साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

इकाे-वार्ता : नेपाली साहित्यमा वातावरणीय कथावस्तुलाई महत्त्व दिइएको पाइँदैन

ratna book ads

यता हुँदा उताको झझल्को नियात्रा कृतिका लागि (सन् २०२०) जनकलाल पौडेल स्मृति साहित्य प्रभात पुरस्कार प्राप्त व्यक्ति हुन् डा. देवेन सापकोटा । उहाँको जन्म बुबा जनवरी ०१, १९६० मा सितलमारी, असममा भएको थियो । सापकोटाका यता हुँदा उताको झझल्को (नियात्रा, सन् २०१९), मनोराग (कथा, सन् २०२०), परिश्रान्त पृथिवी (कविता, सन् २०२१) प्रकाशित कृति रहेका छन् ।

प्रस्तुत छ, देउराली साहित्य सामाजिक मञ्च, पन्जाबारीका सभापति र नेपाली प्रकाशन परिषद्, असमका सचिवसमेत रहेका, डा. देवेन सापकोटासँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीको सम्पादित अंश-

डा. देवेन सापकोटा

 तपाईँको लेखनको दृष्टिले पहिलो विधा र रचना कुन हो ?

मेरो लेखनको पहिलो विधा कविता हो । अङ्ग्रेजी सन् १९७६ मा, अप्रकाशित ।

प्रकाशनको दृष्टिले चाहिँ कुन रचना हो र कुन पत्रिकामा कहिले प्रकाशित भएको थियो ?

मेरो लेखनको पहिलो रचना कथा हो । ‘गल्ती कसको ?’ तरङ्ग १, लहर १, तेजपुर, असमबाट अङ्ग्रेजी सन् १९८० मा प्रकाशित भएको थियो ।

जीवनका भोगाइ, प्राप्ति र पीडाका बिम्ब मिश्रित बाल्यावस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ?

जीवनको भोगाइले मलाई धेरै सिकायो । बाल्यावस्थाका पीडाहरूलाई अहिले मधुर स्मृतिले छोपेको छ । यी सबै जीवनका प्राप्ति भनी मानिलिएको छु ।

साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झनुहुन्छ ?

किशोर अवस्थामा ख्याल ख्याल मै साहित्यमा प्रवेश गरेँ । आफ्ना लेखहरू कुनै पत्रिकामा प्रकाश हुँदा आनन्द लाग्थ्यो । प्रोत्साहित हुन्थेँ ।

प्रेरणा कहाँबाट मिल्यो ?

दिग्गजका लेखहरू पढेर ।

साहित्य के हो जस्तो लाग्छ ?

कुनै पनि पाठकको सोचको परिधिलाई विस्तृत पारिदिने या मार्गदर्शन गरिदिने या परिवर्तन गराइदिने या गहिराइ बढाइदिने इन्धन हो जस्तो लाग्छ ।

अन्तर्वार्ताकार : दीपक सुवेदी

आफूलाई कुन विधाको स्रष्टा भनिन रुचाउनुहुन्छ ?

इको साहित्यको l

इको साहित्य भनेको के हो ?

वातावरण (पर्यावरण) साहित्यलाई इको लिटरेचर वा इको साहित्य पनि भन्ने गरिन्छ । ‘इको’ अङ्ग्रेजी शब्द ‘इकोलोजी’ वा ‘इकोसिस्टम’ को छोटो रूप हो । इको साहित्यको परिभाषा बुझ्न पहिला इकोलोजी (पर्या-शास्त्र) वा इकोसिस्टम (पर्या-प्रणाली) को परिभाषा बुझ्न जरुरी देखिन्छ । इकोलोजी इकोसिस्टमको अध्ययन हो । अर्थात् पर्या-प्रणालीको अध्ययन पर्या-शास्त्रद्वारा गरिन्छ ।

