विक्रम संवत् २०७२ साल मङ्सिर महिनाको १८ र १९ गते इलाममा भएको अन्तर्देशीय पर्यटनमैत्री इलाम साहित्य सम्मलेनमा भाग लिन साहित्यिक पत्रकार सङ्घ, काठमाडौँका अध्यक्ष राधेश्याम लेकालीले मलाई पनि त्यो अवसर जुराइदिनुभएकोमा उहाँलाई हार्दिक धन्यवाद । काठमाडौँबाट साहित्यिक भ्रमण धेरै हुन्छन् तापनि अवसर भने कमै मात्र मिल्छ । धेरै वर्षपछिको यो भ्रमण एउटा अवसर थियो मेरा लागि र इलाम जाने निर्णय गरेँ । इलाम नगरपालिका र साहित्यिक पत्रकार सङ्घ, काठमाडौँको सहकार्यमा आयोजना भएको उक्त सम्मेलनमा काठमाडौँ लगायत नेपालका विभिन्न जिल्लाहरू चितवन, मकवानपुर, झापा … र भारतका विभिन्न प्रान्तहरू सिक्किम, दार्जीलिङ, खर्साङ, सिलगढी, आसाम, कलकत्ताका भारतीय नेपालीहरूसमेत गरी एक सयभन्दा बढी साहित्यकारहरूको उपस्थिति थियो । उक्त कार्यक्रमको प्रमुख उद्देश्य थियो इलाममा आन्तरिक पर्यटनको प्रवर्द्धन र विकास ।

पूर्वको सुन्दर जिल्ला इलाम प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण छ । चिया उत्पादन र चियाबगान यहाँको प्रमुख चिनारी हो । चियाबगानको मनोरम दृश्य ले जो कोहीलाई पनि आकर्षण गर्छ नै । इलाम नगरपालिकाले आयोजना गरेको उक्त सम्मेलनले अपेक्षा गरेको उद्देश्य प्राप्तिका निम्ति सम्मेलनमा आन्तरिक पर्यटन अभिवृद्धिसम्बन्धी तीनओटा कार्यपत्रहरू प्रस्तुत गरिए । ती कार्यपत्रहरूमाथि टिप्पणी पनि भए । सम्मेलनलाई शुभकामना मन्तव्य दिनेहरूमध्ये हुनुहुन्थ्यो समारोहका विशिष्ट अतिथि युद्धप्रसाद वैद्य । उहाँले व्यक्त गर्नुभएको मन्तव्य अत्यन्त गहन, सारगर्भित, मननयोग्यका साथसाथै घतलाग्दो र विचारणीय पनि थियो । समारोहका सबैले उहाँको धारणालाई ध्यानपूर्वक चाख दिएर सुनेको देखियो । यद्यपि समारोहमा आपसमा खासखुस कुरा गरेर वक्तातर्फ ध्यान नदिने समूह पनि नभएको होइन । नेपालमा प्रायः गोष्ठी र सम्मेलनमा उपस्थित भएकाहरूको ध्यान वक्तातर्फभन्दा बढी आपसमा खासखुस गर्ने प्रवृत्ति देखिन्छ तर युद्धप्रसाद वैद्यको समयमा त्यो अपवादजस्तै भयो । सबैले उहाँले मन्तव्यलाई अनुशासित र धैर्यकासाथ सुने । सायद त्यसैको परिणाम स्वरूप काठमाडौँबाट जानुभएकी साहित्यकार सुमन थापा सङ्गमले उहाँसँग केही समय कुराकानी गर्ने प्रस्ताव राखेपछि वैद्यले उहाँलाई भोलिपल्ट अर्थात मङ्सिर १९ गतेको बिहान सात बजेको समय दिनुभएको रहेछ । पछि यो कुरा काठमाडौँबाट जानुभएका कविमित्र किशोर पहाडीले मलाई भन्नुभयो र उहाँसँग भेट्न जाने हो ? भनेर मसँग सोध्नुभयो । मलाई पनि उहाँसँग भेट्ने इच्छा नै थियो ।

