समारोहका सभाध्यक्ष साहित्यपोस्ट विद्युतीय पत्रिकाका प्रधान सम्पादक अश्विनी कोइरालाज्यू,
विशिष्ट अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङज्यू,
वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनज्यू,
….
उपस्थित विद्वत्जन
सबैमा हार्दिक अभिनन्दन गर्दछु ।

मैले गरेको अनुसन्धानको नतिजा स्वरूप प्रकाशन भएको पुस्तक ‘नेपाल विद्या’लाई पुरस्कृत गर्न योग्य ठहराई प्रतिकूल समयमा पनि यस्तो भव्य कार्यक्रमको आयोजना गर्नुभएकामा हार्दिक आभार प्रकट गर्दछु । यस पुरस्कारले मलाई लेखन र अनुसन्धानको क्षेत्रमा लाग्न प्रेरणा र जिम्मेवारी दुबै थपेको महसुस गरेको छु ।

लेखक वा अनुसन्धानकर्ताले आफ्नो कृतिका बारेमा आफैले परिचर्चा गर्नु त्यति राम्रो मानिँदैन । तथापि कृतिका बारेमा नभई अध्ययन, अध्यापन र अनुसन्धानका लागि एउटा बेग्लै विधा निर्माण गर्न विधा सिद्धान्त तय गरेको र पुरा नाम “नेपाल विद्या : सिद्धान्त र प्रयोग” (Nepalology: Theory and Applications) रहेको नेपाल विद्याको सिद्धान्त निर्माणका सन्दर्भमा भने केही कुरा भन्नु आवश्यक ठान्दछु ।

सिद्धान्त निर्माणसँग सन्दर्भ जोड्ने कडी मेरो अध्ययनको रुचि र सिकाइको तरिका हो । सिकाइका विभिन्न तरिकामा सामान्यबाट जटिलतिर, जटिलबाट सामान्यतिर, सूक्ष्मबाट स्थूलतिर र स्थूलबाट सूक्ष्मतिर पर्दछन् । तिनको सम्बन्ध सामान्य सिकाइमा मात्र रहँदैन साध्य, सूत्र र सिद्धान्त निर्माणमा पनि रहन्छ । कुन चाहिँ तरिका अवलम्बन गर्ने भन्ने चाहिँ अलि कठिन कार्य हुन्छ । अध्ययनको विषय क्षेत्र, सामग्रीको उपलब्धता र ती सबैभन्दा पनि महत्त्वपूणर् अध्ययनको उद्देश्य हुन्छ । त्यही उद्देश्य प्राप्तिका लागि अध्ययन वा शोधशास्त्रीय परम्परामा मुख्य रूपमा आगमन विधि (Inductive Method) वा निगमन विधि (Deductive Method) विधि अपनाइने गरिन्छ । मैले पहिलो विधि रोजेर सामान्यबाट जटिलतिर र सूक्ष्मबाट स्थूलतिर जाने बाटो रोजेको हुँ । किनकि सिद्धान्त कुनै पनि विषय वा अध्ययन क्षेत्रका सामान्य विशेषताको समुच्चय हुन्छ भन्ने मेरो बुझाइ हो ।

त्यसैका आधारमा सामान्य सिकाइबाट सिद्धान्त निर्माण गर्न सकिने स्पष्ट र सजिलो आधार बन्यो पनि । सिद्धान्तलाई आधार मानेर सामान्य विशेषता केलाउने परिपाटीमा हामी धेरै अभ्यस्त बनाइन्छौं । हामीलाई औपचारिक शोध कक्षामा त्यही विधि सिकाइएको थियो, सिकाइन्छ । त्यसमा साध्य, सूत्र र सिद्धान्तहरु कण्ठस्थ जस्तै गरेर सामान्यतिर अध्ययनलाई लैजानु पर्ने हुन्थ्यो । त्यति गरेर पनि त्यसको सामान्य उदाहरण देखाइदिन हाम्रो शिक्षा पद्धतिले भन्दैन अनि विद्यार्थीले पाइथागोरस साध्य घोकेजस्तो मात्र हुन्छ । अर्थात् “एउटा समकोण त्रिभुजको कणर्को वर्ग त्रिभुजका अन्य दुई रेखाहरु आधार र लम्बको वर्गको योग बराबर हुन्छ” भन्ने रटान । त्यही कुरालाई कक्षा कोठाको एउटा कुना वा विद्यार्थी बस्ने बेन्चको पनि कुनाको आकार धागोले मात्र नापेर व्यावहारिक प्रयोग नदेखाइदिने शिक्षा पद्धतिबाट हामी गुज्रेका छौँ । अर्थात् व्यवहारसँग तालमेल नहुने शिक्षा प्रणालीमा हामी छौँ ।

