साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नेताहरूको भाषण र घरभित्रको शासनमा फरक हुन्छ – शारदा पौडेल ‘निशा’

प्रवासमा धन सम्पत्ति कमाउँला र ऐस आरामले जिउँला भन्दाभन्दै प्रवास भासिने प्रथम पुस्ताको जीवनको दियोमा तेल सकिन्छ । प्रवास आउने मानिसलाई दुई वर्गमा विभाजन गरेर हेर्ने हो भने पनि प्रथम पुस्ताले धेरै सङ्घर्ष गर्नुपर्छ ।

स्थायी बासस्थान भरतपुर १४, चितवन भएकी शारदा पौडेल ‘निशा’ हाल स्पेनको बार्सिलोना सहरमा बस्नुहुन्छ ।  जीविकाका लागि अति कर्मठ पौडेल प्रवासमा रहनुको प्रमुख कारण भने वैदेशिक रोजगारी नै हो । पौडेलका ‘छोरीका आँखा’ र ‘तेस्रो पाइला’ लघुकथासङ्ग्रह प्रकाशित छन् भने ‘निशाको निशानी’ नामक मुक्तकसङ्ग्रह पनि प्रकाशित छ ।

प्रस्तुत छ, साहित्यपोस्टका लागि विश्वराज अधिकारीले शारदा पौडेल निशासँग गरेको कुराकानीकाे सम्पादित अंश;

महिला र पुरुषबीच विभेद गर्न खोजेको होइन तर पनि तपाईँको साहस र धैर्य हेर्दा अहिलेको नेपाली युवा पिँढीले तपाईँसँग धेरै कुरा सिक्नुपर्छ जस्तो लाग्छ । सात समुद्रपारि बसेर पनि आफ्नो कर्ममा अति परिश्रमसहित जुट्नुभएको छ । यति सङ्घर्षशील हुन तपाईँलाई के कुराले प्रेरित गर्‍यो?

सङ्घर्ष परिश्रम या मेहनतको पर्यायवाची शब्द हो ।  म परिश्रम गर्न मन पराउँछु र यसैमा रमाउँछु ।  बाल्यकालमा पनि मैले सङ्घर्ष गरेरै पढेकी थिएँ । कक्षा ९ पास हुनासाथ वैवाहिक जीवनमा बाँधिनु, पढ्ने सहज परिस्थिति प्राप्त नहुनु र आफूलाई पढ्न छोड्न मन नहुनु आदि इत्यादि कारणले पनि केही सङ्घर्ष गर्न  सिकायो ।  आफ्नो अध्ययन, अध्यापन र घर परिवारलाई एकसाथ अगाडि बढाउन मेहनत गर्नैपर्ने हुन्थ्यो । विनामेहनत न त व्यावहारिक जिम्मेवारीलगायत अध्ययन अगाडि बढाउन सक्थेँ न त अध्यापन नै ।

जब मैले एसएलसी दिएँ भूगोललाई मुख्य विषय बनाएर शिक्षा शास्त्र अन्तर्गत बिएड गरेँ ।  विद्यालयमा जनसङ्ख्या तथा वातावरण विषय लागु गरिएपछि जनसङ्ख्याबाट पनि बिएड गरेकी थिएँ ।  पछि नेपालीमा पनि बिएड गर्न मन लाग्यो र भर्ना भएँ । जनसङ्ख्यामा डिग्री र नेपालीमा बिएड गर्ने रहर रहरमात्रैमा सीमित रह्यो किनभने पारिवारिक जिम्मेवारी थप हुँदै जाँदा धन कमाएर सजिलै हल गर्न सकिन्छ कि भनेर म प्रवासतिर लागेँ । वास्तवमा सङ्घर्ष गर्न बाल्यकालदेखि सिकेँ र अझै पनि सिक्दै छु र गर्दै छु पनि ।

शारदा पौडेल निशा

तपाईँले मलाई गुरु भन्नुहुन्छ तर म तपाईँलाई मेरो गुरु मान्छु । तपाईँको साहित्यप्रतिको सक्रियता र जीवनप्रतिको दृष्टिकोण हेर्दा तपाईँ मेरो गुरु हो । आफूलाई तपाईँ कसरी हेर्नुहुन्छ?

