नेपाली साहित्यको सम्पूर्ण पत्रिका

तीन सय वर्षभन्दा लामो उत्पीडनको “आवाज” (भिडियोसहित)

केही समयअघि माओवादी जनयुद्धको जन्मभूमि रुकुमले अर्को विभत्स नरसंहार भोग्यो । थोरै मात्र पनि संवेदना भएको मान्छेलाई यसले नदुखाउने कुरै भएन । यस घटना वर्षौँअघिबाट बहस बन्दै, फेरि ओझेलमा पर्दै आएका जातीयता, त्यसमा पनि उत्पीडनमा पर्दै आएका मुद्दालाई मूलधार र बहसमा ल्याइदिएको छ ।

यसैबीच विक्रम पवन परियारले “आवाज शीर्षकमा कविता लेखे । जसको भिडियो अहिले सञ्जालमा चर्चामा रहेको छ । पहिले परियारको कविता हेरौँ ।

त्यो गोरेटो बाटैबाटो आउँदै गरेको मान्छे
माझघरको कान्छो दमाई हो
जसको माइलो छोरोलाई-
प्रेम गरेकै उभियोगमा कुटेरै मारिदियो
र खसालिदियो-
कसैले नदेख्ने गरी भेरी नदीको पूलबाट ।

मर्नुअघि- कयौँपटक
आफ्नै प्रियसीको घरमा गएर
सिलाई दिएको थियो चौबन्दी चोलो
र फल्स हालिदिएको थियो रातो साडीमा ।

मर्नुअगाडिसम्म- उसले
छोपिदिएको थियो विस्ट विस्टिनीहरूको लाज
र चिटिक्क बनाइदिएको थियो
कुरुप मान्छेको नाङ्गो आवरण ।

लुगा सिलाउँदा सिलाउँदै प्रेम ग¥यो
आँगनमा-
सनाईँ बजाउँदा बजाउँदै
प्रेम गर्न थालिन् तिम्रो कान्छी छोरीले
माझघरको कान्छो दमाईँको छोरोलाई ।

त्यस्तैगरि –
उस्तै शैलीमा
तिमीले लगाउने टोपी मेसिनले खुट्दा खुट्दै
तिम्रै छोरीलाई मन पराइदिएँ
शर्टको टाँक चुँडिएको बहाना बनाएर
मलाई खोज्दै तिम्रो छोरी-
पटकपटक मेरो घर आएकी छिन्
मेरो र तिम्रो रगतको रङ्ग रातो देखेपछि
म अछुत हुँ भन्ने लागेन
र प्रेम गरेको हुँ ।

मैले –
रुवीको ब्लाउज तुर्पाइ गर्दागर्दै
खै ! कतिखेर-
तिम्रो छोरीसँग माया बसिसकेछ पत्तै भएन ।

यदि –
मैले गरेको प्रेममा अपराध देख्नु हुन्छ भने
मलाई यो कथित समाजबाट –
बहिष्कार गर्नै चाहनु हुन्छ भने
मेरो लासलाई हदैसम्मको कारबाही गरियोस्
र मेरो खरानीलाई जेलमा कोचियोस् !

यो गणतन्त्रवादी कहलिएको देशमा-
कान्छो दमाईँका सन्ततिले
दमन अझै कतिसम्म सहनु पर्ने हो
पीडा अझै कतिसम्म भोग्नु पर्ने हो
ए विष्ट !
मलाई यो पनि जान्न मन छ कि
अछुत हुनुको सजायमा
अझै कतिपल्ट दिनुपर्छ-
कान्छो दमाईँले छोराको चितामा दागबत्ती ?

यस कविताको भिडियोलाई दैलो आर्ट र रचना वाचनले आफ्नो युट्युब च्यानलमार्फत् प्रसारित गरेको छ;

सान्दर्भिक पोस्ट

“आवाज”बारे सर्जक विक्रम पवन परियार:

सोच्थेँ, यस्तो कथामा आधारित रहेर कविता, गीत, गजललगायत कुनै पनि लेख लेख्नुपर्ने दिन नै नआओस् सोचिरहन्थे । भगवानसँग पुकार गरिरहन्थेँ तर सोचेको कुरा नै भएन । धेरै जस्तो पत्रपत्रिकामा यस्ता समाचार पढ्नु पर्दा आँखाबाट आँसु धेरै पटक झरेको छ । आँसु थाम्न खोजे पनि नसकिँदो रहेछ । रुन्नभन्दा पनि मन थाम्नै सकिन्न र आँसु खसिदिन्छन् परेलाको टुप्पोबाट तप्प तप्प । तर गर्ने यहाँ मान्छेहरू मान्छेजस्ता भएनन् दुख लाग्छ । सोच्छु, किन मान्छे माथि मान्छेले दमन गर्छ ? तर जवाफ सरकारले कागजमा दियो व्यवहारमा दिएन । मेरो पुर्खाले कति दमन सहेका रहेछन् अहिले बुझ्दैछु । मैले पनि यस्ता दमनहरू धेरै सहेँ । अहिले संघर्ष गरिरहेको छु ।

यी कथाहरूसँग मेरो पुस्ताले ३०० वर्षभन्दा अघिबाटै भोग्दै आएको छ । थाहा छैन कति भोग्नु पर्ने हो । लाग्छ कहिले कहि मान्छे हुनको लागि म कस्तो बनिदिनु पर्ने हो ? कस्तो नियम कानुन पालना गरियो भने चाहिँ मान्छे होइन्छ ? आजसम्म न सरकार जवाफ चित्त बुझ्दो दियो न देश समाजका बुद्धिजीवीहरू दिन सके । म यी कुराहरूमा दुखी नै छु । म यो कथामा तपाईंहरू (क्षेत्री, ब्राह्मण, लगायत जसले मैले छोएको पानी चलाउँदैन) ले भन्दा बढी भोग्दै आएको छु । जेजति कथा र कविताका शब्दहरू आएका छन् ति शब्लहरूसँग खेल्दै, रुँदै हाँस्दै, यिन‌ै शब्दहरूसँग संवाद गर्दै हुर्के हुँ ।

मेरै पुर्खाले निर्माण गरेको शब्दहरू हुन् यो कवितामा आएका शब्दहरू जस्तो सहनाई, तुर्पाई, खुट्ने यस्तो थुप्रै शब्दहरूसँग म परिचित छु । मान्छेको प्रमाण पत्र कस्तो हुन्छ ? थाहा छैन । यदि छ भने म त्यो प्रमाण पत्र थाप्न तयार छु । जीवनमा धेरै अपहेलित भएको छु । कैले स्कुलमा र  कैले बाटो हिँड्दा र कहिले पँधेरोमा त कहिले मन्दिरहरूमा र कहिले पाटीपौवाहरूमा तिरस्कृत भएको छु । मेरा सन्तानहरूले सिलाएको लुगाले नाङ्गो आँङ ढाग्छन् । मैले सिलाएको पेटिकोटले आफ्नो लाज छोप्छन् तर म उहाँहरूको लागि अछुत भएको बाँचेको छु । यति भने म तपाईंहरू जस्तै मान्छे हुँ । मलाई अरू केहीको लोभ छैन बस मलाई मान्छे भएर बाँच्न दिनोस् । यो आवाज मेरो मात्रै हैन ६० लाख दलितहरूको आवाज हो । तीन करोड नेपालीको कानमा पुगोस् ।

Loading...