साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

मदन पुरस्कारका लागि पुस्तक बुझाएको छु भन्ने कुरा नै बिर्सिसकेको रहेछु

यस पुस्तकका लागि पनि म केही प्रकाशकहरूकहाँ गएँ । उनीहरूले छाप्ने त भए तर रोयल्टी १० प्रतिशत र फ्रि किताब ५० ओटामात्रै दिने कुरा गरे ।

गत बिहीबार बसेको मदन पुरस्कार गुठीको बैठकले ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह; संवत् १७१९-२०२०’ पुस्तकका लागि भगिराज इङ्नामलाई २०७७ को मदन पुरस्कार प्रदान गर्ने निर्णय गऱ्यो । नेपालको इतिहासका प्राथमिक सामग्रीहरूको सङ्कलन र पहुँचलाई विस्तार गरेकाले इङ्नामको पुस्तक पुरस्कृत भएको गुठीले जनाएको छ ।

तेह्रथुममा जन्मेहुर्केका लेखक इङ्नाम अहिले काठमाडौँको अनामनगरमा बस्दै आएका छन् । २०७१ सालमा सरकारी जागिरबाट निवृत्त भएपछि भने ६५ वर्षीय इङ्नाम खाेजअनुसन्धान तथा दस्ताबेजहरूकाे सङ्कलनमा तल्लीन छन् ।

प्रस्तुत छ, ०७७ सालका लागि मदन पुरस्कार विजेता भगिराज इङ्नामसँग साहित्यपाेस्टका लागि कृष्ण ढुङ्गेलले गरेकाे कुराकानीकाे सम्पादित अंश;

सर्वप्रथम त मदन पुरस्कारका लागि बधाई । कस्तो महसुस गरिरहनुभएको छ ?

नेपालमा रहेका धेरै पुरस्कारमध्ये मदन पुरस्कारलाई सर्वोत्कृष्ट पुरस्कारको रूपमा लिइन्छ । राष्ट्रकै सर्वोत्कृष्टमध्येको यस पुरस्कार पाउँदा अत्यन्तै खुसी तथा प्रशन्न छु । साथै, यस पुरस्कारले थप जिम्मेवारी तथा दायित्व थपिदिएको महसुस पनि गरिरहेको छु ।

म पेशेवर लेखक होइन । जागिरबाट अवकाश पाएपछि लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रहको तयारीमा लागेँ । यसको प्रकाशनपछि सोचेको थिएँ, आनन्दले अवकाश जीवन बिताउँछु तर अब लागेको छ, मैले अझै गर्नु धेरै छ । हाम्रा धेरै यस्ता दस्ताबेजहरू छन्, जसलाई सङ्ग्रहित रूपमा प्रकाशनमा ल्याउनु छ ।

पुस्तक तयारी भइसकेपछि लेखकको केही न केही अपेक्षा हुन्छ नै । मदन पुरस्कारको अपेक्षा पनि थियो होला नि कहीँकतै ?

अपेक्षाको त कुरै छोड्दियौँ, मैले मदन पुरस्कारका बारेमा त सोचेको पनि थिइनँ । एक जना भाइ हुनुहुन्छ, राजकुमार दिक्पाल, जसले नेपालका विभिन्न पत्रपत्रिकामा काम गर्नुभएको छ र हाल पोर्चुगलमा बस्नुहुन्छ । उहाँले नै मलाई मेरो पुस्तकलाई मदन पुरस्कारका लागि सूचीकृत गर्न सल्लाह दिनुभयो । सुरुमा त म हिचकिचाएँ । मलाई मेरो पुस्तकको स्तर मदन पुरस्कार बराबरको छ भन्ने कुरामा विश्वास नै थिएन ।

दिक्पाल भाइकै आग्रहमा मैले पुस्तक मदन पुरस्कारका लागि सूचीकृत गराएँ ।

मदन पुरस्कार गुठीले ९ ओटा कृतिको सूची निकाल्दा चाहिँ कस्तो लाग्यो ?

मैले त मदन पुरस्कारका लागि पुस्तक बुझाएको छु भन्ने कुरा नै बिर्सिसकेको रहेछु । राजकुमार भाइले कर गरेर नभनेको भए मदन पुरस्कारका लागि म पुस्तक बुझाउने नै थिइनँ तर ९ वटा पुस्तकको सूचीमा मेरो पुस्तक पनि पर्नु नै मेरो लागि धेरै ठूलो कुरो थियो । यसले मलाई आफ्नो मिहिनेतमाथि गर्वबोध गरायो । मैले पनि केही विशेष काम गरेको रहेछु भन्ने कुरामा विश्वास दिलायो ।

मदन पुरस्कार तपाईँको कृतिले पाएको सूचना सबैभन्दा सुरुमा कुन माध्यमबाट थाहा पाउनुभयो ?

