नेपाली साहित्यको सम्पूर्ण पत्रिका

मानव चरित्र खङ्गाल्ने पुस्तक

रूटगर बर्गम्यान

एक दिन यस्तो भयोः

म निकै सानो छँदाको कुरा हो। म मावलामा थिएँ। मेरो मामा अलि बदमास हुनुहुन्थ्यो। उहाँका बाल्यकालीन बदमासीबाट घरका हरकोही आजित थिए। उहाँले मलाई कुनै बदमासीका लागि उक्साउनु भयो। मैले पनि उहाँको उक्साहटमा केही बदमासी गरेँ। त्यसपछि मलाई मामाले भन्नुभयो, ‘तिमीले बदमासी गर्यौ, अब भागौँ। तिमीलाई म बचाउँछु।’

त्यसपछि हामी दिनभरि कताकता खेल्यौँ, डुल्यौँ। मध्य दिउँसो नाति केटो भोकायो भनेर हजुरआमा खोज्दै आउनुभयो, सोध्नुभयो, ‘किन हराएको? कहाँ गयौ?’

मामालाई थाहा थियो, यही प्रश्न सोधिनेछ। उहाँले पहिल्यै सिकाउनु भएको थियो, उत्तर के दिने! मैले भनेँ, ‘हजुरबाले मलाई हप्काउनु भयो। अनि रिसाएर भागेको। म अब यो घरमा कहिल्यै आउँदिनँ।’

मेरो जवाफ सुनेर हजुरआमा अवाक् हुनुभयो।

उहाँले फकाउँदै घर लैजानुभयो र हजुरबालाई भन्नुभयो, ‘यस्तो भगवान् जस्तो नातिलाई तपाईंले किन गाली गर्नुभएको?’

उहाँले गाली नै गर्नुभएको थिएन त, के जवाफ दिनु?

‘मैले गाली नै गरेको छैन, नभए सोध न,’ हजुरबाले सामान्य हुँदै भन्नुभयो, ‘सोध न।’

मैले जीवनमा कहिल्यै नबोलेको झूट हजुरबा–हजुरआमाकै मुखेञ्जी बोलेँ, ‘तपाईंले गाली गर्नुभयो र म भागेको।’

गर्दै नगरेको कामको आक्षेप, त्यो पनि नातिबाट आउँदा हजुरबा पनि अवाक् हुनुभयो।

मामा गायब नै हुनुहुन्थ्यो। उहाँलाई थाहा थियो, यसपछि घरमा के रडाको मच्चिन्छ र बुबाको सायद झटारै पो खाइएला कि?

यो उमेरमा जब म यो एउटा ठूलो घटना सम्झन्छु, मावन चरित्रप्रति घोत्लिन्छु। के मान्छे जन्मदै झूट बोल्ने, दुष्ट चरित्रको र अरुलाई दुःख दिने किसिमको हुन्छ कि बनाइन्छ?

अर्को एउटा बाल्यकालीन घटना पनि मलाई याद आउँछ। हाम्रो टोलमा कसैको केही हरायो। हाम्रा नजिकका नातेदार त्यसबेला हाम्रो घरमा पाहुना आएका थिए। उनको खुबी थियो, हामी बच्चाहरुले खेल्ने गुच्छा आँखाको नजिक ल्याउनुहुन्थ्यो र हराएको चिज कहाँ छ भनी सोध्नुहुन्थ्यो। बच्चाहरुले करिब–करिब ठीक जवाफ दिन्थे र हराएको माल फिर्ता हुन्थ्यो।

उहाँले मलाई सोही किसिमको गुच्छा देखाउँदै सोध्नुभयो, ‘कसैको सामान हराएको छ, त्यो सामान यो गुच्छाभित्र कहाँ राखिएको छ भन्ने देखिन्छ। कहिलेकाहीँ त मान्छे नै पनि देखिन्छ। लु, अब हेरेर सत्यसत्य बताऊ, हराएको सामान कहाँ गाढेको छ?’

