नेपाली साहित्यको सम्पूर्ण पत्रिका

‘यात्रामा पुस्तक लिएर हिँड्दा एक्लोपन महसुस हुँदैन’

जीवा लामिछाने नेपाल साहित्य जगतका लागि मात्र नभएर व्यावसायिक क्षेत्रको लागि पनि सुपरिचित नाम हो । व्यापारको शिलशिलमा उनी युरोप बस्छन्, तर पनि नेपाली साहित्यमा गहिरो लगाव राख्छन् । विभिन्न विधामा कलम चलाए पनि उनको विशेष पहिचान नियात्रामा छ । उनको नियात्रा संग्रह सरसर्ती संसार प्रकाशित भइसकेको छ भने ‘देश देशावर’ चाँडै फाइन प्रिन्टबाट बजारमा आउँदैछ ।

प्रस्तुत छ, व्यवसायी तथा साहित्यकार जीवा लामिछानेसँग साहित्यपोस्टका लागि कृष्ण ढुंगेलले गरेको अन्तरंग साहित्यिक संवादको सम्पादित अंशः

रूस र जर्मनीमा बस्नुहुन्छ । व्यापार–व्यवसायका र विभिन्न संघ-संस्थाहरुको दायित्व पनि उत्तिकै छ । लेखपढलाई पनि समय दिएको देखिन्छ । समय कसरी मिलाउनु हुन्छ ?
अंग्रेजीमा एउटा भनाइ छ नि, ‘इफ देयर इज विल देयर इज वे”, चाहना भयो भने उपाय निस्किहाल्दो रहेछ । प्रकृतिबाट हामी सबैले बराबर समय पाएका छौं- २४ घण्टा । आफ्नो रुचिअनुसार सबैले त्यही २४ घण्टा समय व्यवस्थापन गर्ने हो । मानिस जिउने आफ्नो खुसीका लागि पनि हो । जुन काममा मानिसको रुचि हुन्छ र जे गर्दा खुसी-सुखी हुन सकिन्छ, त्यही काम गर्नुपर्छ । प्रत्येक मानिसका आफ्ना-आफ्ना रुचि हुन्छन्, कसैको फुटबल हेर्ने बानी हुन्छ, कसैको टेनिस, ब्याडमिन्टन खेल्ने । मेरो विशेष रुचिका क्षेत्र यात्रा र साहित्य अध्ययन हुन् । म यसैमा रमाउँछु ।

सामान्यतः नेपाली व्यवसायीको साहित्यमा उति रुचि राखेको देखिँदैन । तपाईं भने ठीक विपरीत देखिनुहुन्छ । सफल उद्यमीभित्र साहित्यको रस कसरी पस्यो होला ?
मलाई त्यस्तो लाग्दैन । साहित्यमा रुचि हुने व्यवसायी म मात्रै होइन, अरु पनि धेरै हुनुहुन्छ । सफल उद्यमीको रुपमा परिचित अग्रज दाइहरु; वसन्त चौधरी, द्वारिका श्रेष्ठ आदि स्थापित लेखक हुनुहुन्छ । साहित्यलाई धेरै योगदान गर्नु भएको छ ।

साहित्य अध्ययन मेरो सानैदेखिको बानी हो । त्यतिबेला पाठ्यपुस्तकबाहेक पढ्नका लागि अहिलेजस्तो सामग्री उपलब्ध हुँदैनथे । थोरै पुस्तक उपलब्ध हुने त्यो जमानामा जति उपलब्ध हुन्थ्यो, म ती सबै पढ्ने गर्थें । काठमान्डू आएर कलेज पढ्न थालेपछि पुस्तक अलि सहजै उपलब्ध हुन थाल्यो । त्यतिबेला पुस्तकालयमा बसेर पढ्ने गरिन्थ्यो । रुस गएपछि पनि यो कायमै रह्यो । यात्रामा पनि म पुस्तक लिएर हिँड्ने गर्छु । यस्तो गर्दा मलाई एक्लोपन महसुस हुँदैन ।

