नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सबै सोच साहित्य किन बन्दैनन् ?

अंकित

चलचित्र “इन्सेप्सन” ‘आइडिया’ अर्थात् सोचको विजारोपणको कथा हो । यसमा एउटा समूह छ, जसका सदस्यहरू आफ्नो ‘टार्गेट’को सपनामा गएर उसको दिमागमा कुनै सोच राखिदिन्छन्, जुन ‘भाइरस’ सरी फैलिन्छ । रमाइलो कुरा के भने, त्यो मानिसलाई त्यो सोच आफैँ आएजस्तो लाग्छ । ऊ ठान्छ, त्यस्तो सोच ऊ आफूले बाहेक अरूले सोच्न सक्दैन । अधिकांश मानिसलाई व्यक्तिगत संघर्ष, समाज, देखे, सुनेका अनि पढेका कथा र स्वैरकल्पनाले किसिसकिसिमका सोचको विजारोपण गरिदिन्छन् । सर्जकहरूको मस्तिष्कमा ती सोच यसरी बढ्छन् कि त्यसका बारेमा केही नलेखेसम्म छटपटी भइरहन्छ । तर जति नै छटपटी भए पनि धेरै सोचहरू अक्षरमा परिवर्तन हुँदैनन् । धेरै लेख्ने साहित्यकारहरू पनि मनमा आएका सबै कुरा लेख्दैनन् ।

किन बन्दैनन् सबै सोचहरू साहित्य ? केले छेक्छ?
मानिस आफैँ र उसको समाज पनि साहित्य सिर्जनामा बाधक हुन सक्छ। अधिकांशले लेख्ने समय छुट्याउन सक्दैनन्। विभिन्न काममा अल्मलिँदा नलेखिएको सोच आफैँ हराएर जान्छ । लेख्न पनि मन लाग्न छोड्छ । कतिपय लेख्न अल्छी गर्छन् । समाज पनि एकदम छिटो परिवर्तित भइरहेको छ । आजका सामाजिक मान्यता भोलि गलत हुन सक्छन् । यसरी कतिपय सोचहरू असान्दर्भिक भइदिन्छन् अनि दृष्टिकोणमा आएको परिवर्तनका कारण पुरानो सोचका बारेमा प्राय: लेख्दैनन् ।

साहित्य सिर्जनाको सबैभन्दा गाह्रो काम “लेख्न थाल्नु हो” । लेखकहरूलाई, अझ ठूला आकारका साहित्य सिर्जना गर्ने साहित्यकारहरूलाई एकदमै सताउने एउटा समस्या हो ‘राइटर्स ब्लक’ । त्यस्तो अवस्था हो, जब मनमा लेख्ने हुटहुटी भइरहँदा पनि लेखकहरू केही लेख्न सक्दैन् । लेख्न थाल्दा वा बीचमा, कुनै पनि बेला यो समस्या आउन सक्छ । “पाठशाला”का सर्जक तीर्थ गुरुङले हालै यो समस्या आएको ट्विट गर्नुभएको थियो । जर्ज आर. आर. मार्टिन, जसको पुस्तकहरूको आधारमा अहिलेसम्मकै सर्वाधिक सिरिज बन्यो, अन्तिम पुस्तकहरू लेख्न संघर्ष गरिरहनुभएको छ । ‘राइटर्स ब्लक’ केही कारणहरू छन् :

सान्दर्भिक पोस्ट

१. सोचेजस्तो लेख्न सकिनँ/सक्दिनँ कि भन्ने डर । (पर्फेक्सनको चाहना ।)
२. पूरै लेख्न सक्दिनँ कि भन्ने शंका ।
३. नयाँ साधकलाई ‘रिजेक्सन’को डर । स्थापित साधकमाथि प्रशंसकको अपेक्षा ।
३. खुलेर नबोलेका कुराहरूलाई लेखनमा ढाल्न खोज्न उत्पन्न संवेदना ।
४. लेखकको आर्थिक-सामाजिक-मानसिक अवस्था ।

स्टेफेन किङसँगको एउटा संवादका क्रममा ‘पर्फेर्क्सनिस्ट’ भनेर चिनिइनुहुने जर्ज आर. आर. मार्टिन सोध्नुहुन्छ, “तपाईं छोटो समयमा यति धेरै कसरी लेख्नुहुन्छ ?” किङको साधारण तर महत्त्वपूर्ण जवाफ आउँछ, “म सधैँ लेख्छु ।”

किङको एउटा नियम रहेछ, हरेक दिन कम्तीमा २००० शब्द लेख्ने । त्यसलाई राम्रो नराम्रोको कसीमा नराख्ने । कुनै उपन्यासको पहिलो ‘ड्राफ्ट’ तयार भएपछि डेढ महिना त्यसलाई थन्काउने । कतै घुम्न जाने या अरू नै केही लेख्ने । अनि डेढ महिनाअघिको सिर्जनालाई परिमार्जन गर्ने । किङको नियमले ‘राइटर्स ब्लक’ हटाउने उपायहरू दिन्छन् :

१. नियमित लेख्ने ।
२. जस्तो भए पनि सोचलाई कागजमा उतार्ने ।
३. लेखिसकेको चीजलाई सम्पादन/परिमार्जन गर्ने ।

