नेपाली साहित्यको सम्पूर्ण पत्रिका

मानवीय संवेदनाको कथा: फेची मर्‍यो !

प्रकाशकुमार शर्मा

“छाडिदियो नि गङ्गाजल‚ भयौ सबै पवित्र अब !” घीनले सर्ट टक्टक्याउदै मैले भनें । बिचरो चिकित्सकले घिनाउदै फेचीको छालामा सुई रोप्यो । एकहप्तासम्म खानामा मिलाएर औषधि खुवाउने जिम्मा कोपिलाले पाई ।

कालो फलामे गेट ठेलेँ‚ चुइँय गर्दै खुल्यो । भित्र पसेँ अनि उसैगरी लगाइदिएँ । तर असावधानीवश यसले मेरो औंला च्यापिदियो, “ऐया !” दुखेको औंला मुखले चुस्दै कोपिलालाई बोलाएँ‚ “कोपिला‚ कोपिलाऽऽऽऽऽ ।”

ऊ अलिक कान कम सुन्छे, त्यसमाथि सधैं भान्सामा काम गर्दा गीत सुन्न भनेर मोबाइलको एयर फोन कानमा घुसारेकी हुन्छे । औंला च्यापिएको दर्द भरिएको आवाज भरेर टाँठो गरेर फेरि कराएपछि बरन्डामा देखापरी ।

“के भन्नुभयो दाइ ?” जाँगरै नलागेजस्तो गरेर भनी ।

मैले सोधें‚  “फेची कहाँ गयो ? हिजो पनि त्यसलाई देखिनँ मैले यहाँ ।”

“खै कहाँ गयो । मैले त झन् अस्तिदेखि देखेको छैना ।” यति भनेर ऊ हाँस्दै भान्सातिर लागि, म आफ्नो कोठातिर लागें।

फेची लापता हुनुको दर्द केहीबेरलाई बिर्सेर म कार्यालयको काममा घोत्लिए, तर कुर्सीमा बस्दाबस्दै आफ्नो ढाड सोझ्याउनुपर्ने भइसकेछ | ढाड तन्काउन तल झरें । मिस्टर सङ आफ्नी सानी छोरी जोइसलाई साइकलमा राखेर आँगनमा यताउता घुमाउदै रहेछ । मलाई देखेर अडियो ।

हामी दुवैको मुखबाट सँगै निस्क्यो “गुड अफ्टरनुन ।”, दुवैजना मजाले हाँस्यौं ।

“टु मेन्टेन योर ब्याक ? (ढाड सोझ्याउन निस्किएको ?)” उसले सोध्यो ।

“एस मिस्टर सङ‚ इट इज माइ प्लाइट एण्ड आइ थिङ्क आइ क्यान्ट इस्केप फ्रम दिस इभर लाइफ । (हो मि सङ यस्तै छ मेरो हाल । जीवनभरि यसबाट म भाग्न सक्दिनँ होला ।)”‚ मैले भनें ।

ऊ केही बोल्न आँट्दै थियो सानी जोइसले बिथोली ।

“आप्पा फेचीगा… ‍?”

म कोरियाली भाषा बुझ्दिनँ, तर यतिचाहिँ बुझें, सानी नानीले फेचीको कुरा गर्दैछे ।

उत्तेजित भएको मिस्टर सङले मसँग सोध्यो‚ “हेइ प्रकाश‚ ह्वेर ह्याज फेची गन् ?”

“आई अल्सो आस्कड सेम क्वेश्चन टु कोपिला ? रियल्ली‚ ह्वेर ह्याज फेची गन् ? (मैले पनि यही कुरा कोपिलालाई सोधेको थिएँ । साँच्ची‚ फेची कहाँ गयो ?)”

एकचोटी मजाले हाँसेपछि उसले भन्यो‚”पर्ह्याप्स हि मेट हिज मेटिङ पार्टनर एण्ड वेन्ट समह्वेर टु मेड होम‚  हाहाहाहाहा । (सायद उसले घरबार बसाउन आफ्नी तरुनी भेट्यो होला र कतै गयो होला ।)” फेरि भन्यो, “जस्ट किडिङ्ग‚ हाहाहाहाहा ।(ठट्टा गरेको है।)”

“मे बि एन्ड इट्स द सिजन फर मेटिङ्ग अफ डग ! (होला  पनि‚ यतिबेला कुकुरले तरुनी खोज्ने मौसमै हो क्यार !)” जवाफमा मैले भनें । ऊ फेरि खिल्लिलाएर हाँस्यो ।