युद्धप्रसाद वैद्य

समारोहस्थलमा विभिन्न लेखकका पुस्तकहरू प्रदर्शनीमा राखिएको थियो । त्यो प्रदर्शनीमा युद्धप्रसाद वैद्यद्वारा लिखित इलाम : इतिहास र विकास नामको पुस्तक मैले देखेँ । मलाई पनि उहाँको सारगर्भित मन्तव्यले भित्रैसम्म स्पर्श गरेको थियो । मैले उहाँको त्यही एउटा मात्र पुस्तक दुई सय रुपियाँमा किनेँ । पुस्तकको मूल्य तीन सय भए पनि एक सय छुट गरिएको थियो ।

विशेष गरी नेपाली साहित्य, कला र सङ्गीतको क्षेत्रमा देशका अन्य जिल्ला र भारतका विभिन्न प्रान्तमा बसेरहेका भारतीय नेपालीहरूको यौटै गुनासो छ – राजधानीले मोफसललाई चिन्दैन । धेरै पहिलेदेखि सुनिएको यो गुनासो अझै पनि बेला-बेलामा उठ्ने गरेको छ । वास्तवमा यो गुनासो गुनासो मात्र नभएर उनीहरूको दुखेसो पनि हो । राजधानीबाट बाहिर बसेर साहित्य, कला र सङ्गीतमा जति नै साधना गरे पनि त्यो साधना सानो क्षेत्रमा मात्र सीमित भइदिन्छ । त्यसले प्रचारप्रसारको अभाव खप्नैपर्छ र सम्बन्धित निकायसम्म पुग्ने अवसरबाट पनि वञ्चित भएको हुन्छ नै । एक दृष्टिकोणबाट मोफसलको त्यो गुनासोलाई नकार्न सकिन्न । त्यसो त अर्को दृष्टिकोणबाट हेर्ने हो भने विभिन्न जिल्ला बाहिरबाट राजधानी प्रवेश गरेका साहित्यकार, कलाकार, सङ्गीतकारले मोहफसलकालेझैँ पीडित हुनुपरेको छैन । सङ्घर्ष गरेरै पनि उनीहरूले आफ्नो नाम राखेका, दाम कमाएका र ख्याति पनि कमाएका छन् । यसको अर्थ यो होइन कि सबैले राजधानीमा नै आएर आफूलाई सफल बनाएर देखाउनुपर्दछ । मुख्य कुरा हो साधक वा लेखकको सही मूल्याङ्कन । देशको जुनसुकै कुनामा रहेबसेको भए पनि उसले गरेको अथक योगदान र साधनाको उचित मूल्याङ्कन हुन नसक्दा नै मोफसलबाट उठने गरेको आवाज ‘’हो राजधानीले हामीलाई चिन्दैन ।’ अब मोफसलको यो गुनासो युद्धप्रसाद वैद्यसँग पनि गाँसिन आइपुगेको महसुस भइरहेछ मलाई पनि ।

दिव्य गिरी

युद्धप्रसाद वैद्यले सुमन थापा सङ्गमलाई दिनुभएको निर्धारित समयमा किशोर पहाडी, सुमन थापा सङ्गम र म उहाँको निवासमा गयौँ । उहाँसँग करिब एक घण्टा कुराकानी भयो । त्यो एक घण्टाको उहाँसँगको भलाकुसारीले मेरो मनमा लाग्यो कि देशको एक कुनामा खोज र अनुसन्धानमा साधनारत युद्धप्रसाद वैद्य साँच्चै ओझेलमा हराएका घाम हुन् । यस्ता विद्वान्, प्राध्यापक, सरल, शालीन, मृदुभाषी, र सहयोगी भावनाका धनी वैद्यले व्यक्त गर्नुभएको विचारबाट नै उहाँको विद्वत्ता प्रकट भएको थियो । उहाँले हामीलाई थोरै समयमा पनि इलामको इतिहास, भूगोल, संस्कृति, जनजीवन, सामाजिक र आर्थिक स्थितिको सङ्क्षिप्त जानकारी दिनुभयो । वैद्यले व्यक्त गर्नुभएको उहाँको अनुभव र अनुभूतिले पक्कै पनि हामीजस्तो पहिलोपटक इलाम पुगेकाहरूका निम्ति अत्यन्त उपयोगी थियो । सायद त्यसैले पनि हो हामीलाई उहाँको कुराले बढी प्रभावित पारेको थियो । इलाम पुगेर इलामका बारेमा केही ज्ञान प्राप्त गर्नु उपलब्धी नै थियो ।