धेरै खालका लेख लेखिरहे पनि तपाईंको पहिचान नियात्रा लेखनमा छ । पहिलो पुस्तक ‘सर्सर्ती संसार’ले नै एउटा उचाइ पायो । सामाजिक सञ्जालमा पनि सक्रिय हुनुहुन्छ । यसको कारण के होला ?
त्यस्तो धेरै त मैले के नै लेखेको छु र ? सामाजिक सञ्जालले अहिले निक्कै सजिलो बनाइदिएको छ । मनमा लागेका केही कुराहरु छोटकरीमा सार्वजनिक गर्न सकिने प्लेटफर्मका रुपमा मैले सामाजिक सञ्जाललाई उपयोग गर्छु । एउटा पूर्ण आर्टिकल लेख्नका लागि निक्कै समय खर्चिनु पर्छ, त्यति समय नै कहाँ हुन्छ र ? सामाजिक सञ्जालमा भने लागेका कुराहरु छोटकरीमै झटपट सेयर गर्न पाइयो । नियात्रा मलाई मनपर्ने विधा हो । म यात्रा गर्न रुचि राख्ने भएकाले पनि यसै विधामा लेख्न मलाई सहज लाग्छ । सरसर्ती संसार मैले रहरै-रहरमा लेखेको हुँ र यो एक औसत पुस्तक हो तर पाठकहरुले यसलाई मन पराइदिनुभो । नेपालय प्रकाशन गृहबाट यो चौथो पटक प्रिन्ट भैसकेको छ । ई-बुक प्रकाशन गर्ने अनलाइन पोर्टल ‘थुप्रै डट कम’ को ई-बुक शृंखलामा पनि सरसर्ती संसारले निक्कै राम्रो रिस्पोन्स पाएको सूचना पाएको छु । यसले मलाई थप उत्साहित बनाएको छ ।

समकालीन नेपाली नियात्रामा जुन किसिमको एकरसको थियो, त्यसलाई तपाईंको पुस्तकले विविधता दियो । नियात्रामा फरकपन ल्याउनुपर्छ भनेर सोच्नुभएको थियो कि लेख्दालेख्दै यस्तो भयो ?
नियात्रा लेखन अनुभूतिजन्य विषयमा नै केन्द्रित हुनुपर्छ भन्ने मान्यता छ, त्यो सही पनि हो । यात्रा गर्दा मलाई घुम्ने ठाउँको भूगोल, राजनीति, त्यहाँका मानिसको रहनसहन आदि विषयमा जान्ने उत्कट चाहना हुन्छ । गाइडबाट होस्, यात्रामा भेटिएका मानिसबाट होस् वा अन्य माध्यमबाट म सकेसम्म त्यस्ता सूचना संकलन गर्ने प्रयास गर्छु । मलाई रुचि लाग्ने त्यस्ता विषयहरु आमपाठकलाई पनि सायद रुचिकर होलान् भन्ने लागेकोले मैले ती विषयहरुलाई यात्रा अनुभवमा समेट्ने गर्छु । अनि अर्को कुरा, नियात्रा लेखनमा व्यक्तिगत कुराहरुमा मात्रै धेरै फोकस गर्न मलाई मन पर्दैन । फरकशैली बनाउने भन्दा पनि लेख्दै जाँदा यस्तै धार बन्यो । ‘सरसर्ती संसार’मा विवरणात्मक पक्ष बढी भयो भन्ने कुरा पनि आएको छ । घुमेका ठाउँको विषयमा केही जानकारीमूलक कुराहरु र घुम्दाका अनुभूतिहरुलाई सकेसम्म मैले एकाकार गर्ने प्रयास गरेको छु ।

नेपाली साहित्यको अन्तर्राष्ट्रियकरका विषयमा जोडतोडले कुरा उठेको देखिन्छ । तपाईंले धेरै कृतिको अनुवाद गरेको कुरा साहित्यपोस्टमार्फत थाहा पाइयो । अरुले पनि यस्ता काम गरिरहनु भएको छ तर त्यसले उचित परिणाम ल्याएको छैन । किन होला ?
बोलीचालीको नेपाली भाषा तथा श्रुति परम्पराको इतिहास पुरानो भए पनि रुसी, अंग्रेजी, फ्रेन्च आदि साहित्यको तुलनामा नेपाली साहित्य लेखन त्यति पुरानो होइन । नेपालजस्तो अल्पविकसित तथा पाठकको दायरा कम भएको देशमा हाम्रा अग्रजहरुको जुन साहित्यिक उचाई थियो, छ; त्यो हाम्रालागि निकै गर्वको विषय हो ।
नेपाली भाषाका हरेक विधाका उत्कृष्ट कृतिहरुको अन्तर्राष्ट्रिय भाषामा अनुवाद हुने हो भने हाम्रो सुगन्ध विदेशमा फैलिने थियो । तर मूल भाषामा लेखिएका ती कृतिहरुको विश्व भाषामा अनुवाद हुन नसकेकोले नेपाली साहित्य बाहिर त्यति चर्चामा नआएको हो ।

