नेपाली साहित्यको सम्पूर्ण पत्रिका

मुना चौधरीको पक्षमा

अश्विनी कोइराला

मुनाको जीवनमा एक लाखको महत्व पक्कै ठूलो होला । त्यस कारण उनले त्यो नलिने घोषणा गर्न अाँट नगर्लिन् । तर उनले पुुरस्कार फिर्ता गरे पनि नगरे पनि मुना चौधरी मेरो नजरमा हिम्मतिली कथाकार हुन् । जसले मधेसी समाज, वैदेशिक रोजगारको दुःखदायी पक्ष, महिलामा हुने यौन तृष्णा र त्यसले उब्जाएको परिणाम एक साथ देखाएको छ ।

कथाकार मुना चौधरी र बाह्रखरी उत्कृष्ट कथा प्रतियोगिता विगत एक सातादेखि चर्चामा छन् । अथवा यसो भनौँ, नेपाली साहित्य जगतले यी दुईलाई कतिसम्म चिथोर्न सकिन्छ, त्यतिसम्म चिथोरिरहेका छन् । सामाजिक सञ्जालमा आएका केही शब्द र प्रहार हेर्दा यो मुनाको अस्मितामाथि शाब्दिक बलत्कारकै प्रयास हुन थालेको पो हो कि भन्ने महसुस हुन्छ । त्यो पनि यस्ता व्यक्तिहरुबाट, जसले नारी अस्मिता र स्वतन्त्रताका कुरा आफ्ना साहित्यका पुस्तकभरि अटेसमटेस हुनेगरी भरेका छन् ।

अश्विनी कोइराला

कुनै पनि विषयमा बहस अनिवार्य छ । यसले काममा निखर ल्याउँछ । सुरुका केही दिनमा सामाजिक सञ्जालमा आशा अनुरुप नै स्वस्थ किसिमका बहस पनि भएका थिए, तर बिस्तारै यो बहस तिरस्कार, घृणा र अपमानतिर उक्लदैँ गएको महसुस भएपछि नेपाली साहित्यको हीत चिताउने धेरैको ध्यान यो प्रकरणतिर मोडिएको छ ।

मुना चौधरी भाइरल हुँदैगर्दा साहित्य प्रेमीको मनमा प्रश्न उठेको छ, के बाह्रखरी अनलाइनले कथा प्रतियोगिता गरेर अपराध नै गरेको हो ? मुना चौधरीको कथाले अश्लील भाषाको हद नाघेकै हो ? निर्णायकका रुपमा बसेका मदन पुरस्कार प्राप्त दुई प्रशिद्ध लेखक नारायण वाग्ले, अमर न्यौपाने र गएको वर्ष यही प्रतियोगितामार्फत् प्रथम भएकी विना थिङ्लाई कथाको बारेमा सामान्य जानकारी नै छैन ? बाह्रखरी बुक्सका सम्पादकले राजीनामा दिनैपर्ने हदको अपराध गरेका हुन् ? माथिका केही जायज प्रश्नको जवाफ खोजिएन भने नेपाली साहित्यमाथिको यो दाग कहिल्यै मेटिने छैन ।

प्रतियोगिता र प्रतिस्पर्धा:

बाह्रखरी कथा प्रतियागिताको आलोचनाका क्रममा केहीले उठाउँदै गरेको विषय हो, ‘साहित्यमा प्रतिस्पर्धा हुनु हुँदैन । यसले साहित्यको गरिमा बढाउँदैन ।’

— विश्व साहित्यमा सबैभन्दा प्रतिष्ठित कुनै पुरस्कार छ भने त्यो नोबेल पुरस्कार नै हो । अपवादको नियम जहाँ पनि हुन्छ । र, यो नियमलाई स्वीकार गर्ने हो भने विश्वका रहेक प्रसिद्ध लेखकलाई नोबेल पुरस्कार पाउने धोको रहन्छ । कुनै ख्याती प्राप्त लेखकले नोबेल पुरस्कार प्राप्त गरेनन् भने उनको मृत्युपछि पनि यति राम्रा लेखकलाई पनि किन यो समूहले सम्झेन भनेर अन्तत्वगत्वा नोबेल पुरस्कारकै महिमागान गरिरहेका हुन्छन् ।