भएको के रहेछ भने उसले बाटोमा निस्किँदा भुस्याहा कुकुरका थुप्रै बगाल देखेको रहेछ; कतै पोथी कुकुर लखेट्दै दगुरिरहेका‚ कतै र्‍ङ्यार–र्‍ङ्यारर्‍ङुर–र्‍ङुर एउटी पोथी कुकुरको निम्ति टोकाटोक गरिरहेका त कतै यौनाङ्ग अड्काएर सडकमा रमिता देखाइरहेका ।

“ह्वाइ सो मेनी डग्‍स आर मुभिङ्ग अन द स्ट्रिट हियर ? माइ डटर्स स्केयर्ड टु गो टु द रोड । (यहाँ किन बाटोमा यतिका कुकुहरूहिँडिरहेका हुन्छन् ? मेरा छोरीहरू सडकमा निस्कनै डराउँछन् ।”)

के जवाफ दिनु मैले । महिना दिन नाघिसक्यो ऊ नेपाल आएको; केमा मात्रै बेथिति छैन र यहाँ | उसले आफैँ बुझोस् यहाँको अराजकता‚ बरु मैले भनें‚ “मिस्टर सङ‚ इट लुक्ड लाइक इल । हाउ क्यान इट फाइट विथ योङ्ग डग एन्ड विन हिज पार्टनर ? (ऊ त बिरामीजस्तो देखिन्थ्यो । बिचराले तन्नेरी डाँगाहरूसँग भिडेर तरुनी जित्न सक्थ्यो र‚ मिस्टर सङ ?)”

यसो ढाड सोझ्याउने उपक्रममा खुट्टा उफार्दै फेरि थपें‚ “कहाँ गयो होला यो फेची पनि ?”

मेरो भाषा नबुझेर लिप्रिक्क ओठ लेप्र्याउदै ऊ सानी जोइसलाई साइकलमा राखेर आँगन बाहिर निस्क्यो ।

फेचीले घर छाडेको त मलाई कहिल्यै थाहा थिएन । दुई दिन भइसकेछ ऊ हराएको; मैले हिजै खोजीनीति गर्नुपर्ने ।कतै बाहिरगएको होला भनेर त्यति वास्ता गरिनँ । कसैले मारिदियो कि ? वा कसैले खानेकुरामा विष पो राखिदियो कि ? कतै झाङ्गमुनि कुइँकुइँ रुदै बसेको पो छ कि ?

फेरि मैले कोपिलालाई कराउँदै बाहिर बोलाएँ । यसपाली ऊ एयरफोनका लहरा कानबाट झिक्दै बाहिर देखापरी ।

“कति गीत सुनेको ? फेचीको खोजी गर्नुपर्दैन ?” म झोक्किएँ ।

गम्भीर हुनुको साटो ऊ पनि गालामा लाली चढाउदै खितखिताई, “अब काँ खोज्न जान्छ म त्यल्लाई । गयो होला नि साँढे तरुनी खोज्न ।” मतिर नहेरी ऊ फेरि लहरो कानमा ठोसेर भित्रतिर लागी ।

“एकातिर डोजरले बाटो छेकेको थ्यो, आर्कातिर साँढे छाडा कुकर रमिता देखाइरहेका । आफ्ना दुइटै हातमा झोला थियो ।निस्किने बाटै पाएन । एकछिन उभिएको त उतापट्टि घरको छतमा चङ्गा उडाइरहेका रन्डाहरूले‚ “के हेरेको मैयाँ ?” भन्दैकस्तोकस्तो बोल्यो ।

“राँडाहरूको दिदीबैनी पनि छैना कि क्या हो ?” बैठक कोठातिरबाट कोपिलाले चिच्याउदै मलाई सुनाई ।

“छोडिदेऊ त्यस्ता पागलहरूका कुरा”, मैले पनि चिच्याउदै जवाफमा भनें‚ “पम्फा दिदी बस्ने घरमा पो गयो कि खोज्न जानुपर्दैन ?”

अहिले त कानमा समेत रक्तिम आभा चढाइसकेकी कोपिला फेरि बाहिर निस्की‚ “त्याँ त जादैन अचेल । पम्फा दिदी डेरासरिसक्यो । एकदिन गा’को थ्यो रे ! पल्लो कोठाकी दिदीले छोराछोरीको मोजा काटिदेला भनेर दाउराले हानेर लखेटेछ ।”

मैले सम्झिएँ, एकदिन बिहान यहाँ आउँदा दर्के झरी परेको थियो । साँझ जाँदा घाम झलमल लागे कसले छाताको खोजी गरोस् ।भोलिपल्ट यतालाग्दा बीच बाटोबाटै सिमसिम पानी पर्न थाल्यो झोला छामेको त छाता छैन; निथ्रुक्कै भएर फलामे ढोका खोलेरभित्र पसें । हातमा मेरो छाता च्यापेर कोपिला उभिएकी थिई । मलाई देखेर हाँस्दै खोलेर देखाई; गाइजात्राको व्यङ्ग्यकारले ओढ्नलायक बनाइदिएछ सत्र ठाउँ टोकटाक पारेर ।

कोपिलासँग पड्किएँ‚ “किन छोडेको साँढेलाई  ?”