कस्तो अचम्मको प्रश्न गर्नुभयो गुरु? हजुर मेरो आदरणीय गुरु हुनुहुन्छ । अनेकौँ ज्ञान, सुझाव, सल्लाह दिएर हजुरले मलाई साहित्य क्षेत्रमा डोर्‍याउने काम गर्नुभएको छ । हजुरको हौसलाले मलाई साहित्यमा लाग्न थप ऊर्जा दिएको छ । साहित्य क्षेत्रमा म शैशवअवस्थामा छु । शैशवअवस्थाको शिशुको जुन अवस्था हुन्छ साहित्यमा मेरो त्यही अवस्था छ । मैले मलाई त्यही अवस्थामा नै हेर्दछु।

नेपाल छाडेर विदेश बस्न थाल्नुभएको कति वर्ष भयो ?

मैले सन् २००८ को जुन १३ मा  विदेशका लागि प्रस्थान गरेकी थिएँ । अहिले मेरो स्पेनको अस्थायी बसोबास गरेको पूरा तेह्र वर्ष भयो ।

मनोवैज्ञानिक रूपमा प्रवासको जीवन कत्तिको सुखद हुन्छ ?

प्रवासमा धन सम्पत्ति कमाउँला र ऐस आरामले जिउँला भन्दाभन्दै प्रवास भासिने प्रथम पुस्ताको जीवनको दियोमा तेल सकिन्छ । प्रवास आउने मानिसलाई दुई वर्गमा विभाजन गरेर हेर्ने हो भने पनि प्रथम पुस्ताले धेरै सङ्घर्ष गर्नुपर्छ । एक वर्ग धन कमाउने र नेपाल फर्किने र अर्को वर्ग पिआर लिने र बालबच्चालाई उक्त देशको वातावरणअनुकूल बस्नका लागि सङ्घर्ष गर्दागर्दै जीवन सकिन्छ । प्रवासमा भौतिक रूपमा सङ्घर्ष गर्नुपर्ने, तनाव बढी हुने र सोचेअनुसारको सफलता कम हुने भएकाले आत्मिक सन्तोष हुँदैन । आत्मिक सन्तोषविना सबै कुराहरू फिक्का लाग्छन् । प्रवासमा जति हुनुहुन्छ उहाँहरूको शरीर प्रवासमा  हुन्छ भने मन नेपालमा हुन्छ । उतैका डाँडाकाँडामा डुलेको हुन्छ, नदीनालामा डुबेको हुन्छ, देशको दुःखद परिस्थितिसँग रोएको हुन्छ भने सुखद परिस्थितिसँग चङ्गा बन्दै उडेको हुन्छ । प्रवासी जीवन भनेको दलदल हो । यो दलदलमा न गडेर डुब्न सकिन्छ न उत्रन सकिन्छ । मेरो विचारमा मानसिक तनावका बीचमा जिउनुपर्ने जिन्दगी नै प्रवासी जीवन हो । देशको माया कति लाग्छ भनेर थाहा पाउन मन छ भने म भन्छु पहिला प्रवासी जीवन जिउनुहोस् अनि थाहा पाउनुहुन्छ । जब मन नै विचलित हुन्छ भने त्यहाँ सबै सुविधा भएर पनि सन्तोष हुँदैन । विनासन्तोष सुख मिल्दैन ।

विश्वराज अधिकारी

यदि नेपालमा नै रोजगारी पाउनुभएको भए विदेश आउनुहुन्थ्यो?

