साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

सम्मान र पुरस्कार आदान-प्रदानकाे होडबाजीले साहित्यलाई पारेकाे असरबारे चिन्तित छु

लेखक भएर बाँच्न आर्थिक, सामाजिक र पारिवारिक रूपमा नै वास्तवमै कठिन हुँदो रहेछ । आजका दिनमा केही सहज भए तापनि त्यति बेला सहज थिएन ।

ratna book ads

वनमालीराज शर्मा नेपाली साहित्यमा वनमाली निराकारको नामले चिनिनुहुन्छ । तानसेन, पाल्पामा जन्मिएर हाल रूपन्देहीमा बसोबास गर्दै आउनुभएका निराकार प्राध्यापन पेसाबाट निवृत्त भएर साहित्यमा एकाकार भइरहनुभएको छ ।

निराकार कथालाई मुख्य विधा बनाई लेखनकार्यमा सक्रिय रहे तापनि कविता, मुक्तक, बालनाटक, समीक्षा आदिमा समेत कलम चलाउनुहुन्छ । पाल्पामा साहित्यिक गतिविधिलाई जीवन्त राख्न र निरन्तरता दिन समय समयमा साहित्यिक सभा, गोष्ठी आदिमा निकै सक्रिय निराकारका हालसम्म कथा, कवितालगायत आधा दर्जन पुस्तकहरू प्रकाशित छन् ।

वनमाली निराकार

प्रस्तुत छ, वनमाली निराकारसँग नेपाली साहित्यको वर्तमान अवस्थाका बारेमा साहित्यपोस्टका लागि छविरमण सिलवालले गरेको कुराकानीको सम्पादित अंश;

यहाँको लेखनका प्रारम्भिक दिनहरू कस्ता थिए ?

लेखनका सुरुका दिनमा कसरी साहित्यतर्फ आकर्षित भएँ थाहै भएन । योजना बनाएर लेखक बनिने होइन रहेछ । त्यस बेलाका चर्चित साहित्यकारहरूका उपलब्ध कृतिहरू पढ्दै गर्दा रहरै रहरमा लेख्न सुरु गरेछु । लेखनले निरन्तरता पाएपछि लेखक बन्दै गइएछ, पत्तै भएन । सुरुमा पढ्ने र लेख्नेको एक प्रकारको नशा नै बनिसकेको थियो ।

लेखक भएर बाँच्न कत्तिको सजिलो रहेछ ?

लेखक भएर बाँच्न आर्थिक, सामाजिक र पारिवारिक रूपमा नै वास्तवमै कठिन हुँदो रहेछ । आजका दिनमा केही सहज भए तापनि त्यति बेला सहज थिएन । आर्थिक रूपमा त अहिले पनि धेरै साहित्यकारहरूलाई परिस्थिति असहज नै छ तर मानसिक र सामाजिक रूपमा लेखकलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्दछ ।

छविरमण सिलवाल

हालसम्म प्रकाशित तपाईँका पुस्तकहरू कुनकुन होलान् ?

हालसम्म प्रकाशित भएका मेरा पुस्तकहरू :—

(क) समयको पर्खाल (कथासङ्ग्रह), २०४६ साझा प्रकाशन ललितपुर
(ख) लोकतन्त्रको शङ्खनाद (कवितासङ्ग्रह), २०६२ नागरिक समाज बुटवल
(ग) पत्रसञ्चयन ( साहित्यिक पत्रहरूको सङ्कलन) २०६३, पाल्पा साहित्य समाज पाल्पा
(घ) विवरुका कथाहरू (कथासङ्ग्रह) २०६५ त्रिमूर्ति प्रकाशन, भैरहवा
(ञ) एउटा बस्तीको कथा (कथासङ्ग्रह) २०७१ त्रिमूर्ति प्रकाशन, भैरहवा
(च) खनाल वंशावली २०७६ खनाल परिवार तानसेन

साहित्य र राजनीतिका बारेमा आफ्नो विचार राखिदिनुहुन्थ्यो कि ?

साहित्य एउटा सुन्दर फूलबारी हो जहाँ काँडाहरूका उपस्थितिमा पनि फूलहरू सर्वदा मुस्कुराइरहन्छ र मानव-समाजलाई सुन्दर भविष्यतर्फ उन्मुख हुन प्रेरित गरिरहन्छ तर राजनीति कपटपूर्ण खेलहरूको सामूहिक प्रयास बन्दै गएको छ भन्ने ठान्दछु ।

वर्तमान राजनीतिक अवस्थाप्रति यहाँको धारणा ?