यस्तै प्रतीक बनेको छ नेपालको हकमा मदन पुरस्कार । हरेक वर्ष मदन पुरस्कारको घोषणापछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा हुने टिकाटिप्पणीले पनि पुरस्कार, प्रतिस्पर्धा र नेपाली साहित्यबीचको अन्योन्याश्रित सम्बन्धलाई अस्वीकार गर्न सकिन्न । यही पुरस्कारका पाएका कारण धेरै लेखकहरुको पुस्तक बिक्रीले मानक छोएका छन् र उनीहरुलाई पूर्णकालीन लेखक हुन बल पुगेको छ । कतिको जीवन ‘मदन पुरस्कार प्राप्त लेखक’को ट्याग झुण्डिएकै कारण चलेको छ । धेरै प्रकाशकको ध्यान हरेक वर्ष आफ्नो गृहबाट प्रकाशित लेखकले यो पुरस्कारले पाए आफ्नो वर्षभरिको घाटा पुर्ताल गर्न सकिन्छ कि भन्ने चाहानामा केन्द्रित हुन्छ । राम्रा पुस्तकले मदन वा पद्मश्री पुरस्कार पाएन भने यति राम्रो पुस्तकलाई ती पुरस्कार किन दिइएन भन्ने प्रश्न उठ्ने गर्छ ।

प्रज्ञा प्रतिष्ठानले गर्दै आएको राष्ट्रव्यापी कविता प्रतियोगितामा भाग नलिने कवि कमै छन् । यही प्रतिस्पर्धाका धेरै प्रत्यासी आज नेपाली साहित्यका उँचा नाम भएका छन् । तर यसमा पनि विवाद उठ्ने गरेको छ, र कतिपय अवस्थामा यस्ता प्रतिस्पर्धाको आवश्यकता नभएको कुरा पनि उठ्ने गरेको छ ।

तर प्रतिस्पर्धा किन आवश्यक छ भन्ने कुरामा कसैको ध्यान गएको देखिँदैन । सामाजिक सञ्जालमा मदन पुरस्कार, राष्ट्रिय कविता प्रतियोगिता र बाह्रखरी प्रतियोगिताका विषयमा प्रश्न उठाउने कतिपय यस्ता व्यक्ति पनि देखिए, जसले आफ्ना पुस्तक मदन पुरस्कार वा पद्मश्री पुरस्कारको सूचीमा किन परेन भनेर अरुलाई बोल्न–लेख्न लगाएका छन् । (यसको प्रमाण साहित्यपोस्टसँग सुरक्षित छ ।) एकेडेमी र अन्य प्रतियोगिताका हकमा पनि धेरैपटक यस्ता चरित्र देखिएका हुन् ।

यसपटक पनि कथामा प्रतिस्पर्धा किन ? भनेर प्रश्न उठाउनेहरुको कमी थिएन ।तर उनीहरूले विद्यालयमा, कलेजमा, हाजिरी जवाफमा, वक्तित्व कलामा, लोकसेवा आयोगमा, प्राइवेट कम्पनीका जागिरहरुमा र अरु धेरै क्षेत्रमा आफूले जीवनभर प्रधिस्पर्धामा भाग लिएको थाहै नपाइकन प्रश्न उठाए । अनि कतिपयले आफूभन्दा ठूलो र मानेको साहित्यकारले प्रश्न उठाएको कुरा जायजै होला भनेर पनि साथ दिए । अनि कतिपयले मेरो कथा किन प्रथम भएन वा पुस्तकमा अटाएन भन्ने अाशायमा वा त्यस मनाेग्रन्थीबाट प्रेरित भएर पनि प्रश्न उठाए ।