सुमन थापा सङ्गम अझै वैद्यसँग कुराकानी गर्नमै व्यस्त भएको बेला म बाहिर निस्किएँ र उहाँको धर्मपत्नीसँग केही कुरा गरेँ । छोरा विदेशमा र छोरी पनि विवाह गरेर पठाइसकेपछि घरमा दुई जना पतिपत्नी मात्र रहेछन् । जीवनको उत्तरार्धमा पति पत्नीमात्र घरमा भएको कारण उहाँ आफैँले हामीलाई चिया बनाएर ल्याइदिनुभएको थियो । उहाँसँगको क्षणिक वार्तालापपछि म बरन्डामा निस्किएँ । घाम झलमल्ल लागेपछि पारितर्फको डाँडा बिहानीपख झन् रमाइलो देखिएको थियो । सुमन थापा अझै पनि वैद्यसँग कुरा गर्नमा नै व्यस्त भएपछि किशोर पहाडी पनि बरन्डामै आउनुभयो र भन्नुभयो- ‘उहाँ त इलामकै सत्यमोहन हुनुहुँदो रहेछ ।’ मैले उहाँको भनाइमा सहमति जनाएँ ।

हामीलाई अन्ततिर पनि जानु थियो । त्यसैले वैद्यसँग बिदा हुने बेलामा हामीले सम्झनाका निम्ति उहाँसँगै केही फोटोहरू कोठाभित्रै लियौँ । त्यही अवसरमा मैले भनेँ- ‘तपाईँ त इलामको सत्यमोहन नै हुनुहुन्छ ।’ उहाँले मेरो भनाइ सुनेर मन्द हाँस्दै भन्नुभयो- ‘सबैले त्यसै भन्छन् ।’ उहाँको जबाफ सुनेपछि हाँमी पनि हाँस्यौँ । एकछिन झन् रमाइलो भयो । उहाँको कोठाबाट बाहिरिँदै गर्दा मेरो मनमा लाग्यो कि मैले धृष्टताका साथ उहाँलाई ‘इलामको सत्यमोहन’ भनेको कुरा त मभन्दा पहिले पनि अरूहरूले पनि भनिसकेका रहेछन् । केही न केही सत्यताको अंश रहेछ भन्ने मेरो मनमा लाग्यो । हामी बाहिर आएर फेरि पनि उहाँको घर अघिल्तिर ढकमक्क फक्रिरहेको लालुपातेलाई पृष्ठभूमि पारेर उहाँसँग उभिएर केही फोटो खिच्यौँ र त्यहाँबाट बिदा भयौँ । बाटाभरि मेरो मनमा उहाँकै बारे कुरा खेलिरह्यो ।

