घर छेउमा आठ वर्षको बालक खेलिरहेको थियो । पखेटाबाट रगत चुहाउँदै एउटा चरो बालकको छेउमा फ्यात्त खस्यो । बालकले चरो समात्यो । कसैले उडिरहेको चरालाई गुलेलीले हानेको थियो । चरोको पखेटा चुँडिनै लागेको थियो । बालक दगुरेर घरभित्र पस्यो । तेल, बेसार र सिरकको खोल लिएर आयो । जाने सकेको औषधी गर्यो । किन गाँसिन्थ्यो र चराको पखेटा । तर, दुबैलाई सन्चो अवश्य भयो ।

बालक चरालाई सुमसुम्याउँथ्यो । चरो उड्न खोज्थ्यो, तर सक्दैन थियो । चरो बालकको मनको चरो हेर्थ्यो । र, दुवै जना आँखाले संवाद गर्थे । बालक मनले उड्थ्यो । चरो जीवनमा उडिरहन्थ्यो । आज यी दुवै जनाको उडानमा बाटो मिल्यो । बाटैमा प्रेम सुरु भयो । साँच्चै भनूँ, प्रेममा न भाषा जरुरी छ । न संवाद नै ।

कसैले एक थुँगो फूल दियो । बदलामा उ मेरो फूल जस्तो जोबन चाहन्छ ।

भन्नु त छ नै, तर के भनौँ । बोल्नु त छ नै, तर के बोलौँ !

कसैले एउटा चकलेट दिन्छ । बदलामा ऊ मेरो चकलेट जस्तो स्वभाव चाहन्छ । कोही कोही रुमाल दिन्छन्, लुगा दिन्छन् । बदलामा रुमाल जसरी पट्याएर खल्तीमा राख्न खोज्छन् । बुझ्दिनँ, म मेरो हुन किन पाउँदिनँ !

भन्नुहोला, अरे यार प्रेम दिवस पो त । किन नपाउने खुलेर प्रेमका कुरा गर्न !

गर्नुहोस्, तर मात्र प्रेमका कुरा । सम्झिनुहोस् त एडम र इभको जोडी । प्रेम त दूरको कुरा उनीहरूलाई त उनीहरू मान्छे भएको पनि थाहा थिएन । मान्छेमा लाज हुन्छ बुझ्न त एडमलाई स्याउ खानु प¥यो । मान्छेको भावना हुन्छ, मान्छेमा प्रेम हुन्छ भन्ने थाहा नपाउँदै अनजानमा जन्मिएको उनीहरूको प्रेम कस्तो थियो होला ?

मलाई एडम र इभको जस्तो प्रेम बुझ्ने रहर छ । सक्नुहुन्छ सुनाउन ?

भैगो उति टाढा नपुगौँ । एक पटक सोच्नुहोस् त, मान्छेको समय सुरु हुँदै गर्दा ओडारमा बस्ने मान्छेले कस्तो प्रेम गरे होला ? अथवा ढुङ्गे युगमा मान्छे हातमा र मनमा ढुङ्गा मात्रै बोक्थे ? कि उनीहरू ढुङ्गाले घेरेर मनमा सुरक्षित फूल फुलाउँथे ? रुखका बोक्राले घेरिएकी सुन्दर युवति र बोक्रैले ढाकिएको युवा ठोक्किएर हिउँ जस्तो पग्लिन्थेनन् होला ! कि उनीहरू पनि प्रेम नभोगेर एक अर्कालाई सिकार गर्थे त ?

मलाई रहर छ त्यो युगका मान्छेको प्रेम बुझ्न । सक्नुहुन्छ सुनाउन ?

मैले यो विषय उठाउँदै गर्दा लाग्न सक्छ, यो सरल विषय हो । अघिल्लो दिन देखेको सुन्दरतालाई भोलिपल्टै गुलाफको फूलसँग सौदा गरे जति सजिलो छैन यो विषय । अझ, यो विषय प्रेम दिवसको अवसर पारेर फिस्स हाँस्दै ‘आइ लभ यु’ भने जति सजिलो त हुँदै होइन ।
र, मलाई रहर छैन । फजुलका कुरा सुन्न । फजुलका कुरा हेर्न । फजुलका कुरा भोग्न ।

त्यो पो त सुन्दर प्रेम त, जहाँ प्रेम मात्रै होस् । प्रेमका लागि सर्त नहोस् । प्रेमका लागि सौदा नहोस् । जसरी फूल मगमगाउने सक्छ आफ्नै लयमा । जसरी हावा बग्न सक्छ आफ्नै गतिमा । उसै गरी जीवनले सुवास छर्न सकोस् । उसै गरी खुसी फुल्न सकोस् जीवनमा । र, पो खुलेर भन्न सकिन्छ त प्रेम जीवन हो ।

एक पटक एउटी साथीले उसको प्रेम कथा सुनाइ । म पनि खुसी मान्दै उसको कुरा सुन्दै गएँ ।

‘उसले फूल दियो मलाई खुसी लाग्यो । उसले चकलेट दियो मलाई खुसी नै लाग्यो । बग्दा–बग्दै र खुल्दा–खुल्दै हामीले चुम्बन पनि पार ग¥यौँ यार । उसले मलाई मकै छोडाए जसरी छोडायो । हामी मायाले स्पर्श गर्दै अनौठो अभ्यासमा लाग्यौँ । उसको हरकत मलाई प्रिय लाग्यो । उ त भन्थ्यो नै मलाई प्रिय ।’