“मैले हो त‚ आफैँ फुकेछ राति ।” उसले आफ्नो बचाउ गरी ।

हाम्रो हल्लाखल्ला सुनेर मिस्टर ‘ओउ’ तल ‌ओर्लियो ।

“कुल डाउन माई योङ फ्रेन्ड । आइ ह्याभ लस्ट मोर देन यु । लुक एट माई सुज ! पुअर मि ! माई एल्डर सन स्पेन्ड अल्मोस्ट २ लाखवन टु पर्चेज दिज् सुज फर मि बिफोर आइ डिपार्जर फ्रम कोरिया । (शान्त होऊ मेरा तन्नेरी साथी । तिमीले भन्दा धेरै त मैलेगुमाएको छु । बिचरो म‚ मेरो जेठो छोराले म कोरियाबाट हिँड्नुअघि यी जुत्ता दुई लाख कोरियन वन हालेर किनिदिएको थियो ।)” रुवाजति उडेका धुजाधुजा भएका जुत्ता देखाउदै उसले भन्यो ।

अनि हामी अबदेखि होसियार हुनुपर्छ भन्दै माथि उक्लिएका थियौं त्यो दिन । मलाई फेची पटक्कै मन पर्दैन । त्यसैले यसको नामको अर्थ के हो भनेर मैले मिस्टर र मिसेज ‘सङ’सँग कहिल्यै सोधेको पनि छैन ।यही वर्षमात्रै ऊ चारपटक बिरामी परिसक्यो । उसको डाक्टर आउने दिनमा म दीपक दाइलाई गुहार्छु । मलाई फेचीको गन्धै मनपर्दैन; वाकवाकी लाग्छ । तर त्यो फटाहा पशु चिकित्सक पनि मै जस्तो सिकसिके छ । उपचार गर्न आउँदा जे पनि हामीलाई लगाउँछ । एकदिन त ज्वरो नाप्न थर्मिमटिर फेचीको मलद्वारमा घुसार्न दीपक दाइलाई लगायो; मैले आँखै देखिनँ र पड्किएँ‚ “तपाईँको काम त्यसो भए के नी ? कुकुर छुन घीनाउने अनि केनल क्लबमा जागिर गर्ने ? वाहियात !”

केटौले थियो बिचरा आत्तिएर त्यसपछि सबै काम आफैँ गर्‍यो । हुन पनि त्यसदिन फेचीले उधुमै गरेको थियो । कोपिला र दीपक दाइलाई छेउछाउ नै लाग्न दिएन किनकि उसले आफ्नो शत्रु आएको देखिसकेको थियो । मैले थाहा पाएसम्म फेचीले मन नपराउने तीनजना मान्छे छन् । त्यही उसलाई सुई घोच्ने चिकित्सक, दीपक दाइ र कोपिला । पहिलो दुई जनालाई त ऊ फुटेका आँखाले पनि सहदैन । कोपिलाले भने साँझ बिहान खाना खान दिने भएकाले उसको ज्यादतिमाथि पनि पुच्छर हल्लाउन बाध्य छ ।

केही सीप नलागेपछि त्यसदिन फेचीलाई फकाउने जिम्मा मेरै काँधमा आइलाग्यो । हजार दाउ लगाएर मैले उसको घाँटीमा बाँधेको साङ्ग्लो अड्काउने काँठी समात्न भ्याएँ । नटोकोस् भनेर मुख बाँध्ने जालो लिएर दीपक दाइ हामीतिर दौडियो । दीपक दाइ जालोमुखमा लगाउने उपक्रममा थियो । केभिन, त्यो चिकित्सक र अरु मिलेर उसलाई आँगनमा लडाए । आत्तिएको फेचीले दीपक दाइको ओठ र गालासम्मै भ्याउने गरी मुतिदियो ।

“छाडिदियो नि गङ्गाजल‚ भयौ सबै पवित्र अब !” घीनले सर्ट टक्टक्याउदै मैले भनें । बिचरो चिकित्सकले घीनाउदै फेचीको छालामा सुई रोप्यो । एकहप्तासम्म खानामा मिलाएर औषधि खुवाउने जिम्मा कोपिलाले पाई ।