‘जंगलमा,’ मैले गुच्छाभित्र अनौठा अनौठा चित्र देखिरहेको थिएँ र जवाफ दिएँ।

‘त्यो जंगल कहाँ छ? कताबाट जानुपर्छ?’ उहाँले सोध्नुभयो।

‘थाहा छैन,’ मैले भनेँ।

करिब १५ मिनेट प्रश्न र जवाफको सिलसिला चलिरह्यो तर हराएको सामानको टुङ्गो लागेन।

अन्तिममा उहाँले भन्नुभयो, ‘यो बाबु छिप्पिइसकेको रहेछ। यसले भन्न सक्तैन।’

त्यसपछि अरु नै कोही मेरो ठाउँमा बस्यो। आखिर उसले पनि सहीसही बताउन सकेन। हराएको सामान सायदै भेटियो होला।

मैले बाल्यकालीन यी दुई घटना किन स्मरण गरेको भने त्यो बेला बालबालिकालाई भगवानको अवतार भनिन्थ्यो। उस्तै हो भने मैले मावलामा कुटाई नै खाने बदमासी गरेको थिएँ तर मलाई मावलामा भगवान मानिन्थ्यो, त्यही भएर छूट पाएँ।

मैले दोस्रो घटनामा गुच्चाभित्र हेर्ने अवसर किन पाएको थिएँ भने म भगवानजस्तै निश्चल मानिन्थेँ, गुच्छाभित्र देखिएका दृश्यमा कुनै जोडघटाउ गर्दिनँ र जे जे देखेँ, त्यही बताउँछु भन्ने विश्वासमा त्यो अवसर पाएको थिएँ।

यस्तो थियो हाम्रो सामाजिक मान्यता र विश्वास, जहाँ मान्छे जन्मदै सरल र निश्छल, निष्कपट हुन्छ। उता क्रिस्चियानिटीमा भने मान्छे जन्मदै पापी हुन्छ भन्ने मान्यता छ।

डेनमार्कका लेखक रुटगर बर्गम्यान उनको नयाँ पुस्तक ‘ह्युमन काइन्डः अ होपफुल हिस्ट्री’ इतिहासदेखि विज्ञानसम्मका अनेकन उदाहरण र फुँदाहरु जोडेर मानव जातिका अनेक पक्ष खङ्गाल्ने प्रयास गरेका छन्।

यो किताब कति पठनीय छ भन्ने कुरा स्वयं अर्का प्रख्यात लेखक युवल नोह हरारीले गरेको टिप्पणीबाट प्रस्ट हुन्छ। उनले भनेका छन्– ‘ह्युमन काइन्ड’ पुस्तकले मलाई मानव जातिको नयाँ पहलुबारे बुझाएँदै नयाँ दृष्टिकोणबाट हेर्न चुनौती थपिदिएको छ।

लेखक बर्गम्यानले पुस्तक के हो भन्ने कुरा कुरा एन्टोन चेखबको एउटा चर्चित भनाइबाट प्रस्ट्याएका छन्– ‘व्यक्ति अझ राम्रो हुँदै जान्छ, जब तिमीले उसलाई ऊ कस्तो थियो भन्ने देखाउँदै जान्छौ।’ अर्थात् मानिसले आफ्नो प्रकृति र स्वः बिर्सिएको छ (बिर्सिरहन्छ) र अनेकन् नियम–कानुन, जात्रा–पर्वले बाँधेर उसलाई सम्झाइरहनुपर्छ कि ऊ कस्तो छ र कस्तो हुनुपर्छ।

यही मूल सोचमा आधारित रहेर लेखक बर्गम्यानले यति विस्तृत उदाहरण पेश गरेका छन् कि पाठक हरेक अध्यायपछि अर्को अध्याय हाम्फाल्दै जान्छ।

उच्च जातकी दुलही भित्र्याउँछु भनेर कस्सिएर गएका नवराज विक र उनका साथीहरुको हत्या हुनु, क्वारेन्टिनमा बसेका मानिस जीवन जल नपाई मर्नुजस्ता घटनाले हामीलाई हाम्रो क्रुरताका बारेमा उदाङ्ग पारिदिन्छ। यस्ता घटनाले हाम्रो समाजको चरित्र बुझाउँछ। त्यस्तै कोरोनाको संत्रासका बाबजुद पनि मानिसहरु बेफिक्री भएर हिँडिरहेको देखिन्छ। आखिर किन त्यस्तो हुन्छ?

विभिन्न प्रयोगबाट मानिसको चरित्र औँल्याउँदा लेखकले कहिल्यै पनि त्यसलाई झिँजोलाग्दो बनाएका छैनन्। बरु सबै घटनालाई लेखक बर्गम्यानले सैद्धान्तिकीकरण गरिदिएका छन्, जसका कारण यसलाई विविध शास्त्रीय कोणबाट पनि हेर्न सहयोग पुर्याउँछ।

 

कोरोनाबाट अहिले हरकोही किन डराउन छाड्यो?

