नेपाली साहित्यको सम्पूर्ण पत्रिका

म जिउदो छु: एक खतर्नाक झुट

राकेश क्रान्तिकारी

राताेघर–दार्जेलिड् साहित्य उत्सवमा प्राप्त राकेश क्रान्तिकारीको कविता म जिउदो छु: एक खतर्नाक झुट

राकेश क्रान्तिकारी
राकेश क्रान्तिकारी

मेरो आकाशको घाम
टुक्रा टुक्रा बनाउछ
टालिदिन्छ मेरै झुप्रोको सिलिङमा
र मेरो एक बटुको पसिना माग्छ
म हासी हासी दिन्छु
मेरो भित्तामा टल्लक टल्किरहने हिमाल
एक एक गरि लुच्छ
हालिदिन्छ मेरो गिलासमा
र रगत माग्छ
म निसंकोच दिन्छु।

आँखा माथि उडिरहेको सपनाको
प्वाख लुछीरहेछ सुस्तरी सुस्तरी
म थाहै नपाए जस्तो हासिरहेछु ।

म जिउँदो छु।

म यी हरेक गाडीको
स्टेरिङमा देखिरहेछु भुगोलविद
मोबाइल बेचिरहेछ
इतिहासकार
भाडा माजिरहेछ दर्शनशात्री ।

झ्यालखानामा सिट रिजर्भ गरेको मान्छे
पसिरहेछ संसद भवन
घुमाइरहेछ देशको गाडी
बनाइरहेछ मेरो सपना कुच्याएर अचार
बेचिरहेछ आलिसान महलमा
र म मौन हेरिरहेछु हेरिरहेछु
चे को उत्कृष्ट फिल्म।

म देखिरहेछु बेचेर गुराँसको रङ्ग
ठ्डाइरहेछ महल
चुसेर मान्छेको रगत
बनाइ रहेछ शरीर
सपनामा देखेको हरेक सुन्दर तस्विरमा
कोरिरहन्छ र बनाइरहेछ कुरुप
आमाको स्तनबाट लुछीरहेछ अमृत

गरिरहेछ व्यवसाय
दिदिको चन्चल्ता कोतरेर
बैनी गन्जी च्यातेर छाटी रहेछ उन्मुक्तकाको गित ।

र म हालेर कानमा इयरफोन
सुनिरहेछु प्रेमको अमर गित
बाउको पाखुराहरु चुट्टाएर
फ्याकिदेको छ समुद्रको किनारमा
सहरको आलिसान होटेलमा।
मैले फेर्ने सासको मुटुमा लाइरहेछ डढेलो
र म ध्यानमग्न भएर गरिरहेछु
गर्लफ्रेन्ड सित च्याट
मेरो टाउकोमाथी चडेर
लाइरहेछ घाममाथी बादल
र म
खिचिरहेछु सेल्फी
र ढुक्क सित भनिरहेछु
म जीउँदै म जिउँदो छु
अर्थात
यो भन्दा खतरनाक झुट अर्को के हुनसक्छ।

कालेबुङ

Loading...