ऊ यसैगरी हामीलाई सताउँछ । किन मलाई कुकुर बिराला मन पर्दैनन् थाहा छैन । यो फेची त झनै मन पर्दैन । उफ ! यसको खेलबाडको कसले बयान गरोस् । म यहाँ आइपुग्दा ऊ फुकै रहेछ भने मेरो हुर्मत लिन्छ । एक्कासी कताबाट आउँछ र हिलोमा डुबेका त्यसका खुट्टा मेरो टाउकासम्म पुग्नेगरी जाइलाग्छ । म सम्हालिन नपाउदै मेरो सर्ट–पाईन्टमा त्यसका नङ्ग्राका खुब राम्रा हिले बुट्टा कुँदिसकेको हुन्छ । क्रोधले म उम्लिन्छु अनि ऊ लत्याकलुतुक परेर खुट्टा चाट्न निहुरिन्छ‚ पुच्छर हल्लाउँछ‚ कुँइकुँइ गर्छ; मानौं मेरो लुगा बिगारिदिएकोमा माफी माग्दैछ । यताउति लठ्ठी खोजिरहेका मेरा आँखा त्यतिकै रोकिन्छन् । फन्किदै म भित्र पस्छु। ऊ मैलाई हेरिरहेको हुन्छ अझै माफी मागिरहेको शैलीमा । दिक्दार हुँदै म झोला बिसाएर बाथरुम छिर्छु ,लुगा पखालपुखुल पार्छु र नुहाएर काम सुरु गर्छु ।

घर जाने बेलामा पनि ऊ मलाई यसैगरी अप्ठेरोमा पार्छ । आँगनबाट निस्केर म जब फलामे ढोका बन्दगर्छु, ऊ गहिरो निद्रामा परेकोजस्तो स्वाङ्ग गर्छ । तर मैले दुई पाइला चालिनसक्दै फलामे ढोकामाथिबाट हाम फालेर बाटोमा निस्किन्छ; म झस्किन्छु ।बिन्दास् चालाले ऊ मेरो पछि लाग्छ ।

“फेची‚ घर जा ।”

मलाई नसुने जस्तो गरेर ऊ झन् मेरो अघि पो लाग्छ ! बिजुलीको पोल देख्नै हुन्न् तुर्‍क्याइहाल्छ । मलाई रीस उठ्छ‚ हप्काउँछु; झन्अघिअघि दगुर्छ; म आज तेरो पछि लाग्न आएको हैन के भनेजस्तो गरी बेवास्ता गर्दै ! मूलबाटो निस्केपछि म फेरि चेतावनी दिन्छु‚ “बाटो काटेर मेरा पछि लागिस् भने तँ आज मरिस् ।”

साँच्चै बाटोपारि पुग्दा ऊ मसित हुँदैन । उतै पल्लापट्टि केके सुँघिरहेको हुन्छ‚ मलाई देखेकै छैन जस्तो गरी । मलाई हल्का महसुस हुन्छ । टेम्पो आउँछ, म हात हल्लाउँछ‚ फेरि ऊ अकस्मात प्रकट भइदिन्छ‚ ‘ह्वाङ्ग ह्वाङ्ग’ गर्दै भुक्छ र टेम्पोको पछि लाग्छ । भित्रबस्ने ठाउँ नपाएर उभिनु पर्‍यो भने त झन् जात्रै देखाउँछ; शुभतारा स्कुलभन्दा माथि पुग्छ मेरो दुर्दशायुक्त बिदाइ गर्न । खानै आईहाल्छ क्यारे जस्तो गरेर टेम्पोका यात्रु डराउँछन् र यत्रा आँखाले मलाई हेर्छन् ।

यस्तो बदमास् कुकुर हराएकोमा म त झन् खुशी पो हुनुपर्ने तर किन बेचैन छु । राम्ररी मिलाएर ढुङ्गा छापेको आँगनमा शरद्‌कोपोषिलो घाम टल्केको छ । बारम्बार मेरा आँखा त्यही ठूलो फलामे गेटतिर गइरहन्छन् । कतैबाट त्यो गेट नाघेर घन्द्र्यामघुन्द्रुम गर्दै फेची आइहाल्छ कि जस्तो लाग्छ । उसलाई बाँध्ने ठाउँतिर हेर्छु, खालीखाली छ; अधीर भएर दीपक दाइलाई फोन लगाउँछु; व्यस्तको व्यस्त छ ।

कुनचाहिँ एफएममा फोन लगाएर सुर न तालको गाना सुनाउदैहोला; वाक्क लागेर रिडायल गर्नु छोडिदिन्छु । फेरि एकचोटि फेची बाँध्ने थलोतिर हेर्छु र ढाड तन्काउने बहानामा तल ओर्लिन्छु । फेचीको खोरमा उसको वाक्वाकी लाग्ने गन्ध जस्ताको त्यस्तै थियो; ठूलो बटुकोमा केही खानेकुरा पनि बाँकी नै थियो । तर फेची थिएन । मलाई त्यहाँ देखेर होला कोपिला पनि त्यही आई ।

