साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आख्यानमा अब्बल देव भण्डारी

कथा लेखनका आधारमा भण्डारी अब्बल देखिन्छन्। उनका कथाहरूले धेरै कुरा व्यक्त गरिरहेको हुन्छन्। उनका तीनवटा कथासङ्ग्रहहरूले वर्तमान समयलाई समात्न सकेको पाइन्छ। ‘अज्ञात दिशातिर’मा सत्रवटा, ‘बक्ररेखाहरू’मा जम्मा एघारवटा र ‘धरोहर’मा उन्नाइसवटा गरी जम्मा सैंतालिसवटा कथाहरू सङ्कलित भएका छन्।

नेपाली कथा साहित्यमा देव भण्डारीको छुट्टै परिचय र स्थान रहेको छ। उनका पाँचवटा कथासङ्ग्रह प्रकाशित भइसकेका छन्, प्रत्येक कथा विशिष्ट छन्। युगसँग रहेका वस्तुहरू समाहित छन्। उनको जन्म सन् १९४५ कालिम्पोङमा बमबस्तीमा भएको हो। उनका बाबु-आमाको नाम स्व. भगीरथ भण्डारी र साबित्री भण्डारी थियो। उनी सेन्द्रल बैंक अव् इन्डियामा सेवारत रही २०१० मा सेवानिवृत्त भएका हुन्। हालमा उनी स्वतञ्त्र लेखनमा संलग्न छन्. हालसम्म उनका प्रकाशित पुस्तकहरूमा ‘यही बाटो भएर’, (उपन्यास, १९७६), ‘किनारा’ (उपन्यास, १९७६), ‘अभिषेक’ (कवितासंग्रह, १९८०), ‘शब्दहीन’ (१९८२), ‘कथा आफ्नै’ (२००६, उपन्यास), ‘अज्ञात दिशातिर’ (कथासङ्ग्रह, २०११), ‘बक्ररेखाहरू’ (कथासङ्ग्रह, २०१३), ‘समयको हस्ताक्षर’ (२०१६, कवितासङ्ग्रह) र ‘धरोहर’ (२०१७, कथासङ्ग्रह) हुन्। यस उनका प्रकाशित पुस्तकहरूको सूची पढ्दा हालसम्म उनका चारवटा उपन्यास, दुईवटा कवितासङ्ग्रह, तीनवटा कथासङ्ग्रह गरी जम्मा नौवटा पुस्तक प्रकाशत भएका छन्। उनी विज्ञापन र हल्लादेखि पर रही आफ्नो साहित्य सेवा गरिरहन्छन्, मौन साधकका रूपमा रहेका छन्। आफ्नो पुस्तकको सार्वजनिक समारोह गर्न पनि रूचि लिँदैनन्। राम्रो सोंच विचार गरेर, खिपेर कथा तयार गर्छन्। उनले हालसम्म पूर्ण राई स्मृति पुरस्कार पाएका छन्।

देव भण्डारी एक उपन्यासकार, कथाकार र कवि हुन्। उपन्यासको तुलनामा कथा सिर्जनामा उनी बढी चर्चित र सफल देखिन्छन्। उनी सत्तर र अस्सी दशक र एकैचोटि २००६ देखि यता उनका पुस्तक प्रकाशित भएका छन्। उनका पुस्तकको प्रकाशन वर्ष र तिनका अवधि हेर्दा उनका लेखनका पूर्वाद्ध र उत्तरार्द्ध गरी दुई चरण छन्। उनको पूर्वार्द्ध चरणमा उपन्यास लेखनमा रमेका छन् भने उत्तरार्ध चरणमा भने कथा लेखनमा सक्रिय देखिन्छन्। उनको कविता अध्ययन गर्दा सरलता, समयको यथार्थतालाई कलात्मक अभिव्यक्ति आदि दिइएको पाइन्छ।

