साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

भारतीय नेपाली साहित्यमा कविताको लोकप्रियतालाई आख्यानले मिचिहाल्न सकेको छैन

हिजो आज पुरस्कारबारे सामाजिक सञ्जालतिर निकै नकारात्मक प्रतिक्रिया आउने चलन पनि बसिसकेको छ । कमसेकम मैले चाहिँ त्यस्तो अवस्था भोग्नु परेन । पुरस्कारभन्दा ठुलो मलाई पाठकको त्यहीँ माया खुब मन परेको छ ।

भारतेली नेपाली साहित्यमा कवि कर्ण विरह कविता कर्ममा लागेका सशक्त युवा हस्ताक्षर हुन् । छोटो,सरल कविता लेख्न रुचाउने कविका कविता पाठकले औधी रुचाउँछन् । आजसम्म कर्ण विरहका शब्द सम्मेलन(२०१०) भक्कानिएका भावनाहरू (गजल २०११) रङ्गहीन तरङ्ग (सयुक्त रुबाई२०१२) भाव-अभाव (कविता २०१३) चर्किएको भुइँ (कविता २०१४) डियर डोरेमन (कविता २०१९) प्रकाशित कृति हुन् । उनले चर्किएको भुइँ कवितासङ्ग्रहका लागि २०१९ मा साहित्य अकादेमी युवा पुरस्कार पनि प्राप्त गरेका छन् । अप्पर रेलिङ निवासी कवि कर्ण विरह हाल बिजनबारी डिग्री महाविद्यालयमा प्राध्यापन गराइरहेका छन् ।

प्रस्तुत छ, विरहसँग साहित्यपोस्टका लागि अजित वियोगीले गरेकाे साहित्यिक कुराकानीकाे सम्पादित अंश;

bahulako diary small and inside post

हिजो आज के गर्दै हुनुहुन्छ ?

खासै केही गरेको छुइनँ । मोबाइलको इन्टरनेटले महत्त्वपूर्ण समय मनोरञ्जनमै  खाइरहेको छ । उब्रेको समय परिवारलाई दिइरहेको छु । रचनात्मक कामकुरो ठप्प छ । कलेज जान थालेको छु ।

रचनात्मक कार्य ठप्प हुनुको कारण इन्टरनेट नै हो त ?

खासमा इन्टरनेटकै दोषचाहिँ होइन । आफ्नो मनस्थिति हो खासमा । इन्टरनेट त भुलिने बहाना मात्र हो । अचेल मनस्थिति नै ठिक  छैन । कतिपय कारणहरू त्यस्तै छन् अहिले ।

तपाईँको ‘चर्किएको भुइँ’ कविता सङ्ग्रहले साहित्य अकादेमी युवा पुरस्कार प्राप्त गर्‍यो । कसरी सम्झिनु हुन्छ पुरस्कार पाउँदाको क्षण ?

आफूले गरेको कामको मूल्याङ्कन हुँदा मनमा एक प्रकारको खुशी त हुन्छ नै । म पनि भएँ ।

हिजो आज पुरस्कारबारे सामाजिक सञ्जालतिर निकै नकारात्मक प्रतिक्रिया आउने चलन पनि बसिसकेको छ । कमसेकम मैले चाहिँ त्यस्तो अवस्था भोग्नु परेन । पुरस्कारभन्दा ठुलो मलाई पाठकको त्यहीँ माया खुब मन परेको छ ।

कर्ण विरह

तपाईंलाई के लाग्छ, अकादेमी पुरस्कारबारे यो विवादका कारणहरू के के होलान् ? 

अरू पनि धेरै कारण होलान् तर मलाई दुईवटा कारण प्रमुख लाग्छ । पहिलो, असल किताब हुँदाहुँदै कमसल किताबले पुरस्कार पाउनु । अनि दोश्रो, आफूले चाहेको व्यक्तिले पुरस्कार नपाउनु । यति हो खास कुरा ।

अर्को कुरा, पुरस्कार चयन प्रणालीमा कहिलेकाहीँ देखिएका कमजोरी पनि हुन् विवादका प्रमुख  जड ।

भाषा विवाद चलिरहन्छ नि हिजो आज मानक भाषालाई लिएर, तपाईं त कवि साथै प्राध्यापक पनि, के भन्नुहुन्छ योबारे ?

