पानी सीधा बग्न जान्दैन

पानी
थोपै मात्र किन नहोस्
त्यसमा निःशब्द नदीको
हुनहुनाहट छ
एउटा उन्माद शान्त वाष्पमण्डल छ समुद्रको ।

थोपा मात्रै होस् पानी
बग्न खोज्छ नदी भई
आकाशको कुना काप्चा सम्म प्रतिबिम्बित भई
सधैँ गतिशील नदीको अवसर खोज्छ उसले
आकाशमा चीलले कावा खाँदै उडे जस्तै ।

श्रीराम श्रेष्ठ

नदी सीधा बग्न जान्दैन
पानी हो त्यो
पानीको स्वभाव हो
पानीको नितान्त प्रकृति हो — उसको आफ्नै धर्म ।

साँच्चै !
पानी बग्दा किन सीधा बग्दैन त्यो ?
हुन सक्छ पानी सित
अथाह मैत्री र करुणाले भरिएको उभार छ
भरिएर छचल्किएको गीत–संगीतको उछाल छ
चारैतिरको माटो सित
दीर्घकालसम्म सम्बन्ध गाँसेर बसिरहने
अँगालो हालेर गीत गुनगुनाइरहने
पानीको लालसा हो यो
स्नेहको उर्वरता फलाउने
यो माटोसित, धरासित
अनन्त कालसम्म ।

त्यसैले त पानी बग्छ — चाँडै बिछोडिनु पर्ने व्यथाबाट मुक्त भई
यता उति ढल्की मल्की
नागबेली नदी भई
यो माटो, धरासित
लसपस गर्दै — सृजनाको बीज छर्दै
सबै कुनाकाप्चा ओगट्दै ।

पानीले राम्ररी बुझेको छ
सीधा बग्दाखेरि
धेरै नै मुख्य कुराहरु छुट्छन्
धेरै नै मूल्यवान वस्तुहरु घाटा लाग्छन्
पानी र माटो — खेतबीच
पानी र वन — आकाशबीच
पानी र धरती — वातावरणबीच ।

कवि परिचयः श्रीराम श्रेष्ठ दर्शनलाई विषयवस्तु बनाएर निरन्तर लेखिरहने कवि हुन् । हालै उनको कविता सङ्ग्रह धुलय् धू (धूलोमा धूलो) प्रकाशित भएको छ ।

(स्व. कवि पूर्ण वैद्यको सम्झनामावहाँलाई नै समर्पित गरिएको कविता)

श्रोतः थायभु पूर्णांक १७ (कवि पूर्ण वैद्यमा समर्पित)

अनुवादः आर. मानन्धर

मूलनेपालभाषामाः