नेपाली साहित्यको सम्पूर्ण पत्रिका

किन बढ्दैछन् नेपाली साहित्यमा प्रवासी कथाहरू ?

नेपालीहरू प्रवास जानुमा आजको समयमा रहर भन्दा पनि बढी त वाध्यताका रूपमा नै पाइन्छ । वैदेशिक रोजगारीलाई विगत्कालदेखि नै परिवार धान्ने उपयुक्त माध्यमका रूपमा लिइँदै आइएको कुरामा कुनै द्धिविधा रहँदैन । पारिवारिक जोहो टार्ने माध्यमपछि प्रवासको रोजगारी सपना साकार पार्ने आकांक्षाको रूपमा हेरिन थालियो फलस्वरूप विहेवारी मानप्रतिष्ठामा बढोत्तरी गरेर हेरिन थालियो ।

आजको नेपाली समाजमा वैदेशिक रोजगारीमा नेपाली युवा जमातको सपना र यथार्थ मिसिएको पाइन्छ । नेपाली समाजमा आय आर्जनको स्रोतको कमी हँुदा दैनिक गुजारादेखि भविष्यमा आइपर्ने टड्कारो परिस्थितीसँग जुध्ने माध्यमको एउटा प्रमुख विकल्पमा युवाहरूले वैदेशिक भूमिलाई गन्तव्य स्थल बनाउँदै आएका छन् । तर प्रवासी नेपाली युवाहरूलाई कर्म भूमि उनीहरूको सपना साकार बनाउने ठाउँको रूपमा मात्र नरहेर जीवनमा हरेक तितामिठा पाठहरू सिकाउदै आएको प्रमुख विषय बन्न पुगेको छ । यसै क्रममा नेपालीहरूसँग जोडिएका घटनाक्रमहरूसँगै नेपाली समाजलाई पनि गहिरा चोटहरू नपरेका होइनन् । थला परेका वृद्ध आमाबाबु, जवान श्रीमति÷श्रीमान, नाबालक छोराछोरीहरूको अवस्था तथा भविष्यलाई पनि आत्मसाथ गरेर नेपाली युवा जमात विदेशमा पसिना वगाइरहेको वास्तविकता त छँदैछ । तथापि प्रवासीका यथार्थ जीवनकथाहरू उनीहरूको सपना भन्दा फरक बन्दै आइरहे र हाल आएर प्रवासी नेपालीको वृतान्तले विस्तृत रूप नै लिन थालेको छ । यस्ता सामाजिक परिवेश र मानविय भावनासँगको संयोजन गराउने बलियो माध्यमको रूपमा साहित्यलाई रोजिन्छ । नेपाली साहित्यले प्रवासी नेपाली र उनीहरूका भावनात्मक अनुभवहरूको समिश्रीत आकांक्षा, उमंग, प्रहर र कहरको सहज र छरितो तरिकाले चित्रण गरिदिन्छ ।

आजको वर्तमान परिस्थितीमा ठूलो संख्यामा नेपालीहरू विभिन्न प्रवासी मुलुकहरूमा रहनु वा जानुमा कुनै अकल्पनिय कुरा त होइन किनकि आजको प्रवासनको स्वरूप यसको सुरुवाती चरणको विकासक्रमको परिणाम भन्न सकिन्छ । प्रवासनको सुरुवात तिर्थयात्री (नेपालीहरू गयामा श्राद्ध गर्न जाने), शिक्षा आर्जन (वनारसमा संस्कृत तथा ज्ञानआर्जन गर्न), श्रमिक÷रोजगारी जस्तै मलायामा गएका नेपालीहरूको रोजगारीदेखि लिएर भारतिय तथा गोर्खा ब्रिटिश हुँदै हालको वर्तमान परिवेशमा आएर प्रवासमा नेपालीका विभिन्न स्वरूपहरू रहेका छन् जस्तो कि प्रवासमा विद्यार्थी, प्रवासी कामदार, सेना लगायत अन्य रूपमा बाक्लो संख्यामा परदेशमा नेपालीहरू पाइन्छन् । यस बारेमा वर्तमान समयका साहित्यीक प्रस्तुतीहरूले पनि प्रष्ट रूपमा चित्रण गरेका छन् ।