देव भण्डारी

कथा लेखनका आधारमा भण्डारी अब्बल देखिन्छन्। उनका कथाहरूले धेरै कुरा व्यक्त गरिरहेको हुन्छन्। उनका तीनवटा कथासङ्ग्रहहरूले वर्तमान समयलाई समात्न सकेको पाइन्छ। ‘अज्ञात दिशातिर’मा सत्रवटा, ‘बक्ररेखाहरू’मा जम्मा एघारवटा र ‘धरोहर’मा उन्नाइसवटा गरी जम्मा सैंतालिसवटा कथाहरू सङ्कलित भएका छन्। प्रत्येक कथाहरू विभिन्न भाव, बान्की र शिल्पका छन्। प्रत्येक कथाका कथ्यलाई कोरीबाटी चिटिक्क बनाएर प्रस्तुत गरेका छन्। उनका कथामा आफ्नै वरिपरिको गाउँ–घर, परिवेश मानसिकता, समस्या र वस्तुस्थितिलाई प्रतिनिधित्व गरिएको छ। जनजीवनको छेउबाट विभिन्न कोणको अध्ययन भएको छ। जीवनमा कोही बेला कस्ता कस्ता मोड उपमोड परिस्थिति आइपर्छन्, तिनलाई समेट्ने कोसिस गरिएको छ। हामीले ख्याल नगरेका नजानेका कुराहरूलाई कथाका कथ्य बनाएका छन्। जीवनका साना ठुला घटना, स्थिति र मोड़ले मान्छेका मन मस्तिष्कमा प्रभाव पारेको हुन्छ। जीवनमा चिताएका नचिताएका कुरा आउँछन्, मान्छे आउँछन्, परिस्थिति आउँछन् जस्ता कुरालाई कथाकार भण्डारीले कथामा कुशलतासँग बुनेका छन्। समाजका विशेष गरी दीन-दुःखी र अन्य सबै खाले पात्रहरूका खुशी, दुःख-पीडा, संवेदना मनोदशा आदिलाई छुनपुगेका छन्।

नवीन पौड्याल (कालिम्पोङ)

अज्ञात दिशातिर कथासङ्ग्रहका सङ्गृहीत कथाहरू हुन्- ‘फेरि अर्को महिना, सौदा, सम्मोहन, सुरूवात्, गाडीमा, एउटा उदास मान्छे, दिन आएपछि, समानान्तर, मनु कालेबुङ जान्छ, अज्ञात दिशातिर, माधुरीको फोटो, एउटी कुइरी केटीसित, ठुली डेरा सर्छे, एउटा लामो रातपछि, ठेस, साँझपख, लिफ्ट। (जम्मा सत्रवटा) बक्ररेखाहरू कथासङ्ग्रहका कथाहरू हुन्- ‘असिना’, ‘पाहुना’, ‘अर्की मनमाया’, ‘नितान्त एक्लो’, ‘सहयात्री’, ‘टुटुल्को’, ‘ढुङ्गामा लेखिएको अक्षर’, ‘छहारी’, ‘बूढो उदास रूख’, ‘जयन्त र नीलिमाको कथा’, ‘एक साँझ’ (जम्मा एघारवटा)। धरोहर कथासङ्ग्रका कथाहरू हुन्- ‘दाइँ’, ‘बाँध’, ‘शीतको सपना’, ‘किन रून्छ माइलो’, ‘फेरि हतार’, ‘कञ्चनजङगा र त्यो मान्छे’, ‘सुनको चेन’, ‘खोलापारि र खोलापारि’, ‘धरोहर’, ‘गरीबको भाग्य’, ‘युवती हराएको सूचना’, ‘मिसकल’, ‘बुबा’, ‘हजार रूपियाको पिज्जा’, ‘यथार्थ’, ‘लकाइँ डाँड़ा’, ‘गिटारको धून’, ‘उही कुइरी केटी’, ‘साम्य’ (जम्मा उन्नाइवटा) यो सूची हेर्दा उनका जम्मा सैतालिंसवटा कथाहरू सङ्गृहीत छन्।