पिता पूणर्प्रसाद वैद्य र माता चन्द्रकुमारीका पुत्र युद्धप्रसाद वैद्यको जन्म विक्रम संवत् २००० साल फागुन १५ गते इलाम नगरपालिका वडा नं ७ मा भएको हो । राजनीतिशास्त्र विज्ञानमा स्नातकोत्तर गर्नुभएको उहाँले वि.सं. २०२५ सालदेखि २०६३ सालसम्म इलामकै महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापन कार्य गर्नुभयो । प्राध्यापनको पेशामा अठतिस वर्ष लामो कार्यकालमा उहाँ २०४७ सालदेखि सहप्राध्यापक हुनुभयो र उहाँले २०४८ सालदेखि २०५२ सालसम्म त्यसै क्याम्पसमा क्याम्पस प्रमुखको जिम्मेवारी पनि सम्हाल्नुभयो । शिक्षाजस्तो पवित्र कार्यमा प्रवेश गरेको थोरै समय अर्थात् चार वर्षको अवधिमा नै वैद्यले गोरखा दक्षिणबाहु (२०२९) प्राप्त गर्नुभएको छ । वैद्यको असाधारण प्रतिभाकै कारण उहाँले गोरखा दक्षिण बाहुबाट विभूषित हुनुभएको देखिन्छ । सेवा गरेको अल्पावधिभित्रमा नै गोरखा दक्षिण बाहु प्राप्त गर्नु सायद यो नै पहिलो घटना हुन सक्छ । त्यसै गरी शिक्षा पुरस्कार (२०४९) प्राप्त गर्नुभएको छ भने उहाँलाई २०५८ सालमा इलाम नगरपालिकाले विशिष्ट नागरिक सम्मान प्रदान गरेको छ । त्यसै गरी विभिन्न सङ्घसंस्थाहरूले सम्मान गर्नेक्रममा इलामको सदरमुकाम (खलङ्गा) स्थापनाको २०० वर्ष पुगेको उपलक्ष्यमा आयोजित समारोहमा उहाँलाई नागरिक सम्मान प्रदान गरेको छ । युद्धप्रसाद वैद्यले विभिन्न पत्रपत्रिकामा अनुसन्धानात्मक लेखहरू प्रकाशन गर्नुभएको छ ।  The lepcha of Nepal नामक पुस्तकको उहाँ सहलेखक हुनुहुन्छ । उहाँको सिङ्गो कृति हो इलाम : इतिहास र विकास । यस पुस्तकलाई इलाम नगरपालिकाको साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानले २०७६ सालमा प्रकाशित गरेको हो । ३०६ पृष्ठको यो पुस्तकको विशेषता के हो भने यो इलामको संस्कृति, भाषा र साहित्य, इतिहास, भूगोल, जनजीवन, सामाजिक र आर्थिक विषयमा बिस वर्षसम्म गरिएको खोज र अनुसन्धानात्मक लेखहरूको सङ्कलन हो । तेह्र खण्डमा विभाजित यस पुस्तकमा इलामको ऐतिहासिक पृष्ठभूमि, इलामको सदरमुकाम : इतिहास र विकास सङ्क्षिप्त विश्लेषण,  इलामको संस्कृति, भाषा र साहित्य, इलाम जिल्लाको शैक्षिक विकास एक सिंहावलोकन, इलाम जिल्लामा सामाजिक सेवा, सुगौली सन्धिको इलाममा प्रभाव, अन्तु विवाद १८९३ : ऐतिहासिक परिशीलन, लाप्चा जाति : उत्पत्तीi, धर्म र धार्मिक विकास, इलामका लाप्चा काजी सुब्बाहरूले पाएको मानाचामल, इलाम जिल्लामा नेपाल-भारत सीमा विवाद, चन्द्र शमशेरको इच्छापत्रमा इलाम र इलाममा सडक यातायात : विगत र वर्तमान । यस प्रकार समस्त इलाम जिल्लाको इतिहास, भूगोग, साहित्य, संस्कृति र विकास निर्माणका विविध विषयमा भए गरेका खोज अनुसन्धानसम्बन्धी महत्त्वपूर्ण दस्तावेजका साथै परिशिष्ट अन्तर्गत इलामका ती दिनहरू (साक्षात्कार-५) समेत समावेश गरिएको छ । यसभित्र २०३९ सालमा नै सातभाइ देवीप्रसाद श्रेष्ठ, लीलाबहादुर दहाल, भोजबहादुर कार्की, हीरालाल कर्माचार्य, युद्धप्रसाद वैद्य, बेनुपराज प्रसाइँ र सूर्यविक्रम पराजुलीले इलामको पुरानो तथ्यहरू केलाउन र इतिहास तयार गर्ने विचार गरी सातभाइ समूह नामकरण गरी इलामका विशिष्ट व्यक्तित्वहरूसँग साक्षात्कार गर्न प्रारम्भ गरिएको र त्यसैको पाँचौ शृङ्खलाअन्तर्गत श्री भीमप्रसाद वैद्यसँग गरिएको वार्तालापको अंश हो । सातै जनाले इलामका बारेमा भीमप्रसादसँग सोधिएका प्रश्नहरूको भीमप्रसाद वैद्यले दिनुभएको उत्तर छ यसमा । संवाद शैलीमा प्रस्तुत गरिएको यो साक्षात्कारमा इलामको धेरै प्राचीन कुराहरूबारे प्रकाश पारिएको छ ।