पिमला न्यौपाने

नेपालीहरू प्रवास जानुमा आजको समयमा रहर भन्दा पनि बढी त वाध्यताका रूपमा नै पाइन्छ । वैदेशिक रोजगारीलाई विगत्कालदेखि नै परिवार धान्ने उपयुक्त माध्यमका रूपमा लिइँदै आइएको कुरामा कुनै द्धिविधा रहँदैन । पारिवारिक जोहो टार्ने माध्यमपछि प्रवासको रोजगारी सपना साकार पार्ने आकांक्षाको रूपमा हेरिन थालियो फलस्वरूप विहेवारी मानप्रतिष्ठामा बढोत्तरी गरेर हेरिन थालियो । नेपाली समाजमा विदेशको लाउरेका नामबाट बढ्न थालेको उचाइ आज विदेशको डिग्री तथा स्थायी निवास भन्दै प्रवासमा जान नेपालीलाई दिइने हौसला त छँदैछ जसमा नेपालीपनका कारण दुखेको मनको गहिरो घाउ पनि नेपालीहरूको आफ्नै वास्तविकता होला ।

तर प्रवासमा मनग्य पैसा कमाउने, घर धान्ने, छोराछोरीको शिक्षादिक्षाको व्यवस्थापन, परिवारको औषधीउपचारको जोहो र सुखी परिवार बनाउने सबै सपनाहरू साकार हुँदै आइरहेका पाइदैनन् । प्रवासमा शिक्षा, रोजगारी र बसाईका आफ्नै वास्तविकताहरू छन् कति व्यक्त छन् त कति अव्यक्त छन् । हरेक वर्ग र क्षेत्रमा रहेका प्रवासीहरूलाई समेट्ने एउटा साझा माध्यम साहित्य बन्न पुगेको छ किन कि साहित्यमा भोगाइ र कथाहरू हुन्छन् जसलाई जस्ताको त्यस्तै प्रस्तुत गरिन्छ र यसमा वास्तविक सत्यता झल्किएको हुन्छ जसले व्यक्त र अव्यक्त भावनाहरू समटेको हुन्छ । प्रवासी नेपाली सपनाका बावजुत परिणाममा हण्डर, ठक्कर, रोग, भोक र शोकले पिरोलिरहेका प्रशस्त उदाहरणहरू भेटिरहन्छन् तर यसलाई सहनु र गुज्रनुको सहज विकल्प साहित्यले थेगिदिएको पाइन्छ । दुःखै दुखको र सुखको पनि विसाउने माध्यम साहित्य नै हो जुन विभेदरहित रूपमा मान्छेको विवशता, रहर, कहर तथा वेदनालाई चित्रित गरेको हुन्छ ।

प्रवासी र साहित्यकै सन्दर्भमा विभिन्न साहित्यकार, लेखक तथा संगीतकारहरूले नेपाली समाजमा प्रवासी परम्पराहरूलाई उजागर गर्ने क्रम बढ्दो रूपमा भेटिन्छ । यसैगरी मलाया एक्सप्रेस उपन्यासमा मा अखण्ड भण्डारी प्रवासको रोजगारी नेपाली युवाहरूको वाध्यता र यसले निम्त्याएको विचलनसँगै प्रवासमा सिकेको ज्ञान र सीपले आफ्नै गाँउठाउँमा उद्यमशीलताको थालनी गर्ने लगायतका कुराहरूको प्रस्तुती दिएका छन् । प्रा.डा. जिवलाल सापकोटाको कविता संग्रह सिर्जना —तिर्सनामा विभिन्न भेषभुषाले परिचित प्रवास जाने नेपालीहरू नेपाली माटोको र देशप्रेमको सुन्दर सपना बोकेका हुन्छन् भन्ने कुराको अभिव्यक्त पाइन्छ । कहर उपन्यासमा जनकराज सापकोटाले आर्थिक सुधारको उपयुक्त बाटो सम्झी खाडी लागेका युवाहरूको जिवनविहिनता र आश्रित परिवारको वैराग्यलाई उजागर गरेका छन् । उमा सुवेदीको तोदा उपन्यासमा प्रवासमा नेपाली नेपाली महिलाको स्थिती र उनको व्यक्तिगत, पारिवारिक, आर्थिक, सामाजिक लगायतका पक्षहरूको राम्ररी चित्रण गरेकी छन् ।