कथाकार देव भण्डारीका कथामा कथागत प्रवृति

कथाकार देव भण्डारीका सैंतिसवटा कथाहरूको आफ्नै बान्की, ढाँचा परिपाटी हुन्छन्। उनी आफ्नै गाउँ घर समाजको वरिपरिका घटना प्रसङ्ग र चरित्रलाई लिएर सुन्दर कथा बुन्न सक्छन्। समाजमा दिनदिने घटिरहने साना ठुला घटनालाई शब्द, वाक्य र वर्णनका सिप र प्रस्तुतिले कलात्मक रूप दिने गर्छन्। कुनै पनि घटना र वस्तुको सूक्ष्म अध्ययन गरेर तिनलाई कल्पनाको लेपले चिटिक्क पारेर पाठकसामु प्रस्तुत गर्दछन्। उनका कथा ग्राम्य परिवेशमा रमेका छन्। उनका कथामा मानव संवेदनशीलताका अन्तर्तम तहलाई समात्न सकेका छन्। सफल कथाकारका निम्ति कथाका निम्ति ठुलो घटना र वस्तु चाहिन्न तर सामान्य कुराहरूलाई नै राम्रोसँग बुन्न सके कथा सफल बनेका हुन्छन्। देव भण्डारीले पनि आफ्नै वरिपरिका सामान्य घटनाहरूलाई सिप र कलात्मक ढङ्गमा प्रस्तुत गर्न सकेका छन्।

प्रेमका विभिन्न स्वरूपको चित्रण- देव भण्डारीका धेरै कथाहरूमा प्रेमका विभिन्न अवस्थाको चित्रण पाइन्छ। युवासुलभ प्रेम, त्यसका मिलन र विछोड, मानसिक उत्तेजना, विक्षोभ, विषाद, छट्पटि, असन्तुष्टिहरूलाई कथागत कच्चा पदार्थ बनाउने गर्छन्। कतै गरीबीका कारण, कतै बेरोजगारी र कतै जात धर्म आदिका कारणले प्रेम असफल भएर दुवैले जीवनभरि छट्पटिमा बिताउनु परेको स्थिति देखिन्छ। पहिले आफ्नो यौवनकालको असफल प्रेमलाई पछि बुढेसकालमा पनि पश्चाताप गरेको पनि पाइन्छ। पहिलेको प्रेम कुनै सामाजिक आर्थिक, भौगोलिक व्यस्तता आदि कारणले विफल भएको पनि देख्न पाइन्छ। पति पत्नीका बीच विश्वास, समझदारीको कमी र विभिन्न कारणले पनि विफल भएको देखाइएको पाइन्छ। जयन्त र नीलिमा पनि विशेष परिस्थितिका कारण एक दिन छुट्टिन पर्दा विरहले सताइएका छन्। दुवै पश्चाताप गर्छन्। ढुङ्गामा लेखिएका अक्षर कथाको बुढा मानिसको प्रेम अटल छ। युवावस्थामा प्रेमी भेट्ने स्थानको ढुङ्गामा लेखिएको नाम नै प्रेमको अटल, अचल र शाश्वत रूपमा हुन्छ भन्ने कुराको सन्देश पाइन्छ।

