नेपाली साहित्यको सम्पूर्ण पत्रिका

पहिलो पटक नेपालीमा अनुवाद कथाः भागदौडमा मृत्यु


 

 

 

 

 

 

 

 

 

 

::१::

भागदौडमा मृत्यु हुने परिवारजनहरूका लागि सरकारले पचास-पचास लाख आर्थिक सहयोग दिइने निर्णय गरियो। जसको परिवार भागदौडमा मरेका थिएनन्, तिनको घरमा वृद्धवृद्धालाई गाली गन थालियो कि घरका वृद्धवृद्धा कति विधर्मी र नीच भइसके, ‘दर्शन’ गर्न पनि जान सकेनन्।

‘चिन्ता नगर छोरा अर्को वर्ष जाउँला,’ ८० वर्षे बूढोले छोरोसँग भन्यो।

सान्दर्भिक पोस्ट

‘कहाँ जान्छौ बूढा?’ छोरोले सोध्यो।

‘दर्शन गर्न जान्छु।’

‘भगवान् दर्शन गर्नका लागि नजानू नि… त्यसमा खर्च नै खर्च छ… पाइने भने सुक्को होइन !’

::::

लाशलाई धर्मका आधारमा बाँडियो। हिन्दू लास, मुस्लिम लास, सिख लास र ईसाई लाशहरूलाई बेग्लाबेग्लै लाइनमा राखियो। आर्थिक सहयोग दिनेहरूले भनेका थिए, केवल ‘श्रद्धालुहरू’लाई मात्र आर्थिक सहयोग दिइनेछ। तमासा हेर्न पाउनेहरूलाई होइन।

::::

आर्थिक सहयोग दिनका लागि बडो राम्रो व्यवस्था गरियो। यो ठीक त्यस्तै व्यवस्था थियो, जुन चुनावका समयमा दिइने सहयोग राशिका लागि व्यवस्था गरिन्छ। मतलब, हातहातैमा सहयोग राशि दिइएको थियो। नगदको चम्किला गड्डी हातैमा।

सहयोग राशि बाँडिदै गर्दा गज्जब भयो। लासहरू घरबाट निस्कन थाले।

लाशहरू घरहरूबाट कसरी निस्किरहेका छन् भनी सोधियो, जवाफ दिइयो कि, ती मरेका त त्यहीँ थिए तर कसरी उठेर घरसम्म आइपुगे कसैलाई थाहा भएन !

::::

सान्त्वना सन्देश लेख्नेहरूको माग त्यसै पनि देशमा निकै बढेको थियो तर यस घटनापछि त मागमा यस्तो उछाल आयो कि सुनको भाउ पनि पछारियो।

यति सान्त्वना सन्देश लेखियो र छापियो कि देशमा कागजको कंगाली शुरू भयो, रत्तिभर कागज पाइन छाडियो।
देशको संविधान छाप्न पनि पाइएन।

::::

आर्थिक सहयोग किन दिइरहेको छ भन्ने बताउन पनि जरूरी कसैले ठानेनन्। लिनेहरूले पनि यो सहयोग रकम किन दिइरहिएको छ भन्ने पनि सोधेनन्। लिनेहरूलाई थाहा थियो, राशि दिनेहरूले केही मागे भने त्यही भोट त माग्ने हुन्, जसको कुनै मूल्य नै छैन।

::::

जुन क्षेत्रमा दुर्घटना भएको थिएन, त्यहाँ निकै असन्तोष फैलियो। सर्वसाधारण सडकमा निस्किए। पसल लुटपाट भयो। बसमा आगो लगाइयो। रेलको लिक (पटरी) उखालियो। सडक छेउका रेलिङ भाँचिए। सरकारी कार्यालय जलाइयो। प्रहरीलाई गोली चलाउने अनुमति दिइएन किनभने त्यसबाट कति मानिस मर्थे? आन्दोलनले जब विकराल रूप लियो, त्यसपछि तय गरियो कि त्यस क्षेत्रमा जति पनि पुल छन्, तिनलाई मर्मत गरिने छैन। जति पनि पुराना घरहरू छन्, तिनलाई भत्काइने छैन। जति पनि ‘भाइरस’ छन्, तिनलाई हुर्कन र फैलिन सक्दो मद्दत गरिनेछ। जति पनि नयाँ घर बन्नेछन्, तिनमा यस्तो व्यवस्था गरिनेछ, जसबापत सर्वसाधारणलाई आर्थिक सहयोग दिन सकियोस्।