मानिसले जब कुनै पनि विषयमाथि गहिरो अध्ययन गर्न थाल्छन् अथवा त्यस विषयप्रति चासो राख्न थाल्छन्, उनीहरूले त्यस विषय सम्बन्धी धेरै तथ्यहरू प्राप्त गर्दै जान्छन् । नेपाली भाषाबारे पनि भाषाप्रेमीहरूले व्यापक अध्ययन, चिन्तन, अनुसन्धानहरू गर्दै आइरहेका छन् र ती विभिन्न अध्येताहरूले आफ्नो क्षमताअनुरूप गेरका अध्ययन, अनुसन्धान, चिन्तनबाट आआफ्नै प्रकारका तथ्यहरू, मतहरू अनि विचारहरू प्रस्तुत गरिरहेका हुन्छन् । यसरी प्रस्तुत गरिएका तथ्यहरू, विचारहरू, मतहरू कति ठाउँ एक अर्कामा मेल खाइनरहेको पनि देखिन्छन् । यो स्वाभाविक पनि हो । सबैका अध्ययन पद्धति एउटै नहुन सक्छ । अनुसन्धानका आधारहरू अलग हुन सक्छन् । वैचारिक विभिन्नता  नैसर्गिक कुरा हुन् ।

मलाई लाग्छ, भाषालाई लिएर यसरी विवाद भइरहनु एकप्रकारले सकारात्मक पनि छ । जसले नयाँ पिढीँलाई भाषाबारे रूचि बढाइरहेको हुन्छ । कतिपय ठाउँमा भने यो अत्यन्त हानिकारक पनि छ । यस्ता भाषिक विविधताले भाषामा एकरूपता आइनरहेको र नयाँ पुस्ता अन्योलमा परेको पनि देखिन्छ ।

अन्तर्वार्ताकार अजित वियोगी

भारतीय नेपाली साहित्यमा कुन विधाको धेरै माग छ, जसको वर्चस्व पनि छ जस्तो लाग्छ कथा, कविता, उपन्यास वा अन्य विधा ?

भारतीय नेपाली साहित्यका विभिन्न विधाहरूमा वर्चस्व कायम गर्ने त कविता विधा नै लाग्छ मलाई । लोकप्रिय पनि कविता नै हो । तर पाठकको रूचि र माग चाहिँ आख्यानमा ज्यादा भएको जस्तो लाग्छ । तर भारतीय नेपाली साहित्यमा कविताको लोकप्रियतालाई आख्यानले मिचिहाल्न चाहिँ सकेको छैन ।

तपाईंको विगतमा प्रकाशित किताब ‘डियर डोरेमन’ले पाठक प्रतिक्रिया पायो ? पायो भने कस्ता प्रतिक्रिया पायो त ?

‘डियर डोरेमोन‘ मैले आफैं पनि धेरै माया र मेहेनत गरेको मेरो पछिल्लो कविता कृति हो । यसलाई पाठकहरूले पनि धैरै मन पराएका छन् । सामाजिक सञ्जालतिर प्रशस्तै प्रतिक्रिया पनि दिएका छन् । प्रतिक्रियाहरू राम्रा नै छन् । नराम्रा प्रतिक्रियाहरू मसम्म आइपुगेका छैनन्, सायद राम्रो भएर पनि होला । आम पाठकका प्रतिक्रियाहरू धेर छन् त्यहाँ ।

भारतेली नेपाली साहित्यमा पाठक र लेखकको सम्बन्ध कस्तो छ ?

पहिले पहिले लेखक र पाठकमाझ लामो दुरी थियो । पाठकले लेखकसित सोझो संवाद गर्न त परै जाओस् प्रत्यक्ष प्रतिक्रिया व्यक्त गर्न पनि पाउँदैनन् थिए । तर अहिले सामाजिक सञ्जालका माध्यमबाट लेखक र पाठकबीच प्रत्यक्ष सम्बन्ध स्थापित छ । संवाद छ ।

यस्ता सम्बन्धले कतिपय पाठकहरू लेखिकप्रति पूर्वाग्राही पनि बनेका छन् र उनीहरूको कमसल रचनालाई पनि खुलेर प्रशंसा गरिरहेका पनि हुन्छन् ।

अहिले त कविहरू पनि गुट गुटमा बाडिएका छन् । तपाईं चाहिँ कुन गुटको हो ?