निम्न र निम्नमध्यम आर्थिक अवस्थाको चित्रण­ – भण्डारीका प्रायः कथामा निम्न र निम्न मध्यम आर्थिक अवस्थामा रहेका जनजीवनका विभिन्न अभाव, अपुग अतृप्ति र अप्राप्तिमा रहेका हुन्छन्। पात्रहरू थोरै तनखा पाउने वा ज्यामी श्रमिकहरू रहेका छन्, जो विभिन्न मानसिक दवावमा पर्न गर्छन् गर्छन्। धेरै पात्रहरू शिक्षित बेरोजगार छन्। बेरोजगारी समस्याले पात्रहरू मानसिक पीडाग्रस्त, विक्षोभमा बाँच्नुपरेको सत्यता पाइन्छ। केही कथामा खान लाउन नपाएको, औषधी खान नपाएको, राम्रो कपडा फेर्न नपाएको आदि स्थिति देखिएको छ। गाउँका अधिकांश  मानिसको आर्थिक अवस्था कमजोर देखाइएको छ। खेतीपाती र अन्य काम गरेर जीवनलाई सुरोबुरो धान्ने गरेको यथार्थलाई केही कथामा देखाइएको छ। दाइँ कथामा पाखुरेले जति दुःख गरे पनि अर्काको निम्ति मात्र फलिफाप हुन्छ भन्ने यथार्थ देखाइएको छ। छहारी कथाकी मनरानी पनि आफ्नो लोग्नेले छोडेर गएपछि बालक छोरालाई लिएर अनकन्टार ठाउँमा जाँड़ रक्सी बेचेर पेटपालो गरेर बस्नु पर्ने बाध्यता र दोस्रो विवाह गर्नु परेको वास्तविकतालाई देखाइएको छ।

घटना र त्यसको पृष्ठभूमिको चित्रण – कुनै कुनै कथाकारले आफ्ना कथामा पृष्ठभूमि तयार पार्ने घटनाको पृष्ठभूमि तयार पारेका हुन्छन्। भण्डारीका कथामा विशेषगरी प्रेमको प्रसङ्गमा पृष्ठभूमि निर्माण गरिएको पाइन्छ। भूपालमानसिंह राणाको विगतको चोखो प्रेम र प्रेमिका अप्राप्तिको खिन्नता, किरणले सोल्टिनी मन पराएर पनि बिहा गर्न नपाएको खिन्नता छ।

कारूणिक भावपरिमण्डल – उनका अधिकांश कथाका पात्रको करूणामय मानसिक अवस्था देखाइएका पाइन्छ। पात्रहरू कुनै न कुनै समस्या ग्रसित छन्, पीडा, औडाहा, कि मानसिक दुःख, कि आर्थिकजन्य दुःखबाट पीडित छन्। कुनै प्रेमपीडाले, कुनै आर्थिक अभावले भित्रभित्र रून्छन्। प्रायः कोही पनि सुखी छैनन्। वर्तमानमा सुखी देखिए पनि विगतको घाउले दुखाएको हुन्छ।

सन्देशमूलकता – उनका प्रायः कथामा परोक्ष नैतिक सन्देश दिइएको हुन्छ। कतै जीवन अनुभवबाट प्राप्त भएको ज्ञानको अभिव्यक्ति, कतै नैतिक सन्देश, कतै जीवन सन्देस पाइन्छ। प्राय जम्मै कथा आशावादी छन्। जीवनमा सङ्घर्ष गर्नुपर्दछ र त्यही सङ्घर्षपछि जे हासिल हुन्छ, त्यो नै जीवन हो भन्ने सन्देश पाइन्छ। सोचें जस्तो, देखे जस्तो जीवन होइन भन्ने अभिव्यक्त गरिएको छ। बूढो उदास रुख कथामा मेघा नामकी कलकत्ताकी प्रोफेसर कालिम्पोङको रेसेप बजार गएर त्यहोँ गएर बूढो चौकीदारको वास्तविकता र त्यहाँको बुढो रूखको स्थितिबाट जीवनको दार्शनिक चिन्तनमा जीवनको सन्देश

ग्राम्य परिवेशको चित्रण– उनका अधिकांश कथाहरू ग्राम्य परिवेशमा सिर्जित छन्। गाउँमा चल्ने गरेको खेतालापात, खेतीपातीको समय, धान मकै कोदो आदि काम गरेको उल्लेख आदि पाइन्छन्। दाइँ गरेको, रोपाइँ गरेको, अदुवा रोपेको लगायत गाउँमा सम्पन्न हुने सबै कुरालाई देखाइएको छ। गाउँले जीवनका सबै पक्षहरलाई देखाइएको पाइन्छ। तीर्थ ब्रत गर्नुइएको पाइन्छ। उनका अधिकाङ्श कथाको परिवेश कालिम्पोङ र यसका वरिपरिका गाउँ र बस्तीको चित्रण गरिएको पाइन्छ। कालिम्पोङ शहर, यहाँका गाउँ, रेली र टिस्टा नदीको वर्णन पाइन्छ। यहाँको जनजीवनलाई कथामा बडो कुशलतासँग बुनेका छन्।

