नेपाली साहित्यको सम्पूर्ण पत्रिका

‘बाछिटा’ को विधागत स्वरूप

बाछिटा पद्य साहित्यको लघुत्तम विधा हो। यो विधा प्रकृतिसँग सम्बन्धित छ। यो तीन पाँच तीन अक्षर संरचनायुक्त तीन पंक्तिको हुन्छ। यसमा जीवन,जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतीकरण गरेर चित्रण गरिन्छ।

यस विधाका प्रवर्तक अमर त्यागी हुन्। उनले यस विधाको प्रवर्तन १४ मे २०२० तदनुसार २ जेष्ठ २०७७ मा गरेका हुन्। यस विधाको प्रवर्तनमा अमर त्यागीलाई खगेन्द्र बस्यालको साथसहयोग रहेको छ।

पहिलेदेखि नै प्रकृतिपरकतालाई प्रमुखता दिएर तीन पाँच तीन अक्षर संरचनामा सूत्रसर्जक अमर त्यागीले सूत्रहाइकु नाममा र खगेन्द्र बस्यालले तीन पाँच तीन अक्षर संरचनामै लघुहाइकु नाममा यस्ता रचनाहरूको सृजना गरिरहेका थिए र सामाजिक संजालमा आइरहेका थिए। थुप्रै सकारात्मक नकरात्मक प्रतिक्रियाका साथमा केही साहित्यिक विज्ञहरूले यसलाई हाइकु नभनेर काव्योक्ति वा त्यस्तै छुट्टै नाम दिन सुझाव दिएका थिए। यही पृष्टभूमिमा विशेषत: अमर त्यागीले प्रकृतिपरकतालाई प्रमुखता दिएर यसलाई बाछिटा विधाको रूपमा प्रादुर्भाव गरेका हुन् र अमर त्यागीले नै यसको विधागत अवधारणा निर्माण गरेका हुन्।

बाछिटा र हाइकुबीच परस्पर निकटतम सम्बन्ध रहेको छ, किनकि हाइकु पाँच सात पाँच अक्षर संरचनायुक्त हुन्छ भने बाछिटा तीन पाँच तीन अक्षर संरचनायुक्त हुन्छ। त्यस्तै हाइकु ऋतुबोधक हुन्छ भने बाछिटा प्रकृतिबोधक हुन्छ। केही विषयगत साम्यता भए पनि हाइकु र बाछिटा दुवै फरक र स्वतन्त्र विधा हुन्। खोजी गर्ने हो भने संसारका कतिपय साहित्यिक विधाका विषय र संरचनाबीच परस्पर सम्बन्ध रहेको हुन्छ। हाइकु र बाछिटाबीच पनि यस्तै सम्बन्ध रहेको हो।

हाइकुको जन्म जापानमा भएको हो र जापानी ऋतुमा हुर्किएको हो। बाछिटाको जन्म नेपालको माटोमा भएको हो र यो नेपाली प्रकृतिमा हुर्किँदै छ। यो विधा नेपालको प्राकृतिक सौन्दर्य, हावापानीको उपज हो। यसमा नेपालीपनको सुगन्ध छ। बाछिटा स्वयम् प्रकृतिबोधक शब्द हो। त्यसर्थ यसमा प्रकृतिपरक भावाभिव्यक्ति वा प्राकृतिक बिम्व वा झलकको प्रयोग हुनुपर्ने मान्यता रहेको छ। नेपाल सुन्दर प्रकृतिले भरिपूर्ण देश रहेको हुनाले बाछिटा सृजनाको अनन्त सम्भावना रहेको छ।

बाछिटा सृजनाका पाँच आधारभूत मान्यता

१. पहिलो पंक्तिको तीन अक्षरले विषयवस्तुलाई सूक्ष्म रूपमा उठान गर्ने,
दोस्रो पंक्तिको पाँच अक्षरले विषयवस्तुलाई सहज रूपमा उत्कर्ष पुऱ्याउने
र तेस्रो पंक्तिको तीन अक्षरले विषयवस्तुलाई प्रभावकारी र अर्थपूर्ण रूपमा पुष्टि गर्ने,
२. तीन पाँच तीन अक्षरको तीन पंक्तिबीच एकापसमा सामन्जस्य हुनुपर्ने,
३. व्याकरणिक अक्षर संरचना बिगार्न नपाइने,
४. अभिव्यक्ति प्रतीकात्मक हुनुपर्ने,
५. प्रकृतिपरक बिम्व वा झलक आउनै पर्ने,

बाछिटामा प्राकृतिक बिम्व हाम्रो जीवन भोगाइका विषयसँग सम्बन्धित भएर प्रतीकात्मक रूपमा आउनुपर्छ। यस्ता बिम्व वा बिम्वजस्तो देखिने झलक आए मात्र पनि हुन्छ। जस्तो: हरियो, बहार, शीतल, पहार, उजाड, घाम, छाया, बतास, जून, जुनेली, वनेली, तपक्क,धपक्क, झलल्ल, सलल्ल, कलकल, छलछल, जंगल, छहारी आदि। नेपाली भाषामा यस्ता शब्दहरूको भण्डार नै छ, मात्र शब्द टिप्न सक्नुपर्छ। बाछिटामा सकभर निपात, संयोजकजस्ता शब्दको प्रयोग नगरी पूर्ण, संयुक्त, सरल र प्रचलित ठेट नेपाली शब्दहरू प्रयोग गर्नु उपयुक्त हुन्छ।

साथै बाछिटामा शुरू र अन्त्यमा अनुप्रास मिल्नैपर्छ भन्ने छैन, नमिले पनि हुन्छ तर प्रतीकात्मक रूपमा भावको गहनता भने हुनुपर्छ। अर्थपूर्ण रूपमा अनुप्रास मिलाउँदा चाहिँ मिठास आउँछ।

अमर त्यागीका केही बाछिटाहरू

ममता
मातृछहारी
समता

सहेली
मैत्रीको बाली
बयेली

अधिक
इन्द्रेणी हर्ष
क्षणिक

काँडाले
चसक्क मुटु
पीडाले

बिरह
उत्तप्त ग्रीष्म
सरह

आह्रिस
डढेलोबीच
मानिस

एकान्त
चिन्ताले चित्त
अशान्त

संसारी
मायाको छाया
औतारी

धरामा
सुनको झुप्पो
गरामा

फसल
किसानी कर्म
सफल

प्रतिक्रिया
Loading...