हामी हुनुपर्ने चाहिँ अध्ययनको विषयमा दीक्षित हो । यसो भनिरहँदा शिक्षा र दीक्षाको फरक छुट्याउने अवस्थामा हाम्रो विद्याले सहयोग गर्नुपर्ने हो । शिक्षाले अज्ञानताको अन्धकार नाश गरेर हाम्रो चेतनालाई विकसित तुल्याउँछ भने दीक्षाले लक्ष्य प्राप्त गर्ने मार्ग निर्देशन गर्दछ भन्ने ज्ञान दिनुपर्ने हो । तर त्यो पक्षमा हाम्रो चिन्तन कमै रहेको छ । यसो हुँदा साध्य, सूत्र र सिद्धान्तबारे पनि कमै चिन्तन हुने हुन्छ । तर साध्य र सूत्रको चर्चा अहिले यहाँ गर्नु सान्दर्भिक हुँदैन । सिद्धान्तका कुरा भने बेलाबखत नउठ्ने गरेका पनि होइनन्, तर तिनमा हामी पराश्रित छौँ ।

यति मात्र होइन त्यस्ता सिद्धान्तका बारेमा प्रश्न उठाउन पनि हाम्रो समाज र संस्कारले वर्जना गर्दछ । त्यसैले श्यामप्रसाद शर्माले सिद्धान्तलाई व्यावहारिक रूप दिनुभन्दा त्यसको गुन गाएर वा पूजा गरेर मानिरहने परिपाटीको विरोध गरेका छन् । अनि त्यस्ता परम्परागत सिद्धान्तले विभेदको खाडल फराकिलो पार्ने हुँदा त्यस्ता सबै पुस्तकलाई टुडिखेलमा मट्टितेल खन्याएर जलाइदिनु पर्ने मत प्रकट गर्दछन् । उनको आग्रह सिद्धान्त नवनिर्माण गर्नु आवश्यक छ भन्ने हो । वास्तवमा सिद्धान्तहरु भनेका सामान्य विशेषताको समुच्चय नै हुने हुँदा देश, काल र परिस्थिति अनुसार सिद्धान्तको पुनरवलोकन हुनुपर्ने हो । हाम्रा सम्बन्धमा त्यस्तो विरलै हुने गरेको देखिन्छ । यसै प्रसङ्गमा नेपाल विद्याको सिद्धान्तलाई पनि हेरिनु आवश्यक हुन्छ ।

नेपाल र विद्या नयाँ विषय होइनन् । दुबैका अर्थ, परिभाषा र अध्ययनका तौरतरिका आआफ्नै छन् । नेपाल हाम्रा लागि सामान्य र विशेष दुबै हो । विद्याका सन्दर्भमा पनि हामी धेरै नै जानकार छौँ । तर नेपाल र विद्याको संयोजित अर्थमा नेपाल विद्याको खोजी कमै भएको थियो । त्यही अभाव पूर्ति गर्ने मेरो रुचि र सामान्यबाट जटिलतिर र सूक्ष्मबाट स्थूलतिरको सिकाइमा आगमन विधिको प्रयोगले नेपाल विद्या विधा सिद्धान्त निर्माण भयो । यो अध्ययन, अध्यापन र अनुसन्धानका लागि नयाँ विधाका रूपमा प्रादुर्भाव भयो ।