माथि उल्लिखित विषयहरूलाई हेर्दा वैद्यले इलामसम्बन्धी प्रायः सबैजसो विषयामाथि गहिरो खोज, अध्ययन र अनुसन्धान गर्नुभएको पाइन्छ । यसै पुस्तकको प्रशासकीयमा लेखिएको छ – ‘इलाम चित्रकलाको एउटा पुस्तक जस्तो छ, जसका पानाहरू पल्टाउँदा जाँदा झन्-झन् राम्रा चित्रहरू भेटिन्छन् ।…इलाममा जन्मिएर आफ्नो जीवनको ऊर्जाशील समय इलामकै विकास र विस्तारमा लगाउनुभएका अभिभावक श्री युद्धप्रसाद वैद्यले लामो समय लगाएर अध्ययन, मनन र गहन चिन्तन गरी इलाम : इतिहास र विकास नामको पुस्तक तयार पारेको पाइयो । यो पुस्तकले इलाम जिल्लाको स्थापना, सदरमुकामको स्थापना, सुगौली सन्धिताकाको हाम्रो अवस्था, हामीले प्रयोग गर्ने भाषा, हाम्रो संस्कार, सँस्कृति रहनसहन, शिक्षा, कला र साहित्य आदिको इतिहास र हाम्रा सम्भावनाहरू समेतका बारेमा उल्लेख गरेको पाइन्छ ।’

इलामको पूर्वमा भारतको दार्जीलिङ, पश्चिममा धनकुटा र पाँचथर, उत्तरमा पाँचथर र दक्षिणमा झापा र मोरङ जिल्ला पर्दछ भने इलामको सदरमुकाम पनि इलाम नै रहेको छ । लिम्बु र लाप्चा आदिवासी रहेको यस इलामको नामकरण पनि लिम्बु भाषाकै इ (घुमाउरो) र लाम (बाटो) बाट इलाम व्युत्पत्ति भएको विश्वास छ । त्यसै गरी लाप्चा जातिको रोंग भाषाको इ (पुत्का : मौरीको एक किसिम) र लोम (उडेको/बसेको ठाउँ) ‘इलोम’ बाट व्युत्पत्ति भएको विश्वास गरिएको छ । यसबाट यो ज्ञात हुन्छ कि इलामका आदिवासी लिम्बु र लाप्चाहरूकै भाषाबाट व्युत्पत्ति भएको शब्द हो इलाम ।

यस पुस्तकमा इलामको सन् १७७४ अघिको ऐतिहासिक पृष्ठभूमि तथा सन् १७७४ पछि र सुगौली सन्धिपछिको ऐतिहासिक विवरण समेटिएको छ । यस पुस्तकमा वर्णन गरिएको विभिन्न शीर्षकको लेखलाई ऐतिहासिकता पुष्टि गर्नका निम्ति धेरै सन्दर्भ सामग्रीहरू उल्लेख गरिएको छ । इलामको ऐतिहासिक तथ्य सत्यलाई प्रामाणिक गर्नमा सन्दर्भ सामग्रीहरूका अतिरिक्त विभिन्न समयका अधिकारनामाहरू र हुकुम प्रमाङ्गीहरू समेत राखिएको छ । बिस वर्ष अर्थात् दुई दशकसम्म इलामकै बारेमा खोज, अध्ययन र अनुसन्धान गरी तयार पारिएको यस पुस्तकको विशेष महत्त्व छ भनिरहनु पर्दैन । पुस्तकले प्रदान गर्ने ज्ञान नै बढी महत्त्वको छ । यसरी लामो समयसम्म एउटै विषयमा तल्लीन भएर इलामको सिङ्गो ऐतिहासि, सांस्कृतिक, सामाजिक र आर्थिकपक्ष समेटिएको यो पुस्तक विद्यार्थी, अनुसन्धानकर्ता र विकास निर्माणसँग सम्बन्धित निकायहरूका निम्ति पनि अत्युपयोगी छ । लेखकलाई हार्दिक बधाई । देशको जुनसुकै क्षेत्रको पनि खोज र अनुसन्धान कार्य गर्नु सजिलो छैन । यस्तो कार्य एक दुई वर्षमा नै सकिने पनि होइन । यसका निम्ति इच्छा, समय र निरन्तरता पनि आवश्यक हुन्छ । युद्धप्रसाद वैद्यले इलामका बारेमा जेजति खोज र अनुसन्धान गर्नुभयो त्यसलाई सम्मान दिनैपर्दछ । उहाँको त्याग र समर्पणको उचित मूल्याङ्कन हुनैपर्दछ ।