रोजगारीबाट आउने शुद्ध तलबले मात्रै घरपरिवार तथा व्यावहारिक जीवन सञ्चालन गर्न कठिन भएकाले स्थायी रोजगारी हुँदाहुँदै पनि म विदेश आएकी हुँ ।

प्रवासतिर लाग्न के कुराले तपाईँलाई बाध्य पार्‍यो वा प्रेरित गर्‍यो ? 

देशमा पढेर केही गर्छु भन्ने सोचले पढ्दै र पढाउँदै गरेकी थिएँ । पढाइका तहहरू चढ्ने क्रम, व्यावहारिक तथा पारिवारिक जिम्मेवारी बढ्ने क्रम सबैलाई शिक्षण पेसाले थेग्न कठिन भएकाले उक्त कठिनाइहरू सजिलै हल गर्न सकिएला कि भन्ने सोचले प्रवास लाग्न बाध्य भएकी हुँ ।  केही वर्ष धन कमाएर स्वदेश फर्केर आफ्नै अध्यापन कार्यमा संलग्न हुने उद्देश्यले प्रवास लागे पनि त्यसअनुसार भएन भनूँ या गर्न सकिनँ भनूँ ।

अझै कति प्रवासमा बस्नुहुन्छ होला?

समय, परिवेश र परिस्थितिको मेल जिन्दगी हो । समय र परिस्थितिले मानिसलाई दास बनाएको हुन्छ । परिस्थितिले मानिसलाई डोर्‍याएर हिँड्छ तर मानिसले परिस्थितिलाई डोर्‍याउन सक्दैन । म पनि समय, परिवेश र परिस्थितिबाट बाँधिएकी छु । त्यसैले समय र परिस्थितिले प्रवासको बसाइ कति लम्ब्याउँछ त्यो अहिले भन्न सक्दिनँ समयले नै बताउँछ ।

तपाईँको लेखन बढी मात्रमा लघुकथा एवं मुक्तकमा केन्द्रित रहेको देखिन्छ । कुन विधामा बढी लेख्न रुचाउनुहुन्छ ? मुक्तक वा लघुकथा ?

खासमा मैले  साहित्य लेखन कविताबाट सुरु गरेकी हुँ तर अहिले साहित्यका हरेक विधामा कलम चलाउँछु । कविता गजल र  मुक्तकहरू लेखे पनि मेरो विधा भनेको आख्यान हो । यसअन्तर्गत विशेष कथा र लघुकथा पर्दछन् । लघुकथा र मुक्तक दुवै मेरा अति प्रिय विधा हुन् । दुवै विधा उत्तिकै रुचिका साथ लेख्न रुचाउँछु ।

लघुकथा लेख्न सजिलो वा कथा लेख्न सजिलो?

बनोटका आधारमा छोटो छरितो विधा लघुकथा भए पनि यसको समापनमा उत्तिकै कठिनाइ हुन्छ जुन कथामा हुँदैन । कथामा विषयवस्तु घटना पात्र र आफ्नो दृष्टिकोणलाई जति फराकिलो बनाएर लेख्न सकिन्छ त्यो लघुकथामा सकिँदैन । त्यसैले मलाई लघुकथाभन्दा कथा लेख्न सजिलो लाग्दछ ।

अचेल के लेख्दै हुनुहुन्छ? कथा, लघुकथा वा मुक्तक?

आजकल मैले कथा र छोटा कथामा कलम चलाउँदै छु । छिटै लघुकथा र कथासङ्ग्रह प्रकाशन गर्ने सोच गरेकी छु । आजभोलि फुर्सद हुँदा यसैमा व्यस्त छु । कोरोनाको कहरबाट मुक्त भएदेखि अन्ताराष्ट्रिय नेपाली साहित्य समाज महिला विभागले २०२२ मार्चमा महिला सम्मेलन गर्ने निधो गरेको छ । यद्यपि कहाँ गर्ने भन्ने टुङ्गो लागेको छैन ।  जहाँ गरे पनि मिति तय भएकाले मेरो कथासङ्ग्रह उक्त सम्मेलनमा विमोचन गर्ने निधो गरेकी छु ।

नेपालमा पढ्ने संस्कृति निकै कमजोर रहेको छ । साहित्यकारहरूले नै पनि नयाँ-नयाँ प्रकाशित भएका पुस्तकहरू नव साहित्यकारहरूका प्रकाशित नोवदित पुस्तक पढ्दैनन् भन्ने आरोप छ । तपाईँलाई त्यस्तो लाग्छ?