अन्नपूर्णका एक जना पत्रकार हुनुहुन्छ, सचित राई । सबैभन्दा सुरुमा उहाँले नै फोन गरेर मेरो कृतिले मदन पुरस्कार पाएको सूचना दिनुभयो । सुरुमा त मलाई विश्वास नै लागेन । मेरो अविश्वासलाई आधार दिन उहाँले लिङ्क नै पठाइदिनुभयो । लिङ्क हेर्दा मदन पुरस्कार गुठीको प्रेस विज्ञप्ति रहेछ, जहाँ मेरो कृति लिम्बुवानको ऐतिहासिक दस्ताबेजलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिएको उल्लेख गरिएको थियो । त्यस विज्ञप्तिमा आफ्नो र कृतिको नाम पढेपछि मात्र मलाई पूर्ण विश्वास भयो ।

मदन पुरस्कार आफ्नो कृतिले पाएको विज्ञप्तिमा देख्दा कस्तो अनुभव गर्नुभयो ?

त्योचाहिँ कस्तो हुँदो रहेछ भने, मन एकदम अस्थिर हुँदा रहेछ; खेल्दो रहेछ । मैले के पाएँ ? कसरी पाएँ ? भन्ने प्रश्नहरू एकाएक मनमा आउँदो रहेछ र मन ठ्याकै विगतमा पुगिहाल्दो रहेछ ।

मैले सम्झेँ, दस्ताबेजहरू सङ्कलनमा पहाड पहाड चाहार्दाको दुख । मैले एकाएक पाँचथर पुगेँ । त्यहाँ सदरमुकामबाट दस्ताबेज भएको ठाउँ पत्तो लगाएर गाडीमा जाँदा ३ दिनसम्म लाग्दो रहेछ तर मोटरसाइकलहरू पाइँदो रहेछ । मोटरसाइकल भाडामा लिने, तेल हाल्दिने, कुदाउनेले खाना खुवाउने र पैसा पनि दिने गरेर मैले दस्ताबेजहरू सङ्कलन गरेको थिएँ । एकातिर पैसा र समयको खर्च त थियो नै, साथै बूढो शरीरलाई दुःख पनि कम थिएन ।

एकपटक पाँचथरको चिसोमा भिजेर लगलग कामेको स्मृति मनसपटलमा झलझली नाच्यो । त्यस बेला मैले आफैँलाई प्रश्न गरेको थिएँ – म यो सबै दुख किन गर्दै छु ? पेन्सन छ । काठमाडौँमा घर छ, भाडा आइहाल्छ । आखिर मलाई दुःख के छ ?

साथै, लडेर चस्मा फुटेको, घडी फुटेको, जुत्ता उप्किएर गएको लगायत सम्पूर्ण दुःख तथा पीडाहरू मेरा आँखैअघि आएर नाचे । सबै सम्झेर ल्याउँदा आङ जिरिङ्ग भएर फुलेर आयो र ठानेँ – मेरा यिनै सम्पूर्ण दुखको कदर हो मदन पुरस्कार । गुठीलाई धेरै धेरै धन्यवाद ।

व्यक्तिगत रूपमा पुरस्कार पाउनुभन्दा अघि र पाइसकेपछि कस्तो फरक महसुस गर्नुभएको छ ?

व्यक्तिगत रूपमा व्यापक परिवर्तन आइगयो नि ! कसरी आयो भन्दा, अब अहिले मैले पत्रकार तथा साहित्यकारहरूसँग भेटेरै दिन बिताइरहेको छु । नत्र भने मेरो दिन पत्रिका र किताब हेरेरै बित्थ्यो । फोन गरेर कसैले किताब मगाइहाले पुऱ्याइदिन जान्थेँ तर अहिले त ५ दिन भयो, एकैछिनको फुर्सद छैन । आफ्नो कर्म त निरन्तर गरिरहेकै थिएँ तर परिचय पाएको थिइनँ । मदन पुरस्कारले एकाएक ठूलो परिचय दिलाइदियो । यसर्थ, पुरस्कारले मेरो पूरै जीवनशैली नै परिवर्तन गरिदिएको महसुस गरेको छु ।

किताब करिब १ हजार पृष्ठमा फैलिएको छ । यसलाई पुस्तककारका रूपमा ल्याउन अनुमानित कति खर्च लाग्यो ?