जनहितमा यति निर्णय गरिसकेपछि बल्लतल्ल आन्दोलन शान्त भयो।

::::

मर्नेहरूपछि घाइते हुनेहरूलाई सहयोग राशि दिने समय आयो। ठूलो संख्यामा गल्लीगल्लीबाट घाइतेहरू निस्कन थाले। केहीलाई लाग्यो, यति धेरै घाइते छन्, सबैले त सहयोग नपाउन सक्छन्। जो पहिले पुग्छ, उसैले पाउनेछ। यसपछि घाइतेहरूको दौड शुरू भयो। त्यसपछि तानातान, को अघि पुग्ने भन्ने र कसलाई पछार्ने भन्ने छिनाझपटी शुरू भयो। अगाडि पुग्नका लागि एकअर्कामा नै कुटपिट शुरू भयो। यसपछि जोसँग जे थियो त्यही निस्कन थाल्यो, चक्कु र पिस्तोल।

घाइतेहरू भकाभक लड्न थाले। उनीहरूलाई थाहा थियो, मरे भने कम्तीमा शहीद त बन्छन्, कम्तीमा उनीहरूले स्वर्गमा ठाउँ त पाउँछन्!

::::

जुन ठाउँमा भागदौड मच्चिएको थियो, त्यहाँका प्रशासकलाई सरूवा गरियो। प्रशासकले पत्रकारहरूलाई भने, यो कुनै नयाँ कुरा होइन। गएको वर्ष पनि यस्तै भएको थियो र प्रशासकको सरूवा भएकै थियो। त्यसभन्दा पहिले र त्यसको भन्दा पनि पहिले पिन यही भएको हो। यो त हरेक वर्ष हुने हो। यस्तो दुर्घटना भएन भने सहयोग राशि फिर्ता जाने हुन्छ र यसले जनतालाई नै ठूलो नोक्सान हुन्छ। यसले विकासको आँकडामाथि नै प्रभाव पर्छ। त्यस्तो नहोस् भनेर पनि हामी सचेत हुनुपर्छ।

::::

टाढाटाढासम्म लाश बगेको थियो। ती सबैलाई किनारामा ल्याउन सम्भव थिएन। त्यसैले असल मानिसहरूले एउटा कम्पनी नै खोले, जसले टाढा टाढा बगेका लाशहरूलाई ल्याउने काम गर्न थाल्यो।

हेर्दाहेर्दै यो कम्पनी पनि यति ठूलो भयो कि यसमा करोडौँ डलरको विदेशी लगानी हुन थाल्यो।

एउटा सानदार अफिसमा एमबिए पास गरेको युवकले व्यवस्थापन हेर्न थाल्यो। यस्तोमा के सुनिश्चित गरियो भने, ‘फिल्ड’मा खटिने स्थानीय युवकलाई राखियो र तिनलाई आदेश दिइयो, हामी जति भन्छौँ, त्यति मात्र लाश ल्याउनू।

::१०::

एक स्त्रीको लाशका साथ त बडो अनौठो भयो। कयौँ मानिस आए र भन्न थाले, ‘यो त हाम्री माताजीको लाश हो। यसको वास्तविक हकदार हामी हौँ, हामीले सहयोग राशि पाउनुपर्छ।’

अर्को दिन अझै बढी मानिस आए र सहयोग राशिमा आफ्नो हक कायम गराउन खोजे। यसपछि त के थियो, हरकोही मानिस दाबी गरिरहेको थियो कि यो लाश उसकी आमाको हो। क्रमशः यो संख्या हजारौँ, लाखौँ, करोडौँमा पुग्यो। सहयोग दिने तनावग्रस्त हुन थाले र सोच्न थाले कि यो एउटी स्त्रीको करोडौँ छोरा कसरी हुन सक्लान्!

कसैले अँधेरोमा तीर चलायो र भन्यो, ‘कतै यो भारत माता त हैन?’

(कथासंग्रह भिडतन्त्रबाट)

असगर भारतका चर्चित व्यंग्य कथाकार हुन्। उनको ‘भिडतन्त्र’ कथा संग्रह हालै प्रकाशित भएको हो। उनले आधा शताब्दी लामो लेखनमा नाटक, कथा, उपन्यास, व्यंग्य संग्रह आदि प्रकाशित छन्।

यी कथाकारकाे एउटा अर्को कथा संग्रह पढ्नुहुन्छ ?

Loading...