प्रश्न उठाउने थोरै मात्र यस्ता लेखक थिए, जसको नैतिक धरातल दह्रो थियो । नत्र धेरै प्रश्नकर्ताहरु आफू कुन धरातलमा उभिएको छु र मैले किन यो प्रश्न उठारहेको छु थाहा नपाइकन प्रश्न उठाइरहेका देखिन्थे । यस्ता प्रवृत्तिले समग्र साहित्य क्षेत्रकै मानमर्दन गरेको छ र बाहिर बसेर हेर्नेलाई तमासा भएको छ ।

खास साहित्य त्यही हो, जो प्रतिस्पर्धाबाट माथि उठ्न सक्छ । तर साहित्य माथि उठ्न, साहित्यकारका रुपमा समाजमा स्थापित गर्न र साहित्यको वातावरण बनाउन यस्ता प्रतिस्पर्धाको आवश्यकता छ कि छैन ? त्यसतिर कमैको ध्यान गएको देखिन्छ ।

हरेक विद्यालय, कलेज, स्थानीय निकाय, साहित्यिक संघ संस्था, साहित्यिक पत्रपत्रिका, प्रज्ञा प्रतिष्ठान, बैंकिङ् र औद्योगिक प्रतिष्ठानहरुले विभिन्न साहित्यिक प्रतिस्पर्धा गर्नुपर्छ । समाजमा साहित्यकारहरुको गरिमा बढाउन एक लाखको होइन, विद्यालयमा दिइने एउटा चकलेट बराबरको पुरस्कारको पनि ठूलो महत्व हुन्छ । जति सुकै अस्वीकार गरे पनि यो वैश्यविक युगमा बाँच्न पैसा चाहिन्छ । पैसाका कारण मानव जीवनको मूल्य तोकिने युगमा साहित्यसँग प्रतिस्पर्धा, पैसा र स्टारडम जोडिनु यसको अपमान होइन, सम्मान हो । यो कुरा नबुझ्नु वा बुझ्न नखोज्नु समाजको गति नबुझ्नु हो । प्रतिस्पर्धा नै मानव जीवनको कारक तत्व हो भन्ने सामान्य ज्ञानको ख्याल नराख्नु हो ।

मुना चौधरीको कथा कति अश्लील:

कथाकार मुना चौधरी

—हामी त्यो युगमा छौँ, जहाँ मोबाइलमा समाचार पढिन्छ, साहित्य पढिन्छ र अश्लिल सिनेमा पनि हेरिन्छ । पहिले जस्तो साहित्य स–स्वर वाचन गर्ने दिन अब धेरै दूरको कथा भएका छन् । मुनाका कथा अश्लिल भयो भन्नु ठिक हो तर सबैका अघि त्यो साहित्य पढ्न सकिदैन भनेर कथा र कथाकारको अपमान गर्नुको कुनै तुक छैन । कथाको उदेश्य के हो ? कथाले दिने सन्देश के हो र सिराहको ग्रामीण इलाकामा जन्मे हुर्केकी एउटी कथाकारले यस्तो कथा लेख्ने हिम्मत कसरी गरिन् भन्ने कुरा चाहिँ महत्वपूर्ण हो ।

पहिलोपटक मुनाको कथा पढ्दा जो कोही पनि झस्कन्छ । खासमा जसरी शारीरिक समागमको वर्णन कथामा आएको छ, त्यसले सिधै ग्रामीण इलाकाको परालको टालभित्र हुनेगरेको एउटा यस्तो दृश्य झ्वाम्मै आँखाअघि ल्याइदिन्छ कि पाठक सिधै त्यसैमा डुबुल्की मार्न थाल्छ । यो कथाको मुख्य शक्ति नै त्यही हो र यसले प्रथम पुरस्कार प्राप्त गर्नुमा यो दृश्यको पनि हात हुनुपर्छ ।

यो कथा त्यही र त्यस्तै शारीरिक समागममैँ टुङ्गिएको भए अनर्थ हुने थियो र त्यो अश्लील सिनेमाको पटकथा बन्ने खतरा थियो । तर कथाले परदेश गएको लोग्नेको अनुपस्थितिमा हुने कामातुर अवस्था र त्यसले निम्त्याउने दुर्घटनालाई राम्रोसँग स्थापित गरेको छ । कथाकाे कलात्मक पक्षमा बहस हुनसक्छ । मातृभाषा थारु भएकी र मधेसमा हुर्किएकी एउटी महिला लेखकले आफ्नो समाजमा देखेको घटनालाई नेपाली भाषामा जसरी उतारेकी छन्, त्यसबाट कथा लेख्न कति गाह्राे छ भन्ने बुझेका जो कोही पनि (यदि तटस्थ हुने हो भने) प्रभावित हुन्छन् ।