अन्तमा फेरि इलामको आन्तरिक वा पर्यटन प्रवर्द्धनकै सन्दर्भबारे केही विचार व्यक्त गर्न चाहन्छु । इलामको प्रसिद्ध माईपोखरीसम्म पुग्ने सडक अहिले पनि दुरवस्थामा नै छ । मसँगै यात्रारत साहित्यिक मित्र एवं दायित्व साहित्यिक पत्रिकाका प्रधान सम्पादक रामप्रसाद पन्तले भन्नुभयो- ‘म दस वर्षपहिले आउँदा पनि यो बाटाको अवस्था यस्तै थियो । रत्तीभर पनि सुधार भएको रहेनछ ।’ अत्यन्त नाजुक अवस्थाको सडकको यात्रा गर्दा शरीर थिलथिलो भयो । जब माईपोखरी र त्यसको वरिपरि घुमियो यात्राको दुःखकष्ट सबै बिर्सिन पुगियो । जुन ठाउँको पनि आन्तरिक होस् वा बाह्य पर्यटन अभिवृद्धिका निम्ति सडकको गुणस्तर र खानेबस्ने सुविधाको राम्रो व्यवस्थापन अनिवार्य छ । होइन भने एकपटकको यात्री फेरि फर्केर त्यस ठाउँमा नजाने मात्र होइन उसले अरूलाई प्रोत्साहन दिनुको सट्टा निरुत्साह गरिदिन्छ ।

अब इलामको श्रीअन्तुबाट सूर्योदय हेर्ने सन्दर्भ आउँदा यो ठाउँको अझै प्रसारप्रचारको आवश्यकता छ । अन्तिम होमस्टेबाट झन्डै पौने घण्टाको उकालाको बाटो निर्माण भइरहेको र सम्भवतः त्यो चाँडै सम्पन्न हुने देखियो । घोडा चढेर जाने व्यवस्था पनि रहेछ । उकालो हिँड्न नसक्नेहरूका निम्ति त्यो सुविधाले यात्रुलाई राहत मिलेकै छ । परम्परागत खानेकुरा पनि पाइने रहेछ । मैले दार्जीलिङको टाइगर हिलबाट पनि सूर्योदय हेर्ने अवसर पाएको थिएँ । त्यहाँको भन्दा सयौँ गुणा सुन्दर रहेछ श्रीअन्तु डाँडाबाट देखिने सूर्योदयको मनमोहक दृश्य । हाम्रो देशमा प्रचार र प्रसारको अभावमा कतिपय सुन्दर ठाउँहरू अझै ओझेलमा परेका छन् । तिनको प्रचारप्रसार र त्यहाँसम्म पुग्न सक्ने आवश्यक सडक, बस्नका निम्ति सुविधायुक्त आवास र शान्ति सुरक्षाको सहज व्यवस्थापन गर्न सकेमा हाम्रो देशमा आन्तरिक मात्र होइन बाह्य पर्यटनको विकास र विस्तार अझै बढी हुन सक्ने सम्भावना छन् ।