अर्कापट्टिबाट भन्न जाँदा पर्या साहित्य उत्तर आधुनिकतावादको एउटा पाटो पनि हो । साहित्यका थुप्रै पाटाहरू छन्, त्यसमध्ये वातावरण साहित्य पनि एक हो । नेपाली साहित्यमा सामाजिक तथा राजनीतिकजस्ता मानवकेन्द्रित परिवेशका विषयवस्तुको मात्रै चर्चा गरेको पाइन्छ तर वातावरणसम्बन्धीका कथावस्तुलाई खासै महत्त्व दिइएको हुँदैन । यद्यपि वातावरण साहित्यले सिङ्गो पृथ्वी, पृथ्वीमा रहेका सजीव तथा निर्जीव वस्तु र तिनीहरूको अन्तःसम्बन्धको व्याख्या गर्ने गर्छ । जसरी हाम्रो परम्परागत साहित्यले मानव सभ्यता विकासमा ठूलो योगदान पुऱ्याइआएको छ । त्यसरी नै वातावरण साहित्यले वातावरणीय क्षयबाट मानव अस्तित्व जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । त्यसैले अब वातावरण साहित्यको बिरुवा रोपेर मलजल गर्दै झाँगिलो वृक्ष बनाउनुपर्ने आजका साहित्यकारहरूको दायित्व भएको छ ।

अन्य साहित्य र इको साहित्यमा के फरक छ ?

चराचुरुङ्गी, पहाडजङ्गल, गाउँसहर आदिका बारेमा हाम्रा साहित्यिकहरूले थुप्रै लेखिसकेका छन् । यसमा लेख्नुपर्ने नौलो के छ र? अङग्रेज कवि वर्ड्सवर्थले ‘ड्याफोडिल’ कविता लेखेर प्रकृतिसँग एकात्मक भई आनन्द अनुभव गरे, हामीलाई पनि गराए । हिन्दी कवि निधि अग्रवाल या अज्ञेय आदिले पनि फूलको सराहना गरी मीठा-मीठा कविता लेखे । कविगुरु टेगोर कृत गीताञ्जलिका कविताहरूमा अनुपम प्राकृतिक वर्णन पाइन्छन् । हाम्रा आदिकवि भानुभक्तले ‘कान्तिपुरी नगरी’ बाट प्रारम्भ गरेको कविताको माला लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, गोपालप्रसाद रिमाल, वैरागी काइँला, मोहन कोइराला आदिले गुथ्दै गए । यीमध्ये अघिल्ला पुस्ताका सर्जकहरूका कविताहरूमा प्रकृतिको सराहना गरिएको प्रशस्त पाइन्छ । यस्ता कविताहरूमा प्रकृतिले मानिसलाई आनन्द दिएको कुरा वर्णन हुन्छ, प्रकृतिको सराहना गरिएको हुन्छ । त्यसैले यस्ता साहित्यलाई ‘प्रकृति’ साहित्य भन्न मिल्ला तर गत अस्सीको दशकतिरबाट पर्यावरणलाई सम्बोधन गर्न अङ्ग्रेजी साहित्यमा ‘नयाँ खाले’ कविताका सृष्टि हुन लागे । यिनीहरूलाई पर्यावरणीय (पर्या) साहित्य या इको (ecology या Eco) साहित्य भनिन्छ ।

इको साहित्यको विकास र विस्तार कस्तो छ ? अथवा कहाँबाट कसरी सुरु भएको हो ?

मलाई लाग्छ इको साहित्यको विकास भुसको आगोजस्तो सल्केको छ । यसको विस्तार ढिलै भए पनि पक्का छ । वर्तमान विश्व लेखनको एउटा ठूलो अंश नै मानवेतर जगत्‌तिर लक्षित छ । हामीले कतै अतिवृष्टि त कतै अनावृष्टि भोगी रहेका छौँ । प्रतिवर्ष गर्मी बढ्दै छ । वातावरण विषयमा अल गोरले २००७ मै नोबेल पुरस्कार प्राप्त गरे । यो विषयप्रति सबैको ध्यान आकर्षित भयो तर विषयवस्तुलाई जनमानससम्म पुऱ्याउन साहित्यको मद्दत नलिई हुँदैन । साहित्यमा नलेखिएसम्म कुनै पनि समस्याको गम्भीरतामाथि हाम्रो ध्यान आकर्षित हुँदैन । साहित्यकारले वातावरणप्रति चिन्ता राख्न थालेको आधा शताब्दी नाघिसक्यो । सन् १९६२ मा प्रकाशित अमेरिकान लेखिका रचेल कार्सनको ‘साइलेन्ट स्प्रिङ’ शीर्षक कृतिबाट यो चेतना सुरु भएको हो ।

समग्रमा नेपाली इको साहित्यको अवस्था कस्तो छ ?