डिजिटल कथासंग्रहमा उल्लेख भएको कुरा मान्ने हो भने निर्णय गर्नुअघिसम्म निर्णायक मण्डललाई कथाकारको नाम थाहा थिएन । तर यो कथा पढ्दा निर्णायकहरूलाई यो मधेसी महिलाले लेखेको हुनुपर्छ भन्ने अन्दाज भएको हुनुपर्छ । यति अन्दाज गर्न नसक्ने  व्यक्ति कान्तिपुर जस्ताे पत्रिकामा २५ वर्ष  टिक्न सक्दैन भन्ने कुरा त्यही संस्थामा लामाे समय काम गरेका कारण पनि म दाबी गर्न सक्छु । खासमा याे कथाले प्रथम पुरस्कार पाउनुमा कथाकारकाे नाम थाहा नभए पनि कथाकार प्रतिकाे साहनुभूतिको नम्बर पनि जाेडिएकाे थियो भन्ने कुरा सत्य हो । यहि साहनुभूति नै निर्णायकहरुको कमजोरी बन्न पुग्याे ।

तर मुना चाैधरीले बाह्रखरीकाे निर्णय नपर्खी नियम बिपरित जसरी नागरिकमा त्याे कथा पात्र र शीर्षक परिवर्तन गरेर छापिन्, त्यसबाट प्रथम पुरस्कार लिने नैतिक अधिकार भने गुमाएकै हुन् । अब उनी कसरी अघि बढ्छिन् वा कस्ताे स्पष्टिकरण दिन्छिन्, त्यसपछि मात्र उनकाे बारेमा फेसबुकमा अाएजस्ताे धारणा बनाउन सकिन्छ । नत्र हतारमा जसरी उनीमाथि हिलाे छ्याप्ने काम भएकाे छ, त्यसले सम्पूर्ण साहित्य क्षेत्रकै मानमर्दन गरेकाे छ।

के निर्णायकहरु अयोग्य हुन् ? कथा सम्पादकले बाह्रखरीबाट राजीनामा दिने स्तरकै अपराध गरेका हुन् ?

अब प्रश्न उठ्छ, अयाेग्यताकाे । समाजिक सञ्जालहरुमा र केही लेखहरुमा प्रतिष्ठित लेखकहरुले निर्णायकहरुको क्षमतामाथि नै प्रश्न उठाएको देखिन्छ । निश्चय नै जब कोही न्यायधीश बन्छ, केहीलाई मात्र न्याय हुन्छ, धेरैमाथि अन्याय हुन जान्छ । यो अदालतका न्यायधीशहरुभन्दा चर्को र आलोचनायुक्त काम हो । धेरैजसो अवस्थामा न्यायलयमा पक्ष र विपक्षी एक एक जनामात्र हुन्छन् । तर यस्ता प्रतिस्पर्धामा न्यायका रुपमा प्रथम हुने एकजना हुन्छन् भने अन्यायका रुपमा तल पर्ने सयौं व्यक्ति हुने गर्छन् । हरेकलाई आफ्नो सिर्जना राम्रो लाग्नु स्वभाविक हो । यस अर्थमा आफूमाथि अन्याय भएको महसुस हुनु मानवीय स्वभाव पनि हो । त्यो स्वभावमा कुनै विशिष्ट व्यक्तिले तिमीमाथि अन्याय भयो भनेर सामाजिक सञ्जाल र लेखहरुमा भनिदिँदा हो रहेछ भन्ने लाग्नु स्वभाविक हो ।