“केही लेखेकै छैन भने केही परिमार्जन गर्न सकिन्न” भनिन्छ । यो काम त्यति सजिलो भने छैन । जापानी ‘एनिमेटेड’ चलचित्र “विस्पर अफ द हार्ट”मा साहित्यकार बन्ने सपना देख्ने सुजुकीलाई बूढो निशीले एउटा ढुंगा दिन्छ । त्यो ढुंगाभित्र एमराल्ड (हरियो रङको महँगो मणि) च्यापिएको छ । सुजुकीको पहिलो ‘ड्राफ्ट’ पढिसकेपछि निशीले भन्छ, “तिमीले मिहिनेतसँग यो कथा लेखेर यस्तै पत्थर उत्खनन् गर्यौ । यसलाई ‘पोलिस’ गरेर बहुमूल्य मणि निकाल्न तिमीले अझै धेरै मिहिनेत गर्नुपर्छ ।”

व्यावसायिक रूपमा कुनै पनि साहित्यिक कृति प्रकाशन गर्न सजिलो छैन । सम्पादकहरूले हिज्जे शुद्धीकरणदेखि कथानकको बनावटसम्मका विषयमा टिप्पणी गर्छन् । अनेकौं पटक पुनर्लेखन गर्छन् लेखकहरू । बुद्धिसागरको “कर्नाली ब्लुज”का ड्राफ्टहरूको अग्लो चाङ धेरै अघि उहाँको फेसबुक पेजमा देखेको थिएँ । ग्याब्रियल गार्सिया मार्खेजको “वन हन्ड्रेड इयर्स अफ सोलिट्युड”को पहिलो ‘ड्राफ्ट’ एकदमै फरक थियो रे ! यसरी परिस्कृत भएर आएका उत्कृष्ट किताबहरू पढ्दा नयाँ साहित्यकारहरूलाई उत्प्रेरणा मिल्छ । तर कतिपयलाई भने लेख्न झनै गाह्रो पनि बनाइदिन्छ । किनभने:

१. सोच नयाँ रहेनछ ।
२. स्वाद जति छिटो विकसित हुन्छ, कला त्यति छिटो हुँदैन ।

भनिन्छ, संसारमा ‘ओरिजिनल’ केही पनि छैन । तथापि नयाँ सोचहरू आउँदै नआउने भने होइन । नयाँ गर्न सकिएन भने उपाय छ—नक्कल गर्नु । यसमा साधकले सावधान हुन भने निकै जरुरी छ । कला/साहित्यमा नक्कलको एउटा मूलमन्त्र हो : “एकजनाको नक्कल गर्नु चोरी हो, सय जनाको नक्कल गर्नु चाहिँ कला ।” अर्को : “नक्कल यति राम्ररी गर्नु कि नक्कल गरेको थाहै नहोस् ।”

“विस्पर अफ द हार्ट”मै सुजुकीले लेखक बन्छु भन्दा उसको पिताले भन्छ, “तिमीले कमैले लिने फरक बाटो रोज्यौ । यसको जिम्मेवारी तिमी आफैँले लिनुपर्छ ।” प्राय: साहित्यकारहरूको जीवन सरल हुँदैन, आफ्नै मनमा हुने अन्तरद्वन्द्व, पारिवारिक बेमेल, फरक सोच भएका कारण समाजले गर्ने अपेक्षा र द्वन्द्व, आर्थिक समस्या आदिले गर्दा । धेरैजसो साहित्यकारका एकदमै थोरै मित्र हुन्छन् । कतिपय उत्कृष्ट लेखकहरू डिप्रेसनको शिकार भएका उदाहरण छन् । नेपाली हास्यव्यंग्य साहित्यका सम्राट भैरव अर्यालका आत्महत्या वरिपरिका घटनाक्रमले मर्माहत बनाउँछ । त्यस्तै, जापानी छोटा कथाका पिता आकुतागावाका मानसिक छटपटीका कथाहरू एकदमै पीडादायी छन् ।
अन्तरद्वन्द्व, आत्मसंदेह अनि विभिन्न संघर्षपछि साहित्य साधकले आफ्नो सोच पाठकसामू पस्किन्छन् । कमै मात्रै साहित्यकारले आर्थिक रूपमा सफलता पाउँछन् । कतिपय सोच र सोचको प्रस्तुति पाठक/स्रोतालाई चित्त बुझ्दैन । कहिलेकाहीँ त पाठकले साहित्यकारको सोचसम्म पुग्नै सक्दैनन् । कतिपय पाठकले आफ्नो रुचि र विचार अनुसारको साहित्यकारले रचोस् भन्ने पनि चाहन्छन् । कुनैकुनै पुस्तक त पाठकले नै च्यात्छन्, जलाउँछन् । यस्तो देख्दा, सुन्दा चाहिँ मन चसक्क दुख्छ । त्यसो त लेखिएका सबै कुरा राम्रा हुन्छन् भन्ने छैन । ‘प्रोपगान्डा’ र द्वेष फैलाउने उद्देश्य राखेर पनि पुस्तकहरू लेखिन्छन् । यस्ता पुस्तकहरूको भण्डाफोर गर्न पनि ती पुस्तक पढ्नु पर्ने हुन्छ ।

सफलता, असफलतालाई खासै महत्त्व नदिएर, अनेकौं दु:ख पार गरेर आफ्नो सोचको सूर्यबाट विश्वलाई प्रकाशित गर्न सक्ने सम्पूर्ण साहित्य सर्जकमा नमन ।


Loading...