नेपाली इको साहित्य बिरुवा अवस्थामै छ । एकल दुकल कतै पत्रपत्रिकामा कविता/लेखहरू आए पनि कृतिको रूपमा नभएजस्तो छ । बीसको दशकमा प्रस्तुत अविनाश श्रेष्ठको ‘करोडौँ सूर्यको अन्धकार’ सङ्कलनमा धेरै कविताहरू इको रस भएका छन् अरे यद्यपि यो पुस्तक मेरो हातमा परेको छैन । नेपालमा इको साहित्य कत्तिको फस्टाएको छ मलाई विस्तृत जानकारी छैन । सम्पूर्ण कृतिका रूपमा कविता सङ्कलन चाहिँ सन् २०२१ को जुन महिनामा लोकार्पण गरिएको मेरो ‘परिश्रान्त पृथिवी’ जस्तो लाग्छ । यसै वर्षको अक्टोबर महिनामा इङ्ल्यान्डका विजय हितानले ‘ब्लु प्लानेट’ नामक इको कथासङ्ग्रह लेखे । यतिबेर फेसबुकमा इको कथा/कविताहरू फाट-फुट देखा पर्न लागेका छन् । यो अति खुसीको कुरो हो ।

इको कवितालार्इ परिभाषित गर्नुपऱ्यो भने कसरी गर्नुहुन्छ ?

मानवेतर जगत्‌तिर लक्षित कविताको सृजन नै इको कविता हो । मानवेतर जगत्‌ भन्नाले प्राणी, वनस्पति, किराफट्याङ्ग्रा र तिनीहरूका वासस्थान, जल, वायु, हावा, पानी, समुद्रदेखि लिएर आकाश र नभोमण्डल पनि बुझाउँछ ।

अन्य कविता र इको (पर्या) कवितामा के फरक छ ?

  • पर्या कविताहरू हाम्रा वातावरणलाई सम्बोधन गर्ने नैतिकता र दायित्वशीलताले घेरिएका हुन्छन् । यिनीहरू विश्वसँग जिम्मेवारीको रूपमा जोडिएका हुन्छन् । (जेम्स एङगेलहर्ड)
  • पर्या कविताहरूले हाम्रा वातावरणीय कल्पनाशक्तिहरूको अभ्यास गर्दछन्, यिनले हाम्रो नैतिक क्षेत्रलाई विस्तार गर्दछन् र मानवीय अहङ्कार बाहिरका चीजहरूका साथ समानुभूतिका सम्बन्धी बन्धन उत्पन्न गर्दछन् । (‘द इको पइट्री एन्थोलोजी’ पुस्तकको सम्पादक लौरा-ग्रे स्ट्रिट).
  • पर्या कवितामा पृथ्वीको वातावरणीय अवनति र ग्रहहरूको इकोसिस्टममा भइरहेको अवक्षयणको चर्चा र यसबारेमा विशेष कार्यहरू गर्न सक्रिय आयाम हुनुपर्छ । (‘सस्टैनबल् प‌इट्री’का लेखक लियोनार्ड साइगज),
  • पर्या कविताहरू प्राकृतिक वा सामाजिक वातावरणको बारेमा होइन, तिनीहरू आफैँ नै वातावरण हुन् । (अन्गुस फ्लेचर)
  • पर्या कविता प्राकृतिक कविताको बृहद् रूप हो जसले मानव कार्यले गरेका खतराबारे बोलेको हुन्छ । यस्ता कविताले पर्यावरणको क्षतिबारे दर्साएर तत्काल ध्यान दिन पाठकलाई घचघच्याएको हुन्छ । कविताले नैतिकताको महक बोकेको हुन्छ । पर्या कविता ‘हुनु’मा विश्वास ‘राख्नु’ भन्दा ‘गर्नु’ मा विश्वास लाग्दछ । (उर्सुला के हेइस)
  • पर्या कविताका माध्यमबाट हामीलाई आजभन्दा दस पुस्ता पछिको कुरो सोच्न आग्रह हुन्छ । (कवयित्री जोरी ग्राहम)
  • कुनै पनि साधारण कवितालाई रुख र चराका विषयले सिँगार्दैमा प्रकृति कविता पर्या कविता बन्दैन, यसमा पाठकको सोचाइमा परिवर्तन ल्याइदिन सक्ने तत्त्व हुनुपर्दछ । पर्या कविताले पाठकलाई वातावरण- सचेतक बनाउँछ । उचित अनुचितबारे उसको सोचको परिधि बढाउँछ, अनि मानविक अहङ्कार नाश गरेर समानुभूति अङ्कुरण गर्छ । (कवि र प्रकृतिविद् डेरेक सिफ्फिल्ड)

इको (पर्या) साहित्यको सम्भावन र चुनौती के-के छन् ?