“हेर त खाना पनि नखाइ हिँडेछ ।” केही गम्भीर भएर मैले भनें ।

“कम्ति मात्तेको छ त्यो फेची‚ मासुमात्रै खान खोज्छ; भात त छुदैछुदैना । मेडमले कैलेकाइँ हड्डी ल्याएर छोडिदिन्छ; जतासुकै जावोस् ।” यति भनेर ऊ घर पछाडि लागी; सायद लुगा धुन होला । ढाड तन्याकतुनुक पार्दै म बरन्डामा आएँ ।

तीनचार दिनअघि हुनुपर्छ, फेची यहीनेर सुतिरहेको थियो म आइपुग्दा । जुत्ताको धुलो टक्टक्याउदै फुकालें तर उसले आँखै उघारेन; मतिर हेर्दा पनि हेरेन । अचम्म लागेर मैले उसलाई बोलाएँ । यसो आँखा उघारेर हेर्‍यो अनि फेरि तत्काल बन्द गरिहाल्यो । मुन्टै उठाएन । उसको टाउको मुसार्न झन्डै पुगेका आफ्ना हातलाई झट्ट आफैँतिर खिँच्दै मैले केही कमलो स्वरमा फेरि बोलाएँ, “फेची !”

मसिनो स्वरले कुइँय गर्‍यो तर आँखा उघारेन, न त मुन्टो नै उठायो । मैले कोपिलालाई बोलाएँ । तीनचारचोटि चड्का स्वरले बोलाएपछि ऊ आई ।

“फेचीलाई के भयो कोपिला ?”

“खै के भयो, बान्नै हुन्ना रोएर तमास गर्छ । वरिपरिको मान्छेले कस्तो कराउँछ । अब त मैले बान्नै छोडिदियो । खानेकुरा पनि मिठोमिठो मात्रै खोज्छ ।” कोपिला भन्दै गई‚ “नबाने दीपक दाइ कराउँछ; फूल भाँचिदियो‚ गमला फोरिदियो तेरा डाम्नाले भन्छ ।बान्यो रोएर सताउँछ । मरे हुनेनी बरु । यी दुइटा कुकुरको के काम ।”

साँच्चै यी दुइटा कुकुरलाई दीपक दाइ फुटेका आँखाले पनि सहदैन । सातामा तीन दिन ऊ हाम्रोमा फूल स्याहार्न आउँछ । बगैंचाको उत्तरपट्टि इनार वरपर उसले खुबै राम्रो दूबो हुर्काएको छ । तर फेची र उसको छोटेभाइ फुक्ने मौका पाए भने बिष्ट्याउन पनि त्यही जान्छन्, लडिबडि गर्दै खेल्न पनि त्यही । उसले धेरै मेहनत गरेर एउटा गमलामा एभोकाडो हुर्काएको थियो । कुनचाहिँले हो एकदिन फुकेको बेलामा बीचैबाट; भाँचिदिएछ झन्डै आधामिटर जति हुर्किसकेको बिरुवा । राँक्किएको दीपक दाइले मोटो बाँसको भाटो लिएर दुवैमाथि जाइलागेछ त्यो दिन । बिचरा सानोचाहिँलाई त पछाडिका खुट्टा समातेर झुन्ड्याएर चुट्ट्दै थियो । म बाहिर गएको थिएँ, फर्किदा आँगनमा गजबको तमासा देखें ।

“दीपक दाइ‚ बिचरालाई के गरेको ? के बिगार गर्‍यो र ?” मैले डाको लगाएँ ।

फ्यात्त कुकुर छाडेर ऊ उजुरी हाल्न तम्स्यो। चुटाइले थिलोथिलो भएका कुकुरहरू ज्यान चाट्दै खोरभित्र पसेर कुइँकुइँ गर्न लागे ।

“यो डेब्री (कोपिला) लाई नछाड् है भनेको किन फुकाउँछे त्यसका डाम्ना; मैले गू पनि सोहर्नुपर्ने ? यत्रो भैसकेको एभोकाडो कि गाँडो पनि भाँचेर मरेछ । यता फूल लगाउने भनेर ड्याङ्ग पारेर गा’को अस्ति लडिबडि गरेर‚ हगेर मरेछन् । अनि रीस उठ्दैन त ।”

कोपिला किन चुप लाग्थी‚ “मैले फुकाको हो त । आफैँ फुक्छा‚ मलाई टेर्दैटेर्दैन ।

यो स्यानो त झन् मलसाँप्रो जस्तो छ, घरअगाडि र पछाडि कुद्छ; म त बान्नै सक्दैना । यो मेडमले पनि के गर्छगर्छ । दुइटा कुकुर ल्याएर बाँधिदेको छ । जति ख्वाए पनि नअघाउने स्यानो त । चामल कति छिटो सकेको भन्छ फेरि ।”