वर्तमानमा नेपालको राजनीतिक अवस्था एकदमै कहालीलाग्दो देखिरहेछु म त ।

एउटा सफल लेखक बन्न के गर्नुपर्ला ?

सफल लेखक बन्न त लेख्नैपर्छ । प्रश्न उठ्छ कस्तो लेख्ने ? आम मानिस (पाठक) को मन छुने गरी लेख्नुपर्छ ।

सम्मान पुरस्कारबारे यहाँको दृष्टिकोण के छ ?

पुरस्कारले लेखक खोज्नुपर्छ न कि लेखकले पुरस्कार ! महाकवि लक्ष्मीप्रसाद देवकोटाले पुरस्कारहरू पाएर लेखेका हुन् र ? अहिले दर्जनौँ पुरस्कार पाएका लेखकहरूको स्तरको अवस्था के छ भनिरहन नपर्ला ?

यहाँको साहित्यिक सक्रियताका पछाडि के छ त्यस्तो रहस्य ?

खै के सक्रियता भनूँ र ? साहित्यलाई आफ्नो मूल धर्म ठानेर पठन, लेखन र सानातिना संस्थागत कार्यसम्म गर्दै आएको मात्र छु । जति गर्नुपर्ने हो त्यति गर्न सकिरहेको छैन, तैपनि तपाईँहरूले सक्रिय रहेको देख्नुहुन्छ । तपाईँहरूको बडप्पन हो । मैले त दैनिकीजस्तै सानातिना काम गर्दै छु ।

साहित्यमा राजनीतिक हस्तक्षेपप्रति यहाँको धारणा ? नेपाल सरकारले साहित्यलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?

राजनीतिले साहित्यलाई जहिले पनि दाश बनाउन चाहन्छ । आफूले चाहेजस्तो लेखाउन चाहन्छ । साहित्य जहिले पनि इमानदारी,पारदर्शी र अग्रगामी हुन्छ तर राजनीति सधैँ छली, कपटी र अपारदर्शी हुन्छ । आफ्नो कालो करतुत लुकाउनका लागि पनि राजनीतिले साहित्यमा हस्तक्षेप गर्ने प्रयास गर्छ, गर्छ । राजनीतिले साहित्यलाई आफ्नो अधीनमा राख्न खोजेको इतिहासले त्यही बताउँछ ।

नेपाल सरकारले पनि साहित्यलाई त्यति गम्भीरताका साथ लिएको पाइँदैन । एक दुई कर्मकाण्डी काम बाहेक केही गरेको पाइँदैन । भएको एउटा प्रज्ञा प्रतिष्ठानमा पनि अधिकांश असाहित्यिक आफ्ना झोले कार्यकर्तालाई भर्ना गरी भर्ती केन्द्रका रूपमा परिणत गरेको छ । यसैबाट थाह हुन्छ सरकारको नियत ।

असल नागरिक जन्माउन असल साहित्यको आवश्यकता पर्छ भन्छन् नि,  के यो सत्य हो ?

शतप्रतिशत सही कुरा हो यो । साहित्यले असल र खराब, राम्रो र नराम्रो,  सत्य र असत्य छुट्याउन सक्ने तथा के गर्न हुने, के गर्न नहुने पर्गेल्न सक्ने शक्ति राख्ने भएकाले यसको अध्ययनबाट नागरिकमा त्यस्तो गुण अभिवृद्धि हुने हुनाले नागरिकका लागि असल साहित्यको आवश्यकता पर्दछ ।

नेपाली सृजनात्मक साहित्यकाका लागि समालोचना कत्तिको जरुरी छ ?

साहित्यका लागि समालोचना अपरिहार्य नै हो । सहित्यिक लेखन एकपटक लेखेर टुङ्गिने कार्य त हैन । कस्तो लेखिँदै छ,  कसतो हुनुपर्ने  वा लेखनमा कमी कमजोरी पक्ष केकस्ता देखिन्छन् भन्ने कुरा समालोचनाबाट नै पाइने भएकाले अत्यन्त जरुरी छ तर समालोचकहरू विभिन्न कारणले चर्चित र स्थापित साहित्यकारहरूमै अल्झिने,  नयाँमा कलम चलाउने जोखिम नमोल्ने,  चलाउनैपरे आफ्ना रोज्ने प्रवृत्तिले भने जस्तो समालोचना हुन सकेको छैन भन्ने लाग्दछ ।

नेपाली साहित्यको वर्तमान लेखनप्रति यहाँको दृष्टिकोण कस्तो छ ?