दोस्रो विश्वयुद्धताका हिटलरले बेलायतमाथि यति बम प्रहार गर्यो कि संसारभर साम्राज्य फैलाएको बेलायत भरे या भोलि नै ध्वस्त होला भन्ने धेरैको आँकलन थियो। तर जति बम विष्फोटको क्रम लम्बियो, यसमा सर्वसाधारण बेलायतीलाई नौलो कुरा लाग्न छाड्यो। बम विष्फोट हुँदै गर्दा केही छेउ लागे पनि केही समयपछि मानिसहरु सामान्य दैनिकीमा फर्कन थाले। बालबालिकाहरु बमकै छेउमा खेल्न थाले।

ठीक यही कुरा कोरोना संत्रासका सम्बन्धमा पनि लागू हुन्छ। चैतको पहिलो सातापछि जब सरकारले बन्दाबन्दी घोषणा गर्यो, सबै मानिसहरु डराएर आजै मरिएला कि भोलि मरिएला भनेर रुन कराउन र तनाव लिन थाले। तर लकडाउन लम्बिदै जाँदा कोरोनाका कारण भन्दा अरु नै कारणले मानिसको मृत्यु हुने सम्भावना बढ्दै जाँदा बन्दाबन्दी खुकुल्याउन सरकार बाध्य हुन थाल्यो।

नेपालको संविधान निर्माणका क्रममा जब भारतले नेपालमा नाकाबन्दी लगायो, नाकाबन्दीका कारण उत्पन्न हुने अभावले जनताले विद्रोह गर्ने ठानिएको थियो। यसको ठीक विपरीत नेपालीहरु पेट्रोल र अन्य चिजको अभावमा अझ मजबुत हुन थाले। देशप्रेम उम्लिएर आयो।

लेखक बर्गम्यान तर्क गर्छन्, संकटले मान्छेलाई अझ बलियो, अझ करुण हुन सिकाउँछ। अरुप्रति ऊ नरम बन्छ। छिमेकीलाई ध्यान दिन थाल्छ।

बाँच्ने नबाँच्ने ठेगान नभएको भूकम्पका बेलामा नेपालीहरुले के गरे? चौरमा भेला भए। सामूहिक रुपमा खाना बनाए। खाए। ख्वाए। गरिब, बालबालिका र गर्भिणीहरुलाई प्राथमिकता दिए। संकटले मानिसमा रहेको करुणा जगाउँछ।

भूकम्प र यही बन्दाबन्दीमा पनि शुरुवाती चरणमा मान्छेहरु राहत बाँड्न दौडिए। त्यो भावनामाथि भलै हुनेखानेले पनि त्यसको दोहन गरे तर त्यो संख्या निकै न्यून थियो। प्रचार हुँदा वा समाचार बनाइँदा खराब प्रवृत्तिकै बढी बन्ने हुँदा मानिसहरुलाई जताततै खराबै खराब पो छ कि भन्ने लाग्छ तर होइन भन्ने तर्क लेखक बर्गम्यानको छ र त्यसका लागि उनले अनेकन् उदाहरण दिएका छन्।

बर्गम्यानले दोस्रो विश्वयुद्धताका चर्चिल र हिटलर, रुजबेल्ट र लिन्डम्यानको उदाहरण दिँदै संकटपूर्ण घडीमा नेताहरुले कसरी आफ्नो एउटा संकथन निर्माण गर्छन् र त्यसमाथि सर्वसाधारणको भावनामाथि खेल्दै राष्ट्रवाद निर्माण गर्छन् भन्ने कुरा पनि देखाएका छन्। ती कुरा पढ्दै जाँदा ओलीको राष्ट्रवादको मूल कहाँनेर र कुन भावनामा अडिएको रहेछ भन्ने पनि थाहा लाग्दै जान्छ।

यो त किताब पढ्दै जाँदा उब्जिएको एउटा भावना यहाँ प्रस्तुत गरेकाे हुँ, पछि कुनै समय यो किताबका रमाइला पक्षबारे लेख्ने नै छु किनभने यस्ता अनेकन उदाहरणहरुले यो पुस्तक भरिएको छ।

Loading...