अहिलेका प्रवासीको कयौं प्रहर र कहरहरू प्रवासी पुर्खाको इतिहाससँग जोड्ने कसी भनेको साहित्य जसबाट पाठकवर्गले स्वतस्फूर्त र मनोरञ्जनात्क शैलीमा विषयबस्तुभित्रको गहिराई र यथार्थ बुझ्दछन् । त्यस्तैगरी मुग्लानमा तत्कालिन समयमा पुर्खाले भोगेका व्यक्तिगत, पारिवारिक र सामाजिक वेदना वर्तमान समयमा विज्ञान र प्रविधीसँग जोडिएका नेपाली प्रवासीको पीडामा कमी छ भनेर भन्न नमिल्ने कुरा साहित्यीक दस्तावेजले प्रष्ट्याउछ । आजको वर्तमान परिस्थितीसम्म आइपुग्दा धेरै संख्यामा नेपाली युवाहरू कुनै न कुनै रूपमा प्रवासमा रहेको कुरा विभिन्न तथ्याङ्कहरूमा पाइन्छ । यस सन्दर्भमा नेपालमा पब्लिक हेल्थका वरिष्ठ अनुसन्धानकर्ता डा. शारदा प्रसाद वस्तीले विगतमा भन्दा पनि आधुनिक समयमा सबैभन्दा बढी नेपाली प्रवासी कामदारको शारिरीक स्वास्थ्यका साथै मानसीक स्वास्थ्य निकै खस्किरहेको औल्याएका छन् । त्यस्तै नेपाली समाजमा प्रवासी पीडाको अमिट छाप बोकेको लक्ष्मीप्रसाद देवकोटाको मुनामदन जस्ता साहित्यीक कृतिहरू त्यो समयदेखी लिएर अहिलेको परिवेशमा पनि सान्दर्भिक नै देखिन्छ । वर्तमान समयका कृतिहरूले पनि परवासीहरूका भोगाइ र व्यथाहरूलाई यथार्थ रूपमा प्रस्तुत गरिएका छन् ।

अबका दिनहरूमा प्रवासीहरूका कथाव्यथा समेटिएको नेपाली साहित्य बजारको आवश्यकता, पाठकहरूको रुची भन्दा पनि अझै महत्वपूर्ण कुरा त्यस्ता साहित्यीक कृतिहरूमा कति यथार्थ समेथिएको छ र यसले समाजलाई कस्तो सन्देश दिन्छ भन्ने कुराले महत्व दिन्छ । आफ्नै भोगाई र देखाईले दिने अभिव्यक्तिहरू अरूबाट सुनेको आधारमा लेखिने साहित्यभन्दा धेरै नै पृथकता हुन्छ भन्ने कुरा दावी गर्दै मीनराज वसन्त उनको उपन्यास मुदीरमा खाडीमा नेपाली कामदारहरूको दैनिक भोगाई र वैदेशिक रोजगारीको औचित्यता उतारेका छन् । यसमा उनी आफ्नै अनुभवका साथसाथै सम्पूर्ण प्रवासी नेपालीहरूको परिवेशलाई प्रतिनिधित्व गर्ने प्रयास गरेका छन् जुन कुरालाई गीतकार पुष्पन प्रधानले ‘पंक्षी’मा पनि तस्वीरमा देखिएको जस्तो खुशी नभई प्रवासी नेपालीहरूको यथार्थ फरक हुन सक्छ भन्ने कुरा प्रष्ट्याएका छन् ।