मोरीले मलाई झसङ्ग पारी । एक छिन्, हामी दुवै मौन भयौँ । चुपचाप एक अर्कालाई हेरि रह्यौँ ।

‘तँलाई थाहा छ । म भित्र हाम्रो माया हुर्किँदै छ । र, ऊ अब मलाई स्विकार्न तयार छैन ।’

के फरक पर्छ यो पात्र जो भए पनि । मायाको सात दिने ‘प्याकेज’को साझा नतिजा यही होइन । र, मैले कहिल्यै बुझिनँ मायामा के जरुरी छ । यो पनि जरुरी छ, मायामा मान्छे नाङ्गिनै पर्छ ?

हुनैलाई चाहिँ हामीले जति पनि मायाका कथाहरू पढ्यौँ । प्राय सबै दुःखका पढ्यौँ । मायामा छुटिएको कुरा लेख्दा सबैलाई बिझ्छ, भने जसरी लेखिएका कुरा पढ्यौँ । जस्तो, राधा कृष्णको कथा । जस्तो, रोमियो जुलेटको कथा । जस्तो, लैला मज्नुको कथा ।

उति बेला अलि फरक थियो । अहिले अलि फरक छ । तर, कुरो एउटै हो । हामी माया गर्दैनौँ, सम्झौता गर्छौ । सम्झौता त गरिन्छ नै तोड्नका लागि । अनि बेकारमा दोष दिन्छौँ मायालाई । मायामा आकर्षण जरुरी छैन । मायामा सम्झौता जरुरी छैन । र, मायामा त त्याग र प्राप्ति पनि जरुरी छैन ।

अहिले त हाम्रो मायाको अभ्यास नै अनौठो छ ।

मन्दिर, पार्क, रेस्टुरेन्ट अनायासै जानु । उसैलाई भेट्नु र भेटेकैलाई खुसी मान्नु । कहिले रिसाएजस्तो गर्नु, कहिले फकाएजस्तो गर्नु । फेसबुकमा हरदम उसैलाई पछ्याइरहनु । ट्विटर र इन्स्टामा मायालु देखिइरहनु । यस्तो बन्नु, मानौँ उ बिना म फिका लागूँ । र, म बिना उ फिका भएको अभिनय गरोस् । छिनछिनमा म्यासेन्जर बजिरहोस्, माया बोकेर इमोजी आओस् । उसको फुर्सद पनि मेरै लागि जस्तो लागोस् । उसको व्यस्ततामा पनि मेरो लागि समय निकालिदिएको भान होस् ।

उहिले मायाको तरिका झन् गज्जबको थियो ।

कृष्ण बाँसुरी बजाउँथे । राधा धुनमा हराउँथिन् । कृष्ण जिस्किन्थे, राधा पग्लिन्थिन् । गोपिनीसँग जिस्किन्थे कृष्ण, जल्थी राधा भित्रभित्रै । डुब्नै लागेको घामजस्तो रातो र तातो हुन्थी ऊ । कृष्णलाई के चाहियो र राधाको तापमा पग्लिन्थे, जम्थे । कहिले कृष्ण राधालाई चरा बोलाइदिन्थे, कहिले साँगु बनाएर खोला तारिदिन्थे ।

राधाकृष्णको खास माया त बाँसुरी नबजेपछि सुरु भएको थियो । हिँड्नै लाग्दा कृष्णले सँधैका लागि मुरली राधाको हातमा थमाइदिएका थिए । राधाको मन पग्लिएको थियो । कृष्णलाई पनि थाहा थियो, आँसुले बाँसुरी बज्दैन !

अलि बढि भावनात्मक भएँ । सायद जरुरी पनि थियो । भावनाका कुरा गर्न भावना चाहिन्छ नै ।

एकैछिन् सहि, दुईवटा गाडी बाटोमा भेटिउन् । वल्लो गाडीको झ्यालमा युवा, पल्लोमा युवति । एकै निमेषका लागि दुबैका आँखा जुधुन् । दुवैको मन फुलोस् । ओठबाट फुस्किएको खुसी दुवैले महसुस गर्न पाउन् । अलिकति युवा पग्लियोस्, अलिकति युवति । दुवैको हाँसो एक अर्कामा ठोकिनु अगावै गाडी कुदोस् ।

सायद यो भन्दा सुन्दर प्रेम हुन्न होला !

हुन्छ भने, आमाले छोरालाई गर्ने प्रेम । कतै पढेको थिएँ, आमाको आँखाले हेर्ने हो भने कुरूप भन्ने शब्द हुँदैन । सायद यो भन्दा सुन्दर प्रेमको परिभाषा छैन ।

छ भने, वालकले प्रकृतिलाई गर्ने प्रेम । पुतली खेदाउँदै बालक हराइजान्छ फूलबारीमा । जिस्किन्छ फूलसँग, छरिदिन्छ फूलका आँखाहरू बगैँचा भरी । अनि, आनन्द पिउँछ प्रकृतिले तयार पारिदिएको क्यानभाष रंग्याएर ।

सायद यो भन्दा सुन्दर प्रेमको उदाहरण छैन । तपाईँसँग छ ?