इको साहित्य भन्नेबित्तिकै मानिस विज्ञानको विषय हो भनी पर तर्किन्छन् । वास्तवमा यो हामी सबै जडित भएको विषय हो । हुन त इको साहित्यको चर्चा गर्दा कतिपय प्राथमिक विज्ञानका कुराहरू आउने गर्छन् । जस्तै- ग्लोबल वार्मिङ, खाद्य शृङ्खला, प्रदूषण आदि तर समयले यी कुरा पनि सिकाउँदो रहेछ । जस्तै- ह्यान्ड सेनिटाइजर, सोसल डिस्टन्सिङ, होम आइसोलेसन, आदि । मलाई लाग्छ हाम्रा साहित्यिकहरूले इको साहित्यका बारे बढी ध्यान दिनुपर्ने समय आएको छ । यसबारे बहुल चर्चा गर्नुपर्ने खाँचो छ । इको साहित्यको चुनौतीहरू यिनै हुन् तर जहाँ चुनौती हुन्छ त्यहाँ सम्भावना पनि उत्ति नै हुन्छ । यति बेला हाम्रा साहित्यकारहरूले इको साहित्यको महत्त्व बुझेजस्तो लाग्छ, विशेषगरी नयाँ पिँढीले ।

इको साहित्यमा कलम चलाउने कहाँबाट कोको हुनुहुन्छ ?

प्रा. गोविन्दराज भट्टराईलाई म नेपाली इको साहित्यका पथ प्रवर्तक मान्छु । लन्डन निवासी विजय हितानले ‘स्वच्छन्द सुसेलीहरू’ नाउँले २०७४ सालमा इको कविता सङ्कलन निकाले जहाँ १०४ ओटा कविता प्रकाशित छन् । त्यसपछि उनले २०७४ सालमा ‘स्वच्छन्द सुसेलीहरू’ नाउँले अर्को पुस्तक सम्पादन गरी निकाले जहाँ जम्माजम्मी ८२ ओटा इको कविता सामेल छन् । हुन त इको साहित्यमा कलम चलाउने व्यक्ति विश्वभरि नै छन् तै पनि लन्डनका विजय हितान र अमित थेवे; नेपालका डा. गीता त्रिपाठी र अनिता पन्थी; सिक्किमका डा. राजेन्द्र भण्डारी र डा. देवचन्द्र सुब्बा; दार्जीलिङका राजा पुनियानी; दिल्लीकी नाज सिंह; असमका ज्ञानबहादुर क्षेत्री, नीलिमा आचार्य, सरिता शर्मा, छत्रमान सुब्बा, पूजा आचार्य, नयना अधिकारी मैले जान्दामा प्रमुख हुन् । मैले माथि उल्लेख गरिहालेँ सङ्कलनको रूपमा यही वर्ष दुई ओटा पुस्तक प्रकाशित भएका छन्; मेरो ‘परिश्रान्त पृथिवी’ (कविता) र विजय हितानको ‘ब्लु प्लानेट’ (कथा) ।

समकालीन लेखनलाई कसरी हेर्नुभएको हुन्छ ?

असममा समकालीन लेखन सन्तोषजनक छ । साहित्यिकहरूले आ-आफ्ना कृति निकाल्दै छन्, कोही-कोही मिलेर सङ्कलनहरू पनि निकाल्दै छन्, फेसबुक उर्वर देखिन्छ यद्यपि यहाँ कुनै पत्रपत्रिका छैनन् । विडम्बनाको कुरो के हो भने नेपालतिरका उत्कृष्ट कृति यहाँ आउँदैनन् न त यहाँबाट त्यता पुऱ्याउन सकिन्छ । कुनै एउटा पुस्तकको मोल गुवाहाटीमा २०० रुपियाँ भएछ भने त्यसलाई काठमाडौँ कुरियर गर्न 2000 रुपियाँ लाग्छ ! यसमा मेरो सुझाव के छ भने त्यता प्रकाशित उत्कृष्ट पुस्तक ‘सफ्टफर्म’ मा ल्याई यता छपाउने; त्यसरी नै यता प्रकाशित उत्कृष्ट पुस्तक ‘सफ्टफर्म’ मा त्यता लगी छपाउने तर यसका लागि कुनै भरपर्दो अनुष्ठान या व्यक्तिले पहल गर्नुपर्दछ तर यी समकालीन लेखनका सिंह भाग नै गतानुगतिक साहित्य हुन् इको साहित्य होइनन् ।

असमको नेपाली साहित्यमा आफूलाई कुन स्थानमा वा कहाँ पाउनुहुन्छ र किन ?