अझ यसलाई अलि सरल तरिकाबाट भनौँ । हामी नेपाली हौँ । यो कुरो सामान्य लाग्छ । हामी नेपाली यस अर्थमा हौँ कि हामी नेपालमा बस्छौं । हाम्रा लागि यो पनि सामान्य नै हुन्छ । नेपाल देश हो र देश हुनका लागि अन्य विविध घटकका अतिरिक्त मुख्य रूपमा भूक्षेत्र, जनता र भाषा आवश्यक पर्छन् । यी तिन घटक एक अर्कामा अन्योन्याश्रित र परिपूरक हुन्छन् । अब हामी जटिलतिर आइपुग्यौँ । अर्थात् नेपाल, नेपाली, देश, देश निर्माणका घटकका बारेमा अब हाम्रा सामु केही प्रश्न खडा हुन्छन् । ती कहिलेदेखिका होलान् ? तिनका पूर्वरूप के कस्ता थिए ? तिनमा केकस्तो परिवर्तन हुँदै अहिलेको अवस्थामा आइपुगेको हो ? ती विषय क्षेत्रका अन्य सामाजिक, आर्थिक, सांस्कृतिक, जैविक, भौतिक, कला, सुरक्षा वा प्रतिरक्षा लगायतका थुप्रै विषय कस्ता थिए ? आदि ।

हो, यी विषय हाम्रा लागि अलि असामान्य हुँदै गए । सामान्य लागेको नेपाल, नेपालका आदिवासी वा आप्रवासी जनता वा तिनको भाषा र अन्य विशेषताका सन्दर्भमा समष्टिगत अध्ययन गर्दा तिनको उत्तर अहिलेको नेपालको आदिम, प्राचीन, माध्यमिक र अन्य अन्य पनि कालक्रम गत अध्ययनबाट आउने हो । तर खोजी वा अध्ययन भनेजस्तो सरल र सहज हुँदैन । त्यसका लागि व्यवस्थित अध्ययनको जरुरी हुन्छ । ती सामान्य लाग्दै गरेका र असामान्य विषय बनेका विषयको समुच्चय अध्ययनका लागि बेग्लै विधा नै आवश्यक देखियो । त्यसैको खोजी गर्ने सैद्धान्तिक आधार नेपाल विद्या विधा हो ।

‘त्यसो भए के नेपाल विद्या भनेको इतिहास हो त ?’ भनी धेरैले जिज्ञासा राख्नुहुन्छ र मेरो उत्तर हुन्छ ‘होइन !’ । वास्तवमा इतिहास नेपाल विद्याको एउटा विषय मात्र हो । यस अर्थमा इतिहास नेपाल विद्याको एउटा साधन हो त्यस्ता साधन अरु विषय क्षेत्रहरु हुन् । समग्रमा अन्तरविषयक बहुस्रोतका आधारमा रहस्यहरुको खोजी नेपाल विद्या हो । राष्ट्रियता यसको केन्द्र हो ।

रहस्यको उत्खनन प्राक्कल्पनाबाट हुन्छ र त्यस्ता प्राक्कल्पना कुनै न कुनै तथ्यका आधारमा टेकेर गरिएको हुन्छ । उदाहरणका लागि हालको नेपाल रहेको भौगोलिक क्षेत्रको उत्पत्तिको सन्दर्भ उल्लेख गर्नु उपयुक्त हुन्छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको हाम्रा हिमाली क्षेत्र इतिहासको कुनै कालखण्डमा टेथिस नामक सागर रहेको र दुईतिरका भौगर्भिक प्लेट जुध्दा हिमाल उठेका कथ्य पाइन्छन् । ती कथ्यलाई हाम्रो हालको भूक्षेत्रमा पाइएका जीवावशेषहरुले पुष्टि गर्दछन् । हात्ती, जिराफ र जलगैंडा र आदि नरमानवका जीवावशेष पाइएका आधारमा त्यसबेला यो भूभागमा समुद्र रहेको पुष्टि गर्दछन् । चुरे क्षेत्रमा पाइएका ती अवशेषले अर्को तरिकाले पनि सोच्न बाध्य बनाउँछ । हिमाल उठ्दा उचाइको भागबाट हामीले कल्पना गरेका भन्दा ठुला गेगरानसहितका बाढी उत्तरबाट दक्षिणतिर आएका थिए । त्यसमा धेरै जीव बगे, कैयोँ पुरिए । पुरिएका प्रायः माटो वा चट्टानमा बदलिए । केही दुर्लभ भएर जीवावशेषकै रूपमा अहिले पाइए । ती दुर्लभ जीवावशेष हाम्रा लागि अध्ययनको प्राक्कल्पनाका आधार बने ।