“भयो भयो अब; चुप लाग । दीपक दाइ‚ अबदेखि यसरी कुटेको देखेमा म राम्रो मान्दिनँ है ।” मैले विवाद मिलाउने उद्योगमा भनें ।

“हजुरआमालाई यो सानोचाहिँ उनकै घरमा लैजान भन्नु न त ! फेचीभन्दा यो झन् बदमास् छ ।” असहाय भएको दीपक दाइले भन्यो ।

“उनीहरू बिचरा त्यहाँ कोलोनीमा बस्छन् । छिमेकीहरूले करायो भनेर कम्प्लेन गरेपछि यता ल्याएको अरे‚ फेरि कसरी लैजान भन्नु। कि त बाहिर कतै लगेर फ्याँकिदिनु पर्‍यो ।” निरुपाय मैले भनें ।

“याँ’चाहिँ कराउदैन रे ?”‚ कोपिला चट्टारिई‚ “पल्लो घरको बूढो मान्छेले अस्ति कस्तो गाली गर्‍यो मलाई । यतापट्टि अपिसको पालेहरूले सधैं जिस्काउँछ । यिनै डाम्नाहरूसँग जोडेर केके भन्छ ।”

“तँ डेब्री उस्तै छेस् किन भन्दैनन् त’नि ! खुब भोगटे लग्दै खुवाउदै गर्छेस् रे ! कुनदिन यही बास बस्न आइपुग्छन् अनि थाहा पाउछेस् ।” दीपक दाइले पोल खोल्यो ।

“धेरै नबोल है दीपक दाइ तिमी जस्तो हैन हामी । केटी जस्तो स्वर पारेर आफैँ कोको केटासँग फोनमा आधाआधा घन्टासम्म कुरागरी बस्छ, यता आल्चाको बुटामुनि गएर । खुब मलाई भन्छ ।”‚ कोपिला पनि के कम हुन्थी र थपी‚ “सिताले मलाई भनेको दाइ, यो दाइले केटासँग लभ खेलेको रे । त्यो केटो बिचरा त कोटेश्वरमा यत्रो ठूलो फूल बोकेर आको रे यो दाइलाई देखेर भागेछ, फूलसुल फ्याँकेर ।”

“चुप लाग् डेब्री ।”‚ भाटो बोकेर दीपक दाइ कोपिलातिर झम्टिन दौडियो।

“भयो‚ चुप अब दुवैजना ।” मैले हस्तक्षेप गरें ।

काटेर खाए हुने नी बरु खान्छन् रे नि त यो जात ले त (कोरियनहरू कुकुरको मासु खान्छन् ।)” । अन्तमा तीतो पोख्दै दीपक दाइएउटा हातमा प्लाष्टिक बेरेर बगैंचातिर गू टिप्न हिँड्यो ।

पहिलेका कुरा सम्झेर के गर्नु, म फेरि वास्तविकतामा फर्कें‚ फेचीको खोजी जसरी पनि गर्नुछ आज । न दीपक दाइले पो कतै देख्यो कि, म फेरि उसलाई फोन लगाउँछु भन्दै माथि उक्लिएँ; फेरि उस्तै व्यस्त देखाउँछ उसको मोबाइल । कस्तो अजीवको मान्छे छ यो दीपक दाइ पनि, कति खर्च हुन्छ होला उसको फोनको महिनामा ? दिनमा २० ठाउँ गर्छ होला फोन एफएमहरूमा । एकाबिहानैदेखि आधारातसम्म कुन एफएममा कुनबेला लोकदोहोरी बजाउने कार्यक्रम बज्छ‚ कसले चलाउँछ उसलाई सबै कण्ठ छ । यहाँ काम गर्नआउँदा पनि कहिले गीत लेखिरहेको हुन्छ, एउटा कुनातिर लुकेर त कहिले अर्कोतिर उभिएर मच्चीमच्ची गीत गाइरहेको हुन्छ एफएममा । टाढैबाट म उसको गतिविधि नियाल्छु । कोपिला जिस्काउन जान्छे कहिलकाहिँ उसले एफएममा गीत गाइरहेको बेलामा । आवाज ननिकाली ऊ ओठैले कराउँछ कोपिलालाई‚ “उता जा डेब्री । तँ फक्रेको फूल ।”

कोपिलालाई दीपक दाइले’फक्रेको फूल’ भनेको सुन्यो भने ऊ मूडमा छ भन्ने थाहा हुन्छ मलाई । उसो त ऊ सधैं मूडमा नै हुन्छ, सिवाय फेची र उसको साथीले बगैंचा नबिगारिदिएको अवस्थामा । बल्लबल्ल उसलाई फोन लाग्छ । आत्तिदै म सोध्छु‚ “दीपक दाइ‚ फेची हरायो । कतै देख्नुभयो  ?” जवाफमा ऊ घोडा हिनहिनाएजस्तो गरी हाँस्छ ।

