साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

उद्यमी लक्ष्मीदासको भाषा, शिक्षा र साहित्यप्रतिको रुझान

उद्योगमा ख्याती कमाउनुभएका मानन्धरलाई सबैभन्दा बढी सन्तोष चाहिँ एउटा शिक्षासेवीका रूपमा सधैँ रहिरह्यो । २००७ सालमा घरछेउमा नै शान्ति शिक्षा मन्दिर स्थापनामा भूमिका खेल्नुभयो । त्यस्तै पिपुल्स कलेज स्थापनामा पनि उहाँ सक्रिय रहनुभयो ।

Chovar Blues Mobile Size

 

नेपालका प्रसिद्ध व्यवसायी लक्ष्मीदास मानन्धरको आज १३ औँ पुण्यतिथि । भाषा, शिक्षा र साहित्यलाई पनि उत्तिकै मायाँ गर्ने मानन्धरले उद्यमशीलका क्षेत्रमा जति ठुलो योगदान दिनुभएको थियो, समाजमा पछिपरेका अन्य क्षेत्रलाई आफूले गरेको आर्जनको ठुलो हिस्सा लगानी गर्नुभएको थियो  ।

उद्योगमा ख्याती कमाउनुभएका मानन्धरलाई सबैभन्दा बढी सन्तोष चाहिँ एउटा शिक्षासेवीका रूपमा सधैँ रहिरह्यो । २००७ सालमा घरछेउमा नै शान्ति शिक्षा मन्दिर स्थापनामा भूमिका खेल्नुभयो । त्यस्तै पिपुल्स कलेज स्थापनामा पनि उहाँ सक्रिय रहनुभयो । त्यस्तै उहाँले अनेकन् सामाजिक संस्थाको उत्तरोत्तर प्रगतिका लागि अनेकन् कार्य गर्नुभयो ।

लक्ष्मीदास मानन्धर

जगत् सुन्दर बोने पथिको स्थापना उहाँका लागि सबैभन्दा सुन्दर क्षणका रूपमा लिनुहुन्थ्यो । यो नेवारी भाषा संस्कृति सिकाउने विद्यालय हो । यस्तै नेपाल भाषा एकेडेमीमा पनि उहाँको भूमिका उल्लेखनीय रह्यो । संस्कृतिविद् सत्यमोहन जोशी उहाँका निकट सांस्कृतिक–साहित्यिक मित्र हुनुहुन्थ्यो ।

मानन्धरको जन्म १९८५ मङ्सिर ४ गते काठमाडौँको ठहँटीमा भएको थियो । माता पूर्णमाया मानन्धर र पिता लक्ष्मीनारायण मानन्धरका साइँला छोराका रूपमा जन्मनुभएका उहाँले मध्यमा तहसम्म अध्ययन गर्नुभयो । उहाँको उद्योग क्षेत्रमा आउनुको पछाडि पनि रोचक कथा छ । किनभने उहाँको सुरुवाती जीवन जागिरेका रूपमा बितेको थियो ।

sagarmani mobile size

विद्यालय अध्ययन सकिएलगत्तै उहाँले त्रिपुरेश्वरस्थित नेपाल टेलिकमको अड्डामा १५ वर्षकै उमेरमा टेलिफोन अपरेटरका रूपमा काम सुरु गर्नुभयो । त्यसपछि २००६ सालमा खाद्य संस्थानमा मुखियाको तहमा जागिर खानुभयो । त्यसको केही समयपछि खरिदारको तहमा बढुवा पाई विभागीय प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो तर उहाँ जागिरमा मात्र अडिन सक्नु भएन । उहाँका पितापुर्खा नै व्यापारिक पृष्ठभूमिको हुनुभएकाले उहाँलाई व्यापारले नै आकर्षित गऱ्यो । त्यसैले जागिरसँगै उहाँले २००७ सालमा नुनको कारोबारमा संलग्न हुनुभयो । भारतबाट नुन ल्याउने र वीरगञ्जमा डिपो राखी काठमाडौँमा नुनको व्यापार फैलाउने काममा उहाँ सक्रिय रहनुभयो ।