त्यसो भए अब हामीले त्यस बेलाका जनावर वा मानवका आदि पुर्खा बाँदरहरु पनि बग्दै गर्दा कतिपय त भागे पनि त होला नि ! भनेर अध्ययन गर्नुपर्दैन ? भाग्दा कता भागे होला त ? खोजी गर्नु पर्दैन ? सामान्य रूपमा उत्तर भेटिन्छ ती सबै भाग्दा स्वाभाविक रूपमा दक्षिणतिर नै लागे किनकि उत्तरी भाग असुरक्षित थियो । त्यसरी सुरक्षित स्थानको खोजीमा भागेका जीवमा जनावर र नरमानव पुर्खा कता कता गए होला त ? तिनीहरु फेरि आफ्ना पुर्खा वा थातथलो सम्झेर उत्तरतिरको यात्रा गरेनन् होला त ? कल्पना यो पनि त गर्न सकिन्छ नि केही त यसै क्षेत्रमा पनि त बसे होला !

हो, हाम्रो इतिहासले त्यस्तै यसै क्षेत्रमा रहेका र दक्षिणबाट उत्तरतिर आएका मानव समुदायको मात्र अध्ययन गर्न सकेको छ । इतिहासले खुट्याएका किरात, लिच्छवि, नेवार लगायतका जातीय समुदायहरु शासनमा आउँदाको इतिहास मात्र हाम्रो इतिहासका मुख्य विषय बनेका छन् । जन वा जनताको इतिहास खोजिएकै छैन भन्दा पनि हुन्छ । जातीय विविधता रहेका हालको नेपालका जनता रैथाने र दक्षिणबाट आएका दुबैको सम्मिश्रण हो । तर त्यो दक्षिणबाट आएको जत्था पहिले उत्तरबाट त्यता लागेको हुन नसक्ने के आधार ?

यस अवस्थामा हामीकहाँ पाइएका जीवावषेशको अध्ययनले दक्षिणबाट आएका पनि पहिले यतैबाट गएका हुन् भन्ने प्राक्कल्पना बनाएर खोजी गर्दा के बिग्रन्छ ? अध्ययन अनुसन्धानबाट होइन भन्ने नै तथ्य स्थापना भइहाल्यो भने पनि केही न केही कुरामा नयाँ रहस्योद्घाटन त त्यसले गर्दछ । तर त्यो भनेजस्तो सजिलो चाहिँ पक्कै पनि हुँदैन । त्यसका लागि स्रोत केलाएको जस्तो भ्रम पार्दै स्रोत लुकाएर लेखिएका र इतिहास भनिएका सामग्री काम लाग्दैनन् । अन्तर विषयक र बहुस्रोतको परीक्षणबाट यसको लेखाजोखा हुने हो । नेपाल विद्याले त्यस्तै अन्तर विषयक र बहुस्रोतको अध्ययनको अपेक्षा गर्दछ । ती नेपालभित्रैका वा बाहिरका हुन सक्छन् ।

अहिलेको इतिहासले मानेको तथ्य के छ भने किरात र नेवार नेपालका मूलबासी थिए । दक्षिणबाट लिच्छविहरु उत्तर लाग्दै यहाँ आए । किरात र नेवारलाई जिते र राज्य गरे । तर किंवदन्ती नै सही सप्तकोसीको खुवालुङबाट थातथलोको खोजीमा पूर्वोत्तर क्षेत्रतिर लिम्बूहरु र पश्चिमोत्तरतिर राई र अन्य किरातहरु लागेको चिप्लो ढुङ्गो मानक त रहेछ नि ! मुन्धुममा त्यसको सन्दर्भ रहेछ नि, संस्कृतिमा कतै न कतै त्यसको प्रमाण मिल्यो त ।