यो आरोप होइन यथार्थ हो । थोरै मात्र साहित्यकारहरू  पाठक हुनुहुन्छ होला । बढी मात्रामा त साहित्यकारहरूले आफ्नो पुस्तक किनोस् पढोस् तर आफूले कसैको पुस्तक किन्न नपरोस् तथा पढ्न पनि नपरोस् भन्ने चाहनुहुन्छ । अझै कतिपय साहित्यकारमा पुस्तक किन्ने बानी नै नहोला । यदि कथङ्कदाचित किन्नुभयो भने पनि लगेर थन्काउने गर्नुहोला । सित्तैमा लिनुभयो भने त त्यसको वास्ता पनि गर्नु हुन्न होला जस्तो  लाग्छ ।

तपाईँ केका लागि लेख्नुहुन्छ? समाजलाई कुनै खास सन्देश दिन वा आफ्नो सन्तुष्टिका लागि?

म यस समाजकी एक पात्र हुँ । समाजमा देखेका,सुनेका र भोगका कुराहरूले मनमा एक किसिमको पीडा पैदा गर्छ । त्यही पीडाबाट मुक्त हुनका लागि भनूँ या मनलाई सन्तुष्टि दिनका लागि भनूँ लेख्छु ।  मनलाई सन्तुष्टि दिनका लागि लेखे पनि त्यसभित्र समाजलाई केही न केही सन्देश होस् भन्ने चाहन्छु ।

साहित्यले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ भन्नेहरू पनि छन् । यो भनाइमा तपाईँलाई विश्वास लाग्छ?

हजुर, साहित्यले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ । साहित्यबाट विभिन्न ज्ञान प्राप्त गर्न सकिन्छ । जुन ज्ञानले मानिसलाई आदर्शको बाटामा डोर्‍याउन मद्दत गर्दछ र मानसिक विकृतिबाट बचाउँदै सकारात्मक परिवर्तनमा जोड दिन्छ ।

यौन जीवनको शाश्वत सत्य हो तर यो विषयमा नेपाली महिला साहित्यकारहरूले अझै पनि बढी खुलेर लेख्ने आँट गर्न सकेका छैनन् ? त्यसतो हो?

यथार्थ प्रश्न गर्नुभयो गुरु । यो यथार्थ हो । शतप्रतिशत सही पनि हो । अझै पनि कति महिला साहित्कारहरुले यौनका विषयमा खुलेर लेख्न सक्नु हुन्न । लेख्छु भनेर लेख्न बस्नुभयो भने पनि लेख्दै जाने क्रममा उहाँको कलमले बाटो परिवर्तन गर्छ र यौनबारे खुलेर लेख्न सक्दैनन् । यस विषयमा लेख्नका लागि पहिला त महिला साहित्यकारहरूको मनस्थिति पूर्णरूपमा तयार हुनुपर्छ । उहाँहरूले घर, परिवार, समाज, र साहित्यलाई अलग-अलग राखेर हेर्न सक्नुपर्छ । यौनका विषयमा लेख्दा कसैले मलाई केही भन्छ कि? मलाई घर समाजले हेर्ने दृष्टिकोण फरक हुन्छ कि? भन्ने भयलाई महिला साहित्यकारहरूले त्याग्नुपर्छ । साहित्यमा यौन-जीवनलाई अँगाल्न सक्नुपर्छ । अझ भनूँ घर, परिवार र समाजबाट साहित्यलाई फरक कोणबाट हेर्न तथा यौन मनोविज्ञानका संवेगहरूलाई लेख्न सक्नुपर्छ तर यसरी यौन संवेगलाई आधार बनाएर लेख्ने महिला साहित्यकार नेपाली समाजमा निकै कम हुनुहुन्छ ।

कस्तो साहित्यलाई स्तरीय मान्ने?