यसपछि भने उहाँले विभागीय प्रमुखको जागिर छाडेर जापानबाट रेडिमेड कपडा आयात गरी नेपालमा बेच्न थाल्नुभयो । यसले दिलाएको अनुभवले उहाँले २०१७ सालमा नेपाल मेकिङ इन्डस्ट्रिज उद्योग सुरु गर्नुभयो । यस उद्योगले नेपालमा मोजा बनाउँथ्यो । त्यस वेला बाघ छापको मोजा निकै चल्तीको मोजा बन्यो । कतिसम्म भने यसले आयात गरिएको मोजालाई विस्थापन नै गर्न थाल्यो ।

यसबिचमा उहाँ नुनको व्यापारमा पनि संलग्न रहँदै आउनुभएको थियो र २०२० सालमा नेपाल सरकारको आंशिक लगानीसहित सार्वजनिक निजी साझेदारीअन्तर्गत साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको स्थापना हुँदा अन्य ६ जना नुनका कारोबारीसहित लक्ष्मीदास मानन्धर पनि कम्पनीमा जोडिनुभयो । उहाँ ट्रेडिङको संस्थापक सञ्चालक हुनुभयो । उहाँ देहान्त हुनुअघिसम्म पनि साल्ट ट्रेडिङका सञ्चालक अध्यक्ष हुनुहुन्थ्यो ।

साल्ट ट्रेडिङको सफलतासँगै उहाँले भैरहवामा पेट्रोल पम्प स्थापना गर्नुभयो । सँगैमा उहाँले सिद्धार्थ कोल्ड स्टोरेज, नेपाल प्लास्टिक उद्योग र सिद्धार्थ खाद्य उद्योग स्थापना गर्नुभयो । यी उद्योगहरू हालसम्म पनि सञ्चालनमा रहेका छन् ।

उहाँले नारायणी फाइनान्स र नेसनल फाइनान्सजस्ता कम्पनीको सञ्चालक समिति अध्यक्ष हुनुभयो । यस्तै सगरमाथा इन्स्योरेन्स, नेपाल मैदा मिल, हेटौडा खाद्य उद्योग, गोरखकाली रबर उद्योग आदि विभिन्न कम्पनीको बोर्डमा रही भूमिका निभाउनुभएको थियो ।

उहाँको उद्यममा जति नाम छ, राजनीतिमा पनि उत्तिकै सक्रिय रहनुभए पनि उहाँले उद्यमशीलतालाई नै प्राथमिकता दिनुभयो । उहाँ २०१५ सालदेखि वामपन्थी राजनीतिमा अप्रत्यक्ष रूपमा संलग्न रहँदै आउनुभएको थियो । २०४८ सालमा राजनीतिसँगको नाताकै कारण उहाँ राष्ट्रिय सभा सदस्यमा उठ्नुभएको थियो तर एक मतले उहाँले हार्नुभयो । पछि २०५८ सालमा नेकपा एमालेको समर्थनमा राष्ट्रिय सभा सदस्यका रूपमा चुनिन सफल हुनुभयो ।

२०६२ सालको संसद् पुनःस्थापना हुँदा एक वर्ष उद्योग व्यवसाय समितिको सभापतिका रूपमा उहाँले जिम्मेवारी वहन गर्नुभयो । नेपाल सरकारका पूर्व मुख्य सचिव कृष्णहरि बास्कोटाले मानन्धरलाई एउटा सादा जीवन उच्च विचारका रूपमा स्मरण गर्नुहुन्छ, “उहाँमा कहिल्यै अहं देखिनँ, सबैसँग नम्र व्यवहार गर्नुहुन्थ्यो । हेमबहादुर सम्मान भन्ने संस्थामा प्रत्येक वर्ष दुई लाख रुपैयाँको सम्मान दिइन्थ्यो । त्यो छनोट समितिमा हामी दुई जनाले सँगै एक दशक काम गऱ्यौँ । उहाँले जहिल्यै कसलाई दिने, कसरी दिने, के नियम बनाउने, मापदण्ड कस्तो राख्ने भनी छलफल र सल्लाह माग्नुहुन्थ्यो ।”