“किन हाँसेको वाहियात ।”‚ मलाई बेला न कुबेला ऊ हाँसेको फिटिक्कै मन पर्दैन ।

“अब मैले कसरी थाहा पाउनु । कात्तिक लाग्या थाहा छैन । गयो होला कतै अड्काउन !” ऊ फेरि उसैगरी हाँस्यो । मैले ढ्याक्क फोन राखिदिएँ ।

के सम्झेर हो कुन्नी, उसले कलब्याक गर्‍यो र भन्यो‚ “साँच्चै मलाई थाहा छैन दाइ । पम्फा बस्नेतिर गयो कि खोज्न जा भन्नु नि त्यो कोपिलालाई ।”

“ल ल खोजौला ।” मलाई अघिको उसको जवाफले अझै चिढाइरहेको थियो तैपनि सोधें‚  “तपाईं आज आउने हो कि होइन ?”

“आउँछु दाइ आउँछु, तीज बजेतिर ।”

“ल ल ।” भन्दै मैले फोन राखें ।

गजब छ सम्बोधन पनि ऊ मलाई ‘दाइ’ भन्छ, म पनि उसलाई ‘दाइ’ नै भन्छु । उमेरको कुरा गर्दा ऊ मभन्दा पक्कै पनि जेठै होला, तर मैले कहिल्यै सोधेको छैन ।

ट्रिङ्ट्रिङ् फोनको घन्टीले मलाई फेरि वास्तविकतामा ल्यायो; हतारिदै उठाएँ । उताबाट आवाज आयो, “हेलो हजुरहरूकोमा कुकुर छ  है‚ सर ।”

“हजुर हजुर छ । तपाईँ को बोल्नुभयो ? हाम्रो कुकुर हराएको दुई तीन दिन भइसक्यो । तपाईँले फेला पार्नुभएको हो ?” मैले सासै नफेरि सोधें ।

“हो र हजुर ?” त्यो आवाजले भन्यो‚ “म त यहाँ माउन्ट भ्याली केनल क्लबबाट; हजुरको कुकुरलाई इन्जेक्सन दिने बेला भए छ | हाम्रो डेटाबेसले त्यही देखाउँछ । मैले त भोलि म एन्टिरेबिज भ्याक्सिन दिन आउँछु भन्नलाई गरेको ।”

“कुकुर त हरायो, अब तपाईँ कसलाई सुई घोच्न आउने ? सानोचाहिँलाई लगाउने बेला भएको छैन होला ।” मैले चटारिदै भनें ।

“भेटिएपछि खबर गर्नुस् है हजुर ।” भनेर उसले फोन राखिदियो ।

काममा मनै लागेन आज । यो ढाडले पनि मलाई तीसै वर्ष नपुगी बूढो पारिदिएको छ; कुर्सी त शत्रु नै भयो । कहिले छतमा कहिले तल कहिले यता कहिले उता गर्दै ढाड तन्काउदै म फेचीकै कुरा सम्झिदै अलमलिएँ ।

कत्रो शून्य आज यो फेची हराउँदा; फेरि उसलाई बाँध्ने ठाउँमा गएँ । सबै कुरा उस्तै छन्; भर्खरै किनेर ल्याएको साङ्गलो टलक्कटल्किएको छ पश्चिम ढल्केको घामले, तर फेची छैन । म माथि उक्लिएँ र एकछिन् फेसबुकमा अल्मलिएँ । दीपक दाइ आयो । ऊ साइकल सधैं मेरै झ्याल तल राख्छ र “दाइ” भनेर मेरो ध्यान आफूतिर आकृष्ट गर्छ । तर आज चुपचाप लागेर ग्यारेज पछाडितिर गयो र कुटो‚ हँसिया केके हो बोकेर आयो अनि फेची बस्ने खोर अगाडि खनिखोस्री गर्न लाग्यो । मैले माथिबाट हेरी रहें केहीबेर तर मैले पनि बोलाइनँ ।

“तलाई डेब्री राम्ररी स्याहार गर्नुपर्दैन त कैले मर्‍यो अरे ?”‚ चड्का स्वरले दीपक दाइ कराउँदा मेरो ध्यान भङ्ग भयो । जर्‍याकजुरुक उठेर झ्याल खोलें ।

“मलाई के थाँ त ।” मलाई झ्यालबाट हेरेको देखरेर मतिर हेर्दै कोपिलाले थपी‚ “दाइले त बिरामी छ भन्थ्यो । त्याँ परको घरमा गएर मर्‍यो रे अस्ति राति ।”