यसपटक न्यायधीशका रुपमा बसेका नारायण वाग्ले र अमर न्यौपाने यस्ता न्यायधीशहरु हुन्, जसले पाठकबाट धेरै माया पाएका छन्, तर मदन पुरस्कार पाएका कारण उनीहरुले लेखक–साहित्यकारको समाजबाट अदृश्य सत्रु पनि कमाएका छन् । उनीहरुसँगको प्रतिस्पर्धामा मदन पुरस्कार नपाउनेहरु, उनीहरुको साहित्य आफ्नो सिद्धान्त विपरित हुनेहरु, उनीहरुले लेखेरै पाएको लोकप्रियता नरुचाउनेहरु पनि साहित्यिक वृत्तमा धेरै छन् ।

यो स्वभाविक पनि होइन, किनभने आफूसँगै वा आफूभन्दा पछि साहित्यमा आएको व्यक्तिले पाएको सफलताले कहीँ न कहीँ ईष्र्या भाव उत्पन्न गराउँछ नै । अर्का निर्णायक लामाे समय कान्तिपुरमा रहँदा नारायण वाग्लेले धेरै अदृश्य शत्रुहरु कमाएका छन्, जसको प्रतिच्छाया यो निर्णयपछिकाे अाक्राेशहरूमा पनि देखिन्छ । अर्की कान्छी निर्णायक बिना थिङ, जो हिजोसम्म गुमनाम थिइन्, आज राष्ट्रियस्तरको प्रतियोगितामा निर्णायक भएर आउँदा कतिपय लेखकलाई अस्वभाविक लाग्नु स्वभाविक हो । यस्ता विभन्न भावहरू सामाजिक सञ्जालमा एकमुष्ठ देखिन्छन् ।

नत्र यी निर्णायकहरुमा कथाज्ञान नै छैन भन्ने किसिमले समाजिक सञ्जाल भरिने थिएन र लेखहरु लेखिने थिएन ।

अब प्रश्न उठ्छ, के बाह्रखरी कथा प्रतियोगिता दूधले नुहाएको स्वच्छ प्रतियोगिता नै थियो त ?

निश्चय नै बाह्रखरी प्रतियोगितामा प्रसस्त कमी भएका थिए र छन् । जसका विषयमा सामाजिक सञ्जालमा पहिलो वर्षदेखि नै असल नियत भएका केही लेखक–कविहरुले जायज प्रश्न उठाएका थिए–उठाइरहेका छन् । ती प्रश्नलाई सुने पनि नसुनेझैँ गर्नु ती विद्वानहरुको सुझावहरुको अपमान थियो, हाे ।

हामीले गरेको ‘महान साहित्यिक अभियान’लाई प्रश्न गर्ने तिमेरु को हौ ? भन्ने किसिमको भाव अघिल्लोपटक पनि बाह्रखरी व्यवस्थापकले देखाएको गुनासो सुनिएको थियो । अघिल्लोपटक तेस्रो भएको कथाको पुरस्कार फिर्ता गर्ने नैतिकता न कथाकारले देखाइन् न बाह्रखरी व्यवस्थापकले त्यो हिम्मत ग¥यो । यो वर्ष पनि यत्रो विवाद हुँदा पनि बाह्रखरीबाट स्पष्टीकरणको दुई शब्द पनि सुनिएको छैन । यसपटक पनि बाह्रखरीले काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ भन्ने व्यवहार देखाइरहेको छ । यो मौनताले सम्पूर्ण साहित्य जगत अपमान महसुस गरिरहेको छ ।

साहित्यिक पुरस्कारको घोषणा गर्नु, साहित्यको श्रीवृद्धि गर्छु भन्नु र उठेका प्रश्नको जवाफ नदिनुले साहित्यका नाममा जे गरे पनि हुन्छ भन्ने व्यवहार बाह्रखरीको व्यवस्थापनले देखाइरहेको छ ।

