नेपाली साहित्यको सम्पूर्ण पत्रिका

पुस्तक चर्चा: फरक फरक स्वादका कथा

बालिका थपलिया

नेपाली साहित्यको इतिहासमा लघुकथाको आफ्नै महत्व छ । थोरै शब्दमा धेरै कुरा भन्न सकिने विधा लघुकथा हो । लघुकथाकारको भीडमा उभिएका छन् गणेश श्रमण । उनले ‘गुलियो काठमाडौँ’ शीर्षकको पहिलो लघुकथासङ्ग्रह निकालेका छन् । यसलाई शिखा बुक्सले बजारमा ल्याएको हो । यसमा सन्ताऊन्न वटा कथाहरु समेटिएका छन् । लेखकको बौद्धिक क्षमता यो कृतिमा प्रतिबिम्बित भएको छ ।

बालिका थपलिया

श्रमण मूलतः कवि हून् । उनी निबन्ध पनि लेख्छन् । उनले २०६६ सालमा ‘शब्दक्रान्ति’ शीर्षकको कवितासङ्ग्रह प्रकाशित गरेका थिए ।

समसामयिक विषयले पुस्तकलाई गुलियो बनाएका छन् । समाजका विभिन्न किसिमका पात्रले उनका कथालाई पूर्णता प्रदान गरेका छन् । कथाका प्रसङ्गहरु रसिला छन् र विविधताले भरिपूर्ण छन् ।

सान्दर्भिक पोस्ट

समाजको बाटो

‘गुलियो काठमाडौँ’ शीर्षकको कथाले काठमाडौँको विशेषताको बारेमा बयान गरेको छ । वुबाले छोराछोरीलाई काठमाडौबाट फर्किदा गुदपाक कोशेली ल्याउदा केटाकेटीले काठमाडौँलाई गुलियो रहेछ भन्ने सोच्छन् । तातो कपडा ल्याउदा न्यानो रहेछ भन्ने सोच्छन् । तर तेस्रो पटक छोराछोरीलाई झुक्याएर जाँदा उनी त्रिशुलीमा बस दुर्घटनामा पर्छन र कहिल्यै फर्किन पाउदैनन् । रमाइलोसँग शुरु भएको कथाको वियोगान्त अन्त्य भएको छ । गुलियो स्वाद तितोमा परिणत हुन्छ ।

काठमाडौँ एउटा स्थान विशेष वा राजधानीको नाम मात्र होइन् यो हामीलाई वर्षौदेखि शासन गरिरहने सत्ता र प्रवृत्तिको प्रतीक पनि हो । यसभित्रका कथाहरुमा यी र यस्तै प्रवृत्तिप्रति व्यड्ग्य विद्रोह र समकालिन चेत पाइन्छ । कथाभित्र आफ्नै वरिपरि गाउँ शहरमा घटेका घटना, वातावरण र तिनमा देखिने मानविय प्रवृत्तिमा कलात्मक विद्रोहको स्वर पाइन्छ । हामीले बाँचेको युगको समयबोध पाइन्छ । यो कृतिलाई समाजशास्त्रिय दृष्टिकोणले पनि हेर्न सकिन्छ ।

यो किताबभित्रको ‘रावण’ शिर्षकको कथाले समाजमा सकरात्मक र नकरात्मक दुवै प्रवृत्तिका पात्रको भुमिकालाई छर्लङ्ग बनाएको छ । सबै कथाले कुनै न कुनै सन्देश बोकेका छन् । आत्मिक प्रेमको महत्वलाई दर्शाइएको छ ‘तुलसीको मठ’ शिर्षकको कथामा । ‘आमा’ शिर्षकको कथाले आमाको स्नेहको व्याख्या गरेको छ । दुई महिलाले एउटी बच्चीलाई आफ्नी छोरी भनेर तानातान गरेपछि निर्णायकले बच्चीलाई आधा आधा पारेर बा“ड्ने आदेश दिँदा एक महिला मौन रहन्छिन् र अर्की महिलाले बच्चीलाई त्यसो नगरी प्रतिवादी महिलालाई दिन आग्रह गर्छिन् र निर्णायकले उनी खास आमा भएको पत्ता लगाएर उनको हातमा बच्ची राखिदिन्छन् । आफ्नो सन्तानलाई दुखेको हेर्न नसक्ने आदर्श आमाको उदाहरण हो यो कथा । गणेशका छोटामिठा कथाले कुनै न कुनै सन्देश बोकेका छन् ।

यो किताबभित्रका पात्रहरुको अध्ययन गर्दा हाम्रै समाजका मान्छेहरुको झझल्को आउ“छ । राजनीतिक पक्षदेखि लिएर आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको याद आउँछ । ‘मुख’ शिर्षकको कथाले राजनीतिप्रति व्यङग्य गरेको छ । ‘जति खाए पनि नअघाउने सडकको मुख पत्ता लगाउन म एकदिन सडक पछयाउदै हिँडे। अग्लो पर्खालले घेरिएको दरबारजत्रो भव्य महलमा पुगेर सडक रोकियो ।

मैले पर्खालको मुखबाट भित्र चियाएर सडकको वास्तबिक मुख हेरेँ र देखेँ मुखभित्र दुवै पक्षका अर्थात माथिल्ला र तल्ला दाँतहरु मिलेर सडकका ती पोखिएका आहारालाई चपाउँदै थिए । ‘घोषणापत्र’ कथाले मातृभाषा सबैले बुझ्न कठिन हुने भएकोले नेपाली भाषा नै सबैको लागि मान्य रहने यथार्थलाई खुलाउछ । उनले यसमा नेपाली हुनु र नेपाली भाषा बोल्नुको गौरवलाई दर्शाएका छन् ।

यो कृतिले गणेशलाई कुशल लघुकथाकारको रुपमा चिनाएको छ । लेखनशैलीमा मिठास छ । सामाजिक कुरितिप्रति व्यङ्ग्य र कटाक्ष प्रहार गरिएको छ । कथाहरुलाई प्रतीकात्मक ढाँचामा लेखिएको हुनाले बुझ्नको लागि एकछिन् सोच्नुपर्ने हुन्छ । समग्रमा ‘गुलियो काठमाडौँ’ कृति पठनीय छ ।

Loading...