नेपाल खाल्डोमा राज्य गर्ने किरात नै पूर्वतिर गएका कि पूर्वबाट नेपाल खाल्डोमा आएका भन्नेमा पनि फरक मत रहेको कुराको निक्र्यौल गर्ने आधार पनि यसले देखाइ दिन्छ । सप्तकोसी नदीको बिचमा रहेको र हाल चर्चामा रहेको ढुङ्गो खुवालुङलाई नै आधार मानेर भौगर्भिक उथलपुथलमा ज्यान जोगाउन दक्षिणतिर भागेका किरातका आदिपुर्खा पनि थिए कि भनेर किन नसोच्ने र नखोज्ने ? सामान्य रूपमा भन्दा नखोतलिएका पाटा खोतलेर तथ्यको खोजी गर्नुपर्ने बेला आएको मात्र होइन भेड्किने अवस्था भइसकेको छ किनकि एक पुस्तामात्र पछि त्यसको खोजी हुने हो भने त्यसको एउटा शृङ्खला टुटिसकेको हुनेछ । यस्तो खोजीको आग्रह नेपाल विद्याले गर्दछ ।

नेपाल देश भएको हुँदा नेपाल विद्यालाई अरू देशको देशीय विद्याको सन्दर्भमा पनि हेर्नु जरुरी हुन्छ । हरेक देशलाई केन्द्रमा राखेर विविध विषयको बेग्लै अध्ययन, अध्यापन अनुसन्धान हुने गरेको पाइन्छ । त्यस्तो अध्ययन, अध्यापन र अनुसन्धानलाई देशको नामसँगको विद्या भनेर बुझी सम्बन्धित देश वा स्थानको नामका आधारमा नामकरण गरिएको पाइन्छ । नेपाल विद्याको विधा निर्माण सिद्धान्तको आधार त्यसरी खोजी गर्ने क्रममा हाम्रा निकटतम छिमेकीदेखि धेरै टाढाका देशहरुको पनि अध्ययन परम्परा खोजिएको छ । तिनमा भारत विद्या, चीन विद्या, तिब्बत विद्या, इजिप्ट विद्या, आर्मेनियाली विद्या र जापान विद्या उदाहरणीय रहेका छन् । विद्या नै नभनी अध्ययन भनेर पनि देशीय विद्या हुने गरेका पनि छन् । त्यस्ता सबै अध्ययनले देशलाई केन्द्रमा राखेका पाइन्छन् । तिनै आधारमा राष्ट्रियतालाई सर्वोपरि राखिएको पाइन्छ । नेपाल विद्याको विधा सिद्धान्त तय गर्दा सामान्यीकरण गरिएको यो पनि अर्को महत्त्वपूणर् र केन्द्रीय विषय हो ।

अध्ययन र विद्याको अर्थसापेक्षतामा विद्याले वृहत् स्थान लिने सन्दर्भमा नेपाल विद्या नामकरण गरिएको हो तथापि यो नयाँ नै विषय पनि होइन । नाम नै लिनुपर्दा बालागुरु षडानन्द अधिकारी र नयराज पन्तले नेपाल विद्याको विधागत वीज देखाउनु भएको छ भने महेशराज पन्त, कृष्णप्रकाश श्रेष्ठ, श्यामप्रसाद शर्मा र राममान श्रेष्ठलगायतले त नेपाल विद्याको जग नै हाल्नु भएको छ । तथापि उहाँहरुको योगदान नेपाल विद्यालाई विधागत सैद्धान्तिक आधार नदिई सीमित अध्ययनमा केन्द्रित थियो । यस्तै पूर्वआद्य सन्दर्भ, आद्य इतिहास, किंवदन्ती र विद्या अध्ययनको क्षेत्रमा भएका नेपाली परिवेशका आधारमा नेपाल विद्या विधा सिद्धान्त तय भएको छ ।