म हाम फालेर तल तिनीहरू भएको ठाउँमा पुगें ।

“दाइ फेची मर्‍यो भन्छे त यो डेब्री त ।” दीपक अझै कुरालाई हल्कै बुझिरहेको थियो क्यार, “छी ! कस्तो यो दीपक दाइ त । अस्ति राति मरेको रे । हिजो फोहर उठाउन आउनेलाई त्यो आमाले आठ सय रुप्पें दिएर फाल्न लगायो रे ।” कोपिलाले भनी ।

“हाम्रो कुकुर मरेपछि हामीलाई खबर गर्नु पर्दैन रे ? को आमाको घरमा मरेको रे नि ?”‚ मैले सोधें ।

पश्चिमतिर देखाउदै कोपिलाले भनी‚ “उ त्यो घरको आमाले फाल्न लाको रे त्यही गएर मरेछ । हाम्रो गेटअगाडि ल्याएर छोडिदिन लाउँकी भनेको रे फेरि आफैँ पैसा तिरेर फाल्न लाएछ ।”

“कस्तो रे रे भन्छ्यौ तिमी ? तिमीलाई चाहिँ कसले भन्यो ?” बगैंचाको डिलमा थकुक्क बस्दै झोक्किएर मैले सोधें ।

“यो घरमा बस्ने दिदीले ।” फेरि कोपिलाले पूर्वतिरको घर देखाई ।

यो ठूलो घरमा एउटी मोटी तामाङ्नी (सायद उसको श्रीमान पनि) काम गर्न बस्छे भन्ने मलाई थाहा छ, जसकी सानी गुडिया जस्ती राम्री छोरी हाम्रो घरको गेट खुल्लै देखि भने फुत्त बगैंचामा छिर्छे र मग्न भएर पिङ्ग खेल्छे । तर आमाचाहिँले देखि भने जगल्ट्याउदै लछारपछार पारेर लान्छे ।

“त्यो दिदीलाई कसले भन्यो नि यो कुरा ?”‚ दिक्क भएको मैले कोपिलालाई सोधें ।

कोपिला बोल्न नपाउदै हाम्रो गेट कुइँय गर्दै खुल्यो । त्यही मोटी आइमाइले गेटबाट आधा चियाएर भनी; सायद ऊ हाम्रो कल्याङ्मल्याङ् सुनिरहेकी हुँदिहो आफ्नो घरबाट‚ “त्यो आमाले मोलाई भनेको ।”

उसकी सानी केटी आमाको च्यापबाट फुत्त निस्की र पिङ्गतिर दौडिई । दुई झड्को नखेल्दै त्यो तामाङ्नी दिदी च्याँठ्ठिइ‚ “ओइ आईजा ।”

लुरुक्क पर्दै सानीकेटी आई र आमाको कुर्ताको फेर समाई । गेट यसो तादिदिएर तिनीहरू गए ।

“सञ्चो भयो‚ फ्याँक्नलाई पैसा पनि लागेन ।”‚ लामो घिच्रो तानेर दीपक दाइले भन्यो । ऊ अझै केही भन्नेवाला थियो तर मतिर हेर्‍यो अनि चुप लाग्यो । निहुरेर कुटोले केके खनिरहेजस्तो गर्‍यो; कोपिला भने केही नबोली उभिरही ।

केही समय त्यतिकै बित्यो । अचानक मेरो मुख बाट निस्क्यो‚ “दीपक दाइ ।”

आत्तिएर जुरुक्क उठ्दै उसले भन्यो‚ “हजुर दाइ ?”

“अब त्यो सानो कुकुरलाई यहाँ फेचीको ठाउँमा सारिदिनुस् । ग्यारेजअगाडि त्यसले कति नराम्रो दुर्गन्ध फैलाएको छ ।” मैले उठ्दैभनें ।

“हस् दाइ ।” कतिखेर बसेर फेरि काम गरिरहेको उसले कुटोले ड्याङ् फोर्दै भन्यो ।

केहीबेरमा उसले सानो कुकुरलाई साँङ्गलोले घिच्याउदै फेची बस्ने ठाउँमा ल्याएको मैले माथि झ्यालबाट देखें ।

“लु यही बस्, मर् अब ।”

“तेरो बराजु मरिहाल्यो रे । अब तैं भइस् राजा !”

“यताहुँदी हगिस् भने यो भेट्छस् नि !”, बाँसको भाटा देखाउदै उसले भन्यो ।

ठाउँ फेरिएर हो कि किन हो त्यो सानो कुकुर कुइँकुइँ कराइरह्यो ।

मैले फेसबुकमा स्टाटस् लेखें, “फेची मर्‍यो ! मेरो ………साथी  !”

Loading...