अर्कोतर्फ यो प्रकरणमा जसरी सार्वजनिक खुसी र खुचिङ्का भावहरु छरपस्ट भएका छन्, त्यसले राम्रो क्षमता भएकी मुना चौधरीको सार्वजनिक अपमान भएको छ । साहित्यमा नाम कमाएका र अब्बल साहित्यिक पत्रकार राजेन्द्र पराजुलीले राजीनामा दिनुपरेको छ । साहित्यमा नाम कमाउन सुरु गरेकी बिना थिङ् र मदन पुरस्कार प्राप्त दुई लेखकहरुको क्षमतामाथि प्रश्नहरु उठेका छन् । त्यसभित्र जम्माजम्मी एउटा मात्र गल्ती भएको छ, त्यो हो, गएको वर्ष नियम विपरित तेस्रो भएको कथाले पाएको पुरस्कार फिर्ता नगर्नु । र, यसपटक पनि छापिएकाे कथा पुरस्कृत भएपछि उठेकाे अावाजलाइ सम्बाेधन नगर्नु ।

अहिले पनि बाह्रखरी व्यवस्थापनले त्यो गल्ती सुधार गर्न सक्छ, जुन अहिलेसम्म हिम्मत गरेको छैन । मुनाले त्यही कथा अर्कोतिर छाप्न दिएर गल्ती गरेकी छिन् । पात्रको नाम र कथाको नाम परिवर्तन गरेपछि निर्णायकहरुलाई थाहा हुने कुरा पनि भएन । त्यस अर्थमा मुनाले त्यसको सजाय पाउनु पर्छ ।

तर यही आधारमा क्षमता भएकी मुनाको साहित्यिक जीवन नै समाप्त हुनेगरी अपमान गर्नुचाहिँ हुन्न । मुनाको जीवनमा एक लाखको महत्व पक्कै ठूलो होला । त्यस कारण उनले त्यो नलिने घोषणा गर्न नसक्लिन् । तर उनले पुुरस्कार फिर्ता गरे पनि नगरे पनि मुना चौधरी मेरो नजरमा हिम्मतिली कथाकार हुन् । जसले मधेसी समाज, वैदेशिक रोजगारको दुःखदायी पक्ष, महिलामा हुने यौन तृष्णा र त्यसले उब्जाएको परिणाम एक साथ देखाएको छ ।

अर्काे भन्नै पर्ने कुरा, केही दिनअघि यसै पत्रिकामा बाह्रखरी बुक्स र निर्णायकहरूका विषयमा वरिष्ठ साहित्यकार हरि अधिकारीकाे लेख  छापियाे । त्यसकाे अर्थ अधिकारीका सबै कुरासँग साहित्यपाेस्ट सहमत छ भन्ने हाेइन । तर केहीले यहि लेख देखाएर साहित्यपाेस्टकाे नियतमाथि प्रश्न उठाउने काम  गरेकाे र हाम्राे मानमर्दन गरिएकाे  कुरा पनि थाहा भयाे  । बुझ्नुपर्ने कुरा,  नेपाली भाषा र साहित्यमा लागेका सबै हाम्रा हुन् । साहित्यपाेस्ट सम्झेर हरि अधिकारी जस्ता वरिष्ठ साहित्यकारले लेख रचना पठाउनु हाम्राे सम्मान थियाे  र छाप्याैँ ।  हाम्रा विचार फरक हुनसक्छन् तर कसैले  नेपाली साहित्यका लागि थाेरै पनि काम गरेकाे छ भने त्यस्ता सबै व्यक्तित्वहरूकाे विचार सुन्नु हाम्राे धर्म हाे ।  कसैप्रति अाशक्ति र वैरभाव हाम्राे ध्येय हाेइन । सबैकाे विचार सुन्ने र के ठिक हाे,  के बेठिक हाे, हाम्रा विज्ञ पाठक सक्षम हुनुहुन्छ ।

नेपाली साहित्य फेसबुकमा मात्र नअल्झियाेस्,   सबै प्रतिभाहरूले समानरूपमा रचनाहरू स्तरीय ठाउँमा प्रकाशन हुन् । त्यतिका लागि साहित्यपाेस्टकाे उदय भएकाे हाे । यस्ता प्लेटफर्म जति धेरै हुन्छन्, प्रतिभाहरूले उति धेरै ठाउँ पाउनेछन् ।

 

Loading...