रुसी, अंग्रेजी, फ्रेन्च आदि साहित्यको तुलनामा नेपाली साहित्य लेखन त्यति पुरानो होइन । नेपालजस्तो अल्पविकसित तथा पाठकको दायरा कम भएको देशमा हाम्रा अग्रजहरुको जुन साहित्यिक उचाई थियो, छ; त्यो हाम्रालागि निकै गर्वको विषय हो ।

जीवा लामिछाने नियात्राकार

पछिल्लो समयमा केही कृतिहरुको अनुवाद हुन थालेको छ । अंग्रेजीलगायत अन्य प्रचलित विश्वभाषामा लेख्न सक्ने लेखकहरुको उदय भैसकेको छ, यो सुन्दर पक्ष हो । नेपाली साहित्यलाई अनुवादका माध्यमद्वारा व्यापक रुपमा विश्वमा फैलाउनु जरुरी छ । मैले व्यक्तिगत रुपमा केही थालनी गरेको थिएँ । कवितातर्फ ‘सेलेक्टेड नेपाली पोएम्स, (अनुवादक डा. तारानाथ शर्मा–१९९८) गीतिकवितातर्फ ‘सेलेक्टेड नेपाली लिरिकल पोएम्स (अनुवादक रविन शर्मा–२००१) निबन्धतर्फ ‘सेलेक्टेड एस्सेस (अनुवादक गोविन्दराज भट्टराई- २००३) र वानीरा गिरीको ‘कारागार’ उपन्यासलाई अनुवाद गराएर प्रकाशित गरेको थिएँ । यसका लागि सरकारी तथा गैरसरकारी साहित्यप्रेमी संस्थाहरुको अभियान जरूरी छ । स्तरीय अनुवाद हुनुपर्छ ।

डायास्पोरिक लेखनलाई कसरी नियालिरहनु भएको छ ?
डायास्पोरा लेखन संख्यात्मक र गुणात्मक रुपमा फस्टाइरहेको मैले महसुस गरेको छु । प्रवासी नेपालीहरुले साहित्यका विविध विधामा निरन्तर कलम चलाउँदै आएका छन् । यो लेखनलाई गम्भीर, गुणस्तरीय तथा मानक लेखनको रुपमा सुदृढ गरेमा स्वदेशी तथा विदेशी साहित्यमा छुट्टै पहिचान स्थापित हुनेछ । पहिलो पुस्ताको डायस्पोरा भएकोले हामीलाई जन्मदेश र कर्मदेश दुवै ठाउँको अनुभूतिलाई समेटेर लेख्न पाउने अवसर छ ।

पुरस्कार सर्जकका लागि ठूलो प्रोत्साहन हो । नेपालको विश्वसनीयमध्ये एक पद्मश्री पुरस्कारको स्थापना पनि गर्नुभयो। तर किन स्थापना गर्नुभयो?
साहित्य र कलाको विकास बिना गतिशील समाजको निर्माण र यसको सर्वाङ्गीण विकास सम्भव छैन । शिक्षित र सभ्य समाज निर्माण र रुपान्तरणमा सर्जकहरुको ठूलो योगदान रहेको हुन्छ । यस्ता सर्जकहरुलाई केही प्रोत्साहन होस् भन्ने उद्देश्यले वि.सं. २०६३ सालदेखि पद्मश्री पुरस्कार स्थापना गरिएको हो । मोफसलका सर्जकको उत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने गरी यसको सुरुआत भएको थियो । २०६६ सालदेखि भने यसको दायरा फराकिलो बनाइएको छ । पद्मश्री साहित्य पुरस्कार कृतिलाई र पद्मश्री साधना सम्मान दीर्घसाधना गर्नुहुने सर्जकलाई प्रदान गरिदै आएको छ । यस वर्षदेखि दुवै पुरस्कारको राशि वृद्धि गरी ३/३ लाख रुपियाँ हुने निर्णय गरिएको छ ।

