीँ प्रमाणित भयो। चेजका सारा उपन्यास उनले पहिले नै पढिसकेका थिए। त्यसैले गाइड पकेट बुक्सबाट यो पुस्तक चाहियो भन्ने कुरा भएपछि शुरुमा उनले उपन्यास पढिरहनै पर्दैनथ्यो। उनी नपढी अनुवाद थालिहाल्थे।

प्रकाशकहरु अनुवादकबाट हैरान भएका थिए, त्यसैले उनीहरु अरुलाई विश्वास गर्नै चाहन्न थिए। उनीहरु सुरेन्द्रले हेरेपछि कुरा पक्का हुन्छ भन्नेमा विश्वस्त भए। पहिले अन्य अनुवादकबाट हार खाएका उपन्यास पनि उनैको जिम्मामा आउन थाल्यो।

यसपछि चेज अनुवाद गरेर राम्रै कमाई गरुँला भन्ने प्रकाश भारतीको सपना सपना नै रह्यो। साधना पकेट बुक्सले उनको अनुवाद फिस चार सयबाट पाँच सयमा बढाइदियो। अन्य ठाउँमा प्रकाशले प्रयास नगरेका होइनन् तर उनले खास सफलता हात पारेनन्।
तापनि सुरेन्द्रसँग प्रकाश भेट्न आइरहन्थे र सोध्थे, ‘तपाईंसँग अझै पनि चेजको नयाँ उपन्यास अन्त कतै नछापिएको छ भने दिनु न।’

‘छ नि! मसँग अझै कयौँ किताब छ,’ सुरेन्द्रले चिढ्याउन भन्थे।

‘मलाई दिनु न! अहिले त झन् बढी पैसा दिन्छु भनिरहेका छन्।’

‘सरी यार, मैले त अर्कैैलाई दिइसकेँ। तिमी ढिला आयौ।’
‘कसलाई दिनुभयो?’

‘जब अनुवाद बजारमा आउँछ, त्यतिबेला नाम पढ्नू, कसले गरेको भनेर।’

यसलाई चेजको चमत्कार नै भन्नुपर्छ, सन् १९८० र ९० को दशकमा चेजका उपन्यासलाई कयौँ भारतीय प्रकाशकले यति निचोरे कि त्यसको कुनै जवाफ छैन। अहिले पनि हिन्दीमा जसले चेज पढेको छ, उसले मूल लेखक चेजभन्दा पनि अनुवादकलाई सम्झिरहन्छ।

(सुरेन्द्र मोहन पाठकको पुस्तक ‘हम नहीँ चंगे… बुरा न कोय’को सम्पादित पुस्तक अंश।)

Loading...