तर मैले अघि सुरुतिरै भने जस्तो सिद्धान्तको हाउगजी फेरि यहाँ पनि आउने देखियो । त्यसैले सिद्धान्तको सरलीकरणका लागि प्रयोग देखाइदिनु जरुरी हुन्थ्यो । सिद्धान्त हाउगुजी नहोस् भनेर नै ‘नेपाल विद्या ः सिद्धान्त र प्रयोग’मा दुई वटा प्रायोगिक अनुसन्धान छन् । विषयका आधारमा ती नयाँ होइनन् तर प्रयोगका आधारमा नितान्त नयाँ हुन् ।

शाक्यमुनि बुद्ध र बुद्धको जन्म तथा जीवनकालका स्थलहरुबारे हुने गरेका अन्तरराष्ट्रिय विवाद र दाउपेचको राजनीति सम्पूणर् नेपाली र बुद्धप्रति आस्थावान् मानिसका लागि दुख लाग्ने विषय हो । त्यसमा जेलिएका धेरै गाँठा फुकाउन र स्पष्ट चित्र देखाइदिन ‘लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन’ गरिएको हो ।

त्यस्तै, नेपालको नामकरण र नेपालीलगायत नेपालका भाषाहरुको अध्ययनका लागि उद्गमको खोजी र नामकरणको ऐतिह्य खोजेर अध्ययन परम्पराका विविधता र विवाद निरूपण गर्न ‘सिला खोजेको भाषा’ को प्रयोग देखाइएको हो । दुबै प्रयोगले नेपाल र नेपालीमाथि अध्ययन परम्पराका नाममा प्रमाण लुकाइएका र दुख दिइएका नयाँ पाटाको उजागर गरिएको छ । सबै कुरा सामान्यतः अन्तर विषयक बहुस्रोतबाट केलाइएका छन् ।

कुनै पनि नयाँ तथ्य र मान्यता आउँदा चलिआएका तथ्य र मान्यताहरुलाई असर पार्छ नै । नेपाल विद्याको सिद्धान्त र प्रयोगले पनि त्यस्तै गरेको देखेको छु । आँखाले देखिने प्रमाणलाई पनि प्रमाणको रूपमा ग्रहण नगर्ने र आफूले नै गरेको काम र अध्ययन नै ब्रह्मवाक्य हो भनेर मान्ने बौद्धिक वर्ग जताततै छ । नेपाल विद्या र यसका सामग्रीका सन्दर्भमा पूर्वाग्रह राख्ने काम हुने गरेको छ । एउटा अध्ययन परम्पराबाट दीक्षित भई त्यसैलाई गरिखाने मेलो बनाएका त्यस्ता कतिपयले यतिकै कारण वृत्ति हरण हुने भयो भनेर चित्त दुखाउनु पनि आवश्यक छैन । बरु आफूले गरेको अध्ययन परम्परामा अर्को नयाँ पूर्व शृङ्खलाको उत्खनन भयो र ऐतिहासिक समृद्धिको लामो कडी भेटियो भनेर रमाउँदा हुन्छ ।

नेपाल विद्याको जस्तै जस्तै अध्ययन नेपाल परिचय र नेपाल अध्ययनका नाममा हुने गरेको छ । विश्वविद्यालयहरु, अनुसन्धान केन्द्रहरु र स्वतन्त्र बुद्धिजीवीबाट पनि नेपाल विद्याको सैद्धान्तिक आधारविनाका अध्ययन हुने गरेका छन् । यस्तो अवस्थामा नेपाल विद्याको विधा सिद्धान्त ती सबैमा उपयोगी हुने विश्वास गरेको छु । कक्षा ११ र १२ का पाठ्यपुस्तकका साथमा नेपाल विद्याको पनि माग हुन थालेको मैले थाहा पाएको छु । विश्वविद्यालयहरुमा त नेपाल विद्याको प्रकाशक विद्यार्थी पुस्तक भण्डारका शान्त गौतम र म स्वयंले नेपाल विद्या विधालाई पाठ्यक्रममा राख्न अनुरोध गरेका छौँ । यो यात्राको सुरुआत मात्र हो । गन्तव्य नेपाल र नेपाली रहेसम्मकै हुने मैले देखेको छु ।