तपाईंका दुई छोरा सानैदेखि लेख्नुहुँदो रहेछ । उहाँहरुको अङ्ग्रेजी पुस्तक प्रकाशन भएको देखियो । भावी पुस्तालाई पनि यतातिर आकर्षित गर्न खोज्नुभएको हो ?
बच्चाहरुका लागि पहिलो विद्यालय आफ्नो घर र पहिलो शिक्षक आमा-बाबु हुन् भन्ने चलन छ । सबै बाबुआमा आफ्ना सन्तानले प्रगति गरुन्, राम्रो संस्कार पाऊन् भन्ने चाहना राख्छन् । हामीले पनि बच्चाहरुलाई सकेसम्म गुड प्यारेन्टिङ दिने प्रयास गर्यौं । साहित्यमा मेरो विशेष रुचि भएकोले सानैदेखि उनीहरुलाई पनि मैले पढ्नका लागि इन्करेज गर्दै गएँ । उनीहरुको पुस्तक पढ्ने आदत बस्दै गयो, अनि बिस्तारै लेख्न पनि थाले । उनीहरुको एज ग्रुपले मन पराउने खालका लेखहरु सानैदेखि लेख्ने गर्थे । टिचरहरुबाट पनि उनीहरुलाई प्रेरणा मिल्न थाल्यो । बेलाबेलामा काठमाडौँ पोस्ट, रिपब्लिका, दि हिमालयन टाइम्सजस्ता पत्रिकाहरुले पनि स्थान दिएको हुँदा उनीहरु उत्साहित हुँदै गए । उनीहरुले सानो छँदा डायरीमा लेख्ने गरेका कुराहरु समेटेर सन् २०१२ मा हामीले पुस्तक प्रकशित गरिदिएका थियौं । त्यतिबेला अनुरागको उमेर १४ वर्ष र अनुकृतको १२ वर्ष थियो । अहिले त उनीहरु केही म्याच्योर पनि भइसके ।

तपाईंको दोस्रो पुस्तकको चाँडै पाठकले पढ्न पाउने चर्चा सुनिएको थियो । पुस्तकको कभरसमेत सार्वजनिक भएको थियो तर अहिले त्यसको चर्चा छैन, कारण के होला ?
मेरो दोस्रो नियात्रा संग्रह ‘देश देशावर’ फाइनप्रिन्ट प्रकाशन गृहबाट प्रकशित भएर आइसकेको छ । चैत्र महिनाको सुरुमा यसलाई सार्वजनिक गर्ने मिति तय भैसकेको थियो तर कोभिड-१९ ले सिर्जना गरेको विषम परिस्थितिका कारण यसलाई लोकार्पण गर्न सकिएको छैन । अब कहिले सार्वजनिक गर्ने भन्ने विषयमा प्रकाशकसँग छलफल गरेर छिट्टै निर्णय गर्नेछौँ ।

धेरै नेपाली लेखकहरुको संगत गर्ने, उनीहरुलाई हौसला दिने व्यक्तिमा तपाईंको नाम अग्रपंक्तिमा पर्दोरहेछ । संगत गरेकामध्ये तपाईंलाई बढी प्रभावित पार्ने साहित्यकारहरु को-को हुन् ?
मलाई मन पर्ने धेरै लेखक, साहित्यकारहरु हुनुहुन्छ । हरेक विधामा विशिष्ट पहिचान बनाउनु हुने स्रस्टाहरुसँग मैले संगत गर्ने अवसर पाएको छु । उहाँहरु सबै मेरालागि प्रेरणाको स्रोत हो । धेरै साधकहरुबाट मैले स्नेह र सद्भाव पाएको छु । उहाँहरुबाट प्राप्त प्रेम र सद्भावले मलाई लेखनमा र यस क्षेत्रमा केही योगदान गर्न ऊर्जा प्रदान गरेको छ ।

अन्त्यमा, साहित्यपोस्ट पढ्ने गर्नुहुन्छ ? यसका राम्रा पक्ष के लाग्छन् ? यो संस्थाले आफूलाई कहाँ-कहाँ सुधार गर्नुपर्छ भन्ने लाग्छ ?
यस प्रकृतिको विद्युतीय पत्रिकाको आवश्यकता धेरै जनाबाट महसुस हुँदै आएको थियो । त्यो भ्याकुम तपाईंहरुले पूरा गर्नु भएको छ । एक महिनादेखि नियमित रुपमा साहित्य पोस्टमा प्रकाशित सामग्रीहरु पढ्दै आइरहेको छु । स्तरीय सामाग्री प्रकाशन र यो पोर्टलको सस्टेनेबिलिटीका लागि साधन, स्रोत महत्त्वपूर्ण पक्ष हो । त्यसैले यसलाई सामाज सेवाका रुपमा नभई व्यावसायिक रुपमा चलाउने प्रयास गर्नुहोला । नयाँ काम भएकाले सुरुमा केही कठिनाई हुन सक्छ तर राम्रो कामको सुरुआत भएकाले सहयोगी हातहरु अवश्य मिल्नेछन् । तपाईंहरुको मिसन सफल होस्, मेरो शुभकामना ।

आमासँग भलाकुसारी गर्दै नियात्राकार जीवा लामिछाने
Loading...