नेपाली समाजमा वैदशिक रोजगारीलाई सर्वसाधारणले हातमुख जोड्ने, घरखर्च, औषधोपचार र आर्थिक समृद्धीको वैकल्पिक उपाय देख्ने एउटा सामाजिक परम्परा नै छ भने केही हदसम्म रेमिटान्समा आर्थिक निर्भरता रहेको कुरा राज्यले पनि अनुभूत गरेकै कुरा हो जुन कुराको झल्को श्याम सिंघकले आफ्नो उपन्यास रेमिटल्याण्डमा दिन खोजेका छन् । परिणामतः नेपाली युवायुवतीहरूको वैदेशिक यात्रा सोचेको तथा कल्पना भन्दा अलिक भिन्न साथै कहरमा परिणत भएको देखिन्छ । एकातर्फ नेपाली युवाहरू पारिवारिक, सामाजिक र राष्ट्रिय आशा तथा भरोषाका धरोहर हुँदाहुँदै पनि विदेशी भूमिमा निराशा र छटपटाहटमा गुज्रिएका प्रशस्त उदाहरणहरू छन् जसमा हिमाल साउद र कालीप्रसाद बास्कोटाबाट रचित र हेमन्त रानाको श्वरको ‘साइली’ गीत एउटा ज्वलन्त उदाहरण हो । अर्कोतर्फ विभिन्न मौसमी बालीहरूको उब्जनी हुने नेपालको उर्बर भूमि बाँझो जमिनमा परिणत हुँदैछ जसमा अर्जुन पराजुलीको रचना र शिशिर योगीको श्वरमा ‘बोल्ने कोही छैन गाउँमा’ गीतले पनि सोही कुराको मर्म उजागर गरेको छ ।
यसरी नेपाली प्रवासीसँग जोडिएका आदिकालदेखिका घटना परिघटनाहरूलाई सृङ्खलाबद्धरूपमा जोड्नको लागि साहित्यसँगसँगै कथावाचनको आधुनिक शैलिको प्रयोग गर्न सके उनीहरूको मानसिक स्वास्थ्य सम्बन्धी समस्याको पहिचान र समाधानको वैकल्पिक उपायको खोजी गर्न सकिने ठान्छिन् ससेक्स यूनिभर्सिटी, यूकेमा पव्लिक हेल्थका सिनियर लेक्चररका रूपमा प्राध्यापनरत डा. प्रियंवदा पौड्याल । साहित्यीक अभिव्यक्तिहरूमा पनि प्रवासीहरूको स्वास्थ्यको विषयहरू समेटेको पाइएकोले र यसमा आफू अनुसन्धानरत भएको अभिव्यक्त गर्दै डा. पौड्याल भन्छिन् साहित्यबाट प्रवासीका स्वास्थ्य समस्याहरू पहिल्याउन सकिने र परवासमा उनीहरूको स्वास्थ्य व्यवस्थापनमा महत्वपूर्ण सन्देश समेत दिन सकिन्छ जुन आजको प्रमुख चुनौतीको विषय पनि हो ।

प्रवासी नेपालीहरूको भावनात्मक परिकल्पना तथा वास्तविक अवस्थाको सम्प्रेषण गर्ने, सु—सुचित गर्ने र सम्भावित सहजतालाई पहिल्याउने बलियो माध्यम नै आजको दिनमा साहित्य हुन पुगेको छ । त्यसैले होला वि.स. २०३० को दशकदेखि नगन्य रूपमा लिखित प्रवासी नेपालीसँग सम्बन्धीत साहित्य वि.स.२०६०÷७० को दशकमा उल्लेख्य रूपमा बृद्धि भएको पाइन्छ । यसमा सामाजिक सद्भाव र सहिष्णुताको उच्च सम्मानसहित सबैलाई एकजुट बनाई प्रवासनले नेपाली समाजमा ल्याएको विचलनलाई औल्याउदै समाधानको बाटो पहिल्याउन सहयोग पुर्याउने माध्यम अहिलेको अवस्थामा साहित्य हुन आएको छ । साहित्यिक कलमहरूद्धारा सम्प्रेषण गरिएका नेपाली प्रवासीहरूका कथाव्यथामा मार्मिक गहिराइ जोडिएको यथार्थलाई नकार्न सकिदैन । त्यसैले प्रवासीहरूको मर्मलाई यथार्थ र सहज रूपमा उतार्न साहित्यबाट गरिने सन्देश सम्पे्रषण आजको उपयुक्त विकल्प बन्न पुगेको छ ।

(लेखिका ग्रिनतारा नेपाल र यूनिभर्सिटी अफ ससेक्स, यूकेको संयुक्त प्रोजेक्टमा कार्यरत  छन् ।)

Loading...