यस सन्दर्भमा मैले नेपाल विद्याको प्रयोगका केही विषय क्षेत्र देखाइदिनु आवश्यक ठानेको छु । टेथिस सागरदेखिको हालको नेपाल निर्माणको अध्ययन नेपाल विद्याको मात्र नभएर विश्वकै लागि एउटा गम्भीर अध्ययनको क्षेत्र बन्दछ । त्यस्तै, खुवालुङको विवाद र मैले अघि भनेका आधारमा नेपाल विद्याको प्रायोगिक अध्ययनको विषय यो रहेको छ । किरातको अध्ययनका लागि किरात विद्या वा किरातोलोजी भनेर गरिने सामान्य अध्ययन परम्परामा यो किरात विद्याको क्षेत्र पनि रहेको छ । यसका साथै, नेपालको मुस्ताङ क्षेत्रको वैभवको पाटो हामीले देखे र सोचेभन्दा ज्यादै व्यापक छ । त्यो नेपाल विद्याको अर्को प्रायोगिक क्षेत्र हो र त्यसबारे अध्ययन गर्न मैले धेरै नै सामग्री सङ्कलन गरिसकेको जानकारी पनि गराउन पाउँदा खुसी लागेको छ । बुद्ध विद्या आफैमा एउटा अथाह विद्याको क्षेत्र हो । रामको जन्मभूमि अयोध्या नेपालमा पर्ने भनी हालै आएको मतको वास्तविकता निर्धारण गर्ने कडी पनि नेपाल विद्याको विषय हो । यीलगायत नेपाल विद्याका अन्य धेरै विषय हुनसक्छन् । नेपाल विद्या अन्तर्गत तिनको बहुस्रोत र अन्तरविषयबाट निक्र्यौल गर्नु आवश्यक हुन्छ । मेरो अनुभव छ, सजिलो अवश्य हुन्न तर असफल पनि भइँदैन ।

सामग्री र ज्ञानको गारो साँघुरो पर्दा जतिबेला पनि बिना हिच्किचाहट सहयोग गर्नुहुने गुरु महेशराज पन्तलाई म यस अवसरमा हार्दिक श्रद्धा व्यक्त गर्दछु । पाएका सामग्रीलाई प्रशोधन गरी लेख्न र लेखेका कुरामा पहिलो पाठक र निर्देशक भई मलाई मार्गदर्शन गर्ने मेरा दाजु प्रा. डा. बद्री विशाल भट्टराईप्रति नतमस्तक छु । नेपाल विद्याको सिद्धान्त र प्रयोगको सान्दर्भिकतालाई कलाकारिताबाट आवरणमा समेटिदिने मेरा सहकर्मी विश्वास रेग्मीलाई विशेष धन्यवाद दिन्छु ।
कुनै पनि कृतिको जाँचका लागि पाठक नै सर्वोपरि हुन् । तिनको अग्रपङ्तिमा समीक्षक वा समालोचक पर्दछन् । ‘नेपाल विद्या’को समीक्षा र समालोचना गर्ने र अन्य समस्त पाठक वर्गमा हार्दिक श्रद्धा व्यक्त गर्दछु ।

अन्त्यमा, नेपाल र नेपालीका लागि मैले गरेको यो सानो कामको प्रतिफल स्वरूप जन्मिएको बच्चा नेपाल विद्यालाई सान्दर्भिक र उपयोगी ठान्दै ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’बाट सम्मानित गर्नुहुने पुरस्कारका संस्थापक, व्यवस्थापक, निणर्ायक सबैमा हार्दिक आभार व्यक्त गर्दछु । यस समारोहमा उपस्थित भई पुरस्कार प्रदान गर्नुहुने विद्वान् गुरु नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङप्रति कृतज्ञ छु । समारोहमा उपस्थित अन्य विद्वान् तथा गण्यमान्य व्यक्तित्वहरु तथा नेपाल विद्याका शुभचिन्तकप्रति हार्दिक धन्यवाद !

जय नेपाल !
जय नेपाल विद्या !