जुन साहित्यले प्रत्यक्ष या परोक्ष रूपमा समाजलाई केही न केही सन्देश दिएर मानवलाई आदर्शको बाटातिर हिड्न प्रेरित गर्दछ त्यो साहित्यलाई स्तरीय मान्न सकिन्छ ।

ज्ञान, आदर्श, इमानदारी, सत्यता, निष्पक्षताका कुराहरूलाई आफ्ना साहित्यमा केन्द्रमा राखेर प्रस्तुत गर्ने तर व्यावहारिक रूपमा आफ्नो जीवनमा त्यसको ठीक विपरीत हुने साहित्यकार धेरै छन् भनिन्छ । यो भनाइमा तपाईँलाई विश्वास लाग्छ?

सबै साहित्यकारहरूमा यो कुरा लागु हुँदैन । मानिसका आ-आफ्ना सोचविचार हुन्छन् । सोच र विचारअनुसार व्यक्तिगत जीवन भनूँ या व्यावहारिक जीवन सञ्चालन गर्नका लागि कठिनाइ हुन सक्छ । आदर्शले जिन्दगी चल्दैन भन्नेहरू हामीमाझ प्रशस्तै हुनुहुन्छ । आदर्शवान् सोच र विचारलाई साहित्यमा ढालेर लेखकले समाज परिवर्तन गराउन सक्छ साथै देशको राजनीतिक परिस्थिति पनि परिवर्तन गराउन सक्छ तर लेखकको व्यक्तिगत र व्यावहारिक जीवन परिवर्तन नहुन पनि सक्छ । सबै साहित्यकारहरू यसै प्रकारभित्र पर्नुहुन्छ भन्न त म सक्दिनँ तर यति उदाहरण भने दिन सक्छु कि नेताहरूको भाषण र घरभित्रको शासनमा पक्कै पनि फरक हुन्छ जुन हामीले देखेका र भोगेका पनि छौँ । अर्थात् केही साहित्यकारहरूले नीतिका ठूला-ठूला कुरा गरेका तर आफू भने नैतिक पथबाट विचलित भएको हामीले देखेभोगेका घटनाहरू हुन् । यस्तो हुनु राम्रो भने होइन ।

साहित्य क्षेत्रमा लाग्न तपाईँलाई के कुराले प्रेरित गर्‍यो? 

साहित्यमा झुकाउचाहिँ सानैदेखि थियो । प्राथमिक विद्यालयदेखि नै साहित्यिक कार्यक्रमहरूमा भाग लिन्थेँ । त्यतिखेरको साहित्य गुनगुनाउने रहरबाट सुरु भएको थियो । समयको क्रमअनुसार त्यही साहित्य मनका पीडा पोख्ने माध्यम बन्यो जब प्रवास लागेँ । पछि म कामको सिलसिलामा  त्रियानब्बे वर्षकी आमाको घरमा पुगेँ । जुन आमाले उपन्यास र कथाका किताबहरू पढ्ने गर्नुहुन्थ्यो ।  त्यही क्रममा मलाई  पनि पढ्न र लेख्न प्रोत्साहन गर्नुभयो । त्यही प्रोत्साहन स्वरूप मेरो सुषुप्त अवस्थामा रहेको साहित्यले मौलाउने मौका पायो ।

त्यसपछि हजुरहरूजस्ता अग्रजहरूको साथ, सहयोग र सुझावले थप प्रेरणा दियो । अहिले जहाँ छु हजुरहरूको माया, साथ, सहयोग र प्रेरणाले छु ।

प्रतिक्रिया
Loading...