सुरुदेखिकै पुुस्तकमा गरेको खर्चको कुरा गर्ने हो भने त कुनै लेखाजोखा नै छैन । कति ठाउँ होटलमा बस्नुपऱ्यो, कति ठाउँ मोटरसाइकल रिजर्भ गर्नुपऱ्यो, कति ठाउँ त गाडी नै रिजर्भ गरेर पनि गएँ, धेरै ठाउँ चाहार्दा गाडी भाडा नै कति पुग्यो कति । सम्पूर्ण दस्ताबेजहरूको सङ्कलनपश्चात् चाहिँ पुस्तकाकारका रूपमा ल्याउन जम्मा १३ लाख खर्च गरेँ ।

दस्ताबेजहरू सङ्कलन गर्दा केकस्ता चुनौतीहरूको सामना गर्नुभयो ?

अघि पनि भने, दुःख भनिसाद्धे छैन । पहिलो त दस्ताबेजका धनीहरूलाई बुझाउनै नै गाह्रो । कोहीले दस्ताबेज सङ्कलनको उद्देश्य सुनेपछि सजिलै दिनुभयो, त केहीलाई बुझाउनै सकिएन पनि । के भ्रम पनि रहेछ भने – आफूसँग भएका कागजातहरू अनमोल छन्, लाखौँ करोडौँमा बिक्री हुन्छन् । त्यसैले पनि, कतिले मलाई उहाँहरूबाट सित्तैमा लिएर बिक्री गर्ने पनि ठान्नुभयो ।

पढेलेखेका, मन्त्री–सांसद, विद्यावारिधिधारीहरूले अझ बढी असहयोग गरे । नष्ट भएको, केहीले केही पैसामा बिक्री गरेको पनि पाएँ । सरकारी संयन्त्रबाट पनि मैले असहयोग नै पाएँ । कागजात हेर्न पाऊँ भनेर निवेदन दिँदा “जातीय सद्भाव बिथोलिन्छ” सम्म भने । धेरैलाई किरात र लिम्बुवान सुन्दै एलर्जी हुने रहेछ । पछि साथी तथा मन्त्रालयका सचिव गोपी मैनालीको सहयोगमा कागजातहरू हेर्न पाएँ ।

पुस्तक तयारीमा परिवारको साथ कस्तो रह्यो ?

मेरा छोरा बुहारी बाहिर छन् । यहाँ श्रीमती र नातिनी छन् । म बिहान उठेर अध्ययन कक्षमा बस्छु । मेरो अध्ययन कक्ष छरपस्ट छ । टेली गर्नका लागि ५–६ ओटा किताब जति बेला पनि खुल्लै हुन्छन् । श्रीमतीजीले म पढ्न बसेपछि चिया लगिदिनुहुन्छ । अध्ययनलाई लिएर कुनै रोकटोक छैन ।

प्रकाशन गर्न मोटो रकम चाहियो, मसँग थिएन । छाप्नका लागि क्यानडा तथा हङ्कङबाट छोरीबुहारीले नै आँट दिए । सम्पूर्ण खर्च बेहोरे । यसर्थ, मेरो कामबाट उनीहरू सन्तुष्ट छन् । उनीहरूको सहयोगप्रति म कृतज्ञ छु ।

प्रकाशकसम्म पुग्नु भएन कि पुगेर पनि उनीहरूले चासो दिएनन् ?

“लिम्बु जातिको इतिहास” निकाल्दाताका पनि म प्रकाशककहाँ नपुगेको होइन । त्यस किताबलाई हेर्नका लागि भनेर केही समय राखेर प्रकाशन गर्न नसक्ने उत्तर पाएको थिएँ । यस पुस्तकका लागि पनि म केही प्रकाशकहरूकहाँ गएँ । उनीहरूले छाप्ने त भए तर रोयल्टी १० प्रतिशत र फ्रि किताब ५० ओटामात्रै दिने कुरा गरे । जुन मेरो मिहिनेतमाथिकै मजाक लाग्यो मलाई र छोरासँग सल्लाह गर्दा उसले पैसाको चिन्ता नलिन भन्यो अनि आफैँ छाप्ने निर्णयमा पुगेँ । पुरस्कार पाइसकेपछि किताब धेरै गयो । अब फेरि छाप्नुपर्ने भएको छ ।

अन्त्यमा, भावी योजना के-के छन् ?

सोचेको थिएँ, अब थकाइ मार्छु तर मदन पुरस्कारको प्राप्तिले दायित्वमात्र होइन, ममा ऊर्जा पनि थपिएको छ । यस पुस्तकमा समेटिएजति महत्त्वपूर्ण नभए पनि अझै ४ सय बढी दस्ताबेजहरू मसँग छन् । अरू दस्ताबेजहरू कहाँ र कोसँग छन् भन्ने पनि मैले थाहा पाइसकेको छु । अब यसकै निरन्तरतास्वरूप अर्को दस्ताबेज सङ्ग्रहको तयारीमा लाग्ने सोच बनाएको छु ।

प्रतिक्रिया
Loading...