नेपाली साहित्यको सम्पूर्ण पत्रिका

बुक-हिलका नयाँ किताब साउन पहिलो सातादेखि बजारमा

धान दिवसको अवसरमा सबैमा शुभकामनासहित बुक-हिल पब्लिकेसनले आफ्ना नयाँ प्रकाशनका बारेमा जानकारी गराएको छ | विभिन्न कारणले सार्वजनिक गर्न रोकिएका ५ पुस्तकहरू साउनको पहिलो साताबाट बजारमा पठाउन लागेको प्रेस विज्ञप्तिमार्फत जनाइएको हो |

अघिल्लो वर्ष प्रकाशन हुनुपर्ने नारायण ढकालको कथा सङ्ग्रह ‘तमस’ प्रकाशन हुन लागेका किताबमा नयाँ हो भने अन्य पुस्तकहरू ‘बुक-हिल’बाट प्रकाशन हुन लागेका पुनः मुद्रित किताब हुन् |

“हामीले अघिल्लो वर्ष प्रकाशन गर्ने सूचीमा राखेका किताब कोरोना भाइरस, कोभिड-१९ को संक्रमणका साथै अन्यन कारणले प्रकाशन गर्न सकेनौं | अहिले पनि परिस्थिति सामान्य भएको त छैन तर बजारमा नयाँ किताबको अभाव देखेर यी किताब बजारीकरण गर्न लागेका हौँ |”, बुक-हिलका अध्यक्ष भूपेन्द्र खड्काले बताए |

प्रकाशन हुन लागेका अन्य ४ किताबमा डा. तीर्थबहादुर श्रेष्ठको सचित्र रङ्गीन किताब ‘नेपाल नखुलेका पाटाहरू’, पिटर जे. कार्थकको साझा पुरस्कार-२०३४ प्राप्त उपन्यास ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’, सौरभको ‘असहमति-१’, र जगदीश घिमिरेको मदन पुरस्कार-२०६४ प्राप्त किताब ‘अन्तर्मनको यात्रा’ रहेका छन् |

‘आज धान दिवसको अवसर पारेर ‘मानो रोपे मुरी’ भन्ने भनाइलाई मनन गरी हामीले किताब प्रकाशन गर्ने घोषणा गरेका हौँ | हामीलाई विश्वास छ, यी लोकप्रिय किताबका नयाँ कलेवरले पाठकलाई आनन्दित पार्नेछ |”, विज्ञप्तिमा भनिएको छ |

साथै, बुक-हिलले दशैंसम्ममा करिब आधा दर्जन नयाँ किताब प्रकाशन गर्ने लक्ष्य राखेको पनि विज्ञप्तिमा जनाइएको छ |

Loading...