भण्डारीका कथाको तथ्य र कथ्यान्वेषण-

भण्डारीका प्रायः प्रत्येक कथामा कुनै एउटा विषय केन्द्रित हुन्छन्। कुनै नै कुनै विषयलाई धुरीखम्बा मानेर त्यसकै वरिपरि कथा बुन्दै लगेको पाइन्छ। गरीबी, प्रेमपीडा, यौनसमस्या, ग्राम्य जीवनका दैनन्दिनीका कुरा आदिलाई विषयवस्तु बनाइएको पाइन्छ। उनले एउटा सानो घटनालाई कुशलतासँग कथा बुनेका हुन्छन्। मान्छेले जीवनमा ज्ञान-अज्ञानमा गरेका भूलहरूलाई कथामा प्रस्तुत गरेका छन्। मानिसको जीवन सजिलो छैन। यस संसारमा मानिसको जनली लिएर बाँच्दाका तीता मिठा अनुभवलाई कथामा उतारिएको पाइन्छ। मानिसले कहिले आफ्नै र अरूका कारणले कष्ट पाउँछ, पीडा भोग्नुपर्दछ। यहाँ भएका जम्मै कथामा यथार्थ र तथ्य हुन्छन्। प्रेम, यौन, अहम्, प्रतिष्ठा, असहाय, दारिद्रय आदिका कारण मानिसले भोग्नुपर्ने आनन्द, दुःख, सन्ताप आदिलाई कथामा कलात्मक तरिकाले बुनेका छन्।

भण्डारीका कथाका जीवन्त पात्र-पात्रा-

देव भण्डारीका कथाका पात्र विभिन्न प्रकारका छन्। समाजभित्रकै कुनै वास्तविक र सामान्य व्यक्तिहरूलाई पात्र बनाएका छन्। सबै पात्र सजीव लाग्छन्। उनले आफ्ना पात्रहरू आफ्नै वरिपरिका गाउँ घरका विभिन्न किसिमका चरित्राङ्कन गरेका छन्। गाउँ-घरकै मानिसहरूलाई काल्पनिक नाम र चरित्र दिई पात्र-पात्रा बनाएर तर कलात्मक रूपमा प्रस्तुत गरेका छन्। उनका कथाका पात्रहरूको सख्या थोरै हुन्छ। तीन चार पात्रहरूलाई नै चरित्र प्रदान गरेका हुन्छन्। उनका कथाका पात्र शिक्षक, गाउँले कामको खेताला, पल्टने, विद्यार्थी, साधारण सरकारी कर्मचारी र सरकारी, सैन्य अधिकारी, सरकारी अधिकारी, साधारण गृहिणी, काठमिस्त्री, पसले, आदि रहेका छन्। कथाका पात्र-पात्राका नाम काल्पनिक भए पनि अधिकाङ्श भने वास्तविक हुन् हुन्छन्। हामीबीचकै पात्र-पात्रालाई कथाको विषय बनाएका छन्।

