साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

बुद्धिसागरका पाँच गजल

Chovar Blues Mobile Size

खुल्ला आकाशमा जून रोयो ।
फुटेको बाँसुरीमा धुन रोयो ।

कता छ जुम्ला कता छ हुम्ला ।
खच्चडको पिठ्यूँमा नुन रोयो ।

गएकै छन्‌ आएकै छन्‌ मदनहरू ।
मुनासँगै ल्हासाको सुन रोयो ।

बगेन यो भूमिमा एक थोपा पसिना ।
पराई भूमिमा नेपाली खुन रोयो ।

निर्दोष नै बाँधिए नेल र हत्कडीमा ।
कठघरामा कठै नि ! कानुन रोयो ।

बुद्धिसागर

भोकै मरे बचेरा ती चारा जलेपछि ।
आगो पिई बाँचे कति धारा जलेपछि ।

नीलोनीलो आकाश पनि भइदिन्छ कालो ।
टिलपिले यौटा सानो तारा जलेपछि ।

बालुवा भै टुक्रिदिन्छ सीसाको त्यो महल ।
निमुखाका मुठ्ठीभरि नारा जलेपछि ।

पक्कै कहीं हुन सक्छ केही उथलपुथल ।
सोच्नुहोस्‌ है ! पानीपानी रारा जलेपछि ।

कहाँ फुल्ला परिचय हामी नेपालीको ।
ढिक्काढिक्का माटो जति सारा जलेपछि ।

हामीलाई त पित्तल पनि सुनजस्तै लाग्छन्‌ ।
माथिमाथि बस्ने जति जूनजस्तै लाग्छन्‌ ।

झर्नुहुन्न भन्दाभन्दै झर्छन्‌ आँखाबाट ।
हामीलाई खुसी पनि मनसुनजस्तै लाग्छन्‌ ।

हत्केलामा मिचीमिची मारे हुन्छ तब ।
जनता जब चामलका घुनजस्तै लाग्छन्‌ ।

होली चल्यो रगतको पहाडदेखि तराई ।
आजभोलि हर मौसम फागुनजस्तै लाग्छन्‌ ।

हाम्रो भन्नु पसिना हो अरू हजुरैको ।
हजुरले जे बोले नि कानुनजस्तै लाग्छन्‌ ।

हिँडेकै हो धुन नै त्यो टाटो देखेपछि ।
फर्के सबै आगोको त्यो बाटो देखेपछि ।

बिकाउन हिँडे धेरै खोटो सिक्का पनि ।
अर्कोतिर दुरुस्तै त्यो पाटो देखेपछि ।

सम्झनामा दुखेन कि परदेशीको छाती ।
सपनीमा घरको त्यो माटो देखेपछि ।

घुमिदेलान्‌ शत्रु फेरि शिर माथिमाथि ।
एकै घरको धुरीमा त्यो फाटो देखेपछि ।

फुट्न सक्छ त्यहाँ पनि ज्वालामुखी फेरि
जब हेप्छन्‌ पहाड त्यो लाटो देखेपछि

आकाशगङ्गा हुँदै जाने फर्की आएका छन्‌ ।
सायद ती घामसँग झर्की आएका छन्‌ ।

झर्यो होला सँगसँगै सानो रातो तारा ।
क्षितिजको डिल हुँदै तर्की आएका छन्‌ ।

भुँमरीझैँ घुम्यो होला चैतको त्यो हावा ।
बादलको दरबारझैँ चर्की आएका छन्‌ ।

भिजेको छ समुद्रको नानी पनि उसै ।
आगो बोकी गएका ती दर्की आएका छन्‌ ।

भन्छन्‌ यौटा युग मरे बन्छ उही तारा ।
ती त लाखौं तारैतारा छर्की आएका छन्‌ ।

(०६१ सालमा प्रकाशित बुद्धिसागरको गजलकृति ‘रारा जलेपछि’बाट)

प्रतिक्रिया
Loading...