मैले साहित्य साधन गरेको आज ४१ वर्ष भएछन् तर आझै पनि आफैँलाई म सिकारुकै स्थानमा राख्छु किनभने साहित्यका नयाँ-नयाँ पाटा खोलिँदै छन् र तिनको म सिकारु यात्री हुँ ।

असममा नेपाली साहित्यका सम्भावना र चुनौतीहरू के-के छन् ?

असमको साहित्यिक पटभूमि नेपालजस्तो सरल छैन । भाषाका रूपमा हामीलाई नेपाली पढ्ने सौभाग्य मिल्दैन । हामीले वर्णमाला हिन्दी या संस्कृतबाट टिपेका हुन्छौँ । असमिया, हिन्दी या संस्कृतको व्याकरण पनि साथै पढेको हुनाले हामीलाई नेपाली साहित्य सृजना गर्न धेरै मद्दत मिल्छ । यस भूमिमा न त नेपाली पत्रपत्रिका छन् न त पुस्तकबजार नै । समग्र राज्यमा केवल १२-१५ ओटा मात्र कलेज छन् जहाँ नेपाली ‘मुख्य भारतीय भाषा’ को रूपमा दुई वर्ष नेपाली विषय पढ्ने सौभाग्य प्राप्त हुन्छ । यी सबै असममा नेपाली साहित्यका चुनौतीहरू हुन् तर जहाँ चुनौती हुन्छ त्यहाँ सम्भावना पनि उत्ति नै हुन्छ । यति बेला असममा विभिन्न वेबपोर्टल निस्केका छन् जहाँबाट नियमित रूपमा साहित्यिक विमर्शहरू भइरहन्छन् । फेसबुकले पनि नेपाली साहित्यलाई धेरै मलजल हालेको छ । पुष्प दाहाल र अञ्जन बाँस्कोटाले फेसबुकमा छरिएका कवितालाई सम्पादन गरी अप्रेल २०२१ मा ‘अनुनाद’ नाउँको पुस्तक नै निकाले ।

ती चुनौतीहरूलाई समाधान गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?

व्यापक रूपमा साहित्य चर्चा हुनुपर्छ । असम साहित्य सभाजस्ता अग्रणी सङ्गठनले यसबारे पहल गर्नुपर्छ । असममा स्तरीय पत्रपत्रिका छापिनुपर्छ जुनचाहिँ साहित्य चर्चाको मञ्च हुनेछ । त्यसरी नै स्तरीय पुस्तक व्यापक रूपमा लेखिनुपर्छ साथैमा यिनको बिक्री व्यवस्था- बजार हुनुपर्छ । नेपालमा डा. गोविन्दराज भट्टराईले विश्व साहित्य कतापट्टि जाँदै छ, नौला पाटाहरू के-के हुन् ? यसको दाँजोमा नेपाली साहित्य कस्तो हुनुपर्छ खाले लेख या पुस्तक सृजन गरेर सर्जकहरूलाई दिग्दर्शन गरेको देख्छु । असममा पनि यस्ता खाले अभिभावकको खाँचो छ । यहाँका कविता, कथा, उपन्यास आदि कुन अवस्थामा छन् तर कस्ता हुनुपर्थ्यो आदिबारे दिग्निर्देशन गरे समग्रतामा भलो हुने थियो ।

स्रष्टाहरूको दायित्व केकस्तो हुनुपर्दछ जस्तो लाग्छ ?

अँध्यारो बाटामा राँको बोकेर अरूलाई बाटो देखाउने काम नै हो स्रष्टाको । समाजलाई सही बाटामा अघि बढाई लैजानमा सष्ट्राको गुरुदायित्व हुन्छ ।

स्रष्टाहरूको प्रोत्साहनको राज्यले केकस्तो भूमिका खेल्नुपर्दछ ?

स्रष्टाहरूका कृतिहरू प्रकाशन र बिक्री व्यवस्थामा राज्यले भूमिका खेली दिए सृजना अझ फस्टाउनेछ । यसबाहेक विभिन्न पुरस्कारहरू राखिदिए कृतिको स्तरीयता पनि बढ्ने थियो, साथै स्रष्टाहरूलाई लेख्ने आग्रह पनि बढ्ने थियो होला ।

भारतीय नेपाली साहित्यको समकालीन बजारलाई कसरी हेर्नुहुन्छ ?