भण्डारीका कथाको संरचना

भण्डारीका तीन कथासङ्ग्रहहरूमा जम्मा सैंतालिसवटा कथाहरू सङ्गृहीत छन्। प्रत्येक कथा बुनोट, वस्तु चयन प्रस्तुतिकरण र संरचनाका आधारमा उत्कृष्ट रहेछन्। अज्ञात दिशातिर कथासङ्ग्रहका कथाहरूका एक झलक अध्ययन गर्दा हामी यी निम्ति इकाईका आधारबाट हेर्न सक्छौं। अज्ञात दिशातिर कथासङ्ग्रहमा जम्मा सत्रवटा, बक्ररेखाहरू कथासङ्ग्रहमा जम्मा एघारवटा कथाहरू र धरोहर कथासङ्ग्रहमा जम्मा उन्नाइसवटा कथाहरू रहेका छन्। कथाका छ विस्तार प्रायः सात आठ पृष्ठका र पढ्न थाल्दा प्राय आधा घण्टाभित्र पढिसकिन्छ। पढ्दै गर्दै विषयविस्तार र विषय सूत्रताले पाठकलाई आकर्षणले तानेर लाने सामर्थ्य पाइन्छ। भण्डारीका कथाका आयाम विस्तार गरिएको विश्लेषणात्मक किसिमको पाइन्छ। कुनै पनि विषयलाई सूक्ष्म रूपमा नै वर्णन गरिएको पाइन्छ। कतै पूर्वद्वीप्ति कतै विहङ्गावलोकन, कतै कथावस्तु फड्को हान्दै अघि बढेको र कतै विस्तृत वर्णन गर्दै कथा बुनेका हुन्छन्।

मानसिक र बाह्य परिवेश-

देव भण्डारीका जम्मै कथामा ग्रामीण परिवेश पाइन्छ। उनका अधिकाङ्श कथामा ग्राम्य परिवेशका विभिन्न पक्षहरू पाइन्छ। पाठकले उनका कथाभित्र पसेर गाउँ र गाउँले जीवन पाउँदछ। उनका प्रत्येक कथामा एउटा संसार हुन्छ, जहाँ विभिन्न दृश्य-परिदृश्य, जीवन र पात्रहरू रहेका हुन्छन्। पात्रहरू हामी जस्तै हाँस्छन्, रून्छन्, प्रेम गर्छन्, भूल गर्छन्। पात्र-पात्राका मनमा आनन्द, हर्ष, विषाद्, विक्षोभ सबै भाव तरङ्गित हुन्छन्। प्रत्येक कथाहरूका पात्रहरू मानसिक रूपमा पीडित छन्। कुनै कथाको तात्कालिक परिवेश शहरी भए तापनि मूल चैं ग्राम्य परिवेश नै रहेका छन्। यसमा कालिम्पोङ, दार्जिलिङ, सिक्किमका केही बजार र गाउँ, मुम्बई, बनारस आदितिरको परिदृश्य देखाइएको छ। यद्यपि कथाकारको उद्देश्य ग्राम्य जीवनको परिवेश देखाउनु रहेको छ।

मूल्याङ्कन र उपसंहार- 

नेपाली कथा साहित्यमा देव भण्डारी एक विशिष्ट नाम हो। उनका हालसम्म जम्मा सैंतालिसवटा कथाहरू सङ्गृहीत छन्। यद्यपि उनका जम्मै कथामा विभिन्न विषयवस्तु, कथावस्तु, शिल्प, संरचना, बुनोट, बनोट आदि सबै तत्वहरूका कुशल संयोजन गरेका छन्। उनको कथा लेखन विश्लेषणात्मक र चरित्रप्रधान किसिमको पाइन्छ। थोरैमा धेरै, व्यष्टिमा समष्टि, व्यक्तिमा समाज रहेको हुन्छ। हाम्रो समाज वरिपरि घटना साना ठुला घटना र पात्र-पात्राका कथालाई उनले आफ्नो कथागत विषयवस्तु बनाएका छन्। उनका कथाहरू घटनाप्रधानभन्दा चरित्रप्रधान र विचारप्रधान रहेका छन्। कथा वा घटनाको एउटा सानो तन्तुलाई समातेर कलात्मक ढङ्गमा कथा बुन्नु उनको कथ्य कौशल पाइन्छ। उनका अधिकांश कथाहरूको विषयवस्तुको सूक्ष्म विश्लेषण, पात्र-पात्राको चयनमा वास्तविकता, यथार्थता पाइन्छ।

प्रतिक्रिया
Loading...