वर्तमानमा नेपाली साहित्यको गतिविधिमा म सकारात्मक नै छु किनभने पहिलेको लेखन धेरैजसो सुनेको, पढेको, अनुभव र काल्पना गरेको आधारमा लेख्ने गरिन्थ्यो । कल्पना र यथार्थलाई सम्मिश्रण गरिन्थ्यो तर अहिले अलि ट्रेन्ड बदलिएको छ । लेखकले लेख्न चाहेको विषय लेख्नुभन्दा पहिले त्यस विषयमा अनुसन्धान,  स्थलगत भ्रमण, सत्यतथ्य विवरण सङ्कलन अनि विश्लेषण गरी लेख्ने प्रवृत्ति बढेको देखेको छु । साहित्यका लागि यो सकारात्मक पक्ष हो । पछिल्लो समय आख्यान र गैरआख्यानका कृतिहरूका साथै कविता र काव्यहरू पनि प्रकाशमा आएका छन् । त्यसैगरी नेपाली साहित्यलाई अन्ताराष्ट्रियकरण गर्ने प्रयास व्यक्तिगत वा निजी संस्थागत रूपमा भैरहेको छ, निकै सकारात्मक छ । यस्ता कार्यले गर्दा नेपाली साहित्यको वर्तमान अवस्थाप्रति मेरो सकारात्मक दृष्टि रहेको छ ।

वर्तमान नेपाली साहित्यप्रति यहाँ सन्तुष्ट हुनुहुन्छ ?

जुन दिन मान्छे सन्तुष्ट हुन्छ त्यही दिनदेखि प्रगति रोकिन्छ भन्ने लाग्दछ मलाई । त्यसैले पूर्णरूपमा सन्तुष्ट हुनु हुँदैन तर जे छ,  जे भइरहेछ त्यसमा भने चित्त बुझाउनुपर्दछ । हामीले लेखन सुरु गर्दाका दिनमा आजका सुविधा थिएनन्, कति कठिनाइ भोग्यौँ तैपनि चित्त बुझाउँदै आयौँ । अहिले प्रचारप्रसारका अनेकन् माध्यमहरू छन् । पहिले स्रोत, साधन र माध्यम थिएनन् अहिले ती प्रशस्त छन् । त्यसैले नेपाली साहित्यका लागि सकारात्मक पक्ष हो भन्ने ठान्दछु ।

यहाँले भन्नुपर्ने अरू केही छ कि ?

मलाई नेपाली साहित्यमा एक डेढ वर्ष यता देखा परेका प्रवृत्तिका बारेमा भन्न मन छ । सस्तो लोकप्रियताका लागि जेजस्ता क्रियाकलाप देखिएका छन् त्यसमा मेरो सानो गुनासो छ । अहिले यस्तो देखिँदै छ,  बिहान लेख्यो,  दिउँसो सामाजिक सञ्जालमा पोस्ट गर्‍यो, लाइक कमेन्टका आधारमा साँझ महान्, वरिष्ठ सिद्धहस्त आदिआदि उपाधि लियो र अर्को दिन सम्मान पुरस्कार आदानप्रदान गर्ने बढ्दो होडबाजीले समग्र नेपाली साहित्यलाई कस्तो असर गर्ला यसमा अलि चिन्तित छु । साथै साहित्यमा प्रयोगका नाममा विभिन्न अक्षरदेखि शब्द र एक वाक्यसम्मका प्रस्तुतिलाई विभिन्न नाम राखेर अध्येता, संस्थापक तथा प्रवर्तक बन्ने प्रलोभनमा गरिएका विभिन्न अस्वस्थ प्रतिस्पर्धाले नेपाली साहित्यमा चिन्तन, साधना, गाम्भीर्य र स्तरमा असर पर्छ कि भन्ने लाग्दछ । अहिले मलाई यति भन्नु छ, अरू त भविष्यले बताउला ।

प्रतिक्रिया
Loading...