नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अनसन ठीक कि अनशन ?

विशेष गरी अनलाइन पत्रिकाहरूलाई ताजा समाचार प्रकाशन गरिहाल्ने हतारो हुने भएकाले सही शब्दको विचार गर्ने समय नभएर अनलाइन संस्करणहरूमा ‘अनशन’ शब्दको सट्टा ‘अनसन’ शब्द प्रयोग हुन पुगेको हुनुपर्छ ।

– डा.मतिप्रसाद ढकाल

नेपाली भाषामा शब्दको ठीक र बेठीकको चर्चा नै किन गरिरहनुप¥यो ? भन्ने बुज्रुकहरू पनि भेटिन्छन् । शब्दकोश हेरेपछि ठीक र बेठीक शब्दको टुङ्गो लागिहाल्छ भन्ने उनीहरूको भनाइ रहेको छ । पढेलेखेको वर्तमान पुस्ताले ए, बी, सी, डी पढ्न थालेदेखि नै अङ्ग्रेजी डिक्सनरीको नाम सुनेको हुन्छ र पाठ्यपुस्तकसँगै त्यसलाई आफ्नो पढाइको अभिन्न अङ्ग बनाउँदै आएको हुन्छ तर ‘नेपाली शब्दकोश’को नाम त कतिपयले सुनेकै हुँदैनन् र सुनिहालेको भए पनि त्यसको प्रयोग गर्ने युवा पुस्ता वर्तमानमा भेट्न सिला खोजेझैँ खोज्नुपर्छ ।

डा.मतिप्रसाद ढकाल

नेपाली शब्दकोश नै भेटिहाले पनि आफूले खोज्न चाहेको शब्द कहाँनेर छ ? भनेर पत्ता लगाउन वर्तमानको युवापुस्तालाई निकै गाह्रो पर्दै गएको अनुभूति मैले आफ्नै विद्यार्थीबाट थाहा पाउँदै आएको छु । त्यसैले नेपाली शब्दकोश हेरेर शब्दको ठीक र बेठीक पत्ता लगाउने पाठकहरू अत्यन्त कम भएका परिस्थितिमा असावधानीपूर्वक वा अज्ञानतावश बेठीक प्रयोग हुन गएका शब्दहरूका बारेमा यथासम्भव ठीक शब्दको प्रयोगका लागि विशेषतः लेखक, पत्रकार र पाठकहरूको ध्यान आकृष्ट गराउने सन्दर्भमा कुन शब्द ठीक हो ? भन्ने बारेमा विचार विमर्श गरिरहनु अत्यावश्यक र व्यावहारिक पनि देखिन्छ ।

आफ्ना मागहरू पूरा गराउन ‘अनशन’ बस्ने प्रचलन नौलो होइन । महाभारतमा दुर्योधनसमेत ‘आमरण अनशन’ बसेको उपाख्यान सुन्न र पढ्न पाइन्छ । देवीदेवताहरूसँग आफ्ना चाहनाहरू पूरा गराउन ‘उपवास’ बस्नु पनि अनशन नै हो । निर्जला एकादशीमा त पानी पनि नपिईकन उपवास बस्ने गरिन्थ्यो र अहिले पनि कतिपय महिलाहरूले तीज, शिवरात्रि आदिमा पानीसमेत नपिईकन उपवास बस्ने गरेको हामीले देख्तै आएका छौँ । पाक्षिक रूपमा एकदिन उपवास बस्नु स्वास्थ्यका लागि समेत लाभदायक नै मानिन्छ । त्यसरी बसिने उपवासहरू सात्त्विक प्रवृत्तिका हुन्छन् भने अनशन बस्ने आधुनिक प्रचलनमा क्रमशः तामसी प्रवृत्ति मौलाउँदै गएको पाइन्छ ।

‘अनशन’ शब्द संस्कृतबाट नेपाली भाषामा प्रचलनमा आएको तत्सम शब्द हो । संस्कृतमा ‘अश्’ धातु खानु भन्ने अर्थमा छ । ‘अश्’ धातुदेखि भावार्थक ‘ल्युट्’ (अन) प्रत्यय लागेर ‘अशन’ शब्द बन्दछ । ‘अशन’ भन्ने शब्दले खाने प्रक्रियालाई जनाउँछ । संस्कृतमै ‘न अशन’ अर्थात् नखानु भन्ने अर्थमा नञ् तत्पुरुष समास भई र नुट् (न्) आगम भएपछि ‘अनशन’ शब्दको निर्माण हुन्छ । नेपाली शब्दकोशहरूले उपवास, खाना नखाने काम, आहारा परित्याग, खाना त्यागेर भोकै बस्ने काम आदिका रूपमा नेपालीमा ‘अनशन’ शब्दलाई अथ्र्याइएको पाइन्छ ।

‘अनसन’ शब्दले हालसम्म कुनै पनि नेपाली शब्दकोशमा प्रविष्टि पाएको देखिँदैन तर यसको प्रयोग भने दिनानुदिन यत्रतत्र बढ्दै गएको देखिन्छ । ‘अनशन’ बस्ने धेरैजसो कार्यक्रमका ब्यानरहरूमा मात्र होइन स्थानीय पत्रिकाहरूले आफ्ना छापा संस्करणमा समेत ‘अनसन’ शब्दको प्रयोग गर्न रुचाउँदै आएका छन् । साथै कान्तिपुर दैनिक, नागरिक दैनिक, अन्नपूर्ण पोस्ट दैनिक, सेतो पाटी, रातो पाटी, उज्यालो, बिबिसी, खरीबोट आदि अनलाइन पत्रिकाहरूमा र युट्युबमा अपलोड गरिएका धेरैजसो भिडियोका शीर्षकमा पनि ‘अनसन’ शब्दको प्रयोग भएको देख्न सकिन्छ ।
हिन्दी शब्दकोशले समेत ‘अनसन’ शब्दको प्रयोग नगरेकाले यसलाई भाषान्तरको सादृश्य अनुकरणका कारण प्रयोग गरिएको होला पनि भन्न सकिँदैन । शब्दकोशमा नै नभएको र कुनै अर्थ दिन नसक्ने ‘अनसन’ शब्दको प्रयोग गर्ने दिशातर्फ प्रयोक्ताहरूको किन बढ्ता ध्यान गयो होला ? भन्ने बारेमा विचार गर्दा अज्ञानता र ‘अनशन’ शब्दको सादृश्यका कारण ‘अनसन’ शब्दको प्रयोग हुन गएको हो भन्ने कुरामा कुनै शङ्का छैन ।

विशेष गरी अनलाइन पत्रिकाहरूलाई ताजा समाचार प्रकाशन गरिहाल्ने हतारो हुने भएकाले सही शब्दको विचार गर्ने समय नभएर अनलाइन संस्करणहरूमा ‘अनशन’ शब्दको सट्टा ‘अनसन’ शब्द प्रयोग हुन पुगेको हुनुपर्छ । त्यस्तै ब्यानरहरू तयार गर्ने क्रममा सम्बद्ध संघसंस्थाहरूले समेत नेपाली भाषाका शब्दको प्रयोगमा विशेष सचेतता नअपनाइदिँदा पनि ‘अनसन’जस्ता अनुपयुक्त शब्दहरू प्रयोग हुन गएका हुन् । तसर्थ अनर्थक ‘अनसन’ शब्दको सट्टा सार्थक ‘अनशन’ शब्दको प्रयोग गर्दै जाने विषयमा सम्बद्ध प्रयोक्ताहरूको ध्यान आकृष्ट हुनु जरुरी देखिन्छ ।

– सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय

Loading...