म मन मिल्ने गुटको हुँ । गुटरहीत गुटको पनि हुँ म । वास्तवमा नजिककाहरू अनि मन मिल्नेहरूसित धेरै भेटघाट, विचार आदनप्रदान भइरहंदा पनि गुटजस्तो गुट बनिँदो रहेछ । म त्यसै गुटको हुँ खासमा ।

पहाडमा कविहरू सुरक्षित छन् भनेर सोध्यो भने के ढुक्कले भन्ने अवस्था छ ?

कवि/लेखकहरू न सुरक्षित छन् न असुरक्षित नै । किनभने पहाडका लेखकहरू आश्रित छैनन् । कसैको अनुग्रहमा कलम चलाइरहेका पनि छैनन् न कसैको दवावमा कलम रोक्नेहरू छन् । कविहरू स्वतन्त्र छन् । निर्भीक छन् ।

तर पहाडका सम्पूर्ण जनता नै असुरक्षित भइरहेको यस बेलामा कविहरू सुरक्षित छन् भनेर ठोकुवा पनि गर्न मिलेन ।

हालैमा धेरै साहित्यकारहरू राजनीतिमा सक्रिय छन् ? तपाईंलाई पनि राजनीतिको झण्डासित देख्न सकिन्छ ?

साहित्यकारहरू राजनीतिमा सङ्लग्न र सक्रिय हुनु कुनै नयाँ कुरो होइन । विश्व साहित्य नै यसबाट अछुत छैन । नेपाली साहित्यकै कुरा गर्न पर्दा पनि शिवकुमार राई, सुवास घिसिङ, हर्कबहादुर छेत्री, पवन चाम्लिङ, विकाश गोतामेहरू राजनीतिमा अत्यन्तै सक्रिया विशिष्ट साहित्यकारहरू हुन् ।

हालै राजनीतिमा सक्रिय साहित्यकारहरूले समाज र जातिका उत्थानका निम्ति पक्कै महत्त्वपूर्ण कदम चाल्छन् भने हामी भरोसा गर्न सक्छौँ । उनीहरूभित्रको स्वाभिमान लोभसित नहारेमा । म सबै झण्डालाई सम्मान गर्छु । सायद कुनै झण्डाको काम धेर र कुनै झण्डाको काम कम मन पर्न पनि सक्छ मलाई । तर मलाई राजनैतिक झण्डासित देख्न समय लाग्ला कि !

भनेपछि तपाईं पनि समय आए राजनीतिमा जानुहुने छ ?

भविष्य कसलाई थाहा छ र ? केही भन्न सकिन्नँ । नजान सक्छु । यो मेरो ठहर हो । जान पनि सक्छु । यो मेरो नदेखिएको भविष्यको कुरा हो ।

अहिले तपाईंले पढ्दै गरेको किताब ?

‘भ्रमित’ पढ्दै छु । विजय बान्तवा कैलाशीको । यतिको गज्जबको उपन्यासको चर्चा किन नभएको होला ? अचम्म पनि लागेरहेको छ । यताबाट छपिएका किताबहरू नपढ्ने अथवा नपत्याउने पुर्वाग्रह पो छ कि पाठकमा जस्तो पनि लागिरहेको छ ।

पाठकको कुरा पुन: निस्किहाल्यो । हाल पाठक के आधारमा किताब किनिरहेका छन् जस्तो लाग्छ ?

एक त आफूले मन पराएको लेखक हुनुपर्‍यो । अर्को कुनै मुद्दामाथि लेखिएको पुस्तक  हुनुपर्‍यो । कि त कुनै राम्रो साहित्याकारले अलिक प्रचार गरिदिएको किताब हुनुपर्‍यो । ३० प्रतिशत पाठकले मात्र पुर्वाग्रह रहित अध्ययन गरिरहेछन् जस्तो लाग्छ अचेल ।

एउटा कुराचाहिँ भन्नु थियो तर सोधिएन, भन्ने लाग्छ भने के छ त्यस्तो कुरा ?

भन्नुपर्ने कुराहरू कहिलेकाहीँ भएर पनि भन्निँदैनन् । कहिलेकाहीँ नभन्नुपर्ने कुराहरू पनि भनिन्छन् ।

अहिले म भने तपाईंलाई ‘यो प्रश्न सोध्नुहोस्, म उत्तर दिन्छु’ भन्न सक्ने स्थितिमा पनि छुइनँ । र यो सम्भव पनि नहोला ।

हामी भाषा साहित्यलाई माया गर्नेहरू हौँ । त्यसैले पाठकले लेखकहरूलाई माया गरिदिरहोस् जस्तोचाहिँ लाग्छ ।

प्रतिक्रिया
Loading...