“म भन्सार विभागको महानिर्देशक हुँदा साल्ट ट्रेडिङका अध्यक्षका रूपमा कैयौँपटक भेट हुन्थ्यो” ,उहाँले सम्झँदै भन्नुभयो, “उहाँले सधैँ ट्रेडिङको उन्नयनका लागि सोच्नुभयो । राम्रो काम गर्नेहरूलाई प्रोत्साहित गर्न सधैँ अग्रसर हुनुहुन्थ्यो । पुरस्कार दिने कि, सम्मान दिने कि, यस्ता कुरामा सधैँ गम्भीर हुनुभयो । सबैभन्दा मलाई उहाँको व्यक्तित्वको सशक्त पक्ष चाहिँ उहाँ व्यापारी भएर पनि एकदमै कम व्यापारी हुनुहुन्थ्यो, राजनीतिज्ञ भएर पनि एकदमै कम राजनीति गर्नुहुन्थ्यो र बढी समाजसेवी हुनुहुन्थ्यो ।”

एउटा उद्यमी भएर पनि भाषा साहित्यमा उहाँको अनुराग अनुपम रहेको बास्कोटा बताउनुहुन्छ । “साहित्य समाजको ऐना भएकाले समाजलाई प्रत्यक्ष हेर्नु छ भने साहित्यलाई नजिकबाट नियाल्नुपर्छ भन्ने उहाँको धारणा थियो ।” बास्कोटा भन्नुहुन्छ, “साल्ट ट्रेडिङबाट दिइने जति पुरस्कार छन्, तीमध्ये भाषा साहित्यका विधालाई पनि जोड्न उहाँको पनि हात छ । विशेष साहित्यको विरासत साल्ट ट्रेडिङमा कमलमणि दीक्षितले सुरु गर्नुभए पनि यस कुरामा लक्ष्मीदासले बडो गर्व गर्नुहुन्थ्यो । सत्यमोहन जोशीलाई उहाँ असाध्यै मन पराउनुहुन्थ्यो । उहाँले पाका मान्छेहरू जिउँदा इतिहास हुन्, खोपाका देउता हुन् भन्ने गर्नुहुन्थ्यो र सम्मान गर्नुहुन्थ्यो ।”

“जीवनमा धेरै सङ्घसंस्थासँग जोडिएर भाषा तथा साहित्यका क्षेत्रमा आफूले सकेजति गर्न नसकेको थकथकी भने उहाँमा सधैँ रहिरह्यो” ,बास्कोटाले थप्नुभयो ।

साल्ट ट्रेडिङका कर्मचारी व्रजेश झा भन्नुहुन्छ, “देशभित्र उद्यम बढाउने कुरामा उहाँ निकै चिन्तित हुनुहुन्थ्यो । देशभित्र उद्यम विस्तार भए बाहिरबाट सामग्री आयात गर्नु पर्दैनथ्यो, त्यसो गर्दा देशको रकम विदेश जाँदैनथ्यो । यसरी नै उद्यमशीलता वृद्धि हुँदै जाँदा देश धनी हुन्छ भन्ने मान्यतामा उहाँ हुनुहुन्थ्यो ।

यसै गरी मानन्धरद्वारा स्थापित विद्यालय शान्ति शिक्षा मन्दिरका प्रधानाध्यापक सुदाम गौतम भन्नुहुन्छ, “उहाँ शिक्षा क्षेत्रमा कति मरिमेट्नुहुन्थ्यो भने उहाँको देहान्त हुनुअघिसम्म पनि यो स्कुलको उद्घाटनका लागि खटिरहनुभएको थियो । उहाँलाई शिक्षाप्रति कति लगाउ थियो भन्ने यसैबाट बुझ्न सकिन्छ । खासमा उहाँ बहुप्रतिभाशाली र विविध रुचि हुनुभएका सच्चा शिक्षाप्रेमी हुनुहुन्थ्यो ।”

लेखक परिचय
लेखक परिचय
चज
चेतन जगत्
प्रतिक्रिया
Loading...