हाम्रा पाठकहरूको पुस्तक या पत्रपत्रिका किन्नमा रुचि नभएजस्तो देख्छु । असममा मात्र होइन दार्जीलिङ, कालेबुङ, सिक्किमतिर पनि हाल यस्तै छ, पसल या बजार छैन । यो एक चिन्तनीय कुरो भएको छ ।

तपाईँलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनाका बारेमा केही जान्न सकिन्छ ?

नेपालीका जसरी नै असमिया, बङ्ग्ला, हिन्दी र अङ्ग्रेजी भाषाका उत्कृष्ट पुस्तकहरू सराबरी पढ्ने गर्छु । यी भाषाहरूका चर्चित या साहित्य अकादमीबाट पुरस्कृत पुस्तकहरू प्रायः नै पढ्ने गर्छु ।

नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि ककसले के-के गर्नुपर्ला ?

यसका लागि नेपाली पुस्तकहरू भारतका लगायत विश्वका अन्य भाषाहरूमा व्यापक अनुवाद हुनुपर्दछ । संस्था, सङ्गठन वा व्यक्तिहरूले यो काममा लागिपर्नुपर्छ ।

वितगदेखि वर्तमानसम्म आइपुग्दा शासक र सर्जकका बिचको सम्बन्धलाई कुन रूपमा हेरिरहुनुभएको छ ?

यद्यपि शासकले सर्जकमाथि प्रभाव विस्तार गरेको हुन सक्छ तैपनि समयोचित र सत्यको पक्षधर भएर सर्जकले शासकलाई उछिनेर आफ्नै मार्ग चुन्न सक्नुपर्दछ ।

अहिलेसम्म नबिर्सिने क्षण कुन हुन् र किन ?

मैले आजसम्म तीन ओटा कृति प्रकाशित गरेको छु: ‘यता हुँदा उताको झझल्को’ नियात्रा, ‘मनोराग’ कथासङ्ग्रह र ‘परिश्रान्त पृथिवी’ इको कविता सङ्ग्रह । यति बेला म इको कथा सङ्ग्रह प्रस्तुतिमा छु । यी पुस्तकहरू लेख्दाका क्षणहरू नै मेरा लगि नबिर्सिने हुन् किनभने म त्यति बेला विषयवस्तुसँग निमज्जित भएर लागिपरेको हुन्छु ।

जीवनलाई परिभाषित गर्नुपऱ्यो भने के भन्नुहुन्छ ?

हाम्रो जीवन दैवी शक्तिद्वारा परिचालित पूर्वनर्धारित आत्माको स्वरूप हो जुन यो पृथ्वीमा केही समयका लागि मात्र अनुभव बटुल्न आएको छ ।

जीवनमा भावी लेखकीय योजना र इच्छाहरू के छन् ?

यति बेर म इको कथा लेख्दै छु । यसलाई सङ्कलन गर्ने इच्छा छ । त्यसपछि इको निबन्ध र पछि इको उपन्यास ।

अहिले साहित्यमा लागेर के पाए के गुमाए जस्तो लाग्छ ?

म मूलतः विज्ञानको छात्र हुँ । दिनभरि (८ बजेबाट ५ बजेसम्म) विश्वविद्यालयमा पढाउने बाहेक शोध कार्यमा व्यस्त रहन्छु । तकनिकी विषयमा मैले लेखेको पाठ्यपुस्तक भारतका विभिन्न विश्वविद्यालयहरूमा पढाइन्छ । अहिलेसम्म मेरा ३५० भन्दा बढी शोध या विज्ञान विषयका लेख अङ्ग्रेजी जर्नेल या पत्रिकाहरूमा प्रकाशित भएका छन् । मैले नेपाली साहित्य यात्राको थालनी १९८० देखि गरेपनि कृतिका रूपमा २०१९ देखि मात्र निस्किए । यसले के दर्साउँछ भने नेपाली साहित्य सृजनाको बीज मैले यत्रो वर्ष मन मस्तिष्कमा बोकी हिँडेको रहेछु । त्यसैले यति बेला मेरो एउटा पाउ विज्ञान लेखनमा रहे पनि अर्को पाउ चाहिँ नेपाली साहित्य लेखनमा रहेको छ । त्यसैले कर्तव्यको मार्गमा अघि बढी जाँदा एउटा पाउ जमिनबाट उठे त्यसलाई गुमाएजस्तो अनुभव गर्छु तर त्यसलाई फेरि जमिनमा छोए पछि केही पाएजस्तो अनुभव गर्छु ।

प्रतिक्रिया
Loading...